Monday, December 30, 2019

सन् २०१९ का प्रमुख विश्व–घटनाक्रम

–यमबहादुर दुरा

सन् २०१९ का केही घटनाक्रमहरू :

दक्षिण अमेरिकी कम्युनिष्ट मुलुक भेनजुएला एउटा लामो र कहालीलाग्दो आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । वर्षौंको आर्थिक सङ्कट थामिने कुनै सङ्केत देखिन्न । यसैबीच, त्यहाँका राष्ट्रपति निकोलस मदुरोले जनवरी १० तारिखमा दोस्रो कार्यकालको सपथ लिए । धेरैले उनको विजयको वैधतामाथि प्रश्न उठाएका छन् । अर्थनीति र राजनीति दुवै बिग्रँदै जाँदा त्यहाँका नागरिक नियमित रूपमा सडकमा उत्रिएका छन् । कतिले चरम अव्यवस्था र गरिबी सहन नसकेर देश छाडेर गएका छन् । नयाँ वर्ष २०१९ को नयाँ पलले पनि त्यहाँका निराश नागरिकको ओँठमा खुसीको मुस्कान फक्राउन सकेन । त्यहाँको बिग्रँदो आर्थिक अवस्था कसरी सुध्रिएला ? यसको कुनै सहज उत्तर छैन ।

तस्बिर :  गुगल 
सन् २०१९ मा ब्रजिलको अमेजन जङ्गलमा भयानक आगलागी भयो । आगलागीबाट असंख्य वन्यजन्तुका साथ ९ लाख ६ हजार वन क्षेत्र खाग भए । यद्यपि, त्यहाँको जङ्गलमा आगलागीका घटना सामान्य नै मानिन्छ । यसपटक भने ज्यादै ठूलो स्केलमा लामो समयसम्म आगलागी भइरह्यो । यो असामान्य घटना हो । दक्षिण अमेरिकाका नौवटा देशमा २० लाख वर्गमाइलभन्दा बढी क्षेत्रफलमा फैलिएको  अमेजन जङ्गललाई ‘पृथ्वीको फोक्सो’ उपमा पनि दिइन्छ । यसले पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्छ । खोरिया फँडानी गरी खेतीपाती गर्ने परम्परागत कृषि प्रणाली र प्राकृतिक कारण दुवै यसका लागि जिम्मेवार मानिएको छ । जनवरीदेखि शुरु भएको आगलागी अहिलेसम्म पनि रोकिएको छैन ।


***

हाम्रा छिमेकी मुलुक भारत र पाकिस्तानबीच सल्किएको दशकौंको वैरभावको आगो निभ्ने कुनै सम्भावना देखिँदैन । सन् १९४७ एउटै भूगोल टुक्रिएर दुई मुलुक बनेका यी  छिमेकीले एकआपसमा धेरै पटक युद्ध खेपिसकेका छन् । भनाबैरीको अनन्त श्रृङ्खला जारी छ । यस्तैमा २०१९ को फेब्रवरीमा यी दुई देश झण्डै झण्डै युद्धको अवस्थामा पुगिसकेका थिए । दुवै एकअर्काको आक्रमणकारी विमान खसालेको दाबी गरे । भारतीय सेनाको एउटा विमान पाकिस्तानी भूमिमा खसाइएपछि त्यसका पाइलट  भाग्य बाँचे । उनलाई भारत फर्काइएको दृश्य टेलिभिजनका स्क्रिनहरूमा देखिएका थिए ।


***


ग्राफिक्स :  गुगल 
लामो वादविवाद र राजनीतिक खिचातानीका बीच मार्च २९ तारिखमा बेलायत युनियनबाट बाहिरियो । यससँगै बेलायत र युरोपियन युनियनबीचको चार दशक लामो भाइचाराको नाता टुटेको छ । युरोपियन युनियन त्याग्नेमा पहिलो सदस्यको राष्ट्रको रूपमा बेलायतको नाम इतिहासमा अङ्कित भएको छ । बेलायतले युरोपियन युनियनबाट बाहिरिन शुरु गरेको लम्बेतान प्रक्रियाबाट शब्दकोशमा एउटा एउटा शब्द नै थपिएको छ । त्यो हो, ‘ब्रेजिक्ट ’ । ‘ब्रेजिक्ट’ ले बेलायतको राजनीतिक जीवनमा हलचल नै ल्याएको छ, जुन अझै  शान्त भइसकेको छैन । त्यो हलचल त्यति सजिलै शान्त हुने अवस्था पनि देखिन्न ।

मार्च महिनामा न्युजिल्याण्डमा रौँ ठाडो पार्ने लोमहर्षक घटना घट्यो । एउटा क्रिस्चियन चर्च मस्जिदमा एकजना व्यक्तिले गोली चलाउँदा ५१ जनाले ज्यान गुमाए भने ४९ जना घाइते भए । यस अपराधिक घटनाको सोसल मिडियामा ‘लाइभ स्ट्रिमिङ’ समेत भयोे । यसले मानिसको अपराधिक मानसिकताको दायरा कति फराकिलो छ भन्ने त सङ्केत गर्छ नै, त्यसमा पनि सोसल मिडियाको कुन हदसम्म दुरुपयोग हुनसक्छ भन्ने तथ्य यस घटनाले अघि सारेको छ ।

सन् २०१९ मा हङकङ अधिकतम् चर्चामा रह्यो । नागरिक अधिकार बहाल नभएको मानिने  कम्युनिष्ट मुलुक चीनको अभिन्न अङ्ग भएर पनि स्वतन्त्रता उपभोग गरिरहेको छ । बेलायती उपनिवेशबाट सन् १९९७ मा मुक्त भएपछि हङकङले ‘एक देश, दुई नीति’ अनुरूप सापेक्षिक रूपमा बढी स्वतन्त्रता उपभोग गरिरहेको छ । तर, स्वतन्त्रताप्रेमी हङकङवासीले यत्तिमै चित्त बुझाएका छैनन् । हङकङवासी मार्च १५ देखि तरङगित हुन थाले । चिनियाँ सरकारले ल्याएको सुपुर्दगी कानुनप्रति असहमति जनाउँदै हङकङवासी सरकारविरुद्ध सडकमा उत्रिए । उनीहरूको असन्तुष्टि र सडक प्रदर्शन थामिने छाँडकाँट देखिन्न । सरकारविरुद्ध निरन्तरको प्रदर्शनमा अहिलेसम्म २ हजार ६ भन्दा बढी घाइते भएका तथा ६ हजारभन्दा बढी पक्राउ परेका तथ्याङ्क सार्वजनिक भएका छन् ।

अप्रिल १५ तारिखमा फ्रान्सको पेरिसस्थित ८ सय ५० वर्ष पुरानो नोटे«डाम क्याथेड्रल (चर्च) को क्षत आगलागी नष्ट भयो । आगलागीको कारण खुलेको छैन । ऐतिहासिक तथा सांस्कृतिक महत्वको त्यस क्याथेड्रलमा कसैले जानाजान आगलागी गराएको भन्ने प्रमाण अहिलेसम्मको अनुसन्धानमा भेटिएको छैन । फ्रान्सका राष्ट्रपति इमान्युल म्याक्रनले पाँच वर्षभित्र क्याथेड्रलको पुनःनिर्माण गर्न आदेश दिएका थिए । तर, विज्ञहरूले यसको निर्माण गर्न दशकौं लाग्ने बताएका छन् ।

अप्रिलमै जापानी सम्राट अकिहितोले राजगद्दी त्यागे । उनी ३० वर्ष राजगद्दीमा रहेका थिए । बितेको २ सय वर्षको इतिहासमा राजगद्दी त्याग्नेमा उनी पहिलो जापानी सम्राट हुन् । अकिहितोले राजगद्दी त्यागेपछि उनका छोरा नरुहितो सम्राट भएका छन् । सन् २०१६ एउटा मा दुर्लभ सार्वजनिक भाषणमार्फत  अकिहितोले आफूलाई राजगद्दी त्याग्न सजिलो हुने गरी कानुन बनाइदिन आग्रह गरेका थिए । सोही अनुरूप त्यहाँको संसदले कानुन बनाइदिएको थियो ।

भारतमा अप्रिल–मे महिनामा सम्पन्न चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) प्रबल बहुमतका साथ पुनः सत्तासीन भएको छ । भाजपा कट्टर हिन्दूवादी–दक्षिणपन्थी दल मानिन्छ । गुजरातको मुख्यमन्त्रीसमेत भइसकेका भाजपा नेता नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतका प्रधानमन्त्री बनेका थिए । यसपटकको चुनावपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका छन् । देशको सांस्कृतिक विविधताप्रति असहिष्णु बनेको आरोप भाजपा र मोदीमाथि लाग्दै आएको छ । लेखक, पत्रकार, बुद्धिजीवीलगायतका एउटा तप्का मोदी सरकारप्रति आलोचक रहँदै आएको छ ।


***

मार्ग जुकरबर्गले शुरु गरेको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले पछिल्लो समयमा थुप्रै कानुनी झमेला व्यहोर्दै आएको छ । सन् २०१९ मा पनि यो क्रम जारी रह्यो । अमेरिकाको सङ्घीय वित्त आयोगले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको निजी सूचना दुरुपयोग गरेको आरोप लगायो । यही मामिलालाई मिलाउन जुलाईमा फेसबुकले ५ बिलियन अमेरिकी डलरको ठूलो रकम जरिवानास्वरूप तिर्नुपर्‍यो । यो घटनाक्रमले प्रयोगकर्ताहरूको निजी सूचनाको गोपनीयताको मामिला पेचिलो बन्दै गएको सङ्केत गर्छ ।

समय समयमा चर्चामा आइरहने बेलायती राजसंस्था सन् २०१९ मा पनि सानोतिनो चर्चा बटुल्यो । राजकुमार ह्यारी र उनकी जीवनसंगिनी मेघन मर्कललाई सन्तानलाभ भयो । उनीहरूको पहिलो सन्तानले मे ६ तारिखमा यस धर्तीमा पाइला टेके । उनको नाम आर्ची ह्यारिसन राखिएको छ । बेलायती राजगद्दीको उत्तराधिकारीका रूपमा आर्ची अहिले सातौं पंक्तिमा छन् । सन् २०१८ मे १८ तारिखमा राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कल एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिएका थिए ।


***

सन् २०१९ मा विश्वसाहित्य जगतले एउटा मूर्धन्य व्यक्तित्व गुमायो । अगष्ट ५ तािरखमा अमेरिकाकी ख्यातिप्राप्त लेखिका टोनी मोरिसन (सन् १९३१—२०१९) को ८८ वर्षको उमेरमा निधन भयो । अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन पेशामा रहेर ज्ञान र विचार बाँड्दै आएकी मोरिसनका ‘द ब्जुवेष्ट आइ’ (सन् १९७०), बिलभ्ड (सन् १९८७) लगायत ११ वटा उपन्यास प्रकाशित छिन् । जादुमयी लेखनकलाका लागि चर्चित मानिने उनले सन् १९९३ मा ‘बिलभ्ड’ नामक उपन्यासका लागि नोबेल पुरस्कार हात पार्न सफल भएकी थिइन् । यसबाट साहित्यिक समुदाय जति खुसी थिए, त्यसभन्दा बढी अश्वेत समुदाय खुसी थियो । यसको दरिलो कारण छ ।  यसप्रकारको पुरस्कार हात पार्नेमा उनी पहिलो अश्वेत महिला थिइन् ।

मोदी सरकारले भारतीय संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरी  जम्मु–कश्मिरलाई विशेष दर्जा अगष्ट ५ तारिख  खारेज गर्‍यो । यससँगै जम्मु–कश्मिर केन्द्र–शासित क्षेत्र हुन पुगेको छ । यसले भारतमात्र होइन, पाकिस्तानमा समेत तरङ्गत पैदा गर्‍यो । भारत र पाकिस्तानमा प्रदर्शन भए । यी दुई मुलुकबीच विवादको जडको रूपमा रहेको जम्मु–कश्मिरको भविष्यसँग जोडिएको त्यस निर्णयले विश्व समुदायको ध्यान खिच्यो । यो घटना समाचारमा छाइरह्यो ।


***

दुनियाँमा भयानक मावनीय विपत्ति ल्याउने दोस्रो विश्वयुद्ध पोल्याण्डबाट शुरु भएको मानिन्छ । विष्मयकारी दोस्रो विश्वयुद्ध शुरु भएको सन् २०१९ को सेप्टेम्बरमा ८० वर्ष लागेको छ । यही दुःखद प्रसंगको पृष्ठभूमिमा पोल्याण्डमा विशेष कार्यक्रमसहित दोस्रो विश्वयुद्धको ८० औं वर्षगाँठ मनाइएको छ । दोस्रो विश्वयुद्धमा पोल्याण्डले व्यापक क्षति भोग्नुपरेको थियो । चेतनशील प्राणी मानिसकै कारण मानवतामाथि नै प्रश्न उठेको त्यो भयानक घटनाबाट पोल्याण्डले आफ्नो कुल जनसंख्याको पाँच भागमा एक भाग गुमाउनुपरेको थियो ।


***

भारतले नोभेम्बर तारिखका दिन नेपाली भूभाग लिम्पियाधुरा–लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा नक्शा सार्वजनिक गर्‍यो। यसले नेपाल र भारतीय थाँती रहेको सीमा विवादलाई पुनः एकपटक सतहमा ल्याइदियो । भारतीय कदमविरुद्ध नेपालमा प्रदर्शन भए । भारतको ‘बिग्र ब्रदर एटिच्युड’ र नेपालको राष्ट्रिय स्वाभिमानबारे चर्काचर्कीपूर्ण विचार–विमर्श भए । भारतीय कदमको नेपालमा विरोध भइरहँदा भारतीय विदेश मन्त्रालयले नेपालको भूमि आफ्नो नक्शामा नसमेटेको बतायो । भारतले देखाएको व्यावहारले नेपाल–भारतबीच विद्यमान सीमा–समस्या सजिलै समाधान हुने देखिन्न । अहिले आएर यो मामिला सामसुमजस्तै भएको छ ।


***

डिसेम्बर १७ तारिखमा पाकिस्तानको विशेष अदालतले विश्व समुदायलाई नै चकित तुल्याउने गरी पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको फैसला  सुनायो । उनलाई राष्ट्रघात गरेको आरोप लगाइएको छ । सन् २००७ मा संविधान खारेज गरी तत्कालीन सैनिक जनरल मुसर्रफ पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी सन् २०१६ देखि युएईमा रहँदै आएका छन् । उनी अदालतको कुनै पनि सुनुवाइमा उपस्थित भएनन् । पैmसला निम्त्याएको असहज परिस्थितिको कसरी पटाक्षेप होला ? हेर्न बाँकी छ ।

सन् २०१९ निख्रिँदै गर्दा विश्वको ‘सुपरपावर’ मानिने अमेरिका घरेलु राजनीतिका कारण चर्चामा आयो । अनेकन विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोगको प्रस्ताव अघि सारियो । उनको कार्यशैलीबाट लोकतन्त्र र राष्ट्रिय सुरक्षामा चुनौती थपिएको अमेरिकीहरूको बुझाइ छ ।

उनीमाथि शक्ति दुरुपयोग गरेको आरोपमा महाअभियोगको प्रस्ताव अघि सारिएको हो, जुन बहुमतले पारित भयो । डिसेम्बर १८ तारिखमा भएको मतदानमा पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको थियो । मतदानअघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स्’ मा प्रस्तावको पक्ष र विपक्षमा गर्मागर्मी बहस भएको थियो । अमेरिकी सिनेटले उनीमाथिको महाअभियोग प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेमा उनी पदमुक्त हुनेछन् ।

यता, छिमेकी मुलुक भारतमा नागरिकतासम्बन्धी कानुनका कारण डिसेम्बरको चिसोमा पनि राजनीतिक तापक्रम उच्च विन्दुमा पुग्यो । भारतका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भए । नागरिकतासम्बन्धी नयाँ कानुनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ । यसअघि सन् १९५५ मा जारी भएको नागरिकतासम्बन्धी ऐनले कानुनले गैरकानुनी भनिएका आप्रवासीहरूलाई भारतीय नागरिक हुन बाटो खोलेको थिएन । नयाँ कानुनले अघि सारेको प्रावधानलाई अन्यायपूर्ण र विभाजनकारी भएको भन्दै जनआक्रोश बढेको हो ।

[साभार : लोकसवाद । २०७६ साल पुस १३ गते । परिमार्जित संस्करण । स्रोत : सामाचार ऐजेन्सीहरू ।]

Thursday, December 26, 2019

स्मृतिमा बाँचिरहनेछन् नेपाली लोक-रकका सूत्रधार शुक गुरूङ

–यमबहादुर दुरा

नेपाली सङ्गीत र विदेशी सङ्गीतबीच कहिलेदेखि अन्तरघुलन हुन थाल्यो ? नेपाली लोकभाका र विदेशी शैलीका सङ्गीतबीच कहिलेदेखि ‘फ्युजन’ हुन थाल्यो ? दुई गोलार्धका सङ्गीतबीच ‘फ्युजन’ गर्ने काममा क–कसले र कहिले–कहिले योगदान गरे ? यसबारे कुनै स्पष्ट जवाफ पाउन सजिलो छैन ।
तस्बिर : इन्टरनेट

सङ्गीत सर्जक शुक गुरुङले सांसारिक नाता तोडेर हामीसँग बिदा भएको घटना ताजै छ । यो घडीमा ‘सङ्गीत फ्युजन’ को प्रसंग उठाएर उनीबारे केही प्रसंग झिक्नु असान्दर्भिक नहोला । सङ्गीतकार शुक गुरुङ नेपाली लोकभाका र पश्चिमी सङ्गीतलाई मिसाएर नयाँ शैली र स्वादका सङ्गीतिक परिकार पस्कने सङ्गीत सर्जकमध्ये एक पर्छन् । नेपाली लोक–रकका सूत्रधारमध्ये एक मानिन्छन् ।

यही प्रसंगमा ‘रक म्युजिक’ को कुरा गरौँ । अमेरिकामा सन् १९६० तिर ‘रक म्युजिक’ अस्तित्वमा आएको इतिहास भेटिन्छ, जुन  ‘रक एण्ड रोल’  सङ्गीतको विकसित रूप मानिन्छ । सन् १९४०—१९५० तिर ‘रक एण्ड रोल’ अस्तित्वमा आएको विश्वास गरिन्छ । यद्यपि, यसबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

नेपालमा धेरै चर्चामा रहेको साङ्गीतिक ब्याण्ड ‘नेपथ्य समूह’ लाई धेरैले ‘रक म्युजिक’ मा आधारित साङ्गीतिक समूह मान्छन् । यसले नेपाली लोकसङ्गीतको धारलाई पनि छाडेको छैन । ‘नेपथ्य समूह’ को साङ्गीतक प्रस्तुतिमा ‘रक म्युजिक’ र नेपाली लोकसङ्गीतको मिश्रण भेटिन्छ । यही आधारमा ‘नेपथ्य समूह’ लाई नेपाली लोक–रक भनेर चित्रण गरिन्छ ।

शुक ‘नेपथ्य समूह’ बाट उदाए । यसभन्दा अघि अमृत गुरुङ, शुक गुरुङ र भीम पुनको सक्रियतामा ‘भञ्ज्याङ झङ्कार’ नामक साङ्गीतिक समूह गठन भएको र त्यसले केही साङ्गीतिक कार्यक्रम गरेको अभिलेख  भेटिन्छ । यद्यपि, यसबारे उतिसाह्रो चर्चा चलेको पाइन्न ।

‘नेपथ्य समूह’ बाट ‘छेक्यो छेक्यो देउराली डाँडा...’ बोलको गीत निस्कियो । यो गीत युवामाझ बिछट्टै लोकप्रिय बन्यो । यसले शुक गुरुङको साङ्गीतिक व्यक्तित्व ह्वात्तै बढाइदियो । यसपछि के कारण हो, शुक ‘नेपथ्य समूह’ मा बस्न रुचाएनन् । एउटा अतिशय सुन्दर सिर्जना दिएर उनी बाहिरिए । ‘नेपथ्य समूह’ मा उनको सिर्जनाले केराको जुनीजस्तै नियति भोग्यो । एकै बेतमा सारा उत्पादकत्व सकियो ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि मातृसंस्थामा फर्केनन् । संस्थामा कोही आउनु र जानु सामान्य भए पनि सबै अवस्थामा सामान्य मान्न सकिँदैन । ‘नेपथ्य समूह’ बाट शुक किन बाहिरिए ? यसबारे शुक गुरुङ स्वयम् र अमृत गुरुङ दुवैजना मौन रहे, सार्वजनिक रूपमा केही बोलेनन् । सङ्गीतभित्र घुसेको राजनीति के हो, धेरैले बुझ्न  पाएका छैनन् ।

ती सङ्गीत–शिल्पीहरूको निजी सम्बन्धका ‘केमेष्ट्री’ को जोड–घटाउन गर्नु कसैको रहर होइन । यद्यपि, उनीहरू काँधमा काँध मिलाएर सँगै रहेका भए अरू बेजोड साङ्गीतिक कोसेली तयार हुने थिए । उनीहरूको सम्बन्धबारे यतिचाहिँ टिप्पणी गर्न सकिन्छ ।

‘नेपथ्य समूह’ बाट बाहिरिएपछि उनी २०५० को दशकको पूर्वाद्धतिरै काठमाडौँ छिरे । उनी एक्लै सङ्गीतकर्ममा लागे । ‘आँखैमा झलझली...’, ‘भाइटीकामा भेट्न आउँला...’, ‘कसैलाई दोष दिन चाहन्न...’ जस्ता दर्जनौं गीत सिर्जना गरे । उनका  यी गीत धेरैका मनमस्तिष्कमा सुमधुर झङ्कार बनेर बसिरहे । उनले चर्चा बटुलिरहे । स्रोतागणको माया र सदभाव उनीमाथि ओइरिरहे ।

सङ्गीत सिर्जनाभन्दा बाहिरको उनको व्यक्तित्वलाई हेर्ने हो भने उनी रसिला व्यक्ति थिए भन्न सकिन्छ । उनी कुराको सेलरोटी पकाउन सिपालु थिए । उनी हास्यचेतले भरिएका व्यक्ति थिए । बोल्दा धेरै हाँसो–ठठ्ठा गर्थे । विनोदी स्वाभाका थिए । बोलीमा अनेकन् विम्ब र उपमा प्रयोग गरेर मिठासपूर्ण अभिव्यक्ति पस्कन्थे । व्यङ्ग्यात्मक अभिव्यक्तिमा निपुण थिए । उनको कुरा सुनेर धेरैले रमाइलो मान्थे ।

सबै कुरा ठीकठाक चलिरहेको बेला नियतिले एउटा कुनाबाट उनीप्रति कुदृष्टि लगाइरहेको थियो । पंक्तिकारले २०५८ सालतिर उनलाई काठमाडौंमा भेटेको थियो । त्यतिबेलै उनलाई मधुमेहले छोइसकेको थियो ।

तर, उमेरदार व्यक्ति भएकाले उनी हट्टाकट्टा र फूर्तिला  नै थिए । त्यतिबेला उनी म्हेपीमा बस्थे । उनको डेराको गमलामा मधुमेह निको पार्न सघाउने वनस्पति फक्रिरहेका–फुलिरहेका हुन्थे ।

उनी आहार विहारमा निष्फिक्रीजस्ता देखिन्थे । त्यतिबेला केही साथीभाइलाई मदिराभोगको नशाबाट छुटकारा दिलाउन प्रयत्न गरिरहेका भेटिन्थे । विडम्बनाश, उनी आफैं   भने मदिराभोगबाट टाढिन सकेका थिएनन् । यस्तो लाग्थ्यो, नशाले उनको विवेकमाथि कब्जा जमाइरहेको छ ।

पथ पहरेजलाई नै पहरेज गर्दै जाँदा उनीभित्रको रोग मौलाउँदै गयो । पछि पहरेज नियन्त्रण गर्न सकिने रोग असाध्य व्यथामा परिणत हुन थाल्यो । मधुमेहले चौतर्फी असर देखाउँदै गयो । विस्तारै आँखा कमजोर हुन थाल्यो । अन्त्यमा आँखाको ज्योति निभ्यो । त्यसपछि मिर्गौला पनि बिग्रँदै गयो । कालान्तरमा मिर्गौलाले धोका दिएरै छाड्यो ।

स्वास्थ्यका दृष्टिले उनको जीवनमा एकपछि अर्को गरी दुर्भाग्यपूर्ण घडी आइरहे । यसको दुःखदायी असर उनको साङ्गीतिक करिअरमा पनि पर्दै गयो । उनका नयाँ कृतिहरू जन्मन छाडे । साथीभाइहरू टाढिँदै गए । ख्याति कमाएर पनि उनी गुमनाम बन्ने दिशातिर उन्मुख थिए ।

जीवनको उत्तरार्धमा शुक गुरुङ साङ्गीतिक दृष्टिले एक्ला र सुस्त जस्ता भएका थिए । रोगले एकपछि अर्को गरी गिजोल्दै जाँदा उनी सङ्गीतकर्मबाट निवृत्तजस्ता भइसकेका देखिन्थे । समयको कठोर झोक्काले उनलाई पल पल कमजोर बनाइरहेको थियो । शारीरिक दृष्टिले मात्र होइन, साङ्गीतिक दृष्टिले पनि ।

उनको चर्चाको ग्राफ उरालो झरिरहेको थियो । एकाध साथीसंगीले बाहेक उनको चर्चा गरेको भेटिँदैनथ्यो । केही गरी उनको चर्चा भइहाले पनि सङ्गीतकर्मका कारण भन्दा पनि शारीरिक अवस्थ्यताका कारणले बढी चर्चा पाएको थियो ।

यद्यपि, उनीप्रति माया र सदभाव खन्याउने साथीसंगी र शुभचिन्तकहरूले भने बिर्सिएका थिएनन् । उनको उपचारार्थ देश–विदेशमा आर्थिक सहयोग जुटाउने अभियान चलेका थिए । उनको सहयोगका लागि ठूलो सहयोग राशी जुटेको समाचार माध्यममा आएका थिए ।

शुक गुरुङ भने आफूसँग हरपल हार्दै गएका थिए । उनले बाँच्ने आशा त्यागिसकेका थिए । आफ्नो उपचारका लागि उठेको रकम आफ्नो उपचारमा खर्च गर्न चाहेनन् । पैसा हातमा परेर पनि मिर्गौला फेर्ने चाहेनन् ।

त्यो रकम आफूभन्दा लामो समय बाँच्ने उमेर भएका परिवारजनलाई टाउको लुकाउने गुँड बनाइदिन आग्रह गरे । उनले आफ्नै जीवन खण्डहर पारेर परिवारजनको भविष्य बनाउने सोच अघि सारे । उनका सहयोगीहरूले त्यो चाहना पूरा  गरिदिए ।

उनको जीवन बसाइँ सर्ने चराको जस्तो रह्यो । कहिले कता त कुनैबेला कता । पुख्र्यौली घर लमजुङ भएका शुक चितवन पुगे । त्यहाँबाट पोखरा पुगे । उनको बाल्यकाल त्यतै बित्यो । पोखरामा रहँदा नयाँ धारका सङ्गीत अनुरागीहरूसँग हिमचिम बढ्यो । त्यहीँबाट सङ्गीतलाई जीवनको लयको रूप लिए । सङ्गीतकर्ममा जुटिरहे ।

यही मेहरोमा पोखराबाट काठमाडौंँ हानिए । काठमाडौं छिरेपछि पनि सङ्गीत सिर्जनामा जुटे । रोग असाध्य बन्दै गएपछि पुनः पोखरा नै फर्किए । रोटेपिङझैं  एउटा वृत्तमा घुमेर उनको जीवनले  सदाका लागि विश्राम लियो ।

बहीखाता पल्टाउँदा उनको जीवनमा जोड–घटाउन गर्नुपर्ने थुप्रै पक्ष होलान् । जोड–घटाउनको अङ्क–गणितमा उनको जीवनमा जोडिन आएकी जीवनसंगिनी जुना गुरुङको सानो चर्चा नगरी उनको जीवनगाथा अपूरो हुन्छ ।
अनेकन् झञ्झावतसँग जुधेर जुनाले जीवनसंगी र दुई छोराका मुहारमा खुसी फक्राउन अथक प्रयत्न गरिन् ।

आफूभन्दा धेरै पाको जीवनसंगीलाई डोर्‍याएर क्लिनिक र अस्पताल पुर्‍याइरहिन् । सेवा–सुश्रुषामा जुटेर माया–ममताको वर्षा गरिरहिन् । आफ्नो कर्तव्यपथबाट कहिल्यै विचलित भइनन् । उनले शुक गुरुङलाई साँचो अर्थमा साङ्गीतिक–सामाजिक व्यक्तित्व बनाउन हरसम्भव प्रयत्न गरिन् ।

तमाम नाता–सम्बन्धको जालो तोडेर शुक अर्कै लोकमा पुगिसके । अब उनी स्मृतिमा मात्र बाँच्नेछन् । यहाँनेर, रोमन दार्शनिक सिसिरोको भनाइ सान्दर्भिक हुन आउँछ । उनले भनेका छन्, ‘दिवङ्गत व्यक्तिको जीवन जिउँदो व्यक्तिको स्मृतिमा बाँच्छ ।’ आफ्नै साङ्गीतिक विरासतको प्रतापबाट उनी धेरैको स्मृतिमा बाँचिरहनेछन् ।

साभार :  देखापढी । २०७६ साल पुस १० गते ।

Friday, December 20, 2019

‘यु ट्युब’ को बुद्धिमत्तापूर्ण उपयोगको सवाल

-यमबहादुर दुरा

ग्राफिक्स : गुगल
‘टाइम’ म्यागजिनले हरेक वर्ष दुनियाँका चर्चित, शक्तिशाली र प्रभावशाली व्यक्तिमध्येबाट एकजनालाई वर्ष व्यक्ति (पर्सन अफ द यिअर) घोषण गर्छ । त्यस म्यागजिनले सन् २००६ मा अचम्मलाग्दो किसिमले वर्ष व्यक्ति घोषण गर्‍यो । उसले ‘तपाईँ’ (कुनै पनि उच्च प्रोफाइल नभएको सामान्य व्यक्तिसमेत) लाई वर्ष व्यक्तिको रूपमा घोषणा गर्‍यो ।

सोसल मिडियाको आगमनसँगै हरेक व्यक्ति शक्तिशाली र प्रभावशाली बनिरहेको छ भन्ने आधारमा ‘टाइम’ म्यागजिनले  सामान्य नागरिकलाई पनि वर्ष व्यक्ति घोषणा गरेको हुुनुपर्छ ।  माइस्पेस, फेसबुक ‘यु ट्युब’ जस्ता सोसल मिडियाले ‘बेबी स्टेप’ लिन थालेको त्यस समयमा ‘टाइम’ म्यागजिनले सामान्य नागरिकलाई वर्ष व्यक्तिको दर्जा दिनु कताकता नसुहाउने काम भएको हो कि जस्तो लाग्थ्यो ।

‘टाइम’ म्यागजिनको त्यो घोषणा एक किसिमले असामान्य घटना थियो । तत्कालीन समयमा असामान्य जस्तो लाग्ने त्यो घटना अहिले आएर धेरै अर्थपूर्ण हुन गएको छ । सोसल मिडियाले हरेक व्यक्तिलाई प्रकाशक वा प्रसारक बन्ने अवसर दिएको छ, जुन कुरा विगतमा फगत सपनामात्र थियो । अहिले त्यो सपना विपनामा परिणत भएको छ ।

यसै सन्दर्भमा सोसल मिडियाको एउटा महत्वपूर्ण प्याटफर्म ‘यु ट्युब’ को कुरा गरौँ । आजभन्दा लगभग १५ वर्षअघि सन् २००५ मा यसको जन्म भएको हो । अनलाइन भुक्तानी प्रणालीसम्बन्धी अमेरिकी कम्पनी ‘पेपल’ का तत्कालीन कर्मचारी चाड हर्ले, स्टिभ चेन र जावेद करिमले ‘यु ट्युब’ शुरु गरेका हुन् । भिडियो सेयरिङको भरपर्दो प्याटफर्मको रूपमा ‘यु ट्युब’ को मुख्यालय अमेरिकाको क्यालिफोर्नियास्थित सान ब्रुनो शहरमा रहेको छ ।

अहिले ‘यु ट्युब’ लाई नचिन्ने र नजान्ने व्यक्ति शायदै होलान् । वेबसाइटको स्तर निर्धारण गर्ने साइट ‘एलेक्सा’ ले ‘यु ट्युब’ लाई बढी भिजिटर भएको दोस्रो वेबसाइटको रूपमा रेटिङ गरेको छ । अहिले यो प्याटफर्म सबै पेशा र व्यावसायका व्यक्तिका लागि प्यारो थलो बनेको छ । ज्ञान प्राप्त गर्ने, ज्ञान बाँड्ने तथा समय बिताउने सबैका लागि गजबको प्याटफर्म बनेको छ, ‘यु ट्युब’ । अनि सिक्न चाहने र सिकाउन चाहने दुवैका लागि उपयोगी थलो हो ।

सार्वजनिक अभिलेखमा रहेको आँकडा अनुसार अहिले ‘यु ट्युब’ मा प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुन्छन् । हरेक दिन ३० मिलियन व्यक्तिले ‘यु ट्युब’ हेर्छन् । हरेक दिन पाँच बिलियन भिडियो हेरिन्छन्, जसमा आधाभन्दा बढी भिडियो मोबाइल सेटबाट हेरिन्छन् ।

विगतका दुर्लभ दृश्यदेखि वर्तमानको ताजा भिडियोसम्म हेर्ने पाइने प्याटफर्म पनि बनेको छ, ‘यु ट्युब’ । भान्छेलाई आवश्यक पाककलादेखि विश्वविद्यालयका प्राध्यापकलाई आवश्यक ज्ञानको भण्डार पनि ‘यु ट्युब’ नै ले उपलब्ध गराएको छ । नयाँ प्रतिभाले प्रतिभा प्रदर्शन गर्ने र हराएका प्रतिभाले पुनःजीवन पाउने अवसर पनि ‘यु ट्युब’ नै दिएको छ । क्लासिकदेखि ‘अल्ट्रमोर्डन’ गीतको अनौठो दोभान पनि ‘यु ट्युब’ नै बनेको छ । ‘यु ट्युब’ को बहुपक्षीय गुणले ‘हर मर्ज की दबा’ भन्ने पुरानो हिन्दी कहाबतको राम्रैसँग सम्झना गराएको छ ।

अर्कोतिर, एउटा टेलिभिजन च्यानलमा हुने सबै गुण ‘यु ट्युब’ मा छ । यसमा समाचार, ‘टक सो’, ‘म्युजिक भिडियो’ वृत्तचित्र पाककलालगायतका सबै किसिमका सामग्री पाइन्छन् । यसमा टेलिभिजनमा नभएको अर्को महत्वपूर्ण गुण पनि छ । त्यो हो, ‘रियल टाइम’ मा प्रसारण हेर्नुपर्ने बाध्यताको अन्त्य । ‘यु ट्युब’ का सामग्री भविष्य हेर्ने गरी साँचेर राख्न सकिन्छ ।

यस्तो मीठो अवसर टेलिभिजनले आफ्ना दर्शकलाई दिन सकेको छैन । अर्को कुरा, टेलिभिजन निश्चित मुठ्ठीभर व्यक्तिको हातमा छ भने ‘यु ट्युब’ एक हिसाबले सर्वहाराको हातमा छ । जिमेल अकाउण्ट हुने जोकोहीले पनि‘यु ट्युब’ च्यानल खोल्न सक्छ । अब टेलिभिजनले पाउँदै आएको विज्ञापन पनि ‘यु ट्युब’ तिरै मोडिने क्रम शुरु भइसकेको छ ।

आफूलाई प्रतिस्पर्धीसँगको दौडमा सामेल गराउनका लागि टेलिभिजन च्यानलले ‘यु ट्युब’ कै आश्रय लिनुपरेको छ । अहिले टेलिभिजन च्यानलहरू धमाधम ‘यु ट्युब’ मा जान थालेका छन् । अब, टेलिभिजनको चर्को प्रतिस्पर्धी अर्को कोही छ भने आफूले आश्रय लिएको त्यही ‘यु ट्युब’ नै हो भन्न थालिएको छ ।

जसरी डिजिटल प्रविधिको उपस्थितिले अखबारले भोगिरहेको पीडादायी नियति भोग्नुपर्ने पालो अब टेलिभिजनको आएको छ । त्यसमा पनि ‘यु ट्युब’ र फेसबुकले कुनै पनि ‘इभेन्ट’ को प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) को अवसरलाई सहज तुल्याएपछि टेलिभिजन थप सङ्कटमा पर्न थालेको छ ।

टेलिभिजन उद्योगलाई सङ्कटमा पारे पनि ‘यु ट्युब’ ले सर्वसाधारणलाई धेरै दृष्टिले लाभ नै पुर्‍याएको छ । रैथाने कला र संस्कृतिबारे भिडियो अभिलेखीकरण गर्न ‘यु ट्युब’ राम्रो संग्रहालय भएको छ । सांस्कृतिक पक्षको अध्ययन–अनुसन्धान गर्नेहरूका लागि पनि ‘यु ट्युब’ एउटा गतिलो थलो बनेको छ ।

 विकृति र विसङ्गतिको पाटोबाट हेर्ने हो भने पनि ‘यु ट्युब’ को वृत्तान्त अकथनीय छ । नकारात्मक शिराबाट हेर्ने हो भने ‘यु ट्युब’ एक किसिमको ‘ब्याक स्पट’ नै हो । यु ट्युब भिडियोसँग सम्बन्धित कतिपय गम्भीर मामिला अमेरिकी अदालतमा विचाराधीन छन् ।

 यसमा छाडा र अश्लील भिडियोको कुनै कमी छैन । घृणा फैलाउने अभिव्यक्तिको पनि कुनै अभाव छैन । यसमा अपराधिक सोच र मनोवृत्ति पृष्ठपोषण गर्ने खालका सामग्रीको पनि कुनै दुःख छैन ।
नेपालीबाट पनि पर्याप्त मात्रामा छाडा र अश्लील भिडियो ‘यु ट्युब’ मा अपलोड भइरहेको देखिन्छ । मानिसलाई भ्रममा पार्न भ्रामक र गलत सूचना प्रवाह गर्ने काम पनि नेपाली यु ट्युबरबाट भइरहेका छन् । हालसालै उठेको कालापानीको सीमा विवादमा नेपाललाई सघाउन चिनियाँ सेना लिपुलेक आइपुगेको झुटो खबर ‘यु ट्युब’ मा आए ।

आपतकालीन समयमा के कस्ता तयारी गर्ने भन्नेबारे गरिएको ‘रिहर्ससल’ लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान दुर्घटना भएकाले उद्दार कार्य भइरहेको छ भनेर कतिपय यु ट्युबरले प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने काम गरे । यी त यु ट्युबरले गरेका दुष्कर्मको सामान्य दृष्टान्तमात्र हुन् । ‘यु ट्युब’ मा आकर्षक थमनेल, क्याप्सन, शीर्षक राखेर दुष्प्रचार गरी सर्वसाधारणलाई उल्लू बनाउने काम व्यापकस्तरमा भइरहेको छ ।

यस्ता विकृतिसँग लड्न डिजिटल साक्षरता आवश्यक छ । इन्टरनेटसँग सम्बन्धित कानुनी ज्ञान पनि आवश्यक भइसकेको छ । दुष्प्रचार गरेर स्वार्थको झोली  भर्न पल्केका जो–कोही कानुनी दृष्टिले उन्मुक्त हुन छैनन् ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा २० ले जातीय घृणा, हिंसा आदिलाई प्रश्रय दिने दुष्प्रचारलाई प्रतिबन्ध लगाएको छ ।

प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने काम अन्तर्गत दफा ५ (१) मा विभिन्न जात–जाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव गर्ने प्रकृतिका समाचार प्रकाशन तथा प्रकाशन गर्न नहुने उल्लेख गरेको छ ।

‘यु ट्युब’ एउटा अथाह सागर हो, जहाँ स्वाभाविक रूपमा राम्रा र नराम्रा दुवै चीज छन् । यसलाई ज्ञानकुञ्ज बनाउने कि विकृतिको महाकुण्ड बनाउने ? यो हरेक सचेत नागरिकले आफैंसँग सोध्नुपर्ने प्रश्न हो । अहिले देखिएका तमाम विकृतिको समाधान पनि यसैमा छ ।

साभार : लोकसंवाद । २०७६ साल पुस ४ गते ।

Tuesday, December 17, 2019

‘महेन्द्रीय राष्ट्रवाद’

–यमबहादुर दुरा

शाहवंशीय राजपरम्परामा पृथ्वीनारायण शाहपछि धेरैको स्मृतिमा रहेका पात्र राजा महेन्द्र नै हुन् । एकथरीले उनलाई नायकको बिल्ला भिराएर प्रशांसा गर्छन् भने अर्काथरी उनलाई खलनायकको बिल्ला लगाएर गाली गर्छन् । चाहे श्रद्धाले वा घृणाले नै किन नहोस्, उनलाई धेरैले सम्झन्छन् । राणा शासकविरुद्ध विद्रोह गरी देशमा प्रजातन्त्र ल्याउन योगदान दिएको श्रेय पाएका उनका पिता त्रिभुवनको समाकालीन नेपालमा उतिसाह्रो चर्चा भएको पाइन्न ।
ग्राफिक्स : गुगल

तर, उनको तुलनामा उनकै छोरा राजा महेन्द्रको धेरै चर्चा हुने गर्छ । महेन्द्र निधन भएको पाँच दशक पुग्नै लाग्दा उनको चर्चा जिउँदो व्यक्ति सरह भइरहेको छ । विभिन्न कोणबाट उनीमाथि टीका–टिप्पणी हुने क्रम जारी नै छ । देशको बागडोर सम्हाल्दा राजनीतिक वृत्त तथा कूटनीतिक तहमा हलचल नै ल्याउने गरी उनले कमाएको जस र अपजस नै चर्चाको जड हो ।

धेरैले राजा महेन्द्रलाई राष्ट्रवादी राजाको रूपमा चित्रण गर्छन् । उनको राष्ट्रवादलाई चित्रण गर्न आजकल ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने शब्दावली प्रयोगमा आएको छ । हुन पनि राजा महेन्द्रबाट राष्ट्रवादलाई प्रश्रय पुग्ने केही काम भएकै हो । उनकै नेतृत्वमा २०१२ साल मङ्सिर २९ गते नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो । राष्ट्र र राष्ट्रियताका दृष्टिले यो दूरगामी महत्वको एउटा ऐतिहासिक कदम थियो ।

राजा महेन्द्रकै पालमा जनकपुर चुरोट कारखाना, बाँसबारी छाला जुत्ता कारखाना, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, सिमेन्ट र कपडा कारखानाजस्ता आर्थिक तथा औधोगिक पूर्वाधारहरू स्थापना भएका हुन् । यद्यपि, ती औधोगिक पूर्वाधार विदेशीको सहयोगमा स्थापना भएका थिए ।

यसका अतिरिक्त नेपालको उत्तर भूभाग दार्चुलादेखि ओलाङचुलासम्म १८ ठाउँमा स्थापित भारतीय सैनिक चेक पोष्ट हटाउने, नेपाल राष्ट्र बैकको स्थापना गरी भारतीय मुद्रालाई विस्थापन गरी देशभरि नेपाली मुद्रा चलाउने, सीमा अतिक्रमण हुनसक्ने सम्भावना रहेको कतिपय खाली सीमावर्ती क्षेत्रमा पहाडी मूलका नागरिकलाई राख्ने, तराईका विद्यालयबाट भारतीय पाठ्यपुस्तक विस्थापन गरी नेपाली पाठ्यपुस्तक लागू गर्नेजस्ता राष्ट्रवादी देखिने काम उनको नेतृत्वमा भएको प्रसस्त अभिलेख भेटिन्छन् ।

तर, यतिबेला महेन्द्रीय ढाँचाको गरेको राष्ट्रवाद सङ्कटमा परेको देखिन्छ । दुनियाँमा विश्वबन्धुत्वको अवधारणा विकास हुँदै  गएको छ । यस्तो अवस्थामा कतिपयले राष्ट्रवादी अवधारणालाई साँगुरो मानसिकताको उपजको रूपमा लिन्छन् । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइस्टाइन (सन् १८७९—१९५५) ले भनेका छन्, ‘राष्ट्रवाद शैशवकालीन रोग हो । यो मानव जातिको दादुरा हो ।’ प्रसिद्ध अमेरिकी विचारक नोम चोम्स्कीका दृष्टिमा राष्ट्रवाद भनेको अरूलाई दबाउने उपाय हो ।

राष्ट्रवादी विचारलाई नकारात्मक रूपमा अर्‍थ्याउने प्रवृत्तिले नेपालमा पनि राम्रै स्थान पाइसकेको छ । कतिपयले राष्ट्रवादको विरोध गर्ने खेती नै गरेको देखिन्छ । राष्ट्रवादको विरुद्धमा अनेकन् प्रयत्न हुँदाहुँदै पनि नेपालमा राष्ट्रवादी भावना मरिसकेको छैन । भूगोल र राजनीतिक नक्शाबिना कुनै पनि देशको अस्तित्व नरहने भएकाले पनि कुनै न कुनै रूपमा राष्ट्रवादी भावना जीवित रहन्छ ।

नेपालको सन्दर्भमा राष्ट्रवादको परिभाषा धेरै साँगुरो देखिन्छ । भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने देखिन्छ । भारतसँगको भूराजनीतिक सम्बन्धले पनि यसलाई बल दिएको छ । भारतले गरेको सीमा अतिक्रमण, सीमावर्ती क्षेत्रमा नेपाली नागरिकमाथि भएको ज्यादती र अन्य प्रकृतिका हेपाहा व्यवहारले नेपालमा भारतविरोधी भावना मौलाइरहेको छ ।

भारतको हेपाहा व्यावहार यतिमा मात्र सीमित छैन । भारतले विभिन्न वहानामा विभिन्न समयमा नेपालमाथि नाकाबन्दी लगाउँदै आएको छ । निकटपूर्व इतिहासतिर फर्कने हो भने भारतले २०२७, २०४६ र २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाइसकेको छ । यसबाट हरेक नयाँ पुस्तामा भारतविरोधी भावनाको बीजारोपण भइरहेको देखिन्छ ।

राष्ट्रिय जीवनमा राष्ट्रवादी भावना आवश्यक पनि छ । अघि नै भनियो, कुनै न कुनै रूपमा राष्ट्रवादी भावना जीवित रहन्छ । महेन्द्रभन्दा अघि पनि राष्ट्रवाद थियो र पछि पनि रहन्छ ।  राष्ट्रवादको मात्राको घटी–बढीको कुरामात्रै हो । हरेक देशका नागरिकमा राष्ट्रवादी भावना हुन्छर हुनुपर्छ पनि । तर,  अति राष्ट्रवादी सोच (Ultra-nationalist thought) चाहिँ पक्कै पनि त्याज्य विषय हो ।

यद्यपि, ‘महेन्द्रीय राष्ट्रवाद’ ले धेरै चर्चा पाउनका पछाडि केही निश्चित कारण छन् । एक अर्थमा राष्ट्रवादी धारणा सही हुँदाहुँदै पनि महेन्द्रले ल्याएको राष्ट्रवादका आलोचना गर्नलायक पक्षहरू छन् ।

 राजा महेन्द्रले २०१७ साल पुस १ गते तत्कालीन जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सरकारलाई अपदस्त गरेर शासन–सत्ताको बागडोर आफ्नो हातमा लिए । त्यतिञ्जेलसम्म विश्वमा स्वाधीनता र प्रजातन्त्रको लहर चलिरहेकै थियो ।

यद्यपि, त्यही समयमा एशिया र अफ्रिकाका कतिपय तानाशाहहरूले  पनि ‘कु’ गरेर शासन सत्ता हत्याएका थिए । यिनै राजनीतिक घटनाक्रमबाट उनी प्रत्यक्ष शासनमा प्रेरित भएको देखिन्छ । तर, उनको यो ‘अप्रोच’ गलत थियो । उनले सत्ता हातमा लिएपछि राजनीतिक दलमाथि प्रतिबन्ध लाग्यो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुष्ठित हुन पुग्यो । यो कदम समयको विपरीत प्रवाहमा थियो ।

प्रजातन्त्रलाई अपहरण गरेर राष्ट्रवादको कार्ड प्रयोग गर्नु सर्वथा गलत थियो । यही कारण राष्ट्र र राष्ट्रियताका सन्दर्भमा उनले चालेका कदम युगान्तकारी हुँदहुँदै पनि आलोच्य हुन पुग्यो । राष्ट्रवादको कार्डले प्रजातन्त्रको भरपाइ गर्न सक्दैनथ्यो ।

अर्को कुरा, ‘महेन्द्रीय राष्ट्रवाद’ ले विविधतापूर्ण नेपाली समाजको सांस्कृतिक विविधतालाई सम्मान गर्न सकेन । ‘एक भाषा एक भेष’ को घोषित वा अघोषित नीतिले सांस्कृतिक विविधतामा रमेको नेपाली समाजले उकुसमुकुसको वातारण तयार पार्‍यो । यो ‘महेन्द्रीय राष्ट्रवाद’ अर्को आलोच्य पक्ष हो ।

देशको सीमा रक्षा गर्ने विषयमा ख्याति कमाएका राजा महेन्द्रले देशकै भूगोललाई घात गरेको प्रसंग पनि समय समयमा उठ्ने गर्छ । देशको उत्तरी भेगका अन्य चौकीबाट भारतीय सेना हटाइसक्दा पनि भारत–चीन युद्धताका सन् १९६२ मा कालापानी क्षेत्रमा भारतीय सेनालाई यथावत रहन दिनुमा कतिपयले राजा महेन्द्रलाई नै जिम्मेवार ठानेका छन् ।

कालापानीको विवाद उठ्दा एउटा नेपालभित्रकै एउटा तप्काले यही ‘न्यारेटिभ’ दोहोर्‍याइरहेका छन् । नेपाली भूमिमा रजगज गरेर बसेको भारतीय पक्षले पनि स्वाभाविक रूपमा यही ‘न्यारेटिभ’ प्रयोग गरेको पाइन्छ । तर, यसबारे कसैले पनि सप्रमाण बोल्न सकेका छैनन् । त्यसैले यो नसुल्झिएको गुत्थीकै रूपमा रहेको देखिन्छ ।

जेहोस्, राजा महेन्द्र र उनको ‘महेन्द्रीय राष्ट्रवाद’ ले आज पनि राष्ट्र र राष्ट्रियताका सन्दर्भमा झिल्को पारिरहेको छ । यसले विचार माझ्न र वैचार मन्थन गर्न सहयोग पुर्‍याइरहेको छ । यो एउटा आफैंमा एउटा सकारात्मक पक्ष हो ।

[साभार : संवाद नेपाल । २०७६ साल पुस १ गते ।]

Saturday, December 7, 2019

मौलिकता गुमाएको दोहोरीगीत

–यमबहादुर दुरा

यतिबेला लोकगीतको कुनै विधा लोकप्रिय छ भने त्यो दोहोरीगीत नै हो । यसमा कुनै विवाद छैन । शहरका दोहोरी रेष्टुराँदेखि विभिन्न मेला–महोत्सवसम्म दोहोरीगीत एउटा लोकप्रिय साङ्गीतिक परिकार बनिरहेको छ । आधुनकिताको छालले परम्परागत सांस्कृतिक विरासतलाई बढार्दै लगिरहेको यो घडीमा दोहोरीगीत त्यस्तो सांस्कृतिक निधि बनेको छ, जसले आधुनिकतासँग पौठेजोरी खेल्दै सांस्कृतिक विरासत धानिरहेको छ ।

हिजोका दिनमा विशुद्ध मनोविनोदको मात्र माध्यम बनेको दोहोरीगीत अहिले आर्थिक पक्षसँग पनि जोडिएको छ । धेरै कलाकारले दोहोरीगीतबाट रोजगारी पाएका छन् । लोकसङ्गीत उद्योगमा कति कलाकार कार्यरत छन् भन्नबारे कुनै तथ्याङ्क नभए पनि दोहोरी रेष्टुराँ र मेला–महोत्सव एउटा तप्काका कलाकारका लागि अर्थोपार्जनको माध्यम बनेको छ । एक हिसाबले यो खुसीको कुरा हो ।

तर, अर्कोतिरबाट हेर्दा त्यति धेरै खुसी मानिरहनुपर्ने ठाउँ पनि छैन । यो समय सांस्कृतिक अधपतनको युग हो । मौलिक सांस्कृतिक धरोहरहरू धमाधम ढल्दैछन् । भएका सांस्कृतिक धरोहरहरू व्यापारीको हातमा पुगेको छ । यतिबेला दोहोरीगीत पनि व्यापारीकै हातमा पुगेको छ । अब दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ ।

दोहोरीगीतमा कतिसम्म व्यापारिक हस्तक्षेप भएको छ भने कतिपय कलाकार नै मेला–महोत्सवमा गायक-गायिका सप्लाइ गर्ने 'एजेन्ट' बनेको गुनासो लोकगीतका कलाकर्मी वृत्तबाटै आवाज उठिरहेको छ । लोकगीतमा देखापरेको यस्तो प्रवृत्तिको भित्रभित्रै विरोध भइरहेको छ ।

दोहोरीगीत ‘व्यापारिक वस्तु’ बन्न थालेपछि यसको मौलिकता पनि हराउँदै गएको छ । परम्परागत  दोहोरीगीत विनशीलता, शिष्टता र मर्यादाको प्रतिरूप हो । तर, अहिले दोहोरीगीत त्यस्तो छैन । यो छाडा र मर्यादाहीन साङ्गीतिक जान्र बन्न थालेको छ । कतिपयले दोहोरीगीतलाई फोहोरीगीत भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

दोहोरी रेष्टुराँ र मेला–महोत्सवमा चल्ने दोहोरीगीतमा अमर्यादित किसिमका रतिरागात्मक अभिव्यक्तिले खुलेआम स्थान पाइसकेको छ । दोहोरीगीतमा अशिष्ट किसिमका भनाबैरी पनि भित्रिइसकेको छ । यो कुरा दोहोरीगीतका कलाकारले नै अनौपचारिक रूपमा स्वीकारिसकेका छन् । अशिष्ट र अर्मादित अभिव्यक्ति मौलिक दोहोरीगीतको व्याकरणभित्र कहिल्यै पनि पर्दैन । दोहोरीगीत मर्यादित किसिमले भावना साटासाट गर्ने माध्यम हो । तर, अहिले त्यस्तो भइरहेको छैन ।

२०५७ साल दोहोरीगीतका कलाकारहरूको छाता सङ्गठनको रूपमा ‘राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान’ गठन भयो । संस्था गठन गर्ने बेला संस्थाले लिएको उद्देश्यमध्ये एउटा उदेश्य थियो, दोहोरीगीतको मौलिकतालाई जोगाउनु । त्यही उद्देश्यलाई शिरोपर गर्दै संस्थामा थुप्रै पदाधिकारी आए । त्यसबेलादेखि समयको यो विन्दुसम्म आइपुग्दा थुप्रै पदाधिकारी फेरबदल भइसकेका छन् । तर, दोहोरीगीतको मौलिकताको भने प्रतिपल मर्दैछ ।

दोहोरीगीतको मौलिकता हराउनुमा कलाकारलाई मात्र दोषी देख्नु त्यति जायज हुँदैन । यसमा पूँजीवादी संस्कृति नै मूल रूपमा जिम्मेवार छ । कलाकारले प्रयास गरेमा २० को १९ होला । तर, मूल प्रवृत्ति फेरिएलाजस्तो देखिन्न ।

अघि नै भनियो, दोहोरीगीत ‘व्यापारिक वस्तु’ बनिसकेको छ । ‘व्यापारिक वस्तु’ लाई जसरी सजिलो गरी बेच्न सकिन्छ, त्यसरी नै बेच्नु सम्बन्धित व्यवसायी वा उद्योगीको धर्म हुन्छ । दुनियाँको पूँजीवादी चरित्र नै यही हो । पूँजीवादी चरित्रको आदेश अनुसार नै दोहोरीगीत पनि ‘व्यापारिक वस्तु’ जस्तै गरी बेचिन थालेको छ । यससँगै यसको मौलिकता, विनयशीलता शिष्टता र मर्यादा लोप हुँदै गएको सबैले अनुभूत गर्न थालेका छन् ।

अब दोहोरीगीत लोकसांस्कृतिक निधि नभई साँचो अर्थमा ‘पप कल्चर’ हुन पुगेको छ । ‘पप कल्चर’ मा चीजबीज कसरी व्यापारिक वस्तु बन्छन् भन्नेबारे जर्मनीका दार्शनिकद्वय थियोडोर एडोर्नो (सन् १९०३-१९६९) र म्याक्स होर्खाइमर (सन् १८९५-१९७३) ले राम्रो व्याख्या गरेका छन् ।

सन् १९४७ मा प्रकाशित कृति ‘द कल्चर इन्डष्ट्री : इन्लाइटनमेन्ट एज मास डिसेप्सन’ मा ती दार्शनिकद्वयले ‘पप कल्चर’ मा संस्कृति कसरी कारखानाका उत्पादन सरह बेखबिखन हुन्छन् भन्नेबारे मीठो व्याख्यान दिएका छन् । अहिले दोहोरीगीत पनि कारखानाका उत्पादनजस्तै बनेको छ ।

यतिबेला ‘यु ट्युब’ मा ‘दोहोरी ब्याटल’ र भनाबैरीपूर्ण दोहोरीगीतको लोकप्रियताको ग्राफ उकालो लागिरहेको छ । यसले ‘व्यापारिक वस्तु’ बनिसकेको दोहोरीगीत ‘पप कल्चर’ को एउटा हिस्सा हो भन्ने तथ्यलाई प्रत्यक्ष वा परोक्ष रूपमा पुष्टि गरेको छ ।

विगतमा स्थानीयस्तरमा सुखदुःखको भावना साटासाट गर्ने माध्यमको रूपमा रहेको दोहोरीगीतको दायरा व्यापक फराकिलो भएको छ । दोहोरीगीत स्थानीयस्तरबाट माथि उठेर राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । यो खुसीलाग्दो कुरा हो । तर, दोहोरीगीतको घेरा जति फराकिलो हुँदैछ, त्यति नै यसको मौलिकता र शिष्टतामाथि प्रश्न उठेको छ ।

अहिले हाम्रो सांस्कृतिक अधपतनको चरणबाट गुज्रिरहेको देखिन्छ । यस्तो भयानक घडीमा दोहोरीगीतको मौलिकपन र मिजास पूर्ववत अवस्थामा फर्किन्छ भनेर आशा गर्ने ठाउँ छैन । राज्य नै देशको मौलिकको संस्कृतिको संरक्षक बनिदिएको भए केही हदसम्म यस्तो आशा गर्न सकिन्थ्यो । राज्यले हिजोदेखि त्यस्तो भूमिका निर्वाह गर्न सकेन ।

दुर्भाग्यवश, दोहोरीगीतलाई व्यापारीको हातमा पुगिसकेको छ । अब दोहोरीगीत मौलिक संस्कृति नभई बिकाउ वस्तु बन्न पुगेकाले यसमा पाइला–पाइलामा व्यापारिक चरित्र प्रतिविम्बित भइरहेका छन् । यसबाट दोहोरीगीत प्रत्येक क्षण मौलिकताविहीन बन्दै गएको छ । अहिलेको बजारू दोहोरीगीतमा कसैले मौलिकता देख्छ भने त्यो मीठो भ्रमबाहेक केही होइन ।

तर पनि कसैले तमाम सांस्कृतिक अधपतन र व्यापारिक चरित्रलाई चिरेर दोहोरीगीतमा मौलिकताको रस र गुण भर्न सक्छ भने त्यो निश्चय नै लोकअभिनन्दनीय कार्य हुन जान्छ । परम्परागत सांस्कृतिक धरोहरसँग जरा गाँसिएको दोहोरीगीत एउटा गतिलो लोकअभिनन्दनीय कार्यको प्रतीक्षामा छ ।

[साभार : लोकसंवाद । २०७६ साल मङ्सिर २० गते ।]



Friday, November 29, 2019

दोहोरी ब्याटलले उब्जाएको प्रश्न

-यमबहादुर दुरा

हिप हप, र्‍याप, ब्याटल र्‍याप, दोहोरी ब्याटलजस्ता साङगीतिक शब्दाली युवा पुस्तामाझ बिछट्टै लोकप्रिय छन् । यससँगै देउडा, हक्पारे, ठाडो भाका, रोइलाजस्ता लोकपरम्परासँग गाँसिएका साङ्गीतिक शब्दावली बिरानो बन्दै गएको प्रतीत हुन्छ । यसले साङ्गीतिक वातावरणमा आएको जबरजस्त परिवर्तनलाई सङ्केत गर्छ ।
ग्राफिक्स् ; गुगल

सूक्ष्म किसिमले हेर्ने हो भने नेपालको साङ्गीतिक माहोलमा नचिताएको फेरबदल आइसकेको छ । यो क्रम निरन्तर जारी छ । दुनियाँ परिवर्तनशील छ । त्यसमा पनि सङ्गीत त झनै बढी गतिशील र परिवर्तनशील छ । अहिले परम्परागत गीतलाई पछि पार्दै ‘ब्याटल र्‍याप’, दोहोरी ब्याटलजस्ता साङ्गीतिक शैली अस्तित्वमा आइसकेका छन् ।

परिवर्तित साङ्गीतिक परिवेशका सन्दर्भमा दोहोरी ब्याटलकै कुरा गरौँ । दोहोरी ब्याटलचाहिँ पश्चिमा शैली ‘ब्याटल र्‍याप’ बाट प्रभावित देखिन्छ ।

‘ब्याटल र्‍याप’ को कुरा गर्दा यसमा प्रयुक्त ‘ब्याटल’ शब्दले नै धेरै कुरा बोलिसकेको छ । ‘ब्याटल’ को सोझो अर्थ हो, लडाइँ । मूलत : ‘ब्याटल र्‍याप’ शाब्दिक लडाइँ हो । एक अर्थमा यो शब्दको भनाभन हो । यसमा आफ्नो प्रतिस्पर्धीको सातो खाइन्छ । अमेरिकी अश्वेत समुदायमा सन् १९८० को दशकमा र्‍याप ब्याटल शुरु भएको मानिन्छ ।

‘ब्याटल र्‍याप’ मा पक्ष–विपक्षबीच भावना, अनुभूति, व्यङ्ग्य र अनुभवहरू चर्काचर्कीपूर्ण वातावरणमा साटासाट गरिन्छन् । यसमा बेलाबखतमा पक्ष–विपक्षबीच गुलाबी क्षेण हानाहान हुन्छ ।  र्‍याप ब्याटलमा शब्दको तिखो छेणखानी भए पनि  यसमा संलग्न गायक-गायिकाका बौद्धिकता, तर्क शक्ति, वाक्पटुता, भावुकता र कल्पनशीलता पनि झल्किन्छन्, जुन प्रशंसायोग्य पक्ष मानिन्छन् ।

‘ब्याटल र्‍याप’ सङ्गीतप्रधान नभई शब्दप्रधान सङ्गीतिक शैली हो । तर पनि यसले शब्दकै माध्यमबाट बेजोड पाराको रसरङपूर्ण वातावरण तयार पार्छ । ब्याटल र्‍यापमा चलेको शब्दयुद्धबाट दर्शकले भरपूर आनन्द लिन्छन् । अहिले र्‍याप ब्याटलमा संलग्न कलाकारका ‘फ्यान फलोवर’ हरूको संख्या निरन्तर बढ्दो छ ।

अमेरिकी सडकहरूबाट लगभग चार दशक अघि शुरु भएको ‘ब्याटल र्‍याप’ को लोकप्रियता संसारभर फैलिएको छ । विश्वव्यापीकरणको तीव्र प्रभावले छोपेको नेपाल यसको अपवाद हुने कुरै भएन ।

नेपालमा पनि प्रतिभाशाली र्‍यापरहरूको संख्या बढ्दै गएको छ । साथै, फ्यानहरूको भीड पनि भयानक दरमा बढ्दो छ । यु ट्युबमा राखिएका ‘ब्याटल र्‍याप’ का भिडियोहरूको भ्यु उल्लेखनीय रूपमा बढेको छ । ‘ब्याटल र्‍याप’ को श्रीवृद्धिमा यम बुद्ध (वि.सं.२०४४-२०७३) जस्ता र्‍यापरहरूको योगदान देखिन्छ ।

नेपाली सङ्गीत प्रयोग र परीक्षणको चरणबाट गुज्रिरहेको छ । यो विश्वव्यापी ट्रेन्ड नै हो । यस क्रममा नेपाली गीत र पश्चिमा शैलीका गीतबीच दशकौँ अघि नै अन्तरघुलन भइसकेको देखिन्छ । अन्य गीतको तुलनामा लोकगीत पश्चिमा शैलीका गीतबाट कम प्रभावित देखिन्छ । तर, अब त्यो अवस्था रहेन ।

नेपाली लोकगीतमा पनि पश्चिमा शैलीका गीतको ‘फ्युजन’ भइसकेको छ । यसको ज्वलन्त दृष्टान्त हो, दोहोरी ब्याटल । दोहोरी ब्याटल ‘ब्याटल र्‍याप’ बाट प्रभावित साङ्गीतिका शैली (जान्र) हो । यसमा दोहोरी गीत र ‘ब्याटल र्‍याप’ दुवैको विशेषताहरू भेटिन्छन् । यो वर्णशंकर गीत हो ।

एकातिर दोहोरी गीतको फ्लेबर, अर्कोतिर ‘ब्याटल र्‍याप’ फ्लेबर । दोहोरी ब्याटल युवाहरूबीच निकै लोकप्रिय छ । चुलिँदो ‘भ्युवरसिप’ ले यो तथ्यलाई प्रष्ट पार्छ । दोहोरी ब्याटल नेपाली संस्कृति र पश्चिमा संस्कृतिको दोभान बनेको छ । यु ट्युबमा राखिएको छ महिना पुग्दानपुग्दै ‘दोहोरी ब्याटल–२’ को भ्यु १३ मिलियन नाघिसकेको छ ।

यसले परम्परागत दोहोरीगीतलाई पछिल्लो बिसौनीमा छाडेर अघि बढिरहेको छ । नेपालमा लोक फ्लेबरका गीतहरूले सधैँ लोकप्रियताको शिखर चुमिरहेको छ । दोहोरी ब्याटल पनि यसको अपवाद भएन ।

दोहोरी ब्याटल प्रयोग भएका शब्द तथा शब्दावली, आधुनिक पहिरन, संवाद, सुटिङ स्थलको चकमधमकपूर्ण वातावरणले युवापुस्तालाई हदैसम्म आकर्षित तुल्याएको देखिन्छ । भिडियोलाई आकर्षक बनाउन अपनाइएको छलयोजना (म्यानिपुलेटिभ टेक्निक्स्) ले पनि धेरैको मन जितेको देखिन्छ । भिडियो निर्माताको सिर्जनशीलतालाई मान्नैपर्छ ।
ग्राफिक्स् ; गुगल

दोहोरी ब्याटलको अभूतपूर्व लोकप्रियताले नेपालको साङ्गीतिक माहोलमा केही गम्भीर प्रश्नहरू जन्मेका छन् । दोहोरी ब्याटल दोहोरीगीतको 'फ्लेबर' मा आएर पनि यसले मौलिक दोहोरीगीतको जग नै भत्काएको देखिन्छ ।

परम्परागत दोहोरी गीत विनयशीलता र शिष्टता, सार्वजनिक मर्यादाको अर्को नाम हो । मौलिक दोहोरीगीतमा आफूलाई निम्न श्रेणीमा राखेर समकक्षीलाई उच्चकोटिमा राख्ने प्रचलन छ । गीत गाउँदा समकक्षीलाई उच्च सम्मान गरिन्छ । जस्तै :

‘म त हजूर डढेलोको ठूटाजस्तो,
मेरो माया पुर्नेको जूनजस्तो’ ।

यसको विपरीत दोहोरी ब्याटलको परम्परा ठ्याक्कै उल्टो छ । यसले समकक्षी सकेसम्म हेप्ने काम गर्छ । दोहोरी ब्याटलमा अपमान सूचकहरू शब्दहरू भरमार प्रयोग गरिन्छन् ।समकक्षी गायक–गायिकाले एकअर्कालाई सकेसम्म खसाल्नु नै यसको मूल ध्येय हुन्छ । दृष्टान्त :

‘आयो तेरो मिस,
चुप लाग् साला ठिस’ ।

दोहोरी ब्याटल नेपाली साङ्गीतिक परम्पराको विपरीत धारमा अघि बढेको देखिन्छ । यसले लोकगीतमा विद्यमान शिष्ट परम्परालाई पूरै भत्काएको छ । यसले अशिष्ट र अमर्यादित परम्पराको जग बसालेको छ । दोहोरी ब्याटलले निम्त्याएको अशिष्ट शब्दको रणसंग्रामले विनयशीलताको छेलोखेलो भएको दोहोरीगीत परम्परालाई क्षति पुर्‍याएको देखिन्छ ।

यद्यपि, दोहोरी ब्याटलले मात्र नेपाली दोहोरीगीतको शिष्ट परम्परालाई क्षति पुर्‍यायो भन्नु अन्यायपूर्ण हुन्छ । पछिल्लो समयमा दोहोरीगीतमा अशिष्ट र अमार्यादित  किसिमका भनाबैरी चलिसकेको छ । दोहोरी ब्याटलले यो अशिष्ट परम्परालाई थप बल दिएको भने पक्कै हो ।

दोहोरी ब्याटलले नेपालको साङ्गीतिक रङ्गमञ्चमा नयाँ ढाँचा र नयाँ शैली निम्त्याएकोमा खुसी मान्नुपर्ने हो । तर, त्यो भन्दा पनि यसले बसालेको अशिष्ट परम्पराप्रति चिन्ता मान्नुपर्ने अवस्था छ । कतिपय विश्लेषकले यसलाई सांस्कृतिक अधपतनको रूपमा हेर्ने गरेका छन् ।

अर्थशास्त्रीय दृष्टिबाट हेर्दा सङ्गीतमा घुसेको पूँजीवादले दोहोरी ब्याटललाई जन्म दिएको पाइन्छ । अर्कोतिर, कलाकारमा विद्यमान लोकप्रियता कमाउने सर्वजनीन मनोविज्ञानले पनि यसमा बल दिएको देखिन्छ ।

बदलिँदो समयमा यी दुवै पक्षलाई बेठीक भन्न सकिने अवस्था छैन । तर, यसबाट शिष्टताले ओतप्रोत मौलिक लोकगीत जोगाउन चाहनेहरूका लागि भने यक्षप्रश्न खडा भएको छ । अहिले, दोहोरी ब्याटलको यो नयाँ विकासक्रम एउटा गहन चिन्तन–मननको विषय बनेको छ ।

[लोकसंवाद । २०७६ साल मंसिर १३ गते । ]

[अद्यावधिक : २०७७।०३।२०, २०७७।०४।१०]

Friday, November 22, 2019

सीमा समस्याः असफलतादेखि असफलतासम्म

-यमबहादुर दुरा

राजनीतिक नेतृत्वको गति र मति गजबको छ । उनीहरूले देखाएका व्यावहारले एउटा पुरानो लोकगीतको सम्झना गराएको छ : ‘नहुने पालीमा, फूल फुल्यो सुकेको डालीमा’ । देशको राजनीतिक नेतृत्व चालढाल देख्दा सुकेको डालीमा फूल फुल्दैछ भन्ने लाग्छ ।

भारतले नेपालको भूभाग आफ्नो नक्शामा समावेश गरेपछि तातेको वातावरण बिस्तारै सेलाउँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा क्रान्तिकारी अभिव्यक्ति दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रि युवा संघको भेलालाई मङ्सिर १ गते सम्बोधन गर्दै नेपालको भूमि एक इञ्च पनि मिचिन नदिने व्यहोराको भाषण दिनुभयो । उहाँले एकछिन भए पनि भीड तताउनुभयो ।

नेपालको भूमि एक इञ्च पनि मिचिन नदिने प्रधानमन्त्रीको अभिव्यक्ति आफैंमा नराम्रो छैन । तर, त्यति कामलाग्दो पनि छैन । उहाँले आफ्नो भूमि मिचिन नदिने कुरा नेपालीजनलाई सुनाउन आवश्यक छैन । यो कुरा त जसले हाम्रो भूमि हडपेको हो, उसैलाई सुनाउनुपर्ने हो ।

उहाँले यो कुरा सीमा मिच्ने छिमेकीलाई सुनाउनुभयो कि सुनाउनुभएन ? मूलभूत प्रश्न यही हो । यस्तो कुरा नेपाली नागरिकलाई नसुनाएपछि हुन्छ । जकडबन्दीमा परेका नेपाली भूमि फिर्ता हुन्छ कि हुँदैन ? हाम्रो राष्ट्रिय अस्मिता जोगिन्छ कि जोगिँदैन ? हडपिएका जमिन फिर्ता ल्याउन के कस्ता प्रयास भएका छन् ? नेपाली नागरिक यस्ता प्रश्नको उत्तर पाउन प्रतीक्षारत छन् ।

राजनीतिक नेतृत्वको क्रान्तिकारी  भाषणबाट नेपाली नागरिकले भावनात्मक र बौद्धिक संतुष्टि पाउन छाडेका छन् । नेपालको भूमि एक इञ्च पनि मिचिन नदिने सन्देश कूटनीतिक माध्यमबाट भारतलाई सम्प्रेषण गरियो कि गरिएन ? कूटनीतिक माध्यमबाट वार्ताको वातावरण तयार पारियो कि पारिएन ? प्रधानमन्त्रीले यस्ता कुरामा मुख खोल्नुपर्‍थ्यो । अब, भाषणका लागिमात्र गरिएको भाषणको कुनै तुक छैन ।

अर्को कुरा, प्रधानमन्त्रीले भारततिर मुख फर्काएर भन्नुपर्ने कुरा नेपाली नागरिकतिर नै मुख फर्काएर भन्नुभयो ।  नागरिकले उठाएका कुरा नागरिकलाई नै सुनाउनुको के अर्थ ? नेपाली नागरिकले आफूहरूले बरोबर उठाएका मामिलाको समाधान चाहेका छन्, भाषण होइन ।

यस्ता सम्वेदनशील विषयलाई भाषण नबनार्ई कूटनीतिक अजेण्डा बनाएर कार्यान्वयन दिशामा अघि बढाउनुपर्ने हो । यो हल्ला नगरिकनै गर्नुपर्ने काम हो । यस्ता कुरा जथाभावी बोल्दै हिँड्नु कूटनीतिक र रणनीतिक दृष्टिले पनि आत्माघाती हुनसक्छ ।

सीमानालगायतका मामिलामा भारत योजनाबद्ध तरिकाले अघि बढेको देखिन्छ । उसले फुकीफुकी पाइला चालिरहेको छ । उसले हामीले जस्तो हल्ला गर्दै हिँडेको छैन । ऊ दशौँ गुणा रणनीतिक कूटनीतिक छ ।

सडकमा जनआक्रोश बढ्दै जाँदा परराष्ट्र मन्त्रालयले कत्तिक २० गते जारी गरेको प्रेस विज्ञप्तिले नेपाल कूटनीतिक दृष्टिले कति फितलो छ भन्ने कुराको साक्षी बकेको छ ।

नेपालको कूटनीतिक सामर्थ्य कति कमजोर छ भन्नेबारे दरिलो दृष्टान्त बनेको छ, त्यो प्रेस विज्ञप्ति । न आफ्नो कुनै दरिलो अडान छ, न त विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकारीको नाम नै । त्यसले झारा टार्ने कामबाहेक केही गरेको छैन ।

प्रधानमन्त्रीले राष्ट्रवादी भाषण गरिरहँदा देशको कूटनीतिक सामथ्र्य खोक्रो देखिएको छ । भारतसँग दृढतापूर्वक आफ्नो कुरा राख्न बलियो कागजात आवश्यक छ । तर, कर्मचारी संयन्त्रको मिलोमतोमा देशको आधिकारिक नक्शालगायतका महत्वपूर्ण कागजात पहिले नै गायब पारिएको चर्चा व्याप्त छ ।

नेपालको भूमिलाई भारतले आफ्नो नक्शामा राखेर ‘कार्टोग्रफिक इन्टिग्रेसन’ गर्नुभन्दा अघि नै नेपालले तयार पारेको नक्शामा लिम्पियाधुरालगातयका भूभाग नसमेटिएको कुरा सार्वजनिक भएकै हो । त्यतिमात्र होइन, देशको प्रतीक चिह्न (लोगो) मा यी भूभाग नभएको भन्ने खबर अखबारमा छताछुल्ल भएकै हो । यस्ता गम्भीर विषयमा सरकारले क गर्दैछ ?

देशका राजनीतिक वृत्तका कतिपय खेलाडी र कर्मचारी संयन्त्रका कतिपय व्यक्ति नेपालप्रति होइन, दिल्लीप्रति बढी वफादार छन् भन्ने चर्चा पनि चलिरहेको छ । नेपथ्यमा देखापरेका घटनाक्रमहरूले यस्ता चर्चामाथि वैधता थपेका छन् ।

विगतमा विज्ञहरूले तयार पारेका प्रतिवेदनका आधारमा सीमाना अद्यावधिक गर्न र ठाउँ ठाउँमा सुरक्षा चौकी राख्न खोज्दा कर्मचारीतन्त्र नै वाधक बनेको एकजना पूर्व गृहमन्त्रीले अनुभव सुनाएको प्रसंग मिडियामा आएको छ । राष्ट्रघात गर्नेलाई सार्वजनिक रूपमा पहिचान गरी कारबाही गर्नुपर्छ कि पर्दैन ?

त्यस्तै, अर्को दुःखदायी प्रसंग पनि चर्चामा छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी सीमा क्षेत्रको प्रतिवेदन तयार पार्‍यो । त्यसलाई उच्च मनोबलका साथ सम्बन्धित निकायमा बुझायो । नियतिले उल्टो खेल खेल्यो । उनीहरूमाथि कारबाही भयो । पुरस्कार पाउनुपर्ने राष्ट्रसेवकमाथि कारबाही भयो भन्ने चर्चा सचेत नागरिकका झुण्डहरूमा चलिरहेकै छन् ।

राष्ट्रप्रेमको नाराको नारा दिनुहुने प्रधानमन्त्रीलाई यस्ता चर्चाबारे जानकारी छ कि छैन ? कतै खुलेआम त कतै कानेखुसी गरी व्यक्त गरिएका यस्ता गम्भीर सरोकारका मामिलामा सरकारको ध्यान गएको छ कि छैन ? गएको भए सरकार के गर्दैछ ? यस्ता विषयमा जान्न नागरिकका काठ ठाडा भएका छन् ।

 सीमा समस्याबारे टेलिभिजनको पर्दामा शिष्ट र गम्भीर मुद्रामा बोल्नुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई यस्ता कुराले पोल्छ कि पोल्दैन ? यी तमाम विषयमा छानबिन गरेर दोषीउपर कारबाही हुन पर्छ कि पर्दैन ?

भाषण गर्न छाडेर यस्ता नितान्त सङ्गीन विषयमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ । देशको विरुद्धमा खलनायकीय भूमिका खेल्नेहरूलाई आफ्नो राडारमा राखेर कारबाहीको दायरामा ल्याउनुपर्ने हो । यस्ता विषयमा खरो उत्रन सक्नुभयो भनेमात्र प्रधानमन्त्री सच्चा राष्ट्रवादी ठहरिनुहुन्छ ।

बिडम्बनावश, यस्ता गम्भीर विषयमा प्रधानमन्त्रीको बोली फुटेको छैन । बोल्नुपर्ने विषयमा नबोल्ने, नबोल्नुपर्ने विषयमा बोल्ने । नेपालको चाला बुझेर भारतको आत्माबल बढेको बढेकै छ । उसले फेरि पनि उही पुरानो कथ्य दोहोर्‍याएको  छ, ‘नेपालको सीमाना मिचिएको छैन ।’

भारतसँग सीमासम्बन्धी विषयमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकका लागि औपचारिक पत्राचार शुरु भएको चर्चा छ । तर, सीमा विवादका सम्बन्धमा छलफल गर्न नेपालका तर्फबाट औपचारिक पत्राचार नभएको समेत भारतले जनाएको खबर सञ्चार माध्यममा आएका छन् ।

सर्वदलीय बैठकमा राष्ट्रिय सहमति जुटेको र व्यापक जनसमर्थन जुटेको विषयमा दुई बहुमत प्राप्त बलियो सरकार किन खुट्टा कमाउँदैछ ? कुरा बझिनसक्नुको छ । भित्रभित्रै गतिलो तयारी  गरिरहेको भए बेग्लै कुरा हो, सरकारले नागरिक विश्वस्त हुने काम गरिरहेको देखिन्न ।

भाषण बढी, काम कम । राजनीतिक नेतृत्वको यही कमजोरीले एकपछि अर्को गरी नेपाललाई असफलता हात लागेको छ । सीमासम्बन्धी विषयमा विगतमा भएका कुनै पनि वार्तामा नेपालले सफलता पाएको छैन । विगतदेखि वर्तमानसम्मका तमाम चालामाल फिलतो देखिन्छ । यस्तो फितलो व्यवहार रहँदासम्म नेपालले सफलता पाउने सम्भावना पनि ज्यादै न्यून छ ।

निराशा बढाउने कुरा गर्न मन छैन । तर, राजनीतिक नेतृत्वको चालामाला हेर्दा आशा गर्ने ठाउँ धेरै छैन । चुच्चे ढुङगो उही टुङ्गो भनेझैं हाम्रो यात्रा असफलतादेखि शुरु भएर असफलतामा पुगेर अन्त्य हुने खतरा छ । बीचमा कुनै अलौकिक चमत्कार हुन गयो भने त्यो अलग कुरा हो ।

[साभार : लोकसंवाद । २०७६ साल मङ्सिर ६ गते ।]

Sunday, November 17, 2019

सीमा क्षेत्रका नागरिकका अन्त्यहीन समस्या

-यमबहादुर दुरा

कात्तिक महिना उत्तरार्धतिर ढल्किँदै गर्दा नेपालको राष्ट्रिय जीवनमा एउटा अभूतपूर्व घट्ना घट्यो । हाम्रा छिमेकी मुलुक भारतले आफ्नो नयाँ नक्शामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेपछि छिमेकीको व्यावहारप्रति रोषपूर्ण वातावरण तयार भयो ।

यो घटनाले नेपाली मनहरूमा राष्ट्रिय स्वाभिमान ज्वारभाटा उठाउने काम गर्‍यो । भारतको हेपाहा प्रवृत्ति विरोधविरुद्ध प्रदर्शन भए । यो क्रम अहिले पनि जारी छ । यतिबेला राष्ट्रिय स्वाभिमानका पक्षमा एउटै स्वरमा आवाज उठेका छन् ।

राष्ट्रिय स्वाभिमानका पक्षमा नागरिकले निर्वाह गरेको भूमिका प्रशंसनीय छ । नागरिकले आफ्ना तर्पmबाट खेल्नुपर्ने भूमिका खेलिसकेका छन् । नागरिकले योभन्दा बढी गर्ने ठाउँ शायद छैन । अबको गहन जिम्मेवारी राजनीतिक नेतृत्वको नै हो ।

देशको सरहदभित्र राष्ट्रिय स्वाभिमानका पक्षमा जनमत बनिरहँदा राजनीतिक नेतृत्वले निर्वाह गर्नुपर्ने भूमिका गहन र व्यापक छ । आफ्ना मिचिएका भूमिका फिर्ता पाउन छिमेकीसँग कूटनीतिक तहमा लेखापढी गर्नु राजनीतिक नेतृत्वको पहिलो दायित्व हो । यो काम यथाशक्य छिटो गर्नुपर्ने अवस्था छ ।

यति गरेर मात्र राजनीतिक नेतृत्वकोे दायित्व पूरा हुँदैन । उसले सीमावर्ती क्षेत्रमा नागरिकको भोग्दै आएका वर्षौँ पुरानो समस्या समाधानततर्फ पनि सरकारको ध्यान जान आवश्यक छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने कतिपय नागरिकले भारतीय सीमा सुरक्षा दस्ताबाट व्यापक हैरानी र सास्ती खेप्नुपरेको समाचार आइरहेकै छन् । यसबाट उनीहरूको मनोबल गिरिरहेको छ । उनीहरूको मनोबल उच्च बनाउन र राष्ट्रिय स्वाभिमानलाई जिउँदो जाग्दो अवस्थामा राख्न राजनीतिक नेतृत्वले सतत र इमान्दार प्रयत्न गर्नुपर्ने घडी आएको छ ।

कतिपय सीमावर्ती क्षेत्रका नागरिकले आफ्नै देशको सरहदभित्र हिँडडुल गर्न नपाएका, आफ्नै देशभित्र आवतजावत गर्दा भारतीय सीमा सुरक्षा दस्ताबाट अनुमति लिनुपर्ने अवस्था रहेको, आफ्नै सीमाभित्रका वन–जङ्गललगायतका प्राकृतिक स्रोत–साधन उपभोग गर्न नपाएका समाचार आइरहन्छन् ।

अर्कोतिर, सीमावर्ती क्षेत्रमा नेपाली भूमि हडपिने पुरानो समस्या जारी छ । दिनहुँजसो आउने समाचारले यही वास्ताविकता दर्साउँछ । विवादित जमिन भन्दै सीमावर्ती क्षेत्रमा कतिपय किसानले जमिन धितो राखेर बैंकबाट ऋण लिन पाएका छैनन् ।

नेपाली किसानले युगौँदेखि भोगचलन गर्दै आएको जमिन भारतीय भूमिमा मिसिन पुगेका समाचार रोकिएका छैनन् । यसबाट निमुखा–गरिब किसान सुकुम्बासी बन्न पुगेको समाचार पनि आएका छन् । यस्ता समाचारले हरेक स्वाभिमानी नेपालीको मन चसक्क हुन्छ ।

यी नमीठा प्रसंग असह्य त छँदैछन्, यस्ता प्रसंगले राष्ट्रिय स्वाभिमान र प्रतिष्ठामा गहिरो धक्का पु¥याइरहेका छन् । सीमावर्ती क्षेत्रका नागरिकले हैरानी र सास्ती भोग्नुपरेका कथा कहिनसक्नुको छ । आफ्नो मातृभूमिको पक्षमा आवाज उठाउँदा कञ्चनपुरका गोविन्द गौतमले गोली खानुपर्‍यो । कतिपयले कुटाइ र अपमानपूर्ण व्यावहार सहनुपरेको छ ।

सीमा विवादमा भएको झगडामा कञ्चनपरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी २०७३ साल फागुन २६ गते गौतमको मृत्यु भएको नमीठो सम्झना नेपालीजनको मनमस्तिष्कबाट मेटिएको छैन ।

उता, बेलाबखतमा चर्चामा आइरहने सुस्तावासीको कथा कम दर्दनाक छैन । नेपाल सरकारको दरिलो उपस्थिति नहुँदा उनीहरूले वर्षौँदेखि भारतीय थिचोमिचो सहँदै आएका छन् । कतिपय परिवारले आफूसँग लालपूर्जा भएको जमिन पनि भोगचलन गर्न पाएका छैनन् ।

यसका अतिरिक्त आवतजाजतलगायत धेरै विषयमा उनीहरूले समस्या भोग्दै आइरहेका छन् । उनीहरूले आफूले भोगेका समस्याबारे पटक पटक रोइकराइ गर्दा पनि सरकारले नसुनेको गुनासो सञ्चार माध्यममा आइरहेका छन् ।

त्यहाँका नागरिकले ‘सुस्ता बचाउन संघर्ष समिति’ गठन गरी अभियान सञ्चालन गरेका पनि वर्षौँ भइसकेको छ । आफ्ना समस्याप्रति सरकारको ध्यानाकर्षण गर्न राजधानीमा अनसन पनि बसे । तर, सरकारले सुनेन । देश बचाउने काम सरकार आफैंले गर्नुपर्ने हो । तर, त्यही काम नागरिक तहबाट हुँदा राज्यबाट यथोचित प्रोत्साहन र संरक्षकत्व नपाउनु खेदजनक विषय हो ।

सञ्चार माध्यममा प्रकाशित रिपोर्टअनुसार सुस्ता गाउँपालिका–४ सुस्ता गाउँमा २ सय ६५ घरधुरी छन् । त्यहाँको जनसंख्या ३ हजार १ सय ३३ जनसंख्या छ । वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नागरिकसँग नागरिकता छैन । रिपोर्टअनुसार हाल ३ सय ५० जनासँग मात्र नागरिकता छ ।

देशका असली सीमा रक्षकहरूलाई हैसियतविहीन र नागरिकताविहीन अवस्थामा राखिनुहुन्न । उचित किसिमले छानबिन प्रक्रिया अघि बढाएर उनीहरूलाई नागरिकता प्रदान गर्ने र दैनिक जीवनलाई सहज तुल्याउने उपाय राजनीतिक नेतृत्वले खोज्नुपर्छ ।

उनीहरूले नागरिकको हैसियत उपभोग गर्न पाउनुपर्ने मानव अधिकार कुनै पनि बहानामा हनन गरिनुहुन्न । यसमा सरकारको उच्चस्तरको बुद्धिमत्तापूर्ण र विवेकशील व्यवहार आवश्यक छ । यसमा ढिलाइ पनि गरिनुहुन्न ।

सीमावर्ती क्षेत्रका नागरिकको समस्या असीमित छन् । काठमाडौँको चश्माले सीमावर्ती क्षेत्रको समस्या हेरेर त्यसको गहिराइ मापन गर्न सकिन्न । उनीहरूको समस्या नितान्त गहिरो र सम्वेदनशील छ । यस्ता विषयमा देशको राजनीतिक नेतृत्व सम्वेदनशील बन्नैपर्छ । समस्या समाधानका लागि कूटनीतिकलगायत सबै किसिमका उपाय अवलम्बन गरिनुपर्छ ।

सुस्तालगायतका सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको मनोबल बढाउन सरकारले विशेष कार्यक्रम प्राथमिकतापूर्वक अघि सार्नुपर्छ । उनीहरूले भोगिरहेका असहज अवस्थालाई सहज बनाउन सरकारले भरमग्दुर प्रयास गर्नुपर्छ । समस्या समाधानका क्रममा सीमासम्बन्धी समस्याबारे विगतमा तयार गरिएका अध्ययन प्रतिवेदन पनि अध्ययन गर्न आवश्यक छ ।

सीमावर्ती क्षेत्रका नागरिकले भोगेका समस्यालाई बेवास्ता गर्दा राष्ट्रियताका दृष्टिले अपूरणीय क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । सीमा विवादले निम्त्याएका असाधारण परिस्थितिहरूको यथार्थ विवरण सङ्कलन गर्नुपर्छ । सोही अनुसार समस्या समाधानका लागि कदम अघि बढाउनुपर्छ ।

यो लेखमा व्यक्त विचार अन्धराष्ट्रवाद उत्कृष्ट नमूनाजस्तो देखिएला । तर, सीमावर्ती क्षेत्रका नेपाली नागरिकले भोग्दै आएका तमाम समस्याबाट छुटकारा दिन यसो नगरी सुखै छैन । हामी भारतसँग मित्रता नै चाहन्छौँ । तर, छिमेकीसँगको मित्रता उसले देखाउने मित्रभावको आधारमै तय हुन्छ । अन्यथा अर्थ नलागोस् ।

[साभार : संवाद नेपाल । २०७६ साल मङ्सिर १ गते ।]


Friday, November 15, 2019

सीमामा थप पहरेदारीको आवश्यकता

-यमबहादुर दुरा

विगत एक डेढ हप्तादेखि नेपाली मनहरू उद्वेलित छ । भारतले कात्तिक १६ गते नेपाली भूभाग लिपुलेकसमेतलाई समेटेर आफ्नो नयाँ नक्शा जारी गर्‍यो । यससँगै नेपाली मनभित्रका राष्ट्रिय स्वाभिमान तरङ्गित छ ।

नयाँ नक्शा सार्वजनिक भएसँगै सांस्कृतिक र भूराजनीतिक दृष्टिले घनिष्ट सम्बन्ध भएको छिमेकी मुलुक भारतले नेपाली भूमिमाथि निरन्तर धावा बोलिरहेको प्रसंग डढेलोको आगोझैं फेरि फैलियो । नेपाली नागरिक आन्दोलित भए, भइरहेका छन् ।
तस्बिर : गुगल

यससँगै देशको राजनीतिक तथा सामाजिक वृत्तमा अनेकन् घटनाक्रम देखा परे ।

सडकमा विरोध प्रदर्शन भए । सीमा अतिक्रमणसम्बन्धी समाचार र विश्लेषणले सञ्चार माध्यम भरिन थाले । सोसल मिडियामा आफ्नै देशका राजनीतिक नेतृत्व र भारतको हेपाहा व्यावहारप्रति आक्रोशका ज्वाला ओकिलए ।

नेपालका राजनीतिक नेतृत्वले ‘ओठे भक्ति’ कै रूपमा भए पनि भारतद्वारा अतिक्रमित भूमि नेपालकै हो भन्ने अभिव्यक्ति दिन चुकेनन् । नेपालमा व्यापक विरोध भएपछि भारतीय विदेश मन्त्रालयले कात्तिक २१ गते पत्रकार सम्मेलन आयोजना गर्‍यो । पत्रकार सम्मेलनमार्फत नक्शामा कुनै फेरबदल नगरेको कूटनीतिक प्रतिक्रिया दियो । उसको प्रतिक्रिया नेपालका लागि चित्तबुझ्दो थिएन ।

यता, नेपालका सञ्चार माध्यमले भारतले सीमावर्ती क्षेत्रमा देखाएको दादागिरी र सीमावर्ती क्षेत्रका नेपाली नागरिकले भोग्नुपरेका हैरानी र सास्तीका थप प्रसंग प्रकाशन÷प्रसारण गरे, गरिरहे । यस्ता सामग्रीले नेपाली मनहरूलाई थप उद्वेलित तुल्याए ।

भारतको हेपाहा व्यवहारविरुद्ध नेपाली नागरिक आन्दोलित बनिरहेका बेला भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय गोखलेलाई कात्तिक २२ गते भेटेर समस्याबारे अवगत गराउनुभएको समाचार आयो । सीमा अतिक्रमणबारे कात्तिक २३ गते प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा सीमा–समस्या समाधानका दिशामा राष्ट्रिय सहमति जुट्यो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कात्तिक २५ गते छफलफ गरी लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्शा जारी गर्न सरकारलाई निर्देशन दियो ।

यसैबीच, नेपाल सरकारले भारततर्फ ५९ र चीनतर्फ ४ सीमा चौकी थप्ने निर्णय गरेको समाचार आयो । देशका प्रबुद्ध व्यक्ति व्यक्तिहरूको सहभागितामा नागरिकस्तरबाट ‘सीमा बचाउन राष्ट्रिय परिषद’ कात्तिक २६ गते गठन भयो ।

राष्ट्रियताका सन्दर्भमा विकसित घटनाक्रमहरू मेहरोमा भारतद्वारा कब्जा गरिएको नेपाली भूमि फिर्ता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा कात्तिक २७ गते २ वटा बेग्लाबेग्लै मुद्दा दायर भए । नेपाली सेनाले पनि सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरी सीमासुरक्षासम्बन्धी कदम अघि बढाउन लागेको खबर आएको छ ।

नेपालका लागि चिनियाँ राजदूतले कात्तिक २८ गते प्रेस नोट जारी गर्दै द्विपक्षीय वार्ताको माध्यमबाट सीमानासम्बन्धी समस्या समाधान गर्न सुझाव दिनुभएको समाचार आयो ।

छोटो समयमा राष्ट्र र राष्ट्रियताका सन्दर्भमा यति धेरै घटनाक्रम विकसित हुनुलाई एक अर्थमा चानचुने घटनाक्रम मान्न सकिँदैन ।  यी घटनाक्रम धेरै दृष्टिले अर्थपूर्ण थिए ।

यद्यपि, देशको अस्तित्व र राष्ट्रिय स्वाभिमान जोगाउने दिशामा यी घटनाक्रमका साथ अघि बढेका प्रयत्न पर्याप्त छैनन् । अझै धेरै गर्न बाँकी छ । नेपालले अझै पनि धेरै अप्ठेरा अवस्थाबाट गुज्रनुपर्ने अवस्था छ । यसका लागि तम्तयार हुनुपर्ने स्थिति आएको छ ।

राष्ट्रियताका पक्षमा नागरिकको तर्फबाट हुनुपर्ने धेरै काम भइसकेका छन् । अबको ठूलो जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा छ । सीमा–समस्याबारे नेपालले कुरा उठाउँदा भारतले विदेश सचिवस्तरीय बैठक बसेर समस्या समाधान गर्ने प्रस्ताव गरेको समाचार आएको थियो ।

यस्ता विषयमा कर्मचारीको काँधमा मात्र जिम्मेवारी थप्दा समस्याको समाधान हुँदैन, राजनीतिक तहमै कुरा हुनुपर्छ भन्ने धारणा आएको छ । यसबारे राजनीतिक नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

त्रुटि राजनीतिक नेतृत्वकै देखिन्छ । सीमा–समस्याबारे भारतले नेपाललाई २३ वर्ष अघि नै पत्राचार गरेको समाचार पनि सञ्चार माध्यममा आएका छन् । समाचार अनुसार प्रमाणका आधारमा जमिन हस्तान्तरण गर्न भारत राजी थियो । यहाँनेर, तत्कालीन सरकारले आवश्यक भूमिका निर्वाह गरेको देखिन्न । सीमाविदहरूले आफूसँग प्रमाण भएको तर त्यसलाई सरकार पेश नगरेका बताएका छन् । वास्तविकता के हो ? छिनोफानो हुन आवश्यक छ ।

राजनीतिक नेतृत्वले विगतमा आफूले गरेका यस्ता गम्भीर गल्तीको समीक्षा गर्दै भावी कार्यदिशाबारे तदारुकतापूर्वक अघि बढ्नुपर्ने बेला आएको छ । विगतबाट पाठ नसिकेका कतिपय राजनीतिक नेतृत्वले अहिलेको तरल अवस्थालाई राजनीतिक स्वार्थको भर्‍याङ बनाउन खोजेको पनि देखिन्छ ।

यतिबेला, राजनीतिक वृत्तका कतिपय व्यक्ति आफू पानीमाथिको ओबानो बन्न खोजेको पनि देखिन्छ । कैयौँ पटक देशको शासनसत्ताको बागडोर सम्हालिसकेका राजनीतिक व्यक्तित्वबाट वर्तमान सरकारले देशको सीमा बचाउन पहल नगरेको आरोप लगाउने काम भयो ।

राष्ट्रियताका सन्दर्भमा वर्तमान सरकारबाट सही तरिकाले सम्पादन हुन नसकेका कामको सूची लामै होला । तर, आफूले अरूतिर सोझ्याएका राजनीतिक अस्त्र आफूतिर नै सोझिन्छ ।

हिजो उनीहरू सत्तासीन भएका बखत तराईका विभिन्न भागमा सीमा अतिक्रमणका घटना जारी नै थियो । लिपुलेक अतिक्रमणको समस्या ज्युँका त्युँ नै थियो । यस किसिमको समस्या समाधानका लागि आफ्नो तर्पmबाट के कस्ता काम भए ? अरूलाई मात्र दोषी देख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

यो समय आरोप प्रत्यारोपका लागि होइन । सबै मिलेर देशले भोगको साझा समस्या हल गर्ने बेला हो । अब नेपाल विशेष योजनाका साथ अघि बढ्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्वको मन सङ्लिनुपर्छ । मति सप्रिनुपर्छ ।

सुस्तालगायतका सीमावर्ती क्षेत्रमा बस्ने नागरिकको मनोबल बढाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ । उनीहरूले भोगिरहेका असज अवस्थालाई सहज बनाउन सरकारले भरमग्दुर प्रयास गर्नुपर्छ । आवश्यक सहजीकरण गर्नुपर्छ ।

अहिले पनि राजनीतिक नेतृत्वले राष्ट्रिय स्वाभिमानका सन्दर्भमा विगतमा प्रदर्शन गरेको हलुका, फितलो र गैरजिम्मेवारपूर्ण व्यवहारका अनेकन प्रसंग पटाक्षेप भइरहेका छन् । अब पनि राजनीतिक नेतृत्वले थप फितलो वातावरण तयार पार्नुहुँदैन ।

अहिले विकसित घटनाक्रमले आफ्ना कुरा भारत समक्ष राख्ने राम्रो अवसर प्राप्त भएको छ । योे उपयुक्त अवसर हो । यसलाई उम्कन नदिन राजनीतिक नेतृत्वले भरमग्दुर प्रयास गर्नैपर्छ । सीमा अतिक्रमणको समाधानका लागि कुनै स्थायी संरचना बनाएर कारबाही अघि बढाउन आवश्यक छ भने पनि त्यस्तो संरचना खडा गर्न पनि सरकार चुक्नुहुँदैन ।

[साभार : लोकसंवाद । २०७६ साल कात्तिक २९ गते ।]

Friday, November 8, 2019

राजनीतिक नेतृत्वले बिर्सिएको राष्ट्रिय स्वाभिमान

-यमबहादुर दुरा

हाम्रा छिमेकी मुलुक भारतले नेपाली भूमि कब्जा गरेको कुरा नयाँ तथ्यझैं आएका छन् । यो कुनै नयाँ तथ्य होइन । कुरा घामजत्तिकै छर्लङ्ग छ, आधा शताब्दीभन्दा लामो भारतले नेपाली भूमिमा बुट बजार्दै आएको छ । तमाम अध्ययन र तथ्यले पुष्टि गरिसकेका छन्, विभिन्न ठाउँमा गरी ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतीय कब्जामा छ । यो स्थापित तथ्य हो ।
ग्राफिक्स् : गुगल

सीमा स्तम्भ हराएका, दशगजा क्षेत्रमा भारतीय पक्षबाट सडक बनाइएका, सीमावर्ती क्षेत्रका नेपालीमाथि भारतीय सुरक्षाबलबाट भएका ज्यादतीका समाचार नियमितजसो आइरन्छन् । यो पनि कुनै नयाँ कुरा होइन । यस्तो लाग्छ, यी कुरा सुन्नका लागि हाम्रा कान अभ्यस्त भइसकेका छन् ।

सुस्तालगायतका सीमावर्ती क्षेत्रका नागरिकले भोगेका तमाम दर्दनाक कथाले स्वाभिमानी नागरिकको शिर झुक्छ । शासनसत्ताको बागडोर सम्हाल्नेहरू यस्ता गम्भीर विषयमा बेखबर देखिन्छन् । थाहा पाएर पनि थाहा नपाएझैं गर्छन् । बेवास्ता गर्छन् । यो पनि अर्को स्थापित तथ्य हो ।

राष्ट्रियताको घाउ चर्केर नागरिक जागेपछि मात्र राजनीतिक नेतृत्वले प्रतिक्रिया दिन्छन् । त्यो पनि समस्या समाधानका लागि होइन, माहोल शान्त पार्नका लागि मात्र । उनीहरूको प्रतिक्रिया 'प्रोएक्टिभ' नभई 'रिएक्टिभ' प्रकृतिको हुन्छ । समस्या समाधानका लागि 'रिएक्टिभ' प्रतिक्रियाको कुनै महत्व छैन । यस्ता विषयमा राजनीतिक नेतृत्व 'प्रोएक्टिभ' भएर अघि बढेमा मात्र राष्ट्रिय स्वाभिमानको रक्षा हुनसक्छ । तर, हाम्रो राजनीतिक नेतृत्वमा यस किसिमको अग्रसरताको अभाव छ ।

राजनीतिक नेतृत्वले एउटा 'रेटोरिक' बेलाबेलामा दोहोर्‍याउँछन्, ‘कालापानी नेपालको हो ।’ ‘पब्लिक कन्जम्सन’ का लागि मात्र दोहोर्‍याइएका 'रेटोरिक' लाई ‘लिप सर्भिस’ को श्रेणीभन्दा माथि राख्न सकिँदैन । भारतको नेतृत्व वर्गसँग आँखामा आँखा जुधाएर तिमीले कब्जा गरेको कालापानीलगायत सम्पूर्ण भूभाग नेपालको हो भन्ने चट्टानी अडान राख्ने आत्माबल राजनीतिक नेतृत्वसँग  देखिँदैन ।

नागरिकको राष्ट्रियताप्रति भावना सडकमा पोखिएपछि मात्र ‘लिप सर्भिस’ दिने राजनीतिक नेतृत्वको आनीबानीमा कुनै परिवर्तन आएको छैन । पञ्चायतकालदेखि लोकतन्त्रकालसम्मका यही परिपाटी कायम छ । यहाँनेर, यो वा त्यो दल वा सरकार भनेर औंल्याउनुको कुनै अर्थ छैन । सबै प्रवृत्ति उही हो ।  राष्ट्रियताबारे दरिलो रूपमा आवाज उठाउन सक्नेमा मनमोहन अधिकारीबारे कुनै पनि प्रधानमन्त्री हालसम्म नभएको बुझाइ बुद्धिजीवी वर्गको छ ।

हिजो सत्ता नहुँदा राष्ट्रिय स्वाभिमानको चर्को कुरा गर्ने बामपन्थी घटकले भारतसँग एक एक पाईको हिसाब चुकाउँछौँ भनेर गाउँशहर घन्काउँदै आएका हुन् । आज त्यही क्रान्तिकारी घटक सत्तासीन छ । समयक्रममा तिनको हैसियत र मनोवृत्ति उद्घाटन हुँदै गएको छ । उनीहरुको कथनी र करनीमा आकाश-जमिनको भिन्नता बढ्दै गएको छ । 

सडकमा नागरिकको रोष उम्लिएको घडीमा देशको सीमा अतिक्रमण असह्य विषय हो भनेर प्रतिक्रया दिने तर त्यसबारे अतिक्रमणकारी शक्तिसँग लेखापढी गर्ने र दाबीविरोध गर्ने दिशामा कहिल्यै अघि नसर्ने । कुरा प्रष्ट छ, उनीहरूको खोक्रो भाषणबाट देशको स्वाभिमान जोगिँदैन ।

देश राजनीतिक कुसंस्कारग्रस्त छ । देशको कर्मचारी संयन्त्र पनि यही कुसंस्कारबाट संक्रमित छ । कालापानीलाई भारतले आफ्नो नक्शामा समावेश गरेको विषयमा नागरिकको रोष उम्लिएपछि पराष्ट्र मन्त्रालयले २०७६ साल कात्तिक २० गते जारी गरेको प्रेस विज्ञप्तिमा छचल्किएको अपरिपक्कपनले यही कुरालाई पुष्टि गर्छ । विज्ञप्तिमा हस्ताक्षरकर्ताको नामै छैन । लाजमर्दो कुरा छ ।

आफ्नो भूमिमाथि जायज दाबी पेश गर्न पनि किन त्यस किसिमको रबैया अपनाइयो ? उदेकलाग्दो अवस्था छ । त्यो विज्ञप्ति नागरिकको आँखामा छारो हाल्नमात्र निकालिएको हो भन्न गाह्रो छैन । राजनीतिक नेतृत्वको अकर्मण्यतालाई कर्मचारीतन्त्रले पनि साथ दिएको छनक मिल्छ ।

यता, नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले गाह्रो गरी मुख खोलिरहेको अवस्थामा भारत भने आफ्नो कुरामा टसको मस भएको छैन । प्रत्यक्ष वा परोक्ष रूपमा उसले कालापानीलाई आफ्नै अभिन्न अङ्ग मानिसकेको देखिन्छ । नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतले प्रयोग गरेको कूटनीतिक भाषालाई मनन गर्दा ऊ नेपालको कुरा सुन्ने पक्षमा छैन ।

नेपालले श्रृङ्खलाबद्ध रूपमा प्रदर्शन गर्दै आएको फितलो व्यवहारले भारतको आफ्नो ‘बिग्र ब्रदर’ मनोवृत्तिलाई बल दिएको छ । हाम्रो राजनीतिक नेतृत्व मौन छ । यस्तो अवस्थामा नेपालको कुरा नसुने पनि भएको छ । भारतले हाम्रो लागि किन टाउको दुःखाउन परेको छ र ? यहाँनेर, गणित प्रष्ट छ ।

२०७२ जेठ १ गते  भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने विषयमा सहमति गरे । कुरा बाहिर आएपछि गाल टार्नका लागि राजनीतिक नेतृत्वले विरोध गरेझैं गर्‍यो । खरो रूपमा प्रस्तुत हुन सकेन । यसबाट पनि भारतको मनोबल बढेकै छ ।

यसपछि नेपाल–भारत तथा नेपाल–चीनबीच कैयौँ पटक उच्चस्तरीय भ्रमण भए । तर, भारत र चीनले  नेपालसँग कुनै परामर्श नै नगरी लिपुलेकलाई व्यापारिक नाकाका बनाउने विषयमा गरेका सहमतिबारे नेपालले आवाजै उठाएन । यसले प्रष्ट पार्छ, हाम्रो राजनीतिक नेतृत्वको गति र मति ।

नेपाली भूमि निरन्तर मिचिइरहँदा बढी बोल्नुपर्ने नेपाल नै हो । भनाइ नै छ, 'जसको ओछ्यानमा भल पस्छ, उसैले सोहोर्छ ।' यस अर्थमा भारतलाई मात्र एकोहोरो दोष दिइरहनु पनि त्यति जायज देखिँदैन । आफ्ना कुरामा हामी कत्तिको सजग र जागरुक छौँ भन्ने कुरा महत्वपूर्ण छ । आफ्नो भूमि मिचिएकोमा अलिकति पनि पीडानुभूति नगर्ने हाम्रो राजनीतिक नेतृत्व यहाँनेर बढी दोषभागी छ । राजनीतिक नेतृत्वको अकर्मण्यता सर्वथा आलोच्य छ ।

अब, हाम्रो राजनीतिक नेतृत्व सुल्टो दिशामा अघि बढ्ने हो भने सीमा अतिक्रमणको सवाललाई रणनीतिकै रुपमा निरन्तर अघि बढाइरहनुपर्छ । आफ्नो कुरा स्पष्टसँग राख्दै भारतसँग पत्राचार गर्नुपर्छ । प्रधानमन्त्रीस्तरमा सीधै कुराकानी गर्ने वातावरण तयार पार्नुपर्छ । यसका लागि नेपालले अहोरात्र कूटनीतिक अभ्यास जारी राख्नुपर्छ । कार्यप्रगतिको निरन्तर फलो अप  उत्तिकै जरुरी छ ।

 छिमेकीसँगको सबैको सम्बन्ध सुमधुर हुनुपर्छ । यसमा भारतले पनि असल छिमेकीको व्यवहार प्रदर्शन गर्नैपर्छ । भारतको बलमिचाइपूर्ण व्यवहारले नेपालमा भारतविरोधी भावना बढ्दो क्रममा देखिन्छ, जुन उसका लागि पनि राम्रो कुरा होइन ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक २२ गते ।

Monday, November 4, 2019

सङ्गीतमाथि अङ्कुश

-यमबहादुर दुरा

ग्रीक दार्शनिक प्लेटो (इसापूर्व ४२८—३४८) ले भनेका छन्, ‘सङ्गीतले व्रह्माण्डलाई आत्मा भरिदिन्छ, दिमागमा पखेटा लगाइदिन्छ, कल्पनालाई उडान भर्न सघाउँछ र हरेक चीजलाई जीवन दिन्छ’ । उता, जर्मन दार्शनिक फ्रेडरिक नित्से (सन् १८४४—१९००) ले पनि सङ्गीतलाई उच्च महत्व दिँदै भनेका छन्, ‘सङ्गीतबिनाको जीवन भूल हुने थियो’ ।

मानव जीवनसँग घनिष्ट नाता गाँस्ने सङ्गीत धेरै हिसाबले महत्वपूर्ण छ । सङ्गीत मानव अभिव्यक्तिकोे सशक्त माध्यम बन्दै आएको छ । सङ्गीतमा निहित सही सबल पक्षका कारण सर्वसाधारणदेखि राजनीतिक शक्तिसम्मले यसलाई अभिव्यक्तिकोे भरपर्दो माध्यमको रूपमा उपयोग गर्दै आएका छन् ।

धेरैजसो अवस्थामा साङ्गीतिक अभिव्यक्ति सर्वग्रह्य भए पनि कतिपय अवस्थामा आलोच्य पनि बन्न पुग्छ— कहिले समाजका अगाडि त कहिले राजनीतिक शक्तिका अगाडि । गीत–सङ्गीतले कतिपय अवस्थामा राजनीतिक तथा सामाजिक द्वन्द्व निम्त्याउँछन् ।

धेरैजसो समयमा वाहवाही लुट्न सफल  कतिपय सङ्गीतकर्मी सार्वजनिक आलोचनाका पात्र बन्छन् । कतिपय अवस्थामा त उनीहरू राज्यको नजरमा पनि पर्छन् । यसका असंख्य दृष्टान्त छन् । तिहारको पूर्वसन्ध्यामा युवापुस्ताका केही गायकमाथि भएको धरपकडलाई यस्ता घटनाक्रमको नवीतम् श्रृङ्खलाको रूपमा लिन सकिन्छ ।

यसभन्दा अघि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ प्रति सत्तारुढ दल निकट भ्रातृसंगठनका कार्यकर्ताहरू आक्रमक देखिए । परिमाणतः गीतको भिडियोलाई यु ट्युबबाट हटाउनु परेको थियो ।

मानव अभिव्यक्तिकोे सशक्त माध्यम मानिएको गीत–सङ्गीत आखिर किन विवादमा पर्छन् ? यसको उत्तर कुनै एउटा कोणबाट खोज्न सम्भव छैन । न त यसको उत्तर कुनै एउटामात्र विषयमा मात्र निहित छ । यसमा देशको राजनीतिक प्रणाली, सामाजिक पद्धति, संस्कृति, अभिव्यक्ति स्वतन्त्रताको स्तर, नागरिकको चेतनास्तर एवम सुझबुझलगायत तमाम विषय जोडिन आइपुग्छन् ।

नेपालमा मात्र होइन, संसारका प्राय सबै मुलुकमा कुनै न कुनै किसिमले सङ्गीत विवादमा पर्छन् । भारतजस्तो ठूलो लोकतन्त्र र अमेरिकाजस्तो उदार भनिएको देशमा पनि सङ्गीतका कतिपय मामिलाहरू विवादास्पद बनेका कैयौँ उदाहरण छन् ।

बलिउडका थुप्रै गीत भारतीय राष्ट्रिय प्रसारण संस्था अल इन्डिया रेडियोबाट प्रसारण गर्न अनुमति दिइएका छैनन् । अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती मानिने अमेरिकाका कतिपय टेलिभिजन च्यानलले म्युजिक भिडियोलाई प्रतिबन्ध लगाएका दृष्टान्त छन् । दुनियाँको उदार साझा प्ल्याटपर्म मानिएको यु ट्युबले पनि थुप्रै म्युजिक भिडियोलाई हटाएको अनेकन् दृष्टान्त छन् । यसबारे अदालतमा थुप्रै मुद्दा छन् ।

हिंसा र घृणा फैलाउने किसिमका गीत–सङ्गीत सामान्यतया सबैतिर आलोच्य पाइन्छ । साथै, व्यवस्था तथा सत्ताविरोधी गीत–सङ्गीत पनि राज्यको राज्यको दृष्टिमा आलोच्य श्रेणीमा पर्छन् । गीत–सङ्गीतमार्फत प्रवाह हुने हिंसा र घृणा कुनै पनि समाजमा स्वीकार्य हुँदैन ।

गीत–सङ्गीत विवादमा पर्ने अर्को कारण अश्लीलता । यो प्रसंगचाहिँ धेरै हदसम्म विवादस्पद छ । श्लीलता र अश्लीलताबीच लक्ष्मणरेखा कोर्न कठिन छ । श्लीलता र अश्लीलताको समाजसापेक्ष र समयसापेक्ष हुन्छ ।

पूर्वीय दृष्टिले हेर्दा पश्चिमा मुलुकमा बनेका कतिपय म्युजिक भिडियो हाम्रा देशमा बन्ने म्युजिक भिडियोभन्दा कैयौँ गुना अश्लील देखिन्छन् । त्यस्ता म्युजिक भिडियोलाई त्यहाँको समाजले सजिलै पचाएको देखिन्छ । तर, परम्परावादी समाजमा तीभन्दा कम अश्लील भिडियो पनि पूरा अश्लील ठहरिन्छन्, जसले सार्वजनिक आलोचना निम्त्याउँछन् ।

नेपालमा निर्मित म्युजिक भिडियो भन्दा कैयौ गुणा अश्लील र हिंस्रक भिडियोको  एउटा दृष्टान्तको रूपमा बेलायती साङ्गीतिक ब्याण्ड 'द प्रोडिजी' को म्युजिक भिडियो ‘स्म्याक माई बिच अप’ लाई लिन सकिन्छ । यसमा महिला शरीरको अश्लीलता र हिंसाको प्रयोग उत्कर्ष देखिन्छ । १९९७ मा निस्किएको यो भिडियो एमटीभीमा प्रसारण भयो । त्यसपछि यो भिडियो विवादको घेरमा पर्‍यो । मनोरञ्जनको नाममा महिला हिंसालाई प्रश्रय दिएको भन्दै महिला अधिकारवादीहरू प्रदर्शनमा उत्रिए ।

गीत–सङ्गीत राजनीतिक सञ्चारको गतिलो माध्यम मानिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरूले विगतमा गीत–सङ्गीतमार्पmत् आमनागरिकमा राजनीतिक सञ्चार गरे । उनीहरूले गीत–सङ्गीतको माध्यमबाट पञ्चायतको चर्को विरोधमात्र गरेनन्, आफ्ना पक्षमा जनमत पनि जुटाए ।

त्यही समयमा देशको एकमात्र प्रसारण संस्था रेडियो नेपालले प्रगतिशील तथा सत्ताविरोधी गीतलाई प्रसारणको अनुमति दिएन । गायक प्रचण्डबहादुर बुढाथोकी मगर (वि.सं. १९९९—२०७६) लगायतका थुप्रै प्रगतिशील धारका कलाकारहरूले राजनीतिक आग्रह–पूर्वाग्रहबाट आफ्ना गीत रेडियो नेपालमा अयोग्य ठहरिएको गुनासो गर्दै आएका थिए ।

नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कतिपय गीत सांस्कृतिक कारणले पनि विवादमा पर्छन् । खेम गुरुङ (वि.सं. २०३१—२०७३) को चर्चित गीत ‘एकादशी बजारैमा...’ रहेको एउटा हरफ ‘पोडे होला, चमार होला तिम्रै माया लाग्छ’ ले दलित समुदायलाई होच्याएको आरोप लाग्यो ।

गीतको व्यापक विरोध भयो । बदलिँदो परिस्थितिमा उचित शब्दचयन नहुँदा गीतले विवाद निम्त्याउनु स्वाभाविकै थियो । पछि त्यही गीतको परिमार्जित संस्करण निस्कियो । विवाद सामसुम भयो ।

नेपालमा विवादस्पद ठहरिएका गीत–सङ्गीत मूलतः दुईटा शक्तिको कोपभाजनमा परेको पाइन्छ । पहिलो, राजनीतिक शक्ति । दोस्रो, सामाजिक शक्ति । नेपालको साङ्गीतिक इतिहासमा यस्ता दृष्टान्त भेटिन्छन् । पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ र खेम गुरुङ ‘एकादशी बजारैमा...’ ले क्रमशः राजनीतिक शक्ति र सामाजिक शक्तिका कारण बाटो बदल्न बाध्य भएको प्रष्ट इतिहास छ ।

तर, विकसित मुलुकमा सामाजिक शक्तिसहित गैरराजनीतिक शक्तिले विवादास्पद गीत–सङ्गीत मार्गनिर्देश गरेको देखिन्छ । अमेरिकामा सरकारले सङ्गीतकर्मीमाथि सीधा हस्तक्षेप गरेको पाइँदैन । त्यहाँ सरकारले भन्दा पनि टेलिभिजन च्यानलले आफूहरूलाई आपत्तिजनक लागेका गीत वा भिडियोहरूलाई प्रतिबन्ध लगाउँछन् । अर्थात् उनीहरूले त्यस्ता सामग्रीलाई प्रसारण गर्दैनन् ।

सार्वजनिक मर्यादा सबैले पालना गर्नुपर्ने हुन्छ । गीत–सङ्गीतका सर्जकले पनि यो ख्याल गर्नुपर्ने कुरा हो । हरेक सर्जकले आफ्नो सङ्गीत सिर्जना सामाजिक मर्यादाको कसीमा सही छ भन्नेमा आफैं सहमत हुनुपर्छ । चर्चा बटुल्ने नाममा गरिने अपाच्य यत्न–प्रयत्न कतिपय अवस्थामा जायज नहुन सक्छ ।

राज्यले डण्डा लगाएर सङ्गीतकर्मीलाई तह लगाउनुभन्दा पनि सर्जक स्वयम् संयमित र सन्तुलित हुनु राम्रो हो । राज्यले सङ्गीत सर्जकलाई नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका दृष्टिले पनि बाञ्छनीय ठहरिँदैन ।

यद्यपि, राज्य नियन्त्रणकारी शक्ति भएकाले बेलाबखतमा उसको सही चरित्र उदघाटन भइरहन्छ । राज्यले आफ्नो नियन्त्रणकारी धर्म निर्वाह गर्नुलाई कतिपय अवस्थामा नाजाजय भन्न पनि कठिन छ ।

समाज हरपल जटिल बन्दै गएको छ । यस्तो अवस्थामा गीत–सङ्गीतले कायम गर्नुपर्ने सामाजिक मर्यादा, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक मर्यादाबीच सन्तुलन कायम गर्न सहज छैन । तर, यसका लागि सचेत प्रयत्न गर्नु सङ्गीतकर्मीलगायत हरेक व्यक्तिको अहम् जिम्मेवारी हुन आउँछ ।

[साभार: लोकसंवाद । २०७६ साल कात्तिक १५ गते ।]

Saturday, October 26, 2019

जनकपुर डायरी : ‘रामायण सर्किट’ देखि सांस्कृतिक सम्पदासम्म

-यमबहादुर दुरा

जनकपुरधाम — प्रस्तावित ‘रामायण सर्किट’ ले जोडिएको नेपालको गौरवयोग्य धार्मिक स्थल । रहस्यले भरिएको आध्यात्मिक पर्यटन केन्द्र । पुरातात्विक महत्वले भरिपूर्ण गन्तव्य । प्रदेश नं. २ को अस्थायी राजधानी ।

यस्ता थुप्रै सुन्दर विशेषताले भरिपूर्ण शहर जनकपुरधामको भ्रमण गर्ने अवसर जुरेको थियो, असोज महिना निख्रिँदै गर्दा । आध्यात्मिक ग्रन्थ ‘रामायण’ वर्णित थुप्रै प्रसंगहरूको साक्षी बन्न पाइने यो थलो आध्यात्मिक, पौराणिक तथा पुरातात्विक दृष्टिले अर्थपूर्ण छ । हस्तरेखाझैं  फैलिएका यहाँका अनगिन्ती गन्तव्य र तिनले बुनेका पौराणिक कथाले हरेक जिज्ञासु मनलाई उद्धेलित तुल्याउँछ ।

प्रसिद्ध जानकी मन्दिर, सुन्दर तलाउ, कुटीजस्ता सांस्कृतिक सम्पदामा आँखा डुलाउँदा गौरवानुभूति हुन्छ । सँगसँगै प्राचीन वैभवबारे अनेकन् जिज्ञासा मनमा तँछाडमछाड आउँछन् । गङ्गासागरमा हुने सन्ध्याकालीन आरतीले त मनमा शान्ति र सकारात्मक सोचका तरङगहरू ल्याउँछन् ।

यति हुँदाहुँदै पनि कतिपय कुराले मनलाई नमीठो पाररै छाड्छ । जस्तै : यहाँका सडक अव्यवस्थित देखिन्छन् । कतिपय सडक पूर्ववत रूपमा साँगुरा छन् । ठाउँ ठाउँमा सडक विस्तार योजना अघि बढेको देखिन्छ । कतिपय सडक विस्तारको अलपत्र अवस्थामा छन् । सडक छेउछाउमा फोहरका डङ्गुर भेटिन्छन् । ल्याण्डफिल साइटको अभावमा यस्तो अवस्था आएको स्थानीय भुक्तभोगीहरूको भनाइ छ ।

जनकपुरधाम पोखरीका दृष्टिले पनि चर्चित छ । त्यहाँका पोखरीको अवस्था पनि नाजुक छ । ऐतिहासिक अभिलेखहरूमा वर्णन भए अनुसार जनकपुरमा ऐतिहासिक तथा पौराणिक महत्वका ७२ वटा पोखरी छन् । बिहार कुण्ड, अग्नि कुण्ड, रत्नसागर, सूर्य कुण्ड, गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, परशुराम कुण्ड, जनक सरोवर आदि जनकपुरधाममा रहेका पोखरी हुन् ।

गंगासागरलगायत केही पोखरीको सरसफाइ र जीर्णोद्धार गरिए पनि केही पोखरी फोहर फाल्ने थलो बनेको पाइन्छ । कतिपय साना पोखरीमा पुरिएर निजी घर ठडिएका प्रसंग जनकपुरधामवासीहरू सुनाउँछन् । यो क्रम बढ्दो रहेको उनीहरूको बुझाइ छ । माछा उत्पादनको स्रोत, जलवायुको अनुकूलन एवम् मनोविनोदमा महत्वपूर्ण भूमिका खेल्ने यस्ता पोखरीहरूको खोजी, सरसफाइ र जीर्णोद्धार त्यहाँको ‘टप अजेण्डा’ मा पर्नैपर्छ ।

नेपाल र भारतबीच विद्यमान भूराजीतिक अवस्था तथा सांस्कृतिक सम्बन्धबाट सिर्जित परिस्थिति जनकपुरको अर्को अजेण्डा हो । नेपाली न्यारेटिभमा जनकपुर सीताको जन्मथलो हो तर छिमेकी मुलुक भारतको न्यारेटिभमा बिहारको सीतामडी सीताको जन्मथलो हो । लामो कालखण्डा पार गरिसकेको बृहत मिथिला सभ्यतामा पौराणिक प्रसंगहरू के कसरी छिरल्लिएका छन्, यकिन गर्न गाह्रो छ ।

जसले जे भने पनि मार्केटिङको जमाना हो । वास्तविकता जे भए पनि मार्केटिङले कुरा फरक पार्छ । भारतले बिहारको सीतामडीलाई सीताको जन्मस्थानको रूपमा प्रचार–पसार गरिरहेको छ । नेपालले जनकपुरलाई साँचो अर्थमा चम्काउन चाहेको हो भने भारतीय न्यारेटिभलाई प्रतिवाद गर्ने गरी रणनीति अघि सार्नुपर्छ ।

नेपालले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थान मानिरहेकै बेला भारतले आफ्नो भूमिलाई गौतम बुद्धको जन्मस्थान भनेर प्रचार गरिरहेको तथ्य छिपेको छैन । यसबारे सङ्घीय सरकार र प्रदेश सरकारले केही सोचेकै होलान् । यहाँनेर कसको मार्केटिङले जित्ने भन्ने कुरा महत्वपूर्ण छ ।

यही मेहरोमा ‘रामायण सर्किट’ को प्रसंग उठाउनु पनि सान्दर्भिक हुन आउँछ । २०७५ साल वैशाख २५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उदघाटन भएको ‘रामायण सर्किट’ कहाँ पुग्यो ? जनकपुरको आध्यात्मिक पर्यटन चम्काउन यस किसिमको अवधारणाले राम्रो भूमिका खेल्छ । तर, यसको प्रगतिबारे प्रेसले निरन्तर खोजखबर गर्न आवश्यक देखिन्छ ।

त्रेता युगमा राम र सीताले यात्रा गरेको रुटलाई ‘रामायण सर्किट’ भन्ने गरिएको छ । स्थानीय अखबार ‘जनकपुर टुडे’ का अनुसार ६ सय ५० किलोमिटर लामो यस सर्किटले भारतको उत्तर प्रदेशको अयोध्या, शृंगवेरपुर, चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर र दरभङ्गा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तीसगढको जगदलपुर, तेलङ्गानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरको धार्मिकस्थललाई जोडछ ।

जनकपुरको माछा नेपालमै प्रख्यात छ । त्यहाँ स्वादिष्ट माछा पाइन्छन् भन्ने भनाइ छ । तर, रैथाने  प्रकृतिका स्वादिष्ट माछा जनकपुरमै अभाव रहेको स्थानीयहरूको भनाइ छ । त्यहाँका तलाउ र जलस्रोतको बढ्दो अतिक्रमण र प्रदूषणले यस्तो अवस्था आएको देखिन्छ ।

जनकपुरधाममा रहँदा सङ्घीय राजधानीका र तराईका मिडियाको 'टोन' मा फरकपन भेटियो । राजधानीका मिडिया र तराई मिडियामा भारतलाई हेर्ने दृष्टिकोणमा भिन्नता पाइयो । राजधानीका मिडियाले तराईमा हरेक वर्ष हुने डुबानमा भारतलाई जिम्मेवार देख्छ । तर, तराईका कतिपय पत्रकार सीधै भारतलाई दोष दिने पक्षमा छैनन् । तराईमा कार्यरत कतिपय पत्रकारका दृष्टिमा राजधानीका मिडियाले तराइको वास्तविकता नबुझेकाले भारतलाई बढी दोष दिएका हुन् ।

एउटा संयोग के पर्‍यो भने त्यही समयमा मधेशमा आयोजित नेपाल–भारत मैत्री संघको एक कार्यक्रममा एकजना भारतीय सांसदले नेपाली समुदायले नेपालमा हुने डुबानमा भारत जिम्मेवार ठान्ने गरेको र भारतीयमा भारतमा हुने बाढीमा नेपाल जिम्मेवार रहेको परस्पर विरोधाभाषपूर्ण बुझाइ रहेको विचार व्यक्त गरेको समाचार स्थानीय अखबारमा छापिएको थियो । ती सांसदले यी दुवैथरी बुझाइलाई सच्याएर नेपाल र भारतले एकअर्काको साझा समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

पृष्ठभूमिमा यति धेरै तर्क–वितर्क चल्दाचल्दै पनि नेपालतर्फ हुने डुबानमा नेपाल नै जिम्मेवार छ भन्ने दलिलमा सहमति जनाउने ठाउँ देखिँदैन । सीमावर्ती क्षेत्रमा भारतद्वारा एकपक्षीय रूपमा निर्मित बाँध र सडकलाई हेर्दा नेपालतिर आक्षेपको सुई सोझ्याउनु तर्कसंगत देखिँदैन  ।

सङ्घीय नेपालमा भाषिक मामिलाले बेलाबखतमा स्थान पाउँछ । गएको जेठमा प्रदेश नं. २ मा भाषिक मामिला चर्किएको थियो । प्रदेश सरकारले हिन्दीलाई सम्पर्क भाषा बनाउने प्रस्ताव ल्याएपछि त्यहाँ हङ्गमा मच्चिएको थियो । यहाँनेर मुख्यमन्त्री लालबाबु राउतको प्रसंग पनि जोडिन्छ । उहाँको हिन्दीमोहलाई धेरै आश्चर्यको दृष्टिले हेर्छन् । उहाँको मातृभाषा भोजपुरी हो । तर, भोजपुरीप्रति उहाँको मोह देखिँदैन ।

त्यहाँका भाषिक परिदृश्यलाई हेर्दा पनि हिन्दी अग्रस्थानमा आउँदैन । आँकडालाई नियाल्ने हो भने  प्रदेश नं. २ मा मैथिली, भोजपुरी, बज्जिका र नेपाली क्रमशः ४५.३० प्रतिशत, १८.५८ प्रतिशत, १४.७ र ६.६७ प्रतिशत नागरिकले बोल्छन् । समग्रमा भन्दा मैथिली र भोजपुरी नै त्यहाँका मूल भाषा हुन् । भोजपुरी र मैथिली भाषीले एक अर्काले बुझ्ने भएकाले हिन्दीलाई सम्पर्क भाषा बनाउनुको तुक नरहेको विपक्षी दलको तर्क थियो । भाषिक मामिलालाई कसरी सल्टाउने भन्नेबारे जिम्मेवारीपूर्ण सुझबुझ आवश्यक छ ।

प्रदेश नं. २ मा सत्तापक्ष र प्रतिपक्षबीचको ‘केमिस्ट्री’ पनि रोचक नै देखिन्छ । जनकपुरधाममा भेटिएका पत्रकारहरूका अवलोकनमा त्यहाँ सत्तापक्ष र प्रतिपक्षबीच एकअर्कामा वैरभाव छैन । प्रदेशको चौतर्फी विकासका लागि यस्तो ‘केमिस्ट्री’ बनेको हो भने त्यो उदाहरणीय मित्रता हो । अरू विषयमा मिलभगत र एकता हो भने कुरा अर्कै हो ।

यी तमाम विषयका अतिरिक्त जनकपुरको ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन एकदमै महत्वपूर्ण सवाल हो । जनकपुरलाई घच्चीको आध्यात्मिक केन्द्र बनाउन सकेमा सबैको हित हुने कुरा निर्विवाद छ । जनकपुरलाई चम्काउन सकेमा सङ्घीय सरकार र प्रदेश सरकारको शिर ठाडो हुन्छ । अनि हामी सबै गौरवभागी हुन्छौँ नै ।

साभार : लोकसंवाद । २०७६ साल कात्तिक ८ गते ।

Saturday, October 19, 2019

चिनौँ लोकसाहित्य

-यमबहादुर दुरा

साहित्य, कला र सङ्गीत मानव जीवनलाई रसिलो र भरिलो बनाउने अभौतिक तत्व हुन् । मानव जीवनको यिनको आवश्यकता अन्न–पानीजस्ता जत्तिकै अपरिहार्य छ । साक्षर होस् वा निरक्षर, सबैका लागि साहित्य, कला र सङ्गीत प्रिय विषय हुन् । सबैजना यिनीहरूको वशमा पर्छन् । यिनीहरूको चामत्कारिक उपस्थितिप्रति नतमस्तक हुन्छन् ।

लोकसाहित्य एउटा यस्तै विषय हो । यसमा साहित्य, कला र सङ्गीतका सबै तत्व समाविष्ट छन् । लोकसाहित्य मौखिक साहित्य हो, जुन लिखित वा परिष्कृत साहित्यको पूर्वरूप मानिन्छ । लोकसाहित्यलाई अंग्रेजीमा ‘फोकलोर’ वा ‘फोक लिटरेचर’ भन्ने गरिन्छ । यसलाई नेपालीमा लोकवार्ता पनि भन्ने गरिएको पाइन्छ ।

दुनियाँमा साक्षर परम्पराको विकाससँगै लिखित साहित्यको विकास भएको हो । लिखित साहित्यको आगमन भएको पनि हजारौं वर्ष भइसकेको छ । अहिले लिखित साहित्यको दरिलो उपस्थिति छ । यति हुँदाहुँदै पनि लोकसाहित्यको महत्व र गरिमा हराएको छैन । सुमधुर वाग्धारा र उच्चतम् कल्पनाशीलतालाई लोकसाहित्यको सबल पक्षको रूपमा लिइन्छन् ।

अनलाइन इन्साक्लोपिडिया ‘ब्रिटानिका’ का अनुसार इसापूर्व ४ हजार वर्षअघि सबै साहित्य मौखिक थिए । सोही इन्साक्लोपिडियालाई आधार मान्दा इसापूर्व ४ हजार र ३ हजारबीच इजिप्ट र मेसोपोटामियामा लेख्य परम्पराको विकास भयो । त्यस समयदेखि लिखित साहित्यको उदय भयो  । इजिप्ट र मेसोपोटामियामा शुरु भएको लेख्य परम्परा एशिया, उत्तर अफ्रिका, भूमध्यरेखीय क्षेत्र हुँदै संसारभर फैलियो । यद्यपि, लिखित साहित्य कहिलेदेखि शुरु भयो भन्नेबारे कालक्रमगत मतभिन्नताहरू छन् ।

लोकसाहित्यलाई कसरी परिभाषित गर्ने ? संक्षेपमा भन्ने हो भने एउटा पुस्ताबाट अर्को पुस्तामा मुखैमुख सर्दै आएको मौखिक साहित्यिक परम्परा नै लोकसाहित्य हो । डा. रामनाथ ओझा र मसूधन गिरीद्वारा लिखित पुस्तक ‘लोकसाहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध’ नामक पुस्तकमा लोकसाहित्यलाई यसरी परिभाषित गरिएको छ : ‘मानव सभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेका जेठो साहित्य नै लोकसाहित्य हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य नै लोकसाहित्य हो’ (पृ.१) ।

यसैगरी, डा. मोलीलाल पराजुलीले  आफ्नो कृति ‘सोरठी नृत्यनाटिका सैद्धान्तिक अध्ययन’ मा लोकसाहित्यलाई यसरी अथ्र्‍याउनुभएको छ : ‘लोकजीवनका अस्था, विश्वास, व्यवहार, चिन्तन र अनुभूतिलाई कल्पनाको आवरण दिएर रोमाञ्चक तत्वहरूको मिश्रण गरी लोकसमुदायद्वारा रचना गरिएको मौखिक साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य समुदायद्वारा रचना गरिन्छ र लोकसमुदायमै प्रचलनमा रहेको हुन्छ’ (पृ.४०) ।

कतै कतै लोकसाहित्य र जनसाहित्य पनि भन्ने गरिएको पाइन्छ । दुवैलाई एउटै अर्थमा लिने गरिएको पाइन्छ । तर, विशेषज्ञहरू यी दुई शब्दमा भिन्नता देख्छन् । यस सन्दर्भमा ‘नेपाली साहित्य र संस्कृतिका केही पाटाहरू’ नामक पुस्तकमा डा. रविलाल अधिकारीको भनाइलाई उध्रृत गर्दै मनोहर लामिछाने लेख्नुहुन्छ : जनसाहित्य र लोकसाहित्यका बीचमा स्पष्ट रेखा खिच्न कठिन भए पनि यति कुरा स्पष्ट भन्न सकिन्छ – जनसाहित्य औधोगिक क्रान्तिबाट उत्पन्न समाजव्यवस्थाका भूमिमा प्रवेश गरेका सामान्य जनको साहित्य हो र यो व्यक्तिविशेषको रचना हो तर लोकसाहित्य जनताका निमित्त जनताद्वारा नै रचित साहित्य हो (पृ.४) ।


लोकसाहित्यका अनेकन् आयाम र पक्षहरू छन्, जुन आफैंमा एउटा विशाल संसार हो । उखान–टुक्का, गाउँखाने कथा, तन्त्रमन्त्र, श्लोक, लोकगीत, लोकपद्य, सवाई, मिथक, लोककथा (आहान), लोकनाटक, लोकगाथा, विश्वास प्रणाली आदि लोकसाहित्यमा पर्छन् । लोकसाहित्यको लोकसंस्कृतिसँग बलियो नाता हुन्छ । लोकसाहित्य र लोकसंस्कृति शरीर जोडिएका सन्तानजस्तै हुन् ।

हेर्दा स्वच्छन्दझैं लागे पनि लोकसाहित्यका आफ्नै किसिमका विधिविधान छन् । उदाहरणका लागि आहान (कथा) सुत्ने बेलामा भनिन्छ, दिनमा भनिँदैन । बेलुकीको खाना खाइसकेपछि अगेनाको वरिपरि भेला भइन्छ । सामान्यतया घरका बृद्ध व्यक्तिले आहान भन्ने गर्छन् । दिनमा आहान भन्न हुँदैन भन्ने मान्यता छ । जानकारहरूका अनुसार यस मान्यतामा लुकेको रहस्य के हो भने दिनमा आहान भनिदिँदा मानिसले कामकाज छाडेर आहान सुन्न थाल्छन् । यसबाट कामकाजमा बाधा पुग्छ । यही मान्यता अनुुुुसार दिनमा आहान भन्न हुँदैन भनिएको हो ।

लोकसाहित्यका अरू पनि यस्ता अलिखित विधिविधान छन् ।  कतिपय मन्त्र वा श्लोक निश्चित समयमा मात्र उच्चारण गरिन्छ । दुवाली छेक्ने बेलामा उच्चारण गरिने श्लोक अरू बेला भनिँदैन । कुनै गीत निश्चित ऋतुमा मात्र गाइन्छ । मालसिरी गीत दशैंँमा मात्र गाइन्छ । मूलतः गण्डकी भेगमा प्रचलित सती घाटु वैशाख कृष्णपक्षदेखि शुक्लपक्षको अवधिमा मात्र नचाइन्छ ।

लोकसाहित्य मूलतः अपठितहरूको साहित्य हो । यसो भन्दैमा यसका विषयवस्तु सामान्य र हल्काफुल्का भन्ने कदापि होइन । लोकसाहित्यमा अभिव्यक्त जीवन–दर्शन, लोकभावना र मर्महरू भयानक गहिरा र गहन् हुन्छन् । यसमा सत्यम्, शिवम्, सुन्दरम् छचल्किएका हुन्छन्, जसप्रति पठित र सुसंस्कृत भनिएका मानिसहरू पनि चकित हुन्छन् ।

 यिनै गहतम् पक्षको रहस्योद्घाटनका लागि कहलिएका विद्वानहरूले लोकसाहित्य अध्ययनको विशाल फाँटको विचरणमा सिङ्गो जीवन अर्पिएका हुन्छन् । तर पनि उनीहरूले लोकसाहित्यको पूरापुर विचरण गर्न भ्याएका हुँदैनन् । यो गहन र व्यापक विषय हो ।

लोकसाहित्य ज्ञान र विवेकको भण्डार हो, जसले बालबालिकाको शिक्षादीक्षामा रचनात्मक भूमिका खेल्छ । यसले बालबालिकामा विद्यमान कल्पनाशीलताको दायरा अझ फराकिलो पारिदिन्छ । मानिस जति कल्पनाशील हुन्छ, त्यति नै नयाँ नयाँ विषयवस्तुको खोजअनुसन्धान गर्ने र आविष्कार गर्ने काम गर्छ । बालबालिकामा कल्पनाशीलता विकास हुँदा उसले जीवनमा धेरै प्रगति गर्न सक्छ ।

दन्त्यकथाले बालबालिकालाई नैतिक र आध्यात्मिक चेतना दिन्छ । यसले बौद्धिकस्तर उकास्न पनि सहयोग गर्छ । यहाँनेर, सापेक्षतावाद सिद्धान्तका प्रतिपादक विख्यात भौतिकशास्त्री अल्वर्ट आइन्सटाइनको भनाइ सान्दर्भिक हुन आउँछ । उनले एक प्रसंगमा भनेका छन्, ‘यदि तिमी तिम्रो बच्चालाई बुद्धिमान बनाउन चाहन्छौ भने उनलाई परीकथा पढ्न देऊ । उनलाई अझ बुद्धिमान बनाउन चाहन्छौ भने अझ बढी परिकथा पढ्न देऊ ।’

लोकसाहित्यले बालबालिकालाई कल्पनाशील बन्नमात्र सघाउँदैन, मौलिक संस्कृतिसँग परिचित पनि बनाउँछ । केटाकेटीले बाजे–बज्यैको काखमा बसेर लोकजीवनसँग गाँसिएका पुराना प्रसंग सुन्न पाउँदा उनीहरू लोकसाहित्य र लोसंस्कृतिका आयामहरूसँग परिचित हुन्छन् । नयाँ पुस्ताले यस्ता कुरा सुन्न पाउनु भनेको लोकसाहित्य र लोसंस्कृतिले प्रत्यक्ष वा परोक्ष रूपमा निरन्तरता पाउनु पनि हो ।

बाजेबज्यैको काखमा बसेर केटाकेटीले रसिला र तिलस्मी प्रकृतिका कथा सुन्ने परम्परा पनि लोकसाहित्यकै अभिन्न हिस्सा हो । तर, अहिले टेलिभिजन र यु ट्युबमा आउने कार्टुन र अन्य मनोरञ्नात्मक कार्यक्रमले बाजेबाजैको काखबाट नातिनातिनालाई खोसिसकेको छ । यससँगै परम्परागत शैलीमा कथा भन्ने र सुन्ने परम्परा लगभग अन्त्य भइसकेको छ ।

लोकसाहित्यमा बालसाहित्यको तत्व पर्याप्त भेटिन्छन् । ‘आउ निदरी आउ...’ जस्ता लोरी तथा बालबालिका लक्षित अनेकन् प्रेरणदायी आहानलाई ज्वलन्त दृष्टान्तको रूपमा लिन सकिन्छ । अर्कोतिर, लोकसाहित्य लिखित साहित्यको माउ हो । लिखित साहित्य लोकसाहित्यबाट धेरै हदसम्म प्रभावित छन् । साहित्यिक बजारमा भेटिने थुप्रै कृति लोकसाहित्यबाट प्रेरित छन्, जसका विवरण निकै लामो छ ।

इतिहासशिरोमणि बाबुराम आचार्यको भनाइमा काठमाडौंको काँठमा रोपाइँमा रसिया गीतमा जुवारी खेल्ने ठिटाठिटीहरू नै मोतीरामका काव्यगुरु हुन्। यिनको लोकगीत सुनेपछि नै नेपाली भाषामा राम्रा गजल लेख्न सकिन्छ भन्ने चेत मोतीरामलाई खुलेको बुझिन्छ (पदमसिंह कार्की, नेपाली साहित्यका ज्योति, अन्नपूर्ण पोष्ट, भदौ १४, २०७६) ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनमदन’ लोकलयमा आधरित छ ।  साङ्गीतिक बजारमा हिट भएका कतिपय आधुनिक तथा पप गीत पनि लोकगीतबाट प्रभावित छ । हामीले अनुभूत गर्न सक्ने हो भने आधुनिक युगमा पनि लोकसाहित्यको पर्याप्त प्रभाव पाइन्छ ।

नेपालमा लोकसाहित्यप्रतिको सचेतना कमजोर लेखिन्छ । पश्चिमी गोलार्द्धमा लोकसाहित्यप्रतिको सचेतना उच्च छ । त्यहाँ लोकसाहित्यले उच्च सम्मान पाएको छ । युरोपमा लोकसाहित्यको सङ्कलन, अन्वेषण तथा अध्ययनको परम्परा दुई सय वर्षभन्दा पुरानो देखिन्छ । त्यहाँ लोकसाहित्यसम्बन्धी अनेकन् शोधग्रन्थ तथा श्रव्यदृश्य सामग्री भेटिन्छन् ।

नेपालमा लोकसाहित्यको खोज–अनुसन्धानको इतिहास त्यति लामो देखिँदैन । यसको समयरेखा किटेरै भन्न नसकिए पनि केहीले २००७ सालको राजनीतिक परिवर्तनपछि लोकसाहित्यको खोज–अध्ययन शुरु भएको पाइन्छ । तर, धेरैजसो अध्ययनचाहिँ नेपालमा विश्वविद्यालय खुलेपछि शुरु भएको देखिन्छ । अहिले कतिपय विश्वविद्यालय पूर्ण वा आंशिक पेपरको रूपमा लोकसाहित्यको अध्ययन भएका छन् । सगम्रमा भन्दा नेपालमा लोकसाहित्य अत्यन्तै कम दिलचस्पी भएको विषयको रूपमा देखापरेको छ, जुन विडम्बनाको विषय हो ।

सत्यमोहन जोशी, चूडामणि बन्धु, हंसपुरे सुवेदी, धर्मराज थापा, पूर्णप्रकाश नेपाल ‘यात्री’, तुलसी दिवस, कालीभक्त पन्त, देवीप्रसाद वनवासी, रत्नाकर देवकोटा, जीवेन्द्रदेव गिरी, कृष्णप्रसाद पराजुली, डा. मोतीलाल पराजुली, डा. रविलाल अधिकारी, डा. शम्भुप्रसाद कोइराला आदिले नेपाली लोकसाहित्यको फाँटमा अतुलनीय योगदान दिनुभएको छ ।

भारतमा पण्डित रामनरेश त्रिपाठी, राहुल सांकृत्यायन, देवेन्द्र सत्यार्थी, सत्येन्द्र, कृष्णदेव उपाध्याय, पीयुष दहिया, एके रामानुजन, विजयदान देथा, सत्यव्रत सिंह, आशुतोष भट्टाचार्यजस्ता विद्वानहरूले लोकसाहित्यको खोजअनुसन्धान गहकिलो योगदान दिएको छन् ।

विश्वमा लोकसाहित्यसम्बन्धी अनेकन् संस्थाहरू छन् । जस्तै : इन्टरनेसनल काउन्सिल अफ अर्गानाइजेसन्स् अफ फोकलोर फेस्टिभल्स् एण्ड आर्टस्, द फोरलोर सोसाइटी (बेलायत), अमेरिकन फोरलोर सोसाइटी आदि । भारतमा पनि लोकसाहित्यसम्बन्धी धेरै संस्था छन् । उदाहरणका लागि भारतीय लोककला मण्डल (उदयपुर), नेसनल फोकलोर सपोर्ट सेन्टर (चेन्नई), मैथिली लोकसाहित्य परिषद (कोलकता), लोकरंग सांस्कृतिक समिति (रायगढ), पश्चिम बंगगण सांस्कृतिक परिषद कोलकता) आदि भारत स्थापित लोकसाहित्यसम्बन्धी संस्था हुन् । नेपालमा पनि लोकवार्ता तथा संस्कृति समाज, नेपाल फोकलोर सोसाइटी जस्ता संस्था अस्तित्वमा छन् ।

हरेक वर्षको अगष्ट २२ तारिखमा विश्व लोकसाहित्य दिवस मनाइन्छ । सन् १८४६ देखि नै लोकसाहित्य दिवस मनाइएको पाइन्छ तर नेपालमा भने यो दिवस राष्ट्रियस्तरमा मनाइएको पाइँदैन । नेपालमा पनि लोकसाहित्य दिवस मनाइनुपर्छ । परम्परागत भेषभूषामा उपस्थित भएर लोकसाहित्यसम्बन्धी विविध गतिविधिमा सहभागी गरिनुपर्छ ।

यस्ता गतिविधिमा नयाँ पुस्तालाई सक्दो सहभागी गराउनुपर्छ यसो गर्न सके लोकसाहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुग्छ । लोकसाहित्यलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।  यसमा राज्य र नागरिक दुवैको ध्यान जान आवश्यक छ ।

लोकसाहित्यमा हाम्रो भाषा, परम्परागत ज्ञान, बौद्धिक परम्परा, जीवन–दर्शन, इतिहास र जीवनशैलीका तमाम आयाम र पाटाहरू समेटिन्छन्, जसमा लोकजीवन र लोकसंस्कृतिको ढुकढुकी  भेटिन्छन् । यिनीहरू हाम्रा चिनारी हुन्, जुन हाम्रो अस्तित्वसँग जोडिएको हुन्छ । यस्ता चीजलाई बेलैमा नजोगाउँदा भविष्यमा हामीसँग पछुतोबाहेक केही बाँकी रहँदैन । त्यसैले लोकसाहित्यको समयोचित संरक्षण र सम्वर्द्धन आवश्यक छ ।

[साभार: युवामञ्च । कात्तिक, २०७६ ]