Friday, April 26, 2019

एउटा विद्रोही स्वर

-यमबहादुर दुरा

फौजी जीवन बीचैमा टुङ्ग्याएर आएका सिपाही । त्यसमा पनि कम्युनिष्ट विचारधाराका अनुयायी । मनमा विद्रोहको राँको सल्काएर गाउँबस्ती चाहर्न मन पराउने नवयुवक । समाजमा विद्यमान भेदभाव र असमानतामाथि चर्को आक्रोशको भाव । तिनै आक्रोशलाई लोकसङ्गीतका ताल र सुरहरूमा उनेर जनजागरणका गीत गाउन रुचाउने एउटा सिर्जनशील व्यक्ति ।

यो सहज बाटो थिएन । तर पनि, प्रचण्डबहादुर बुढाथोकी मगरले यही बाटो रोजे । उनी २०१४ सालमा १६ वर्षको उमेरमै आसाम राइफलमा भर्ती भए तर उनलाई पल्टनमा बुट बजार्ने कुनै रहरै भएन । उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । पल्टनको जागिर बीचैमा छाडेर घर फर्किए ।

उनको मनभित्र अर्कै कुराको हुटहुटी चलिरहेको थियो । पल्टनियाँ जीवन त्यागेपछि उनले जनजागरणको गीत गाउन थाले । फौजी जिन्दगी भोगिसकेका उनले युवाहरूलाई लाहुर नजान आग्रह गर्दै गीत गाए । उनले गाएका गीतको हरफ ‘लाहुरे हुन नजाऊ दाइ अब त, खेर गयो नेपाली रगत’, ‘फर्किआऊ दाइ छकछके रेलैमा, देशमा जनता जागेको बेलै’, ‘यो देशको हालचाल कस्तो छ, छाती पिटी रोइरहुँ जस्तो छ’ अझै पनि धेरैको स्मृतिमा ताजै छ ।

उनले शुरु शुरुमा भजन, सोरठी सवाइ पनि गए । पछि क्रान्तिकारी गीतमा दिल बस्यो । उनले देश उचाल्ने तागत भएका युवा वर्गको मनोबल बढाउने किसिमका आवाज बुलन्द गरे । ‘युवा तिम्रो काँधमा देश उचाल्ने शक्ति छ, युवा तिम्रो मुटुमा देशको श्रद्धा भक्ति छ’, ‘युवा तिम्रो हातमा वैज्ञानिक जुक्ति छ, तिम्रो हातमा सर्वाहारा गरिबको मुक्ति छ’ जस्ता उनका गीत निकै चर्चित छन् ।

उनी सधैँभरि ‘यथास्थितिवाद’ को विरुद्धमा उभिए । ‘यथास्थितिवाद’ लाई चिर्न उनले क्रान्तिको झिल्को पार्ने गीत गाइरहे । देश र दुनियाँलाई ब्युँझाउन आवाज बुलन्द पारिरहे । अनि, धेरै नरोजेको बाटो रोजेर उनले आफ्नो पृथक परिचान दिए ।

जतिबेला उनले फिल्डमै देखिएर गीत गाउन थाले, त्यतिबेला कलाकारको संख्या नितान्त न्यून थियो । त्यसमा पनि विद्रोहको स्वर उराल्ने कलाकारको संख्या नगन्य थियो । उनी क्रान्तिको गीत गाउने दर्बिलो आवाज भएर अगाडि आए । पछि हटेनन् । उनी ‘जनगायक’ हुनकाु पछाडि एउटा गतिलो पृष्ठभूमि छ ।


अर्घाखाँचीको खिदिममा जन्मेका प्रचण्डबहादुर बुढाथोकीको परिवार बेलैमा नवलपरासी झरेको थियो । नवलपरासीमा उनको र मोदनाथ प्रश्रितको घर टाढा थिएन । उनीहरू एकआपसमा सम्पर्कमा आइरन्थे । उनीहरूबीच राजनीतिक विषय विचारविमर्श भइरहन्थ्यो । विचारविमर्शको निष्कर्ष स्वरूप उनीहरूले माक्र्सवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अपनाउने अठोट लिए । सँगै हिँड्ने डुल्ने अन्य साथीसंगीले पनि यसैमा सहमति जनाए ।

उनीहरूको अठोट पहाडको ठाडो खोलाजस्तो जर्कटो थियो । बुढाथोकीले २०२२ सालदेखि विद्रोही गीत गाउन शुरु गरे । यसपछि उनको परिचय ‘जनगायक’ का रूपमा दरिन थाल्यो । उनले अन्याय, अत्याचार र भेदभावविरुद्ध गीतमार्फत आवाज उठाउन थाले । ‘पूर्वमा रातो लालीमा छाउँदैछ, धुरुमा धुरु नरोऊ साइँला हाम्रो दिन आउँदैछ’, ‘पहेँलो धान झारिदियो परेर असिना, कति दिन खेर जाला यो हाम्रो पसिना’ जस्ता गीतले उनभित्र उम्लिरहेको क्रान्तिकारीपनको परिचय दिन्छन् ।


क्रान्तिकारी गीत गाएकाले उनीमाथि राज्यको बक्रदृष्टि परिरहेको थियो । ‘शासक वर्गले आफूहरूलाई शोषक–सामन्ती भनेर गीत गाउँछन् भनेर हामीप्रति बक्रदृष्टि राख्थे’ उनी विगत सम्झन्छन् । शासकको दृष्टिमा अराष्ट्रिय तत्व ठहरिए पनि उनलाई धुरी मानेर लोकङ्गीतको क्षेत्रमा अघि बढ्नेहरूको संख्या पनि कमी थिएन ।

चर्चित लोकगायक लोकबहादुर क्षेत्री उनका अनुयायीमध्ये एक हुन् । क्षेत्री उनलाई गुरु मान्थे, जसबाट उनी निकै प्रभावित थिए । क्षेत्रीको स्वरमा गुञ्जिने लोकप्रिय गीत ‘छोरीलाई नगर हेला, पढ्ने बेला घरधन्दा झमेला’ प्रचण्डबहादुर बुढाथोकीले नै रचेका गीत हुन् ।

उनले राष्ट्रिय प्रसारण संस्था रेडियो नेपालमा धोको फेरेर गीत गाउनै पाएनन् । रेडियो नेपालमा उनका चार–पाँचवटा मात्र गीत छन् । रेडियो नेपालमा गीत सेन्सर गर्ने प्रणाली भएकाले धेरै गीत गाउन पाएनन् । उनका धेरैजसो गीत क्रान्तिकारी प्रकृतिका थिए, जुन व्यवस्था विरोधी आवाज बन्न सक्थ्यो । यही कारण उनका धेरै गीत त्यहाँ रेकर्ड हुन पाएनन् ।

‘ओरालीमा जो झरे पनि मेरै माया झरेझैं लाइरनी भन्थी सानीले’, ‘डरलाग्दो कालीपार पैह्रो, पैह्रोभन्दा पीरति झन गैह्रो’ उनले रेडियो नेपालमा स्वराङ्कन गराएका गीत हुन् । यी गीत उनले नगन्य मात्रामा गाएका मायाप्रीतिका गीतमध्ये पर्छन् ।

प्रचण्डबहादुर बुढाथोकी गायनका अतिरिक्त अभिनयमा पनि खप्पिस थिए ।उनी नाटकमा पनि अभिनय गर्थे ।  त्यस समयमा मोदनाथ प्रश्रितले ‘पचास रुपियाँको तमसुक’ शीर्षकमा नाटक लेखेका थिए । उनी नाट्य टोलीमा सहभागी भए । २०२५ सालतिर त्यो नाट्य टोली पूर्वोत्तर भारतको सिलोङ, आसामजस्ता नेपालीभाषीहरू भएको ठाउँमा पुग्यो । टोलीले गोरखपुरको पीपलडाँडामा पनि नाटक प्रस्तुत गर्‍यो ।

पूर्वोत्तर भारतको भ्रमणको मौकामा उनलाई अर्को मौका पनि जुर्‍यो । उनले  रेडियो खर्साङमा गीत गाउने मौका पाए । उनको त्यहाँ मीठो स्वागत भयो ।  त्यतिबेला उनले रेडियो नेपाल र रेडियो खर्साङबीच एउटा कुरामा तात्विक भिन्नता पाए । ‘रेडियो नेपाल गीतमा गीत गाउन चाकडी गर्नुपर्ने तर त्यहाँचाहिँ गीत गाइदिन उनीहरूबाटै अनुरोध आउने’ उनी दुईवटा विरोधाभाषपूर्ण प्रवृत्तिको स्मरण गर्छन् । पूर्वोत्तर भारतका नेपालीभाषीले उनको गीत निकै मन पराए । त्यहाँ उनको ख्याति चुलियो ।

जतिबेला उनले क्रान्तिको झिल्का पार्ने गीत गाउँदै थिए, त्यतिबेला दलविहीन पञ्चायती व्यवस्था उन्मत्त हुँदै थियो । पूर्वोत्तर भारतको नाटक प्रदर्शन गरेर फर्किएपछि मोदनाथ प्रश्रित पक्राउ परे । अरू साथीहरू पनि पक्राउ परे । प्रचण्डबहादुर बुढाथोकीमाथि पनि राज्यको निगरानी बढ्यो । उनी कहिले भूमिगत त अर्धभूमिगत हुँदै हिँड्न थाले । घरको मियो नै हल्लिएपछि घरपरिवारले सास्ती भोग्नुपर्‍यो ।

जीवनमा धेरै उतारचढाव भोगेका उनको जीवन घामछायाँजस्तो रह्यो । कहिले एउटा भूमिका, कुनै बेला अर्को भूमिका । उनी शिक्षक २७ वर्ष ६ महिना शिक्षण पेशामा संलग्न रहेर २०६० सालमा सेवानिवृत्त भए । जनसांस्कृतिक महासंघका संस्थापक सदस्य रहेका उनी कवि, गीतकार र थुप्रै कृतिका सर्जक हुन् । उनका एक दर्जनभन्दा बढी कृति छन्, जसमध्ये अधिकांश गीत र कविता छन् । उनका थुप्रै कृति अप्रकाशित छन् ।

उनले स्थानीयस्तरका ३० वटा पुरस्कार पाएका छन् । उनी नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानबाट २०७२ सालमा पुरस्कृत भएका छन् । देश र नागरिकका लागि उनले के दिए, उनको प्रतिभाको कसरी लेखाजोखा भयो, उनले कति सम्मान पाए, समाजले उनबाट कति ज्ञान र सीप पाए, यी सबै बेग्लै विश्लेषणको विषय हुनसक्छ । तर, यतिचाहिँ निर्धक्क भन्न सकिन्छ- उनी आफैंमा एउटा पाठ हुन् ।

उनका समकालीन, अनुयायी र अनुजहरूले उनको जीवनधारालाई विभिन्न कोणबाट विश्लेषण गरेका छन् । कवि वुँद रानाले ‘रेडियो जनता’ सँग कुराकानी गर्दै उनलाई जनगायकको उपाधि दिएका थिए । रानाले उनलाई राज्यले संरक्षण गर्नुपर्ने प्रतिभा हुन् भनेका छन् ।

जनमनमा थुप्रै अमिट छाप छाडेर २०७६ साल वैशाख २ गते उनी यस क्षणिक दुनियाँबाट नाता तोडे । दुनियाँसँग नाता तोड्नुको निहुँ थियो, निमोनिया र कमलपित्त । अब उनी हामीबीच छैनन् । उनको साङ्गीतिक विरासत थाम्ने जिम्मा अनुयायी र अनुजहरूको काँधमा आएको छ । उनका साङ्गीतिक विरासतलाई समाजको बृहत्तर हितमा लगाउनु नै उनीप्रति सही श्रद्धान्जलि दिएको ठहरिनेछ ।

[साभार: लोकसंवाद । २०७६ साल वैशाख १३ गते ।]

Friday, April 19, 2019

पहाडी गुञ्जन


-यमबहादुर दुरा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा पहाडको अर्ग्यानिकपन र संघर्षशील जीवनको मीठो वर्णन गरेका छन् । उनले लेखेका छन्, ‘यहाँ कृतिमता छैन...। जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । ... काम नगरी खान कसैको बूता हुँदैन...।’

कूल भूभागको ८३ प्रतिशत हिस्सा डाँडाकाँडाले ढाकेको नेपालको पहाडी भूभाग लोकगीतको खानी हो । त्यहाँ सुमधुर सङ्गीत छ । पहाडको उकाली–ओराली र देउराली–भञ्ज्याङका देवीदेउरालीसँग सङ्गीतले युगौंदेखि मितेरी साइनो गाँस्दै आएको छ । गाउँमा आधुनिकताको लहर आउनुभन्दा अघि रैथाने लोकभाकाहरूको रन्कोले पहाडी जनजीवनमा रौनक थपिदिन्थ्यो ।

सङ्गीतसम्बन्धी विदेशी अध्येताहरूले भन्ने गरेका छन्, नेपालका पहाडी भेगका गीत धेरै सुमधुर हुन्छन् । नेपालको पाखा–पखेरामा गुञ्जिने मोहनी लोकभाकाहरू यसका साक्षी हुन् । नेपालको साङ्गीतिक वातावरणलाई गुल्जार बनाउँदै जनजनको गलामा गुञ्जिएका धेरैजसो लोकभाका पहाडकै भावभूमिमा कोरलिएका छन् । ती लोकभाकामा पहाडी जीवनको जीवन्त तस्बिर प्रतिविम्बित हुन्छन् ।

देवकोटा पहाडको नृत्य र गीतको मुक्तकण्डले प्रसंशा गर्छन् । उनी ‘पहाडी जीवन’ निबन्धमै लेख्छन्, ‘नृत्यमा नै पहाडी जीवनको सभ्यता छ, नृत्यमै यसको प्राकृतिक चाल छ, मानिसका गोडा कल झैं ओर्लन्छन्, हावा झैं चढ्दछन् र कामबाट फुर्सद पाउना साथ ती गोडा नाच्तछन् । पुराना–पुराना गीतहरू मुरलीमा बज्दछन्, कोरस चल्दछ र श्रमको जीवन संङ्गीतमय बनेर सबै पहाडी चिडियाका स्वर मिलेझैं अविदित अर्थले गुनगुनाउन थाल्दछन् ।’

संसारभर पहाडका गीत गाइन्छन् । खासगरी पहाडी भूश्रङ्खला भएका ठाउँमा पहाडका गीत भरनाले पैदा गरेको सङ्गीत झैं गुञ्जिन्छन् । रकी माउन्टेन, आल्पस पर्वतजस्ता विश्वचर्चित पर्वत श्रृङ्खलाहरूबारे धेरै गीत बनेका छन् । ‘हाइ अन अ माउन्टेन’, ‘रकी टप’, ‘ब्लु रिज माउन्टेन्स्’, ‘टेनिसी माउन्टेन होम’, ‘बिग रक क्यान्डी माउन्टेन’, ‘रकी माउन्टेन वे’, ‘फगी माउन्टेन ब्रेकडाउन’ जस्ता पहाडसँग नाता गाँस्ने  गीतहरू चर्चित छन् । अमेरिकी गायक मार्ले ट्राभिस (सन् १९१७–१९८३) ले सन् १९४७ मै  पहाडी लोकगीतहरूको संगालो  ‘फोकसङ्ग अफ द हिल्स’ निकालेका थिए । यस्ता गीतहरूको सूची निकै लामो छ ।

नेपालमा २०२४ सालमा लेकाली समूह गठन भयो, जसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, गणेश रसिक, तीर्थ सेरचन, न्युच्छेबहादुर डङ्गोल र नीरा श्रेष्ठ सामेल भएको अभिलेख भेटिन्छ । हाल क्रियाशील नरहेको यो समूहले पहाडी पाखारेखाका जीवनशैली झल्कने गीत गाएर लोकहृदयमा आफ्नो ठाउँ सुरक्षित राख्यो ।

पहाड जति सुन्दर र मनोरम छ, त्यति नै क्रूर पनि । संर्घष नचिन्नेको अस्तित्वलाई पहाडले स्वीकार नै गर्दैन । चुनौती र संर्घषलाई आत्मसात गर्नेहरूलाई मात्र पहाडले माया गर्छ र उसको अस्तित्व स्वीकार्छ । त्यसैले, पहाडको अर्को नाम संघर्ष पनि  हो । घामसँग छायाँ आएजस्तै पहाडी जीवनसँग स्वाभाविक रूपमा संघर्ष  जोडिएर आउँछ ।


पहाडका बासिन्दा पहाडको सुन्दर काखमा रमाए पनि कतिपय अवस्थामा पहाड (डाँडाकाँडा) प्रति उनीहरूको एकप्रकारको विद्रोहभाव पनि छ । पहाडले आवगमनमा बाधा पैदा गर्छ, सञ्चारमा अवरोध पैदा गर्छ । कतिपय अवस्थामा कतिपयले पहाडको उपस्थितिलाई रूचाएको पाइँदैन । ‘तिम्लाई हाम्लाई छेकने डाँडोलाई लगे हुन्थ्यो पैह्रोले सलल’, ‘अल्को डाँडा नभए हुनिथ्यो, मै बोलेको मायाले सुन्निथ्यो’ जस्ता गीतमा पहाडप्रति प्रत्यक्ष वा परोक्ष किसिमको विद्रोही भाव भेटिन्छन् ।

'यो  प्रविधिले साथ दिएको युग हो । सात समुन्द्रपारि भएका आफन्तजनसँग अनुहार अनुहार हेर्दै भिडियो च्याट गर्ने जमाना आइसक्यो । हिजो कहाँ यस्तो थियो र ? एउटा सानो डाँडोले छेकिदिँदा हितैषीसँग वर्षौं देखभेट हुन नपाउने अवस्था आउँथ्यो । ‘धान-धान पहेँलै, यो पापी डाँडाले छेक्यो मायालाई’, ‘न त तिम्ले न मैले देखने, अल्को डाँडा बीचैमा छेकने’ जस्ता गीत त्यसै बनेका होइनन् ।

नेपाली जीवनमा पहाड यथार्थ हो । हाम्रो पहाड भन्नाले अग्ला पर्वत वा हिमालय श्रङ्खला मात्र बुझिँदैन । पहाडको दायरा फराकिलो छ । सामान्य बुझाइमा अग्लाहोचा डाँडाकाँडा पनि पहाडमै पर्छन् । पहाडले जीवनका सबै आयामलाई छुन्छ । एकतिर पहाडले जीवनदायिनी प्रभाव छाड्छ भने अर्कोतिर यसले चुनौतीकको पहाड पनि खडा गर्छ ।

पहाडले भौगोलिक विकटता जन्माउँछ । कतिपय अवस्थामा पहाड मौन ‘भिलेन’ भएर उभिन आइपुग्छ । आफ्नो मानिससँग भेटघाट गर्न सजिलो हुन्न । यस्तो अवस्थामा आफ्नो हितैषीलाई पाउन कोही क्रान्तिकारी रूपमा देखाउँदै डाँडै फोर्न तयार हुन्छन् भने कोहीचाहिँ सम्झौतापरस्त बनेर आफ्नो मान्छेलाई घरै सार्न सल्लाह दिन्छन् । ‘यो मायालाई मै लान्छु चोरेर अल्को डाँडा मेसिनले फोरेर’ र ‘तिम्लाई टाढा मलाई नि टाढा, माछीकाँडे डाँडैमा घर सार’ ले क्रमशः क्रान्तिकारी भाव र सम्झौतापरस्त भाव झल्काउँछन् ।

हाम्रा लोकगीतमा पहाड (हिमाल वा डाँडा) झुल्किरहन्छ । कहिलेकाहीँ गीतको अन्त्यानुप्रास मिलाउनका लागि मात्र गीतमा पहाड झुल्किन्छ । गीतको मूल भाव अर्कैतिर लक्षित रहन्छ । ‘हिमालचुली पल्लोपट्टि छङछङ गर्ने खोला, लुकीचोरी लाको माया नभन्दिनू होला’, ‘तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी’ जस्ता गीत यही श्रेणीमा पर्छन् ।

हरेकको जीवन पहाडसँग जोडिन्छ । छोरीचेली अपवाद बन्ने कुरै भएन । गाउँबस्तीका छोरीचेलीले आफ्ना जीवन र डाँडाकाँडालाई घोलेर भाका हाल्दै आएका छन् । लोकगायिका कविता आलेले छोरीचेलीको मर्मलाई गीतमा बेजोड किसिमले समेटेकी छिन् । कुनै समयमा उनको स्वरमा रेडियो नेपालबाट बज्ने ‘सरमा सर सुइटरै बुन्नु फलामे सुइरोले, डाँडामा बसी घर हेरुँ भन्दा छेक्यो नि कुइरोले’, ‘सिर्सिरे डाँडाको फिर्फिरे हावा उडायो पछ्यौरी, सातडाँडा काटी दिएर बाबा रुवायौ यसरी’ जस्ता  गीतका हरफमा बलात् पराइघरमा हुत्याइएकी चेलीको मनोभाव उर्लिएका छन् ।

यी गीत अहिलेको डिजिटल युगमा त्यतिविधि सान्दर्भिक छैैनन् । तर, समयको कुनै कालखण्डमा भयानक सान्दर्भिक थिए । विगतमा सम्पर्कका लागि न कुनै माध्यम थियो, न त सुविधायुक्त बाटोघाटो नै । एउटा सानो झलुङ्गो नहुँदा एउटै खोलाको अल्लो र पल्लो किनारा एक-अर्कामा परदेश जस्तो बन्थ्यो । ज्यान हत्केलामा राखेर ज्यानमारा खोला तर्नुपर्‍थ्यो। वर्तमानले असान्दर्भिक बनाउँदै लगे पनि विगतमा यी गीतको मर्म निकै सघन किसिमको थियो ।

हाम्रा असंख्य पहाड–पर्वतले नेपालीजनको सुस्केरा युगौंदेखि सुन्दै आएका छन् । यी सुस्केरा पहाडहरूमा प्रतिध्वनित हुँदै आएका छन् । पहाडका पाखारेखा र कुना–कन्दरामा गुञ्जिँदै आएका यी लोकसुस्केराहरूको अभिलेखन र खोज–अनुसन्धान अपेक्षित छ, जसले हाम्रा भावी सन्तानलाई पहाडी जीवनशैलीबारे चिरपर्यन्त मार्गदर्शन गर्न सकुन् ।

[साभार : लोकसंवाद । २०७६ साल वैशाख ६ गते । परिमार्जित संस्करण ।]

[अद्यावधिक : २०७६।०१।१५, २०७७।०४।०७]

Wednesday, April 17, 2019

२०७५ सालका केही उल्लेखनीय घटनाक्रमहरू

-यमबहादुर दुरा

समयको सतत प्रवाहको एक हिस्सा बनेर आएको २०७५ साल नेपालको सामाजिक तथा राजनीतिक रङ्गमञ्चमा अनेकन् घटनाक्रमहरू मञ्चन गरेर बिदा भइसकेको छ । ती घटनाक्रममध्ये केही विगतका राजनीतिक तथा सामाजिक प्रवृत्तिको पुनरावृत्तिजस्ता देखिन्थे भने केहीचाहिँ जीवनमा नयाँ आयाम बनेर आएका थिए । तिनै घटनाक्रमहरूको संक्षिप्त विवरण :

देशको लाइफलाइन मानिएको मुग्लिन–नारायणगढ सडक विगतमा झैं २०७५ सालमा पनि चर्चामै रह्यो । सडक विस्तार कार्य चलिरहेकाले लामो समयदेखि निर्माणाधीन अवस्थामा यो सडक प्रयोगकर्ताले निकै सास्ती खेप्नुपर्‍यो । यात्राका क्रममा कतिले ज्यान गुमाउनुपर्‍यो भने धेरै कहालीलाग्दो जाम सहनुपर्‍यो । यस्तैमा निर्माण कार्य पूरा भएको भनी जेठ २३ देखि यो सडक चौबीसै घण्टा चालू रहने घोषणा गरियो । तर वर्षात्का समयमा पहिरो खस्दा यो सडक पटक पटक अवरुद्ध भइरह्यो ।

यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोडिनुलाई वर्तमान सरकारको महत्वपूर्ण उपलब्धिमध्ये एक मानिएको छ । तर, सबैजना यो कुरा तयार मान्न तयार छैनन् । सैद्धान्तिक रूपमा सिण्डिकेट तोडिए पनि व्यावहारिक रूपमा कायमै रहेको आमसञ्चार माध्यममा समाचार आइरहे । सहज किसिमले यात्रा गर्ने वातावरण नबन्दा आमनागरिकले यथावत रूपमै सास्ती र हैरानी भोग्नुपर्‍यो । यसबारे आक्रोशपूर्ण टीकाटिप्पणीले सोसल मिडिया रङ्गिरहे ।

नेपाल संघीय प्रणाली कार्यान्वयनकै चरणबाट गुज्रिरहेको बेलामा सञ्चार माध्यममा स्थानीय तहहरूले नागरिक आतङ्कित हुने गरी चर्को दरमा कर उठाउन थालेका समाचारले सञ्चार माध्यमहरूमा उच्च प्राथमिकता पाए । यही मेहरोमा सम्बन्धित संघीय मन्त्रीले कतिपय प्रदेशले गैरकानुनी रूपमा कर असुलेको अभिव्यक्ति दिएकाले करको विरोधमा थप बल पुग्योे । यसलाई कतिले संघीय प्रणालीको असफलताको शुरुवाती संकेतको रूपमा पनि चित्रण गरे । स्थानीय सरकारले चौतर्फी विरोध सहनुपर्‍यो । यही क्रममा वीरगञ्च महानगरपालिकाका व्यापारीहरू नै करको प्रतिरोधमा उत्रिए । तर, अहिले करसम्बन्धी मामिला मत्थर भएजस्तो देखिन्छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर विवादमा परे । तामाङले बंगलादेशमा मेडिकल साइन्स पढ्न जाने छात्राहरूबारे दिएको अभिव्यक्ति विवादास्पद बन्यो । मन्त्री तामाङले असल आशयका साथ (‘गुड फेथ’ मा) यस्तो अभिव्यक्ति दिएको स्पष्टोक्ति दिए पनि विरोधमा उत्रिएकाहरू सुन्न तयार भएनन् । अन्ततः उनले नैतिकताका आधारमा साउन ८ गते दिन राजीनामा भए । मन्त्री तामाङ आफ्नै बोलीपासोमा परे ।

मेडिकल शिक्षा र चिकित्सा नीतिमा सुधार हुनुपर्ने माग लिएर पटक अनसन बस्दै आएका आएका प्राडा गोविन्द केसीले यस वर्ष पनि आफ्नो पुरानो परिचय पूर्ववत रूपमा दिएरै छाडे । यस वर्ष जुम्ला र इलाममा पुगेर अनसन बसे । अनसन बसेकै थलोबाट सरकारले केसीलाई राजधानी ल्याउने काम पनि गर्‍यो । यसमा बल प्रयोग प्रयोग भयो । सरकार र प्रतिपक्षबीच जुहारी चल्यो । विगतमा वाहवाही लुटेका यसपटक नायक छवि अलि धुमिल देखियो । केसीविरुद्ध आलोचनाको लहर शुरु भयो । केसी अनसनरत रहेकै बेला उनको विरुद्धमा अनसन बस्ने कार्य भयो ।

खगोलीय घटनाक्रमका दृष्टिले पनि २०७५ साल अर्थपूर्ण रह्यो । साउन ११ गते यस शताब्दीकै सबैभन्दा ठूलो चन्द्रग्रहण लाग्यो । नेपाली समयअनुसार राति १२ बजेर ९ मिनेटमा शुरु भएको ग्रहण बिहान ४ बजेर ४ मिनेटमा समाप्त भएको थियो । २०७१ साल चैत २१ गते यस शताब्दीकै सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो । त्यतिबेला पाँच मिनेटको ग्रहण लागेको सञ्चार माध्यमहरूले जनाएका थिए ।

यस वर्ष देशको सर्वोच्च न्यायालय स्वयं समाचारको विषय बन्यो । रिक्त प्रधानन्यायाधीश पदका लागि दीपकराज जोशी संसदीय सुनुवाइ विशेष समिति समक्ष उपस्थित भए । समितिको दुई तिहाइ बहुमतले जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्‍यो । नेपालको संसदीय इतिहासमा संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।

कुनै समयमा नेपालमा राम्रो छवि बनाएका तर २०७२ सालमा नेपालको संविधान जारी भएपछि एकाएक जनमनमा खलनायकजस्ता देखिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ र १५ गते काठमाडौंमा भएको बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आए । बिग्रिएको छवि लिएर नेपाल आएका मोदीको प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा नागरिक अभिनन्दन गरियो । यो घटनाले प्रधानमन्त्री ओलीले आलोचना खेप्नुपर्‍यो।

इन्टरनेट जनजीवनको अपरिहार्य हिस्सा बन्दै गइरहेको बेलामा सरकारले सामाजिक सञ्जाल प्रयोग कार्यविधि, २०७५ जारी गर्‍यो। पोर्नो साइटहरू पनि बन्द गरिए । व्यक्तिका फेसबुक अकाउण्टलाई पनि नियमन गर्ने लागिएको अफवाह चल्यो । २०७५ साल निख्रिँदै गर्दा पब्जी खेलमाथि पनि प्रतिबन्ध लगाइयो । सरकार सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेतिर भन्दा पनि नियन्त्रण गर्ने दिशातिर उन्मुख भएको टीकाटिप्पणी आए, आइरहेका छन् । सरकारको कदमको पक्ष र विपक्षमा गर्मागर्मी बहस जारी छ ।

सरकारले आफूहरूमाथि करको बोझ थोपरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको शुल्क बढाउने घोषणा गरे । यही मौकामा निर्वाचनको समयमा निःशुल्क वाइफाइ उपलब्ध गराउने भाषणमार्पmत बचन दिएका सत्तारुढ दलका कतिपय नेता र सरकारको आलोचना शुरु भयो । पछि सरकारसँग सहमति भएर पछि इन्टरनेट सेवा प्रदायकहरूले शुल्क बढाउने निर्णय फिर्ता लिए । तर पनि, उनीहरूले घुमाउरो किसिमले ग्राहकबाट रकम असुलिरहेको जनगुनासो कायमै छ ।

साउनमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना निकै चर्चित रह्यो । हत्याकाण्डले सडक र सदनमा चर्काचर्कीको वातावरण निम्त्यायो । सरकार, प्रतिपक्ष तथा अधिकारवादीहरूबीच परस्पर आक्षेपपूर्ण बयानबाजी चलिरह्यो । छानबिन समिति गठन गरी घटनबारे अनुसन्धान कार्य अघि बढाइयो । तर पनि दोषी पत्ता लागेन । कसै गर्दा पनि रहस्यको पर्दा उघ्रेन ।

राष्ट्र र राष्ट्रियताका पक्षमा उभिनेहरूका लागि यो वर्ष पनि उत्साहप्रद रहेन । नेपालको नापी विभागले तयार पारेकै नक्शामा नेपालीभूमि लिम्पियाधुरा गायब भएको समाचार सञ्चार माध्यममा आए । अर्कोतिर, सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा दस्ताबाट नेपाली नागरिकमाथि थिचोमिचो भएका, सीमा स्तम्भ हराएका जस्ता दुःखदायी समाचार गत वर्षहरूमाझैं यस वर्ष पनि सञ्चार माध्यमका नियमित खजाना बने । चीनले दोलखाको लामाबगरमा करिब नौ बिघा जमिन मिचिने गरी सीमा स्तम्भ नेपालतिर सारेको समाचार आए । तर, यस्ता गम्भीर विषयमा सरकार ध्यान नगएको भन्दै सामाजिक सञ्जालहरूमा आक्रोश पोखिए ।

२०७५ सालमा आपराधिक घटनाक्रमहरूको श्रृङ्खलामा एउटा हाइ प्रोफाइल हत्याकाण्ड अङ्कित भयो । पूर्वराजदूत केशव झाको बबरमहलस्थित आफ्नै निवासमा भदौ ४ गते घरमा हत्या भयो । झा २०४९ देखि २०५४ सालसम्म फ्रान्सका लागि नेपाली राजदूतका रूपमा कार्यरत थिए । उहाँ ८० वर्षीय झाको हत्या र हत्या रहस्य पत्ता लागेको छैन ।


संक्रमणकालीन न्यायमा सरकार चुकिरहेको आरोप लागेको बेलामा जिल्ला अदालत (चितवन) ले बहुचर्चित कृष्णप्रसाद अधिकारी हत्याकाण्ड (फुजेल हत्याकाण्ड) का १३ जना प्रतिवादीमध्ये १२ जनालाई भदौ २५ गते सफाइ दियो । यसभन्दा अघि अभियुक्त छविलाल पौडेलले असार २४ गते अदालतसमक्ष आत्मसमर्पण गरेका थिए ।

सरकारले बाँडेको ‘गरिबी प्रमाणपत्र’ विवादास्पद रह्यो । गरिबको सट्टामा पहुँचका आधार सरकारी कर्मचारी तथा अन्य धनाढ्य व्यक्तिले समेत ‘गरिबी प्रमाणपत्र’ पाएका समाचार आए । यस किसिमको प्रवृत्तिले ‘मत्स्य न्याय’ को किस्सा स्मरण गरायो । गरिबलाई प्रमाणपत्र दिने कदम प्रशंसनीय भए पनि सरकारी तहमा उचित गृहकार्य नभएको र सामाजिक तहमा नैतिक शुद्धीकरण हुन नसकेको टीकाटिप्पणीले स्थान पाए, जुन स्वाभाविक थियो ।

बजार अराजक बन्दै गए पनि सरकारी अनुगमन र नियमन कमजोर रहेको समाचारले २०७५ सालमा स्थान पाइरह्यो । कालीमाटी थोक बजारमा चारगुणा महङ्गो दरमा तरकारी बिक्री हुने गरेको समाचार आयो । भदौ ४ गते राजधानीको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न पुगेका सरकारी टोलीमाथि व्यापारीले हुलहुज्जत गर्नुका साथै उनीहरूलाई नियन्त्रणमा लिएका समाचारले अखबारका पाना रङ्गिए ।

भारतीय रेल, चिनियाँ रेल र पानीजहाजका प्रसंग ओली सरकारको पर्यायजस्तै भएको छ । भारतीय मालबहाक रेल विराटनगरसम्म आइसकेको, जनकपुर–जयनगर रेलसेवा तयारी हालतमा पुगेको, चिनियाँ रेलको सम्भाव्य अध्ययन भएको, पानी जहाज सञ्चालनका लागि सरकारले कार्यालय नै स्थापना गरेको समाचारले स्थान पाए । छिमेकीसँग ‘कनेक्टिभिटी’ का लागि सरकारले चालेको कदम कुन हदसम्म फलदायी बन्ने हो, हेर्न बाँकी नै छ ।

२०७५ सालको दशैंसम्म सम्पन्न भनेर हल्ला पिटाइएको बहुचर्चित मेलाम्ची खानेपानी आयोजना हल्लामै सीमित रह्यो । आफ्ना घर–घरमा मेलाम्चीको पानी आउने आशाले ठूलो मन बनाएर बसेका बेला सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीबीच आयोजनाको असफलतालाई लिएर चर्को झगडा भएको समाचारले धेरैलाई खिन्न बनायोे । यससँगै मेलाम्ची खानेपानी आयोजनाको भविष्य अनिश्चितताको अन्धकारततर्फ धकेलिएको छ । नेपाली नागरिकले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको समयदेखि  साँच्दै आएको सपना कहिले पूरा हुने हो, कुनै टुङ्गो छैन ।

नेपाली आकाश हवाइ यात्राका लागि असुरक्षित रहेको चर्चा अन्तर्राष्ट्रिय वृत्तमा चलिरहेका बेला बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र अन्य उच्च पदस्य अधिकारीहरूको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । फागुन १५ गते भएको दुर्घटनामा ख्यातिप्राप्त व्यक्तित्वहरूको निधनले एकतिर दुनियाँलाई दुःखित त तुल्यायो भने अर्कोतिर हवाइ सुरक्षाको सवालबारे थप चिन्तित पनि बनायो ।

जिल्ला अदालत (कैलाली) ले टीकापुर काण्डका मुख्य दोषी ठहरिएका रेशम चौधरीसहित ११ जनालाई फागुन २२ गते जन्मकैदको फैसला सुनायो । मधेशी–थारू आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतसहित आठजनाको मृत्यु भएको थियो । अदालतकोे फैसलापछि मधेशी दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषण गरेका थिए ।

नेपालबाट मधेश अलग हुनुपर्ने माग राख्दै आएका सिके राउत र सरकारबीच फागुन २४ गते एकाएक शान्ति सम्झौता भयो । पृथकतावादी छवि बनाएका व्यक्तिसँग नाटकीय शैलीमा भएको यो सम्झौताले नेपाली राजनीति मजैसँग तरङ्गित भयो । सम्झौतामा परेका कतिपय बुँदाले नेपालको अखण्डतामा खतरा उत्पन्न हुन सक्ने आशंका व्यक्त भए । प्रतिपक्षको स्वर चर्को भयो । सत्तारुढ दलकै एक प्रभावशाली नेताले पनि चर्को असहमति जनाए । तर अहिले यो मामिला जाडो मौसमको चियाझैं सेलाएको छ ।

सरकारले तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आपराधिक संगठन ठहर गर्दै फागुन २८ गते प्रतिबन्ध लगायो । हिजोका दिनमा हालेमालो गर्दै राजनीतिक विद्रोहमा उत्रिएका मित्र घटकलाई प्रतिबन्ध लगाएपछि वर्तमान सरकारको दिशा र दशाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ ।

मूल रूपमा बाढीपहिरोले समस्या भोगिरहेको नेपाल यसपटक नयाँ किमिसको प्राकृतिक विपत्ति भोग्नुपर्‍यो । चैत १७ गते बारा–पर्सामा  ‘टोर्नाडो’ आँधीले जनधनको क्षति गर्‍यो  । आँधीमा २७ जनाभन्दा बढीले ज्यान गुमाउनु पर्‍यो । यस घटनाले नयाँ प्रकृतिको विपत्तिका लागि चुस्तदुरुस्त पूर्वतयारी र सही मौसमी भविष्यवाणीसम्बन्धी प्रणालीकोे आवश्यकता महसूस गराएको छ ।

यी घटनाक्रमका अतिरिक्त केन्द्र, प्रदेश र स्थानीय सरकारबीच शक्ति बाँडफाँडबारे किचलो, प्रदेशको नामकरण, बढ्दो व्यापार घाटा, सवारी सुरक्षा (सडक तथा हवाइ यातायात), सत्तारुढ दलको लम्बिँदै पार्टी एकीकरण प्रक्रिया, प्रमुख प्रतिपक्षी दलमा आन्तरिक किचलो, संक्रमणकालीन न्याय, कर्मचारी समायोजन, नागरिकको सांस्कृतिक अधिकार हननलगायतका थुप्रै मामिलाहरू आए । यिनै प्रसंगहरूलाई सम्झनाको किस्तीमा सजाउँदै २०७५ साल इतिहासको पानामा अङ्कित भइसकेको छ ।

[साभार: परिसंवाद । २०७६ साल वैशाख १ गते ।]