Saturday, August 2, 2014

पर्म लाउन जाँदा


–यमबहादुर दुरा

गाउँघरमा जनशक्तिको निरन्तर अभाव हुँदैछ । पाखुरामा जाँगर भएका युवाशक्ति विदेश पलायन भएसँगै पाखुरा साटेर सहजीवन जिउने चलन पनि क्रमिक अन्त्य हुँदैछ । ‘ढुङ्गाको भर माटो, माटो भर ढुङगा’ : यो नै गाउँको मूल मन्त्र थियो । एकले अर्कालाई सहयोग गर्नुपर्छ, तबमात्र सहज र सरस किसिमले जीवनको रथ चल्छ भन्ने मान्यताले गाउँबस्तीका बासिन्दाहरूको मन सिँंगारिएको थियो । अब त्यस्तो छैन ।

जनशक्ति र मनशक्तिले गाउँघर गुल्जार बन्दा गाउँको वातावरण बेग्लै थियो । पाखुरा साटासाट गरेर गाउँमा खेतीपाती लगाइन्थ्यो । होस्टेमा हैंसे गरेर हलसारो गरिन्थ्यो । पैसा नहुनेसँग मन र पाखुरा हुन्थ्यो । मन हुनेले सजिलै पाखुरा पाउँथ्यो । पाखुरा नहुनेले मन दिएपछि हारगुहार पाउँथ्यो । चुड्कीको भरमा खेतीपाती लगाइन्थ्यो । कसैको पनि खेतबारी बाँझो बस्न पाउँदैनथ्यो ।
तस्बिर : राम दुरा

अहिले समयले काँचुली फेरेको छ । आज गाउँघरको अवस्था हिजोको जस्तो छैन । पाखुरामा जाँगर भएका युवाशक्ति शहरबजार र विदेशतिर पलायन भएकाले खेतबारी बाँझो पल्टिँदै गएका छन् । समय पनि त्यस्तै रुखो बन्दै गएको छ । हिजोका मनकारी मनहरू पनि आजकल गाउँघरमा त्यति भेटिँदैनन् । ती मन नगदको राज्यतिर बसाइँ सरेका छन् । त्यसैले गाउँघरमा सानोतिनो काम फत्ते गर्न पनि पैसा नै अघि सानुपर्ने भएको छ ।

मन र पाखुराले चलेको त्यतिबेलाको गाउँघरलाई सम्झँदा ‘नोस्टाल्जिक’ हुन पुग्छु । पर्मेली बनेर आफूले बिताएको कालखण्ड सम्झँदा सहसा भावुक बन्न पुग्छु । सहकार्य र साझा जीवनशैलीका सुन्दर दृष्टान्तहरूलाई जीवन्त तुल्याउँदै बिताएका ती अप्राप्य दिन आज निकै प्यारा लाग्छन् । न कुनै जालझेल, न त कुनै लोभ–लालच नै । श्रम र सहकार्यमा आधारित स्वार्थरहित एउटा सुन्दर समाज । अन्नपूर्ण हिमालजस्तै स्वच्छ मन र शारीरिक परिश्रम सिंँगारिएको खेतबारी सम्झन्छु । अनि वर्तमानमा परिणत नहुने मीठो अतीततिर विचरण गर्न पुग्छु । साउनको महिनामा कोदो रोप्दा पर्म लाएका क्षणहरू  तालको पानीजस्तै  छचल्किन्छन्, मनभरि ।

हामी गाउँले केटाकेटीहरू १०–१२ वर्षको उमेरदेखि कोदो रोप्ने पर्मेली टोलीको हिस्सा बन्थ्यौँ । हरेक वर्षको साउन महिनाभरि कोदो रोप्ने काम हुन्थ्यो । असार र साउन दुई महिना विद्यालयमा बर्खे बिदा हुने भएकोले हामीजस्ता स्कुले केटाहरू ढुक्कै पर्मेली टोलीको हिस्सा बन्न पुग्थ्यौंँ ।

गाउँलेको सल्लाहमा पर्म शुरु हुन्थ्यो । पर्मको टोली नेता तोकिन्थ्यो । उसले कसको बारीमा काम गर्ने भनेर पर्मको पालो निर्धारण गर्थ्यो । उसले पर्म लाग्ने, खाजा खाने र छुट्टी हुने समय पनि निर्धारण गर्दथ्यो । जमिन जिलाएर कोदो रोप्न उपयुक्त बनाउने काम केटाहरूको हुन्थ्यो । कोदो रोप्ने काम केटीहरूको हुन्थ्यो । कोदोको बीउ काढ्ने काम सामान्यतया पाका आमाहरूको भागमा पर्थ्यो ।

पर्ममा हरेक वर्षजसो ‘सिकारु’ पर्मेलीको प्रवेश हुन्थ्यो । भर्खर भर्खरै पर्ममा मिसिएका भाइबहिनीहरू सिकारु ठहरिन्थे । उनीहरूमा कोदो रोप्ने र जिलाउने सीप राम्रोसँग विकास नभइसकेकोले अरू काममा लगाइन्थ्यो । कोदोको ब्याडबाट बीउ ओसार्ने, पर्मेलीका लागि पानी ओसार्ने, आकाशबाट पानी छिट्टिन थालेपछि स्याखु (घुम) अर्थात् ओढो ओसार्नेजस्ता काम उनीहरूका भागमा पर्थे । उनीहरूलाई कोदो रोप्ने र जिलाउने काममा पनि प्रेमपूर्वक बानी पार्दै लगिन्थ्यो ।

पर्ममा जाँगर र पाखुरा दाँजिन पुग्थ्यो ।  छिटो पाखुरा चल्नेहरूको तुलनामा सुस्त गतिमा पाखुरा चल्नेहरू पछि पर्थे । पछि परेको अवस्थालाई झुण्डिएको भनिन्थ्यो । झुण्डिएको अवस्थामा रहेकालाई अरु कुनै जाँगरिलो व्यक्तिले उद्धार गरिदिनुपर्ने हुन्थ्यो ।  उद्धार गरिदिनुपर्ने अवस्थामा ‘सिकारु’ पर्मेलीहरू नै पर्थे । कोदो रोप्ने काममा एउटा बर्खा बिताएपछि अर्को वर्ष कोदो रोप्ने पर्मेली टोलीमा मिसिँदा नवप्रवेशीको ‘सिकारु’ बिल्ला हट्थ्यो । अर्थात् खेतबारीमा सिकारु बनेर काम गर्ने समय (‘इन्टर्नसीप’) उनीहरूको पूरा हुन्थ्यो । अर्को वर्ष उनीहरूको हैसियत झण्डैझण्डै ‘सिनियर’ दाजुदिदीहरू सरह कायम हुन पुग्थ्यो ।

लोकभाका पर्मको महत्वपूर्ण हिस्सा बन्थ्यो । सिङ्गो टोलीले एउटै स्वरमा गीत गाउँदा त्यसले ‘कोरस गायन’ को रूप लिन्थ्यो । गीतले खेतबारी र वरिपरिको वातावरण स्थानीय भाकामा गुञ्जयमान बन्थ्यो । यसबाट गोठालो र बटुवा भरपुर मनोरञ्जन लिन्थे । खेतबारीमा गुञ्जेको सुमधुर भाकामा लठ्ठिएका बटुवाहरू पाइला चाल्नै छाडेर गीतमा मस्त हुन पुग्थे । एउटा गाउँमा प्रचलित भाकालाई अर्को गाउँमा पुर्याउने कार्य पनि बटुवाले नै गर्दथे, पराग–सेचनमा पुतली र  भमराले भूमिका खेलेझैं ।

साउनको टन्टलापुर घाममा दश नग्रा खियाउँदा धेरैको अनुहार पाकेको खन्यूजस्तो हुनपुग्थ्यो । घामको बढी मार भर्खर भर्खरै पर्ममा भर्ती भएका भाइबहिनीहरूलाई पर्थ्यो । उनीहरू घामको ताप र राप सहन नसकेर ‘रोउँ कि हाँसु’ को अवस्थामा पुग्थे । यस्तो बेलामा पानी खुब खपत हुन्थ्यो । कर्कलोको पातमा पोका पारेर ल्याएको पानी औंलाले छेँडेर खाँदा बडो आनन्द मिल्थ्यो ।  घाम–पानी सहेर सधिएको कलिलो ज्यान अर्को वर्षसम्म कामका हिसाबले लगभग पूर्ण क्षमताको हुन्थ्यो ।

बर्खाको बेला । पानी पनि उस्तै पर्ने । कहिले दर्के पानी, कहिले छड्के पानी, कहिले सिमसिमे पानी । कुनै बेला त हप्तैभरि झरी परेको पर्यै हुन्थ्यो । ज्यानबाट स्याखु हटाउन नपाइने । स्याखु ओढ्दाओढ्दै स्याखुमै जुम्रा पर्ला जस्तो हुन्थ्यो ।

पर्ममा केही हदसम्म उच्छेली कामले पनि छुट पाउँथ्यो । यस्तो काम गर्नमा केटाहरू नै माहिर हुने गर्थे । रोपाहारे ठिटीहरूलाई धराप फसाउने काम हुन्थ्यो । उनीहरूका आँखा छलेर मान्छे डुब्ने खाल्टो खनिन्थ्यो । त्यसमाथि मकैको ढोड, स्याउला र झारपात राखेर जस्ताको तस्तै बनाइन्थ्यो । सब ठीकठाक छ भन्ने भ्रम दिन त्यसलाई माटोले छोपेर सम्म गरी जिलाइन्थ्यो ।  यी सम्पूर्ण प्रक्रिया बिजुली वेगमा सम्पन्न गरिन्थ्यो, अतिकतिमात्र समयको फेर परेमा योजना बिफल हुन्थ्यो ।

कहिलेकाहीँ यसप्रकारको षयडन्त्रको भेद ‘काम तमाम’ हुनुभन्दाअघि नै खुल्थ्यो । परिणामस्वरूप षडयन्त्र निष्फल हुन्थ्यो । कुनै बेला भने रोपाहारेहरूले षडयन्त्रको सुइँकोसम्म पनि पाउँदैनथे । कोदो रोप्दै जाँदा उनीहरू धरापमा पर्थे । धरापमा फसेकालाई कसैले खाल्टोबाट निकालिदिन पर्थ्यो। शरीरभरि माटैमाटो । मकैको ढोड र स्याउलाले ज्यान कोतरिन्थ्यो । बिजोग हुन्थ्यो । धरापमा फँसेपछि रोपाहारे केटीहरूको काम हुन्थ्यो, केटाहरूलाई सकुञ्जेल सराप्नु । केटाहरूको काम हुन्थ्यो पेट मिचीमिची हाँस्नु ।

उच्छेली काम यतिमै सकिन्थेन । जिलाउने केटाहरू वा रोपाहारेले थाहा नपाउने गरी कुनै लहरा वा डोरीको पुच्छर झुण्ड्याइदिने काम पनि हुन्थ्यो । कुनै बेला साथीसाथीबीच माटो डल्लोले हानाहान चल्थ्यो । कुनैबेलाको ख्यालठट्टा कल-झगडामा परिणत हुन्थ्यो । त्यतिबेला मध्यस्थता आवश्यक हुन्थ्यो । यस्तो बेलामा दिन खाएका दाइदिदीहरूको समझदारीपूर्ण भूमिका निर्णयाक हुन्थ्यो ।

त्यतिबेला कमैको नाडीमा घडी हुन्थे । समय-यन्त्रको अभावमासमयको अडकल गर्न गाह्रो हुन्थ्यो, खासगरी पानी परेको बेलामा  । तैपनि प्रकृतिसँग नजिकको नाता गाँसेर बसेका ग्रामीणजनले समय–यन्त्रले दिने समयभन्दा कुशलतापूर्वक समयको अडकल गर्थे । समय–यन्त्रको अभावमा समय अडकल गर्न प्राकृतिक शैलीका उपायहरू अपनाइन्थे । घामको उदय–अस्त र यसको गति अनि अवस्थिति समय मापनका मुख्य आधार हुन्थे । यही आधारमा कामकाजलाई अंगाल्दै जीवनको रथ अघि बढ्थ्यो ।

पर्मका दिनहरू ज्यादै बेफुर्सदीमा बित्थे । कामैकामको चटारो । एकछिन पनि फुर्सद नुहने । बिहान पनि पर्म, दिउँसो पनि पर्म । घोप्टो परेर जिलाउँदा ढाड अररिन्थ्यो । कामको चापले ज्यान गलेर फतक्कै हुन्थ्यो । दिनभरि काममा व्यस्त भइन्थ्यो । घरमा आएर चारो टिपेर ओछ्यानमा पल्टिएपछि भुसको थैलोझैं लडिन्थ्यो । बिहान चराको चिरबिरसँगै एक्कासि ब्युँझन पुगिन्थ्यो । त्यसपछि आँखा मिच्दै कर्मथलोतिर पाइला सोझिन्थ्यो । काम, काम, काम । फुर्सद त हुँदै नहुने । कामको बोझले थिचिएर होला, वनपाखामा पनि त्यस्तै गीत गुञ्जिएको सुनिन्थ्यो : 'फूल केशैमा, दुःख छ गाउँघरमा जाम भो देशैमा'।

दिनभर काममा जोतिँदा थकाइले चुर भइन्थ्यो । दिउँसोको खाजा खाने बेला ‘राजा समय’ बनेर आउँथ्यो ।  सास बिसाउन पाउने समय यही हुन्थ्यो । साँझ पर्न थालेपछि झ्याउँकिरी बास्थ्यो, गन्धे झार मुर्झाउन थाल्थ्यो अनि चिसो हावा चल्न थाल्थ्यो । यसले पर्म छुटने बेला भएको सङ्केत गर्थ्यो । घर जाने बेलाको संकेत मिल्दा थाकेर लखतरान भएका पर्मेलीहरूका मनमा खुसीको तरङ्ग सगमगाउन थाल्थे, कर्कलोको पातमाथि एकथोपा पानी टल्पलाएजस्तै गरी । यही खुसीयालीमा उनीहरू एक पटक जमेर गीत रन्काउँथे :
खान पनि मीठो पकाउन नि छिटो लर्कने गाभा त
घर जाने बेला भयो क्यारे अब त

भदौ लागेपछि हामी स्कुलेहरू छुट्टी पाउँथ्यौँ । कोदो रोपाइँ सकिएपछि धान गोड्ने समय आउँथ्यो । धान गोड्ने पर्म सकिएपछि असोजतिर बर्खे पर्म मैजारो हुन्थ्यो  । त्यस अवसरमा भोज आयोजना गरिन्थ्यो, जुन स्थानीयस्तरमा ‘रिसियाँ’ नामले परिचिय छ । त्यस मौकामा त्यस वर्ष पर्ममा मिसिएका सिकारु पर्मेली भाइबहिनीले ‘सिनियर’ दाजुदिदीसमक्ष दूध–दही र अन्य परिकारहरू सप्रेम टक्र्याएर गुरु थाप्थे । प्रेमपूर्वक काम सिकाएकोमा उनीहरूले यसप्रकारका सदाशय प्रकट गर्थे । यसप्रकारको सदाशय प्रकट गर्ने कार्यलाई स्थानीय भाषामा 'लोबारे खुवाउने' भनिन्थ्यो ।

‘रिसियाँ’ भोजमा मासु, सेलरोटीजस्ता स्थानीय परिकार अनि बिजुलीपानी, छनुवा जाँडजस्ता पेय पदार्थले जिब्रो सिंचन गर्दै ठिटाठिटीहरू बर्खाभरिको दुःखकष्ट भुल्ने कोशिश गर्थे । ती दुख्याहा दिनहरूलाई एकपटक बाइबाइ गर्थे । सामान्यतया ‘रिसियाँ’ रोदीघरमा आयोजना गरिन्थ्यो । त्यहाँ रोदीआमा (रोसीआमा) हुन्थिन्, जो गाउँका चेलीबेटी–माइतीको संरक्षिका मानिन्थिन् । भोजमा पाक्ने परिकारको एक भाग रोदीआमा समक्ष टक्र्याइन्थ्यो भने अर्को एक भाग गाउँको मुखिया समक्ष टक्र्याइन्थ्यो ।

अब ती दिनहरूमा सम्झनामा मात्र सीमित छन् । आफ्नो नाभी गाडिएको ठाउँ हरेक हिसाबले उजाड बन्दैछ । त्यहाँ न पर्मेली टोली छ, न त रैथाने जीवनशैली । परिणामस्वरूप खेताला खोज्न पनि, गुन्द्रुक किन्न पनि, शहर नै धाउनुपर्ने अवस्था आएको छ, आजकल । पाखुरा आदानप्रदान प्रणाली एकादेशको कथा बन्ने तयारीमा छ । हृदयको बदलामा हृदय नै दिएर अनि पाखुराको बदलामा पाखुरा दिएर चलेको ग्रामीण जीवनशैली र कृषि अर्थतन्त्र समापनको सङ्घारमा छ । समयको गतिलाई जसोतसो पछ्याइरहेको ग्रामीण जीवनशैली आज समयको पदचाप नभेटेर कतै अल्मलिइरहेको जस्तो लाग्छ ।

[साभार : राजधानी 'सौजन्य' पृ. ३ (साउन १७, २०७१ ) । ]

[अद्यावधिक : २०७१।०४।१८, २०७१।०४।२०, २०७१।०४।२१, २०७२।०९।०६ ]