Tuesday, August 23, 2011

रेडियोमा बोल्दा…

-यमबहादुर दुरा

बोली सृष्टिको अदभूत र अतिशय प्रभावकारी सिर्जना मानिन्छ । बोलीमा प्रयोग हुने शब्दलाई 'शब्दव्रह्म' नामाकरण गरिनुले यसको महत्वलाई दर्साउँछ । बोलीको आदनप्रदानबाट नै मानिसको पारिवारिक एवम् सामाजिक जीवन सम्भव भएको छ । रेडियोको आविष्कारले बोलीको विस्तारमा नयाँ आयाम थपेको छ । रेडियोले एक ठाउँमा बोलिएको बोलीलाई विविधतापूर्ण भूगोलमा बाँचेका हजारौं मानिसहरुबीच पुर् याउन सम्भव बनाएको छ । यसले बोलीको विस्तारमा अतुलनीय सहयोग पुगेको छ । यसबाट 'सूचना संस्कृति' को विकासमात्र भएको छैन, सामाजिक पूँजी र सांस्कृतिक पूँजीको पनि विस्तार भएको छ । यसलाई मानव इतिहासको एउटा सुखद अध्यायको रुपमा लिन सकिन्छ ।

अब, बोलीमार्फत सन्देश प्रवाह गर्ने काममा अतुलनीय भूमिका खेल्ने रेडियोबारे कुरा गरौं । अझ त्यसमा पनि रेडियोमा बोल्ने वक्ताले निर्वाह गर्नुपर्ने भूमिका र बोलिने खजना वा अन्तरवस्तु बारेमा कुरा गरौं । सामान्यतया रेडियोमा लेख्य भाषा होइन, कथ्य भाषा नभई बोलचालको भाषा प्रयोग गरिन्छ । अर्को शब्दमा भन्दा रेडियोको भाषा भनेको बोलीचालीको भाषा हो । यो लिखित साहित्य होइन । त्यसैले यसमा जटिल शब्द वा जटिल वाक्यरचनाको प्रयोग उपयुक्त मनिदैन । रेडियोबाट प्रवाहित  सन्देश सामान्यभन्दा सामान्य नागरिकले पनि सजिलै बुभुनसक्ने किसिमको हुनुपर्छ । किनभने रेडियोमार्फत प्रसारण हुने सन्देश अपठित श्रोताका लागि पनि हो ।

रेडियोको प्रस्तोतामा विशेष सीप र दक्षता हुनुपर्छ । जटिलभन्दा जटिल विषयलाई पनि सामान्य नागरिकले समेत सजिलै बुझ्नसक्ने गरी प्रस्तुत गर्नसक्ने खुबीलाई विशेष सीप र दक्षता मानिन्छ । यही खुबी नै एकतिर रेडियोकर्मीको तागत नाप्ने माध्यम बन्दछ भने अर्कोतिर स्रोताको मन जित्ने बाटो बन्छ ।

रेडियोको प्रस्तुति कानका लागि हो । त्यसैले रेडियोको बोली सुन्नका लागि सहज हुने खालको हुनुपर्छ । रेडियोमा सकेसम्म श्रुतिमाधुर्य र बोधगम्य भाषाशैली प्रयोग गर्नुपर्छ । रेडियो प्रस्तोताको जिम्मेवारी भनेको रेडियोमा आदर्श छाँट्ने वा विद्वता प्रस्तुत गर्नु नभई सरल र आत्मीय ढंगमा स्रोतालाई कुरा बुझाउनु हो । असहज र अस्वाभाविक प्रस्तुतिले स्रोताको ध्यान भङ्ग गर्छ । यसको सीधा अर्थ हो, रेडियो प्रस्तोताले स्रोता गुमाउनु । रेडियोकर्मीका लागि योभन्दा दुःखद नियति अरु के नै हुन्छ र ! यस्तो दुःखद अवस्था आउन नदिनका लागि रेडियोकर्मीले आफ्ना अस्त्रहरुलाई सही सलामत अवस्थामा राख्नुपर्ने हुन्छ । सही शब्दचयन एवम शब्दसंयोजन रेडियोकर्मीका आधारभूत अस्त्रहरु हुन् ।

सरल बोली नै मीठो

बोलीको माध्यमबाट आफ्नो कार्यक्रमप्रति स्रोताको ध्यान खिचिराख्ने उपाय रेडियोकर्मीले खोज्नुपर्छ । यस उद्देश्य परिपूर्तिका लागि आडम्बरपूर्ण र गहकिला शब्दहरु प्रयोग गर्नुपर्छ भन्ने कतिपयलाई लाग्नसक्छ । तर यो सोंचाइ गलत हो । आडम्बरपूर्ण र गहकिला शब्दहरुले सन्देशको सहज प्रवाहमा रोकावट ल्याउन सक्छ । त्यसैले आडम्बरपूर्ण र गहकिला शब्दहरुको सट्टा बोलीचालीकै शब्दभण्डारका रैथाने शब्दहरु प्रयोग गर्नु नै राम्रो मानिन्छ । यिनै रैथाने शब्दहरुमा स्रोतालाई मोहनी लाउने तागत हुन्छ । सरल र सरस भाषाशैली भएका छोटा वाक्यहरु स्रोताका लागि प्रिय, रुचिकर र बोधगम्य हुन्छ । रेडियोमा औपचारिक भाषाभन्दा पनि जनस्तरमा प्रयोग हुने अनौपचारिक भाषाशैली प्रयोग गर्नु श्रेयस्कर मानिन्छ । यसो गर्दा स्रोतासंग मित्रवत व्यवहार गरेको ठहरिन्छ ।

यस सन्दर्भमा केही दृष्टान्तहरु हेरौं । 'सप्ताह सम्पन्न भयो' भन्नुभन्दा 'सप्ताह सकियो' भन्नु बढी छुड्किलो र बोधगम्य हुन्छ । 'पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो' भन्नुको सट्टा 'पण्डित दिनबन्धु पोखरेलले कथा भन्नुभएको थियो' भन्दा सामान्य स्रोताका लागि बढी बोधगम्य हुन्छ । 'सप्ताहको आयोजना स्थानीय आमा समूहले गरेको थियो' भन्नुभन्दा 'सप्ताहको चाँजोपाँजो त्यहीको आमा समूहले  मिलाएकोथियो' भन्दा सामान्य स्रोताको मनमा राम्रोसंग भिज्नसक्छ ।

यसैगरी रेडियो 'स्क्रिप्ट' मा अनुकम्पाको सट्टामा 'दया', 'मानव' को सट्टामा 'मान्छे' असिम प्रेमको सट्टामा नरित्तिने माया, 'नेत्र ' को सट्टामा 'आँखा' प्रयोग गरेमा साधारण स्रोताका लागि बोधगम्य र सरस हुन जान्छ ।

अखबारमा छापिएका सामाग्री एकपटक पढ्दा नबुझिएमा दोहोर् याएर पढ्न सकिन्छ । तर रेडियोबाट प्रसारण भइरहेको सामाग्री एकपटक सुन्दा नबुझिएमा दोहोर् याएर सुन्न पाइँदैन । त्यसकारण रेडियोमा प्रयोग हुने भाषा एकपटक सुन्नेबित्तिकै बुझिने किसिमको हुनुपर्छ अर्थात् अत्यन्त सरल र बोधगम्य हुनुपर्छ।
रेडियोमा बोल्दा पारिभाषिक शब्दावलीहरु (jargons) र अप्ठेरा शब्दहरु सकेसम्म प्रयोग गरिनुहुँदैन । केही गरी यस्ता शब्दहरु प्रयोग गर्न परेमा त्यसलाई सरल ढंगमा अथ्र्याएरमात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ताजापन

रेडियो तत्कालैको माध्यम हो । रेडियाकॊ प्रसारणलाई एकछिनपछि सुन्छु भनेर साँच्न सकिदैन। रेडियो तत्कालका तत्काल सूचना प्रवाह गर्ने माध्यम हो । धेरैभन्दा धेरै मानिसलाई एकैचोटी ताजा सूचना प्रवाह गर्न सक्नुलाई रेडियोको सुन्दर पक्षको रुपमा लिने गरिन्छ ।

प्रसारणमा ताजापनको आभास दिनु पनि उत्तिकै महत्वपूर्ण पक्ष मानिन्छ जसले नयाँ विकासक्रमसित स्रोतालाई साक्षात्कार गर्न सकोस् । यो कुरा हरेक पल बदिलंदै गएको देश र दुनियाँबारे अद्यावधिक हुन चाहने हरेक मानिसको मनोवज्ञानसित गाँसिएको पक्ष पनि हो । स्वाभाविकै हो मानिस हरपल ताजा परिस्थितिको बारेमा जानकारी राख्न चाहन्छ । स्टुडियो वरिपरिको ताजा वातावरणबारे जानकारीमात्रले पनि स्रोताले ताजापनको आभास पाउँछ । यसले उसलाई आनन्दित तुल्याउँछ र यसले उसलाई रेडियो सुनिरहन प्रेरित गर्छ । प्रसारणमा ताजापनको आभास दिन सकिने केही उपायहरु यसप्रकार छन् :

(क) कार्यक्रमबारेको जानकारी दिने :

प्रस्तोताले कार्यक्रमको अवधिभर समय समयमा कार्यक्रमबारे जानकारी दिनुपर्छ । जस्तै: अहिले तपाई सुन्दैहुनुहुन्छ फलानो कार्यक्रम र साथमा छु, म फलानो ।

(ख) बाहिरी वातावरणको वर्णन गर्ने :

जस्तैः अहिले स्टुडियोको झ्यालबाट बाहिर हेर्दा उत्तरतिरका हिमाल दन्तलहर खोलेर मुस्कुराइरहेको देखिन्छ । चराहरु खुल्ला आकाशामा कावा खाँदै उडिरहेका छन् ।

(ग) समयको जानकारी (Time check) दिने :

समय बताएर वरिपरिको वातावरणबारे जानकारी दिनु राम्रो हुन्छ । जस्तै: अहिले साँझको ५ बजेर ५५ मिनेट गएको छ । अब घाम डुब्न एक जुवाजति मात्र बाँकी छ ।

अर्को उदाहरण: अहिले दिनको ३ बजेको छ । बाहिर हुरी चलिरहेको छ । हुरीले रुखका हाँगाबिगा यताउता मर्काइरहेको छ ।

'तपाइँ' र 'म'

रेडियोलाई नितान्त व्यक्तिगत माध्यमको रुपमा लिने गरिन्छ । रेडियोको भाषा 'तपाइँ' र 'म' पात्रबीच भएको संवादजस्तो हुनुपर्छ भन्ने मान्यता छ । रेडियो हजारौं स्रोताहरुले सुनिरहेका भए पनि प्रस्तोताले प्रत्येक स्रोतासंग व्यक्तिगत रुपमै कुरा गरिरहेको छ भन्ने अनुभूति दिन प्रस्तोता सफल हुनुपर्छ । यही मनोवैज्ञानिक पक्षबाट निर्देशित भएर स्रोताहरुलाई 'तपाइँ' हरु नभनी 'तपाइँ' भन्ने गरिन्छ । यसमा कुनै नेताले आमसभालाई सम्बोधन गरेजस्तो गरेर 'तपाइँहरु' भिनंदैन । यसको अर्थ हो रेडियोको प्रस्तोता व्यक्तिगतमै स्रोतासंग कुरा गरिरहेको छ भन्ने छाप पार्नु । त्यसमा पनि रेडियोका प्रस्तोता 'मेरै सुखदुःखको बारेमा मसंग कुरा गरिरहेको छु' भन्ने अनुभूति स्रोताले गर्नुपर्ने हुन्छ । त्यसैले रेडियोको प्रस्तुति आत्मीयता झल्किने किसिमको हुनुपर्छ ।

चित्रमय प्रस्तुति

रेडियो श्रव्य माध्यममात्र हो । अर्थात् रेडियो आवाजको माध्यम हो । टेलिभिजनमा जस्तो रेडियोमा दृश्य वा तस्बिर प्रस्तुत गर्न सकिँदैन । यस्तै किसिमले पत्रपत्रिकामा जस्तो रेडियोमा अक्षर कार्टुन तस्बिर ग्राफिक्स् आदि प्रयोग गर्न सकिँदैन । जे भन्नुपर्छ त्यसलाई शब्द र आवाजबाट मात्र व्यक्त गर्नुपर्ने हुन्छ । यो रेडियोका सबैभन्दा ठूलो सीमा हो । अर्को शब्दमा भन्दा यो अवस्था रेडियोकर्मीका लागि यो सबैभन्दा ठूलो चुनौती र अवसर पनि हो ।

रेडियोमा आवाज नै सबथोक मानिन्छ । आवाजबाटै भन्नुपर्ने सबै सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । सन्देश प्रवाह गर्ने क्रममा शब्द र स्वरको राम्रो समन्वय हुनुपर्छ । रेडियोको मुख्य तागत भनेकै शब्दमा भाव र स्वरमा भावना हुनु हो (मैनाली, २००३:७७)।

रेडियोमा तस्बिर प्रयोग गर्न नसकिने भएकोले त्यसको अभाव पूरा गर्न रेडियोको प्रस्तुति चित्रमय (visualized presentation) हुनुपर्छ । रेडियो प्रस्तोता कुशल कथावाचकजस्तो हुनुपर्छ भनिन्छ । ऊ शब्दचित्र तयार पार्न खप्पिस हुनुपर्छ । शब्द र आवाजको मध्यमबाट स्रोताको आँखा अघिल्तिर तस्बिर वा दृश्य ल्याइदिन सक्षम हुनुपर्छ । त्यो पनि यथार्थ घट्नाको यथार्थ तस्बिर । अनिमात्र उ सफल प्रस्तोता ठहरिन्छ । रेडियोको प्रस्तुतिलाई चित्रमय बनाउने केही उपायहरु छन् :

तुलना

कुनै अवस्था वा वस्तुससंग तुलना गरेर प्रस्तुतिलाई चित्रमय बनाउन सकिन्छ । जस्तै:

हामी सानै छँदा आमा बित्नुभो । तर बुबाले हामी आमा नभएको अनुभूति गर्ने मौका नै दिनुभएन । उहाँले हामीलाई कुखुराको माउले आफ्ना सबै चल्लाहरुलाई पखेटाले छोपेर राखेझै न्यानो माया दिएर हुर्काउनुभयो ।

(यहाँ बाउले छोराछोरीलाई दिएको मायालाई कुखुराको माउले आफ्ना चल्लाहरुलाई दिएको मायासंग दाँजिएको छ । तर यस दृष्तान्त तुलना स्रोताको सुझबुझ (frame of reference) मिल्नुपर्छ । तर कुखुराले चल्ला हुर्काएको नदेखेको मानिसले यसको अर्थ नबुझ्न सक्छ ।)

अर्को उदाहरण: चारैतिर पहाडले घेरिएर बीचमा बटुकोजस्तो परेर बसेको बेंसीको मैदान भागलाई हामी उपत्यका भन्छौं ।

पुरानो पाठ्यक्रम अन्तगतविद्यालय तहको पुस्तकमा रहेका यी हरफहरुबाट उपत्यका भनेको के हो भन्ने कुरा बुझाउन सजिलो हुने देखिन्छ । तर बटुकोसंग परिचित नभएको व्यक्तिका लागि यो उदाहरण बोधगम्य नहुन सक्छ ।

उपमा (simile)

उपमकहरुको प्रयोगले पनि प्रस्तुतिलाई चित्रमय बनाउन सहयोग पुर् याउँछ । जस्तै:

हिउँजस्तै गोरी
कोइलाजस्तै कालो
सिंहजस्तै बलियो
चुक घोप्ट्याएजस्तै अँध्यारो
बुहारी झारजस्तै लजालु
दुलही अन्माएर पठाएको घरजस्तै सुनसान
डढेलोले खाएको वनजस्तै उजाड
बसन्त ऋतुको बगैंचाजस्तै सुन्दर
कंचनजंघा हिमालजस्तै सफा मन भएकी मेरी मावली हजूरआमा

विरोधाभासपूर्ण अवस्था (Compare and contrast)

विपरीत वा विरोधाभासपूर्ण अवस्थाको चित्रणले पनि प्रस्तुतिलाई चित्रमय बनाउनमा योगदान दिन्छ । यिनीहरुलाई सही सन्दर्भ र सही प्रसंगमा प्रयोग गर्न सकेमा सन्देश निकै प्रभावकारी हुन जान्छ । यस क्रममा प्रस्तुतिमा विपरीत वा विरोधाभासपूर्ण अवस्था झल्काउने उखान गीत वा भनाइहरु प्रयोग गर्न सकिन्छ । जस्तै:

चोरलाई चौतारी साधुलाई सुली (उखान)
कोइलाई भने दहीमा चिनी, मलाई भने पानी नि नदिनी…(लोकगीत)
म मरेको पल तिमी डोली चढ्नू… (गीत)
म माया लाउँदिन, आफू खुसी साइलो दाजु म दुःखी सुहाउँदिन (लोकगीत)
म त हजूर डढेलोको ठूटा जस्तो, मेरो माया पूर्नेको जुन जस्तो  (लोकगीत)
पानसमा बत्ती बालेको, कसरी हेरुँ खै मन परेको मान्छेलाई अर्कैले सिन्दुर हालेको…(लोकगीत)
तिम्रो घरमा नौमती बजाउँदा मलाई लान्छन् जोरशंख फुकेर (लोकगीत)
बाह्र वर्षमा खोलो पनि फर्कन्छ (भनाइ)

तर यसरी प्रयोगमा ल्याइएका तुलना उपमा विरोधाभासपूर्ण अवस्थाको सूचक वास्तविकतासंग मेल खाने किसिमको हुनुपर्छ । यिनीहरुको प्रयोग सही सन्दर्भमा हुनुपर्छ । यसो भएमा मात्र वास्तविक स्थिति दसा्रउन सकिन्छ । गलत सन्दर्भ यिनीहरुको प्रयोग गरियो भने स्रोता भ्रममा पर्न सक्छन् । स्रोतालाई भ्रममा पार्ने काम रेडियोले गर् यो भने त्यो उसको मर्म र धर्मविपरीतको कार्य हुनजान्छ ।
 यस्ता उपमाहरु बढीभन्दा बढी स्रोताहरुले सहजै बुभुन सक्ने वा उनीहरुको सुझबुझ (frame of reference) संग मेल खाने हुनुपर्छ । बेग्लाबेग्लै सामाजिक एवम् साँस्कृतिक पृष्ठभूमिमा हुर्केका मानिसको सुझबुझ फरक फरक हुनक्छ । जस्तै: गाउँमा हुर्केका पुराना पुस्ताका मानिसलाई ढिकी जाँतो मेलापात पानी-पँधेरा डोको-नाम्लोको दृष्टान्त दिंदा बढी बोधगम्य हुनसक्छ भने शहरमा जन्मेका नयाँ पुस्ताका मानिसका लागि कम्प्युटर साइबर रेष्टुराँ आदिको दृष्तान्त प्रस्तुत गर्दा उसले राम्रोसंग सन्देश बुभुनसक्छ । गाउँका मानिसलाई शहरको दृष्टान्त र शहरका मानिसलाई गाउँको दृष्टान्त दिंदा उनीहरु अल्मलिन सक्ने सम्भावना हुनसक्छ । यसो भएमा सन्देश प्रवाहमा रोकावट आउने सम्भावना उत्तिकै रहन्छ ।

समाज र सम्वेदनशीलता

रेडियोका प्रस्तोताले आफ्नो लक्ष्यित स्रोताको सामाजिक एवम् सांस्कृतिक पृष्ठभूमि बुझेको हुनुपर्छ । अझ भनौं उसले समाजलाई राम्रोसँग बुझेको हुनुपर्छ । यति भएर मात्र पनि पुग्दैन । ऊसंग पर्याप्त सम्वेदना पनि हनैपर्छ । त्यसमा पनि नेपालजस्तो जातीय धार्मिक एवम् भाषिक विविधता भएको मुलुक रेडियोकर्मी नितान्त जिम्मेवार र सम्वेदनशील भएर प्रस्तुत हुनुपर्ने हुन्छ । कतिका लागि सुँगुर छुनै नहुने जनवार हो भने कतिका लागि यही जनावर मासुको मनपर्दो स्रोत हुनसक्छ । हिन्दू धर्मका अनुयायीहरुका लागि गाई 'गौमाता' को रुपमा पुजनीय जनवार हो भने अंग्रेजहरुका लागि गाई मासुको स्रोतमात्र हुनसक्छ । रेडियोका प्रस्तोताले यस्ता सामाजिक एवम् सांस्कृतिक विविधताहरु राम्रोसंग बुभुनुपर्ने हुन्छ । उसले आफ्ना लक्ष्यित स्रोता पहिचान गरेर आवश्यकताअनुसार उपमा विम्ब दृष्टान्तहरु पेश गरेर सन्देश प्रवाह गर्नुपर्ने हुन्छ । यसो गरेमा सन्देश बोधगम्य हुनसक्छ । तर यसो भन्दैमा जस्तोपायो त्यस्तै उपमा विम्ब एवम् दृष्टान्तहरु पेश गर्दा सन्देश दुरुह हुनसक्छ ।

सामाजिक संरचना नबुझीकन प्रयोग गरिएका दृष्टान्त कतिपय अवस्थामा कमजोर ठहरिन्छ भने कुनैबेला भयानक विष्फोटक पनि हुनसक्छ । स्रोताको सुझबुझ (frame of reference) बाहिरका दृष्टान्तहरु प्रस्तुत गर्दा भालूलाई पुराण सुनाएजस्तै अर्थहीन हुनसक्छ भने लिङ्ग जाति वर्ग वा सम्प्रदाय होंच्याउने वा अपमान गर्ने खालका दृष्टान्तहरु प्रयोग भएमा आफू शिशाको महलमा बसेर अरुको घरमा ढुङ्गा हान्ने गरेसरह हुनसक्छ । त्यसैले रेडियोकर्मीमा पर्याप्त सम्वेदनशीलता हुनुपर्छ । सामाजिक एवम् साँस्कृतिक सम्वेदनशीलता नबुझी कसैले रेडियोमा बोल्ने रहर गरेमा त्यो महङ्गो रहर सावित हुनसक्छ ।

निष्कर्ष

रेडियो प्रविधि र कला दुवै हो । माथि उल्लेख गरिएका प्रसंगहरु न्यूनतम आधारभूत पक्षहरु हुन् । यिनीहरु सान्दर्भिक हुँदाहुँदै पनि सबै सन्दर्भ वा अवस्थाहरुमा यी पक्षहरु लाभदायी नहुन सक्छ किनभने व्यवहारिक पक्ष जटिल छ । मानिस संधैजसो व्यवहारिक कठिनाइहरुमा जेलिएको हुन्छ । यी व्यवहारिक कठिनाइहरुलाई छुमन्तर गरेर हटाउनका लागि चाउचाउजस्तो तत्कालै उपयोग गर्न सकिने बनिबनाउ सूत्र सुझाउन कठिन छ । काम गर्दा आइपर्ने व्यवहारिक जटिलतालाई कुशलतापूर्वक आफ्नो वशमा ल्याउनका लागि रेडियो प्रस्तोताले आफ्नो सिर्जनशील क्षमता ज्ञानको गहिराइ र जतिसुकै कठिन परिस्थितिमा पनि नहड्बडाइकन काम सम्पादन गर्नसक्ने खुबी (Presence of mind) लाई परिस्थिति अनुकूल उपयोग गर्नुपर्ने हुन्छ । यही नै बुद्धिमानीपूर्ण कदम ठहर्छ ।

सन्दर्भ सामाग्री :

अधिकारी, निर्मलमणि । वि.सं. २०६४ । उद्घोषण-कला । काठमाडौं: प्रशान्ति पुस्तक भण्डार

मेयरनीयर, पौलदे । मिति अनुल्लिखित । यो समाचार हो: रेडियो समाचार निर्देशिका । काठमाडौं: मोडर्न पब्लिसर एण्ड डिष्ट्रिब्युटसर्स

मैनाली, रघु । सन् २००३ । रेडियो पद्धति । काठमाडौं : नेपाल प्रेस इंस्टिट्यूट ।

[साभार : मदन भण्डारी मेमोरियल कलेजको  स्मारिका स्वेत शार्दूल (२०६८) । सामान्य सम्पादन सहित]

[अद्यावधिक :  २०६८ । १० । १२, ०६८।१०।१६, ०६८।११।२१, २०६९।०१।३१, २०६९।१२।१८, २०७१।०४।२५]

1 comment: