Sunday, March 4, 2012

दुराडाँडामा आशाको त्यान्द्रो

 -यमबहादुर दुरा

गाउँघर रित्तिँदै गएको बेलामा मेरो जन्मथलो दुराडाँडा पुग्दा यसपटक मलाई बेग्लै अनुभूति भयो । गाउँघरमा चहलपहल बढेको पाएँ । गाउँमा पाखुरामा तागत भएका तन्नेरीहरु त खासै भेटिएनन् । तर त्यहाँ बचेखुचेका जे जति जनशक्ति थिए, तिनमा एकप्रकारको उत्साह भेटियो । गाउँघरको हराउँदै गएको कान्ति फेरि फर्किएजस्तो लाग्यो । उनीहरुको ओंठमा मुस्कान फक्रिएको देख्दा कोइलाखानीमा हीरा भेटिएजस्तो लाग्यो ।

लमजुङमा हालसालै शुरु भएको नयाँ पदमार्गको उद्घाटन समारोहमा भाग लिन दुराडाँडा पुग्दा मेरो मनमा उत्साहको सञ्चार  भयो । ठाउँ-ठाउँमा स्वागतद्वार उभ्याइएका थिए । गाउँ छाडेर सुखको खोजीमा देशका अन्य भागमा पुगेका गाम्ले दाजुभाइहरु त्यतिबेला गाउँमै भेटिएका थिए । उनीहरु लागीमिली काम गरिरहेका थिए । उनीहरुको उपस्थितिले गाउँघरको सहकाल फर्किएर आएजस्तो लाग्यो ।

काठमाडौंबाट बाटो लाग्दा मेरो साथमा तीनजना पत्रकार थिए-किशोर पौडेल (एबीसी टेलिभिजन), उद्धव थापा (आर्थिक अभियान)  र अनुप ओझा (द काठमाण्डू पोष्ट) । बाटोमा खाजा खान र भात खान पृथ्वीराजमार्गका होटलहरुमा पस्दा पुरानै अव्यवस्था र महङ्गी कायमै देखियो । त्यहाँ हामीबीच ठट्टा पनि चल्यो -' बाबुरामले अनुगमन टोली खटाउन छाडे, क्यारे ।' 

काठमाडौंबाट खत्रीठाँटी पुगेपछि दुराडाँडाका लागि अर्को बस समात्नुपर्ने थियो । चितवन बन्दले हामी मुग्लिनमा डेड घण्टा जाममा परेका थियौँ। परिणामस्वरुप खत्रीठाँटीबाट दुराडाँडाका लागि बस छुट्ने समय टरिसकेको थियो । भाग्यवश, त्यस दिन दुराडाँडा जाने बस निर्धारित समयमा छुटेको रहेनछ । हामीले बस भेट्टायौं । सिट प्याक भएकोले छतमा बस्यौँ ।  किशोर पौडेल भिडियो क्यामेरा नै लिएर छतमा बसे । अप्ठेरो बाटो । त्यसमा पनि  भिडियो क्यामरा लिएर छतमा बस्नुपर्ने अवस्था । क्यामरा फुट्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । मैले उनीतिर फर्केर भनें, 'क्यामरा फुट्ने हो कि?'  तर उनले मलाई उल्टै ढाडस दिए 'केही हुँदैन ।'

छतमा यात्रा गर्दा रुखका हाँगाबिंगाले हामीलाई थुप्रैपटक झापड लगायो । एकपटक रुखका हाँगाले मेरो टोपी नै खसालिदियो । भूइँ चुम्न पुगेको मेरो टोपी किशोर पौडेलले ल्याइदियो । यात्राका यिनै अनुभवहरु मनमा सजाउँदै घरमा पुग्यौँ  । हामीलाई देखेपछि आमा-बा निकै खुसी हुनुभयो । नहोस् पनि किन ! आधुनिकताले निम्त्याएको शहरबास र व्यस्तताले  वर्षमा मुस्किलले तीन चार पटकमात्र उहाँहरुसँग भेट हुने गरेको छ । बहिनीले ढिँडोरोटो पकाएकी थिइन् । भोक र थकाइले चुर भएकोले बेला त्यही ढिँडोरोटो पनि हाम्रा लागि   मिष्टान्न भोजनमा परिणत भयो । घरैमा उत्पादित बिदाइ बिजुलीपानीले करामत देखाउँदै थियो । साथीहरुका बोली लरबराउँदै थियो । उनीहरु छिट्टै निन्द्रादेवीको शरणमा परे ।

= = =

भोलिपल्ट विहान हामी पुरानकोटतिर लाग्यौँ  । घरबाट एक घण्टा जति हिँडेपछि पुरानकोट गाउँमा पुग्यौँ  । पुरानकोट थाप्लोतिर पाइला नाप्दै गर्दा विदेशी पर्यटकहरु पनि भेटिए । थकाइका सुस्केरा फ्याँक्दै करिब १ हजार ९ सय मिटर पुरानकोटको थाप्लोमा पुगेपछि आँखाले मनोरम भूदृश्य तनतनी पिउन थाल्यो । उत्तरतिर दन्तलहर खोलेर मुस्काएका हिमश्रृखला, पूर्वतिर गोर्खा,  दक्षिणतिर तनहूँ र नवलपरासी र पश्चिमतिर कास्कीका मनमोहक भूतरेलीहरु सिनेमाका 'लो सट एंगल' र 'हाइ सट एंगल' का दृश्यहरुझैं आँखा वरिपरि देखिन थाले । यद्यपि तुँवालोको घुम्टो ओढेकी प्रकृति खुल्नुपर्ने जति खुलेकी थिइनन् ।

पुरानकोट थाप्लोमा भग्नावशेषको रुपमा रहेको यशोब्रह्म शाह र उनकी रानीको बेग्लाबेग्लै दरबारलबारे गुरुप्रसाद ढुङ्गाना, दामोदर अधिकारीलगायतका स्थानीय जानकारहरुले दिएको जानकारीले हामीलाई इतिहाससित रुबरु गरायो । त्यस घडीले मलाई मेरा गुरुजनसँग पनि रुबरु गरायो । वर्षौंदेखि अलगथलग हुन पुगेका मेरा गुरुहरु लालबीर गुरुङ र बुद्धिबहादुर गुरुङ भेटिए, त्यहाँ । गुरुहरुसँगको भेटघाटले मन फुरुङ्ग भयो । उहाँहरु मलाई बाल्यकालमा शिक्षा दिने गुरु हुनुहुन्छ । उता पुरानकोटका गुरुङसेनी चेलीबेटीहरुले प्रेमपूर्वक दिएको भुटेको मकै, लट्टे, मह र अचारले तन र मन दुवै पुष्टिँदै थियो ।

पुष्टिएको  तन र मन लिएर पुरानकोटको थाप्लोबाट तलतिर झर्यौँ , 'रक क्लाइम्बिङ वाल' को उद्घाटन कार्यक्रममा सहभागी हुन । 'रक क्लाइम्बिङ वाल' उद्घाटन स्थलमा थुप्रै स्थानीय बासिन्दाहरुले अघि नै भरिभराउ भएको रहेछ । सूचना आयोगका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, नेपाल सरकारका सहसचिव कृष्ण रानादेखिका गन्यमान्य व्यक्ति र विदेशी पाहुनाहरु 'रक क्लाइम्बिङ' को रोमान्चक दृश्यमा रमाउन ढुङ्गे पहरामा आँखा जोतेर बसिरहेका थिए । 'च्वाइस इन्टरनेसन' का निर्देशक क्रिस जोन्सनले रक क्लाइम्बिङ वालको उद्घाटन गरेपछि त्यहाँ बेजोडसँग  सिठी बज्न थाल्यो । लगभग १ सय ६० फिटमाथिको ढुङ्गे पहराको टुप्पोबाट दुई युवा तुलबहादुर गुरुङ र राजकुमार गुरुङ डोरीको साहराबाट तलतिर झर्न थाले । त्यस क्षणलाई जीवन्त बनाउन भिडियो क्यामरादेखि मोबाइलसम्मको प्रयोग फोटो खिच्नेहरुको भीड नै उर्लियो ।

त्यतिबेला नै पुरानकोट एक युवा निकै हर्षित हुँदै पत्रकार अमृत भादगाउँलेलाई फोन गर्न थाले । केही वर्षअघि पुरानकोट पुग्दा अमृत भादगाउँलेले 'रक क्लाइम्बिङ' लाई सपना भनेका थिए रे । त्यस सपना पूरा भएको जानकारी दिन अमृतजीलाई फोन गरेर उनी भावुक मनोभावमा वायुतरङ्गमार्फत छताछुल्ल पोख्दै थिए । हुन पनि पुरानकोटको रक क्लाइम्बिङ तान्द्राङकोट-पुरानकोट पदमार्गको मात्र नभई नेपालभरिकै पदमार्गहरु गहना ठहरिन पुगेको छ ।
= = =
पुरानकोटको भव्य कार्यक्रमपछि बिदाइका हात हल्लाउँदै हामी तुर्लुङकोटतिर लाग्यौँ । झमक्कै साँझपरेपछि तुर्लुङकोट आइपुग्दा जाडोको जवानी बेजोड ढङ्गले बढिरहेको थियो । जाडोले हामीलाई सेक्नुसम्म सेक्यो । तर हामी जाडोसँग डराएनौँ । ठाउँ ठाउँमा मुढा जोतिएका थिए । आधुनिक भाषामा भन्नुपर्दा त्यहाँ गाउँले शैलीको 'क्याम्प फायर' गरिएका थिए । त्यतिमात्र कहाँ हो र!  कोदाकॊ खाँट्टी बिजुलीपानीले पाहुनाहरुको भित्री कम्मल बनेर जाडोको दोहोलो काढ्न तम्तयार थियो । त्यहाँ उपलब्ध तातो-तातो चिया र तातो पानी पनि जाडोलाई निस्तेज बनाउन प्रयासरत थिए । खानपिनपछि चलेको नाचगानले त जाडोलाई झनै पर धपाइदिएको थियो । 

विहान खाजा खाएपछि पर्यटक र पत्रकारहरु फोटो खिच्न र गाउँघर डुल्न व्यस्त देखिए । दुराडाँडामा जन्मेकी प्रसिद्ध लोकगायिका बीमाकुमारी दुराको गीतमा उल्लिखित तुर्लुङकोटको लाँकुरीबोटको तस्बिर खिच्नमा व्यस्त थिए,पत्रकार किशोर पौडेल । बिडम्बना नै भन्नुपर्ने हुन्छ, इतिहास रच्न सफल त्यो लाँकुरीबोट रहेको चौतारी बाटो खन्ने बुल्डोजरको निर्मम आक्रमणको निसाना बनिसकेको छ । त्यो चौतारी थोते र कुरुप बनेको छ । 

लमजुङ तुर्लुङकोट
सरर हावा चल्यो लाँकुरीको बोट

बीमाकुमारी दुराको कोइलीजस्तो स्वरले चित्रण गरेको त्यो लाँकुरीबोटको भौतिक अवस्था गीतजस्तो सुन्दर छैन, अहिले । बीमाकुमारी दुरा, कृष्ण गुरुङ, कृष्णसुधा ढुङ्गानाजस्ता लोकप्रतिभा र पाखुरामा जाँगर भएका गाउँले युवाहरुको अनुपस्थितिमा त्यो लाँकुरीको बोट एक्लो छँदैथियो, त्यसमा पनि भत्कन लागेका लाँकुरी चौतारीको दुरावस्था देखेर भित्री मन गहिरो गरी दु:ख्न थाल्यो । हामी खिन्न भएको मन लिएर 'तुर्लुङकोट गढी' हुँदै तुर्लुङकोटकोटको थाप्लोतिर लाग्यौँ  । उकालो लाग्दा देखिएका आँखाको अघिल्तिर नाँच्न आएका मनोरम प्राकृतिक भूदृश्यहरुले दु:खेको मनलाई विस्तारै ओखतीमूलो गर्न थाल्यो । चौतारीको बेहाल देखेर चिमोटिएको मन विस्तारै निको हुँदै गयो । तुर्लुङकोटकोटको थाप्लोमा बाह्रमासे घाँटु, सोरठी, भजन र ठाडो भाकाका खालहरु जमेका थिए । तान्द्राङकोट-पुरानकोट पदमार्ग उद्घाटनको अवसरमा यसप्रकारको सांस्कृतिक एवम् सांगीतिक जनमघट आयोजना गरिएको थियो । यसप्रकारको जमघटमा मिसिन पाउँदा मन फुरुङ्ग भयो । बाल्यकालका सम्झनाहरु ताजा भए । पानी परेपछि  फूलहरु ताजा भएजस्तै ।

= = =

शहरप्रतिको बढ्दो मोह गाउँमा अवसरहरुको अभाव आदि कारणले दुराडाँडा प्रतिपल खाली  बन्दै गएको छ । अहिले मणि हराएको सर्पजस्तै कान्तिहीन बनेको छ, दुराडाँडा । हुन त  दुराडाँडाको यो अवस्था नेपालका अधिकांश गाउँबस्तीहरुको साझा कथा पनि हो । थुप्रै सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक निधिहरुबाट सजिँदै वैभवशाली विगत बोकेको यो ठाउँ विसर्जित हुनु र बिरानो बन्दै जानु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो लाग्छ, हामीले ममतामयी भूगोल र वैभवशाली इतिहासलाई सनैसनै बिर्सदै गइरहेका छौं ।

दुराडाँडा शाहवंशीय राजसंस्थाको उद्गम विन्दु हो । खजे दुरा र उनका तत्कालीन सहकर्मीहरुले दुराडाँडामा शाहवंशीय राजसंस्था स्थापना गरेको इतिहास छ

सांगीतिक निधिको कुरा गर्दा प्रख्यात ठाडोभाका देउबहादुर दुराको जन्मथलो पनि यतै  हो ।  २००६ साल भएको हलो क्रान्ति र त्यसको लगत्तै शुरु भएको शैक्षिक एवम् सामाजिक क्रान्तिका दुराडाँडाले थुप्रै चर्चा र प्रशंसा बटुल्यो । एक समयमा  दुराडाँडा एउटा राम्रो शैक्षिक गन्तव्य बनेको थियो । त्यहाँ छिमेकी जिल्ला र लमजुङकै अन्य भागबाट विद्यार्थी झुत्तिने गर्थे । आज शून्य बन्दै गएको दुराडाँडा त्यही थलो हो, जहाँ वि.सं. २००९ र २०१० सालमा क्रमशः 'राजनीतिक सम्मलेन' र 'शैक्षिक सम्मेलन' आयोजना गरिएका थिए । ती सम्मेलनमा देश सुधारका निम्ति घोषणपत्रहरु जारी गरिएका थिए । सामाजिक एवम् राजनीतिक चेतनाको दीयो बाल्ने दुराडाँडा कुनै समयमा आकर्षणको केन्द्रविन्दु थियो ।

क्रमिक रुपमा बिरानो र शून्य बन्दै गएको दुराडाँडामा अहिले आशाको त्यान्द्रो पलाएको छ । दुराडाँडाकै मेधावी व्यक्तित्व विष्णुहरि अधिकारीले अघि सारेको पर्यटन, समाज कल्याण र समाज विकाससम्बन्धी अवधारणाले हालको रिक्ततालाई  चिर्न  सहयोग गर्छ भन्ने आशा पलाएको छ । उनले अघि 'तान्द्राङकोट-पुरानकोट पदमार्ग', 'होम स्टे' विद्यालय सुधार र समाज सुधारका अन्य कार्यक्रमले विस्तारै गति लिँदै गएको छ ।  यसमा अरुको पनि सहयोग र समर्थन मिल्यो भने यो ठाउँ पुनः गुल्जार बन्नसक्छ । आशा गरौँ, यसले दुराडाँडाको हराएको सहकाललाई फेरि फर्काएर ल्याउनेछ । यहाँबाट बसाइँ सरेर जानेहरु फेरि यतै फर्किउन् । दुराडाँडाको माटोले यही पुकारा गरिहरेको छ ।


[साभार : नागरिक (फागुन २०, २०६८ ) । सामान्य परिमार्जनसहित । तस्बिर: किरण न्यौपाने ]
 

[अद्यावधिक: २०६९ ।०२ ।०३, २०७१।०३।१०, २०७१।०३।११, २०७५।०७।१४ ]

1 comment: