Wednesday, May 2, 2012

नेपाली समाजमा कथावाचन परम्परा

-यमबहादुर दुरा

वेद, पुराण, मुन्धुमजस्ता ग्रन्थ पुराना मानिन्छन् ।  ती ग्रन्थका गहिरा र ओजस्वी सन्देशहरु पूर्वीय समाज हुँदै पाश्चात्य समाजमा पनि अनवरत रुपमा प्रवाहित भइरहेका छन् । ग्रन्थमा लिपिवद्ध भएका यी सन्देशहरु मूलतः मौखिक रुपमै समाजमा प्रवाहित हुने गरेका छन् । निरक्षरता उन्मूलन नभइसकेको हाम्रोजस्तो समाजमा मौखिक माध्यम नै बढी प्रभावकारी छ । त्यसैले लिखित रुपमा रहेका ग्रन्थका सन्देशहरु कथावाचनको माध्यमबाट मौखिक रुपमा प्रवाह भएको हुनुपर्छ ।

नेपाली समाजको साक्षरतासम्बन्धी पृष्ठभूमि र सामाजिक एवम् सांस्कृतिक वास्तविकताहरुले सूचना प्रवाहको लिखित माध्यमभन्दा मौखिक माध्यमलाई बलियो गरी अंगीकार गरेको देखिन्छ । अक्षरका रुपमा रहेका सन्दर्भ सामाग्रीलाई आवाजमा बदलेर सुन्ने र सुनाउने पुरानो परम्पराले आज पनि निरन्तरता पाइरहेको छ, चाहे त्यो साक्षरता दर कमजोर भएको पूर्ववर्ती समाज होस् वा साक्षरता दर उकालो लाग्दै गरेको वर्तमान समाज नै किन नहोस् । 

हाम्रो समाज मूलतः  श्रुतिपरम्परामा आधारित छ । नेपाली समाजमा पूजापाठमा मन्त्रोच्चारण गर्नेदेखि आशीर्वचन दिनेसम्मका कुराहरु मौखिक रुपमै चल्ने गरेका छन् । हाम्रा लालाबालाले बाजे-बज्यैका काखमा बसेर चाखलाग्दा लोककथा एवम मन्त्रोच्चारण सुन्नेदेखि लिएर अन्य उमेरका नागरिकहरुले पण्डित बसेको आसनलाई घिरिन्तै घेरेर धार्मिक एवम् आध्यात्मिक प्रसंगहरुलाई कथाको रुपमा रस मानिमानी सुन्ने प्रचलन हामीकहाँ छँदैछ । यसलाई वृहत्तर नेपाली संस्कृतिको एउटा हिस्सा नै मान्न सकिन्छ । शास्त्रका गहिरा र ओजस्वी प्रसंगहरुलाई कथात्मक शैलीमा मौखिक रुपमा सुन्ने र सुनाउने प्रचलनले धेरै अघिदेखि नै परम्पराकै रुप धारण गरेको छ । तिनीहरु अहिलेको सूचना प्रविधिसँगै जन्मिएको 'अडियो बुक' भन्दा कयौं गुणा शक्तिशाली एवम् प्रभावकारी छन् ।

शास्त्रका कुरा मुखमा ल्याएर वोधगम्य र लालित्यपूर्ण भाषामा कथा हाल्न सक्ने सिपालु कथावाचकहरुको हाम्रो समाजमा उच्च स्थान रहेको छ । कतिपय बूढापाकाले त तिनै कथावाचकहरुलाई भगवानकै रुप मानेर श्रद्धाभाव प्रकट गर्ने गरेको पाइन्छ । यतिमात्र होइन, कतिपय अवस्थामा त नेपाली समाजका कथावाचक वा पण्डितहरु स्थानीयस्तरका शक्तिकेन्द्र पनि बन्ने गरेको पनि भेटिन्छ । यिनै आधारहरुमा भन्न सकिन्छ,  श्रुतिपरम्पराले हाम्रो समाजसँग गहिरो नाता गाँसेको छ ।

गाउँघरमा विभिन्न समयमा आयोजना गरिने श्रीमद् भागवत, पुराण, सप्ताह, नवाह, स्वस्थानी व्रतकथा, रामायणजस्ता अनुष्ठानहरुमा सहभागी हुन आउनेहरु भक्तजन र सर्वधारणहरुले कथावाचकमार्फत् लौकिक र परलौकिक विषयवस्तुसँग सम्बन्धित जानकारीहरु प्राप्त गर्छन् । यस्ता अनुष्ठानहरुले हाम्रा आध्यात्मिक तथा सामाजिक मूल्य मान्यताहरुलाई एउटा पुस्ताबाट अर्को पुस्तामा र एउटा वर्गबाट अर्को वर्गमा हस्तान्तरण वा विस्तार गर्न सघाउँछन् । यद्यपि बहुलवाद केन्द्रमा रहेको  वर्तमान समयमा ती मूल्य मान्यताहरु छलफल र वादविवादको विषय भने निश्चय नै बन्न सक्छन् ।

कथावाचनले प्रधानता पाएको यस्ता अनुष्ठानहरुले शास्त्रमा उल्लिखित आध्यामिक र दार्शनिक मान्यताहरुलाई जनजनसम्म फैलाउने काम त गरेको छ नै त्यसका अतिरिक्त विविधतायुक्त नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम पनि गरेको छ । यी अनुष्ठानहरु आयोजना गर्दा हुने जमघटले सामाजिक सद्भाव विस्तार, अन्तरसामुदायिक सहकार्य र सामाजिक समीकरणको मीठो परम्परालाई नजनिंदो ढंगले योगदान दिइरहेको पाइन्छ । कथावाचन परम्पराको यी सुन्दर पक्षहरुलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

अर्कोतिर यस्ता अनुष्ठानहरुले लोककल्याणकारी काममा ठूलै टेवा दिने गरेको पाइन्छ । स्थानीयस्तरमा विद्यालय भवन वा क्याम्पस स्थापना गर्न सप्ताह वा अन्य यस्तै अनुष्ठानको चाँजोपाँजो मिलाएर गरेर करोडौं रकम जम्मा गरिएको समाचार मिडिया आउने गर्छन् । परनिर्भरताको संस्कृतिले देशलाई निल्नै लागेको बेलामा आत्मनिर्भरताको सन्देशसहित आएका यस्ता समाचारलाई फगत समाचारको रुपमामात्र लिइनु हुँदैन, यिनलाई त देश निर्माणका क्रम प्रवाह भएका शुभसमाचारका रुपमा लिनुपर्ने हुन्छ । 

सानातिना कामका लागि पनि विदेशी दातृनिकायको मुख ताक्ने परिपाटीले नेपाली समाज परनिर्भर बन्दै गइरहेको घडीमा जनस्तरबाट स्वःस्फूर्त रुपमा लोककल्याकारी काममा जनलहर उठ्नु नितान्त वन्दनीय कार्य हो । एक हिसाबले भन्दा कथावाचन परम्पराले नागरिकको मन जितेर रक्तपातविहीन ढंगले आर्थिक सामाजिक एवम् सांस्कृतिक क्रान्ति गरिरहेको छ । हामीलाई थाहै छ, नागरिकको मन जितेर गरिएको क्रान्ति नै दीगो र सफल हुन्छ । समाजलाई आत्मनिर्भरताको गोरेटोमा अघि बढाउन यस्ता कार्यहरुलाई हदैसम्म प्रोत्साहित गर्नुपर्ने देखिन्छ । 

कथावाचनको लामो परम्पराले धार्मिक र आध्यात्मिक क्षेत्रको कथामात्र भनिरहेको छैन, नेपाली समाजको रसायनशास्त्र र मेलमिलापको गाथा पनि गाइरहेको छ । यो गौरवगाथालाई हामी सबैले स्वर उरालेर गाउन आवश्यक छ । 'वहुजन हिताय वहुजन सुखाय' को मान्यतालाई आत्मसात गरेर समाजमा विद्यमान कथावाचन परम्परालाई वृहत्तर सामाजिक हितमा उपयोग गर्दा हामी सबैको हित हुन्छ ।

[साभार: राजधानी  ( वैशाख २०, २०६९ )]

[अद्यावधिक  मिति : २०६९।०१।२१, २०७२।०३।१०, २०७२।०३।१८]

No comments:

Post a Comment