Saturday, January 12, 2013

लोकसङ्गीतको झङ्कारसँगै हुर्कँदा

 -यमबहादुर दुरा

 लोकसङ्गीतले मलाई सानैदेखि मोहनी लगायो । मेलापात एवं सामाजिक जमघटमा गुञ्जने श्रुतिमधुर लोकगीतहरूले मेरो मन तरङ्गित हुन्थ्यो । ती लोकगीत एकदमै भावप्रधान एवम् अर्थपूर्ण हुन्थे । वनपात जाँदा वा पहाडका उकाली-ओराली काट्दा म पनि ती गुनगुनाउँथेँ, मुखमा सरस्वती  नभए पनि । गायनकलामा मेरो हैसियत 'बाथरुम सिङ्गर' भन्दा माथि छैन । म कुनै लोकस्रष्टा पनि होइन, फगत एक अनुरागी ।  एकोहोरो मायामा फँसेको प्रेमीजस्तो ।

नितान्त ग्रामीण परिवेश हुर्किएँ, जसले ममा लोकसङ्गीतप्रति मोह थप्दै लग्यो । हाम्रो गाउँबस्तीमा एकदमै संगीतमय वातावरण थियो । त्यतिबेला वनपात, मेलापात  विवाह, जात्रा जताततै लोकसङ्गीतको साम्राज्य थियो । हरेक व्यक्ति गायक थिए । हरेक व्यक्ति वाद्यवादक थिए । एउटा स्वस्फूर्त सांगीतिक वातावरण थियो । गाउँघर आफैंमा लोकसङ्गीत विश्वविद्यालय थियो ।

हामी सानो छँदा गाउँमा गन्धर्वहरू आउँथे । गाउँबस्तीमा घटेका घट्ना र युद्धका विभीषिकाबारे सारङ्गी रेटेर गीत (कर्खा) गाउँथे । आमाहरूका आँखा रसाउँथे । उनीहरूका आँखामा आँसु देखेर हाम्रा आँखा पनि त्यसै रसाउँथे । अलिकता अन्नपात र दुई चार पैसा बटुलेर गन्धर्वहरू बाटो लाग्थे । उनीहरू मानवीय सुखदुःखका सन्देश छाडेर बाटो लाग्थे । ती सन्देश ’जीवनको सूत्र’ बनेर मुटुमा खोपिएर बस्थे ।

उता, पिंढीको खाँबोमा झुण्ड्याइएको रेडियोमा हीरादेवी वाइवा, भलकमान गन्धर्व, कल्याण सेरचन, गोपाल योञ्जन, लोकबहादुर क्षेत्री, कविता आले, सावित्री शाहजस्ता लोकसङ्गीतका धरोहरहरूका मर्मस्पर्शी लोकगीत बज्थे । उनीहरुको गीत सुन्न पाउँदा निकै आनन्द लाग्थ्यो र एउटा बेग्लै दुनियाँमा पुगेको अनुभूति हुन्थ्यो । ती गीतमा ग्रामीण जीवनको तस्बिर भेटिन्थे, जीवनको उकाली ओराली भेटिन्थे, जीवनका भाका र लय भेटिन्थे, माटोको सुवास भेटिन्थ्यो । यसबाट लोकसङ्गीतप्रतिको प्रेम अझ गाढा बन्दै गयो । अझ भनौं, 'मायामथि पीरति’ थपिएजस्तो हुन थाल्यो ।

मेलापात एवम् सामाजिक जमघटहरूमा गुञ्जने लोकगीतको लय र भावले मनका तार झञ्झनाउँथे । यी स्वस्फूर्त लोकगीतले मानवचोलाको वास्तविकतासँग परिचित गराउँथे, जीवनका गहिराइलाई खोतलेर सतहमा ल्याइदिन्थ्यो । लोकगीत सर्वसाधारण मानिसका सरल र सहज अभिव्यक्ति मानिए पनि त्यसमा भेटिने जीवन र जगतसँग गाँसिएका गहिरा र मर्मस्पर्शी कुराले सोंचमग्न बनाउँथे । मनमनै उनीहरूभित्रको महानतालाई सलाम गर्न पुग्थें ।

लोकसङ्गीतमा साहित्य र जीवन दर्शन दुबै भेटिन्छ । शिक्षित समुदायबीच लिखित साहित्य लोकप्रिय जति लोकप्रिय छ, अलिखित साहित्यको रूपमा रहेको लोकगीत अपठितहरुबीच त्यति नै लोकप्रिय छ । ’गाई त मरे बाघैले खाला, म त मरे यो जोवन कहाँ जाला’ । मानिस मरेपछि प्राण पखेरु उडेर कहाँ जान्छ ? आत्म कहाँ जान्छ ? स्वाभाविक रूपमा जिज्ञासा जन्मन्छन् । आत्मका विषयमा विज्ञान र धर्मशास्त्रले धेरै पटक जवाफ दिने प्रयत्न गरेको छ तर कुरोको चुरो अझै पनि अनुत्तरित नै छ । प्रश्न आज पनि जिउँदै छ । लोकगीतले यही प्रश्न उठाएको छ ।

’किरिमिरे लाँकुरी छाँया, यो जिन्दगी दुइ दिनेको रामछाँया’, ’बाँचुञ्जेल तेरो र मेरो, मरेपछि ढुङ्गैको चौघेरो’, ’अहिले साल मरिन्छ क्यारे, ओइलायो राम्दीमा पीपलु’ । वनपाखामा गुञ्जने यस्ता गीत सुनेपछि हरेकलाई लाग्नसक्छ, लोकगीतमा जीवन र जगतलाई हेर्ने आँखा छ ।

लोकगीतमा जीवन-भोगाइ बाङ्गाटिङ्गा रेखा भेटिन्छन् । मानव जीवनको विम्ब  भेटिन्छ । ग्रामीण जीवनको पानीछायाँ देखिन्छ, ऐनामा अनुहार प्रतिविम्बित भएझैं । लोकगीतमा समाजको हृदय धड्किएको अनुभव गर्न सकिन्छ । लोकगीतका कतिपय हरफ वेद वाक्यजस्तै सत्य छन् ।

जनजिब्रोमा सजिलै झुण्डिने सक्ने सरल र सरस लोकसङ्गीतका श्रष्टा कवि त हुन् नै, सफल सञ्चारकर्मी पनि हुन् । उनीहरुले प्रवाह गरेका सन्देश प्रापकले राम्ररी बुझ्छन्, ग्रहण गर्छन् । प्रापकले पूरापूर ग्रहण गर्ने गरी सन्देश प्रवाह गर्नु नै असल सञ्चारकर्मीको कर्म, धर्म र सफलता हो । यस अर्थमा लोकसङ्गीतका श्रष्टा असल सञ्चारकर्मी पनि हुन् ।

कसै कसैले लोकसङ्गीतबारे एकदमै हल्का किसिमले टिप्पणी गरेको पाइन्छ । लोकसङ्गीतलाई सस्तो मनोरञ्जन र रतिरागात्मक भावना पोख्ने  ठाउँमात्र ठानेको पाइन्छ  । लोकसङ्गीत अनुभूतिहरुको सागर हो भन्न तथ्य धेरैले बिर्सन्छन्  । लोकसङ्गीतलाई सस्तो मनोरञ्जनको माध्यममात्र ठान्दा यसको गरिमा र महिमा तेजोवध गरेको ठहरिन्छ । हरेक सभ्य समाजले साहित्य, कला र सङ्गीतको उच्च सम्मान गर्छ भन्ने तथ्य लोकसङ्गीतलाई होंच्याउनेहरूले थाहा पाउन आवश्यक छ ।

हुन त,  लोकसङ्गीतलाई हेप्ने चलन नयाँ होइन । जनस्तरमा लोकसङ्गीत बिछट्टै लोकप्रिय भए पनि दरबारमा बसेर देशको बागडोर हातमा लिनेहरुले यसलाई कहिल्यै आफ्नो सम्झेनन् । उनीहरु दरबारको चार पर्खालभित्र उर्दू, फारसी र हिन्दी सङ्गीतमा मस्त रहे, विदेशी उस्तादहरूलाई निम्त्याएर । विदेशी सङ्गीतमा मस्त हुने घरनियाहरुले नेपाली लोकसङ्गीतलाई हेयपूर्ण भाव राखेर ’झ्याउरे गीत’ भनी टिप्पणी गर्ने गरेको कुरा बूढापाकाबाट अझै सुन्न पाइन्छ तर उनीहरूले दरबारको चार दिवारबाहिर सधैँभरि उर्लिएको लोकसङ्गीतको सागरलाई अनुभूत गर्नै भ्याएनन् ।

यसै प्रसंगमा नेपाली लोकसङ्गीतका अनुसन्धाता रामशरण दर्नालले लेखेका छन्: ’शोषित नेपाली सङ्गीत जगतमा उहिल्यै एउटा भनाइ प्रचलित थियो, 'बाहरका आवे खावे पिवे, भितरका गावे गीत - भावार्थ बाहिरका उस्तादहरु आएर खान्थे पिउँथे, भित्रका उस्तादहरु केवल जयगान मात्र गर्थे । उनीहरु हरदृष्टिले बाहिरका उस्तादहरूभन्दा उपेक्षित थिए’ (गायनशैली, पृ.८५)।

लोकसंगीतका विकृतिहरुबारे आलोचना गर्न सकिन्छ तर आलोचना गर्ने नाममा सिङ्गो लोकसङ्गीतलाई अपमान गर्नु दुर्भाग्यपूर्ण र अन्यायपूर्ण हुन जान्छ ।

सबै लोकगीत राम्रा छन् पनि भन्न सकिन्न । महिला, जातजाति र अन्य सम्प्रदायलाई होंच्याउने लोकगीत हामीकहाँ नभएका भने होइनन् । 'पोडे होला, चमार होला, तिम्रै माया लाग्छ’ 'वनमा हिड्ने कुसुण्डालाई हजूर भन्नुपर्‍यो’ आदिलाई मानिसको मर्यादा धुमिल तुल्याउने लोकगीतको सूचीमा राख्न सकिन्छ । लोकगीत समय र समाजको दर्पण भएकाले यस्ता गीतका अर्थ र भावलाई सापेक्षित रूपमा हेर्नुपर्ने हुन्छ ।  समाजको बनोट र नागरिकको चेतनास्तरले यस्ता कुराहरू निर्धारण गर्छन् । अहिलको परिवर्तित समाजमा यस्ता गीत असान्दर्भिक र अपमानजनक देखिएका छन् । समयको आदेश सबैले मान्नैपर्छ ।

अहिले पूँजीवादबाट संक्रमित उत्ताउला र अश्लील खालका आएका छन् । यद्यपि श्लीलता र अश्लीलतालाई सामाजिक मूल्य-मान्यताको सापेक्षमा राखेर थुप्रै तर्क वितर्क गर्न सकिने ठाउँ छ । अश्लील लोकगीतले लोकसङ्गीत प्रकारको सञ्चार  नै हो । सञ्चारकर्ममा अश्लीलताले स्थान पाउनुहुँदैन । अश्लील सञ्चारले जनमनलाई दिग्भ्रमित तुल्याउँछ । त्यसैले लोकसङ्गीत शुद्ध हुनुपर्छ र सच्चरित्रबाट निर्देशित हुनुपर्छ तर यति भन्दाभन्दै पनि लोकसङ्गीतको स्वच्छन्दतालाई हामीले सम्मान गर्नुपर्छ ।

सच्चा लोकगीतमा जीवन र जगतलाई हेर्ने अन्तरदृष्टि हुन्छ । विज्ञानले दुःखको गहिराइ र सुखको शिखर नाप्ने यन्त्र आविष्कार गरेको छैन । लोकगीत दुःखको गहिराइ र सुखको शिखर नाप्ने तागत छ । लोकसंगीतलाई हेप्नेहरूले यो कुरा बुझ्न आवश्यक छ । हाम्रो देशभन्दा निकै विकसित मानिएका अमेरिका एवम् युरोपली मुलुकमा लोकसङ्गीतलाई ज्यादै आदर गरिन्छ । ती मुलुकमा लोकसङ्गीतबारे अध्ययन-अध्यापन गर्नका लागि विश्वविद्यालय खुलेका छन् । उदाहरणका लागि न्यू क्यासल युनिभर्सिटी (बेलायत), फिनल्याडिया युनिभर्सिटी (फिनल्याड) यस्ता विश्वविद्यालय हुन्, जहाँ लोकसङ्गीतबारे पढाइ हुन्छ । त्यहाँ लोकसङ्गीतका अध्येताहरूको उच्च सम्मान गरिन्छ । ती मुलुकमा लोकगायक एवम् लोकगायिकाहरुलाई ’पिपल्स हिरो’  भनेर सम्मान गरिन्छ  ।

पश्चिमी गोलार्द्धले लोकसङ्गीतका सम्बन्धमा अपनाएको परिपाटीलाई हामीले पनि अनुशरण गर्दा कुनै बेफाइदा छैन । लोकसङ्गीतको प्राज्ञिक खोजअनुसन्धान हुनुपर्छ । त्यसैले विश्वविद्यालय लोकसङ्गीतको अध्ययन-अध्यापन हुनुपर्छ । लोकसङ्गीतका स्रष्टाहरूलाई सम्मान गरिनुपर्छ । लोकगीत मायाममता, भ्रातृत्व र जीवन चेतना जगाउने माध्यम बन्नुपर्छ ।

[साभार : नेपाली पोष्ट (जनवरी १९, २०१३)  परिमार्जित संस्करण।]

[अद्यावधिक : २०६९।०९।२९, २०६९।१०।०३, २०६९।१०।०५,  २०६९।१०।२९, २०७५।०४।१८]

No comments:

Post a Comment