Friday, June 28, 2013

बोली

–यमबहादुर दुरा

बोली । मानव कण्ठबाट निस्कने अर्थपूर्ण आवाज । मानव मस्तिष्कमा उत्पन्न विचार र भावनालाई प्रकट गर्ने श्रव्य माध्यम । मानव-मानवबीच भावनाहरू साटसाट गर्न सघाउने अभौतिक तत्व । मानव र गैरमानवबीच पनि भावसञ्चार गर्न सघाउने निराकार अवयव । मानव सञ्चारको अभिन्न र अद्भूत हिस्सा ।


प्राचीन शास्त्र वेदमा बोलीबारे चर्चा गरिएको छ । मानिसले एक/डेढ लाख वर्षअघि 'अ', 'ओ' र 'म' वाणी उच्चारण गर्‍यो, पछि ती अक्षरको गठजोडबाट भगवानसूचक 'ऊँ' शब्द उच्चारण भयो भन्ने भनाइ छ । पूर्वीय दर्शनका अनुसार बोलीमा इश्वरीय तत्व लुकेको हुन्छ । त्यसैले बोलीबाट उच्चारित शब्दलाई शब्दव्रह्म भन्ने गरिन्छ ।

बोलीले संसारभरका मानिस एवम् तिनका सभ्यता र संस्कृतिलाई जोड्ने काम गरेको छ । यसले विश्वज्ञानको आदन-प्रदान, विस्तार, हस्तान्तरण र भण्डारण कार्य सम्भव तुल्याएको छ । बोलीबाट लोककथा, लोकगीत, लोकगाथा, उखान-टुक्काजस्ता श्रुतिपरम्परामा आधारित लोकसाहित्यको विकास र विस्तार सम्भव भएको छ, जसबाट लोकसाहित्यको रस जनजनको जिब्रोमा भिजेको छ ।


मन्त्र, आशिर्वादका शब्द र धार्मिक विधि-विधान र अनुष्ठानमा उच्चारण गरिने शब्दावली एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियालाई बोलीले नै सम्भव तुल्याएको छ । बोली अन्तरमहादेशीय मित्रता र अन्तरसांस्कृतिक सम्बन्धको बेमिसाल सेतु बनेको छ । समग्रमा भन्दा, बोलीबाट मानव सञ्चार (Human Communication) सम्भव भएको छ । यही अदभूत गुणले बोली मानव सभ्यताका लागि वरदान सावित भएको छ ।

बोलीलाई न छुन सकिन्छ, न त देख्न नै । तर पनि बोली सर्वव्यापक छ । बोलीको तागतलाई कुनै अश्वशक्ति (Horsepower) को एकाइमा मापन गर्न सकिंदैन तर यसलाई अनुभूत भने पक्कै गर्न सकिन्छ । भाषण गरेर संसारमै तहल्का मच्चाउने एडोल्फ हिटलर, हतियार आफूतिर सोझिएको बेला  बोलीकै माध्यमबाट अङ्ग्रेजविरुद्ध अहिंसात्मक आन्दोलन चलाउने महात्मा गान्धी,  कोइलीको जस्तै मीठो स्वर निकालेर गीत गाउने कोकिलकण्ठे गायक-गायिका, रोचक ढङ्गमा कथा हालेर स्रोतागणलाई मन्त्रमुग्ध पार्ने वाचनप्रवीण र मीठो बोलेर धेरै 'फ्यान' लाई आफ्नो पछि लाउने लगाउने रेडियो/टीभीका प्रस्तोताहरूलाई सोध्दा थाहा हुन्छ, बोलीको तागत कति छ भन्ने कुरा ।

बच्चाको तोतेबोलीबाट आमालाई अपार आनन्द मिल्छ । बच्चाको बालसुलभ तोतेबोली सुनिरहँदा आमाले  भएभरका पीरव्यथा बिर्सन्छिन् । कुनै कारणवश बच्चा छोडेर अन्त कतै जानुपर्दा आमालाई बच्चाको झझल्कोले बारम्बार सताइरहन्छ, उसको तोतेबोलीको प्रतिध्वनि कानमा गुञ्जिन थाल्छ । यसपछि उनी बच्चालाई भेट्न स्वाभाविक रूपमा आतुर बन्न थाल्छिन् । भेट्न नपाउँदा व्याकुल बन्न थाल्छिन् । भोक-प्यास बिर्सन थाल्छिन् । यसो हुनुमा बच्चाका लागि ज्यानै अर्पिने आमाको कमलो मन त यसै पनि जिम्मेवार छँदैछ, त्यसमा पनि बच्चाको तोतेबोलीमा निहित जादू पनि कम जिम्मेवार छैन । त्यही जादू भरिएको तोतेबोलीमा आमाको मन गडेको हुन्छ, अडेको हुन्छ ।

संस्कृतमा एउटा भनाइ छ, 'वाग भूषणम् भूषणम् ।' अर्थात् बोली गहनाको पनि गहना हो । मीठो बोली-बचनयुक्त व्यक्तिको बोली नै गहना बन्छ । भौतिक गहनाबाट प्राप्त शोभा र सौन्दर्य बोलीरूपी गहनाको सामु फिका हुन पुग्छ । महान् विचारक एवम् समाजसेवी जोन रस्किनले भनेका थिए, 'मानिसको पहिलो परिचय नै उसको नम्रता हो ।' मानिसको नम्रता प्रकट माध्यम बोलीले नै हो । नम्रता सहनशीलता, उदारता, विद्वताजस्ता सद्गुणी व्यवहारको परिचायक मानिन्छ । सज्जनको मुखबाट मीठो बोली निस्कन्छ भने दुर्जनको मुखबाट रूखो बोली । को कत्तिको सज्जन वा दुर्जन हो भनेर छुट्याउन प्रयोग हुने कसीमध्ये बोली पनि एक हो ।

रूखो बोलीले मनलाई छियाछिया पार्छ । यसबाट मनमा गहिरो घाउ लाग्छ । त्यो पनि हत्तपत्त निको नहुने घाउ । मनमा घाउ बनाउने भएकोले रुखो बोलीलाई बचनबाण भन्ने गरिन्छ । रूखो बोली भएको मानिसको मुखमा राहु बसेको मानिन्छ । रूखो बोली सुन्दा मन विकृत बन्नपुग्छ । यसबाट मनमा दूर्भाव पैदा हुन्छ । दूर्भाव पैदा गर्ने र गराउने काम हरेक दृष्टिले अनिष्टकारी र अहितकारी काम मानिन्छ । त्यसैले अध्यात्मवादीहरू सकेसम्म अरुलाई चोट पुग्नेगरी नबोल्नू भन्छन् । उनीहरू रूखो बोली बोलेर अरुलाई दुःखी तुल्याउनुभन्दा मन थामेर मौन रहनु नै राम्रो ठान्छन् । अध्यात्मवादीहरू सम्यक बोली र सम्यक दृष्टिमा विश्वास गर्छन् । समकालीन नेपाली लोकगीतमा यही आशय भेटिन्छ । जस्तैः

रुन्छ नि मन किन रुँदैन
रूखो बोली नबोल निरमाया, बचनको घाउ निको हुँदैन

 मीठो बोलीबाट मानिस आकर्षितमात्र हुँदैनन्, मनमा सद्भाव र सद्विचार तरङ्गित हुन्छ । यसले माया-ममता बढाउन सघाउँछ । 'चरी मर्‍यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले' । यो गीत यही तथ्यको दृष्टान्त बनेको छ । भनिन्छ, कसैको बोलीमा नै मोहनी लुकेको हुन्छ । त्यही भएर नै मानिसहरू बोली सुनेरै लठ्ठ हुन्छन् अनि मख्ख पर्छन् । मोहनी बोली मानिसको अन्तरमनमा तल्कालै प्रवेश गर्छ र त्यहाँ बास बस्न थाल्छ । अन्तरमनमा बसेको कुरालाई बिर्सन गाह्रो हुन्छ । लोकगीतका पारखीहरूले यस तथ्यलाई पनि उजागर गरेका छन् । जस्तैः

यो मायाको मोहनी बोली
के गरेर बिर्सने म भोलि

कतिपय मानिसहरू बोलीमै ओखती हुन्छ भन्ने विश्वास गर्छन् । खासगरी मनको घाउ निको पार्ने ओखती । पश्चिमी दुनियाँमा प्रयोग भइरहेको 'स्पिच हिलिङ थेरापी' ले बोलीको उपयोग गरेर मनको पीडा र अशान्ति हटाउन सकिन्छ भन्ने पुष्टि गरिसकेको छ । त्यसो त, सम्यक दृष्टिसहितको सम्यक बोलीमा मनको पीडा नाश गर्ने क्षमता हुन्छ भन्ने तथ्य ऋषिमुनिहरूले हजारौं वर्षअघि पत्ता लगाइसकेका थिए । धन-सम्पत्ति, जागिर एवम् प्रियजन गुमाएर ब्यथित बनेका व्यक्तिलाई शान्त र शौम्य ढङ्गमा बोलीको माध्यमबाट मनोविमर्श दिंदा ब्यथित व्यक्तिको पीर-ब्यथा हटेको थुप्रै दृष्टान्त मनोपरामर्शदाताहरूले पेश गरेका छन् । यस आधारमा बोलीलाई ओखतीको रूपमा लिन सकिन्छ ।

बोलीबाट पर्नसक्ने नकारात्मक प्रभावबाट जोगिन आवश्यक छ । 'हानेको गोली र बोलेको बोली फर्कदैन' भन्ने भनाइ समाजमा प्रचलित छ । यही भनाइको परिपूरकको रूपमा अर्को भनाइ पनि छ, 'बोल्न पायो भनेर प्वाक्कै नबोल्नू, खान पायो भनेर क्वाप्पै नखानू र बस्न पायो भनेर थ्याँच्चै नबस्नू ।' वायुतरङ्गमा प्रवाहित बोलीलाई फर्काउन नसकिने भएकोले हठात् बोलीले मानिसलाई अप्ठेरोमा पार्नसक्छ । विचार नपुर्‍याई बोलिएको बोली नै गोली बनेर बोल्ने व्यक्तिकै छातीमा रोपिन सक्छ । त्यसैले बोलीमा लगाम आवश्यक छ । त्यसो त, अभिव्यक्ति स्वतन्त्रता बेलगाम घोडा पनि होइन ।

प्रकृतिक वरदानको रूप रहेको बोलीलाई असल समाज निर्माणका लागि उपयोग गर्न आवश्यक छ । यसका लागि सम्यक बोली र सम्यक दृष्टि अपनाउनुपर्ने  देखिन्छ । बैरभावले मन डढेको वर्तमान समाजमा शब्दव्रह्मको सदुपयोगले माया-ममता र असल भावना जगाउन सकेमा समाजमा रामै गुन लाग्नेछ ।

(तस्बिर स्रोत : इन्टरनेट )

[साभार :  स्वेत शार्दूल (२०७० )। सामान्य परिमार्जनसहित]

No comments:

Post a Comment