Wednesday, September 24, 2014

दसैँको दक्षिणा

–यमबहादुर दुरा

नयाँ लुगा लाएर दसैंँको टीका लाउन बस्दा बेग्लै उमङ्ग आउँथ्यो । थान च्यातेर सिलाएको कपडाको मगमगाउँदो वासना र मनको उमङ्गले शारदीय चाडमा बेजोडको शोभा थप्थ्यो । मन रोमाञ्चित हुन्थ्यो । मनमा आशा र आकाङ्क्षा चुलिन्थ्यो । राम्रो लाउन पाइने, मीठो खान पाइने अनि दुई चार पैसा खल्तीमा पर्ने । हामीलाई यत्तिमै संसार संसार जितेजस्तो अनुभव हुन्थ्यो । भौतिक सुख–सुविधाबाट बञ्चित तत्कालीन गाउँबस्तीमा यत्तिको खुसीयाली लिएर आउने चाड अरु थिएन । 

टीकाको साइत छोपेर घरमा टीका लाएपछि हामी गाउँभरिका भुराहरू मिलेर टीका लाउन घर–घरमा चाहरिन्थ्यो । घर–घर चाहर्दै हिँड्नुको पछाडिको मूल तात्पर्य हुन्थ्यो, दक्षिणा संकलन गर्नु । टीकाको लागि तयार पारिएको विशेष प्रकारको टपरीमा पाँच पैसा, पच्चीस पैसा (सुका), पचास पैसा (मोहर) र एक रुपियाँका सिक्काहरू हुन्थे । त्यस्तै एक, दुई, पाँच र दस रुपैयाँको नोटहरू हुन्थे । दस रुपियाँभन्दा माथिका नोटहरू पनि हुन्थे तर कम हुन्थे । टीका लाउँदा सबैभन्दा ठूलो सिक्का वा नोट दिए हुन्थ्यो भन्ने लाग्थ्यो ।

बाल्यकालमै हामीलाई किन यतिविधि द्रव्यमोह हुन्थ्यो, थाहा छैन । शायद, द्रव्यमोह पुँजीवादको मूलभूत चरित्र हो र यसमा उमेरको कुनै भेद रहँदैन । हामीलाई न कुनै तिरनतारनको जिम्मेवारी थियो, न त कुनै आर्थिक कारोबारको बोझ नै । तर पनि द्रव्यमोहले हामीलाई नराम्ररी गाँज्थ्यो । लाग्छ, हामी बाल्यकालमै नजानिँदो किसिमले पुँजीवादको कट्टर अनुयायी बनिसकेका थियौँ ।

दसैँमा टीका लगाइदिँदा हाम्रा ठूलाबडाले दिने आसिक रोचक हुन्थे । उनीहरू ‘आयु द्रोणसुते...’ भनेर संस्कृतमा आसिक दिन जान्दैनथे । उनीहरूको सीधा र सोझो आसिक हुन्थ्यो, ‘बडादसैँको टीकाले राम्रो होस् । लप्टन–कप्तान हुनू । आमाबाउलाई राम्रोसँग पाल्नू । राम्रोसँग गरेर खानू । सत्तुर हँसाउने काम नगर्नू ।’

आसिक जतिसुकै गम्भीर र मर्मभेदी भए पनि त्यसलाई एक कानले सुन्ने र अर्को कानले उँडाउने गरिन्थ्यो । हाम्रो ध्यान टीकाको थालीमा चुल्याएर राखिएको पैसामा केन्द्रित हुन्थ्यो । ठूलाबडाले आसिक फलाक्दै गर्दा छड्के आँखाले नगदतिर चियाइन्थ्यो । टीका लगाइदिँदा दक्षिणास्वरूप कति पैसा दिन्छन् भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन्थ्यो, आशीर्वादको कुनै मतलब हुँदैनथ्यो । त्यतिबेलाको लालचीपन सम्झेर अहिले कताकता लाज लाग्छ ।

कुनै कुनै घरमा केटाहरूलाई दक्षिणा दिइँदैनथ्यो । यसको बदलामा काँक्रो तथा अन्य पाक–परिकारहरू खान दिइन्थ्यो । यसमा हाम्रो मन रमाउँदैनथ्यो । पैसा नपाउँदा हाम्रो मन खिन्न हुन्थ्यो । हामीलाई पैसा नै चाहिन्थ्यो । टीका थाप्दा दक्षिणा नदिने घरमुलीको छवि केटाहरूको दृष्टिमा धुमिलिन पुग्थ्यो । अर्को वर्ष त्यस घरमा टीका लाउन जाने कि नजाने भन्ने विषयमा  पुनःविचार हुन्थ्यो ।

हाम्रोतिर पूर्ने दिनसम्म टीका लाउने चलन छ । दसैंँको टीका पूर्नेको दिनसम्म निधारमा अडिएमा त्यो व्यक्ति भाग्यमानी हुन्छ मान्यता पनि छ । त्यसैले पूर्नेको दिनसम्म निधारमा टीका राख्ने चलन थियो । यस्तो काममा चेलीबेटीहरू  नै पोख्त हुन्थे । हाम्रो निधारमा त टीका लाउनबेर न झर्न बेर हुन्थ्यो । हामीलाई निधारमा टीका रहनु र नरहनुको मतलब पनि हुँदैनथ्यो । टीकाले खल्तीको अर्थतन्त्रलाई बलियो बनाइदिए हामी धन्य हुन्थ्यौँ । बाँकी कुरा तपसिलका विषय बन्थे ।

टीकाको दिनदेखि पूर्नेको दिनसम्मको अवधिमा मामाघर र मावली गाउँ चहारेर सकेपछि दक्षिणा संकलन अभियानको सालतमामी हुन्थ्यो । त्यसभन्दा अघि साथीसँगीलाई दक्षिणावापत् उठेको रकम छिनछिनमा अद्यावधिक गरिन्थ्यो, ‘मेरो त यति भयो । मेरो त उति भयो ।’ धेरै पैसा जम्मा गर्न सफल हुने केटाहरूको सान बेग्लै हुन्थ्यो । तर केटाहरूले जतिसुकै रवाफ छाडे पनि तिनको नगद चेलीबेटीको तुलनामा कमै हुन्थ्यो ।

टीका लाउँदा छोराको तुलनामा चेलीबेटीहरूले नै धेरै रकम दक्षिणा स्वरूप पाउँथे । चेलीबेटीको दक्षिणामा पनि कतिपय दाजुभाइका आँखा गाडेका हुन्थे । कतिपय छट्टु दाजुभाइ दिदीबहिनीका दक्षिणा हत्याउने दाउमा हुन्थे । उनीहरूले दिदीबहिनीलाई कुरैकुरामा पस्ल्याङफुस्लुङ पारेर पैसा उडाइदिन्थे । कतिपय अवस्थामा दिदीबहिनीका थैलीमा बाँकी रहन्थ्यो, दुमो पनि रहँदैनथ्यो । कहिलेकहीँ यस्तो अवस्था पनि आउँथ्यो ।

चेलीबेटीले दक्षिणावापत पाएको रकम उनीहरूको पेवा बन्थ्यो । त्यसमा आमा, बा, दाजुभाइ वा मावलाबाट बेलाबखतमा प्राप्त दान–दक्षिणा पनि मिसिन्थे । त्यसबाट कतिपय चेलीबेटीले कुखुरा–बाख्रा किनेर पेवापात पढाउँथे । दसैंँको पेवाले चेलीबेटीको लघु अर्थतन्त्रलाई टेवा दिन्थ्यो । धेरै पेवापात जम्मा गर्नसक्ने चेलीबेटी गाउँघरमा सक्षम महिलामा रूपमा गनिन्थे । उनको नाम उच्चस्थानमा अङ्कित हुन्थ्यो ।

हामी केटाहरूको चाला बेग्लै हुन्थ्यो । दक्षिणावापत् उठेको रकम जाँगेको खल्तीमा राखिन्थ्यो । राति सुत्दा पनि त्यो पैसा त्यही खल्तीमै हुन्थ्यो । सिक्काहरू राति ओछ्यानभरि छरिन्थे । बिहान उठ्दा खल्ती छामिन्थ्यो । खल्तीमा पैसा नभेटिएमा धुइपत्ताल गरेर ओछ्यानमा खोजिन्थ्यो । ओछ्यानमा हराएको पैसा भेटेपछि बल्ल सातो आउँथ्यो । त्यसपछि छिनछिनमा पैसा गनिन्थ्यो, ‘दुःखीको धन, दस पल्ट गन’ भनेजस्तो गरी । त्यतिले मात्र नपुगेर ती सिक्कालाई जाँगेको खल्तीमा राखेर छन्द्रङ छन्द्रङ बजाउँदै बाटोघाटो दौडिइन्थ्यो । यसबाट यससँग पैसा छ भनेर अरुले थाहा पाउँथे । आफूसँग पैसा भएको रवाफ देखाउने उपाय थियो यो । 

दसैंका दक्षिणावापत उठेको रकम कसरी उपयोग गर्ने भन्नबारे सानोतिनो अलिखित कार्ययोजना बन्थ्यो । कार्ययोजनामा तर्जुमा गर्नमा चेलीबेटी नै अघि देखिन्थे । चेलीबेटीको आर्थिक कार्ययोजनाअन्तर्गत भएको पेवापात थप समृद्ध बनाउने किसिमको हुन्थ्यो, जसमा कुखुरा–बाख्रा खरिद गर्नेेदेखि आमाको ढुकुटीमा राख्नेसम्मका काम पर्थे । कसै कसैको दसैंँमा संकलित दक्षिणामा थपथाप गरेर गहनागुरिया जोड्नेसम्मका महत्वकांक्षी योजना पर्थे ।

केटाहरूको कार्ययोजना टालटुले किसिमको हुन्थ्यो । उनीहरूको कार्ययोजना हुन्थ्यो, दक्षिणावापत उठेको रकम चैते दसैँ, शिवरात्रि, फागुपूर्नेजस्ता स्थानीय जात्रामा खर्च गर्ने र सानोतिनो व्यक्तिगत ऋण तिर्ने । उनीहरू यसभन्दा अघि बढ्दैनथे । चालू दसैँमा दक्षिणाबाट उठेको रकमले ऋणधन नथेगेमा अर्को दसैँको दक्षिणाको समेत आँकलन हुन्थ्यो, सरकारले हरेक आर्थिक वर्षको बजेटमा वैदेशिक सहायताबाट प्राप्त हुने रकमको आँकलन गरेजस्तै ।

यसरी हरेक वर्षको दसैँले हाम्रो अर्थतन्त्रमा गजबको तरङ्ग ल्याइदिन्थ्यो, शान्त तलाउमा ढुङ्गा फ्याँक्दा त्यहाँ हलचल आएजस्तै । आज समयले फेरो मारिसकेको छ । ती दिन अब इतिहास बनिसकेका छन् । हामीलाई थाहा भएकै कुरा हो, समय बित्दै वर्तमान इतिहासमा परिणत हुन्छ । मैले सुनेको थिएँ, समयक्रममा इतिहास पनि कथा बन्नपुग्छ । हाम्रो बाल्यकालीन दसैंँ पनि इतिहास बनिसकेको छ । उबेलाको दसैँ अब कथा बनेको  छ ।

[साभार : राजधानी दसैँ विशेष (असोज ८, २०७१)]

[अद्यावधिक २०७२।०६।२०]

No comments:

Post a Comment