Saturday, January 16, 2016

ढुङ्गामा खोपिएका अक्षर

–यमबहादुर दुरा

नेपाली लोकसंगीतको क्षेत्रमा २०३० को दशकमा एउटा उर्जावान् एवम् प्रतिभाशाली गायकी समूह निकै चम्कियो । त्यो अनौपचारिक समूहले जनजिब्रोमा झुण्डिएका मौलिक लोकगीतहरू जनसमक्ष पस्किएर एउटा लोभलाग्दो दृटान्त प्रस्तुत गर्‍यो  । त्यसमा पनि गहिरो भावपरिष्कार, विवेकपूर्ण शब्दचयन, सुललित स्वराङ्कन र वाद्यसामग्रीको परिष्कृत प्रयोगले ती गीत यति श्रुतिमधुर भए, जनजनको गलामा भाकाहरू गुञ्जिरहे, नेपाली मनहरू तरङ्गित भइरहे ।

यससँगै नेपाली लोकगीत संकलन र गायन एउटा नयाँ दिशातिर मोडियो । जनमनमा गहिरो छाप छोड्दै नेपाली लोकसंगीतलाई नयाँ दिशातिर हाँक्ने शिल्पीहरू हुन् – चेतन कार्की (वि.सं. १९९५), गोपाल योञ्जन (वि.सं.२०००–२०५४), कल्याण शेरचन (वि.सं. २००३–२०६७), लोकबहादुर गुरुङ (वि.सं. २००४–२०७१), क्षेत्र गुरुङ (वि.सं. २००७), पूर्ण नेपाली (वि.सं.२०११), ओबी सोल्टी (वि.सं. २०१३) आदि  ।

यिनै शिल्पीहरूको बीचैबीचबाट आफ्नो चिनारी दिन सफल पारखी हुन् कल्याण शेरचन । गायन, नृत्य र वाद्यवादन संगीतको तीनवटै आयाममा निपूर्ण प्रतिभा । ‘तेरो र मेरो’ को साँगुरो घेराबाट बाहिरिएर लोकसंगीतलाई नयाँ उचाइ दिन लागिपरेका शिल्पी । एउटा अवैयक्तिक व्यक्तित्व । गीतमा नेपाली लोकजिन्दगानीको ढुकढुकी सुन्न चाहने पारखी । गुणी र तृप्तिदायक व्यक्ति भएकाले उनी धेरैका स्मृतिमा ढुङ्गामा खोपिएका अक्षरजस्तै चिरस्थायी छन् ।

उनका दौतरी र अनुजहरूका दृष्टिमा उनी स्वार्थरहित ढङ्गले लोकगीतको श्रीवृद्धिमा लागेका व्यक्ति हुन् । उनी ‘म’ होइन, ‘हामी’ भन्न रुचाउँथे । उनी गाउँ गाउँबाट लोकभाका संकलन गरेर आफ्ना गायकी समूहमा पेश गर्थे । त्यसलाई लोकजिन्दगानीको पाइन चढाएर चिरिच्याँट पार्थे । उनलाई आफू गीतको संकलन हुँ भन्ने लोभ र घमण्ड थिएन । त्यसैले उनको गायकी समूहले स्वराङ्कन गरेको अधिकांश गीतमा उनको निजी परिचय छैन । छ त केवल सामूहिक परिचय ।

‘गाई त मरे लेकिन बाघैले खाला, मै त मरे लेकिन यो जोवन कहाँ जाला’, ‘बरको छायाँ, घरको के माया’, ‘माछापुच्छ्रे भन्नुमात्रै धौलागिरी अल्को, आज भेट्नु रैछ हिजो लाग्यो झल्को’, ‘खुट्टामा नेल परे पर्ला झ्याउरेमा ननाची छाड्दिनँ’, ‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै’, ‘हजूरैको नि हो चौतारीमा हो बरै लरकेको बर’ जस्ता धेरैले रुचिकर र कर्णप्रिय मानेका गीत कल्याण शेरचनसहितको गायकी समूहको मिहेनत र सहकार्यको प्रतिफल हुन् । नेपाली माटोकोे वासना मगमगाउने यी गीत गाउँबस्तीका झुपडीदेखि गोर्खा सैनिकको छाउनीसम्म गुञ्जिरहे । आजपर्यन्त गुञ्जिरहेका छन् ।

कल्याण शेरचन हामीमाझ छैनन् । समयक्रमसँगै उनीलाई बिर्सने उपक्रम तीव्र गतिमा शुरु भए पनि उनका प्रशंसक, समकालीन र अनुजहरूले उनलाई हृदयको एउटा कुनामा सजाएर राखेका छन् ।

संगीत पारखी गणेश रसिक (वि.सं.२००४) ले कल्याण शेरचनलाई लोकभाकालाई टपक्कै टिपेर फूलको माला गाँसेझैं गीतमा उन्न र लयबद्ध गर्न खप्पिस प्रतिभाको रूपमा ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा चित्रण गरेका छन् । रसिकले लोकबहादुर गुरुङ, क्षेत्र गुरुङ, पूर्ण नेपाली, सुवर्ण बज्राचार्य, कविता आले, तारा थापा, शशी राईजस्ता प्रतिभासँग उनको ‘केमेष्ट्री’ खुबै मिल्नुलाई नेपालको सांगीतिक वृत्तमा एउटा मीठो संयोगको रूपमा देखापरेको चर्चा गरेका छन् ।

कल्याण शेरचनसँग बाक्लो संगतमा रहेका लोकगीत पारखी बसन्त थकाली (वि.सं.२०१६) उनलाई लोकगीतको मौलिकतामा जोड दिने होनाहार प्रतिभाको रूपमा लिन्छन् । ‘गीतमा स्थानीय शब्दको प्रयोगमा जोड दिने, गीतको ‘थिम’ छनोट गरी त्यसको केन्द्रीय सन्देश पत्ता लगाउने; ‘थिम’ अनुसार गीतले भाव सम्प्रेषण गरे–नगरेको ख्याल गर्ने; तथा जुन भेगको गीतको गीत हो, त्यहीको शब्द र लयलाई जस्ताको तस्तै उतार्ने विषयमा उहाँको ध्यान जान्थ्यो ।’ थकाली कल्याण शेरचनको मनोभावलाई ‘गुरुमन्त्र’ का रूपमा सम्झन्छन् ।

लोककिन्नरी हरिदेवी कोइराला (वि.सं.२०१६) ले कल्याण शेरचनलाई नेपाली मनहरूलाई जोड्ने सेतुको उपमा ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा दिएकी छिन् । मानसम्मानको पटक्कै लोभ नगर्नेे, लोकगीतमा नेपाली जीवन देख्ने, अनेकतामा एकता खोज्ने एवम् लोकगीतको माध्यमबाट मानवीय प्रेमलाई फराकिलो घेरामा विस्तार गर्न तल्लीन प्रतिभावान् व्यक्तिको रूपमा कोइरालाले उनलाई सम्झेकी छिन् ।

पोखरालाई कार्यक्षेत्र बनाएर सांस्कृतिक पत्रकारिता गर्दै आएका तिलक पुन (वि.सं.२०२०) ले कल्याण शेरचनको ग्रामीणजन र लोकगीतप्रति देखाएको सामीप्यबारे एउटा मृदुप्रसंग कोट्याएका छन् । ‘हालको फूललबारी ब्यारेक भएको ठाउँमा भारत सरकारले छाप्रो हाली अस्थायी पेन्सन क्याम्प खडा गरेको थियो । त्यहाँ वर्षको एकपटक पेन्सन वितरण हुन्थ्यो । पेन्सन थाप्नका लागि टाढा–टाढाबाट लाहुरे समुदायका परिवारजनहरू हुलका हुल आउँथे । साथमा भाँडावर्तन र सामल पनि ल्याउँथे । त्यो जमघट पश्चिमाञ्चलकै कुम्भमेलाजस्तो हुन्थ्यो । त्यहाँ रातभरि जुहारी चल्थ्यो । कल्याण शेरचन पनि त्यही हुलमा एकाकार भएर स्वरमा स्वर मिलाइरहेका हुन्थे, भावना साटासाट गरिरहेका हुन्थे ।’ उनी सम्झनाको पेटारो खोल्छन् ।

चिन्नेजान्नेहरूले उनलाई शहरमा भन्दा ग्रामीण परिवेशमा रमाउने पारखीको रूपमा लिने गर्छन् । उनी बेलाबखतमा ग्रामीण बस्तीहरूको भ्रमणमा निस्कन्थे । ग्रामीण परिवेश र ग्रामीणजनसँग गहिरो नाता गाँस्थे । ग्रामीणजनसँग माया–ममता र सदभाव साटासाट गर्थे । घर फर्कँदा लोकजिन्दगीको ढुकढुकीसहितको लोकसुसेली हृदयभरि साँचेर ल्याउँथे । उनी ठेट लय र भाकाभन्दा बाहिर जानै चाहँदैनथे । उनले संकलन गरेका गीतमा लोकजिन्दगानीको तस्बिर झल्कन्थ्यो । यही कारण हुनसक्छ, उनले संकलन र स्वराङ्कन गरेका गीत हुनसम्म लोकप्रिय र श्रुतिमधुर छन् ।

कल्याण शेरचन सम्मिलित गायकी समूह र त्यसका गीतलाई बहुआयामिक ढंगबाट विश्लेषण गर्न सकिन्छ । चेतन कार्कीजस्ता शब्दशिल्पी, गोपाल योञ्जनजस्ता लोक, आधुनिक र शास्त्रीय संगीत तीनवटै विधामा पारङ्गत व्यक्तित्व तथा समूहमा एक से एक प्रतिभावान् शिल्पीहरूको जमघटबाट यो समूह निकै चम्किएको तथ्य निर्विवाद छ ।

गीत फगत गीतमात्र होइन, सामाजिक रीतभाँतको मार्गदर्शन पनि हो भन्ने सन्देश यो समूहको गीतमा पाइन्छ । कुनै पनि साइनोपात गाँस्नुभन्दा अघि सोधनी–पुछनी र चिनजान गर्नुपर्छ अन्यथा ‘अर्सल–बिर्सल’ पर्नसक्छ  भन्ने परम्परागत भनाइ छ । कल्याण शेरचनको गायकी समूहले स्वाराङ्कन गरेको गीतले यही मर्मको चुरो पक्रिएको छ : ‘कहाँ हो नानी घर तिम्रो, कहाँ हो माइती–मामली, नानी त रैछौ हाम्रै दमाली’ । गीतमा व्यक्त भाव गहिरो छ ।


यो समूहकोकेही नितान्त मौलिक योगदान छ ।  कौरा (‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो, अहिले पो बूढो भयो र’), तामाङ सेलो (‘च्याङवा होई च्याङवा, च्याङवबाले आज क्या भन्छ’) जस्ता जनजातीय संगीत (इथ्नोम्युजिक) लाई यही समूहले मूलधारमा ल्यायो । हिजो सीमान्तकृत अवस्थामा रहेका यी गीत जनजिब्रो भुण्डिए । सीमित दायराका गीतले स्थान पाएका त्यस समयमा नयाँ किसिमका गीतको प्रवेश आफैंमा महत्वपूर्ण उपलब्धि थियो । उनीहरू यस सुकर्मको श्रेयभागी छन् ।

‘वन हुनलाई रुख चाहिन्छ र रुख विना वनको महत्व पनि हुँदैन’ भनेझैं यो गायकी समूहको सामूहिक पहिचान र व्यक्तिगत चिनारी दुवै छ । कल्याण शेरचनलाई सिङ्गो वनको एउटा रुखको रूपमा हेर्दा उनी आफैं सक्षम, उर्जावान् एवम् प्रतिभाशाली व्यक्तिका रूपमा देखापर्छन् ।

मौलिक लोकगीत संकलन र गायन उनको सांगीतिक व्यक्तित्वको एउटा विशिष्ट पाटो हो । अहिले धेरै भुल्दै गएको र धेरैले ढङ्ग नपुर्‍याउने  तेर्सो (ढिलो र लम्बेतान) भाकाका शिद्धहस्त शिल्पी हुन् । ‘सुखी ज्यानलाई गुँदरी काम्लो, मै दुःखीलाई जहाँ बस्यो उही राम्रो’ बोलको तेर्सो भाकामा उनको प्रतिभाको क्षितिज राम्रोसँग खुलेको धेरैले चर्चा गर्छन् । यो भाका बराबर मीठो भाका अरु नभएको धारणा लोकगीत अनुरागीहरूको छ । तेर्सो भाकाको रसमा भिजेकाहरू यसलाई ‘राजा भाका’ भन्न रुचाउँछन् ।

कल्याण शेरचनको प्रतिभाको एउटा सानो चर्चामात्र यो । उनका सांगीतिक देनसम्बन्धी आयामहरू खोज्दै जाँदा जीवन भोगाइ र अनुभूतिका थुप्रै पानाहरू पल्टिन सक्छन्, जुन अपरिमित छन् ।

‘फूलको वासना डाँडावारि, मान्छेको वासना डाँडापरि’ भन्ने उखान उनको जीवनमा पनि चरितार्थ भयो । दुनियाँभरि मगमगाएको उनकोे जमगाउँदो–मगमगाउँदो व्यक्तित्व उनकै घरपरिवारमा त्यतिविधि मगमगाउन पाएनछ । दुनियाँले भलीभाँती चिन्दा पनि परिवारजनले नै उनलाई राम्रोसँग चिन्न नसकेको परिवारजनबाटै स्वीकारोक्ति आएको छ ।

उनका दाजु नरबहादुर शेरचनले आफ्ना भाइलाई दुनियाँले कानको फूलजस्तो प्यारो ठानिरहँदा पनि आफूहरूले चाहिँ कस्तुरीले आफूभित्रको सुगन्ध चिन्न नसकेझैं आफ्नै परिवारका होनाहार प्रतिभालाई उचित किसिमले चिन्न नसकेको भाव प्रकट गरेका छन् । उनले आफ्नो भाइको निधन भएपछि उनको व्यक्तित्व र कृतित्वबारे आमसञ्चार माध्यममा आएका समाचार तथा विश्लेषणहरूबाट उनी दुनियाँको भयानक निधि रहेछन् भन्ने थाहा पाएको ‘कल्याण शेरचन स्मृति ग्रन्थ’ (२०६९) मा उल्लेख गरेका छन् । कल्याण शेरचनकी धर्मपत्नी शर्मिला शेरचनले पनि आफूले श्रीमानलाई जुन रूपमा चिन्नुपर्ने थियो, त्यो रूपमा चिन्न नसकेको अभिव्यक्ति दिएकी छिन् ।

भनिरहनु नपर्ला, नेपाली लोकसंगीतको क्षेत्रमा कल्याण शेरचन एउटा सम्झनलायक नाउँ हो । नयाँ पुस्ताले उनलाई सम्झन्छन् कि सम्झँदैनन्, त्यो उनीहरूकै आत्मानुभूति र विवेकको कुरा हो । आखिर, कुरोको चुरो कल्याण शेरचन र साथीहरूको गीतले नै समातेको छ : ‘सम्झे माया लाखै भयो, बिर्से के गर्ने’ ।

[साभार : अन्नपूर्ण पोष्ट (माघ २, २०७२) ]

No comments:

Post a Comment