Monday, August 7, 2017

सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग


–यमबहादुर दुरा

नयाँ नयाँ ‘साइबर फेस्टिबल’ ले नेपाली जीवनशैलीमा इन्द्रधनुषी रङ थप्दैछ । गत असार १६ गते नेपाललगायत विश्वभर ‘सोसल मिडिया दिवस’ मनाइएको समाचारले सञ्चार माध्यममा स्थान पायो । बहुलवादी समाजमा यस्ता दिवसले जीवनशैलीको अनेकौं रूप र रङलाई समेट्छन् । जीवनशैलीमा विविधता छ र पो त बहुलवादी समाजको अस्तित्व छ ।

सन् १९९० पछि अस्तित्वमा आएको ‘इन्टरनेट संस्कृति’ ले दुनियाँलाई थुप्रै जीवनदायिनी उपहार दिएको छ, जसले मानव जातिको समृद्धिमा अतुलनीय योगदान दिइरहेको छ । ‘नेटिजन’ (इन्टरनेट प्रयोगकर्ता) हरूले ‘सोसल मिडिया’ मार्फत ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’  को भरमार उपयोग गरिरहेका छन् । इन्टरनेटले मानव समाजलाई दिएको एउटा सुन्दर उपहारको रूपमा यसलाई लिन सकिन्छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लोकतन्त्रको आधार स्तम्भ मानिन्छ । ‘नेपालको संविधान, २०७२’ धारा १७ (क), ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८’ (धारा १९), ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अधिकारसम्बन्धी’ (धारा १९) जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्ताबेजहरूले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई उच्च स्थान दिएका छन् ।

आफूमाथि भएका वा हुनसक्ने हरप्रकारको ज्यादातीविरुद्ध आवाज उठाउन ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ आवश्यक हुन्छ । यसको अनुपस्थितिमा कुनै पनि अधिकार सुरक्षित हुन सक्दैन  । त्यसैले यसलाई आधारभूत मानव अधिकार मानिएको हो । लोकतान्त्रिक परिपाटीमा ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ ले उच्च स्थान पाएको छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ लाई मूर्त रूप दिने दिशामा अतुलनीय भूमिका खेलिरहेको छ । यसले मनभित्र छचल्किएका  खुल्दुली र विमतिलाई खुलस्त राख्न हरेक व्यक्तिलाई अवसर दिएको छ । इन्टरनेट नहुँदा आफ्ना कुरा समाजका सामु राख्ने यति सहज माध्यम जनसाधारणलाई उपलब्ध थिएन । ‘सोसल मिडिया’ ले मनको पोको फुकाउन जनसाधारणलाई बेमिसाल अवसर दिएको छ । यसले सर्वसाधारण नागरिकलाई अभूतपूर्व रूपमा शक्तिशाली बनाउँदै लगेको छ ।

फेसबुक, ट्वीटर, ब्लग, यु ट्युबजस्ता ‘सोसल मिडिया’ ले सिङ्गो समाजलाई सचेत तुल्याउने र बाटो देखाउने कम गरेका छन् । सामाजिक सञ्जालमा उर्लिएका जनआक्रोशलाई दृष्टिगत गरी व्यक्ति, सेवा प्रदायक तथा सरकारले आफ्ना कार्यशैली र त्रुटिहरू सच्याएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टान्त छन् ।

यसले समाजलाई लोकतन्त्रको ट्र्याकमा हिँडाउन प्रत्यक्ष वा परोक्ष रूपमा बल दिइरहेको छ । इन्टरनेटले प्रवर्द्धन गरेको लोकतन्त्र आज ‘ई–डेमोक्रेसी’, ‘इन्टरनेट डेमोक्रेसी’ वा ‘डिजिटल डेमोक्रेसी’ बाट परिचित छ, जुन हाम्रो घरदैलोमा उपस्थित छ ।

सन् २०११ मा अरब भूमिको राजनीतिक परिदृश्य नै बदलिने गरी राजनीतिक बिद्रोह शुरु भयो । ‘अरब स्प्रिङ’ नामले परिचित उक्त बिद्रोह दबाउन राज्यपक्षबाट भएका ज्यादाती उजागर गर्न ‘सोसल मिडिया’ ले ठूलो भूमिका खेल्यो । मूलधारका सञ्चार माध्यमले दिन नसकेका दमनका 'इक्सक्लुसिभ' दृश्य विश्वसामु राख्ने काम ‘सोसल मिडिया’ ले नै गर्यो ।

एक्काइसौं शताब्दीमा पनि बन्द समाजको रूपमा परिचित अरबियन मुलुकका कतिपय महिलाले छद्मनाममा ब्लग लेखेर महिलाप्रतिको सामाजिक दृष्टिकोण बदल्न पहिलेदेखि नै प्रयास गरेका हुन् । ‘अरब स्प्रिङ’ लाई निश्चित रूप दिने काममा पनि ती छद्मनामधारी महिला ब्लगर कुनै न कुनै रूपमा हिस्सेदार छन् । ‘सोसल मिडिया’ ले समाज परिवर्तनका दिशामा दिएको योगदानको यस्ता अनेकौं दृष्टान्त छन् ।

खासगरी लोकतन्त्रको अभ्युदय नभइसकेका र तानाशाही शासन पद्धति कामयै भएका बन्द समाजमा ‘सोसल मिडिया’ को प्रभाव उल्लेखनीय छ । सूचनाको निर्वाध प्रवाहले हरप्रकारको जडसूत्रवाद र तानाशाही प्रवृत्तिविरुद्ध जेहाद छेडिरहेको छ । चाहे बोक्सीप्रथा विरुद्धको कुरीति होस् वा राज्यशक्तिको आडमा गरिएका जनविरोधी क्रियाकलाप नै किन नहोस्, ‘सोसल मिडिया’ को खबरदारी जारी छ ।

हरेक कुराको दुइटा पाटो हुन्छ भनेझैं ‘सोसल मिडिया’ को पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । यद्यपि कुनै पनि मिडिया आफैंमा राम्रो वा नराम्रो हुँदैन, प्रयोगकर्ता सद्विचार वा कुविचार केबाट निर्देशित छ भन्ने कुराले यसको नतिजा असल वा खराब के हुने भन्ने निर्धारण गर्दछ । यसलाई यही अनुरूप बुझ्न आवश्यक हुन्छ ।

एक तथ्याङ्कअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८२ प्रतिशतभन्दा बढी छ । समयक्रमसँगै इन्टरनेट प्रयोगकर्ताहरूको संख्या निरन्तर बढ्दो छ । इन्टरनेको विभिन्न एप्लिकेसनमध्ये फेसबुक, यु ट्युब, ट्वीटर जस्ता  ‘सोसल मिडिया’ सँग सम्बन्धित एप नै बढी प्रयोगमा आएका छन् ।

नेपालमा ‘सोसल मिडिया’ को बढ्दो प्रयोगसँगै यसका सकारात्मक र नकारात्मक दुवै किसिमका नतिजा देखापर्न थालेका छन् । मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामीको स्वास्थ्योपचारका लागि सहयोग जुटाउने पुण्य कामदेखि गालीगलौजका निकृष्ट व्यवहारसम्म ‘सोसल मिडिया’ मा प्रतिविम्बित भएका छन् । यस्ता कुराले हाम्रो सोचाइको धरातल र सामाजिक मनोविज्ञानलाई इङ्गित गर्छ ।

‘सोसल मिडिया’ ले ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को प्रवर्द्धन गरिरहेको छ । यसले लोकतन्त्रको मजबुदीकरणमा योगदान दिइरहेकोमा शंका छैन । छ । तर ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ बेलगाम अधिकार होइन । यसका सीमाहरू छन् । त्यसलाई आत्मसात गर्न आवश्यक छ ।

‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को अधिकार प्रयोग गर्दा अरुको इज्जत–प्रतिष्ठा र सामाजिक मर्यादामा कस्तो असर पर्छ भन्नेमा प्रयोगकर्ता पूर्ण सचेत भएन भने यसको नतिजा अकल्पनीय हुनसक्छ । बेलगाम अभिव्यक्तिले समाजलाई क्षति त हुन्छ नै, प्रयोगकर्ताकै छवि बिग्रने र ऊ कानुनी झमेलामा पर्नसक्ने अवस्था पनि आउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरुद्ध ‘सोसल मिडिया’ मा जथाभावी अभिव्यक्ति दिने व्यक्ति पक्राउ परी कानुनी दायरमा आएको घटनालाई यसको नवीनतम् दृष्टान्तको रूपमा लिन सकिन्छ । ‘विचार र अभिव्यक्ति स्वतन्त्रता’ को उपयोग गर्दा त्यसको सीमा बुझ्नु जरुरी छ भन्ने तथ्यलाई यो घट्नाले प्रष्ट्याएको छ । प्रयोगकर्ताले पर्याप्त संयम अपनाउन आवश्यक हुन्छ भन्ने पनि यसले सिकाएको पाठ हो ।

संयमित बन्ने नाउँमा आफ्ना विचार राख्नै हुँदैन भन्नेचाहिँ कदापि होइन । आफ्ना विचार वा असहमतिका बुँदा शिष्ट र मर्यादित किसिमले राख्नुपर्छ  भन्ने यसको आशय हो । ‘सोसल मिडिया’ वा अन्य कुनै मिडियाले कसैको निजी जीवन र प्रतिष्ठामा गरेको क्षतिको भरपाइ हुन सक्दैन । यस किसिमको वास्तविकताप्रति पनि प्रयोगकर्ता सचेत हुनैपर्छ ।

‘सोसल मिडिया’ को प्रचलनमा व्यापकता आएसँगै विभिन्न स्वार्थी तत्वहरूले यसलाई खेल मैदानको रूपमा प्रयोग गर्न थालेको तथ्य अर्को मननीय पक्ष हो । सर्वसाधारण प्रयोगकर्तामाथि ‘सेन्टिमेन्टल ब्याकमेलिङ’ गरेर आफ्ना स्वार्थप्रेरित कन्टेन्ट सेयर गर्न लगाउने कार्यमा यस्ता तत्व सक्रिय देखिएका छन् ।

यस्ता स्वार्थी तत्वले बिच्छ्याएको भुलभुलैयापूर्ण पासोमा सर्वसाधारण प्रयोगकर्ता सजिलै पर्छन् । प्रयोगकर्ताहरूले लहैलहैमा त्यस्ता कन्टेन्ट सेयर गरिदिँदा गलत तत्वको मनोबल बढ्छ । गलत उद्देश्यपूर्तिका लागि सञ्चालित साइटको हिट बढाउने, गुगल एड हत्याउने र कसैको मानमर्दन गर्ने अभिप्रायले यस्ता कन्टेन्ट तयार पारिएका हुन्छन् ।

कसैसँग बदला लिन फेसबुकमा सम्बन्धित व्यक्तिको नाउँमा नक्कली अकाउण्ट खोल्ने, त्यसमा मर्यादाहीन तस्बिर पोष्ट गर्ने, हुँदो नहुँदो स्ट्याटस लेख्ने जस्ता काम पनि भएका छन् । सम्बन्धित व्यक्तिलाई दुनियाँसामु बेइज्जत गर्नु नै यसको ध्येय हुन्छ । यस्ता घटनालाई भैझगडा भई अदालतमा मुद्दा मामिला चल्नेसम्मको अवस्था आइसकेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखालाई उध्रृत गर्दै छापा माध्यमहरूमा आएका समाचार अनुसार गत आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ८३० उजुरी परेकोमा चालू आर्थिक वर्षको प्रथम छ महिनामै ५६० वटा यस्ता उजुरी परेका छन् । साइबर अपराधको क्रम बढ्दो क्रममा रहेको देखिन्छ ।

प्रयोगकर्ताको अज्ञानता अर्को खतरनाक पक्ष हो । कतिपय ‘सोसल मिडिया’ प्रयोगकर्ताले अज्ञानतावश दुर्घटनाका क्षतविक्षत लाशको तस्बिर तथा भिडियो पोष्ट गरेका हुन्छन्, जुन गर्नै नहुने काम हो । हामी कसैले पनि आफ्ना परिवारजनको यस्तो दृश्यको कल्पनासम्म पनि गर्न सक्दैनौं ।

आफ्ना परिवारजनको यस्तो दृश्यको हामी कल्पना पनि गर्न सक्दैनौं भने अरुका परिवारजनलाई यस्तै हुन्छ भन्ने समानुभूतिबाट हामी निर्देशित हुन आवश्यक छ । यस्ता दृश्यले सम्बन्धित परिवारलाई दिने चोटको गहिराइ जान्न आवश्यक छ । यस्ता तस्बिर तथा दृश्यले बालबालिका मनोविज्ञान बिग्रने तथ्यलाई पनि ख्याल गर्नु जरुरी छ ।

अहिले झुटा समाचार (फेक न्युज) तयार पार्ने, उत्तेजनापूर्ण स्ट्याटस लेख्ने तथा प्रोपगाण्डा भिडियो तयार पार्ने कामको कुनै कमी छैन । यस्ता कामका पछाडि गलत आशय लुकेका हुन्छन् । कतिपय प्रयोगकर्ताले कुराको गहिराइ नै नबुझी त्यसलाई सेयर गर्ने तथा कमेन्ट गर्ने गर्छन् । यसबाट गलत आशयबाट निर्देशित व्यक्तिलाई बल पुग्छ । हामीले थाहै नपाई गलत तत्वलाई काँधमा बोकिरहेका हुन्छौँ । यसप्रति हाम्रो सचेतता आवश्यक छ ।

वृहत्तर सामाजिक हितका लागि ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोग अहिलेको मूलभूत सवाल हो । यसको सही प्रयोगले समाजलाई सपार्न सक्छ भने गलत प्रयोगले बिगार्न पनि सक्छ । प्रत्येक ‘सोसल मिडिया’ प्रयोगकर्ताले रचनात्मक र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आवश्यक छ ।

हरेक प्रयोगकर्ताले कुनै सामग्री पोष्ट गर्नु अघि यसले आफू स्वयं र समाजलाई नकारात्मक असर पार्छ कि पार्दैन भनेर सोच्नैपर्छ । ‘सोसल मिडिया’ मा प्रयोग गरिएका सामग्री सही–सत्य छन् कि छैनन् भनेर सत्यापन परीक्षण गर्नु पनि त्यत्तिकै आवश्यक छ ।

आफूजस्तै अन्य प्रयोगकर्ताको सत्य–तथ्य जान्ने, उपयोगी जानकारी ग्रहण गर्ने र त्यस्ता सामग्रीबाट अनुप्राणीत हुने अधिकारलाई सम्मान गर्नुपर्ने हुन्छ । हरेक प्रयोगकर्ता सचेत, रचनात्मक, जिम्मेवार र नैतिकवान् बन्नुमा नै ‘सोसल मिडिया’ को औचित्य रहन्छ । ‘सोसल मिडिया’ को बुद्धिमत्तापूर्ण प्रयोगको जग पनि यही हो ।

[साभार: अन्नपूर्ण पोष्ट । साउन २३, २०७४ ।]


No comments:

Post a Comment