Saturday, November 18, 2017

पत्रकारिता तालिमको घट्दो क्रेज

–यमबहादुरा दुरा

अमेरिकी लेखक रोवर्ट कियोसाकी (जन्मः सन् १९४७) कतै भनेका छन्, ‘अनुशासन र तालिमबाट आत्मविश्वास पलाउँछ ।’ कियोसाकीको भनाइ हरेक पेशा र व्यवसायमा संलग्न व्यक्तिका लागि मननीय छ । त्यसमा पनि प्रतिपल बदलिइरहेको दुनियाँको खोजखबर गर्ने पत्रकारका लागि उनको भनाइ झनै मननीय र सान्दर्भिक छ ।
कियोसाकीको भनाइले तालिमको महत्वलाई झल्काएको छ ।

 नेपालमा पत्रकारितासम्बन्धी तालिमको औपचारिक इतिहास २०४१ सालमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ स्थापित भएपछि शुरु भएको पाइन्छ । गोकुल पोखरेल, भारतदत्त कोइरालाजस्ता नेपालका अग्रज पत्रकारहरूद्वारा स्थापित पत्रकारिता तालिमसम्बन्धी तालिम इन्स्टिच्युटले नेपालका एक से एक पत्रकारहरू उत्पादन गर्‍यो ।

उनीहरूले नयाँ पुस्ताका पत्रकार नआउञ्जेलसम्म नेपालको मूलधार पत्रकारिताको कमाण्ड सम्हालेको इतिहासलाई बिर्सन मिल्दैन । त्रिभुवन विश्वविद्यालयले पत्रकारितासम्बन्धी जनशक्ति पर्याप्त रूपमा उत्पादन गर्न नसक्दाको घडीमा ‘नेपाल प्रेस इन्स्टिच्युट’ ले माग पूरा गरेको थियो, जुन नेपालको पत्रकारिता जगतमा प्रशंसनीय कार्य थियो ।

२०५० को दशकसम्म पत्रकारिता तालिमको क्रेज उच्च नै थियो । यतिञ्जेलसम्म पत्रकारितासम्बन्धी तालिम दिनका लागि अरू थुप्रै संस्था अस्तित्वमा आइसकेका थिए । समयक्रममा यस्ता तालिमहरूको क्रेज घट्दै गयो । पहिले पत्रकारका लागि आयोजित तालिममा सहभागी हुन पत्रकारिताभन्दा बाहिरका व्यक्तिहरू पनि मरिहत्ते गर्थे, अहिले पत्रकारका लागि आयोजित तालिममा पत्रकार नै सहभागी नहुने अवस्था छ ।

आखिर के भयो, पत्रकारितासम्बन्धी तालिमलाई ? किन तालिमप्रतिको आकर्षण जाडो मौसमको चियाझैं सेलायो ? यस विषयमा गहन र व्यापक अध्ययन भएका छैनन् । अनुसन्धानमूलक संस्था ‘मार्टिन चौतारी’ ले पत्रकारितासम्बन्धी तालिमबारे २०६६ सालमा अध्ययन गरेको थियो । पत्रकारिताको तालिम दिने संस्था र तालिममा सहभागी पेशेवार प्रशिक्षकहरूसँग परामर्श गरी प्रतिवेदन प्रकाशन गरेको थियो ।

त्यस प्रतिवेदनले मिडियासम्बन्धी तालिमको पाठ्यक्रम, प्रशिक्षक, सहभागी तथा आर्थिक पक्षलाई केन्द्रमा राखेर त्यसको प्रवृत्ति र अभ्यासलाई रौंचिरा गर्ने प्रयास गरेको छ । प्रतिवेदनले तालिमको गुणस्तर, दीगोपन र प्रभावकारिताबारे पनि मननीय ढङ्गमा विश्लेषण गरेको छ । प्रतिवेदनले औंल्याएका धेरै तथ्य अझै पनि सान्दर्भिक र विचारणीय छन् ।

वरिष्ठ ठहरिएका पत्रकारहरूले तालिममा रुचि नराख्ने र कतिपय पत्रकार भत्ता पाएमात्र तालिममा सहभागी हुन चाहने प्रवृत्तिलाई प्रतिवेदनले गम्भीरतापूर्वक औंल्याएको छ । यसैगरी, तालिमको नाममा ठगीधन्दा गर्ने कतिपय संस्थाले मीठो सपना बाँडेर सहभागीहरूलाई बिचल्ली पारेकाले तथ्यबारे प्रतिवेदनले ध्यानाकर्षण गरेको छ ।

नेपालको पत्रकारितासम्बन्धी तालिमको अवस्था र सान्दर्भिकताबारे थप चर्चा गर्नुभन्दा विश्व–सञ्चार परिदृश्यमा आएको युगान्तकारी परिवर्तनलाई नसमेट्दा अध्याय अपूरो हुनजान्छ ।  समयको गतिशीलतासँगै विश्व–सञ्चार परिदृश्यमा व्यापक बदलाव आएको छ । आजभन्दा ११ वर्षअघि सन् २००६ मा ‘टाइम’ म्यागजिनले अनौठो किसिमले ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो ।

उक्त म्याजिनले ‘यु’ अर्थात् ‘तपार्इँ’ (हरेक व्यक्ति) लाई ‘वर्ष–व्यक्ति’ घोषणा गरेको थियो । यसको अर्थ थियो, प्रविधिको विकासले हरेक व्यक्ति शक्तिशाली बन्दैछ र ‘न्यु मिडिया’ मार्फत्  अब हरेक प्रकाशक र प्रसारक बन्नसक्छ । ‘यु ट्युब’, माई स्पेस, फेसबुकजस्ता ‘न्यु मिडिया’ ले यस्तो तिलस्मी सम्भावना छुमन्तर शैलीमा हाम्रो सामु ल्याइदिएको छ । यसबाट ‘मिडिया टाइकुन’ हरूको वर्चस्व क्षय हुने क्रम भइसकेको छ ।

यस्ता ‘न्यु मिडिया’ को माध्यमबाट शानदार किसिमले पत्रकारिता गर्न सम्भव छ भन्ने तथ्य कुनै रहस्यको विषय रहेन । वेब २.० नामले चिनिने अन्तरक्रियात्मक इन्टरनेट प्रणालीले अनलाइन पत्रकारितालाई नयाँ उचाइमा पुर्‍यायो । यसले परम्परागत पत्रकारितालाई एक अर्थमा पछिल्लो बिसौनीमा छाडिदियो । एउटै माध्यमबाट अडियो, भिडियो र टेक्टसमेत उपलब्ध गर्न सक्ने अनलाइनको अगाडि परम्परागत पत्रकारिता कता कता खल्लो देखिन थालेको छ ।

हिजोका दिनमा अखबार स्थान नपाएका कतिपय प्रतिभाहरू इन्टरनेटको माध्यमबाट राम्रा लेखक/पत्रकारका रूपमा दरिएका छन् । रेडियोमा स्वर सुनाउन र टेलिभिजनमा अनुहार देखाउन लालयित भएका तर अवसर नपाएका कतिपय व्यक्तिले अहिले ‘यु ट्युब’ मार्फत् ‘सेलिब्रिटी’ को ताज पहिरिएका छन् । उनीहरूलाई रेडियो र टेलिभिजन स्टेसन धाउनुपर्ने आवश्यकता नै छैन । उल्टै उनीहरूलाई रेडियो र टेलिभिजन खोज्न थालेका छन् ।

प्रविधिको जादुमय प्रगतिले मिडियाको परिदृश्य पनि बेजोड किसिमले बदलिदिएको छ । मनमा ताप भएका व्यक्तिका अहिले हजारौं अवसर ढोकैमा उपलब्ध छ । पत्रकारिताको डिग्रीदेखि ‘क्र्यास कोर्स’ सम्मका तमाम अवसर अनलाइनमै उपलब्ध छन् । रोगको उपचारदेखि प्राज्ञिक जिज्ञासा हल गर्नसमेत नेट सर्च गर्ने र ‘यु ट्युब’ ट्युटोरियल हेर्ने प्रवृत्ति नयाँ पुस्तामा विकास भएको छ ।

अब पत्रकारिताको ज्ञान र सीप हासिल गर्न परम्परागत शैलीको तालिम लिनैपर्ने बाध्यताको अन्त्य भइसकेको छ। अहिले पत्रकारितालगायत धेरै किसिमका ज्ञान र सीप ‘भर्चुअल क्लासरूम’ बाटै पाउन सकिने अवस्था छ ।पत्रकारिताको तालिमको क्रेजमा गिरावट आउनुको कारणमध्ये प्रविधिले ल्याइएको परिवर्तनलाई एउटा मुख्य कारक तत्व मान्न सकिन्छ । तर यो एकमात्र कारण भने होइन ।

यसका पछाडि अरू थुप्रै कारण छन् । नेपालको सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपछिको २८ वर्षको अवधिमा छापा, रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्म आइपग्दा नेपाली पत्रकारिता जगतमा धेरै उतारचढाव आइसकेको छ ।

यस अवधिमा नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा नसोचिएका परिवर्तन आएका छन् । आमसञ्चार माध्यमले प्राविधिक गुणस्तर र कन्टेन्ट विविधीकरण दुवै दृष्टिले क्रान्तिकारी फड्को मारेको छ । यसबाट सम्भवनाका धेरै ढोका खोलिएका छन् ।

साथसाथै, आमसञ्चार माध्यममा अभूतपूर्व रूपमा जनशक्ति खपत भएको छ । देशभरका सयौं कलेजमा पत्रकारितासम्बन्धी पढाइ शुरु भइसकेको छ  । आमसञ्चार माध्यमको उपस्थितिले विज्ञापनको आयतन बढेको छ र आमसञ्चार आफैंमामा एक उद्योगको स्थापित भएको छ ।

यससँगै आमसञ्चार माध्यमबारे जनमनमा बास गरेको विद्यमान हाउगुजीको पटाक्षेप पनि हुँदै गएको छ ।
हिजोका दिनमा आमसञ्चार माध्यमलाई ग्ल्यामरले भरिएको क्षेत्र मानिन्थ्यो । आज त्यस्तो मान्यतामा ह्रास आएको छ । विगतमा आमसञ्चार माध्यमलाई रहस्यपुञ्जका रूपमा हेर्ने गरिन्थ्यो । मानिसको बढ्दो चेतनास्तर र ‘सोसल मिडिया’ को विष्फोटक उपस्थितिले विगतमा रहस्यको बादलभित्र लुकेका धेरै पक्षको रहस्योद्घाटन हुँदै गइरहेको छ । परिणामस्वरूप आमसञ्चार (पत्रकारिता) प्रतिको आकर्षण क्रमिक रूपमा घट्दै गएको छ ।

यी तमाम विकासक्रमले पत्रकारिता तालिमलाई चानचुने विषय बनाइदिएको छ । तर पत्रकारितासम्बन्धी तालिमको घट्दो ग्राफलाई हेर्दा पत्रकारिताप्रतिको आकर्षण घटेको मात्र भनेर तर्क गर्नु अन्याय हुन जान्छ । २०४६ सालदेखि हालसम्मको कालखण्डमा नेपाली पत्रकारिता क्षेत्रमा देखापरेको उहापोहबाट बजारशास्त्रको नियमनकारी प्राकृतिक नियमलाई अलग्याउन मिल्दैन ।

पत्रकारिता तालिमको क्षयोन्मुख अवस्थालाई निरपेक्ष रूपमा हेरेर पत्रकारिताप्रति आकर्षण घटेको भन्नु त्यति न्यायोचित हुँदैन । यसलाई पत्रकारिताको बजारले अब आफ्नो वास्तविक ‘सेप’ लिन थालेको छ भन्दा न्यायसँगत हुन्छ ।

तालिममा भाग लिने तर पत्रकारिता नगर्ने, दातृ निकायले दिएको आर्थिक सहयोग पचाउनमात्र तालिम आयोजना गर्ने, उचित पाठ््यक्रम नबनाई तालिम सञ्चालन गर्ने, सही तालिमका लागि सही सहभागी चयन गर्न नसक्नु, तालिमका नाममा सपनाजीवी युवाहरूलाई अल्मल्याउने जस्ता तालिमका विकृत पक्ष विगतमा देखापरे । पत्रकारिता क्षेत्र र पत्रकारिता–तालिमको इज्जत बचाउन यस्ता प्रवत्तिलाई दुरुत्साहित गर्न आवश्यक छ ।

पत्रकारितासम्बन्धी तालिमप्रतिको आकर्षण र विकर्षणबारे नेपथ्यमा चर्चा चलिरहँदा तालिमको आवश्यकता र महत्वलाई कुनै पनि हालतमा नकार्न सकिन्न । पत्रकारितामा मात्र होइन, हरेक पेशामा तालिम आवश्यक छ । तालिमले व्यक्तिको दक्षता, ज्ञान र सीपमा धार लगाउने, पुनर्ताजगी गर्ने र आत्मविश्वासको ग्राफ बढाउन सहयोग गर्ने भएकाले यसको महत्व सधैँ उच्च रहन्छ ।

वर्तमानमा पत्रकारिता तालिमको ग्राफ ओरालो लाग्यो भन्दैमा तालिमको औचित्य सकिएको भन्ने बुझिनुहुँदैन । तालिममा सुस्ती आएको हो, औचित्य सकिएको होइन । पेशागत जीवनमा तालिमको महत्वलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । सबैलाई हेक्का भएकै कुरा हो, असल पत्रकारिता–अभ्यासका लागि तालिमले निश्चय नै रचनात्मक र जीवनदायिनी भूमिका खेल्छ ।

[साभार:  गोरखापत्र 'शनिबार' । मङ्सिर २, २०७४ ।]


No comments:

Post a Comment