Monday, July 16, 2018

लाहुरेले देखेको मुगलान

—यमबहादुर दुरा

नेपाली जनजीवनमा भिजेको शब्द हो, मुगलान । अहिले आएर मुगलानको दायरा झन फराकिलो भएको छ । हिजो भारत, बर्मा, भुटानको सरहदमा मुगलान सीमित थियो । आज मुगलान विस्तार भएको छ—छिमेकी मुलुक भारतदेखि दुनियाँको सबै कुना—कन्दरासम्म ।

हिजो छोरामात्रै परदेश जान्थे, आज छोरी पनि मुगलानको बाटो तताएका छन् । यसबाट रेमिट्यान्स अर्थतन्त्र, विछोड र वेदनाको दायरा पनि अझ फराकिलो भएको छ । मुगलानले जनमनमा थोपरेको विछोड र वेदनाको पसारोले नेपाली मुगलान साहित्यलाई समृद्ध बनाउन सघाएको छ ।

मुगलानी जीवनधाराको पृष्ठभूमिमा ‘मुलुकबाहिर’, ‘बसाइँ’,  ‘मुगलान’, ‘चपाइएका अनुहार’ जस्ता आख्यानात्मक कृति जन्मिए । लैनसिङ वाङ्देलकृत उपन्यास ‘मुलुकबाहिर’ मा दोस्रो विश्वयुद्धमा भेडाबाख्रा सरी भर्ती गराइएका गोर्खालीलाई युद्ध थामिएपछि खाली खुट्टा घर फर्काइएको प्रसंग छ । दौलतविक्रम विष्टको उपन्यास ‘चपाइएका अनुहार’ मा  बेलायतको तर्फबाट विश्वयुद्धमा होम्मिएका लाहुरेको कथा छ ।

समयले कोल्टो फेरेको छ । अहिले लाहुरे नै मुगलानको भोगाइ लिपिबद्ध गर्न तम्सिएका छन् । यसका दृष्टान्त हुन्, लेखनकर्ममा अनवरत जुटिरहेका पूर्वलाहुरे टिम गुरुङ । उनी आफ्ना आख्यानात्मक कृति ‘अ ट्रि कल्ड टेनल्पा’ लिएर पाठकमाझ झुल्किसकेका छन् ।

सन् १९८० को कुरा हो । टिम गुरुङ गोर्खा सैनिक बनेर उमेरमा हङकङ पुगे । त्यसबेला उनी १७ वर्षका थिए । उनले बेलायती सेनामा १३ वर्ष सेवा गरेपछि उनलाई फौजी जिन्दगानी मन परेन । सेनाबाट स्वेच्छिक अवकाश लिए । तर हङकङ छाडेनन् । त्यही बसेर लेखन कार्य अघि बढाए । अहिले लेखनकर्म नै उनको पूर्णकालीन जागिर भएको छ ।

‘द कस्र्ड नेसन’, ‘अ सेलिब्रेसन अफ उमन’, ‘ओल्ड म्यान डोन्ट क्राई’, ‘अ नेसन फर रेफुजिज’, ‘आफ्टरलाइफ’, ‘मिसनरी अर मर्सिनरी’, ‘फाइभ स्टेप्स’, ‘माइ फर्गटन पाथ होम’, ‘द ब्रोकन पिपुल फ्रम द गड्स ल्याण्ड’, ‘द नमस्ते क्लब’ आदि उनले जन्माएका कृति हुन् । अंग्रेजीमा मात्र लेख्ने उनका अधिकांश कृति आख्यानात्मक छन् ।

अहिले उनी आफ्नो पन्ध्रौं कृति ‘द गुर्खाज्’ काम गरिरहेका छन् । सन् २०१९ मा पाठकमाझ ल्याउने उनको तयारी छ । दर्जनभन्दा बढी पठनीय कृति जन्माएर पनि उनी चर्चाविहीन छन् । पश्चिमी गोलाद्र्धमा बसेर अंग्रेजीमा लेख्ने चुनिन्दा लेखकहरूले राम्रै चर्चा कमाएका छन् । लेखनकर्ममै समर्पित भएर पनि समकालीन नेपाली साहित्यिक वृत्तमा उनले अपेक्षित चर्चा बटुल्न सकेका छैनन् ।

‘अ ट्रि कल्ड टेनल्पा’ मा मुगलानको कथा छ । यसले छजना हतभागी मुगलानीको भुक्तमान समेटेको छ । एक हिसाबले यसलाई पराइभूमिमा जिजीविषाले निम्त्याएका हण्डरहरूको दस्ताबेज मान्न सकिन्छ । विस्थापन, बसाइँ सराइ, जातीय भेदभाव, मातृभूमिको माया, परचक्री पाउ, मुगलानले थोपरेको मानसिक तथा शारीरिक यातनाकै सेरोफेरोमा कथावस्तु घुमिरहन्छ । कृति पढ्दै जाँदा रोटो र भोटो जुटाउन अरबको खाडीदेखि अमेरिकासम्म पुगेका नेपालीको अनुहार आँखासामु आउँछ ।

कृतिमा वर्णित प्रसंग परदेशको हो भन्ने थाहा हुन्छ तर ठाउँको नाउँ कतै उल्लेख हुँदैन । कथामा पात्रले अनाम ठाउँमा भोगेका सास्ती र हैरानीका एकएक हिसाब भेटिन्छ । भाषाशैली स्तरीय र मिठासपूर्ण छ । लेखाइमा वाग्धारात्मक अभिव्यक्तिको छेलखेलो भेटिन्छ । वर्णन दृश्यात्मक छ । प्रत्येक घटनाक्रमको सपाट र सविस्तार वर्णन छ ।

एक अर्थमा लेखाइ अनौठो लाग्ने किसिमको छ । कृतिका सबै पात्र चरा हुन् । कालो, पहेँलो, सेतो, खैरो रङका चरालाई पात्रका रूपमा खडा गरेका छन् । मानिस चराजस्तै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने प्राणी भएकाले चरालाई पत्रको रूपमा खडा गरिएको अनुमान गर्न सकिन्छ । यस अर्थमा लेखाइ प्रतीकात्मक छ ।

यद्यपि, यहीँनेर प्रश्न गर्ने ठाउँ पनि तयार हुन्छ । साहित्यमा पशुपञ्छीलाई पात्रको रूपमा उभ्याउने चलन नयाँ होइन । मानिसलाई नै पात्र बनाएर कथावस्तुलाई सहज किसिमले अघि बढाउन सकिने ठाउँमा चरालाई पात्र बनाउन कति आवश्यक र सान्दर्भिक थियो भन्ने प्रश्न पाठकको मनमा उब्जिरहन्छ । गुरुङको यसप्रकारको पृथक लेखनशैलीलाई हेर्दा कताकता असहज अनुभूति हुन्छ  ।

नेपाली मुगलान साहित्यको दायरा फराकिलो हुँदै गइरहेको बेलामा ‘अ ट्रि कल्ड टेनल्पा’ ले आफ्नोे बेग्लै उपस्थिति जनाएको छ । प्रवासी लेखनले मुगलान साहित्यको अर्को क्षितिज पनि उघार्दै लगेको छ । त्यो हो, डायस्पोरिक साहित्य । समयक्रममा नेपाली  डायस्पोरिक साहित्य पनि समृद्ध हुँदै गइरहेको छ ।

नेपालीजन संसारभर फैलिने र लेखनकर्म सरिक हुने बढ्दो परिपाटीले डायस्पोरिक साहित्यका लागि उर्वरभूमि तयार  भएको छ । टिम गुरुङले प्रवासमा बसेर अघि बढाएको लेखनकर्मले पनि यही परिपाटीको निरन्तरता हो ।

पुस्तकः अ ट्रि कल्ड टेनल्पा (उपन्यास)
लेखकः टिम गुरुङ
प्रकाशकः आइएसएसएल एण्ड कम्पनी लिमिटेड, हङकङ
पृष्ठः २९६ं२,
मूल्यः २.९९ अमेरिकी डलर

[साभार: हिमाल । २०७५ साल असार ३१ गते ।]

No comments:

Post a Comment