Thursday, October 25, 2018

मिथ्या समाचारको प्रभाव

—यमबहादुर दुरा

मानिस सूचनाजीवी प्राणी हो । ऊ हरपल नयाँ नयाँ सूचनासँग अद्यावधिक हुन चाहन्छ । आफ्ना बौद्धिक र भावनात्मक आवश्यकता पूरा गर्न उसलाई सूचना आवश्यक पर्छ । ताजा र सान्दर्भिक समाचारले सचेत व्यक्तिको सूचनाको भोक शान्त गर्न सहयोग गर्छ । ताजा जानकारी र समाचारले मानिसलाई गतिवान् र सबल बन्न सघाउँछ ।

हामी डिजिटल युगमा छौंँ । डिजिटल युगमा सूचना र समाचारको प्रवाहको गति अपरिमित छ । सूचनाको तीव्रतर प्रवाहलाई बुझाउन तत्कालीन अमेरिकी उपराष्ट्रपति एल गोरले ‘इन्फमेसन सुपरहाइवे’ शब्दावली प्रयोग गरेको धेरै भइसक्यो । जगजाहेर नै छ,  डिजिटल सञ्चारले दुनियाँमा जादूमय परिवर्तन ल्याएको छ ।
एकतिर डिजिटल युगले ताजा र सान्दर्भिक समाचार (सूचना) मार्फत दुनियाँलाई हिजोको भन्दा बढी सुसूचित र शक्तिशाली बनाएको छ भने अर्कोतिर मिथ्या सूचना प्रवाह गरेर दिग्भ्रमित बनाउने काम पनि सँगसँगै गरेको छ । अहिले यसबारे सचेत हुनुपर्ने बेला आइसकेको छ किनभने  ‘इन्फमेसन सुपरहाइवे’ मार्फत मिथ्या समाचार (फेक न्युज) प्रवाह हुन थालिसकेको छ ।
ग्राफिक्स: गुगल

वर्तमानमा (फेक न्युज) को जगजगी छ । यद्यपि, मिथ्या समाचार कुनै नयाँ विषय होइन । समाचार युगको लामो कालखण्डमा कुनै न कुनै रूपमा मिथ्या समाचारले स्थान पाउँदै आएको छ । इन्टरनेटले यसलाई मलजल गरेको छ । त्यसमा पनि इन्फमेसन सुपरहाइवे र सोसल मिडियाको समागमले रक्तबीजकै काम गरेको छ । हालका दिनमा मिथ्या समाचार चुनौतीको विषय बनिसकेको छ ।

सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावदेखि मिथ्या समाचारले बढी चर्चा नै बटुलेको छ । ‘कलिन्स शब्दकोश’ ले ‘फेक न्युज’ लाई सन् २०१७ को चर्चित शब्दावली मानेको तथ्यले यसको सघनतालाई पुष्टि गर्छ । अमेरिकी राष्ट्रपतीय चुनावका बेलामा पोप फ्रान्सिसले डोनाल्ड ट्रम्पलाई समर्थन गरेको, ट्रम्पका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले विद्रोही संस्था आइएसआइलाई हतियार बेचेको जस्ता झूटा समाचार भाइरल भएका थिए । त्यतिबेला यस्ता समाचारले ‘द वासिङ्टन पोष्ट’, ‘द न्युयोर्क टाइम्स’ जस्ता विश्वसनीय समाचारपत्रले भन्दा बढी पाठक पाएको चर्चा चलेको थियो ।

त्यस समयमा म्यासेडोनियामा सञ्चालित फेक वेबसाइटबाट यस्ता मिथ्या समाचार प्रवाह भएकोबारे बेलायती समाचारपत्र ‘द गार्जियन’ ले विस्तृत विवरण नै छापेको थियो । अमेरिकाको मूलधारका सञ्चार माध्यमले हिलारी क्लिन्टनलाई समर्थन गरिरहेका बेलामा डोनाल्ड ट्रम्पले आश्चर्यजनक किसिमले चुनाव जितेपछि मिथ्या समाचार दिने वेबसाइटप्रति अध्येताहरूको ध्यान खिचिएको थियो ।
ग्राफिक्स: गुगल


अमेरिकी राष्ट्रपतीय चुनावताक परीक्षणको रूपमा सञ्चालित यस्ता वेबसाइटले अकल्पनीय रूपमा विज्ञापन र आर्थिक सहयोग पाएपछि म्यासेडोनियामा फेक वेबसाइटले उद्योगको रूप धारण गरेको थियो । त्यस समयमा म्यासेडोनियामा सञ्चालित सयौं फेक वेबसाइटको आर्थिक स्रोतबारे धेरै तथ्य अझै पनि खुल्न सकेको छैन ।

नेपालमा पनि मिथ्या समाचारका अनेकन प्रसंगहरू छन् । केही समय अघि फोब्स् म्याजिनले नेपालका १० जना धनाढ्य व्यक्तिहरूको सूची प्रकाशन गरेको समाचार अनलाइनमा आयो । त्यसपछि त्यही समाचार अरू अनलाइनमा भाइरल भएर आउन थाल्यो । हुँदा हँदा केही अखबारमा पनि त्यो समाचार आयो । वास्तवमा त्यो समाचार झूटो थियो । फोब्स् म्याजिनले विश्वका अर्बपतिहरूका मात्र सूची प्रकाशन गर्छ । त्यसमा नेपालबाट पर्ने विनोद चौधरीमात्र हुन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरोधी उम्मेदवारविरुद्ध सोसल मिडियामार्फत तथ्यहीन समाचार प्रवाह गरिएका धेरै घटना सार्वजनिक भएका थिए । लगभग दुई वर्ष अघि विद्रोही नेता नेत्रविक्रम चन्दले आफ्ना छोरालाई ५० लाखको मोटरसाइकल किनिदिएको समाचार एउटा वेबसाइटले प्रकाशन गरेको थियो । त्यसलाई सोसल मिडियामा सेयर गरिए, निकै भाइरल भयो, उनीप्रति आक्रोश पोखिए । वास्तवमा त्यो समाचार झूटो थियो भन्ने तथ्य विभिन्न स्रोतबाट पुष्टि भइसकेको छ ।

२०७२ को भूकम्पपछि थुप्रै मिथ्या समाचारले ठाउँ पाए । त्यतिबेला अर्को ठूलो भूकम्प आउँदैछ भन्ने हल्ला समाचारका रूपमा सोसल मिडियामा भइरल भए । भूकम्प आउने तिथिमिति पनि तोकिए । सर्वसाधारण नागरिकले त्यसलाई विश्वास गरिरहे, आतङ्कित भइरहे र उल्लू बनिरहे ।

नेपालको भूकम्पबारे प्रवाह भएको मिथ्या समाचारबारे बीबीसीको वेबसाइटमा एउटा रोचक सामग्री भेटिन्छ । भूकम्पका कारण काठमाडौंस्थित एक होटलको स्विमिङ पुलमा भयानक किसिमले पानी छचल्एिको भनेर गलत दृश्य बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रसारण गरेको थियो । यसबारे बीबीसीले आफ्नो वेबसाइटमा स्वीकारोक्ति दिइसकेको छ । खासमा यो दृश्य सन् २०१० को अप्रिलमा मेक्सिकोमा आएको भूकम्पको दृश्य थियो । त्यही समयमा इजिष्ट ढलेको बिल्डिङको दृश्यलाई नेपालको भूकम्प भनेर देखाउने काम पनि भएको थियो ।

नेपालमा आएको भूकम्पबारे रिपोर्टिङ गर्न आएका भारतीय सञ्चार माध्यमले पनि मिथ्या समाचार प्रवाह गर्ने कार्यमा कुख्याति कमाए । त्यस समयमा भारतीय सञ्चार नेपालमा काफी अलोकप्रिय भएका थिए । त्यस पछाडि विभिन्न कारणमध्ये एक थियो, नेपालबारे मिथ्या समाचार दिनु । एउटा भारतीय टेलिभिजन च्यानलले दुईजना साना साना बालबालिकाको तस्बिर देखाएर उनीहरू भूकम्पबाट अभिभावकविहीन भएको बताएको थियो । तर त्यो तस्बिर नेपालको नभई सन् २००७ मा भियतनाममा खिचिएको खुलेको थियो ।

नेपालका ख्यातिप्राप्त स्नायुरोग विशेषज्ञ उपेन्द्र देवकोटाको २०७५ साल असार ४ गते निधन भयो । तर उनको निधन हुनुभन्दा धेरै दिन अघि नै केही न्युज पोर्टलमा निधनको खबर आइसकेको थियो । उनी ज्यूँदै छँदा कतिपयले कुनै नबुझी फेसबुकमा श्रद्धान्जलि दिएका थिए । यस्तो दुर्भाग्यपूर्ण अवस्था मिथ्या समाचारले पैदा गरेको थियो ।

मिथ्या समाचारले पार्ने प्रभाव धेरै गहिरो छ । मानिस ज्यूँदै छँदा मृत्युको खबर आउँदा सम्बन्धित व्यक्ति र उनका परिवारजनमा पर्ने असर अवर्णनीय छ । मिथ्या समाचारबाट भड्कन सक्ने दंगा–फसादले गर्ने जनधनको क्षति, मानिसको प्रतिष्ठामा लाग्ने दागको कुनै भरपाइ हुन सक्दैन । २०७४ साल जेठ १७ गते छिमेकी मुलुक भारतको झारखण्डमा उत्तेजित भीडले कुटीकुटी सातजनाको ज्यान लिएकोे थियो । यसको कारण थियो, ह्वाट्सएपमा फरवार्ड गरिएको झूटो मेसेज । भीडमा मारिएका व्यक्तिहरूलाई बालबच्चा अपहरण गर्ने गिरोहको रूपमा चित्रण गरिएको थियो ।

मिथ्या समाचार के हो ? यसलाई विभिन्न किसिमले परिभाषित गर्न सकिन्छ । मिडिया अनुसन्धानसम्बन्धी संस्था ‘सेन्टर फर मिडिया रिसर्च, नेपाल’ का अनुसार भूटो वा गलत वा भ्रमपूर्ण रूपमा प्रस्तुत गरिएका आमसञ्चार व इन्टरनेटका सामग्री मिथ्या समाचार (वा सूचना) हुन् । ‘कलिन्स शब्दकोश’ ले ‘समाचारका रूपमा प्रस्तुत गरिएका गलत र अक्सर सनसनीपूर्ण सूचना’ लाई मिथ्या समाचार भनेको छ ।

अमेरिकाबाट सञ्चालित वेबसाइट ‘फष्ट ड्राफ्ट न्युज’ ले सूचनाको विश्वसनीयता परीक्षण गर्ने काम गर्छ । यसका अनुसार मिथ्या समाचार सात प्रकार हुन्छन् : १. कसैको नोक्सान गर्ने उद्देश्य नभएको तर रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक विषयवस्तु, २. शीर्षक, दृश्य वा तस्बिरको मूलभावसँग मेल नखाने सामग्री, ३. अर्थको अनर्थ हुने गरी तयार पारिएका भ्रामक सामग्री, ४. जानकारी यथार्थ भए पनि त्यसलाई गलत सन्दर्भमा प्रयोग गरिएका सामग्री, ५. कुनै विश्वसनीय व्यक्तिको नाम अघि सारेर प्रस्तुत गरिएका झूटो अभिव्यक्ति, ६.कुनै तथ्य वा तस्बिरलाई तोडमोड गरेर तयार पारिएका सामग्री, र ७. अरूलाई दिग्भ्रमित तुल्याउन तयार पारिएका सत प्रतिशत झूटो सामग्री ।

मिथ्या समाचार चिन्नका लागि हामीसँग ‘स्वस्थ्य आशंका’ को भाव हुनु आवश्यक छ । हरेक व्यक्तिसँग समाचारप्रति आलोचनात्मक दृष्टिकोण पनि हुनुपर्छ । समाचारमा सनसनीखेज प्रसंग तथा आश्चर्यजनक वा अस्वाभाविक शीर्षक राखिएको छ भने त्यसप्रति बढी ‘स्वस्थ्य आशंका’ गर्नुपर्ने हुन्छ । यस्ता समाचारलाई सोसल मिडियामा सेयर गर्नुअघि समाचारको सत्यता र यसले पार्न सक्ने प्रभावबारे सोच्न आवश्यक छ ।

मिथ्या समाचार प्रवाह गर्ने फेक वेबसाइट मूलतः पैसा कमाउने अभिप्रायले सञ्चालित हुन्छन् । उनीहरू भड्किलो शीर्षक वा तस्बिर दिएर पाठकलाई आकर्षित गर्न चाहन्छन् । कतिपय अवस्थामा उनीहरू पाठकलाई ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ (मनोवैज्ञानिक व्यापार) गर्न पनि पछि पर्दैनन् । कतिले मूलधारका चर्चित सञ्चार माध्यमका वेबसाइटसँग मिल्ने गरी वेबसाइटका नाम राखेका हुन्छन् । वेबसाइटको नामबारे आलोचनात्मक दृष्टिकोण नराख्दा पाठक सोझै जालमा पर्छन् ।

नेपालमा तथ्य—परीक्षण गर्ने गतिलो परिपाटी नहुँदा सर्वसाधारणमात्र नभई कहलिएका सञ्चार माध्यमहरू पनि मिथ्या सञ्चारको माकुरी जालमा परेको देखिन्छ । अर्कोतिर हामीकहाँ स्रोत–साधनको पनि अभाव छ । नेपालका ग्रामीण भेगमा धेरै एफएम रेडियोहरूले संवाददाता राख्न नसक्दा अनलाइनको समाचारमा पर्छन् । कुनै कारणवश अनलाइनमा गलत समाचार पोष्ट भएमा रेडियोमार्फत जन–जनसम्म मिथ्या समाचार फैलिने खतरा छ ।

‘इन्फमेसन सुपरहाइवे’ ले दुनियाँलाई जीवनदायिनी गुण लगाए पनि यसले फैलाउन सक्ने भ्रामक समाचारबारे पनि सोच्नु उत्तिकै आवश्यक भइसकेको छ ।

[साभार: गोरखापत्र (२०७५ साल कात्तिक ८ गते)]

No comments:

Post a Comment