Friday, February 15, 2019

देऊ रुमाल फूल भरेर

-यमबहादुर दुरा

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफूजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो ।

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनु पर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए ।

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला आफ्ना पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियो पाउँदा उनलाई युद्ध जितेजस्तै भयो । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमाउनलाई मन पर्ने थुप्रै आवाजहरूमा नेपाली लोकगीतको एउटा विरहिणी विम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुभन्दा अघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो :  ‘खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...’ । (बाग्लुङतिरको लवजमा ध्याँसोलाई धैंस भनिन्छ) । यो गीत उनलाई खुबै मन पर्‍थ्यो ।

उनी पिढीको खाँबोमा रेडियो भुण्ड्याएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाँजिर हुन्थे । रेडियोमा बज्ने रैथानेपन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो ।

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई हुनसम्म पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । त्यसबेलाको रोदीघर र सामाजिक जमघटहरू मोहनी भाकाले गुञ्जयमान हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो ।

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । शुरु शुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रीसले बाँसुरी हुर्‍याइदिन्थे  । रीस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगालगयातका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हाँसिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो ।

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुभन्दा अघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए तर उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलो पटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए ।

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए ।

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो ।

यसका अतिरिक्त ‘गाउंँशहरको भीर...’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल...’, बुट्टे चोलीरी..., ‘खो पाते...’ आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे, त्यो पनि स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रोव-रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फष्टाउने ठाउँ थिएन ।

 अन्तत: उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरी वादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

कृष्ण गुरुङ थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् ।

त्यसपछि शिकारी-चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको शिकार गर्नु कानुनतः निषिद्ध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको व्रह्मास्त्र थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा कृष्ण गुरुङले पनि अचुक अस्त्र प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे - डाँफेचरी होस् वा अन्य जीवजन्तु नै किन नहोस, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको व्रह्मास्त्रलाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे कृष्ण गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत लम्मरी लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक विम्बको रूपमा लिन्छन् ।

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर विम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’ सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’ सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ ।

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ ।

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’

परिवर्तित परिस्थितिबारे उनी  टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टीभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’
परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’

नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको  दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ  ।

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ ‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँशहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ ।

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको तालिम लिएका छन् ।

उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा-बा र दाजुभाइ दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् ।

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एशिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् ।

उनले गुरुङ भाषाका दर्जन भन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी रेडियो नेपालबाट प्रतिष्ठित गायकको उपाधि, क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साल साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्यमा पुगिने उनको अपेक्षा छ ।

[साभार: लोकसंवाद । २०७५ साल फागुन ३ गते ।]

No comments:

Post a Comment