Saturday, October 17, 2020

यस्तै भयो यस पटक

 –यमबहादुर दुरा

दशैँको माहोलले छपक्कै छोपेकोे छ, पहाडको टाकुरोलाई बादलले छोपेझैँ  । नछोपोस पनि किन ? नेपालको सामाजिक परिवेशमा दशैँको सांस्कृतिक गुरुत्वाकर्षण सधैँ बलशाली छ । नेपाल बहुसांस्कृतिक मुलुक भएर पनि दशैँ एक्लैले शीर्षस्थान ओगटेको स्पष्ट देखिन्छ । 

दशैँसँग नेपाली जनजीवनको नाता गहिरो देखिन्छ । दशैँ भित्रिँदै गर्दा सञ्चार माध्यममा देखपार्ने दशैँजन्य सामग्री र जनजनमा सुनिने दशैँ–संवाद दशैँको सघनतापूर्ण गुरुत्वाकर्षणलाई दर्साउँछन् ।

चाहेर–नचाहेर दशैँको सांस्कृतिक आकर्षण अतुलनीय किसिमले उच्च देखिन्छ । दशैँप्रतिको सांस्कृतिक रूझान बेजोड छ । यसका पछाडि लामो सामाजिक तथा सांस्कृतिक पृष्ठभूमि छ, जुन बेग्लै विश्लेषणको पाटो हुनसक्छ । अहिले त्यतातिर नजाऔँ ।

विगतमा धेरैका लागि दशैँ ‘राम्रो लाउने, मीठो खाने’ चाड थियो । समयक्रममा नेपाली समाजले आर्थिक तथा सांस्कृतिक रूपमा काँचुली फेर्दै जाँदा विगतको पुरानो भाष्य कमजोर बन्दै गएको छ । राम्रो लाउन र मीठो खानकै लागि दशैँ पर्खनुपर्न अवस्था हट्दै गएको छ । 

यद्यपि, दशैँको अन्यान्य महत्त्व र सान्दर्भिकता कायमै छ । दशैँका लागि आर्थिक जोहो गर्ने, किनमेलको मेलोमेसो मिलाउने, टाढाटाढा रहेका परिवारजनसँग फोनवार्ता गर्ने र घर पुग्न लामो यात्रामा निस्कने उपक्रमले हरेक दशैँमा गति लिन्छ । 

यस पटक पनि दशैँको हस्याङफस्याङपूर्ण दैनिकीले हामीलाई पछ्याइसकेको छ । दशैँले जीवनको उपक्रममाथि अर्को उपक्रम थपिदिएको छ । हाम्रो सांस्कृतिक जीवन फेरि एकपटक गतिविधिमय हुन थालेको छ । जनजीवन तरङ्गित हुन थालेको छ । 

परिवारजन, आफन्तजन र साथीसङ्गीसँग भेटघाटका अभिलाषापूर्ण मनोकाङ्क्षाका जलघडाहरू मनोद्वारमा सजिसजाउ भइसकेका छन् । समग्रमा, व्यस्त र व्यग्र दशैँ दैनिकी शुरु भइसकेको छ । यद्यपि, यस पटकको दशैँ पहिलाको जस्तो उत्साहप्रद भने छैन । जनमन उतिसाह्रो रमाएको छैन ।

परिस्थिति जटिल छ । समय अभिशप्त छ । जीवनको लय खल्बलिएको छ । कोरोना महामारीले जनस्वास्थ्यमा धावा बोलेको बोलेयै छ । यसपटकको दशैँ समयको एउटा कठिनतम् घडीबाट गुज्रिरहेको छ । 

समय विडम्बनाग्रस्त बन्न पुगेको छ । भेटघाट र पुनर्मिलनको लहर लिएर आउने चाड नजिकिँदै गर्दा प्रतिबन्धका सूची पनि लम्बिँदै गएका छन् । निषेधका तगराहरू तेर्सिन थालेका छन् । जीवनकालमै नभोगिएका नमीठा अनुभव र अनुभूतिका थुप्रो लाग्न थालेको छ ।

दशैँको पूर्वसन्ध्यामा सरकार भन्दैछ - सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस् । जहाँ र जस्तो अवस्थामा हुनुहुन्छ, त्यस्तै अवस्थामा दशैँ मनाउनुहोस् । घरमा पाहुना नबोलाउनुहोस् । 

थाहा छ, जनस्वास्थ्यलाई ध्यानमा राखेर सरकारले प्रतिबन्धको सूची जारी गरेको हो । यसका सरकारसँग विमति जाहेर गर्नुपर्ने कुनै ठाउँ छैन । सरकारको कुरा छाडौँ, अब त जनस्तरमा पनि प्रतिबन्धको सूची टाँस्ने काम भएको छ । 

कतिपयले सोसल मिडियामार्फत्  आफ्नो घरमा अनाइदिनुहोस् भनेर खुला आग्रह गरिसकेका छन् । गाउँमा नजान, पिङ नहाल्न, जमघट नगर्न र कसैसँग पनि टीका थाप्न नजान अपिल गर्नेहरूको कमी छैन । 

यस्ता अपिलप्रति पनि असहमति जनाउनुपर्ने कुनै कारण छैन । यद्यपि, कताकता असहज अनुभूतचाहिँ पक्कै भइरहेको छ ।

अरू बेला जे जस्तो भए पनि दशैँमा गाउँघर गुल्जार हुन्थ्यो । अघिपछि गाउँमा पाइला नटेके पनि दशैँमा गाउँमा पुग्ने आमप्रवृत्ति हो । यस पटक त धेरैका लगि त्यो पनि सम्भव भएको छैन । सञ्चार माध्यममा आएका समाचारअनुसार पहिले २० लाखले काठमाडौँ छाड्थे भने अहिले दुई लाखलेमात्र छाड्दैछन् । 

दशैँमा छोराछोरी घर फर्किने आशमा बाटोतिर आँखा डुलाउने धेरैजसो बृद्ध आमा–बा निराश हुुनुपर्ने अवस्था छ । बिरानो बन्दै गएको गाउँघर दशैंँमा पनि बिरानै रहने अवस्था छ । कोरोनाले गाउँको खुसी पनि धेरै हदसम्म खोसिदिएको छ ।

चाडपर्वहरू स्वाभावैले जमघटयुक्त र मिष्टान्न भोजनयुक्त हुन्छन् । जमघट, भेटघाट र भोजभतेर बिना चाडवाडको परिपाठ पूरा हुँदैन । तर, कोरोना महामारीले निम्त्याएको अकल्पनीय अवस्थाले चाडपर्वको आधारभूत मर्महरूलाई पूरै भताभुङ्ग पारिदिएको छ । न भोजभतेर, न त जमघट नै ।

परिस्थिति अवसादग्रस्त छ । धेरैको आम्दानी घटेको छ । कतिले महिनौँदेखि तनखा पाएका छैनन् । धेरैको कामधन्दा रोकिएको छ । विशेषतः श्रमजीवीहरूको आर्थिक स्वास्थ्य बेपत्ता गडबड छ ।

सामाजिक श्रेणीमा बौद्धिक वर्गको वरीयता पाएका कतिपय कलमजीवीहरू कलमबन्दीमा छन् । उनीहरूले कलम समाउने हातहरू निधारभन्दा माथि ठड्याउँदैछन् । नागरिकको सूचनाको बाहकका रूपमा दरिएका यी कलमजीवी पनि अभिशप्त समयमा बाँचिरहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरूको अवस्था पनि कम पीडादायी छैन । कोरोनबाट ज्यान जोगाउन दशगजा काटेर देशको सरहदभित्र छिरेका प्रवासी बन्न पुगेकाहरूको  पेटको भोकले आक्रान्त बन्न पुगेपछि फेरि पनि दशगजा नै काटेर उतैतिर फर्किएका दृश्यहरू टेलिभिजनका स्क्रिनमा देखिए । यस्ता घटनाक्रमलाई नागरिकका आर्थिक स्वास्थ्य बिगिएको सूचकको रूपमा लिन सकिन्छ ।

जनजीवनमा भुक्तमानको कोर्रा बर्साउने कोरोनाले थामिने कुनै नरम सङ्केत देखाएकै छैन । सञ्चार माध्यमले युरोप कोरोनो दोस्रो लहर शुरु भएको जनाएको छ । स्वदेशकै कुरा गर्दा कोरोना सङ्क्रमितको ग्राफले चुचुरो ताकिरहेको छ । कोरोना सङ्क्रमणबाट मृत्यवरण गर्नेहरूको संख्या पनि फेदीबाट उकालो लागिरहेको छ ।

यी तमाम उहापोहपूर्ण घटनाक्रमले परिस्थिति असहज छ भन्ने बुझ्न कुनै कठिनाइ छैन । सबैको गणित गोलमाल छ । देशको आर्थिक स्वास्थ्य कमजोर छ । कोरोनाले रडाको मच्चाउनुभन्दा अघि नेपालको नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतको हाराहारीमा थियो । एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२० र २०२१ मा क्रमशः २.३ र १.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

यतिबेला अर्थतन्त्रभन्दा जीवन नै ठूलो हो । एकबारको चोलामा जीवनभन्दा ठूलो अर्को कुरा छैन । सानो असावधानीले अमूल्य मानवचोला पानीफोकाझैँ  समाप्त हुनसक्छ । उच्च सावधानी अपेक्षित छ । जीवन रहेमा अर्थतन्त्र मजबुत बनाउँला, चाडवाडको रमझममा रमाउँदै रामरमिता पनि गरौँला । 

अहिलेको मुख्य अजेण्डा जीवनरक्षा नै हो । यो सङ्कटपूर्ण घडीमा अरू अजेण्डा सहायक हुन् । हाम्रो यावत् प्रयत्न जीवनरक्षामै केन्द्रित हुन आवश्यक छ । आशा गरौँ, भोलिका दिनहरू शुभघडी लिएर आउनेछन् । यस्तै भयो, यस पटक ।

[संवाद नेपाल । २०७७ साल कात्तिक १ गते । ]

अद्यावधिक: २०७९।०८।२२

No comments:

Post a Comment