Wednesday, September 22, 2021

अफगानी समाजमा महिला स्वतन्त्रताको मिसाल

 –यमबहादुर दुरा

‘कोइलाखानीमा हीरा पनि भेटिन सक्छ’ । बूढापाकाहरूको यो भनाइ अफगानिस्तानको सन्दर्भमा पनि लागू हुन्छ । गृहकलह र शक्तिशाली मुलुकहरूको पटक–पटकको हस्तक्षेपबाट जर्जर बन्न पुगेको अफगानिस्तान महिलामाथि हुने हरप्रकारका हिंसा र अमानवीय व्यवहारका लागि पनि कुख्यात बन्न पुगेको छ । 

अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरूमा साथ देखाइने बुर्का लगाएका महिलाका ताँती, कट्टरपन्थी तप्काले महिलालाई सार्वजनिक स्थलमै हातपात गरेको दृश्य तथा महिला हिंसासम्बन्धी तमाम प्रतिवेदनहरूले अफगानिस्तान महिलाका लागि भयानक खतरनाक ठाउँ हो भन्ने प्रतीत हुन्छ ।

यो सामाजिक तस्बिर धेरै हदसम्म सही नै हो । तर, यो नै सम्पूर्ण वास्तविकता होइन । विगतमा त्यहाँका महिलाले स्वतन्त्रताको उपभोग गरेका बेमिसाल दृष्टान्त छन् । कुनै समयमा त्यहाँका महिलाहरूले युरोपेली महिला सरह स्वतन्त्रता उपभोगका गरेका सुन्दर उदाहरण पनि छ ।

इतिहासको पाना पल्टाउँदा अफगानी समाजमा महिलाले मीठो किसिमले स्वतन्त्रता उपभोग गरेका अध्यायहरू भेटिन्छन् । यही सिलसिलामा अफगानिस्तानका सुधारवादी राजा अमनुल्लाह खान (सन् १८९२–१९६०) लाई श्रद्धापूर्वक सम्झनुपर्ने हुन्छ । उनले सन् १९१९ देखि १९२९ सम्म राजाको रूपमा शासन गरे । 

अफगानी समाजमा सुधारवादी छवि निर्माण गरेका राजा अमनुल्लाह खान महिला स्वतन्त्रता र महिला शिक्षामा विशेष जोड दिए । उनले सार्वजनिक वृत्तमा महिलाको उपस्थिति बढाउने र महिलाको पोशाकमा सुधार ल्याउने कदम अघि बढाए । यतिमात्र होइन, उनले आजभन्दा एक सय वर्षअघि  सन् १९२१ मै बालविवाह, बलजफ्ती गरिने विवाह, पैसा तिरेर दुलही किन्नेजस्ता सामाजिक कुरीति अन्त्य गर्ने कानुन ल्याए ।

रानी सोयारा तार्जी

राजा अमनुल्लाह खानले महिलाहरूलाई बुर्का त्याग्न र पश्चिमी शैलीका पहिरनमा सजिन प्रेरित गरे । उनका रानी सोयारा तार्जी (सन् १८९९–१९६८) ले पनि कदममा कदम मिलाएर राजाको सुधारवादी आन्दोलनलाई खुल्ला दिलले साथ दिइन् । अफगानी रानी सोयारा तार्जी सार्वजनिक स्थानमा बुर्का उतारेर महिला स्वतन्त्रताको उदाहरण बनेकी थिइन् ।  

यसपछि राजपरिवारका महिला सदस्य र प्रधानमन्त्रीका श्रीमती र छोरी एवम् सरकारी कर्मचारीका श्रीमती तथा छोरीले पनि बुर्का लगाउन छाडे । उनीहरू परम्परावादी अफगानी समाजमा बुर्का त्याग्ने पहिलो लहरका महिला कहलिए । राजा र रानीबाटै साथ पाएपछि शहरी क्षेत्रका महिलाहरू बुर्काविहीन भएर सार्वजनिक स्थानमा देखा पर्न थालेका थिए ।

यसप्रकारको सुधारवादी आन्दोलनलाई अर्का राजनेता मोहम्म दाउद खान (सन् १९०९–१९७८) ले पनि असल आशयका साथ अघि बढाए । खानले सन् १९५३ देखि १९६३ सम्म प्रधानमन्त्रीको पद सम्हाले ।  आफू  प्रधानमन्त्री भएपछि उनले कट्टरपन्थी विचारधारालाई नकार्दै महिलाका पक्षमा सुधार ल्याए । 

एकपछि अर्को गरी सुधारवादी कदम अघि बढ्दा अफगानी समाजमा महिलाहरूको अवस्थामा व्यापक सुधार आउन थाल्यो । महिलाहरू वैज्ञानिक, सरकारी कर्मचारी, शिक्षक, चिकित्सकजस्ता पेशामा आउन थाले । त्यही समयको सेरोफेरोमा मिडिया र मनोरञ्जन उद्योगमा महिलाको उपस्थिति हुन थाल्यो । 

यही मेहोरमा सन् १९६० कै दशकमा रुक्साना नामले परिचित हमिदा असिल (सन् १९४०–२०२०) आफूतिर दुनियाँको ध्यान खिच्न सफल भइन् । उनले पहिलो महिला पप गायिकाको रूपमा आफ्नो सार्वजनिक चिनारी बनाइन् । उनी आफ्नो कला र गलाको माध्यमबाट चर्चाको शिखरमा पुगिन् । उनको ग्याल्मरयुक्त तस्बिर अखबारमा छापिए । बीबीसीमा अन्तरवार्ता दिइन् । 

पप गायिका रुक्साना

रुक्सानाले गायन क्षेत्रमा तहल्का मच्चाइरहेको बेला काबुलमा पश्चिमी जीवनशैलीको झल्को दिने नाइट क्लब र डिस्को खुल्न थाले, जहाँ मनोरञ्जन लिन पुग्ने प्रवृत्ति बढेर गयो । सन् १९६० देखि १९७० को दशकमा काबुलको रात्रिजीवन युरोपको कुनै शहरभन्दा कम नभएको पश्चिमी गोलार्द्धका लेखकहरूले चर्चा गरेका छन् । 

१९६० देखि १९७० को कालखण्ड अफगानिस्तान तुलनात्मक रूपमा शान्त मुलुक थियो । त्यसबेला त्यो मुलुक अर्को कारणले पनि चर्चित थियो । त्यो हो, ‘हिप्पी ट्रेल’ । त्यस कालखण्डमा अमेरिका, क्यानडा, बेलायतलगायतका हिप्पीहरू स्थलमार्ग प्रयोग गरेर टर्कीबाट इरान हुँदै अफगानिस्तान आइपुग्थे ।

अफगानिस्तानमा स्वतन्त्र किसिमले विचरण गरेपछि ती हिप्पीहरू पाकिस्तान, भारत, नेपाल, बङ्गलादेश हुँदै थाइल्याण्डसम्म पुग्थे । उनीहरू गाँजाजस्ता मादक पदार्थ सेवन गर्दै मानवतावादी दृष्टिकोणसहित स्वतन्त्र जीवन बिताउन रुचाउने समुदाय हुन् । 

हिप्पी समुदायले अफगानिस्तानलाई ‘हिप्पी ट्रेल’ को एउटा प्रमुख गन्तव्यको रूपमा रोज्नुले पनि त्यस समयको अफगानी जीवनशैलीमा स्वतन्त्रताको पारो बढ्दै गएको सङ्केत गर्छ । 

अफगानी समाज क्रमिक रूपमा स्वतन्त्रताको मार्गमा अघि बढिरहेकै बेला सन् १९७८ अफगानिस्तानमा कम्युनिष्ट शासकले सत्ता हातमा लिए । कम्युनिष्ट सत्ताले पनि महिला स्वतन्त्रतालाई कायमै राख्यो । कम्युनिष्ट प्रधानमन्त्री नुर महम्मद तरकी (सन् १९१७–१९७९) को सरकारले महिलालाई समान अधिकार दियो । तरकी नेतृत्वको सरकारले महिलालाई आफ्नो जीवनसाथी र जीवनवृत्ति (करिअर) रोज्ने अधिकार दियो ।

यस्तैमा सन् १९७९ सोभियत सङ्घले अफगानिस्तानमा हस्तक्षेप गर्‍यो । यसपछि त्यहाँ दुःखका दिन शुरु भयो । देश युद्धभूमिमा परिणत भयो । महिला स्वतन्त्रतालगायत धेरै अधिकार कटौती हुन थाले । यसपछि अफगानी समाजमा फक्रँदै गएको महिला स्वतन्त्रता विस्तारै कृष्णपक्षको चन्द्रमा जस्तै बन्न थाल्यो ।

सन् १९२७ ताका अफगानी महिला

अफगानी भूमिमा सोभियत सैनिकको बुट बजारिएको एक दशकपछि सन् १९८९ अफगानिस्तानले सोभियत सङ्घको खुनी पञ्जाबाट मुक्ति पायो । तर, देशमा अशान्तिको आगो भने दन्किरह्यो । मुजाहिद्दीनजस्ता कट्टरपन्थी समूह जन्मिए । उनीहरूले देशमा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहे । यसबाट महिला सबैभन्दा बढी मारमा परे ।

मुलुक कट्टरपन्थीहरूको रणभूमि बनिरहेको बेला सन् १९९६ मा तालिबान नामक चरमपन्थीहरू शासनसत्ता हातमा लिन सफल भए । उनीहरूको शासन सन् २००१ सम्म जारी रह्यो । पाँच वर्षको अवधिमा धेरै कुरा बिग्रिसकेको थियो । महिला स्वतन्त्रता धेरै हदसम्म हरण भइसकेको थियो ।

यतिञ्जेलसम्म त्यहाँको सामाजिक जीवनमा धेरै नकारात्मक परिवर्तन आइसकेको थियो । महिलाहरूलाई पुनः बुर्काभित्रै लुकाउन थालियो । छोरीहरूलाई स्कुलबाट जबरजस्ती निकालेर घरको चौघेरामा सीमित तुल्याउन थालियो । कामकाजी महिलाहरूलाई पुनः घरगृहस्थीको युगमा फर्काइयो ।

दुई दशकको अवधिपछि उही चरमपन्थी तालिबानहरूको हातमा मुलुकको बागडोर पुगेको छ । उनीहरूको चरित्र र स्वभाव विगतको भन्दा केही सुध्रिएको हो कि भन्ने भनाइ पनि छ । तर, उनीहरूको व्यवहारमा कुनै तात्विक परिवर्तन आएकोचाहिँ देखिन्न ।


यस्तो विषम परिस्थितिमा विगतमा अफगानी महिलाहरूले उपभोग गरेको स्वतन्त्रता एउटा फगत क्षणभङ्गुरपूर्ण मीठो सपनाजस्तो मात्र देखिएको छ । स्वतन्त्रता उपभोग गर्ने अफगानी महिलाहरूको तिर्खा कहिले मेटिने हो ? यसको सहज उत्तर भेट्टाउन अतिशय कठिन छ । 

['फेसनको केन्द्र थियो अफगानिस्तान' शीर्षकमा युवामञ्च (असोज, २०७८) मा प्रकाशित ।  तस्बिर: गुगल । ]


No comments:

Post a Comment