Sunday, February 13, 2022

नेपाली गाउँबस्तीका डोबहरू


–यमबहादुर दुरा

भ्रमणबारे एउटा कथन छ—कुनै कुराबारे हजारपटक सुन्नुभन्दा एकपटक देख्नु उत्तम  । ईश्वीको पाँचौँ शताब्दीतिर धर्मशास्त्री सेन्ट अगस्टिनल यही कथनलाई बल पुग्ने गरीे एउटा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनको विश्वचर्चित भनाइ छ, ‘विश्व एउटा पुस्तक हो, भ्रमण नगर्नेले दुनियाँरूपी पुस्तकको एउटा पानामात्र पढ्छ ।’ 

यी भनाइले भ्रमण कति महत्त्वपूर्ण छ भन्ने तथ्य प्रष्ट्याउँछन् । 

नेपाल पनि प्राचीन कालदेखि नै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहँदै आएको तथ्य छिपेको छैन । हालका दिनमा नेपालमा आन्तरिक पर्यटनकर्मको ग्राफ बढ्दो छ । 

यससँगै देशमा भ्रमण संस्कृति फस्टाउँदै गएको देखिन्छ । ‘वल्र्ड ट्राभल एण्ड टुरिजम’ का अनुसार नेपालको पर्यटन उद्योगमा हुने आम्दानीको कुल हिस्सामध्ये ५६ प्रतिशत हिस्सा आन्तरिक पर्यटनले ओगट्छ, जुन अर्थतन्त्र र स्वदेश चिन्ने दृष्टिले चानचुने विषय होइन ।

नयाँ नयाँ ठाउँ घुम्ने र ती ठाउँमा सङ्गालिएका यात्रानुभूतिहरूलाई शब्दचित्र, तस्बिर र भिडियोमार्पmत जनसमक्ष पस्कने प्रवृत्ति नेपालमा पनि बढदो छ । यसलाई यात्रावृत्तान्तकै एक हिस्सा मान्न सकिएला । त्यसो त, यात्रावृत्तान्त नेपाली साहित्यिक वृत्तमा कुनै अपरिचित विधा होइन । नेपाली साहित्यमा नियात्रा विधा समृद्ध नै देखिन्छ ।

यायावर अनुभूतिहरूलाई शब्दचित्रमा उतार्ने शब्दशिल्पीहरू नेपालमा बाक्लै भेटिन्छन् । आधुनिक समयमा पूर्णप्रकाश नेपाल ‘यात्री’, घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमानजस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाएका छन् ।



यिनै यात्रावृत्तान्तकारहरूका पदचाप पछ्याउँदै प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा, युवराज नयाँघरेलगायत थुप्रै शब्दशिल्पीहरूले यात्रावृत्तान्तलाई उर्वर बनाउन प्रयत्नशील छन् । यही लहरमा पोखरालाई कार्यक्षेत्र बनाएर लेखनकर्ममा जुटिरहेका सर्जक तिलकप्रसाद पुन ‘पुर्जा’ पनि मिसिन पुगेका छन् । उनी यात्रावृत्तान्तसम्बन्धी दुईटा कोसेली ‘साइनो’ र ‘बस्तीभित्र’ एकैचोटि सार्वजनिक गरेर पाठकसमक्ष आइपुगेका हुन् ।

बाल्यकालको तोतेबोलीयुक्त पलहरू पर्वतको ओख्रेनीमा बिताएका तिलकप्रसाद पुन ‘पुर्जा’ सात वर्षकै उमेरमा आमा–बासँग नवलपरासी बसाइँ सरे । बाल्यकालमै उनका पाइलाहरू पहाडका गौँडा–गल्छेडा र मधेशका समथर जमिनमा चलयमान भए । बसाइँ सराइबाट शुरु भएको उनको भ्रमणशीलता कायमै छ । हाल आएर भ्रमणशील सर्जकका रूपमा दएिका छन् ।  

लोकसंस्कृतिप्रति अनुरागयुक्त रुझान भएका ‘पुर्जा’ को लेखाइमा लोकजीवन छ्याङ्ग गरी उघ्रिन्छ । उनले यसअघि लोकजीवनका आयामहरूलाई समेटेर ‘लोक संस्कृतिका सुसेलीहरू’ (२०६७) कृति पाठकसमक्ष ल्याइसकेका छन् । ‘पुर्जा’ को कृतिमा विचरण गरिरहँदा लोकजीवनका रैथाने अनुभूतिहरू बयली खेल्न आइपुग्छन् ।

विगतमा फुटकर रूपमा मात्र यात्रावृत्तान्तलाई लिपिबद्ध गरेका तिलकप्रसाद पुन ‘पुर्जा’ ले यसपटक भने यात्रानुभूतिहरूलाई पुस्तककार कृतिको रूप दिएका छन् । उनको नवीनतम् पुस्तककार कृति ‘साइनो’ मा स्वदेश भ्रमणका रैथाने अनुभूतिहरू सल्बलाउँछन् अनि लोकजीवनका सुवासहरू केबराको फूलझैं  मगमगाउँछन् । 

कृतिको केन्द्रीय विषयवस्तुले नेपालको नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित होमस्टे, रैथाने जीवनशैली र लोकसंस्कृतिको सेरोफेरोमा फन्को मार्छ । भूगोलको कुरा गर्दा कृतिमा पूर्वमा धनकुटा–सुनसरीदेखि पश्चिम कैलालीसम्मका पहाड तथा तराईका होमस्टे तथा पर्यटकीय गन्तव्यहरूको चर्चा छ । नेपालका होमस्टेसँग जोडिएका अनुभूतिहरूलाई समेटेर लेखिएको यो पहिलो कृति हुनसक्छ । 

कृतिकार चित्रकारितामा पनि हात बसेका प्रतिभा पनि हुन् । उनका चित्रकलामा गाउँबस्तीको झझल्को आउने चमत्कारपूर्ण कलाकारिता भेटिन्छ । आँखै अगाडि गाउँबस्ती उभिँदा गाउँले जीवनमा अभ्यस्त जो–कोही पनि अतीतमोहको मृगमरीचिकातिर धकेलिदिन्छ । यस कृतिमा चाहिँ उनले गाउँबस्तीको रेखाचित्र नभई शब्दचित्र तयार पारेका छन् । 

प्रस्तुत कृतिमा ३७ वटा लेखहरू सङ्ग्रहीत छन्, जसमध्ये आधा जति लेख पोखराका स्थानीय अखबार तथा म्यागजिनमा पूर्वप्रकाशित सामग्री हुन् । कृतिले दरै, पहरी, बोटे, थारू, मुसहरजस्ता जनजातिका जीवनशैलीसँग मितेरी गाँस्छ । कृतिमा लोकजीवनका विविध झाँकीहरूका अतिरिक्त भक्तपुरको जुजुधौ अनि टोखाको चाकु र च्युराको बखान पनि भेटिन्छ ।


कृतिकारले विभिन्न कालखण्डमा आफूले चाहरेका पर्यटकीय गन्तव्यहरूका मनोरम भूदृश्य, स्थानीय जीवनशैली, होमस्टे सञ्चालकहरूले दिएका न्यायो आतिथ्य र तिनै होमस्टेमा भेटिने सुस्वादु परिकारको सहस्र वर्णन गरेका छन् । गाउँठाउँ डुल्दा आफू  र आफ्ना टोलीसमक्ष टक्र्याइएका घरेलु ‘रौसी’ को मादकतापूर्ण सुस्वादुपनको चर्चा पनि कृतिमा छुटाएका छैनन् ।

माथि नै भनियो, ‘पुर्जा’ लोकसंस्कृतिको रुझान भएका सर्जक हुन् । उनको कृतिमा स्थानीय मोहनी लोकभाका र लोकनृत्यको चर्चा भएन भने त्यो अनौठो विषय हुनपुग्छ । उनले लोकभाका र लोकनृत्यले सजिएको स्थानीय जनजातीय लोकसंस्कृतिको भरपूर रसास्वादन गरेका छन्, जुन कुरा उनले कृतिका विभिन्न पृष्ठहरूमा रिठ्ठो नबिराई चर्चा गरेका छन् ।

कृतिमा नजर दौडाइरहँदा कृतिकारले स्थानीय भूगोल, लोकसंस्कृति र लोकमनोविज्ञानलाई हृदयको कुनामा सजाएर राखेको अनुभूति हुन्छ, जुन यात्रावृत्तान्तको आधारभूत व्याकरण पनि हो । पुस्तकको भाषा सहज र सरल छ । कृतिमा एक किसिमको सहज लालित्य पनि छ । पुस्तकमा ठाउँ ठाउँमा उखान–टुक्काहरू प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएको छ । 

यति हुँदाहुँदै पनि कृतिमा सुधार गर्नुपर्ने ठाउँ पर्याप्त छ । कृतिको शैलीगत पक्षमा सुधार अपेक्षित छ । पूर्वप्रकाशित कृति साभार गर्ने तरिकामा एकरूपता छैन । कृतिमा प्रयोग गरिएका कतिपय फोटो–क्याप्सन भद्दामात्र होइन, लयविहीन पनि देखिन्छन् । ठाउँठाउँमा भाषिक अशुद्धि भेटिँदा सम्पादकीय कैची हुनुपर्ने जति निर्मम बन्न नसकेको प्रतीत हुन्छ ।

कतिकारले पुस्तकमा लोकगीतको नाममा बजारू गीतका हरफहरू उद्धरण गरेका छन् । लोकगुञ्जनको नाममा व्यापारिक प्रयोजनका लागि रचिएका अल्लारे पाराका सस्तो गीतलाई पनि उद्धरण गरेको देख्दा कताकता खल्लो लाग्छ । 

लोकजीवनको प्राङ्गारिक विषयवस्तु पस्किरहँदा बीचबीचमा यस्ता ‘व्यापारिक आइटम’ भेटिँदा दाँतमा ढुङ्गा लागेजस्तो अनुभव हुन्छ । कृतिकारले मौलिक शब्दले सजिएका तथा रचनाकार अज्ञात रहेका लोकभाका र वस्तुकरण गरिएका गीतबीच भिन्नता छुट्याउन नसकेका हुन् कि भन्ने भान हुन्छ । 

कृतिको भाषाशैली मूलतः वर्णनात्मक छ, जसमा विश्लेषणात्मक पक्षको अभाव छ । उदाहरणका लागि कृतिकार ठाउँठाउँमा घरेलु ‘रौसी’ स्वादबारे चर्चा गरेका छन् । तर, यसको अर्को लुकेको पक्षको उदघाटन गरेका छैनन् । प्रहरी प्रशासनले बहुराष्ट्रिय कम्पनीको मदिराजन्य उत्पादनलाई खुल्ला छाडेर घरेलु ‘रौसी’ निर्मम तरिकाले घोप्ट्याइदिने घटना कुनै नयाँ होइन । प्रहरी प्रशासनको यस्तो रबैयाबाट स्थानीयस्तरमा भएका सांस्कृतिक हिंसा र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असरबारे विश्लेषणात्मक धारणा राख्ने गजबको अवसर कृतिकारलाई थियो, जुन उनले राम्रैसँग गुमाएका छन् ।

हरेक कृतिमा सुधारको गुञ्जायस रहिरहन्छ । तर पनि, स्थानीय संस्कृति र अर्थतन्त्र केन्द्रमा राखेर मिहिन किसिमले यात्रावृत्तान्त जनसमक्ष आउनु खुसीलाग्दो पक्ष हो । रैथाने यात्रा अनुभूतिहरूलाई पुस्तकाकार कृतिमा उतार्ने कृतिकारको प्रयास प्रशंसनीय छ । 

सगम्रमा भन्दा कृतिले नेपालका होमस्टे तथा सांस्कृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन्छ, जुन नयाँ घुमक्कडहरूका लागि उपयोगी हुनसक्छ । नेपाल आमालाई नयाँ ढङ्गले चिन्ने र चिनाउने दिशामा कृतिकारले दिएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । 

यहाँनेर, एउटा प्रसङ्ग स्मरणीय हुन आउँछ । अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट–मुनले आधुनिक सुखसुविधाबाट बञ्जित अमेरिकी गाउँबस्तीहरूको भ्रमण गरेर सन् १९८२ मा ‘ब्लु हाइवेज’ नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो । 

 समकालीन नेपाली गाउँबस्तीका कथाव्यथा झल्किने गरी विलियम हिट–मुन पुस्तकजस्तो बेस्टसेलर यात्रावृत्तान्त लेख्ने  अवसर छ । यस अवसरले तिलकप्रसाद पुन ‘पुर्जा’ जस्ता भ्रमणशील सर्जकहरूकोबाटो हेरिरहेको पनि हुनसक्छ । 

हिमालखबर । २०७८ साल माघ २९ गते । परिमार्जनसहित ।

No comments:

Post a Comment