Thursday, November 24, 2022

फुटबलको इतिहास

 यमबहादुर दुरा

विश्वका बहुसंख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्षस्थ खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास थोरैमा दुई हजारभन्दा लामो देखिन्छ । ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका (Mesoamerica) मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एजटेक्स -Aztecs) ले त्यसप्रकारको खेललाई चिटाली  (Tchatali)  भनी नामकरण गरेका थिए । ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवानको प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवानको नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त सत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि, यसप्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः ईसापूर्व २५०० तथा ईसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ । रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस (Episkyros) र हरपस्टम -Harpastum)  भनी नामकरण गरेका थिए । यसैगरी, अष्ट्रेलियाली आदिवासीहरूले पनि आफ्नै संस्करणका फुटबल खेल्थे, जसलाई मार्न गुक (Marn gook) भनिन्थ्यो । 

सन् १४०८ मा आएपछि मात्र बेलायत राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अंग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ । रोम, युनान तथा अष्ट्रेलियामा प्रचलित फुटबलको आदिम संस्करणबारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरणहरू भने उपलब्ध छैनन् ।

हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु (cuju) नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो । त्यसलाई नै बहुसंख्यक अध्येताले फुटबलको आदिम रूप मानन्छन् । त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँस हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ । यसको गोलाइ ३० देखि ४० सेन्टिमिटर हुन्थ्यो । खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो । यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गरिन्थ्यो । यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ ।

कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी (kemari) जापानमा प्रचलनमा आयो । चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको छ । प्राचीन समयमा जनवारका मूत्राशय (bladder), नरिवालका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुहरूलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ ।


प्राचीन समया फुटबलका असंख्य स्थानीय संस्करणहरू भेटिन्छन् । त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ । कतिपयको भनाइअनुसार एउटै खेलमा १०० भन्दा बढी खेलाडी भिड्थे । खेलमा डण्डाको पनि प्रयोग गरिन्थ्यो । खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो । यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झैझगडा पनि हुन्थे । परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो ।

फुटबलको आदिम संस्करण संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहे पनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ । बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो । त्यस दिन दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ । फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झैझगडा हुने गर्दथे, जसलाई  विभिन्न घटनाक्रमले पुष्टि गर्छन् । फुटबल खेलमा हुने हिंसात्मक झैझगडा र दुर्घटनालाई नियन्त्रण गर्न गर्न विभिन्न कानुनी उपायहरू पनि रचिएको पाइन्छ ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७) ले १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध पाइन्छ । यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७) ले सन् १३४९ फुटबलखेलमाथि नै प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ । पछि फुटबल ऐन अन्तर्गत १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो । तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३) ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखेको पाइन्छ । खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा खेल्ने परिपाटी भने कायमै रह्यो । सन् १६०५ आएरमात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ । 

ईश्वीको १९ औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको पाइन्छ । १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो । समयक्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए । सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फुटबल क्लब हो । यस क्लब फुटबल जगतमा गतिलो ब्रान्ड बन्न पुगेको छ । फुटबलसम्बन्धी घटनाक्रम विकास हुँदै जाँदा सन् १९६३ मा लण्डनमा ‘फुटबल असोसिएसन’ भयो । यससँगै फुटबलको स्थानीय नियमहरूलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य शुरु भयो  । 

फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ३० नोभेम्बर १८७२ मा इङल्याण्ड र स्कटल्याण्डबीच भयो । ग्लास्गो शहरको क्वीनन्स पार्क स्टेडियममा सम्पन्न त्यस म्याच बराबरीमा टुङ्गिएको थियो, जुन चार हजार दर्शकले हेरेका थिए भन्ने भनाइ छ । सन् १८८३ मा पहिलो बहुपक्षीय (धेरै टिम प्रतिस्पर्धी रहेको) खेल भएको थियो, जसमा आयरल्याण्ड, इङल्याण्ड, स्कटल्याण्ड र वेल्सका टिमले भाग लिएका थिए । 

समयक्रममा फुटबलको विश्व संस्थाको रूपमा १२ मे १९०४ विश्व फुटबल महासङ्घ (फिफा) स्थापना भयो, जसमा शुरुमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र स्विटजरल्याण्डको सहभागिता थियो यसको मुख्यालय स्विटजरल्याण्डको ज्युरिखमा रहेको छ । यसको स्थापना भने फ्रान्सको राजधानी पेरिसमा भएको थियो । 

फिफाको सदस्य राष्ट्रहरूको संख्या १११ छ, जुन संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रभन्दा बढी हो । हालसम्म संयुक्त राष्ट्रङ्घको सदस्य राष्ट्रहरूको संख्या कुल संख्या १९३ मात्र रहेको छ । यो एउटा रोचक पक्ष हो, जसले फुटबलको सर्वव्यापकता र लोकप्रियतालाई उजागर गर्छ । यसले हरेक चार वर्षमा फिफा विश्वकप आयोजना गर्छ । यस वर्ष विश्वकपको बाइसौँ शृङ्खला कतारको राजधानी हुने तरखरमा छ ।

फुटबल दङ्गा

खेलकुदलाई मैत्रीभाव विकास गर्ने कडी मान्ने गरिन्छ । यति हुँदाहुँदै पनि फुटबलको इतिहास यस्ता थुप्रै तीता प्रसङ्गहरू छन्, जसमा कुटपिट, झैझगडा र मृत्युका पीडादायी शृङ्खला भेटिन्छन् । फुटबल म्याचमा पैदा हुने झैझगडा र हुलदङ्गाको अभिलेखीकरण कहिलेदेखि भयो भन्नेबारे कुनै यकिन अभिलेख भेटिँदैन । तर, फुटबलसम्बन्धी हुलदङ्गालाई दर्साउने शब्दावली फुटबल हुलिगनिजम् (football hooliganism) भन्ने शब्दावली ईश्वीको १९ औँ शताब्दीमा आएरमात्र प्रयोगमा आएको पाइन्छ । 

फुटबल म्याचमा सामान्यदेखि हिंस्रक हुलदङ्गाका असंख्य दृष्टान्तहरू छन् । हालै (अक्टोबर, २०२२) मा इन्डोनेशियाको पूर्वी जाभास्थित फुटबल रङ्गशालामा दुई टिमका समर्थकबीच भएको दङ्गा–फसादमा १२५ भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विगतदेखि नै इन्डोनेशिया फुटबलसम्बन्धी दङ्गा–फसादका लागि कुख्यात मानिँदै आएको छ । 

इन्डोनेशिया त एउटा दृष्टान्तमात्र हो, संसारका धेरै भागमा यस्ता दङ्गा–फसाद भइरहन्छ । यसै वर्ष गत जनवरीमा क्यामरुनमा सम्पन्न ‘अफ्रिकन कप अब् नेसन्स’ मा दङ्गा भड्कँदा आठजनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका थिए । सन् २०१२ मा इजिप्टमा आयोजित फुटबल प्रतियोगितमा दङ्गा मच्चिँदा ७३ जनाको ज्यान जानुका साथै एक हजार जति घाइते भएका थिए । सन् २००९ मा आइभोरी कोष्टमा आयोजित म्याचमा भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको थियो । 

यसैगरी, २००१ मा घानाको राजधानी अक्रास्थित फुटबल रङ्गशालामा दुई विरोधी गुटहरूबीच भैmझगडा हुँदा १२० जनाको ज्यान गएको थियो । सोही वर्ष दक्षिण अफ्रिकी शहर जोहानेसवर्गस्थित एलिस पार्क रङ्गशालामा सञ्चालित फुटबल म्याचमा झगडा मच्चिँदा ४३ जनाको ज्यान गएको थियो ।

सन् १९९६ मा ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा आयोजित फुटबल म्याचमा विरोधी गुटहरूबीच कुटपिट हुँदा ८० जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दक्षिण अफ्रिकामा आयोजित फुटबल म्याचमा हमला हमला भएपछि भागदौड चल्दा ४२ जनाको मृत्यु भएको थियो । सन् १९८९ मा बेलायतको हिल्सबोरोह रङ्गशालामा अनपेक्षित भीड बढ्दा मच्चिएको भागदौडमा ९६ जनाको ज्यान गएको थियो । सन् १९८५ मा बेल्जियमको राजधानी ब्रसेल्स आयोजित युरोपिन कपको फाइनलमा हिंसा मच्चिँदा ३९ जनाले ज्यान गुमाएका थिए । 

यहाँ प्रस्तुत गरिएका घटनाहरू फुटबलसम्बन्धी दङ्गा–फसादका केही दृष्टान्तमात्र हुन् । विभिन्न कालखण्डमा विश्वका विभिन्न कुनामा साना–ठूला थुप्रै दङ्गा–फसादका भएका छन् । ती सबै दङ्गा–फसादका न यथार्थ विवरण उपलब्ध छ, न त ती सबैको यकिन विवरण पस्कन नै सम्भव छ । 

फुटबल दुर्घटना

सन् १९९२ मा फ्रान्समा फ्रेञ्च कपको सेमिफाइनल भइरहेको बेला फुरियानी स्टेडियम भत्कँदा १८ जनाको ज्यान जानुका साथै दुई हजारभन्दा बढी घाइते भएका थिए । सन् १९८५ मा बेलायतको भ्याली परेड रङ्गशालामा फुटबल म्याच चलिरहँदा आगलागी हुन गई ५६ जनाको ज्यान गएको थियो । 

सन् १९८५ मा युरोपियन कप शुरु लागेको बेलामा बेल्जियमको राजधानी ब्रसेल्समा रङ्गशालाको पर्खाल खस्दा १४ इटालेली समर्थकहरूले ज्यान गुमाउनु परेको थियो । बेलायतको ब्राडफोर्ड सिटीमा म्याच चलिरहँदा एकजना फुटबल फ्यानले असावधानीपूर्ण तरिकाले चुरोटको ठूटो फालिदिँदा आगलागी भयो, जसबाट ५६ जनाको मृत्यु भएको थियो ।

फुटबल म्याचसम्बन्धी अनिष्टकारी घटनामा नेपालको पनि हिस्सेदारी रहेको छ । २०४४ साल फागुन २९ गते (मार्च १२, १९८८) काठमाडौँस्थित दशरथ रङ्गशालामा जनकपुर चुरोट कारखाना र छिमेकी मुलुक बङ्गलादेशको मुक्तिजोद्धा क्लबबीच प्रतिस्पर्धा चलिरहेको थियो । त्यही समयमा भयानक हावाहुरी तथा असिनापानी आएपछि भागदौड चलेको थियो । सोही क्रममा ९३ जनाले ज्यान गुमाएका थिए । त्यस घटनापछि तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

सन् १९५८ मा म्यान्चेष्टर युनाइटेड युरोपियन युरोपियन कपमा सहभागी भई घर फर्कने क्रममा म्युनिखस्थित एयरपोर्टमा इन्धन भरेर उड्ने क्रममा धावनमार्गमा जहाज चिप्लिएर दुर्घटना हुँदा २३ जनाको निधन भएको थियो । फुटबल खेलका क्रममा भएका यस्ता दुःखददायी दुर्घटना केही उदाहरणमात्र हुन् । फुटबल खेलको इतिहासमा यस्ता दुःखदायी घटनाहरूको सूची लामो छ । 

नेपालमा फुटबल

फुटबल नेपालको रैथाने खेल नभए पनि नेपालमा फुटबलको क्रेज कम छैन । विगतदेखि नै नेपालमा फुटबलप्रेमीहरू भेटिन्छन् । विपन्न गाउँबस्तीमा कलिला बच्चाले भोगटेको डल्ला तथा मोजाको फुटबल खेल्ने चलन नयाँ होइन । नेपालमा भारत हुँदै फुटबल खेल भित्रिएको देखिन्छ । नेपालका राणा शासक र भारतमा शासनरत अंग्रेजबीच राम्रो सम्बन्ध थियो । नेपालका खानदानी वर्गले तिनै अंग्रेजहरूबाट फुटबल सिकेको हुनुपर्छ । 

नेपालमा खेलकुदको व्यवस्थित अभिलेख नभएकाले फुटबललगायतका खेलका इतिहास बहुधा अपूरो र विवादास्पद देखिन्छ । गोविन्द रेग्मीले अन्नपूर्ण पोष्ट (चैत १७, २०७४) मा लेखेअनुसार भारत पढ्न गएका नक्सालका सूर्यजङ्ग थापा र ठमेलका नारायणनरसिंह राणाले वि.सं. १९७० मा नेपालमा फुटबल खेल भित्र्याएको थिए । त्यसो त, गाउँबस्तीमा फुटबल खेल भित्र्याउने कार्यमा लाहुरे समुदायको अपरिमित योगदान छ ।

अनौपचारिक स्रोतका अनुसार सन् १९३४ तिरै नेपालमा महवीर ११, जावलाखेल ११, एनआरटी ११ जस्ता फुटबल क्लबहरूको स्थापना भएका थिए । सन् १९४७ मा पदमशमशेरको आदेशमा मदनशमशेरको अगुवाइमा फुटबल समिति गठन भयो । वि.सं. २०११ सालमा ‘शहीद स्मारक ट्रफी’ स्थापना भएको थियो ।

२००८ साल (सन् १९५१) मा नेपालका फुटबल खेलाडीहरूको छाता सङ्ठन ‘अखिल नेपाल फुटबल सङ्घ’ स्थापना भयो । यसले एशियाली फुटबल महासङ्घ, फिफा तथा दक्षिण एशियाली फुटबल सङ्घबाट क्रमशः सन् १९५४, १९७२ र १९९७ मा मान्यता प्राप्त गरेको थियो । नेपालमा नेपालमा स्थानीय तथा राष्ट्रियस्तरका थुप्रै फुटबल टिम गठन भएका छन् ।

नरशमशेर २०२१ सालमा काठमाडौँ र विराटनगरका खेलाडीलाई समावेश गरी तत्कालीन पाकिस्तानको ढाकामा आगाखाँ वर्ल्ड  कप नेपालको सहभागिता जनाए । आरबी सिंहको कप्तानीमा भएको त्यस खेल नेपाल सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो ।  २०२७ सालमा अच्युतकृष्ण खरेलको कप्तानीमा नेपालमा आगाखाँ वर्ल्ड  कपमा सहभागी भएको थियो । यसपछि नेपालले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएको छ । 

हालका दिनमा कभर्ड हलभित्र खेलिने फुटबलको अर्काे संस्करण फुटसल शौखिन खेलाडीहरूबीच निकै लोकप्रिय बन्दै गएको छ । यी विवरण त नेपाली नेपाली फुटबलको संक्षिप्त इतिहासमात्र हो । यसको इतिहास विस्तृत र यथार्थ इतिहास लेखिन बाँकी नै छ ।

फुटबलको विकासक्रमको समयरेखा

ईपू दोस्रो वा तेस्रो शताब्दी : चिनियाँ सेनाद्वारा फुटबलको आदिम रूप आविष्कार

१४२४ः स्कटल्याण्डका राजा जेम्स प्रथमद्वारा फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८६३ः बेलायतमा फुटबल असोसिएसन गठन ।

१८६४ः हातले छोएमा ह्याण्ड हुने व्यवस्था ।

१८७०ः एक टिममा ११ खेलाडी हुनुपर्ने नियम ।

१८७४ः गोल किक र कर्नर किकको नियम ।

१८७५ः पहिलो पटक गोल पोष्टको व्यवस्था ।

१८७७ः फुटबलसम्बन्धी नियम अनुमोदन ।

१८७८ः रेफ्रीद्वारा पहिलो पटक सिटीको प्रयोग 

१८८६ः अफसाइडसम्बन्धी नियममा परिवर्तन

१८८८ः फुटबल लिग गठन ।

१८८८ः पेनाल्टी किकको व्यवस्था ।

१८९५ः महिलाको पहिलो फुटबल प्रतियोगिता ।

१८९१ः लाइनम्यानको व्यवस्था ।

१८९२ः गोलपोष्टमा जाली राख्नुपर्ने नियम लागू ।

१९००ः पहिलो पटक फुटबललाई ओलम्पिक खेलमा सामेल (फ्रान्स, पेरिस) ।

१९०९ः गोलकिपरलाई बेग्लै रङको पोशाक  हुनुपर्ने नियम 

१९३०ः पहिलो पटक फिफा विश्वकप (उरुग्गेको राजधानी मन्टिभिडियो) । 

१९३९ः खेलाडीले नम्बरयुक्त जर्सी लगाउनुपर्ने नियम लागू ।

१९५४ः एशियाली फुटबल महासङ्घ (एफसी) को स्थापना ।

१९६०ः प्रथम युरोपियन च्याम्पियसिप (युरोपिन नेसन्स कप)

१९६६ः फिफा विश्वकपमा पहिलो पटक शुभसङ्केत जनाउने चिह्न (mascot) प्रयोग ।

१९७०ः फिफा विश्वकपमा रातो तथा पहेँलो कार्डको व्यवस्था ।

१९९१ः महिला विश्वकपको प्रारम्भ

(स्रोतः फिफा, फुटबल स्टेडियम्स, टपइण्ड स्पोर्टस् तथा प्लेयर अन साइट ।)

[युवामञ्च । मङ्सिर २०७९ । 'जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो' शीर्षकमा प्रकाशित । परिमार्जित संस्करण । ]

No comments:

Post a Comment