Showing posts with label Festival Fever. Show all posts
Showing posts with label Festival Fever. Show all posts

Wednesday, October 10, 2012

बाल्यकालको दशैं : केही झझल्काहरु

 -यमबहादुर दुरा

जीवनले धेरै कुइनेटाहरु पार गर्दै जाँदा बाल्यकालका क्षणहरु झन् झन् मूल्यवान बन्दै जाँदो रहेछ, झन् झन् सम्झनालायक बन्दै जाँदो रहेछ । ती क्षणहरु अब कहिल्यै पनि फर्केर आउँदैनन् तर पनि हृदयको चित्रपटबाट नमेटिने रहेछ । ढुङ्गा खोपेर लेखिएका अक्षरजस्तै चिरस्थायी हुने रहेछन्, ती क्षणहरु । समयलाई साक्षी राखेर बिताइएका ती घतलाग्दा क्षणहरुलाई चाहेर पनि बिर्सन नसकिने रहेछ। बाल्यकालको दशैं पनि यस्तै बिर्सन नसकिने क्षणहरु हुन् ।
जिन्दगीले धेरै घुम्तीहरु पार गरिसकेको हालको घडीमा पछाडि फर्केर हेर्दा आफ्नै बाल्यकाल देखेर एकप्रकारले अचम्म लाग्छ । सानो छँदा अहिलेको जस्तो यातायात प्रणालीको जालो गाउँबस्तीको भूगोलमा छापिएको थिएन । इन्टरनेट तथा टेलिभिजनजस्ता जादुमय सञ्चार प्रणालीको उपस्थितिको थिएन । बुबा लाहुरे भए पनि उहाँसँग लाहुर जाने मौका पनि मिलेन । यिनै कारणले आफूलाई बाहिरी दुनियाँसँग दाँज्ने कुनै मौका मिलेन ।