Saturday, October 19, 2019

सफा र सुन्दर शहरको तृष्णा

-यमबहादुर दुरा

चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणसँगै मूलतः दुईटा कुरा चर्चामा आए । पहिलो पक्ष, नेपाल–चीनबीचको दौत्य सम्बन्धमा थपिएको भनिएको थप प्रगाढपन । दोस्रो पक्ष, राजधानी शहरका प्रमुख स्थानहरूमा गरिएका सजधजबाट हाम्रा आँखाले गर्न पाएका फरक किसिमको दृश्यपान । यो लेखमा दोस्रो पक्षको परिपरि रहेर सानो विचार–विमर्श गर्ने अभिप्राय राखिएको छ ।

चिनियाँ राष्ट्रपति सि जिङ पिङबाट २०७६ साल असोज २५ देखि २६ गतेसम्म भएको भ्रमणपूर्व राजधानी शहरका मूल सडक सजधजपूर्ण पारिए । एयरपोर्ट नजिकको तीनकुनेमा त कृत्रिम डाँडो नै बनाइयो । राजधानी शहरले उच्चस्तरीय भ्रमण वा उच्चस्तरीय सम्मेलनका क्रममा अक्कलझुक्कल रूप फेर्ने गर्छ ।

निकटपूर्व कालखण्डमा घटित यस्ता घटनाक्रमलाई सम्झने हो भने २०७१ साल साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, त्यसै साल मङ्सिरमा सम्पन्न अठारौं सार्क सम्मेलन र २०७५ साल भदौमा सम्पन्न बिम्सटेक सम्मेलनमा राजधानीले धेरथोर रूप फेरेको थियो । तर, रातारात हुने यसप्रकारको रूप फेराइ क्षणिक हुन्छ, नितान्त क्षणभङ्गुरपूर्ण हुन्छ । यसबाट शहरको दीगो विकासमा खासै योगदान पुग्दैन । बरू, यसले हिन्दी कहावतको सम्झना गराउँछ, ‘दो दिनकी चाँदनी रात, और फिर अन्धेरा’ ।

अघि पछि धुवाँ–धूलो, हिलो, अव्यवस्था र प्रदूषण राजधानी शहरको मूलभूत विशेषता हुन्, जुन जुन शहरवासी हरदिन भोग्दै आएका छन् । ट्राफिक नियमको बेवास्ता, शहरका खुल्ला स्थानहरूको क्रमिक अतिक्रमण, अलपत्र अवस्थामा रहेका कतिपय भित्री सडक, सडक विस्तारपछि पनि सडककै बीचैबीचमा ठडिएका बिजुलीको पोल आदिले शहरको यथार्थ हविगत दर्साउँछन् ।

सडक विस्तार गर्ने नाममा पैदलयात्रु र साइकलयात्रुप्रति गरिएको बेवास्ताले अर्को दारुण कथाको कहालीलाग्दो अध्याय थपेको छ । सुरक्षित सडकको अवधारणालाई चुनौती दिएको प्रतीत हुन्छ ।  विशेष अवस्थामा मात्र राजधानीले कस्मेटिक लिपघस पाएर रूप बदल्छ । सारमा सडक र शहरको अवस्थामा कुनै परिवर्तन आएको हुँदैन । यथार्थमा हाम्रा शहर साँचो अर्थमा शहर बन्न सकेका छैनन् ।

अब प्रश्न तेर्सिन्छ,  हाम्रा शहरलाई कहिलेसम्म कुरूप बन्न दिइरहने ? शहरको कुरूपपनलाई कस्मेटिक सौन्दर्यबाट कहिलेसम्म छोपिरहने ? सङ्घीय राजधानीलगायत हाम्रा सबै शहरलाई सदावहार सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना किन अघि सारिँदैन वा यस्ता योजना किन कार्यान्वयन गरिँदैनन् ? यी प्रश्नमा देशका तमाम नीतिनिर्माता र जनप्रतिनिधिले जति घोत्लिनुपर्ने हो, त्यति घोत्लिएका छैनन् भन्ने अनुभूति मिल्छ ।

सफासुग्घर र सुन्दर शहरसँग नागरिकको स्वास्थ्य, मनोविज्ञान र सामूहिक इज्जत–प्रतिष्ठा गाँसिएका हुन्छन् । तर, यही मूलभूत चासोका विषयमा नीतिनिर्माता र जिम्मेवार पदाधिकारी उदसीनझैं देखिन्छन् । शहरको अवस्था जे जस्तो भए पनि राजधानी शहरमा मोनोरेल दौडाउने योजना राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहन्छ । मोनोरेलभन्दा अघि शहरलाई सफासुग्घर र सुन्दर बनाउने योजनाले नै प्राथमिकता पाउनुपर्छ । सफासुग्घर र सुन्दर शहर पहिलो प्राथमिकता बन्नुपर्छ । मोनोरेलजस्ता भौतिक वैभवले यसलाई पछ्याउनुपर्छ ।

विडम्बनावश, सफासुग्घर र सुन्दर बनाउने विषयमा खासै चर्चा भएको पाइँदैन । यसबारे कतै गोष्ठी वा विचार विमर्श भएको पाइँदैन । यस्तो लाग्छ, यस्ता विषय कसैको प्राथमिकतामा पर्दैन । शहरलाई सफासुग्घर र सुन्दर बनाउनेबारे कहीँ कतै विचार विमर्श भएको रहेछ भने यस्ता विषयसँग सम्बन्धित कागजात पब्लिक डोमेनमा भेटिँदैनन् ।

सांस्कृतिक दृष्टिले काठमाडौं दर्शनीय शहर मानिए पनि वातावरणीय दृष्टिले सोचनीय छ । सञ्चार माध्यममा आएका रिपोर्टका अनुसार काठमाडौं विश्वका बढी प्रदूषित शहरमा सातौँ स्थानमा आउँछ । वायु प्रदूषणलगायतका तमाम वातावरणीय समस्याबाट शहरवासीको स्वास्थ्यमा नकारात्मक असर परेका समाचार सञ्चार माध्यममा आइरहन्छन् ।

वायु प्रदूषणले मुटु, फोक्सो, मिर्गौला, दिमाग, स्नायु प्रणाली शरीरका अन्य अङ्गहरूमा गम्भीर असर पार्ने तथ्य विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । वायु प्रदूषणले स्वासप्रस्वाससम्बन्धी समस्या र क्यान्सर निम्त्याइरहेको रिपोर्ट आइरहेका छन् । स्थिति भयावह छ ।

हाम्रो सङ्घीय राजधानी फोहरमैला, प्रदूषण र अव्यवस्थाबाट गुज्रिरहेको बेला विश्वका कतिपय शहरले सफासुग्घर र सुन्दरपनमा नाम कमाएका छन् । शहर, प्रविधि र नागरिकबारे सामग्री पस्कने वेबसाइट ‘सिटी आइओ’ का अनुसार संसारमा दश सफासुग्घर शहरमा ह्यमबर्ग, सिकागो, होनुलुलु, हेलसिन्की, भियना, रिकेभेक (आइसल्याण्डको राजधानी) जिनिभा, क्युरिटिबा (ब्राजिल) र सिङ्गापुर पर्छन् । ‘यु सिटीगाइड्स’ वेबसाइटका अनुसार दुनियाँका दश सुन्दर शहरमा भेनिस, पेरिस, प्राग, लिस्बन, रियो द जेनिरियो, आम्र्सटरडम, फ्लोलेन्स, रोम, बुढापेष्ट र ब्रुस (बेल्जियम) पर्छन् ।

यी शहर त्यत्तिकै सफासुग्घर र सुन्दर बनेका होइनन् । नीतिनिर्माता, जनप्रतिनिधि र नागरिकका सत्प्रयासबाट दुनियाँका अगाडि यी शहर सकारात्मक उदाहरण बनेका हुन् । हामीलाई निरन्तर पछ्याइरहेका दुर्गतिलाई त्यागेर विश्वका सफा र सुन्दर शहरका शहरका गति र मति हामीले कहिले पछ्याउने ? यी शहर जस्ता सकारात्मक उदाहरण बन्नका लागि हाम्रा नीतिनिर्माता र जनप्रतिनिधि प्रयत्नशील छन् कि छैनन् ? प्रयत्नशील छन् भने प्रगति विवरण के छ ? आफै सकारात्मक उदाहरण बन्ने दिशामा अघि बढ्दा समस्या आएका छन् के के हुन् ? ती समस्या हल गर्ने दिशामा के कस्ता प्रयास भएका छन् ? यस्ता विषयमा नीतिनिर्माता र जनप्रतिनिधिले जवाफदेही बन्नैपर्छ ।

देखावटी सौन्दर्यमा लोकधन खर्च गर्नुभन्दा साँचो अर्थमा शहरलाई सफासुग्घर र सुन्दर बनाउने दिशामा नीतिनिर्माता र जनप्रतिनिधिको मति सोझिनुपर्छ । यसमा नागरिकको साथ र सहयोग पनि उत्तिकै अपरिहार्य छ । नागरिकको पसिनाबाट आर्जित लोकधनलाई पानी सरह बगाएर शहरमा क्षणिक र कस्मेटिक सौन्दर्य थप्ने परिपाटी अन्त्य हुनैपर्छ । अब, शहरलाई सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना ल्याउनैपर्छ ।

शहरलाई जनमैत्री–वातावरणमैत्री बनाउन नगरका जिम्मेवार व्यक्तिहरूबाट असल आशय र रचनात्मक व्यवहार प्रदर्शन हुनैपर्छ । हरेक शहरका नगरप्रमुखले आफ्नो शहरलाई सफासुग्घर र सुन्दर बनाउनका लागि विश्वका संघर्षशील नगरप्रमुखका जीवनगाथा अध्ययन गरी सोही बमोजिम आफ्ना नीति र व्यवहारलाई शहरको सर्वतोमुखी विकासमा उपयोग गर्न सिक्नुपर्छ । परिवर्तन सहज छैन तर शहरको सुख र समृद्धिका लागि यथास्थितिलाई नभत्काई सुखै छैन ।

[साभार : संवाद नेपाल । २०७६ साल कात्तिक १ गते ।]

Saturday, October 12, 2019

दशैँ डायरी

-यमबहादुर दुरा

कुरा गाउँघरतिरको हो । गाउँ पुगेर भर्खरैमात्र राजधानी भित्रिएकाले गाउँको सम्झना ताजा छ । सबैले देखेको–भोगेको कुरा हो, गाउँघरको हालत खस्ता छ । कुनै समयमा पहाडमा देशको कुल जनसंख्याको ६० प्रतिशत हिस्सा थियो भने अहिले त्यो संख्या घटेर पिँधमै पुगेको हुनुपर्छ । पहाडको जनसंख्या कति प्रतिशतले घट्यो भन्नेबारे भरपर्दो तथ्याङ्क छैन । यतिचाहिँ निर्धक्क भन्न सकिन्छ, गाउँघर सुनसानप्रायः छ । दशैँले गाउँघरमा चहलपहल ल्याउँछ । तर त्यो चहलपहल क्षणभङ्गुरपूर्ण हुन्छ । दशैँ सकिँदानसकिँदै गाउँघर फेरि पुरानै अवस्थामा फर्किन्छ ।

यसपटक गाउँ पुग्दा एकाध ठाउँमा रोहोटे पिङ भेटिए । पहिले पहिले दशैँमा हरेक गाउँमा रोहोटे पिङ हालिन्थे । साथमा लिङ्गे पिङ पनि हालिन्थे । अहिले समय बदलिएको छ । एकाध गाउँमा रोहोटे पिङ हालिएका छन् । लिङ्गे पिङभन्दा रोहोटे पिङ बनाउन धेरै सर्दाम, जनशक्ति र सीप चाहिन्छ । गाउँमा युवाशक्ति पातलिएको बेलामा रोहोटे पिङ बनाउन सजिलो छैन । अब रोहोटे पिङले डाइनोसरको नियति भोग्ने हो कि भन्ने चिन्ता पो थपिएको छ ।

विगतमा रोहोटे पिङ सामाजिक जमघटको जिउँदोजाग्दो थलो थियो । खासगरी अल्लो गाउँ–पल्लो गाउँका युवायुवती भेला भएर भलाकुसरी गर्ने थलो थियो, रोहोटे पिङ । त्यस किसिमको भलाकुसरीमा जन्मने साङ्गीतिक माहोल स्थानीय परिवेशलाई जीवन्त तुल्याउँथ्यो । रोहोटे पिङमा गुञ्जने लोकभाकामा मन बहलाउन स्थानीय बूढापाका पनि झुम्मिन्थे । यस्ता जमघटले सामाजिक अन्तरघुलन र कलाको विकासमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान दिन्थ्यो ।

अहिले भेटघाटका अनेकन प्लाटफर्महरू थपिएकाले परम्परागत शैलीका प्लाटफर्म खाँचो छैन । समयले परम्परागत शैलीका प्लाटफर्म लाई विगतको अँध्यारो कुनातिर धकेलिदिएको छ । अहिले गाउँ गाउँमा रेकर्डेड म्युजिक पुगेको छ । गाउँका कतिपय आमा समूहले लाउड स्पिकर किन्न थालेका छन् । अब कसैले मुख बाउन पर्दैन । लाउड स्पिकरमा बजेका गीतमा नाचिदिएमात्र पुग्छ । गाउँमा लाउड स्पिकर संस्कृति भित्रिएपछि सबैलाई सजिलो भएको छ । यसले गाउँघरको गला र गलालाई आम रूपमा मार्दै लगेको छ । स्थानीय लोकभाका र रैथाने संस्कृति पलपल मर्दै गएको छ ।

यसपटक गाउँमा पुग्दा संयोगवश कृष्ण चरित्र सोरठी नृत्य र दोहोरीको खाल देख्न पाइयो, जुन आजकल गाउँघरमै दुर्लभ दृश्य बन्न थालेका छन् । गाउँका युवायुवतीहरू आधुनिक शैलीका गीत र नृत्यमा अभ्यस्त हुँदै गएका बेलामा यस्ता सांस्कृतिक कार्यक्रमको साक्षी बन्न पाउनु पनि एक अर्थमा भाग्य नै बन्न पुगेको छ ।

हिजोका दिनमा गाउँमा दूध–दही छेलोखेलो हुन्थ्यो । एकाध परिवारमा मात्र दूध–दही हुँदैनथ्यो । अहिले परिस्थिति उल्टो भएको छ । आजकल एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । दूध–दही दिने गाई–भैँसी पाल्न पाखुरा चाहिन्छ । गाउँका घाँस काट्ने बलशाली पाखुरा अन्यत्र बसाइँ सरेपछि कसले गाई–भैँसी पाल्नु ? अनि कसरी दूध–दही पाउनु ? बरू दूध–दहीको ठाउँ बहुराष्ट्रिय कम्पनीको उत्पादनले लिन थालेका छन् ।

गाउँ डुल्दा कतिपय घरमा कोल्ड ड्रिक्स दिएर स्वागत गरिए । दूध–दहीजस्ता सस्तो, सहज र स्वस्थ्यकर रैथाने उत्पादनको ठाउँमा बहुराष्ट्रिय कम्पनीको महङ्गो र अस्वस्थ्यकर उत्पादन गाउँमा पुग्दा हाम्रो रैथाने उत्पादन र स्थानीय अर्थतन्त्रको हालत के हेला ? मन चसक्क भयो । गाउँमा दूध–दही भेट्न मुस्किल छ तर बियर र अन्य ब्राण्डका मदिरा सजिलै पाइन्छ ।

गाउँका कतिपय वासिन्दा बाहिरी उत्पादनका अतिशय भोगी बनेको पाइयो, जो स्थानीय मदिराभन्दा कम्ती चार गुण महङ्गो छ । स्थानीय आयस्तरले नधान्ने यस्ता उत्पादनप्रतिको मोहले स्थानीय अर्थतन्त्रलाई कता पुर्‍याउला ? दुनियाँ ग्लोबलाइजेसनको सघन प्रक्रियाबाट अघि बढिरहेको परिवर्तनशील घडीमा यस्तो कुरा गरिरहँदा कतै पंक्तिकार आफैं परम्परावादी भएको त होइन ? आफैंलाई प्रश्न सोध्न मन लाग्छ ।

कताकता सरकार नै बहुराष्ट्रिय कम्पनीको एजेन्ट जस्तो लाग्छ । यो कुनै एक सरकारको कुरा होइन, विगतका सबै सरकारको कुरा हो । सरकारले नागरिकको सांस्कृतिक अधिकारको विरुद्ध हुने गरी घरेलु मदिरा निषेध अभियान चलाउँदै आएको छ । प्रहरी–प्रशासन घर घरमा घुसेर अत्याचारपूर्ण किसिमले घरेलु मदिरा नष्ट गर्ने काम सगौरव भइरहेको छ ।

उता, गाउँ गाउँमा बहुराष्ट्रियका उत्पादन पुगेका छन् । यसमा कुनै नियन्त्रण छैन । स्थानीय संस्कृति र अर्थतन्त्रको एक हिस्सा रहेको घरेलु उत्पादनप्रति सरकार हिंस्रक छ । बहुराष्ट्रिय कम्पनीको उत्पादनप्रति घोषित वा अघोषित रूपमा हरेक सरकारले मोहभाव दर्साउँदै आएको छ । घरेलु अर्थतन्त्र मर्दैछ, बहुराष्ट्रिय कम्पनीको अर्थतन्त्र आयातन र प्रभाव बढ्दो छ । कुरा प्रष्ट छ – स्थानीय अर्थतन्त्र हार्दैछ, बहुराष्ट्रिय कम्पनीको उत्पादनले शनैशनै: एकाधिकार जमाउँदै छ ।

गाउँको कृषि अर्थतन्त्र धरापमा छ । धेरै जमिन बाँझो पल्टिएका छन् । तर, कतिपयले खेताला लगाएर भए पनि खेतीबाली लगाउन छाडेका छैनन् । उनीहरूलाई पूरापुर जानकारी छ, कृषि उत्पादनभन्दा खर्च धेरै छ । तुलनात्मक रूपमा कृषि मजदुर महंगो छ । काममा लगाउन खेतालालाई धेरै खुसी तुल्याउनुपर्ने अवस्था छ । कुरा प्रष्ट छ, यस्तो कृषि प्रणाली धेरैबेर टिक्नेवाला छैन ।

गाउँमा निराशामात्र छैन, आशालाग्दा पक्ष पनि छन् । विगतमा पेन्सिलको धर्साजस्तो मात्र देखिने ग्रामीण सडक स्तरोन्नति भएका छन् । चिल्ला कार पुग्न नसके पनि धेरैजसो ग्रामीण सडकमा बाह्रैकाल बस दौडन थालेका छन् । तुर्लुङकोटमा होमस्टे रहेका कतिपय घरमा वाइफाइ जडान गरिएका छन् । यसबाट कतिपय ग्रामीण समुदाय चौबीसै घण्टा सूचना र सञ्चारको पहुँचमा रहने वातावरण तयार भएको छ ।

विकेन्द्रीकरणको चर्को भोकलाई शान्त पार्दै देशमा सङ्घीय प्रणाली लागू भइसकेको अवस्थामा स्थानीय सरकार अधिकार सम्पन्न छ । विगतको तुलनमा ठूलो धनराशीको बजेट गाउँमा पुग्न थालेको छ । नयाँ सरकारले अघि सारेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ले गाउँघरमा रोजगारको अवसर सिर्जना गर्ने नीति लिएको छ ।

यी आशालाग्दा परिदृश्य आँखासामु दृष्टिगोचर हुँदाहुँदै पनि अघि नै रित्तो बनिसकेको गाउँघरमा सहकाल ल्याउन सजिलो छैन । आन्तरिक बसाइँ सराइको शहरमुखी ट्रेन्डलाई हेर्दा गाउँघरमा हरप्रकारको सहकाल फर्कन्छ भन्न कठिन छ । भोलिका दिनमा गाउँघर पूरापुर रित्तो हुन्छ वा फेरि भरिलो बन्छ ? यसबारे भविष्यवाणी गर्न गाह्रो छ । तर पनि गाउँको जनशक्ति गाउँमै अडिने वातावरण तयार नहुँदासम्म गाउँमा सहकाल आउँछ भन्न मुस्किल छ । बाँकी उत्तर समयले दिनेछ ।

[साभार : लोकसंवाद । २०७६ साल असोज २४ गते ।]

Tuesday, October 1, 2019

पत्रकारिता समाधान अवधारणा

-यमबहादुर दुरा

पत्रकारिता समाजका लागि अक्सिजनजस्तै बन्दै आएको छ । पत्रकारिताको उपस्थितिबिना आधुनिक समाजको कल्पना गर्नसम्म पनि गाह्रो छ । शहरका वासिन्दाको सेयर कारोबारदेखि गाउँका किसानको नगदेबालीको बजारसम्मका तमाम गतिविधिमा पत्रकारिताको निर्णायक भूमिका रहँदै आएको छ । शहरमा भर्खरै भित्रिएका ब्ल्कबष्टर चलचित्रदेखि सङ्गीतको नवीनतम् ट्रेन्डसम्मका यावत समसामयिक जानकारी वा सूचना पत्रकारिताले नै पस्किेरहेको छ । 

पत्रकारिता समाजोपयोगी कर्ममा सरिक हुँदाहुँदै पनि अन्य पेशा–व्यवसायझैं यो पनि आलोचनामुक्त भने छैन । पत्रकारिता आलोचनाको निसाना बन्नुका विविध कारण छन् । पत्रकारिताले एउटा आरोप निरन्तर खेपिरहेको छ — यसले समाजका घटनाक्रम वा समस्याबारे निख्लो सूचनामात्र सम्प्रेषण गर्छ । कहिलेकाहीँ त यतिसम्म गर्छ, निराश शैलीमा समाचार पस्किएर समाजलाई  नै उदास तुल्याइदिन्छ । यसले समाजले भोगिरहेको साझा समस्याबाट कसरी  मुक्ति पाउने भन्नेबारे उतिसाह्रो वास्ता गर्दैन ।

यो विशुद्ध आरोपमात्र हो वा वास्तविकता पनि हो ? तर्क–वितर्क गर्न सकिने धेरै ठाउँ छ । यद्यपि, यसप्रकारको आरोपबाट छुटकारा पाउनका लागि पत्रकारिता वृत्त चिन्तित नभएको होइन । पत्रकारितालाई समाजको पहरेदारमात्र नभई अनन्य मित्र बनाउने असल प्रयत्नहरू पनि नभएका होइनन् । खोजी पत्रकारिता (इनभेष्टिगेटिभ जर्नलिज्म), विकास पत्रकारिता, सिभिक पत्रकारिता, रचनात्मक पत्रकारिता (क्रियटिभ जर्नलिज्म), नागरिक पत्रकारिता (सिटिजन जर्नलिज्म) जस्ता पत्रकारिताका अनेकन् विधा यिनै प्रयत्नका प्रतिफल हुन् ।

पत्रकारिताले नागरिकका समस्याबारे निख्लो र शुष्क रिपोर्टिङमात्र गरिरहेकको छ भन्न मिल्दैन ।  पत्रकारिता क्षेत्रले नागरिकले भोगिरहेका समस्या समाधानका उपायसहितका असल प्रयत्न गरेको छ । यसका थुप्रै दृष्टान्त छन् । यसको एउटा दृष्टान्तको रूपमा समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) लाई लिन सकिन्छ । सन् १९९८ तिर अस्तित्वमा आएको समाधान पत्रकारिताले कुनै निश्चित समस्याबारे समाचारमात्र दिँदैन, समाधानका उपायहरू पनि बताउँछ । अर्को शब्दमा भन्दा यसले समस्याको उठानमात्र गदैन, सम्बन्धित समस्याको बैठान गर्ने दिशामा पनि पर्याप्त काम गर्छ ।

समस्या उजागर गरेर समस्यामाथि समस्याको थुप्रो बढाउने तर समाधानको उपाय नखोज्ने प्रवृत्तिबाट सबैजना वाक्क भएपछि समाधान पत्रकारिताको अवधारणा मौलाएको देखिन्छ । अमेरिकाको वासिङ्टन स्टेटमा शिक्षा क्षेत्रमा देखापरेका समस्याबारे एकोहोरो रिपोर्टिङ भइरहेको बेलामा ‘द सियाटल टाइम्स’ ले समाधानका उपायसहित रिपोर्टिङ गरेपछि समाधान पत्रकारिता अस्तित्वमा आएको पाइन्छ । यद्यपि, यसबारे मतमतान्तर पनि छ ।

समाधान पत्रकारिताले के के गर्छ ? यहाँनेर, पत्रकारिता क्षेत्रमा काम गरेर ख्याति कमाएको अमेरिकी संस्था ‘पोइन्टर इन्स्टिच्युट’ का तत्कालीन निर्देशक भिकी क्रुगरको भनाइ उद्धरण गर्नु सान्दर्भिक हुन आउँछ । क्रुगरको दृष्टिमा समाधान पत्रकारिताले पत्रकारिताको उच्चतम् मर्यादा र आदर्शलाई आत्मासात गर्दै समाजमा असल प्रभाव छाड्ने किसिमको रिपोर्टिङ गर्छ । उनका अनुसार यसले समाजमा रचनात्मक बहस पैदा गर्छ, नागरिकलाई सबल बनाउँछ, गलत सोचाइलाई चिर्छ र समाजलाई उदासीन हुनबाट जोगाउँछ । समाधान पत्रकारिताले समस्याको मूलभूत कारण पत्ता लगाई समस्या निराकरणको उपाय खोज्छ ।

समाधान पत्रकारिताले समाजलाई फुटपरस्त नभई एकताबद्ध बनाउँछ । यसले सही र उपयोगी सूचना प्रवाह गरेर नागरिकलाई आफैं सच्चिने उपाय प्रदान गर्छ । समाजलाई उपयोगी अन्तरदृष्टि दिन्छ । यसले समाजलाई गाँजिरहेको सामाजिक रोगको निदान र उपचारमा सहयोग गर्छ । समस्या समाधानका लागि उपयोगी मोडल प्रस्तुत गर्छ । समस्यालाई रचनात्मक किसिले समाधान गर्नका लागि नयाँ लेन्स प्रदान गर्छ । यस किसिमको पत्रकारिता स्थानीय परिवेशमा बढी प्रभावकारी मानिन्छ ।

कतिपयको दृष्टिमा समाधान पत्रकारिता कुनै नयाँ विषय वा विधा होइन । यो भइरहेकै पत्रकारिताको अभ्यासलाई अझ बढी शुद्धीकरण र स्तरीकरण गर्ने कार्यमात्र हो । अर्को शब्दमा भन्दा विद्यमान पत्रकारिताको अभ्यासलाई अझ बढी जनमुखी र समाधानमुखी बनाउने प्रयत्न हो । यसका लागि पत्रकार रचनात्मक, परिश्रमी र अध्ययनशील हुनुपर्छ । अनिमात्र समाधान पत्रकारिताको ढोका खुल्छ । यसका लागि पत्रकारमा सकारात्मक सोच र असल मनोवृत्ति पनि नभई नहुने पक्ष हुन् ।

प्रश्न उठ्छ, समाधान पत्रकारितालाई नेपालको सन्दर्भमा कसरी ढाल्न सकिएला ? हामीकहाँ अनेकन् गम्भीर मामिलाहरू देखापरेका छन्, जसको तत्क्षण समाधान आवश्यक छ । जस्तै : आत्माहत्याको बढ्दो ग्राफ, युवाहरूमा लागू औषधको दुरुपयोग आदि । नेपालमा हुने आत्माहत्यालाई एउटा दृष्टान्तको रूपमा लिऔँ । नेपालमा आत्महत्या मृत्युको मुख्य कारणमध्ये एक मानिएको छ । यहाँ हरेक वर्ष लगभग चार हजार व्यक्तिले आत्महत्या गर्ने गरेको अभिलेख पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले आत्माहत्या हुने देशहरूको सूचीमा नेपाललाई एक सय २६ औं स्थानमा राखेको छ । नेपालमा हुने आत्माहत्यालाई न्यूनीकरण गर्न समाधान पत्रकारिताको लेन्सबाट हेर्दा पत्रकारले कस्तो भूमिका खेल्नुपर्ला ? यहाँनेर, आत्माहत्याको विकराल अवस्थाबारे निख्लो रिपोर्टिङमात्र गरेरमात्र पुग्दैन, यसको मूल कारण पत्ता लगाउँदै यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे सरल र सहज भाषामा उपयोगी उपाय पनि सुझाउनुपर्छ । आत्माहत्या नियन्त्रणमा भएका असल अभ्यास तथा मोडल प्रस्तुत गर्नुपर्छ ।

तर, यस्तो काम सहज छैन । यसका लागि पत्रकारले धेरै परिश्रम गर्नुपर्ने हुन्छ । ऊ धेरै रचनात्मक र अध्ययनशील बन्नुपर्छ । अनिमात्र समस्याको जरोमा पुगेर समस्याको हल गर्नका लागि सुझाव दिनसक्ने हैसियतमा पुग्छ । यस क्रममा पत्रकारले खोजी रिपोर्टिङदेखि गहन रिपोर्टिङ (डेप्थ रिपोर्टिङ) सम्मका पत्रकारिताका सबै सीप र शोध विधिलाई आवश्यकता अनुसार उपयोगमा ल्याउनुपर्छ । समस्याको सूक्ष्मतम् विश्लेषण गरी परिस्थितिको गाम्भीर्य पत्ता लगाउनुपर्छ ।

समाधान पत्रकारिताले विषयवस्तुलाई मात्र हेर्दैन । यसले हाम्रो सन्देश बोकेर अडियन्स (स्रोता, दर्शक र पाठक) कहाँ पुग्ने भाषालाई पनि ख्याल गर्छ । समाधान पत्रकारिताको सम्यक भाषालाई मान्यता दिन्छ । हामी कतिपय सञ्चार माध्यममा अत्यन्त विषाक्त अभिव्यक्ति देख्छौँ । गालीगलौज र आरोप–प्रत्यारोपका निकृष्टतम् भाषा प्रयोग भएको पाउँछौँ । यस्ता अभिव्यक्तिहरूले प्रतिशोधपूर्ण समाज निर्माणमा योगदान दिन्छन्, जसबाट सम्यक समाजको जग भत्किन पुग्छ । समाधान पत्रकारिताले यस्ता भाषालाई त्याज्य विषय ठान्छ ।

पत्रकारिता क्षेत्रमा विद्यमान अशुद्धिहरूलाई हटाउँदै समाधानमूलक पत्रकारितालाई प्रश्रय दिने अभिप्रायले अमेरिकामा ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ नामक संस्था स्थापना भएको छ । सन् २०१३ मा अमेरिकी पत्रकार तथा लेखक डेभिड बन्र्सटिन, नारावादी लेखिका कट्नी मार्टिन र अर्की पत्रकार तथा लेखिका टिना रोजेन्वर्गले यो संस्था स्थापना गर्नुभएको हो । ‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले पत्रकारितालाई शुद्धीकरण गर्ने दिशामा धेरै रचनात्मक काम गर्दै आएको छ । यो संस्थाले पत्रकारहरूलाई समाधान पत्रकारिताबारे प्रशिक्षण दिने तथा मार्गनिर्देश गर्ने काम गरिरहेको छ ।

‘सोल्युसन्स् जर्नलिज्म नेटवर्क’ ले अमेरिकाको ‘टेम्पल युनिभर्सिटी स्कुल अफ मिडिया एण्ड कम्युनिकेसन’ तथा ‘पोइन्टर इन्स्टिच्युट’ सँग मिलेर समाधान पत्रकारिताबारे पाठ््यक्रम पनि तयार पारेर प्रशिक्षण कार्यक्रम अगाडि बढाइसकेको छ । यसले अमेरिकाको ‘द सियाटल टाइम्स’, ‘द क्रिस्चियन साइन्स मोनिटर’, ‘द बोस्टन ग्लोब’, ‘द वल्र्ड’ र ‘सेन्टर फर इन्भेष्टिगेटिभ रिपोर्टिङ’ जस्ता सञ्चार गृहसँग मिलेर समाधान पत्रकारिताको अवधारणालाई मूर्त रूप दिने कार्यमा अघि बढिरहेको छ ।

नेपाली समाज बहुआयमिक समस्यासँग जुधिरहेको बेला पनि यस किसिमको असल प्रयत्न नेपालमा पनि हुन आवश्यक छ । समाजमा विद्यमान समस्याको शुष्क रिपोर्टिङमात्र नगरी समस्या समाधानको रचनात्मक उपायहरू खोजेर प्रस्तुत गर्दा समाजलाई योगदान त पुग्छ नै, खोजखजिन गर्ने र समस्याको गहिराइमा पुग्ने पत्रकारको क्षमता पनि अभिवृद्धि हुन्छ । यसबाट समाज र पत्रकार दुवैलाई लाभ हुन्छ । समाजको बृहत्तर हितका नेपाली पत्रकारिता वृत्तले पनि समाधान पत्रकारितालाई अपनाउनुपर्ने समय आएको छ  ।

[साभार : गोरखापत्र । २०७६ साल असोज १४ गते ।]

Friday, September 20, 2019

सांस्कृतिक विविधताका कसीमा संविधान

-यमबहादुर दुरा

देशमा चलेका लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको निसानीको रूपमा २०७२ साल असोज ३ गते जारी भएको संविधान हामीसमक्ष छ । यो संविधान धेरै अर्थमा प्रगतिशील छ । व्यापक सन्दर्भमा कुरा गर्दा यसले लोकतान्त्रिक मूल्य–मान्यतालाई धेरै हदसम्म स्वीकारेको छ ।

अर्को महत्वपूर्ण कुरा, यसले देशको सांस्कृतिक विविधतालाई आत्मासात गरेको छ, जसलाई देशको संवैधानिक इतिहासमा नयाँ आयाम मान्न सकिन्छ । यो संविधान २०४७ सालमा जारी भएको संविधानभन्दा स्वाभाविक रूपमा अग्रगामी छ ।

यति हुँदाहुँदै पनि यो संविधान खोटरहित भने छैन । यसमा यस्ता धेरै छिद्राहरू छन्, जसबाट अलोकतान्त्रिक सोच र व्यवहारहरू छिर्दैछन् । यहाँनेर सांस्कृतिक विविधताको कुरा गरौँ । देशको सांस्कृतिक विविधता संविधानको शब्दमा झल्किएको छ ।  तर, व्यवहारमा अनुवाद हुन सकिरहेको छैन । यद्यपि, संविधान आफैँमा केही होइन । राज्य सञ्चालकहरूले यसलाई कसरी अर्थर्‍याउँछन्  र यसका मर्म र भावनाहरूलाई कसरी व्यवहारमा उतार्छन् भन्ने सवाफ महत्वपूर्ण हो ।

नेपालको संविधान, २०७२ लाई सांस्कृतिक विविधताको कोणबाट हेर्दा मूलतः दुईवटा पक्षहरूलाई चिरफार गर्नुपर्ने देखिन्छ । पहिलो, संविधान निर्माणको चरणमा अलोकतान्त्रिक चालबाजी । दोस्रो, संविधान जारी भाइसकेपछि शासनसत्ताको बागडोर सम्हाल्नेहरूले संविधानको मर्म र भावनाहरूलाई कसरी र कुन रूपमा व्यवहारिक जामा पहिर्‍याउँदै  भन्ने सवाल ।

संविधान निर्माणकै चरणमा देशको सांस्कृतिक विविधतालाई धक्का पुर्‍याउने अभ्यासहरू कतै पर्दापछाडि  त कतै खुलेआम भए । पहिलो संविधानसभाका क्रममा गठित समितिहरूको कतिपय महत्वपूर्ण सिफारिसलाई संविधानमा समावेश गरिएन । यस क्रममा आदिवासी जनजाति समुदायलाई आत्मानिर्णयको अधिकार दिने कुरालाई सर्वाधिक आतङ्क र त्रासको विषय बनाइयो । यस्ता विषयलाई समावेश गर्ने कुरा त परै जाओस्, छलफल गर्नुसमेत देशलाई काटमारको भूमरीमा धकेल्नु हो भनेर चित्रण गरियो ।

यही आधारमा सांस्कृतिक पहिचानका आधारमा प्रदेश निर्माण गर्ने आधारहरू भत्काइए । विगतमा उत्पीडन र बहिष्करणमा परेको समुदायको नामबाट प्रदेशको नामकरण गर्ने प्रावधानलाई ‘जातिवादी सोच’ करार गरेर शुरुमै लत्याइयो । सांस्कृतिक पहिचानको पक्षमा वकालत गर्नेहरूलाई जातिवादी कित्तामा धकेलेर दुत्कार्ने काम भयो ।

तर, उत्पीडन र दमनमा परेको समुदायको नामबाट प्रदेशको नामकरण जमर्कोलाई दुत्कार्दा राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई नै धक्का पुग्छ भन्ने सर्वजनीन तथ्यलाई ख्यालै गरिएन । सांस्कृतिक पहिचानको आधारमा प्रदेशको खाका कोर्ने कार्यलाई कुनै निश्चित समुदायको अस्तित्वमाथिको हमलाको रूपमा बुझ्ने र बुझाउने प्रयास भयो ।

देशको सिङ्गो प्रारूप देशभित्रका तमाम समुदायको गठजोडबाट तयार भएको हो र देशको भाग्यरेखा कोर्न सबै समुदायको सम्मानपूर्ण प्रतिनिधित्व र हिस्सेदारी आवश्यक छ भन्ने तथ्यलाई बलात् लत्याउने काम भयो, जुन दुर्भाग्यपूर्ण थियो । यहाँनेर, भारतको पश्चिम बङ्गाल, पञ्जाब, तमिलनाडुजस्ता प्रान्त पहिचानको आधारमा खडा भएका हुन् भन्ने तथ्य स्मरणयोग्य छ ।

अर्कोतिर, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विगतमा अभ्यास भइसकेको ५८ प्रतिशत प्रतिनिधित्वलाई घटाएर ४० प्रतिशतमा झारिएको छ । अगाडि नै भएको प्रावधानलाई घटाउँदा संसदमा महिला, आदिवासी जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय, मुस्लिम, अल्पसंख्यकको राजनीतिक प्रतिनिधित्व स्वाभाविक रूपमा पातलिनेछ । यसले समावेशी लोकतन्त्रको सिद्धान्त र मान्यतालाई चुनौती दिएको छ ।

अब राज्य सञ्चालकहरूको सोच र व्यवहारको कुरा गरौँ । संविधानको मर्म र भावना कसरी पालना भइरहेको छ वा कसरी उपेक्षा भइरहेको छ भन्ने थाहा पाउन देशको शासनसत्ताको बागडोर सम्हाल्नेहरूको कार्यशैली र व्यवहारलाई पनि विश्लेषण गर्नुपर्ने हुन्छ ।

नयाँ संविधान लागू भएपछि गठन भएको एकमना सरकारले २०७४ साल चैत १४ गते केही सार्वजनिक बिदा कटौती गर्‍यो । कटौती गरिएका अधिकांश बिदा जनजाति तथा मुस्लिम समुदायले मनाउँदै आएका चाडपर्वहरूसँग सम्बन्धित छन् । यसबाट अन्तरिम संविधानले दिएको सांस्कृतिक अधिकारको महत्वपूर्ण हिस्सा हरण हुन पुग्यो ।

देशको सांस्कृतिक विविधताको श्रीवृद्धिका लागि थप उत्साहपूर्ण कार्यक्रम ल्याउनुपर्नेमा भएकै अधिकार पनि कटौती हुनु कति दुःखद पक्ष होला ? कार्यदिवस बढाउने भनेर यसो गरिएको सरकारबाट स्पष्टीकरण आयो । कार्यदिवस बढाउन नागरिकको सांस्कृतिक अधिकार कटौती गर्नुपर्ने । यो कस्तो लोकतन्त्र हो ?

लोकसेवा आयोगले २०७६ जेठ १५ गते स्थानीय तहका निम्ति नौ हजार एक सय ६१ कर्मचारीका लागि विज्ञापन गर्‍यो । संविधानतः कुल सिटमध्ये संख्यामध्ये ४५ प्रतिशत सिट आरक्षणतर्फ छुट्याउनुपर्ने थियो । यस अनुसार नौ हजार एक सय ६१ को आरक्षित संख्या चार हजार एक सय २२ हुनुपर्ने थियो । तर, त्यो संख्यालाई दुई हजार दुई सय ६२ मा झरियो । यसबाट नीतिनिर्माताहरूको नियत प्रष्ट भयो ।

संविधानप्रदत्त समावेशिताको सिद्धान्तविपरीत हुने गरी निकालिएको त्यस विज्ञापनको चौतर्फी विरोध भयो । आयोगले गल्ती सच्याउने कुनै सङ्केत नदेखाएपछि अदालतमा मुद्दा पर्‍यो । अदालतले पनि आयोगकै पक्षमा फैसला  सुनायो । यसले नीतिनिर्माण तहमा बस्नेहरू चित्त कस्तो छ भन्ने देखाउँछ । राज्यको सिङ्गो संयन्त्र नै समावेशिताको सिद्धान्तविरुद्ध उत्रिएपछि कसको के लाग्छ ?

अब अल्पसंख्यक समुदायको  प्रसङ्ग कोट्याऔँ। अल्पसंख्यक समुदायका निम्ति स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र बनाउने प्रावधान संविधानमा उल्लिखित छ । संविधानको ५६ (५) मा ‘संघीय कानून बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ’ भनिएको छ । यस विषयमा सरकार मौन देखिएको छ ।

यिनीहरू यस्ता प्रतिनिधि प्रसङ्गहरू हुन्, जसले हाम्रो राज्य सञ्चालकहरू देशको सांस्कृतिक विविधताप्रति कति उदार वा कठोर छन् भन्ने कुरालाई सङ्केत गर्छन् । यहाँ, संविधानलाई मात्र दोष दिनु प्रासङ्गिक पनि हुँदैन, तर्कसंगत पनि हुँदैन । संविधान त प्रगतिशील कागजात हो । संविधानका अक्षर ढुङ्गामा खोपिएका वाणी पनि होइनन् । यो परिवर्तनशील हुन्छ । एक अर्थमा यो बदलिँदो युगको सूचक पनि हो ।

संविधान लोकतन्त्रलाई बचाउने आधारमात्र हो । संविधानभन्दा बढी महत्वपूर्ण पक्ष शासनसत्ताको बागडोर सम्हाल्नेहरूको मनोवृत्ति हो । शासनसत्ताको बागडोर सम्हाल्नेहरू जति उदारचित्तका हुन्छन्, संविधानको मर्म र भावना पनि उति नै राम्रो गरी व्यवहारमा रूपान्तरण हुन्छन् ।

राज्य सञ्चालकहरूले उदारचित्त देखाएर देशका सबै समुदायमा अपनत्वको भावना विकास गर्नुपर्ने थियो । त्यसो हुन सकेन । उनीहरू उदारमना नभएसम्म देशको सांस्कृतिक विविधताको सम्मान हुँदैन, अनेकतामा एकता पनि हुन सक्दैन । शासनसत्ताको बागडोर सम्हाल्नेहरू बुझ्न नचाहेको वा बुझ्न  नसकेको मूलभूत कुरा यही हो ।

अब देशलाई सुल्टो दिशामा अघि बढाउने हो भने शासनसत्ताको बागडोर सम्हाल्नेहरू दुईवटा मूलभूत काम नगरी नहुने अवस्था छ : १, संविधानप्रदत्त अधिकार नागरिकलाई उदारमना भएर दिँदै जाने २, सांस्कृतिक विविधताको प्रतिकूल हुने प्रावधानलाई जनमुखी प्रावधानले प्रतिस्थापन गर्ने दिशामा हरदम प्रयासरत रहने । यसका लागि उनीहरूमा फराकिलो सोच र उदारमना व्यवहार अपरिहार्य छ ।

[साभार : लोकसंवाद । २०७६ साल असोज ३ गते ।]

अद्यावधिक: २०७९।०३।२४

Wednesday, September 18, 2019

पत्रकारिताका आयाम

–यमबहादुर दुरा

गतिशीलताको अर्को पत्रकारिता हो । सही समयमा सही र सान्दर्भिक सूचना सम्पे्रषण गर्नु नै पत्रकारिताको मूल धर्म हो । आफू गतिशील नभएमा पत्रकारिताले यो अहम् भूमिका निर्वाह गर्न सक्दैन । पत्रकारिता गतिशील बन्नैपर्छ । व्यापक सन्दर्भमा कुरा गर्दा पत्रकारिताले समाजबाट सूचना लिन्छ र पुनः समाजलाई नै सम्प्रेषण गर्छ ।

हेर्दा यो काम सामान्यजस्तो लाग्छ । सधैँभरि एउटै प्रकृतिको काम गरेजस्तो पनि देखिन्छ । तर, वास्तविकता त्यस्तो होइन । पत्रकारिता कर्ममा हरदम नवीनतम् सूचनासँग अद्यावधिक हुनुपर्ने चुनौती हुन्छ । यस क्रममा अनेकन् सूक्ष्मतम् गतिविधिमा सरिक हुनुपर्ने हुन्छ । समाजोपयोगी र समसामयिक सूचना सङ्कलन गर्ने, परीक्षण गर्ने, सम्पादन गर्ने र तात्तातै जनसमक्ष सम्प्रेषण गर्नु पत्रकारिताको पेशागत जिम्मेवारी हो ।

यतिले मात्र पुग्दैन । ज्ञान र विचार प्रवाह गर्ने समाजलाई गतिवान् र विचारशील बनाउनु पनि पत्रकारिताको अर्को महत्वपूर्ण जिम्मेवारी हो । यसले सत्ता र शक्तिमा भएकाहरूलाई प्रश्न गर्न प्रेरित गर्छ । अर्को शब्दमा भन्दा यसले नागरिकलाई हरदम सचेत तुल्याउँछ । यस्तो कम चुनौतीपूर्ण छैन । पत्रकारिताले हरदम गतिशीलता, कार्यदक्षता र नयाँ शिल्प–शैलीको माग गर्छ ।

नवीनता पत्रकारिताको प्राण हो । यसले सूचना र शिल्प–शैली दुवैमा नवीनता खोज्छ । यही अनुरूप पत्रकारितामा विभिन्न विधा र शैलीहरू आए । केही उदाहरण हेरौँ । बीसौं शताब्दीको शुरुवाततिरै पैरवी पत्रकारिताले आफ्नो उपस्थिति देखायो । सन् १९६० को दशकमा विकास पत्रकारिताको शुरुवात भयो । सन् १९७० को दशक प्रिसिजन जर्नलिज्म तथा गोञ्जो पत्रकारिता अस्तित्वमा आए । सन् १९९० को दशकमा पब्लिक जर्नलिज्म (सिभिक जर्नलिज्म) देखा पर्‍यो । सन् १९९८ तिर समाधान पत्रकारिता (सोल्युसन्स् जर्नलिज्म) को चर्चा हुन थाल्यो ।

यी त उदाहरणमात्र हुन् । समयको दौडमा पत्रकारिताका अनेकन् विधा तथा शिल्प–शैलीहरू आए । अझै पनि आइरहेका छन् । भोलि पनि आउनेछन् । अब प्रश्न उठ्छ, पत्रकारितामा यतिविधि विधाहरू किन आइरहेका छन् ? आखिर, पत्रकारिताको मूल धर्म भनेको नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्नु नै हो । यत्ति कामका लागि पनि किन यति धेरै विधा चाहिन्छन् ? यसका पछाडि अनेकन् कारण छन् ।

पत्रकारिता ज्ञान र सूचनाको भण्डार हो । अहिले अनुसन्धान परम्पराको दायरा र विद्वत संस्कृति बढ्दो छ । यससँगै ज्ञान उत्पादनमा पनि तीव्रता आएको छ । समयसँगै आएका नयाँ ज्ञानका अगाडि पुरानो ज्ञान असान्दर्भिक देखिने क्रम पनि बढ्दो छ । पत्रकारिता पनि नयाँ ज्ञान उत्पादन हुने क्रम बढ्दो छ । नयाँ ज्ञानले पुरानो ज्ञानलाई असान्दर्भिक बनाउँदै लगेको छ ।

यद्यपि, ज्ञान कहिल्यै पुरानो हुँदैन भन्ने मान्यता छ । तर, ज्ञानको महत्व आफ्नो ठाउँमा रहे पनि सबै ज्ञान सधैँ सान्दर्भिक र उपयोगी नहुन सक्छ । समयसँगै कतिपय पुराना ज्ञान असान्दर्भिक र अनुपयोगी बन्दै जान्छन् । यसका अनेकन् टड्कारो दृष्टान्त छन् । त्रिभुवन विश्वविद्यालयमा भूगोल, संस्कृति, इतिहासजस्ता विषयमा विद्यार्थी भर्नाको घट्दो दरले यही कुराको सङ्केत गर्छ । यसको अर्थ यी विषय महत्त्वहीन छन् भन्नेचाहिँ कदापि होइन ।

पत्रकारिता पेशामात्र नभएर ज्ञानको सागर पनि हो । त्यसैले यो अध्ययनको विधा पनि हो । विश्वविद्यालयमा पत्रकारिताबारे व्यापकस्तरमा अध्ययन–अध्यापन हुँदै आएको छ । पत्रकारिताबारे हुने गरेका अध्ययन–अनुसन्धानले नयाँ नयाँ ज्ञान उत्पादन हुँदै गएका छन् । नयाँ ज्ञानले पुरानो ज्ञानलाई विस्थापन गर्दै गएको पनि छ । यसले पत्रकारिता क्षेत्रमा नयाँ नयाँ विधा र शिल्प–शैली जन्माएको छ ।

अर्कोतिर, प्रतिस्पर्धा जीवनको अभिन्न अङ्ग बन्न पुगेको छ । अहिले नयाँ जानकारी पाउनकै लागि पत्रकारिताको खाँचो पर्दैन । कतिपय अवस्थामा सोसल मिडियाले पत्रकारितालाई उछिनेको देखिन्छ । सोसल मिडियाको दरिलो उपस्थितिले परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो र टेलिभिजन) नै आवश्यक नपर्ने अवस्था आएको छ । प्रतिस्पर्धी वातावरणले पत्रकारितामा नयाँ विधा र शिल्प–शैलीलाई निम्तो दिएको छ । यसबाट पत्रकारिताको दिशा र दशा नै बदलिँदै गएको छ ।

एकतिर सूचनाको हाटबजारमा तँछाड–मछाडको अवस्था छ भने अर्कोतिर पत्रकारिताको भूमिकाबारे पनि थुप्रै प्रश्न उठेका छन् । पत्रकारिताको आचार संहिता भन्छ, ‘पत्रकारिता जहिले पनि नागरिकको पक्षमा उभिनुपर्छ । यो पत्रकारिताको पहिलो र महत्त्वपूर्ण नैतिक दायित्व हो ।’ तर, यो सजिलो काम भने पक्कै होइन । पत्रकारिता आफ्नो धर्मबाट पर हटेर सत्ता र शक्तिको पृष्ठपोषणमा लागेको जनगुनासो पनि उत्तिकै प्रबल छ ।

कतिपय सन्दर्भमा पत्रकारिताले बद्नामी पनि कमाएको छ । पत्रकारितामा छाएका नकारात्मक प्रवृत्तिहरूलाई जनाउन अनेकन् शब्दावलीहरू प्रयोगमा छन् । जस्तै : पीतपत्रकारिता (बढाइचढाइ र अफवाहपूर्ण पत्रकारिता), ट्याब्लोइड पत्रकारिता (समाजका गम्भीर विषयलाई असरल्ल छाडेर प्रेम, यौनजस्ता हल्काफुल्का विषयमा केन्द्रित रहने पत्रकारिता), प्यारासुट पत्रकारिता (कुनै ठाउँमा अचानक पुगेर सीमित समयावधिमा कुनै विषयमा गरिने रिपोर्टिङ जसमा कुनै गहिराइ हुँदैन), कि–होल पत्रकारिता (अरूको अनावश्यक रूपमा चियोचर्चा गर्ने पत्रकारिता) ।

पत्रकारिता समाजको पहरेदारी गर्ने पेशा हो । एक अर्थमा यो समाज सेवा हो । तर, पत्रकारिता समाज सेवामात्र होइन । अर्को कोणबाट हेर्दा पत्रकारिता व्यावसाय वा उद्योग  हो । पत्रकारिताले व्यावसायिक रूपमा फस्टाउने मौका पाएन भने यसको अस्तित्व सङ्कटमा पर्छ । अर्थलाभ नगरे जनशक्तिलाई कसरी पारिश्रमिक दिने ? दैनिक सञ्चालन खर्च कसरी जुटाउने ? सञ्चार उद्यमीलाई यस्ता प्रश्नले सधैँ घोचिरहन्छन् ।

यी प्रश्नले पत्रकारितालाई आफ्नो कर्पोरेट स्वार्थबारे सोच्न बाध्य तुल्याउँछ । उसले आफ्नो उद्यमशीलता बचाउनका लागि पनि वाणिज्य वृत्त र शक्तिसँग कुनै न कुनै किसिमको सम्बन्ध कायम गर्नैपर्ने हुन्छ । तर, यस्तो सम्बन्ध सन्तुलित हुनुपर्छ । ‘सर्प पनि मरोस लठ्ठी पनि नभाँचियोस्’ भन्ने उखान चरितार्थ हुनुपर्छ ।

पत्रकारिताका लागि यो  चुनौती हो । ती शक्तिसँगको सम्बन्धलाई कर्पोरेट स्वार्थलगायत कतिपय मामलाले असन्तुलित बनाइदिन्छ । यसपछि पत्रकारिताको विश्वसनीयता डगमगाउन थाल्छ । विश्वसनीयता गुमाएको पत्रकारितालाई समाजको सचेत वर्गले पत्याउँदैन ।

यही पृष्ठभूमिमा पत्रकारिताले आलोचना खेपिरहेको छ । यतिबेला हाम्रो छिमेकी भारतमा पनि मूलधारको पत्रकारिता आलोचनाको केन्द्रमा छ, जसमाथि सत्ताको खाँतिरदारी गरेको आरोप लाग्दै आएको छ । एकथरी आलोचकले यस्तो पत्रकारितालाई ‘गोदी पत्रकारिता’ भन्न थालेका छन् । यसको अर्थमा हो, सत्ताको काखमा बसेर गरिने पत्रकारिता ।

सत्ता र पत्रकारिताको साइनो पनि गजबकै छ । कतै मीठो, कतै तीतो । भारतमा सत्ता र मूलधार पत्रकारिता एकआपसमा लहसिएको आरोप लाग्दै आएको छ । उता, विश्वको शक्तिसम्पन्न मानिने मुलुक अमेरिकामा पत्रकारिता र सत्ताको सम्बन्ध विपरीत ध्रुवजस्तै हुन पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त एकथरी पत्रकारलाई ‘जनताको शत्रु’ भनेर हपारेका दृश्य टेलिभिजनका स्क्रिनमा देखिएकै हो ।

सामाजिक, राजनीतिक तथा प्राज्ञिक परिदृश्यमा आएका तमाम परिवर्तनले पत्रकारितालाई यथास्थितिमा रहन दिएको छैन । यसका अतिरिक्त सामाजिक मनोविज्ञानको बदलिँदो स्वरूप, बढ्दो प्रतिस्पर्धा, ज्ञान उत्पादनमा आएको तीव्रता, नवीनतम् ढाँचा र शैलीप्रति मानिसका सदावहार आकर्षणजस्ता तत्त्वहरूले पत्रकारितामा नयाँ नयाँ विधा र शिल्प–शैली आएका हुन् भन्न सकिन्छ ।

पत्रकारिताले पस्कने समाचार तथा अन्य सूचनामूलक सामग्री पनि दैनिक उपभोग्य वस्तुजस्तै वस्तु (कमोडिटी) हुन् । यस्ता वस्तुलाई सर्वग्रह्य तरिकाले बजारमा बिक्री–वितरण गर्न ब्रान्डिङ र बजारीकरण आवश्यक छ । यसका लागि पनि नयाँ शिल्प–शैली आवश्यक पर्छ । यी तमाम कारणले पत्रकारिताको मिजासमा निरन्तरण रूपमा परिवर्तन आइरहेका छन् । पत्रकारिताको मर्म र धर्म उही भए पनि यसको स्वरूप निरन्तर परिवर्तन हुँदै गएको छ ।

[साभार : संवाद नेपाल । २०७६ साल असोज १ गते ।]