Saturday, October 19, 2019

सफा र सुन्दर शहरको तृष्णा

-यमबहादुर दुरा

चिनियाँ राष्ट्रपति सि जिङ पिङको नेपाल भ्रमणसँगै मूलतः दुईटा कुरा चर्चामा आए । पहिलो पक्ष, नेपाल–चीनबीचको दौत्य सम्बन्धमा थपिएको भनिएको थप प्रगाढपन । दोस्रो पक्ष, राजधानी शहरका प्रमुख स्थानहरूमा गरिएका सजधजबाट हाम्रा आँखाले गर्न पाएका फरक किसिमको दृश्यपान । यो लेखमा दोस्रो पक्षको परिपरि रहेर सानो विचार–विमर्श गर्ने अभिप्राय राखिएको छ ।

चिनियाँ राष्ट्रपति सि जिङ पिङबाट २०७६ साल असोज २५ देखि २६ गतेसम्म भएको भ्रमणपूर्व राजधानी शहरका मूल सडक सजधजपूर्ण पारिए । एयरपोर्ट नजिकको तीनकुनेमा त कृत्रिम डाँडो नै बनाइयो । राजधानी शहरले उच्चस्तरीय भ्रमण वा उच्चस्तरीय सम्मेलनका क्रममा अक्कलझुक्कल रूप फेर्ने गर्छ ।

निकटपूर्व कालखण्डमा घटित यस्ता घटनाक्रमलाई सम्झने हो भने २०७१ साल साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, त्यसै साल मङ्सिरमा सम्पन्न अठारौं सार्क सम्मेलन र २०७५ साल भदौमा सम्पन्न बिम्सटेक सम्मेलनमा राजधानीले धेरथोर रूप फेरेको थियो । तर, रातारात हुने यसप्रकारको रूप फेराइ क्षणिक हुन्छ, नितान्त क्षणभङ्गुरपूर्ण हुन्छ । यसबाट शहरको दीगो विकासमा खासै योगदान पुग्दैन । बरू, यसले हिन्दी कहावतको सम्झना गराउँछ, ‘दो दिनकी चाँदनी रात, और फिर अन्धेरा’ ।

अघि पछि धुवाँ–धूलो, हिलो, अव्यवस्था र प्रदूषण राजधानी शहरको मूलभूत विशेषता हुन्, जुन जुन शहरवासी हरदिन भोग्दै आएका छन् । ट्राफिक नियमको बेवास्ता, शहरका खुल्ला स्थानहरूको क्रमिक अतिक्रमण, अलपत्र अवस्थामा रहेका कतिपय भित्री सडक, सडक विस्तारपछि पनि सडककै बीचैबीचमा ठडिएका बिजुलीको पोल आदिले शहरको यथार्थ हविगत दर्साउँछन् ।

सडक विस्तार गर्ने नाममा पैदलयात्रु र साइकलयात्रुप्रति गरिएको बेवास्ताले अर्को दारुण कथाको कहालीलाग्दो अध्याय थपेको छ । सुरक्षित सडकको अवधारणालाई चुनौती दिएको प्रतीत हुन्छ ।  विशेष अवस्थामा मात्र राजधानीले कस्मेटिक लिपघस पाएर रूप बदल्छ । सारमा सडक र शहरको अवस्थामा कुनै परिवर्तन आएको हुँदैन । यथार्थमा हाम्रा शहर साँचो अर्थमा शहर बन्न सकेका छैनन् ।

अब प्रश्न तेर्सिन्छ,  हाम्रा शहरलाई कहिलेसम्म कुरूप बन्न दिइरहने ? शहरको कुरूपपनलाई कस्मेटिक सौन्दर्यबाट कहिलेसम्म छोपिरहने ? सङ्घीय राजधानीलगायत हाम्रा सबै शहरलाई सदावहार सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना किन अघि सारिँदैन वा यस्ता योजना किन कार्यान्वयन गरिँदैनन् ? यी प्रश्नमा देशका तमाम नीतिनिर्माता र जनप्रतिनिधिले जति घोत्लिनुपर्ने हो, त्यति घोत्लिएका छैनन् भन्ने अनुभूति मिल्छ ।

सफासुग्घर र सुन्दर शहरसँग नागरिकको स्वास्थ्य, मनोविज्ञान र सामूहिक इज्जत–प्रतिष्ठा गाँसिएका हुन्छन् । तर, यही मूलभूत चासोका विषयमा नीतिनिर्माता र जिम्मेवार पदाधिकारी उदसीनझैं देखिन्छन् । शहरको अवस्था जे जस्तो भए पनि राजधानी शहरमा मोनोरेल दौडाउने योजना राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहन्छ । मोनोरेलभन्दा अघि शहरलाई सफासुग्घर र सुन्दर बनाउने योजनाले नै प्राथमिकता पाउनुपर्छ । सफासुग्घर र सुन्दर शहर पहिलो प्राथमिकता बन्नुपर्छ । मोनोरेलजस्ता भौतिक वैभवले यसलाई पछ्याउनुपर्छ ।

विडम्बनावश, सफासुग्घर र सुन्दर बनाउने विषयमा खासै चर्चा भएको पाइँदैन । यसबारे कतै गोष्ठी वा विचार विमर्श भएको पाइँदैन । यस्तो लाग्छ, यस्ता विषय कसैको प्राथमिकतामा पर्दैन । शहरलाई सफासुग्घर र सुन्दर बनाउनेबारे कहीँ कतै विचार विमर्श भएको रहेछ भने यस्ता विषयसँग सम्बन्धित कागजात पब्लिक डोमेनमा भेटिँदैनन् ।

सांस्कृतिक दृष्टिले काठमाडौं दर्शनीय शहर मानिए पनि वातावरणीय दृष्टिले सोचनीय छ । सञ्चार माध्यममा आएका रिपोर्टका अनुसार काठमाडौं विश्वका बढी प्रदूषित शहरमा सातौँ स्थानमा आउँछ । वायु प्रदूषणलगायतका तमाम वातावरणीय समस्याबाट शहरवासीको स्वास्थ्यमा नकारात्मक असर परेका समाचार सञ्चार माध्यममा आइरहन्छन् ।

वायु प्रदूषणले मुटु, फोक्सो, मिर्गौला, दिमाग, स्नायु प्रणाली शरीरका अन्य अङ्गहरूमा गम्भीर असर पार्ने तथ्य विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । वायु प्रदूषणले स्वासप्रस्वाससम्बन्धी समस्या र क्यान्सर निम्त्याइरहेको रिपोर्ट आइरहेका छन् । स्थिति भयावह छ ।

हाम्रो सङ्घीय राजधानी फोहरमैला, प्रदूषण र अव्यवस्थाबाट गुज्रिरहेको बेला विश्वका कतिपय शहरले सफासुग्घर र सुन्दरपनमा नाम कमाएका छन् । शहर, प्रविधि र नागरिकबारे सामग्री पस्कने वेबसाइट ‘सिटी आइओ’ का अनुसार संसारमा दश सफासुग्घर शहरमा ह्यमबर्ग, सिकागो, होनुलुलु, हेलसिन्की, भियना, रिकेभेक (आइसल्याण्डको राजधानी) जिनिभा, क्युरिटिबा (ब्राजिल) र सिङ्गापुर पर्छन् । ‘यु सिटीगाइड्स’ वेबसाइटका अनुसार दुनियाँका दश सुन्दर शहरमा भेनिस, पेरिस, प्राग, लिस्बन, रियो द जेनिरियो, आम्र्सटरडम, फ्लोलेन्स, रोम, बुढापेष्ट र ब्रुस (बेल्जियम) पर्छन् ।

यी शहर त्यत्तिकै सफासुग्घर र सुन्दर बनेका होइनन् । नीतिनिर्माता, जनप्रतिनिधि र नागरिकका सत्प्रयासबाट दुनियाँका अगाडि यी शहर सकारात्मक उदाहरण बनेका हुन् । हामीलाई निरन्तर पछ्याइरहेका दुर्गतिलाई त्यागेर विश्वका सफा र सुन्दर शहरका शहरका गति र मति हामीले कहिले पछ्याउने ? यी शहर जस्ता सकारात्मक उदाहरण बन्नका लागि हाम्रा नीतिनिर्माता र जनप्रतिनिधि प्रयत्नशील छन् कि छैनन् ? प्रयत्नशील छन् भने प्रगति विवरण के छ ? आफै सकारात्मक उदाहरण बन्ने दिशामा अघि बढ्दा समस्या आएका छन् के के हुन् ? ती समस्या हल गर्ने दिशामा के कस्ता प्रयास भएका छन् ? यस्ता विषयमा नीतिनिर्माता र जनप्रतिनिधिले जवाफदेही बन्नैपर्छ ।

देखावटी सौन्दर्यमा लोकधन खर्च गर्नुभन्दा साँचो अर्थमा शहरलाई सफासुग्घर र सुन्दर बनाउने दिशामा नीतिनिर्माता र जनप्रतिनिधिको मति सोझिनुपर्छ । यसमा नागरिकको साथ र सहयोग पनि उत्तिकै अपरिहार्य छ । नागरिकको पसिनाबाट आर्जित लोकधनलाई पानी सरह बगाएर शहरमा क्षणिक र कस्मेटिक सौन्दर्य थप्ने परिपाटी अन्त्य हुनैपर्छ । अब, शहरलाई सफासुग्घर र सुन्दर बनाउने दीर्घकालीन योजना ल्याउनैपर्छ ।

शहरलाई जनमैत्री–वातावरणमैत्री बनाउन नगरका जिम्मेवार व्यक्तिहरूबाट असल आशय र रचनात्मक व्यवहार प्रदर्शन हुनैपर्छ । हरेक शहरका नगरप्रमुखले आफ्नो शहरलाई सफासुग्घर र सुन्दर बनाउनका लागि विश्वका संघर्षशील नगरप्रमुखका जीवनगाथा अध्ययन गरी सोही बमोजिम आफ्ना नीति र व्यवहारलाई शहरको सर्वतोमुखी विकासमा उपयोग गर्न सिक्नुपर्छ । परिवर्तन सहज छैन तर शहरको सुख र समृद्धिका लागि यथास्थितिलाई नभत्काई सुखै छैन ।

[साभार : संवाद नेपाल । २०७६ साल कात्तिक १ गते ।]

No comments:

Post a Comment