Monday, February 28, 2022

ठाडो भाकाको उत्खनन

- यमबहादुर दुरा 

अहिलेको साइबर युगमा विदेशका हरेक चीज हाम्रो कोठाचोटामा निर्बाध पसिरहेका छन्। आयातीत संस्कृतिको अन्धानुकरणमा हामी मस्त रहँदा हाम्रा मौलिक चिनारी भने सङ्कटमा छन् । रैथाने संस्कृति ह्रास हुँदै गएको छ। आधुनिकताको रापमा पिल्सिएको त्यही रैथाने संस्कृतिलाई सुमसुम्याउँदै लालबहादुर भुजेलले लोकजीवनको मौलिक लयबारे पुस्तक प्रकाशन गरेका छन्, ठाडो भाकाको लोकसांस्कृतिक इतिहास।


गण्डकी भेकमा एक समय निकै लोकप्रिय साङ्गीतिक शैली हो, ठाडो भाका । जुन भाका गाउन खास कला र सीप चाहिन्छ। समयसँगै अहिले हराउँदै र बहुसङ्ख्यकले लत्याउँदै गएको यति विशिष्ट लोकभाकालाई इन्जिनियरिङ पेशाका भुजेलले पुस्तकाकार कृतिमा बुन्नुलाई समयको कसीमा विपरीत धारा जस्तै भइदिएको छ।


ठाडो भाकालाई नै मूल विषय बनाएर पुस्तक लेखिएको जानकारी हालसम्म छैन। भुजेलले कालातीत भइसकेका कलाकारहरूको मौलिक थातथलोमै पुगी स्थलगत अध्ययन गरेर पुस्तक तयार पारेका हुन् । पुस्तकमा ठाडो भाकाको उत्पत्ति र विकासक्रम, गायकहरूको व्यक्तिवृत्त, घतलाग्दा प्रसङ्ग, वंशवृक्षलगायत विषय समेटिएका छन्।



पुस्तकमा कृतिकार भुजेलले प्रशस्त मिहिनेत गरेको देखिन्छ। विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ।

 विसर्जनोन्मुख साङ्गीतिक परम्परा जोगाउन उनको यो प्रयत्न प्रशंसनीय पनि छ। यति हुँदाहुँदै पुस्तकमा केही खट्किने पक्ष छन्। विषयवस्तुअनुसार ठाडो भाकाको साङ्गीतिक इतिहासलाई जसरी उधिन्नुपर्ने थियो, त्यसरी उधिन्न नसकेको प्रतीत हुन्छ। शोधविधि तथा सूचना व्यवस्थापनका दृष्टिले पनि कृतिमा धेरै कमजोरी छन्।


ठाडो भाकाको उत्पत्ति र विकासक्रमबारे चर्चा गर्दा विषयवस्तुलाई सामान्य उठान मात्र गरिएको छ। लेखकले उत्पत्ति र विकासक्रमको समयरेखा (टाइमलाइन), साङ्गीतिक खलक (ट्युन फेमिली) जस्ता पक्षलाई राम्रोसँग पर्गेल्न सकेका छैनन्। ठाडो भाकाका आधारभूत पक्षबारे पनि प्रकाश पार्न सकेका छैनन्।


पुस्तकमा ठाडो भाकाका दिवङ्गत गायकहरू बौद्धसिङ गुरुङ, देउबहादुुर दुरा, पञ्चसुब्बा गुरुङ, मोतीलाल गुरुङ, बखतबहादुर गुरुङ, मनिराम दुरा र भेडीखर्के साइँला ९दीर्घराज अधिकारी० बारे मुक्तकण्ठले चर्चा गर्दा तत्कालीन प्रतिभाशाली गायिकाबारे भने नितान्त झिनो किसिमले चर्चा गरिएको   छ। एक समय ख्याति कमाएका पेचेरे दुरा, भक्तिमाया दुरा, धनमाया तामाङ, ज्ञानीमाया थापा आदि गायिकाको कला र गलाबारे चर्चै भएको छैन। गौरवमय इतिहास बनाएका गायिकाहरूको नाम मात्र लिएर छाडिएको छ।


लेखकले तत्कालीन समयका गायिकाबारे चर्चा गर्दा बहुचर्चित गायक देउबहादुुर दुरासँग गीतमा ठोलाबाजी गर्न सक्ने आफली घर्तिनीबारे केही हरफमै कुरो टुङ्ग्याएका छन्। जब कि, पञ्चसुब्बा गुरुङबारे १६ पृष्ठको बखाननामा पेश गरेका छन्। यसबाट कृतिमा समान हैसियत भएका कलाकारको खोजी तथा चिनारी सन्तुलित नभएको देखाउँछ।


कृतिकार भुजेलले पुस्तकको एक अध्यायमा आफूले रचना गरेको ठाडो भाका गीत पस्केका छन्। लोकजीवनका लागि यो अनौठो प्रसङ्ग हो। सामान्यतया, ठाडो भाका कुनै रचनाकारले रच्नेभन्दा पनि लोककण्ठबाट तत्क्षण प्रकट हुने मौखिक साहित्य हो। लोकसाहित्य मौखिक परम्परामा आधारित भएकाले यसमा लिखित परम्पराको उस्तो स्थान हुँदैन। लेखकलाई ठाडो भाकाको गीत राख्नै मन भए आफूले रचेको गीत नभई गाउँबेसी वा हाटबजारमा सुनिएका रोचक गीत पस्किएको भए पुस्तकको सान्दर्भिकता बढ्ने थियो।


कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


पुस्तकले निर्धारण गरेको विषयवस्तु अनुसार यो कृति ठाडो भाका र यसको सांस्कृतिक इतिहासलाई मियो मानेर लेखिनुपर्थ्यो। तर, कतिपय ठाउँमा मूल विषयबाट बहकिएर लेखक अन्यत्रै पुगेका छन्। पुस्तक कतै यात्रा संस्मरण जस्तो, कतै अनुभूति जस्तो त कतै स्थान परिचय जस्तो देखिन्छ।


भुजेलले एउटा परिशिष्टमा आफ्नो जन्मस्थान दुराडाँडाबारे चर्चा गरेका छन्, जुन पुस्तकमा सान्दर्भिक देखिंँदैन। सङ्कलित सूचनाको व्यवस्थापनमा पनि लेखक धेरै चुकेका छन्। सूचना बटुल्न धेरै शारीरिक तथा मानसिक श्रम गरे पनि त्यसको सही व्यवस्थापन नहुँदा लेखाइ खजमजिएको प्रतीत हुन्छ।


कुनै पनि शोधमूलक कृति अध्ययन गर्दा पाठकले शोधशास्त्रसम्बन्धी धेरै प्रश्न मनमा राखेर पढ्छन्। पुस्तक शोधविधि अनुरूप लेखिएको छ या छैनरु शोधविधि अनुसार सूचनाको व्यवस्थापन भएको छ या छैनरु उचित ठाउँमा र सही किसिमले सूचनाको स्रोत खुलाइएको छ कि छैनरु सन्दर्भ सामग्री दिइएको छ कि छैनरु जसका उत्तर नभेटिए कृतिको उच्च मूल्याङ्कन नहुन सक्छ।


सन्दर्भ सामग्री उल्लेख भए पनि शोधशास्त्रको विभिन्न कसीमा यो पुस्तक कमजोर लाग्छ। पुस्तकमा स्थाननाम तथा व्यक्तिका नाम लेख्दा केही छपाइ अशुद्धि पनि छन्, जुन तथ्यगत गल्ती बनेका छन्। जस्तै, हजुर दुरा हुनुपर्नेमा हचुर दुरा (पृ.४३०), छेलाती (स्थाननाम) हुनुपर्नेमा छ्यालाती (पृ.४४०) हुन पुगेको छ।


केही कमी(कमजोरी रहे पनि समग्रमा पुस्तक पठनीय र लोकसंस्कृतिको उत्थानको दृष्टिले प्रशंसनीय छ। ठाडो भाकाबारे चिन्तन(मनन गर्ने सांस्कृतिक विधाका लेखक, अध्येता तथा संस्कृतिकर्मीहरूका लागि पुस्तक राम्रो खुराक हुन सक्छ।


पुस्तक: ठाडो भाकाको लोकसांस्कृतिक इतिहास             लेखक: लालबहादुर भुजेल

प्रकाशक: चाँगुनारायण सांस्कृतिक समाज                      मूल्य: रु.५००      पृष्ठ: २४४

[हिमालखबर । २०७८ साल फागुन १४ गते]

Sunday, February 13, 2022

नेपाली गाउँबस्तीका डोबहरू


–यमबहादुर दुरा

भ्रमणबारे एउटा कथन छ—कुनै कुराबारे हजारपटक सुन्नुभन्दा एकपटक देख्नु उत्तम  । ईश्वीको पाँचौँ शताब्दीतिर धर्मशास्त्री सेन्ट अगस्टिनल यही कथनलाई बल पुग्ने गरीे एउटा अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनको विश्वचर्चित भनाइ छ, ‘विश्व एउटा पुस्तक हो, भ्रमण नगर्नेले दुनियाँरूपी पुस्तकको एउटा पानामात्र पढ्छ ।’ 

यी भनाइले भ्रमण कति महत्त्वपूर्ण छ भन्ने तथ्य प्रष्ट्याउँछन् । 

नेपाल पनि प्राचीन कालदेखि नै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य रहँदै आएको तथ्य छिपेको छैन । हालका दिनमा नेपालमा आन्तरिक पर्यटनकर्मको ग्राफ बढ्दो छ । 

यससँगै देशमा भ्रमण संस्कृति फस्टाउँदै गएको देखिन्छ । ‘वल्र्ड ट्राभल एण्ड टुरिजम’ का अनुसार नेपालको पर्यटन उद्योगमा हुने आम्दानीको कुल हिस्सामध्ये ५६ प्रतिशत हिस्सा आन्तरिक पर्यटनले ओगट्छ, जुन अर्थतन्त्र र स्वदेश चिन्ने दृष्टिले चानचुने विषय होइन ।

नयाँ नयाँ ठाउँ घुम्ने र ती ठाउँमा सङ्गालिएका यात्रानुभूतिहरूलाई शब्दचित्र, तस्बिर र भिडियोमार्पmत जनसमक्ष पस्कने प्रवृत्ति नेपालमा पनि बढदो छ । यसलाई यात्रावृत्तान्तकै एक हिस्सा मान्न सकिएला । त्यसो त, यात्रावृत्तान्त नेपाली साहित्यिक वृत्तमा कुनै अपरिचित विधा होइन । नेपाली साहित्यमा नियात्रा विधा समृद्ध नै देखिन्छ ।

यायावर अनुभूतिहरूलाई शब्दचित्रमा उतार्ने शब्दशिल्पीहरू नेपालमा बाक्लै भेटिन्छन् । आधुनिक समयमा पूर्णप्रकाश नेपाल ‘यात्री’, घनश्याम राजकर्णिकार, डा. हर्क गुरुङ, डा. तारानाथ शर्मा, तेजप्रकाश श्रेष्ठ, गोविन्द वर्तमानजस्ता प्रतिभाहरूले यात्रावृत्तान्तलाई उर्वर बनाएका छन् ।



यिनै यात्रावृत्तान्तकारहरूका पदचाप पछ्याउँदै प्रतीक ढकाल, दामोदर पुडासैनी ‘किशोर’, जय छाङ्छा, युवराज नयाँघरेलगायत थुप्रै शब्दशिल्पीहरूले यात्रावृत्तान्तलाई उर्वर बनाउन प्रयत्नशील छन् । यही लहरमा पोखरालाई कार्यक्षेत्र बनाएर लेखनकर्ममा जुटिरहेका सर्जक तिलकप्रसाद पुन ‘पुर्जा’ पनि मिसिन पुगेका छन् । उनी यात्रावृत्तान्तसम्बन्धी दुईटा कोसेली ‘साइनो’ र ‘बस्तीभित्र’ एकैचोटि सार्वजनिक गरेर पाठकसमक्ष आइपुगेका हुन् ।

बाल्यकालको तोतेबोलीयुक्त पलहरू पर्वतको ओख्रेनीमा बिताएका तिलकप्रसाद पुन ‘पुर्जा’ सात वर्षकै उमेरमा आमा–बासँग नवलपरासी बसाइँ सरे । बाल्यकालमै उनका पाइलाहरू पहाडका गौँडा–गल्छेडा र मधेशका समथर जमिनमा चलयमान भए । बसाइँ सराइबाट शुरु भएको उनको भ्रमणशीलता कायमै छ । हाल आएर भ्रमणशील सर्जकका रूपमा दएिका छन् ।  

लोकसंस्कृतिप्रति अनुरागयुक्त रुझान भएका ‘पुर्जा’ को लेखाइमा लोकजीवन छ्याङ्ग गरी उघ्रिन्छ । उनले यसअघि लोकजीवनका आयामहरूलाई समेटेर ‘लोक संस्कृतिका सुसेलीहरू’ (२०६७) कृति पाठकसमक्ष ल्याइसकेका छन् । ‘पुर्जा’ को कृतिमा विचरण गरिरहँदा लोकजीवनका रैथाने अनुभूतिहरू बयली खेल्न आइपुग्छन् ।

विगतमा फुटकर रूपमा मात्र यात्रावृत्तान्तलाई लिपिबद्ध गरेका तिलकप्रसाद पुन ‘पुर्जा’ ले यसपटक भने यात्रानुभूतिहरूलाई पुस्तककार कृतिको रूप दिएका छन् । उनको नवीनतम् पुस्तककार कृति ‘साइनो’ मा स्वदेश भ्रमणका रैथाने अनुभूतिहरू सल्बलाउँछन् अनि लोकजीवनका सुवासहरू केबराको फूलझैं  मगमगाउँछन् । 

कृतिको केन्द्रीय विषयवस्तुले नेपालको नयाँ पर्यटकीय गन्तव्यको रूपमा स्थापित होमस्टे, रैथाने जीवनशैली र लोकसंस्कृतिको सेरोफेरोमा फन्को मार्छ । भूगोलको कुरा गर्दा कृतिमा पूर्वमा धनकुटा–सुनसरीदेखि पश्चिम कैलालीसम्मका पहाड तथा तराईका होमस्टे तथा पर्यटकीय गन्तव्यहरूको चर्चा छ । नेपालका होमस्टेसँग जोडिएका अनुभूतिहरूलाई समेटेर लेखिएको यो पहिलो कृति हुनसक्छ । 

कृतिकार चित्रकारितामा पनि हात बसेका प्रतिभा पनि हुन् । उनका चित्रकलामा गाउँबस्तीको झझल्को आउने चमत्कारपूर्ण कलाकारिता भेटिन्छ । आँखै अगाडि गाउँबस्ती उभिँदा गाउँले जीवनमा अभ्यस्त जो–कोही पनि अतीतमोहको मृगमरीचिकातिर धकेलिदिन्छ । यस कृतिमा चाहिँ उनले गाउँबस्तीको रेखाचित्र नभई शब्दचित्र तयार पारेका छन् । 

प्रस्तुत कृतिमा ३७ वटा लेखहरू सङ्ग्रहीत छन्, जसमध्ये आधा जति लेख पोखराका स्थानीय अखबार तथा म्यागजिनमा पूर्वप्रकाशित सामग्री हुन् । कृतिले दरै, पहरी, बोटे, थारू, मुसहरजस्ता जनजातिका जीवनशैलीसँग मितेरी गाँस्छ । कृतिमा लोकजीवनका विविध झाँकीहरूका अतिरिक्त भक्तपुरको जुजुधौ अनि टोखाको चाकु र च्युराको बखान पनि भेटिन्छ ।


कृतिकारले विभिन्न कालखण्डमा आफूले चाहरेका पर्यटकीय गन्तव्यहरूका मनोरम भूदृश्य, स्थानीय जीवनशैली, होमस्टे सञ्चालकहरूले दिएका न्यायो आतिथ्य र तिनै होमस्टेमा भेटिने सुस्वादु परिकारको सहस्र वर्णन गरेका छन् । गाउँठाउँ डुल्दा आफू  र आफ्ना टोलीसमक्ष टक्र्याइएका घरेलु ‘रौसी’ को मादकतापूर्ण सुस्वादुपनको चर्चा पनि कृतिमा छुटाएका छैनन् ।

माथि नै भनियो, ‘पुर्जा’ लोकसंस्कृतिको रुझान भएका सर्जक हुन् । उनको कृतिमा स्थानीय मोहनी लोकभाका र लोकनृत्यको चर्चा भएन भने त्यो अनौठो विषय हुनपुग्छ । उनले लोकभाका र लोकनृत्यले सजिएको स्थानीय जनजातीय लोकसंस्कृतिको भरपूर रसास्वादन गरेका छन्, जुन कुरा उनले कृतिका विभिन्न पृष्ठहरूमा रिठ्ठो नबिराई चर्चा गरेका छन् ।

कृतिमा नजर दौडाइरहँदा कृतिकारले स्थानीय भूगोल, लोकसंस्कृति र लोकमनोविज्ञानलाई हृदयको कुनामा सजाएर राखेको अनुभूति हुन्छ, जुन यात्रावृत्तान्तको आधारभूत व्याकरण पनि हो । पुस्तकको भाषा सहज र सरल छ । कृतिमा एक किसिमको सहज लालित्य पनि छ । पुस्तकमा ठाउँ ठाउँमा उखान–टुक्काहरू प्रयोग भएका छन्, जसले लेखाइलाई स्वादिलो बनाएको छ । 

यति हुँदाहुँदै पनि कृतिमा सुधार गर्नुपर्ने ठाउँ पर्याप्त छ । कृतिको शैलीगत पक्षमा सुधार अपेक्षित छ । पूर्वप्रकाशित कृति साभार गर्ने तरिकामा एकरूपता छैन । कृतिमा प्रयोग गरिएका कतिपय फोटो–क्याप्सन भद्दामात्र होइन, लयविहीन पनि देखिन्छन् । ठाउँठाउँमा भाषिक अशुद्धि भेटिँदा सम्पादकीय कैची हुनुपर्ने जति निर्मम बन्न नसकेको प्रतीत हुन्छ ।

कतिकारले पुस्तकमा लोकगीतको नाममा बजारू गीतका हरफहरू उद्धरण गरेका छन् । लोकगुञ्जनको नाममा व्यापारिक प्रयोजनका लागि रचिएका अल्लारे पाराका सस्तो गीतलाई पनि उद्धरण गरेको देख्दा कताकता खल्लो लाग्छ । 

लोकजीवनको प्राङ्गारिक विषयवस्तु पस्किरहँदा बीचबीचमा यस्ता ‘व्यापारिक आइटम’ भेटिँदा दाँतमा ढुङ्गा लागेजस्तो अनुभव हुन्छ । कृतिकारले मौलिक शब्दले सजिएका तथा रचनाकार अज्ञात रहेका लोकभाका र वस्तुकरण गरिएका गीतबीच भिन्नता छुट्याउन नसकेका हुन् कि भन्ने भान हुन्छ । 

कृतिको भाषाशैली मूलतः वर्णनात्मक छ, जसमा विश्लेषणात्मक पक्षको अभाव छ । उदाहरणका लागि कृतिकार ठाउँठाउँमा घरेलु ‘रौसी’ स्वादबारे चर्चा गरेका छन् । तर, यसको अर्को लुकेको पक्षको उदघाटन गरेका छैनन् । प्रहरी प्रशासनले बहुराष्ट्रिय कम्पनीको मदिराजन्य उत्पादनलाई खुल्ला छाडेर घरेलु ‘रौसी’ निर्मम तरिकाले घोप्ट्याइदिने घटना कुनै नयाँ होइन । प्रहरी प्रशासनको यस्तो रबैयाबाट स्थानीयस्तरमा भएका सांस्कृतिक हिंसा र स्थानीय अर्थतन्त्रमा परेको नकारात्मक असरबारे विश्लेषणात्मक धारणा राख्ने गजबको अवसर कृतिकारलाई थियो, जुन उनले राम्रैसँग गुमाएका छन् ।

हरेक कृतिमा सुधारको गुञ्जायस रहिरहन्छ । तर पनि, स्थानीय संस्कृति र अर्थतन्त्र केन्द्रमा राखेर मिहिन किसिमले यात्रावृत्तान्त जनसमक्ष आउनु खुसीलाग्दो पक्ष हो । रैथाने यात्रा अनुभूतिहरूलाई पुस्तकाकार कृतिमा उतार्ने कृतिकारको प्रयास प्रशंसनीय छ । 

सगम्रमा भन्दा कृतिले नेपालका होमस्टे तथा सांस्कृतिक दृष्टिले आकर्षक पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन्छ, जुन नयाँ घुमक्कडहरूका लागि उपयोगी हुनसक्छ । नेपाल आमालाई नयाँ ढङ्गले चिन्ने र चिनाउने दिशामा कृतिकारले दिएको योगदान कुनै पनि अर्थमा कम आँक्न मिल्दैन । 

यहाँनेर, एउटा प्रसङ्ग स्मरणीय हुन आउँछ । अमेरिकी यात्रावृत्तान्तकार विलियम हिट–मुनले आधुनिक सुखसुविधाबाट बञ्जित अमेरिकी गाउँबस्तीहरूको भ्रमण गरेर सन् १९८२ मा ‘ब्लु हाइवेज’ नामक कृति तयार पारे, जसले अमेरिकी समाजमा तहल्का मच्चायो । 

 समकालीन नेपाली गाउँबस्तीका कथाव्यथा झल्किने गरी विलियम हिट–मुन पुस्तकजस्तो बेस्टसेलर यात्रावृत्तान्त लेख्ने  अवसर छ । यस अवसरले तिलकप्रसाद पुन ‘पुर्जा’ जस्ता भ्रमणशील सर्जकहरूकोबाटो हेरिरहेको पनि हुनसक्छ । 

हिमालखबर । २०७८ साल माघ २९ गते । परिमार्जनसहित ।

Saturday, January 15, 2022

आदिवासी ज्ञानको दस्तावेजीकरण

 –यमबहादुर दुरा

आधुनिकतासँगै भित्रिएको पश्चिमी विज्ञान र त्यसबाट निस्रित ज्ञानले हाम्रो जीवनशैलीलाई बहुधा सुखमय बनाएको छ । यसबाट मानव जातिको भौतिक उन्नतिको ग्राफ उकालो लागेको लाग्यै छ । तर पनि, कतिपय प्राकृतिक विपत्तिका सामु आधुनिक समाज घुँडा टेक्न विवश छ । 

बाढीपहिरो, जल–वायु–भूमि प्रदूषण, जैविक विविधतामा ह्रास आदि आधुनिक समाजले भोगिरहेका जल्दाबल्दा जब्बर समस्या हुन् । यस्ता वातारणीय समस्याहरूले आधुनिक युगको चमकधमकपूर्ण माहोललाई बिथोल्दै गएका छन् । समस्त पृथ्वीवासीसँग सीधै नाता गाँस्ने यस्ता समस्याले प्रतिपल बिरानो बन्दै गइरहेकोे परम्परागत ज्ञानलाई नवीकरण गरी व्यवहारमा उतार्नुपर्ने खाँचो अनभूत गराएको छ ।

प्राकृतिक स्रोत-साधानको अधिक दोहन तथा असन्तुलित विकासको लहरले वातावरणीय गडबडीका घटनाहरू बढ्दै गएका छन् । यसबाट आधुनिक समाजको आँखैसामु वातावरणीय समस्याको पहाड खडा हुन पुगेको छ । यसले पनि परम्परागत ज्ञानको महत्त्वबोध गराएको छ ।

परम्परागत ज्ञान मानव समुदायले हजारौँ वर्षदेखि व्यवहारमा उतार्दै ल्याएको र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको अनुभवसिद्ध ज्ञान हो, जुन प्रकृतिमैत्री हुन्छ भन्ने आमविश्वास छ । परम्परागत ज्ञानले प्रकृति र स्थानीय संस्कृतिसँग आत्मीय सम्बन्ध कायम गरेको हुन्छ । यसो हुँदा मानव र प्रकृतिबीच अस्वाभाविक द्वन्द्व हुँदैन भन्ने विश्वास गरिन्छ ।


परम्परागत ज्ञानको यिनै गुणग्राही पक्षहरूलाई हृदयंगम गरी पत्रकार कुमार यात्रुले ‘परम्परागत आदिवासी ज्ञान’ शीर्षकमा पुस्तककार कृति सार्वजनिक गरेका छन् । नेपालका आदिवासी जनजाति समुदायले परम्परागत ज्ञानलाई कसरी व्यवहारमा उतार्दै आएका छन् ? वर्तमानमा तीव्र विलोपीकरणको नियति भोगिरहेको परम्परागत ज्ञानको संरक्षण र सम्वर्द्धन  गर्न के गरिनुपर्छ ? यी प्रश्नहरूलाई केन्द्रविन्दुमा राखेर कृतिकारले अनेकन् पठनीय विवरण पेश गरेका छन् ।

यस क्रममा कृतिकारले चेपाङ, तामाङ, शेर्पा, लिम्बू, नेवार, मगर, राई, राउटे, गुरुङ, थारू, छन्त्याल, डोल्पो, शेर्पा, माझी, ह्योल्मो, पहरी आदि समुदायमा प्रचलित परम्परागत ज्ञानसँग जोडिएका प्रथा, चालचलन र गतिविधिलाई सान्दर्भिक दृष्टान्तसहित पाठक समक्ष पस्कने प्रयत्न गरेका छन् । 

पुस्तकमा नेपालका आदिवासी जनजाति समुदायले अभ्यासमा ल्याएका खर्क तथा चरिचरण प्रणाली एवम् पानी, कुलो तथा जलाधारको व्यवस्थापनबारे चर्चा गरिएको छ । यसैगरी, कृषि प्रणाली, मेलापर्म, शिकार खेल्ने सीप, परम्परागत ग्रामीण अर्थतन्त्र, हस्तकला, झाँक्री प्रथा, जडीबुटी तथा परम्परागत उपचार–पद्धतिबारे रोचक जानकारी अघि सारेर व्याख्या–विश्लेषण गरिएको छ । 

उदाहरणका लागि आदिवासी ज्ञानले प्राकृतिक स्रोत–साधनलाई मासिने गरी उपयोग गर्न अनुमति दिँंदैन । प्राकृतिक स्रोतलाई नयाँ पुस्तका पनि साँच्न सिकाउँछ । आदिवासी समुदायले शिकार गर्दा पोथी वा माउलाई मार्दैनन् । फुल पार्ने समयमा पनि माछा मारिँदैन । यसप्रकारको प्रकृतिमैत्री अभ्यास खोलामा विषादि प्रयोग गर्ने तथा विष्फोटक पदार्थ पड्काएर जलीय पारिस्थितिक प्रणाली ध्वस्त पार्ने घातक र स्वार्थी प्रवृत्तिका लागि घुमाउरो तरिकाको युगीन पाठ हो भन्ने लाग्छ। 

पुस्तकमा आदिवासी ज्ञानसम्बन्धी सैद्धान्तिक तथा नीतिगत अवधारणालाई केलाउने प्रयत्न गरिएको छ । जलवायु परिवर्तनले आदिवासी समुदायलाई पारेको प्रभावबारे पनि चर्चा गरिएको छ । यसका अतिरिक्त परिशिष्ट खण्डमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सन्धि, महासन्धि र अभिसन्धिसँग जोडिएका दस्तावेजहरूलाई समावेश गरिएको छ । यसबाट आदिवासी ज्ञानसम्बन्धी कानुनी प्रावधानहरूबारे जान्ने अवसर मिल्छ ।

पुस्तकमा वर्णित आदिवासी समुदायमा प्रचलित परम्परागत कृषि प्रणालीबारे अध्ययन गरिरहँदा विकासे बालीनाली भित्रिनाले रैथाने बीउ मासिँदै गएको, यसबाट किसान वर्ग नजानिँदो किसिमले परनिर्भर हुँदै कङ्गाल बन्ने बाटोतिर लागेको, बढी नाफा कमाउने लालसाले आदिवासी ज्ञानलाई अपहेलना गर्दै रासयनिक मल प्रयोग गर्दा माटो र मानिसको स्वास्थ्य चौपट हुन थालेकाजस्ता वर्तमान युगले भोगिरहेको समस्यातर्फ  पनि मन दौडिन थाल्छ । 

पुस्तकको शुरुदेखि अन्त्यसम्म नजर दौडाउँदा नेपालमा आदिवासी ज्ञानको अवस्थाबारे पाठकको मस्तिष्कमा एउटा नयाँ चित्र कोरिन पुग्छ । अनि, मौखिक वृत्तान्तमा मात्र बाँचेका परम्परागत ज्ञानलाई अभिलेखीकरण गरी नयाँ पुस्तालाई रैथाने ज्ञान हस्तान्तरण गर्ने कृतिकारको सत्प्रयासलाई सलाम गर्न मन लाग्छ ।

आदिवासी ज्ञान विलोपीकरणको दिशातर्फ  उन्मुख हुनुको कारण खोतल्दै कृतिकार  टिप्पणी गर्छन्, ‘आदिवासी जनजातिप्रति सरकारको असहिष्णु नीति, विश्वव्यापीकरण, बजारमुखी अर्थतन्त्र तथा सामाजिक सांस्कृतिक औपविेशक प्रभावका कारण यसप्रकारका ज्ञानहरू लोप हुँदै गएका छन्’ (पृ.५९) ।

आदिवासी ज्ञानको गंगा प्रत्यक्ष वा परोक्ष रूपमा आध्यात्मिकता, सांस्कृतिक इतिहास र राजनीति जोडिएको हुन्छ । यस्ता एकअर्कामा अन्तरसम्बन्धित विषयमा कृतिकारले धेरथोर चर्चा गरे पनि धित् मर्ने गरी विषयवस्तुलाई उधिन्न भने नभ्याएका हुन् कि भन्ने प्रतीत हुन्छ ।


देशको कुल जनसंख्याको लगभग ३६ प्रतिशत हिस्सा ओगट्ने आदिवासी जनजाति समुदायमा प्रचलित परम्परागत ज्ञानलाई केन्द्रीय विषय बनाएर यस कृति तयार पारिएको हो । आफ्नो अध्ययन क्षेत्रको दायरा निर्धारण गर्दा आदिवासी ज्ञानलाई अन्य ज्ञानसँग झिनो रूपमा तुलनात्मक अध्ययन गरिएको भए पनि व्यापकस्तरमा ज्ञान भिडाउने काम भएको देखिन्न, जुन यस कृतिको कमजोरी मान्न सकिन्छ ।

आदिवासी ज्ञानलाई एकतिर परम्परागत ज्ञान, परम्परागत इकोलोजिकल ज्ञान, मौलिक विज्ञान (नेटिभ साइन्स), सामुदायिक ज्ञान, स्थानीय ज्ञान, लोक ज्ञान (फोक नलेज), किसानको ज्ञान, निःशब्द ज्ञान (ट्यासिट नलेज) जस्ता फरक–परक नामबाट चिन्ने गरिएको पाइन्छ भने अर्कोतिर कतिपय अवस्थामा यिनीहरूलाई बेग्लाबेग्लै ज्ञानका रूपमा बुझने र सोही अनुसार व्याख्या गर्ने चलन पनि छ । यस द्विविधापूर्ण अवस्थालाई चिर्न कृतिकारको आफ्नो मौलिक विश्लेषणात्मक दृष्टिकोण पनि आउनुपर्‍थ्यो ।

यहाँनेर, पुस्तकको प्राविधिक पक्षबारे पनि केही चर्चा गर्नु सान्दर्भिक हुन आउँछ । पुस्तकको हरेक अध्याय सन्दर्भ–सूची दिएको छ, जसबाट प्राज्ञिक पुट मिलेको छ । तर सन्दर्भ–सूची त्रुटिविहीन भने छैन । सन्दर्भ–सूचीले निश्चित शैली र व्याकरण अनुसरण नगरेकाले कताकता खल्लो अनुभव हुन्छ ।

पुस्तकमा अर्को पनि टिप्पणी गर्नलायक विषय छ । धेरै मिहेनत गरेर पुस्तक तयार पारिएको छ । सन्दर्भ–सूची दिइसकेपछि अनुक्रमणिका (इन्डेक्स) राख्न कञ्जुस्याइँ नगरेको भए यसको ओज अझ बढ्ने थियो भन्ने सचेत पाठकलाई लाग्नसक्छ । पुस्तकमा बाक्लै भेटिने भाषिक अशुद्धिले पटक पटक आँखा बिझाउँछ । 

यति हुँदाहुँदै पनि पुस्तकले आधुनिकताले रजगज गरेको युगमा पनि परम्परागत ज्ञान, सीप र अनुभव उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण हुनसक्छ भन्ने अनुभूत गराएको छ । परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्ने, नीति निर्मातालाई झक्झक्याउने र नयाँ पुस्तालाई परम्परागत ज्ञानतिर अभिमुखीकरण गर्ने लेखकको प्रयत्न स्तुत्य छ । 

........

लेखक: कुमार यात्रु

प्रकाशकः इन्डिजिनियस मिडिया फाउण्डेसन

प्रकाशन वर्ष : २०७८

मूल्यः ३९८/- रूपैयाँ


गोरखापत्र (शनिबार) । २०७८ साल माघ १ गते ।


Friday, December 3, 2021

जिते नेता, हारे पत्रकार!

 -यमबहादुर दुरा

पत्रकारबीच हाँसोठट्टा गर्दा यदाकदा सुनिने कथन हो, ‘पत्रकारले अरूको मात्र कमजोरी देख्छ, आफ्नै चाहिँं देख्दैन।’ तर, यो टिप्पणीले वास्तविकता पनि बोकेको छ। हामीकहाँ धेरैजसो पत्रकार र सञ्चारगृहले अरूका थुप्रै कमजोरी औंल्याउँछन्, तर आफू र आफ्ना भ्रातृ समुदायको कमजोरीबारे प्रायजसो आँखा चिम्लिन्छन्। एकाध अपवाद बेग्लै कुरा हो। 


पत्रकार भएको नाममा कतिपयले नैतिक रूपमा उपभोग गर्न नमिल्ने स्वतन्त्रता पनि खुलेआम उपयोग गरिरहेका छन्। यस्तो लाग्छ, पत्रकार भनेका समाजका अन्य वर्गभन्दा विशिष्ट हुन् र उनीहरूले सबै कुरामा उन्मुक्ति पाउनुपर्छ। 

ग्राफिक्स : हिमालखबर


खासमा पत्रकार सूचना व्यवसायी (इन्फरमेशन प्रोफेसनल) हो। सूचनाको शुद्धता नै पत्रकारको पेशागत आधार हो। उसको पेशागत आदर्श र जिम्मेवारी पनि सूचनाको शुद्धतामै अडेको छ। पत्रकारको मनमा जन्मिने आर्थिक तथा राजनीतिक स्वार्थले नागरिक समक्ष शुद्ध रूपमा प्रवाह हुनुपर्ने सूचनालाई बिटुलो बनाइदिन्छ। बिटुलो सूचनाले दुष्प्रचारको रूप धारण गर्छ । दुष्प्रचारलाई समाजलाई दिग्भ्रमित तुल्याउँछ, जसले समाजलाई धेरै अर्थमा क्षति गर्छ।


सूचनाको शुद्धता कायम गर्न नसक्दा हुने बहुआयामिक क्षतिलाई ध्यानमा राखेर पत्रकार कुनै पनि राजनीतिक दलमा आबद्ध हुन हुँदैन भन्ने मान्यता विश्वभर स्थापित छ। यही मान्यतालाई मूल सन्देश बनाएर नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महसङ्घले गत ५ मङ्सिरमा विज्ञप्ति जारी गर्‍यो। 


चुनावमा उठेर असफल भएपछि पत्रकारितामा पुनः फर्केका उदाहरण हामीसामु प्रशस्त छन् । यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ। 

राजनीतिक दलको महाधिवेशनमा पत्रकारहरू धमाधम प्रतिनिधि बनेको समाचार आइरहेको पृष्ठभूमिमा महसङ्घले पत्रकारहरूलाई राजनीतिक दलमा आबद्ध नहुन अपील गर्‍यो, जुन अर्थपूर्ण थियो । महसङ्घले गरेको यस्तो अपीलले नेपाली पत्रकार समुदायको एउटा तप्का दलीय राजनीतिबाट सङ्क्रमित छ भन्ने तथ्यलाई उजागर गर्छ, जुन आपत्तिजनक विषय हो।


यद्यपि, पत्रकार राजनीतिमा समाहित हुनु मात्रै आपत्तिको विषय कदापि होइन। मानिसले जीवनमा आफ्नो कार्यक्षेत्र बदल्न सक्छ। पत्रकारले पनि कार्यक्षेत्र फेर्न सक्छ। ऊ पत्रकारिता कर्म छाडेर पूरापुर राजनीतिमा होमिन्छ भने त्यसमा आपत्ति जनाउने कुनै ठाउँ रहँदैन। तर, ऐन–मौकामा राजनीतिक दौडमा पनि सामेल हुने र दौडमा पछि परेमा पत्रकारितामै फर्कने कुरा चाहिं घोर आपत्तिको विषय हो। 


चुनावमा उठेर असफल भएपछि पत्रकारितामा फर्केका उदाहरण हामीसामु प्रशस्त छन्। यसले पत्रकारिता क्षेत्रलाई बदनाम मात्र गरेको छैन, प्रदूषित पनि तुल्याएको छ। पत्रकारितामा राजनीतिक कार्यकर्ताको उठबसले विशुद्ध सूचनाको यात्रामा काँडेतार लगाइदिएको छ। 


यद्यपि, पत्रकारिता र राजनीतिक वृत्तबीच विद्यमान दृश्य वा अदृश्य नाता–सम्बन्ध नयाँ विषय होइन। राजनीतिक शक्ति र पत्रकारले नेपथ्यमा रहेर एकअर्कालाई सहयोग गर्ने प्रवृत्तिलाई जनाउन ‘क्लाइन्ट पोलिटिक्स’ वा ‘क्लाइन्टलिज्म’ भन्ने शब्दावली प्रयोग भएको पाइन्छ। 


‘क्लाइन्ट पोलिटिक्स’ ले राजनीतिक शक्तिको स्वार्थ बमोजिम समाचार तयार पार्ने परिपाटी बसाउने (‘न्यूज फिक्सिङ’ गर्ने) भएकाले यसले सही सूचनाको स्वतन्त्र प्रवाहमा गतिरोध ल्याउँछ। यसप्रति गहिरो चिन्ता व्यक्त गर्दै विद्वत्जनबाट ‘क्लाइन्ट पोलिटिक्स’ ले पार्ने असरबारे शोधमूलक लेखहरू लेखिएका र छापिएका छन्।


चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।

स्वाभाविक छ, राजनीतिक वृत्तले पत्रकारलाई हातमा लिन चाहन्छ। पत्रकारलाई आफ्नो मुठीमा राख्दा उसलाई थुप्रै फाइदा छ। आफ्नो विषयमा सक्दो प्रशस्तिगान र प्रचार गराउने, आफू विरुद्धका सूचना वा समाचार लुकाउने वा रोक्ने, विपक्षी दल, गुट र नेताबारे दुष्प्रचार गर्ने आदिमा राजनीतिक शक्तिबाट पत्रकार प्रयोग हुने गरेका छन्। पत्रकारको पेशागत सठनको चुनाव ताका हुने राजनीतिक सलबलाहट र राजनीतिक समीकरणका अभ्यासहरूको रहस्य पनि यही हो। 


चुनावको पूर्वसन्ध्यामा बन्द कोठामा पत्रकारले राजनीतिक नेतृत्वबाट आशीर्वाद थाप्ने परम्परा ‘खुला रहस्य’ नै बनेको छ। यसले पत्रकार राजनीतिक दलको पोल्टामा छ भन्ने तथ्यलाई प्रकारान्तरले पुष्टि गर्छ। पत्रकार र राजनीतिक शक्तिबीच विद्यमान अवाञ्छित साँठगाँठबाट समाजले कुनै न कुनै रूपमा मूल्य चुकाउनुपर्छ।


नेपालमा दृश्य वा अदृश्य रूपमा अमुक दलका लागि काम गर्ने पत्रकारको सङ्ख्या कम छैन। कतिपय पत्रकारले राजनीतिक दलको सदस्यता लिएका छन्, जो पत्रकारिता कर्ममा कम र दलका गतिविधिमा बढी सक्रिय भेटिन्छन्। कति पत्रकारले पत्रकारिता पेशामा बहाल रहेकै अवस्थामा कुनै राजनीतिक दलका नेताको प्रेस सल्लाहकारका रूपमा काम गरेका छन्, जुन पेशागत आदर्शका दृष्टिले मर्यादाहीन व्यवहार हो। 


कसैको प्रेस सल्लाहकार बन्ने हो भने सम्बन्धित पत्रकारले त्यस अवधिका लागि पत्रकारिता पेशा त्याग्नुपर्छ। पत्रकारिता गर्नु र कसैको प्रेस सल्लाहकार हुनु नितान्त फरक कुरा हुन्। यी र यस्ता राजनीतिसँग जोडिएका पत्रकारिताको आयामलाई नेपालको पत्रकार आचारसंहिताले समेटेको देखिँंदैन। 

अमेरिकी पत्रकारहरूको पुरानो संस्था ‘सोसाइटी अफ् प्रोफेसनल जर्नालिस्ट्स’ (एसपीजे) को आचारसंहितामा पत्रकारको राजनीतिक संलग्नता र गैरपेशागत क्रियाकलापले पेशागत आदर्श, निष्पक्षता र विश्वनीयतालाई क्षति गर्ने भएकाले त्यस्ता क्रियाकलापमा लाग्न नहुने उल्लेख छ। यसले पत्रकारको दोहोरो भूमिका तिरस्कार गरेको छ। 


द न्यूयोर्क टाइम्सले आफ्ना पत्रकारका लागि तयार पारेको आचारसंहिता सम्बन्धी हाते किताब (सन् २००४) मा भनिएको छ– ‘पत्रकारलाई मतदान गर्ने अधिकार छ, त्यसभन्दा बढी कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी हुन पाउने ठाउँ छैन। राजनीतिक मैदान पत्रकारका लागि होइन।’ 


हरेक सचेत नागरिकले जानेकै कुरा हो, कोही पनि आफ्नो पेशागत आचरणबाट विचलित हुनु हुँदैन। त्यसमा पनि पत्रकारको जिम्मेवारी झन् गहन छ। पल–पल बदलिँदै गएको दुनियाँबारे जिम्मेवार भएर सूचना प्रवाह गर्ने र समाजको सकारात्मक परिवर्तनका लागि नयाँ दृष्टिकोण दिने जिम्मेवारी पाएको पत्रकारले सूचनाको शुद्धता कायम गर्न नसक्दा समाजमा अनेक दुष्परिणाम देखा पर्छन्। 


नेपालमा भने आनन्दै छ। पेशागत चरित्र र जिम्मेवारीको कुरामा न सम्बन्धित क्षेत्रले न त समाजले नै बहस र प्रश्न गरेको छ। सूचना व्यवसायीहरू राजनीतिक कित्तामा उभिँंदा समेत त्यसलाई स्वाभाविक मानिन्छ। सूचना व्यवसायीहरू राजनीतिक मैदानमा पनि उत्रिने र सूचनाको कारोबार पनि गर्ने गरिरहँदा समाजले प्राप्त गर्ने सूचनामा अशुद्धताको तह क्रम स्वभावतः बढ्छ । त्यसले समाजमा नजानिँदो किसिमले पार्ने असरबारे कमैलाई चिन्ता छ। हामीकहाँ सरोकारको कुरा यत्ति छ– जिते नेता, हारे पत्रकार!

हिमालखबर । २०७८ साल मङ्सिर १३ गते ।



Monday, October 25, 2021

कोरानाको सामाजिक प्रकम्पन

 

–यमबहादुर दुरा 

सर्वविदित कुरा हो, सन् २०१९ को अन्त्यतिर चीनमा भयानक सङ्क्रामक व्याधि देखा परेपछि दुनियाँ त्रस्त हुन पुग्यो । कोरोना नामबाट परिचित यो महाव्याधि तीव्र गतिमा संसारभर फैलिएर  लाखौँको ज्यान लिन थालेपछि ‘डिजिटल युग’ को रूपमा सर्वपरिचित एक्काईसौँ शताब्दीको परिचयमा अर्को नयाँ परिचय पनि थपियो । त्यो हो, ‘महाव्याधिको युग’ को युग । विगतका कतिपय शताब्दीजस्तै एकाईसौँ शताब्दी पनि महाव्यधिमुक्त शताब्दी बन्न पाएन ।

....

संसारको हरेक कुनामा विनाशलीला मच्चाउन सफल कोरोना महामारीबाट नेपाली जनजीवन पनि अप्रभावित रहन सकेन । भूकम्पपछि नयाँ प्रकम्पन आएजस्तै समाजमा कोरोनाका पनि अनेकन् प्रकम्पनहरू देखापरे । यसबाट संस्कृतिदेखि प्रविधिसम्म, मेलापातदेखि सभा–सम्मेलनसम्म अनि पारिवारिक अर्थतन्त्रदेखि राष्ट्रिय अर्थतन्त्रसम्म प्रभावित भए । यसले हाम्रा अनुभव र अनुभूतिहरूको किताबमा विल्कुलै नयाँ पानाहरू थपिदिएको छ । 

कोरोनाले मृत्युपर्व नै निम्त्याइदियो । कोरोनाकालले जीवनको क्षणभङ्गुरता राम्र्रैसँग सम्झाइदियो । एक समय त यस्तो पनि आयो, फेसबुक खोल्ने बित्तिकै समवेदना सन्देशका नमीठा शृङ्खलाहरू प्रकट हुन थाले । जताततै समवेदना सन्देश । दश हजारभन्दा बढी नेपालीजनले अकालमा मृत्यवरण गर्नुपर्‍यो, जसमा केही चर्चित व्यक्तिहरू पनि परे । 


पूरातत्वविद साफल्य अमात्य (वि.सं. १९९९–२०७८), सञ्चार उद्यमी महेन्द्र शेरचन (वि.सं. २०१०–२०७८), लोकसाहित्यका अध्येता प्रा.डा. मोतीलाल पराजुली (वि.सं. २०१३–२०७८), साहित्यकारद्वय कृष्णप्रसाद श्रेष्ठ (वि.सं. १९९५–२०७८) तथा राजेन्द्र सुवेदी (वि.सं. २००२–२०७८), गीतकार चेतन कार्की (वि.सं. १९९५–२०७८) आदि व्यक्तित्व कोरोनाका कारण अस्ताए । दुर्भाग्यवश, कोरोनाको मृत्युपर्व अझै  जारी छ ।

....

मनमा पीडाको घाउ बल्झिरहेको बेला समाजमा अरू पनि दुःखलाग्दा घटना घटे । कोरोनाले मानवलाई मात्र मारेन, मानवीय भावनालाई पनि मार्ने काम गर्‍यो । मानिसको आगमनबाट कोरोना सर्ने डरले बाटोघाटोमा भाँजो हालिए । पुलमा काँडेदार लगाइए । खोलाको फड्के भत्काइए । बाटोमा बार लगाइए । यस्ता तस्बिरहरू सोसल मिडियामा पोष्टिन थाले ।

कोरोनाको बिरामीलाई मात्र होइन, बिरामीको सेवामा जुटेका स्वास्थ्यकर्मी छिछि दुरदुर गरिएका समाचार आए । यी यावत् अमानवीय क्रियाकलापबाट हाम्रो सामाजिक मनोविज्ञानको कुरूप तस्बिर प्रकट हुन पुग्यो । जानेर वा नजानेर हामीले आफैँलाई अमानीय क्रियाकलापको सूत्रधार तुल्यायौँ । 

विचलित मनहरूलाई सान्त्वना दिँदै माया–ममता र सदभाव बाँड्नुपर्ने घडीमा किन यस्तो अमानवीय व्यवहार भए ? हामीमा पलाएको अमानीय व्यवहारको स्रोत के हो ? हामीले समतामूलक समाज र सामाजिक न्यायको धरातललाई किन बिर्सियौँ ? कठोर आत्मासमीक्षा गर्नुपर्ने बेला आएको छ । 

....

काकोरोनाकालमा अस्पतालहरूको असुली धन्दा राम्रैसँग मौलायो । अस्पतालले कोरोना बिरामीको उपचार गरेवापत दैनिक ५० हजारदेखि देखि एक लाख रूपैयाँसम्म असुली गरेको तथ्य सार्वजनिक भयो । खोपबाहेक कोरोनाको कुनै पनि भरपर्दो औषधि बनेको छैन । यस्तो अवस्थामा प्रश्न उठ्छ, बिरामीका लागि कुन महङ्गो औषधि चलाइन्छ, जसबाट यति चर्को शुल्क असुल्न परोस् ? जति सोच्दा पनि प्रश्नको चित्तबुझ्दो उत्तर भेटिँदैन ।

कतिले घरखेत बेचेर १५/२० लाख रूपैयाँ बिरामीको स्वास्थ्योपचारमा खर्च गरे । दुर्भाग्यवश, गतिमा धनमा खोलो पनि लगाए, बिरामीलाई गुमाए । कति पीडादायी अवस्था ! सोच्दा दिमाग चक्कराउँछ । मुठ्ठीभर धनवान्हरूका लागि १५/२० लाख रूपैयाँ केही होइन होला, तर दश नङ्ग्रा खियाएर जसोतसो हातमुख जोर्ने अधिकांश कर्मजीवीहरूका लागि दुर्लङ्ध्य पहाड नै हो । 

कोरोनाकालमा अस्पतालहरूले मानवता बिर्सिएर देखाएका द्रव्यमोहले स्वास्थ्य सेवाको निजीकरणको घातक असरबारे सोच्न गहिरिएर बाध्य तुल्यायो । यसले जनस्वास्थ्यबारे सरकारले अख्तियार गरेको नीतिबारे पनि सोच्नुपर्ने अवस्था पैदा गरिदिएको छ । यसबाट स्वास्थ्य–सङ्कटकालले गरिबी कुचक्रमा पिल्सिएका नागरिक भीरको डिलमै पुर्‍याउने रहेछ भन्ने नमीठो सन्देश मिलेको छ ।

...

अब, पीडाको कुरा छाडेर केही रमाइलो कुरा गरौँ । कोरोनाले निम्त्याएको लकडाउनले कतिपय मित्रहरूलाई अनुहारको रूप–रङ्ग बदलिदियो ।सधैँ सफाचट दाह्री–जुँगा काटेर चिटिक्क परेर हिँड्ने कतिपय साथीभाइको अघिपछिभन्दा बेग्लै रूपमा देख्न पाइयो । दुई दुई पटकको लम्बेतान लकडाउनमा उनीहरूका गाला र ओठमा दाह्री–जुँगा निकै बढेछन्, हैर्दै ऋषिमुनिजस्ता देखिने ।

लकडाउनमा बर्खायाममा वनपाखामा साल्मे घाँस बढेझैँ  दाह्री–जुँगा बढेछन् । बढेका दाह्री–जुँगाको तस्बिर फेसबुकका भित्ताभरि पोष्ट भए, जसले डिजिटल दुनियाँमा तहल्का नै मच्चायो । ती तस्बिर हेर्दा यस्तो लाग्थ्यो, उनीहरू अफगानिस्तानमा भर्खरै सत्तारोहण गरेका कट्टरपन्थी तालिबानहरू हुन् । 

....

लकडाउनले जनजीवनका धेरैजसो धमनीहरू बन्द गरिदिए । कतिपय पुस्तक प्रेसमै अड्किए । यद्यपि, यही अभिशप्त समयमै कतिपय लेखक तथा साहित्यकारका लेखन धमनीहरू खुले । उनीहरूले ‘बन्दी समय’ लाई उपयोग गरेर लेखनकर्म पूर्ण गतिका साथ अघि बढेको चर्चा–परिचर्चाले सुनियो । 


लेखक तथा साहित्यकारले लकडाउनको समयमा कोरलेका नयाँ कृतिका तस्बिरसहित समाचार आए । कतिपय लेखकले त भर्चुअल माध्यमबाट कृति विमोचन गर्नसमेत भ्याए । कृति सार्वजनिकीरणको नयाँ परिपाटीप्रति कतिपयले रमाइलो टिप्पणी गरे- राम्रै भयो, खाजा र यातायातको खर्च बच्यो ।  

लकडाउनमा वयस्क लेखक लेखनकर्ममा अग्रसर भइरहेको बेला कलिला लालाबाला पनि लेखनकर्ममा सरिक भएको समाचार आयो । उनीहरू भिडियो कन्फरेन्सिङमार्फत्  बालकथा लेखन प्रतियोगितामा सहभागी भएको समाचार पढ्न पाइयो । सङ्कटले लालाबालालाई नयाँ ‘प्ल्याटफर्म’ जुटाइदिएको घटनालाई सकारात्मक विकासक्रम मान्नैपर्छ । 

लकडाउनले लेखनका अतिरिक्त पठन संस्कृतिलाई प्रवर्द्धन गरेको चर्चाले पनि भाउ पायो । केही पढैया व्यक्तिहरूले लकडाउनको निरस समय धबाउन पढिएका र फुर्सदका समयमा पढनलायक कृतिहरूको लामै पेश गरे । कहिल्यै पनि नदेखिएका वा छुनसम्म नपाइएका कृतिका लोभलाग्दा मुखपृष्ठ सोसल मिडियामा दर्शन गर्न पाइयो ।

....

कोरोना महामारी हाउगुजी बन्न पुग्यो । कोरोनाबारे काल्पनिक कथा बुनिए । सोसल मिडियाका मिडिया आउटलेटमा कोरोनाबारे भ्रामक सूचना प्रवाह गरेर भ्रमजाल तयार पारियो । परिणामतः कतिपय सोझासीधा नागरिकले गलत सूचनालाई आत्मासात गरे । गलत सूचनाका कारण कतिपय सर्वसाधारणले खोप लाउन मानेनन् ।

गलत सूचनाको शिकार बनेर कतिले कोरोनाविरुद्धको खोप लगाउन मानेनन् । कोरोनाको सङ्क्रमण बढदै गएर घातक नतिजा प्रकट हुन थालेपछि खोपको ह्वात्तै माग बढ्यो । समयमा खोप ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । पहुँचवालाहरूले लुकीलुकी खोप लगाएको सूचना पनि बाहिरिए । 


खोप लाउन नमान्नेहरू नै खोप लगाउन पाउनुपर्छ भनेर प्रदर्शनमा उत्रिए गरे । यसले एउटा लोकोक्तिको सम्झना दिलायो, जसको परिमार्जित संस्करण यहाँ प्रस्तुत गर्न मन लाग्यो : ‘अघि तिम्ले मानिनौ, पछि तिम्ले जानिनौ, बाघ लाग्यो घिच्याउन, तिमी लाग्यो चिच्याउन ।’

....

कोरोना जमघटबाट सजिलै सर्ने व्यथा–व्याधि भएकाले सांस्कृतिक गतिविधि, जमघट र जात्रामात्रामा रोक लागे । युगौँदेखि चलिआएका सांस्कृतिक गतिविधिहरू ठप्प भए । यसबाट पलपल कृष्णपक्षको चन्द्रमा जस्तै बन्दै गएको हाम्रा रैथाने संस्कृतिमाथि थप नकारात्मक प्रभाव पार्ने नै भयो । 

रैथाने संस्कृतिमाथि बाहिरी संस्कृतिको प्रभाव भने यथावत नै रह्यो । वाह्य संस्कृति त भूउपग्रहमार्फत्  भित्रिने हो, जुन हिजो पनि भित्रिएकै थियो, आज पनि निर्वाध रूपमा भित्रिरहेको छ । कोरोना हाम्रो मौलिक संस्कृति विस्थापनका लागि अप्रत्यक्ष रूपमा नकारात्मक भूमिका खेल्यो । 

आखिर, हामी धेरै अघिदेखि नै सांस्कृतिक अतिक्रमण शिकार बन्दै आइरहेका छौँ । हाम्रो चिनारीसँग गाँसिएको मौलिक पहिचान पल–पल मेटिँदै गएको छ । तर, हाम्रो रैथाने पहिचान गुम्दै गएकोमा धेरैलाई चासो नभएको लाग्छ । अझ यसो भनौँ:

 बुझ्नेलाई यो कुरा गैह्रो छ 

घरछेउमा पैह्रो छ

यद्यपि, हाम्रो सांस्कृतिक जीवनमा एउटा अनपेक्षित तर रोचक मोडचाहिँ आएको छ । विगतमा भेटघाटमा हात मिलाउने बेसरी मौलाउँदै गएको थियो, जसलाई कोरोनाले क्वाप्पै निलिदियो भन्दा पनि हुन्छ । आजकल हात मिलाउने भन्दा पनि नमस्कार गर्ने पुरानो चलनको पुनरावृत्ति भएको छ । 

भेटघाटमा हात मिलाउने र अङ्कमाल गर्ने चलन भएका विदेशी नेताहरूले समेत आपसी भेटघाटमा टाढैबाट नमस्ते गरेका दृश्य टेलिभिजनका पर्दामा देखिए । पूर्वीय संस्कृतिलाई पश्चिमी गोलार्द्धमा यति मजासँग विस्तार भएको यो दुर्लभ घटना हो ।

....

कोराना महामारीले अरू क्षेत्रलाई जस्तै ‘मौन तर अविच्छिन्न क्रान्ति’ मानिने शिक्षा जगतलाई बेहाल तुल्याइदियो । भोलि देश चलाउनेहरूको भविष्य अन्योलग्रस्त नहोस् भनेर अनलाइन शिक्षाको विकल्प रोजियो, जुन नेपाली समाजका लागि तुलनात्मक रूपमा नयाँ विषय थियो । 

स्वाभाविक थियो, नेपाली समाजमा अनलाइन शिक्षा अपेक्षित रूपमा प्रभावकारी हुन सकेन । ब्रोडब्याण्ड इन्टरनेट, बिजुली, मोबाइल सेट वा ल्यापटपमा पहुँच नहुनु तथा प्राविधिक ज्ञानको कमीले कतिपय विद्यार्थीका अनलाइन सिकाइमा अनगिन्ती अवरोध आए । 

जतिसुकै कडीकडाउन नियम लागू गरे पनि अधिकांश कलेज तथा स्कुलमा ५० प्रतिशतभन्दा कमै विद्यार्थी अनलाइन कक्षमा सहभागी हुन सके । कति ठाउँमा ३० प्रतिशत पनि विद्यार्थी जुट्न सकेनन् । 

अनलाइन शिक्षाबारे अनेकन् तीतामीठा अनुभव सार्वजनिक हुन थाले । यस्तैमा कलेजका अध्यापकहरूले यस्तो पनि अनुभव सुनाए- कतिपय विद्यार्थी त रुखमा चढेरसमेत अनलाइन कक्षा लिएका लिन विवश थिए । यसले हामीकहाँ ज्ञानको भोक र ‘डिजिटल डिभाइड’ बीचको द्वन्द्व चर्कै छ भन्ने प्रष्ट्याउँछ ।


कोरोनाले निम्त्याएको अनलाइन शिक्षाले नेपाली समाजमा विद्यमान डिजिटल डिभाइड, अनलाइन शिक्षाको स्तर तथा इन्टरनेट सेवाको गुणस्तरबारे गहिरिएर सोच्न बाध्य तुल्यायो । यतिमात्र होइन, अनलाइन शिक्षा गुरुजन, विद्यार्थी र अभिभावकका लागि नयाँ पाठ हुन गएको छ । 

....

महामारीले कुनै जातभात र रूपरङ्ग हेर्दैन । कोरोना महमारीले जोकोहीलाई पनि गाँज्न सक्छ । महामारी फैलाउने  भाइरसको वाहक जो पनि हुन सक्छ । तर, कोरोना चीन (वुहान) बाट शुरु भएकोले सङ्क्रामक भाइरसको पहिलो वाहक चिनियाँ नै हुन् भन्ने आमधारणा थियो । 

त्यसैले दुनियाँ चिनियाँहरूप्रति सशङ्कित थियो । यतिञ्जेलसम्म अमेरिका र बेलायतमा पनि चिनियाँ मुलका मानिसहरूप्रति दुर्व्यवहारका घटना भन्ने समाचार आइसकेका थिए । 

सञ्चार माध्यममा कोरोनाबारे अनेकन् समाचार आइरहेका बेला २०७६ साल फागुन २१ गते साथीभाइको एउटा टोलीसँग मिसिएर भारतको बैङ्लोर प्रस्थान गरेका थियौँ । उद्देश्य थियो, सञ्चारसम्बन्धी सम्मेलनमा सहभागी हुने ।  

दिल्ली, कोची हुँदै हाम्रो टोली बैङ्लोर पुगेको थियो । ट्रान्जिट र स्क्रिनिङले यसै पनि दिक्क लगाइसकेको थियो, त्यसमा पनि मेरो रूप–रङ्ग चिनियाँजस्तो भएकाले मलाई धेरैले आशङ्कापूर्ण नजरले थालिसकेका थिए, जुन दिल्ली एयरपोर्टदेखि नै शुरु भयो । 

एयरपोर्टको इन्ट्री, एक्जिट र काउण्टरमा ममाथिको सोधपुछ र निगरानीका दिक्कलाग्दो शृङ्खलाले मलाई पछ्याइरहे । मलाई देखेर मानिसहरू मुख छोपेर तर्किँदै हिँड्न थाले । मेरा सँगैका साथीले जानकारी गराए– तपाईंलाई हेरेर ती मानिसहरू कानेखुसी गर्दैछन्, मुख पनि छोप्दैछन् । 

एयरपोर्टमा ममाथि भएका व्यवहारबाट वाक्कदिक्क भइसकेको थिएँ । चार–पाँच दिनको छोटो बसाइ पनि झर्कोलाग्दो भइसकेको थियो, मेरा लागि । कहिले घर फर्कौ जस्तो भइसकेको थिएँ । अन्ततः एयरपोर्टमा भएका अनेकन् सोधपुछ र निगरानीलाई छिचोल्दै आफ्नै घर फर्कियौँ । बल्ल पो ढुक्क भएँ ।

....

समग्रमा कोरोना महामारीले राम्रै शिक्षा दियो । रोगव्यधिले निर्माण गर्ने मानवीय मनोविज्ञान, सरकारी नीति र स्वास्थ्यसेवाबीच विद्यमान खाडल, शिक्षा प्रणाली र डिजिटल प्रणालीबीचको बेमेल, अर्थतन्त्रलगायत तमाम विषयमा चिन्तन विषय ठाउँ हामी सामु छाडिदिएको छ । यसबाट पाठ सिक्ने ? त्यो हामीमै भर पर्ने कुरा हो । इति शुभम् ।


[मधुपर्क, कत्तिक, २०७८ ]