Tuesday, April 26, 2011

चौतारीको बरै ढलेछ...

 –यमबहादुर दुरा

विकास । सबैले रुचाएको शब्द । विकास, विकास र फेरि पनि विकास । सबैजनाको चाहना यही छ । आधुनिकताको दृष्टिले विकास जति प्रिय छ, रैथाने जीवनशैलीका दृष्टिले उति नै अप्रिय र भक्षक पनि छ । विकासले आधुनिक जीवनशैलीका धेरै पाटाहरुलाई हराभरा बनायो होला तर यसबाट रैथाने जीवनपद्धतिका धेरै आयामहरु उजाडिन पुगेका पनि छन् । विकासलाई भित्य्राउँदा तिर्नुपरेको अनुभूतिगत मूल्य चर्को छ ।
यसको ज्वलन्त दृष्टान्तका रुपमा हरपल उजाडिंदै गरेको गाउँठाउँका चौतारीहरुलाई लिन सकिन्छ ।

डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि उकाली ओरालीका चौतारीहरु बिरानो बन्दै गएका छन् । यस सँगसँगै चौतारी र यसले निर्माण गरेको बृहत सामाजिक र सांस्कृतिक परिवेशसँग गाँसिएका जीवन भोगाइका अनुभूतिहरु  विस्मृत बन्दै गएका छन् । बचेखुचेका जिउँदा अनुभूतिहरु पनि घाइते बन्दैछन् र रनाहामा छट्पटिंदैछन् ।

विकासका नाममा बुल्डोजरको थुतुनोले उधिनेर 'बाइरोड' हरु खनिंदैछन् । परिणामस्वरुप बान्की परेका पाखापखेराहरु कुरुप र थोते बन्न पुगेका छन् । यसबाट ठाउँठाउँमा पहिरोको राक्षसी रुप पनि जाग्न थालेको छ ।

उता, पीच रोडहरुको लम्बाइ बढ्दैछ । हिजोका पैदल यात्रीहरु मोटरमा आज सरर गुड्दैछन् । विकास हुनु र नागरिकले गाडीमा यात्रा गर्न पाउनु नराम्रो होइन । तर पनि विकासले पुराना अनुभूतिहरुलाई मेटाइदिंदा कता कता अनुभूतिजन्य छट्पटी हुने रहेछ । डाँडाकाँडाहरुमा मोटर गुड्न थालेपछि पसिना पुछ्दै अनि सुस्केरा काढ्दै उकाली ओराली काटिएका र चौतारीमा थकाइ मारिएका सम्झनाहरु पातलिंदै गएका छन् ।
तारानाथ शर्माले कुनै समयमा लेखेको चर्चित यात्रासंस्मरण 'घनघस्याको उकालो काट्ता' पनि मोटरबाटोका कारण सन्दर्भविहीन बन्न पुगेको समाचार अखबारमा आएका छन् । समग्रमा भन्दा चौतारी सँस्कृतिसंगको नेपाली जनजीवनको नाता बिस्तारै टुट्दै जान थालेको छ ।

समयले काँचुली फेर्दैछ । यस सँगसँगै 'चौतारी संस्कृति' ओझेलमा पर्दै गएको छ । एक हिसाबले यसलाई स्वाभाविक प्रक्रिया नै मान्नुपर्छ । तर पनि शताब्दियौंअघिदेखि अस्तित्वमा रहेको चौतारी संस्कृति र नेपाली जनजीवनको नातासम्बन्ध टुट्ने क्रमको साक्षी बन्नुपर्दा कताकता ननिको लाग्दो रहेछ ।
ग्रामीण जीवनशैलीले घेरिएको हाम्रो भौगोलिक एवम् सामाजिक परिवेशमा चौतारीको बहुआयामिक महत्व छ । चौतारीहरुमा भारीमात्र बिसाइँदैन । चौतारीमा थकाइमा मात्र पनि मारिँदैन । चौतारी सार्वजनिक थलो भएकोले यहाँ ग्रामीण जीवनशैलीका सार्वजनिक पाटोसित गाँसिएका अनगिन्ती क्रियाकलापहरु हुन्छन् । पहिले पहिले भद्रभलाद्मीबीच चौतारीमै कहचरी हुन्थ्यो । गाउँघरका सानातिना मुद्दामामिलाहरु त्यही छिनिथ्यो । अर्कोतिर मध्यपहाडी भेगका कतिपय गाउँमा नचाइने घाँटु चौतारीमै सेलाइन्थ्यो ।

आज पनि फूर्सदको बेलामा चौतारीमा बसेर साथीसंगीहरुबीच बाघचाल खेलिन्छ । गट्टा खेलिन्छ । चौतारीमा नचिनेका बटुवाहरुबीच चिनजानी हुन्छ अनि थकाइका सुस्केराहरुबीच सुखदुःखको कुराकानी हुन्छ ।

चौतारीमा घाँस, दाउरालगायतका ज्यानले बोक्ने सबै किसिमका भारी बिसाइन्छ । तर त्यहाँ ज्यानको भारीमात्र बिसाइँदैन, मनको भारी पनि बिसाइन्छ । साथीसंगीसँग दिल खोलेर कुराकानी गरेर वा होस् गीत गुनगनाएर नै किन नहोस्, त्यहाँ मनको भारी पनि बिसाइन्छ । त्यसैले चौतारी मनको भारी बिसाउने थलो पनि हो ।

चौतारी र त्यहाँ रोपिने रुखवृक्ष (बर, पीपल एवम् लाँकुरी) सँग हाम्रा गाउँबस्तीका नाउँ जोडिएका छन् । यसका थुप्रै उदहारण छन् । हामी थाहै छ, सिन्धुपाल्चोकको सदरमुकामको नाम 'चौतारा' हो । 'आँपपीपल' गोरखाका ६६ गाविसहरुमध्ये एक हो । नेपालको राजनीतिक इतिहासमा भीमसेन थापाको नाम बारम्बार उच्चारण हुने गर्छ, उनको जन्मथलो गोरखाको पीपलथोक (बोर्लाङ) हो । यसैगरी, तनहूँ जिल्लाको ४६ बटा गाविसहरुमध्ये एउटा गाविसको नाम बरभञ्ज्याङ हो, जुन घाँसीकुवा गाविसको छिमेकी हो । पूर्वपश्चिम राजमार्गमा पर्ने 'ढल्केबर' एउटा यस्तै चर्चित नाउँ हो, जुन धनुषा जिल्लामा पर्छ । यी त उदाहरणात्र हुन् । यस्ता अनगिन्ती नामहरु प्रचलनमा छन्, जसले चौतारी संस्कृतिसँगको हाम्रो पुस्तौं पुरानो नातालाई उजागर गर्छ । पीपलटार, पीपलबोट, बरबोट, पीपलथोक, बरभञ्ज्याङ, बेलचौतारा, पीपल चौतारा, लाँकुरीडाँडा, लाँकुरी भञ्ज्याङ, बिचारी चौतारी, लाँकुरीस्वाँरा, लाँकुरी गैह्रा, डिलको चौतारी, आदि हाम्रा गाउँबस्तीका यस्ता मीठा र सुन्दर नाउँहरु हुन्, जसमा ग्रामीण जीवनशैलीको विम्ब र तस्बिरहरु भेटिन्छन् । यी नामहरुले एकातिर चौतारी संस्कृतिको साक्षी बकिरहेको छ भने अर्कोतिर यिनमा हाम्रा जीवन भोगाइ र अनुभूतिका गहिराइहरु भेटिन्छन् ।

चौतारी संस्कृतिसँग गाँसिएको एउटा अर्को मीठो पक्षको बारेमा चर्चा गरौं । चौतारी र त्यहाँ लगाइने बोटवृक्षसँग जोडिएका लोकगीतका अनगिन्ती फाँकी र फुंदाहरु जनजिब्रोमा आजपर्यन्त झुण्डिएका छन् । यसले हाम्रो लोकसंगीतलाई धनी बनाउन पनि सघाएको छ ।

'यो मायाले गरेन वास्ता, चौतारीको छेवैमा मै बस्दा ' :  केटाकेटी छँदा सुनेको  यस लोकगीतमा युवा मनका यन्त्रणा र याचनाहरु छताछुल्ल पोखिएको पाइन्छ । यसले युवा मनलाई मात्र प्रतिनिधित्व गरेको छैन, नेपाली जनजीवनको चौतारीसँग गाँसएको नातालाई प्रस्ट्याउने काम पनि गरेको छ ।

मनमा उत्पन्न भएको ताप वा अशान्तिलाई झल्काउने अनेक तरिका र माध्यमहरु छन् । तर चौतारी संस्कृतिसंग परिचित हुनेहरुले लोकसाहित्यको रसिलो विधा लोकगीतमार्फत मनभित्रको अशान्तिलाई यसरी व्यक्त गरेको पाइन्छ : 'चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु ।'

मर्ने दिन अज्ञात छ  तर हाम्रा बूढापाकाले मृत्युको पूर्वाभास पाउँथे भनिन्छ । उनीहरुले निश्चित प्राकृतिक विम्ब वा सूचकहरुका आधारमा आफू संसारबाट विदा हुने दिन थाहा पाउँथे रे । 'अहिले साल मरिन्छ क्यारे, ओइलायो राम्दीमा पीपलु ।' यस गीतले यही जीवनदर्शनलाई चित्रण गर्छ ।

मानव चोला घामछायाँजस्तै हो । जिन्दगी छोंटो छ र अस्थिर पनि । यही वास्तविकतालाई मनमा राखेर हाम्रा अग्रजहरुले मानिसको दुइदिने चोलालाई  लाँकुरी छायाँसँग दाँजेको पाइन्छ : 'किरिमिरे लाँकुरी छायाँ, यो जिन्दगी दुई दिनको रामछायाँ' ।

बर र पीपल शब्द प्रयोग भएका लोकगीतहरुले नेपाली जनजीवनको साक्षी बोलेको पाइन्छ । 'पीपलसंगै बर, पीपलुको छायाँमुनि मायालुको घर' यस लोकगीतको भाव र झङ्कारलाई मनको आँखाले अनुभूत गर्दा हाम्रो आँखासामु बर पीपलको चौतारी र त्यस वरिपरि रहेका ढुङ्गा र माटोले बनेका अनि खरले छाइएका घरहरुका तस्बिरहरु नाँच्न आउँछन् । अर्थात् ग्रामीण परिवेशको एउटा झलक मिल्छ, यसबाट । यसमा हाम्रो माटोको सुवास भेटिन्छ ।

चौतारी संस्कृतिको प्रभाव नेपाली सुगम संगीत एवम चलचित्रमा पनि परेको देखिन्छ । 'चौतारीको बरै ढलेछ...' (शिशिर योगी), 'लहरे बर घुमाउने चौतारी...' (अरुणा लामा), 'चौतारीमा बसेर रुन पाउँ...' (अरुणा लामा),  'जहाँ बरले पीपललाई अंगालेको हुन्छ, तिम्रो हाम्रो साइनो त्यतैतिर सोध...' (चलचित्र 'कान्छी'),   आदिलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।

चौतारी एवम् चौतारीमा लगाइने बोटविरुवाबारेको हाम्रा सामाजिक मान्यत एवम् विश्वास  प्रणाली आफ्नै किसिमको छ ।  ' विवाह नगरेकाले  बर पीपल सार्नुहुँदैन । फाप-नफाप हुन्छ ' भन्ने मान्यता पनि हामीकहाँ छ । चौतारी बनाएमा ' पुण्य मिल्छ ' भन्ने मान्यताबाट हाम्रो पुराना पुस्ता निकै ओतप्रोत छ । परोपकारी भावना भएका हाम्रा पूर्खाहरुले बटुवा एवम् भरियाहरु हिंड्ने डाँडाकाँडा, देउराली र भञ्ज्याडमा चौतारी बनाए । थकित बटुवा र भरियाहरुलाई छहारी र आश्रय दिने काम गरे । उनीहरुले चौतारीमा बर, पीपल, लाँकुरीजस्ता हितकारी वृक्षहरु रोपेर वरत्र र परत्र सुधार्ने काम गरे ।

परिवारको कुनै सदस्य खस्दा उसको सम्झनामा चौतारी बनाउने चलन हामीकहाँ छ । एउटा परिवारभित्र भएको अपूरणीय खतिलाई अर्को ढङ्गले पूरा गर्ने सतत् प्रयास हुन्छ । बृहत्तर समाजिक हितका लागि सिर्जनशील र कल्याणकारी काम गरेर । कति वन्दनीय परम्परा ! कति सुन्दर परम्परा ! यस परम्पराको गुनगान जति नै गाए पनि कम हुन्छ ।

डाँडाकाँडा काटेर हिँड्ने बटुवा र भारीले थिचिएका भरियालाई तिर्खा लाग्छ भनेर चौतारीमा सुख्खा याममा पानीको घैंटो राखिदिने चलन हामीकहाँ छ । अरुको मन चिन्न सक्ने हाम्रो हितकारी परम्पराले हामीले भोगिरहेको तिक्डमपूर्व वर्तमानबारे एकपल्ट गहिरिएर सोंच्न बाध्य तुल्याउँछ ।

हाम्रो परम्परा र संस्कृतिमा मान्छेको मात्र विवाह हुँदैन, भ्यागुताको मात्र पनि विवाह हुँदैन । यहाँ त, वनस्पतिको पनि विवाह हुन्छ । खासगरी बर र पिपलको । चौतारीमा बर र पीपल रोपेर उनीहरुको विवाह गरिदिने चलन छ । प्रतिष्ठा गर्ने र भोजको चाँजोपाँजो गर्ने चलन छ ।

कतिपय अवस्थामा मानिसको जोडी वा प्रेमीप्रेमिकालाई पनि चौतारीको बर पीपलसँग दाँज्ने गरिन्छ । कसैले कसैसँग काँधमा काँध मिलाएरमा बसेमा 'चौतरीको बरपीपलझैं नारिएर बसेको' भन्ने गरिन्छ । 'अलि यता सर न रेशम, चौतारीको बरपीपलझैं बसम्' :  नेपाली जनजीवनको स्पन्दन भेटिने यो लोकगीत गाउँबस्तीहरु आज पनि गुञ्जिँदैछन् ।

हाम्रो समाजले युगल जीवनलाई पनि चौतारीसँग दाँज्ने गरेको पाइन्छ । कसैको जोडी छुटेमा वा श्रीमान् वा श्रीमतीमध्ये कुनै एकको देहान्तमा भएमा वा कुनै कारणले जोडी छुटेर एक्लिन पुगेकालाई 'चौतारीको एक्लो बरजस्तो' भयो भन्ने गरिन्छ ।

उता, कसैको घरजम बसाइदिने कामलाई पनि चौतारी बनाउने कामसँग दाँज्ने चलन छ । यही मान्यताअनुसार आमाबाउले घरजम गरिदिएका छोराछोरीको कुनै कारणवश घरबार बिग्रिएमा 'मैले लाएको चौतारी भत्कियो' भन्दै चित्तदुःखाइ गर्ने चलन हामीकहाँ छँदैछ ।

यी समग्र परिदृश्य र क्रियाकलापहरुले नियाल्दा चौतारी संस्कृति हाम्रो नशा-नशामा भिजेको छ भन्न करै लाग्छ, जुन हाम्रो रैथाने जीवनशैलीको धरोहरहरुमध्ये एक हो ।

यहाँनेर, लाहुरे संस्कृति र चौतारी संस्कृतिको साइनोपात खोतल्ने चेष्टा गरौँ पोखरा र बुटवललाई जोड्ने 'सिद्धार्थ राजमार्ग' बनेपछि गण्डकी अञ्चलका लाहुरेका धेरै अनुभूतिहरु सम्झनामा मात्र सीमित हुन पुगेको छ । छुट्टी पूरा गरेर पल्टनतिर फर्कंदा पोखराबाट बुट्वलसम्मको पैदलयात्रा कम सम्झनायोग्य थिएनन् होला । साथीसंगी र चेलीबेटीबाट प्राप्त सम्झना कोसेलीका पोको पुन्तुरो झोलाभित्र कैद गरेर थुप्रै खोलानाला, देउराली अनि भञ्ज्याङ पार गर्दै बुटवल झर्दा संगालिएका अनुभूति अझै पनि पुराना लाहुरेहरुका मनमा संगालिएका छन् । लामो यात्राले लखतरान परेर चौतारीमा थकाइ मार्दा होस् वा लामो हिंडाइपछि रात छिचोल्न छाप्रे भट्टीमा रात गुजार्दाका क्षणहरु कति रोचक थिए होलान् ।  स्याङ्जाको आँधीखोलाको बाटो भएर लाहुर आउँदा जाँदा लाहुरेहरुलाई आँधीखोलाको फनक्कै घुमेको रुपले निकै प्रभावित तुल्याएको थियो  होला  । त्यसै भएर त लाहुरेहरुले  गीत गाएका होलान् नि : 'आँधीखोला फनक्कै घुमेको, एउटा रुमाल दुइटीले बुनेको ' ।

यो भयो, सिद्धार्थ राजमार्ग बन्नुभन्दा अघिको लाहरे अनुभूति । स्मृति तन्तुहरु जागा हुन्छन्, यी कुराहरु सुन्दा । तर अब ती क्षणहरुको सम्झनामात्र बाँकी छ । सिद्धार्थ राजमार्ग बनेपछि अरु अनुभूति जन्मन सकेन । यस्ता अरु थुप्रै राजमार्गहरुले हाम्रा मौलिक अनुभूतिहरुलाई छेउमा पुर्‍याइदिएको छ ।

यसरी हाम्रो जीवनका नसा-नसामा चौतारी संस्कृतिको प्रभाव देखिन्छ । चौतारीसितको हाम्रो युगौं पुरानो साइनोपातलाई प्रगाढ तुल्याउने अनेकौं दृष्टान्तहरु हाम्रै वरिपरि छरपष्ट छन् ।

समयको बदलिंदो प्रवाहसँगै हाम्रा पितापूर्खाले बनाएका चौतारीहरु बिरानो बन्दैछन् । तिनीहरु संरक्षणको अभावमा भत्किंदैछन् । नयाँ चौतारीहरु बन्ने क्रममा मन्दी आएको छ । सारमा भन्दा हाम्रो चौतारी संस्कृति दिनदिनै विस्मृत बन्दै गएको छ । चौतारी संस्कृतिसँग  गाँसिएका बचेखुचेका अनुभूतिहरु घाइते बन्दैछन् । भौतिक प्रगतिको माझमा घाइते अनुभूति लिएर बाँच्नु साँच्नै पीडादायक हुन्छ । पीडाले आहत भएको मनले उही गीत गुनगुनाउन चाहन्छ, 'चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु' ।


[साभार :  नेपाली पोष्ट  (अप्रिल २३, २०११) । 


[अद्यावधिक : २०६८।०६।०५, २०६८।०६।२४, ०६८।१०।२०, ०६८।११।०८, ०६८।११।०९, ०६८।११।१०, ०६८।११।१३, ०६८।११।१४, ०६८।११।२२, २०६९।०३।२१, २०६९।११।१७, २०७०।०४।१०, २०७१।०१।३०, २०७१।०५।१६]

3 comments:

  1. विकास संगै विकासका नाममा ध्वस्त पारिएका हाम्रा सामाजिक मूल्य मान्यता र संस्कृतिकॊ अति नै राम्रॊ वर्णन गर्नुभएकॊ रहेछ सर । लेख पढ्दा निकै आनन्द आयॊ । कता कता आफैभित्रका भावहरु अक्षरमा सजिएका जस्तै लाग्यॊ । राम्रॊ लेख पढ्ने अवसर दिनु भएकॊमा लेखकलाइ मुरी मुरी धन्यवाद ।

    ReplyDelete
  2. 'चौतारीमा बर छैन पीपलु, कहाँ गएर होला मन सीतलु' दाई फेरी अर्को मिठो लेख पढ्न पाएँ धेरै धेरै धन्यवाद ।

    ReplyDelete