Sunday, November 14, 2010

मिडियाको बदलिँदो स्वरुप

 -यमबहादुर दुरा

निरंकुश राणा शासकको पालामा वि.सं. १९५८ मा शुरु भएको गोरखापत्रको प्रकाशनसंगै बामे सर्दै आएको आधुनिक नेपाली पत्रकारिताले समयको वर्तमान विन्दुसम्म आइपुग्दा अनगिन्ती आरोह-अवरोह पार गरिसकेको छ । यस क्रममा थुप्रै परिदृश्यहरु फेरिएका छन् । पुराना पात झर्छन् र नयाँ पात पलाउँछन् भनेझैं पत्रकारिताका पुराना पद्धति हराउँदै गएका छन् भने त्यसको ठाउँमा नयाँ पद्धति र शैलीहरु आएका छन् ।  गिद्धे प्रेसबाट शुरु भएको अहिले नेपालको छपाइ प्रविधिले लामै फड्को मारेको देखिन्छ । अफसेट प्रेसको आगमनपछि यसले युगान्तकारी फड्को मारेको छ । विगतमा लेटर प्रेसजस्तो झन्झटिलो प्रविधिबाट  मुद्रित पत्रपत्रिका अहिले अफसेट  प्रेसजस्तो अत्याधुनिक र सजिलो प्रविधिबाट  मुद्रण भएका छन् । परिणामस्वरुप पत्रपत्रिकाहरु आकर्षक साजसज्जा र ढाँचासहित पाठकमाझ पुगेका छन् ।  यसबाट पत्रकारको समय बचत हुनुका साथै कार्यदक्षतामा समेत वृद्धि भएको छ ।

अहिले हाम्रो 'पठन संस्कृति' मा पनि परिवर्तन आएको छ । पत्रपत्रिका पढ्नका लागि पत्रिका पसल धाउनुपर्ने वा 'हार्ड कपी' नै किन्नुपर्ने बाध्यता कम्तीमा शहरवासीका लागि विगत बनिसकेको छ । घरकै कोठामा बसेर संसारको जुनसुकै कुनाको पत्रपत्रिकाले छापेको समाचार इन्टरनेटको माध्यमबाट पढ्न सकिने अवसर उपलब्ध छ । झन् अनलाइन पत्रकारिताले त भौगोलिक सीमारेखाहरुलाई बेपत्तासित मेटिदिएको छ । वास्तवमा अनलाइन पत्रकारिता विश्वग्राम अवधारणाको भरपर्दो परिचायकको रुपमा जनसमक्ष प्रस्तुत भएको छ । यसले विश्वको एउटा कुनामा भएको घटनालाई क्षणभरमै संसारभरि फैल्याउन सघाएको छ । 
अहिले  सञ्चारमाध्यमका उपभोक्ताले धेरै कुरामा छनौट गर्ने अवसर पाएका छन् । इन्टरनेटमार्फत कम्प्युटरमा उपलब्ध समाचार वा अन्य सामग्री पढ्न अल्छी मान्ने वा पत्रिका पसलसम्म जान झर्को मान्नेहरुका लागि पनि उपाय निस्किसकेको छ । उनीहरु ओछ्यानमै सुतिसुती दैनिक समाचारपत्रका ताजा खबर रेडियोमार्फत एकाबिहानै सुन्न सक्छन् । देशका विभिन्न भागमा खुलेका एमएम रेडियोहरुले यसमा सघाएका छन् । सूचना प्रविधिको तीव्रतर विकासका कारण कम्प्युटरको अगाडि बसेर रेडियो सुन्न पाइने टेलिभिजन हेर्न पाइने र धर्तीको पल्लो छेउमा छापिएका समाचारपत्र पनि सजिलैसंग पढ्न पाइने असीमित अवसर प्राप्त भएको छ । 'सञ्चार सम्मिलन' (Media convergence) को नामबाट परिचित यस पद्धतिले पत्रकारिताको परम्परागत परिभाषालाई नै बदलिदिएको छ । अनि यसले सूचना र सञ्चारको क्षेत्रमा नचिताएको क्रान्ति ल्याएको छ ।

पत्रकारिताले उन्नति र प्रगतिको फड्को मार्दै जाने क्रममा पत्रकारिता जगतमा नयाँ नयाँ जोश र जाँगर भएका नयाँ नयाँ व्यावसायिक सञ्चारकर्मीहरुको दह्रो उपस्थिति देखिन थालेको छ । आफ्नो कर्मक्षेत्रमा एकदमै दत्तचित्त भएर होम्मिने व्यावसायिक पत्रकारहरुका लागि अवसर र संभावनाका क्षितिज पनि राम्रोसित उघ्रिदै गएको तथ्य पनि कसैसामु छिपेको छैन । उनीहरुले नाम र दाम दुबै कमाएका छन् । अनि इज्जत र प्रतिष्ठा पनि ।

अर्कातिर, पत्रकारिताको नाउँमा पर्चाकारिता गरेर सीमित व्यक्ति वा समूहलाई उचालेर आफ्ना अभीष्ट पूरा गर्न चाहनेहरुको भविष्य भने दिनदिनै धरापमा पर्दै गएको छ । पत्रकारिताको नाउँमा विगतमा खास व्यक्ति दल वा समूहको राग अलाप्ने राष्ट्रियस्तरका साप्ताहिक पत्रिकाहरुको डरलाग्दो अधपतनले यही बताउँछ । यसले आवाजविहीनहरुको आवाज भनिने पत्रकारिता सीमित घटकको आवाज बन्नपुग्दा नतिजा के हुने रहेछ भन्ने कुराको तस्बिर पाठकसमक्ष राखिदिएको छ । विगतमा खोजिखोजी पढ्नुपर्ने पत्रपत्रिका अहिले रोजिरोजी पढ्न पाइएको छ । यसबाट पाठकसामु विकल्पका थुप्रै बाटाहरु खोलिदिएको छ् । यसले एकतिर मिडियाका उपभोक्तालाई बलियो बनाएको छ भने अर्कोतिर लगानीकर्ताहरुलाई सञ्चार उद्योगका सञ्चालन गर्नुभन्दा पहिले गहिरिएर सोंच्नुपर्ने बनाइदिएको छ । यसले उनीहरुलाई पाठकप्रति जिम्मेवार पनि बनाएको छ ।
हाम्रो पत्रकारिता क्षेत्र व्यावसायिक र प्रतिस्पर्धात्मक बन्दै यसमा विविधता पनि थपिंदै गएको छ ।

पत्रकारिताको वृहद छानोमुनि यसका नयाँ नयाँ अवधारणहरु जन्मिरहेका छन् । अहिले पत्रकारिताको एउटा  सींगो कित्तालाई विभिन्न खण्ड र उपखण्ड विभक्त गरेर हेर्ने चलन आइसकेको छ । एउटै पत्रकारले सुन्दरी प्रतियोगिता, क्रिकेट खेल, मजदुर हड्ताल, शेयर बजारमा देखापरेको उतारचढाव, राजनीतिक घट्नाक्रम, बिदेश नीति, गीत-संगीत, द्वन्द्वजस्ता विविध क्षेत्र र विषयको रिपोर्टिङ गर्ने चलन पुरानो हुन थालिसक्यो । अब त एउटा पत्रकारले एउटामात्र बिट क्षेत्र को रिपोर्टिङ गर्ने र त्यसैमा विशेषज्ञता हाँसिल गर्ने परिपाटीले स्थान ओगटिसकेको छ ।

परिणामस्वरुप अहिले विकास पत्रकारिता, शान्ति पत्रकारिता, वातावरण पत्रकारिता, नागरिक पत्रकारिता खेलकुद पत्रकारिता, सार्वजनिक पत्रकारिता, राजनीतिक पत्रकारिता, साँस्कृतिक पत्रकरिता, पर्यटन पत्रकारिता, आर्थिक पत्रकारिता, स्वास्थ्य पत्रकारिता, विज्ञान पत्रकारिता, कला पत्रकारिताजस्ता पत्रकारिताका थुप्रै विधा र उपविधाहरु देखापरिहेका छन् ।  गरिब सञ्चार (Pro-poor communication) सामुदायिक सञ्चार, वैकल्पिक सञ्चार, 'प्रोएक्टिभ समाचार लेखन' जस्ता नवीनतम विधागत अवधारणाहरु नेपाली पत्रकारिता जगतमा पनि बग्रेल्ती भित्रिरहेका छन् ।

यी विशिष्टीकृत विधामा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुको संख्या पनि बढ्दै गएको देखिन्छ । यतिमात्र होइन, एउटै बिट विषयलाई पनि विभिन्न टुक्रमा बिभाजन गर्ने र तीमध्ये एउटा विषयमा मात्र रिर्पोटिङ गर्ने चलन पनि आइसकेको छ । उदाहरणका लागि आर्थिक पत्रकारिताअन्तर्गत पनि उद्योगधन्दा आर्थिक संघ-संस्था, बैंक, शेयर बजार, बिमा कम्पनी आदि लगायत असंख्य क्षेत्रहरु छन् । तीमध्ये कुनै एक क्षेत्रलाई मात्र आफ्नो रिर्पोटिङको विषय बनाउने पत्रकारहरु नेपालमा पनि देखापर्न थालेका छन् । अहिले अस्तित्वमा आउन थालेको विशिष्टीकृत पत्रकारिताले हाम्रो पत्रकारिता जगत परिपक्व बन्दै गएको संकेत पनि दिन्छ ।
यति हुँदाहुँदै पनि यसप्रकारको विशिष्टीकृत पत्रकारिता आगमनले कतिपय विषयमा समाजको सचेत वर्ग मानिने पत्रकारहरुबीच नै धारणागत अस्पष्टता निम्त्याएको देखिन्छ । पत्रकारिताले सिंगो समाज र नागरिकको पक्षमा वकालत गर्ने भएकोले सार्वजनिक पत्रकारिता एवम् नागरिक पत्रकारिताजस्ता छुट्टै विधा किन आवश्यक पर्यो भन्ने प्रश्न पनि बेलाबखतमा नउठेका होइनन् । पत्रकारिता भनेकै के हो भन्ने कुरा राम्रोसँग नबुझेका सर्वसाधारणले यस्ता प्रश्न उठाउनु अस्वाभाविक होइन, तर जीवन र जगतका सबैजसो पाटासँग परिचित हुनुपर्ने कतिपय पत्रकारहरु नै आफ्नै विषयमा अन्यौलग्रस्त बनेर प्रश्न उठाउनुचहिं अहिलेको प्रतिस्पर्धात्मक युगमा खट्किंदो पक्ष हो । यसले हाम्रो वैचारिक गहिराइप्रति प्रश्न उठाएको छ ।

जमाना प्रतिस्पर्धात्मक छ । पत्रकारिता पेसामा लाग्ने व्यक्ति एकदमै अध्ययनशील र  चिंतनशील भएन उसले विषयवस्तुको गहिराइ र गाम्भीर्य बुझ्न सक्तैन । त्यसैले सरकारी जागिर खान नसकेका राजनीतिमा असफल भएका उच्च शिक्षा हाँसिल गर्न नसकेका वा अन्य आकर्षक जागिर खान नसकेका मानिस भेला हुने थलोको रुपमा पत्रकरितालाई चित्रण गरिनुहुन्न । अन्यत्र काम नलागेका व्यक्ति पत्रकारितामा पनि काम लाग्दैन । पत्रकारिता सम्वेदनशील पेसा भएकोले यसमा बुद्धि र विवेकको समान उपयोग गर्न गरिनुपर्छ अन्यथा श्रीषा कार्की आत्महत्या प्रकरण, ऋतिक रोशन प्रकरणजस्ता दुर्घटना निम्तिन सक्छ भन्ने तथ्य पनि कसैको आँखामा छिपेको छैन ।

समाजको विसंगति र विकृतिको बारेमा लेख्ने पत्रकार आफैं पनि शुद्ध र नैतिकवान् हुनुपर्छ अन्यथा अन्यथा ऊ हास्यपात्र बन्नपुग्छ भन्ने कुरा कतिपय सञ्चारकर्मीहरुको द्वैध जीवनशैलीप्रति समाजका प्रबुद्ध वर्गले विभिन्न सन्दर्भमा गरेका तीखो टीका-टिप्पणीले पुष्टि गर्छ । त्यसैले काल्पनिक प्रसंग जोडेर निबन्ध लेखेको, दुई चार मानिसको अगाडि डटेर बोल्न सकेको  वा भ्रष्टाचारको काल्पनिक कथा छापेर निर्दोष मानिसलाई भयभित पार्न खोजकै भरमा कसैले आफूलाई पत्रकार ठान्छ भने उसले पतनको बाटो रोजिरहेको कुरा छ भन्न अप्ठेरो पर्दैन । आफ्नो बुद्धि र विवेकको अधिकतम् उपयोग गरेर समाजको पक्षमा रिपोर्टिङ गर्ने पत्रकारसँग प्रधानमंत्री न्यायाधीशजस्ता शक्तिशाली व्यक्तिहरु पनि थर्कमान हुन्छन् तर आफ्नो पेसाको मर्म र धर्म बिसे्रर पत्रकारिताको नाउँमा पर्चाकारिता गर्नेहरुसँग गल्लीका कुकुर पनि डराउँदैन भन्ने कुरा पनि उत्तिकै मननीय छ ।

[साभार : नेपालगञ्जबाट निस्कने कालपृष्ठ दैनिकमा  २०६२ सालतिर प्रकाशित।

 [अद्यावधिकः २०६९।०९।०१, २०६९।०९।०३, २०७१।०२।२७]

No comments:

Post a Comment