Friday, September 2, 2011

आमसञ्चार र नागरिक सबलीकरण

-यमबहादुर दुरा

मानिस गरिब हुनु वा पिछाडिनुका पछाडि केही निश्चित कारणहरु जिम्मेवार हुन्छन् भनिन्छ । सांस्कृतिक उद्भव, आर्थिक अवसर, शिक्षाजस्ता पक्षहरु यसमा जिम्मेवार हुन्छन् भन्ने गरिन्छ । जीवनस्तर र वैचारिक धरातललाई उकास्न आवश्यक पर्ने ज्ञान शीप शिक्षा सूचनाजस्ता महत्वपूर्ण पक्षहरुको अभावमा मानिस गरिबीको कुचक्रमा फसेको पाइन्छ । ज्ञान, शीप, शिक्षा, सूचना आदि मनिसको जीवनलाई सहज र सुखमय बनाउन सघाउने माध्यमहरु हुन् । यिनै जीवनोपयोगी तत्वहरुको सहयोगबाट मानिसलाई गरिबी र पछौटेपनको कुचक्रबाट छुटकारा दिलाउन सकिन्छ भन्ने तथ्यलाई समयले पुष्टि गर्दै लगेको छ ।

समयको प्रवाहसंगै विकासको परिभाषा र मापदण्ड बदलिन थालेको छ । हिजोका दिनमा भौतिक विकासलाई मूल रुपमा विकास मानिन्थ्यो । आजकाल मानिसको सोंचाइमा आउने सकारात्मक परिवर्तन र यसको आड र भरोसामा समग्र विकासलई नै साँचो अर्थमा विकास मान्न थालिएको छ ।

विकासको केन्द्रविन्दु मानिस नै हो । मानिस हरेक हिसाबले सबल र सक्षम नभएसम्म विकासका प्रयासहरु असफल रहन्छन् । यसकारण नागरिकलाई सबल र सक्षम बनाउनु नै विकास प्रयासको पहिलो खुड्किलो मानिन्छ । यसलाई समुन्नत समाजतर्फ लम्किने क्रमको पहिलो पाइला मान्ने गरिन्छ । आफ्नो निर्णय आफैंले गर्न सक्ने,  आफ्नो हैसियत आफैंले चिन्न सक्ने र आफ्नो समस्या आफैंले चिन्न सक्ने अवस्थामा पुगेपछि मात्र मानिस सबल र आत्मनिर्भर भएको मानिन्छ ।

'सूचना नै शक्ति हो' भन्ने भनाइ एक्काइसौं सताब्दीको मूल मन्त्र बन्न पुगेको छ । तर सूचना शक्तिशाली र महत्वपूर्ण हुँदाहुँदै पनि यो प्रवाहित वा संचारित भएन भने अर्थहीन हुन पुग्छ । सूचना प्रवाहित वा संचारित हुनुमा नै यसको महत्व कायम रहन्छ । प्रवाहहीन वा सञ्चारहीन सूचना खानीभित्र थन्किएको हीरामोतीजस्तै हुन्छ, जो महत्वपूर्ण हुँदाहुँदै पनि प्रयोगविहीन भएकोले अर्थहीन हुन पुग्छ ।

सूचना प्रवाहका लागि कुनै न कुनै माध्यमको आवश्यक पर्छ । व्यक्ति-व्यक्ति वा अन्य कुनै माध्यमबाट सूचना प्रवाह वा सम्प्रेषण हुन गर्छ । अहिलेको युगमा सूचना आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । आमसंचार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका एवम् अनलाइन ले एकै समयमा ठूलो र व्यापक जनसमूहलाई सूचना प्रवाह गर्न सक्ने क्षमता राख्छ । तीव्र गतिमा अघि बढिरहेको विश्वग्राम (Global Village) मा तीव्र गतिमै सूचना प्रवाह गर्न सक्ने भएकोले आमसंचार माध्यमको अतुलनीय भूमिका रहेको छ ।

सही समयमा प्रवाह गरिएको सही सूचनाले नागरिकलाई सक्षम बनाउन सघाउँछ । क्यान्सर लागेको बिरामीले रोगबारे समयमै जानकारी पाएमा उसको जीवन बच्न सक्छ । आँधी-तुफानबारे समयमै जानकारी दिन सकिएमा सम्भावित विनाशबाट जनधन जोगाउन सकिन्छ ।

सूचना कति शक्तिशाली छ भन्ने कुरा अथ्र्याउन एउटा प्रसंग कोट्याउनु सान्दर्भिक नै होला । सोभियत संघले नेतृत्व गरेको कम्युनिष्ट धार र संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको प्रजातान्त्रिक धारबीच सन् १९६० देखि सन् १९८९ सम्म शीत युद्ध (Cold War) चल्यो । यस शीत युद्धको छिनोफानो गोलाबारुदले नभई आमसञ्चार माध्यमले गरेको घट्ना स्मरणीय छ ।

बीबीसी, भ्वाइस अफ अमेरिकाजस्ता पश्चिमा आमसञ्चार माध्यमले प्रवाह गरेको सूचनाले कम्युनिष्ट शासन पद्धतिबिरुद्ध व्यापक जनमत तयार भयो । परिणमस्वरुप सन् १९९० सम्म आइपुग्दा नपुग्दै पूर्वी यूरोप र सोभियत संघबाट कम्युनिष्ट शासन व्यवस्था अन्त्य भयो । यसका पछाडि सूचनाको नितान्त महत्वपूर्ण भूमिका रह्यो ।

 सूचनाको महत्वबारे आमसञ्चार र पत्रकारिता (२०६४) नामक पुस्तकमा भनिएको छ: 'जो सूचना-सम्पन्न व्यक्ति छ, उ संसारमा जहीकहीं पनि अग्रणी हुन्छ । प्राचीन नीतिशास्त्रहरुले 'विद्वान सर्वत्र पूज्यते' भनेझैं आजको युगमा सूचना-सम्पन्न व्यक्ति सर्वत्र पूजिन्छ भन्न सकिने स्थिति छ ।'

अहिलेको युगमा मानिसको वैभव जाँच्ने माध्यम सूचना बनेको छ । कुनै व्यक्तिले आर्जन गरेको धन सम्पत्तिको थुप्रोले नभई उसले आर्जन गरेको सूचनाले ऊ कत्तिको वैभवशाली एवम् शक्तिशाली छ भन्ने बुझाउँछ । सुसूचित व्यक्तिले (सम्पत्तिको मात्र धनी सूचनाको धनी होइन) लाई धेरै हिसाबले पछि पार्न सक्छ । यसै प्रसंगमा वाल्टर वि्रस्टनले भनेका थिए, 'विश्व अर्थतन्त्रमा सूचनाको सूचाङ्कले सुनको सूचाङ्कलाई बदलिदिएको छ ।' यिनै दृष्टान्तले सूचना कति महत्वपूर्ण छ भन्ने तथ्यको साविती बयान दिन्छ ।

अहिलेको दौडधूप समयमा समसामयिक सूचना प्राप्तिका लागि आमसञ्चार माध्यमहरुमा भर पर्नुपर्ने अवस्था छ  तर आमसञ्चार माध्यमहरुले संधैभरि सही र तथ्यपूर्ण सूचना प्रवाह गर्छ भन्न सकिन्न । मानवीय गल्तीका कारण प्रवाह हुने गलत सूचनाको अतिरिक्त कतिपय अवस्थामा आमसञ्चार माध्यमहरुले नियतवश नै समाजलाई दिग्भ्रमित तुल्याउने किसिमका समाचार एवम् सूचना दिने गरेका थुप्रै दृष्टान्तहरु पनि छन् । यसका पछाडि व्यापार राजनीति एवम् लगानीसंग गाँसिएका स्वार्थहरु जिम्मेवार छन् ।

समतामूलक शोषणरहित एवम् सहअस्तित्वपूर्ण समाज तयार पार्न आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । यसले समाजका कुकृत्यप्रति औंला तेस्र्याउने र असल-महान् कामहरुप्रति हौसला प्रदान गर्ने गर्छ । आमसञ्चार माध्यमका यस्ता कामहरुले समग्रमा नागरिकलाई सबल बनाउन सघाउँछ । तर आमसञ्चार माध्यमले व्यापारिक एवम् राजनीतिक स्वार्थमा डुबेर कुकृत्य पनि गर्न सक्छ । अर्थात् दिनुपर्ने सूचना लुकाउने र गलत सूचना प्रवाह गर्ने काम गर्न सक्छ ।

यस्तो अवस्थामा समाजको पहरेदार मानिएको आमसञ्चार माध्यमप्रति नै औंला ठड्याउनुपर्ने हुन्छ । यो काम सजिलो छैन । गलत स्वार्थपूर्तिका  माध्यमले गर्ने नाजायज साँठगाँठ अदृश्य हुन्छ । यस्ता क्रियाकलापहरु नागरिकको जानकारीमा नै आउँदैन, जुन समाजका लागि नितान्त घातक हुन्छ । आमसञ्चार माध्यम दुईधारे तरबार हो । यसले नागरिकलाई सबल र दुर्बल दुबै बनाउन सक्छ । आमसञ्चार माध्यमलाई नागरिकप्रति जिम्मवार तुल्याउन र नागरिक सबलीकरणमा सहयोगी बनाउन नागरिक सचेतना पनि उत्तिकै आवश्यक छ ।

[साभार : अनलाइन समाचारपत्र नेपाली पोष्ट  (सेप्टेम्बर १, २०११) ।  यस लेखको पूर्वसंस्करण  रेडियो नेपालको मुखपत्र झङ्कर (वर्ष ५१ संयुक्ताङ्क , २०५८) मा 'आत्मनिर्भरतामा आमसञ्चारको भूमिका' शीर्षकमा प्रकाशित  ।

[२०६८।१०।१२, २०६९।०८।०६]

No comments:

Post a Comment