Tuesday, September 13, 2011

सूचना प्रवाहमा परम्परागत सञ्चार प्रणाली

 -यमबहादुर दुरा

दूधमुखे बालकले भोकले चुर भएको बेला रोएर आफूलाई भोक लागेको कुरा आमासामु जाहेर गर्छ । बोल्न नसक्ने मानिसले इसाराको माध्यमबाट अरुसामु आफ्नो विचार प्रस्तुत गर्छ । त्यस्तै समूहमा हिड्ने बाँदरहरुले पनि विभिन्न खालका आवाज निकालेर आफ्ना साथीसंगीसमक्ष आवश्यक सूचना प्रवाह गर्छन् । दुधमुखे बालक रोएकोदेखि बाँदर चिच्याएकोसम्म सबै सञ्चार हुन् । सञ्चारको दुनियाँ अथाह छ । मानवलगायत अन्य प्राणीको जीवनका लागि सञ्चार अपरिहार्य मानिन्छ । सञ्चारविना संसार चल्न सक्तैन ।

त्यसमा पनि अहिलेको युगमा सञ्चारको महत्वपूर्ण अङ्ग  मानिने आमसञ्चारका माध्यम पत्रपत्रिका रेडियो  एवम् टेलिभिजन विना वर्तमान दुनियाँको कल्पनासम्म पनि गर्न नसकिने अवस्था आइसकेको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजनका समाचारले हाम्रो वर्तमान  र भविष्यलाई निर्देशित गरिरहेको छ । एक किसिमले भन्ने हो भने आमसञ्चारका माध्यमहरुले नै विश्व समुदायलाई गन्तव्यतर्फ डोर्याइरहेको छ । आधुनिक आमसञ्चारको विकास हुनुभन्दा अघि पनि सार्वजनिक सञ्चार प्रणाली रहेको पाइन्छ । हामीसित यसका थुपै उदाहरणहरु छन् । सार्वजनिक महत्वका विषयमा जानकारी दिनका लागि ढोल बजाउने, झ्याली पिट्ने, शंखघोष गर्ने, कटुवाल कराउन लगाउनेजस्ता क्रियाकलापहरु यसका भरपर्दा उदाहरण हुन् । गाउँघरमा मानिसलाई भेला गर्न वा महत्वपूर्ण घट्ना वा विषयबारे जानकारी दिन प्रयोग हुने ढोल, झ्याली, शंख, आदिको आफ्नै खालको धार्मिक  एवम् सांस्कृतिक महत्व पनि छ ।

यहाँनेर, सूचनाको सम्वाहकको रुपमा परिचित कटुवालको बारेमा प्रसंग कोट्याउनु सान्दर्भिक नै होला । कटुवालले गाउँको अग्लो वा पायक पर्ने ठाउँमा उभिएर चर्को स्वरमा बोलेर सार्वजनिक महत्वका सूचना प्रवाह गर्नॆ चलन दुर्गम गाउँबस्तीहरुमा अझै पनि छ । यसवापत कटुवालले पारिश्रमिक पनि पाउँछ । खेतीबाली भित्र्याउने समयमा पारिश्रमिकस्वरुप उसलाई अन्न दिइन्छ । कटुवाललाई पारिश्रमिक अन्न दिन प्रयोग गरिने पाथीलाई 'कटुवाले पाथी' भन्ने चलन छ । यहाँ कटुवालको बारेमा यति कुरा भन्नुको आशय हाम्रो समाजमा परम्परागत सञ्चार प्रणाली र जीवनशैलीबीच ज्यादै गहिरो अन्तरसम्बन्धवारे प्रकाश पार्नु हो ।

कटुवालको प्रसंग त सानो उदाहरणमात्रै हो । यसबाहेक हाटबजार सामाजिक जमघट (विवाह, ब्रतवन्ध, जन्म तथा मृत्युसंस्कार, चाडवाड, पूजाआजा, भजन, आदि)  का माध्यमबाट पनि स्थानीयस्तरमा सूचना जानकारी वा खबरहरु पर्याप्तमात्रमा आदनप्रदान भएको पाइन्छ । हाटबजार तथा सामाजिक संस्कारहरुमा हुने जमघटले एकतिर व्यक्ति-व्यक्तिबीचको सम्वाद एवम् अन्तरक्रियालाई बढाउँछ भने अर्कोतिर सामाजिक मूल्य र मान्यतासित परिचित गराउँछ । यस्ता जमघटहरुले स्थानीयस्तरका नयाँ घट्ना एवम गतिविधिबारे व्यक्ति-व्यक्तिबीच सूचना प्रवाह गर्न सघाउँछ । साथै आपसी चिनजान गर्ने र सुखदुःख साट्ने सुनौलो अवसर पनि दिन्छ । प्रत्यक्ष सञ्चार र यसभित्र छचल्किएको हार्दिकता नै यसप्रकारको सञ्चार प्रणालीको विशेषता हो ।

लोकसाहित्य (लोकगीत, लोकनाटक, लोककथा, लोकगाथा, आदि)  ले पनि लोकसञ्चारमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । लोकसाहित्यले अहिलेका आमसञ्चारका माध्यमले जस्तो पत्रकारिताको सीमाभित्र रहेर समाचार दिन नसके पनि समाजका महत्वपूर्ण विषयमा सूचना सम्प्रषण गरेको पाइन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा लाहुरे बनेर मुग्लान भासिएका थुप्रै नेपाली युवाहरुले पराइभूमिमा जीवन अर्पे । त्यस समयमा युद्धको विभीषिकालाई झल्काउने खालका थुपै गीत जन्मे । झलकमान गन्धर्वले गाएको 'आमाले सोध्लिन् नि खै छोरो भन्लिन्' बोलका दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा जन्मेको मर्मभेदी लोकगीत थियो । यस गीतले दोस्रो विश्वयुद्धले नेपाली लाहुरेका परिवारमा थोपरेको पीडालाई जनसमाजमा बाँडचुँड गरी ग्रहण गर्न सघायो । यसैगरी गन्धर्व समुदायको मुखमा कण्ठस्थ रहेको भक्ति थापाकाको वीरगाथा, जंगबहादुरको बेलायत यात्रा, चन्द्रशम्सेरको कर्खा, भोट लड़ाईको सवाइ, सिंहदरबारमा आगलागीबारेको कर्खा, डाँफे र मुरलीको कथा आदिले तत्कालीन सामाजिक एवं राजनीतिक परिवेशका सम्वन्धमा पर्याप्त जानकारी दिएको पाइन्छ । इतिहास र वर्तमानका जनअभिरुचिपूर्ण घट्नाहरुलाई गीतमा उनेर गाउँ-गाउँमा सम्प्रेषण गर्दै हिंड्ने गन्धर्व समुदाय नै तत्कालीन समयका सञ्चार माध्यम (रेडियो, टेलिभिजन वा समाचारपत्र) थिए । उनीहरुलॆ नै हत्या, लूटपाट, बाढीपहिरो आदिको समाचार गीतमार्फत जनसमाजमा प्रवाहित गर्थे । दुःखको कुरा लगभग तीसको दशकपछि गन्धर्वहरुले गीति वृत्तान्त (कर्खा) प्रस्तुत गर्न छाडिसकेका छन् ।

हाम्रो छिमेकी मुलुक भारतमा लोकसाहित्यमार्फत सम्प्रेषण भएको सन्देशले ज्यादै महत्वपूर्ण सामाजिक परिवर्तन ल्याएको दृष्टान्तहरु भेटिन्छन् । भारतमा अङ्ग्रेजको उपनिवेश छँदा त्यहाँका आमसञ्चारका माध्यमहरु अङ्ग्रेजका कब्जामा थिए । त्यही समयमा महात्मा गान्धीजस्ता सामाजिक क्रान्तिका अगुवाहरुले 'भारत छोडो' आन्दोलन  सञ्चालन गरिहेका थिए । उनीहरुले लोकगीत, लोकनाटकजस्ता लोकसाहित्यका अङ्गहरुलाई व्यापक रुपमा उपयोग गरेर अङ्ग्रेजविरुद्ध जनमत तयार पारेका र यसैका परिणमस्वरुप अङ्ग्रेजहरु त्यहाँबाट भाग्न बाध्य भएको प्रसंग भारतीय पुस्तकहरुमा प्रशस्त भेटिन्छन् ।

यस्तैखालको प्रसंग भारतको पश्चिम बङ्गाल प्रान्तमा पनि भेटिन्छ । त्यहाँ बितेको लगभग ३४ वर्षसम्म बामपन्थीहरुले शासनको बागडोर सम्हाल्न सफल भएका थिए । अब जिज्ञासा उठ्छ, अस्थिर राजनीति भएको भारतमा पश्चिम बङ्गाल प्रान्तमा चाहिं बामपन्थीहरुले कसरी एकछत्र शासन चलाए होलान् ? यसको उत्तर खोज्दै जाँदा यसमा लोकसाहित्यमा आधारित सञ्चार प्रणालीको दरिलो भूमिका रहेको पाइन्छ ।

भनिन्छ, पश्चिम बङ्गालका बामपन्थीहरुले स्थानीय निमुखा किसानमाथि जमिनदारले गरेका थिचोमिचोबारे जोडदार आवाज उठाए । जमिनदारविरुद्ध आवाज उठाउन उनीहरुले लोकसाहित्य (परम्परागत रुपमा स्थानीय रुपमा प्रचलित गीत, नाटक, आदि) को व्यापक रुपमा उपयोग गरे । स्थानीय जीवनशैलीसित गाँसिएका जागरणमूलक सांस्कृतिक कार्यक्रमले त्यहाँका श्रमजीवी जनसमुदायको हृदय जित्यो । यसपछि उनीहरु बामपन्थीको पक्षमा उभिए भन्ने आशयका दृष्टान्तहरु थुपै पाइन्छन् ।

परम्परागत सञ्चार प्रणाली स्थानीय लोकजीवन एवम् लोकसंस्कृतिमा आधारित हुन्छ । त्यसैले यसलाई परम्परागत पश्चिमका सञ्चारविदहरुले लोकमाध्यम (Folk Media) भन्ने गरेका छन् । यो सञ्चार प्रणाली लोकपरम्परा र लोकसंस्कृतिसित गाँसिएको हुनाले यसलाई नेपाली परिवेशमा 'लोकसञ्चार' भन्न सुहाउने देखिन्छ । किनभने यसले एकातिर लोकसमाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सूचना प्रवाह गरिहेको छ भने अर्कोतिर यसले लोकजीवन एवं लोकसंस्कृतिसित घनिष्ट नाता पनि गाँसेको छ ।

अहिले आधुनिक सञ्चार प्रणालीको तीव्रतर विकास भइरहेको छ । यस्तो बेलामा परम्परागत सञ्चार प्रणालीकॊ कुरा गर्नु असान्दर्भिक र अव्यवहारिक देखिनसक्छ । तर हाम्रो जीवनशैली, चेतनाको स्तर, जटिल भौगोलिक अवस्थिति, सामाजिक  एवम् सञ्चार परिवेश आदिलाई विचार गर्दा नेपालले नेपालले आधुनिक सञ्चार प्रणालीलाई पूर्ण रुपमा अपनाउन सक्ने र परम्परागत सञ्चार प्रणालीलाई पूर्ण रुपमा त्याग्न सक्ने अवस्था छैन ।

अहिले विश्व उन्नति र प्रगतिको युग भनेर चिनिने एक्काईसौं शताब्दीमा प्रवेश गरिसके पनि नेपालले एक्काईसौं शताब्दीको गतिलाई पछ्याउन सकेको छैन । देशका दुर्गम गाउँबस्तीहरु अझै पनि यातायात र सञ्चारको मूल प्रवाहमा मिसिन सकेका छैनन् । राष्ट्रिय प्रसारणमाध्यमको रुपमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रसारित सामग्रीको पहुँच र उपयोगिताका सम्बन्धमा बाराम्बर प्रश्न उठ्ने गर्छन् । गाउँको कुना कन्दरामा अझै पनि पत्रपत्रिका पुग्न नसकेको तीतो यथार्थ हामीसित छ । केही गरी पत्रपत्रिका पुगिहाले पनि सबैले पढ्न सक्तैन ।

नेपाली आकाशमा आमसञ्चारका थुप्रै तरङ्ग दौडिरहे पनि यिनीहरु धेरैजसो सर्वसाधारण जनताको पहुँचमा रहेका छैनन् । केन्द्रीय तथ्याङ्क  विभागले सन् २००१  सार्वजनिक गरेको आँकडालाई आधार मान्ने हो भने पनि नेपालको ५३.१  र २२.५ प्रतिशत घरधुरीमा मात्र क्रमश;  रेडियो र टेलिभिजन सेट रहेका छन् । सोही आँकडाअनुसार नेपालको ४१.३ प्रतिशत घरधुरीमा न रेडियो छ, न त टेलिभिजन सेट नै । आमसञ्चारको सर्वसुलभ साधन मानिएको रेडियो त आधाजसो जनताको घरदैलोमा नपुगेको वर्तमान अवस्थामा हाम्रा दुर्गम गाउँबस्तीमा इमेल एवम् इन्टरनेटजस्ता अत्याधुनिक सञ्चारमाध्यम सजिलै पुग्छ भन्ने कल्पना गर्न गाह्रो छ ।

यस्तो अवस्थामा स्थानीय जीवनशैलीमा आधारित सञ्चार प्रणालीको आवश्यकता छ भन्न करै लाग्छ । यस्तो आवश्यकता परम्परागत सञ्चार प्रणालीले परिपूर्ति गर्नसक्छ । अपठित जनसंख्या बढी रहेको हाम्रो देशमा दुई पृष्ठको लेखभन्दा दुई हरफको लोकगीत सूचनाको सम्प्रेषणीयता वा प्रभावकारितको हिसाबले बढी महत्वपूर्ण हुनसक्छ । त्यसैले स्वास्थ्य र सफाइ, वातावरण संरक्षण, चेलीबेटी बेचबिखन, भिटामिनयुक्त खानेकुरा खानेपानीको स्रोत संरक्षणजस्ता जनजीवनसित गाँसिएका विषयहरुमा जनचेतना जगाउन स्थानीयस्तरमा प्रचलित परम्परागत सञ्चार प्रणाली (गीत, नाटक एवं प्रहसन आदि) ले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । नेपालमा लोकसञ्चारको उपयोगिता र महत्वबारे त्यतिविधि अध्ययन भइसकेको छैन । यसबारे थप र गहन अध्ययन हुन आवश्यक छ ।

यी परम्परागत सञ्चार प्रणाली र परम्परागत आधुनिक आमसञ्चार प्रणालीबीचको भिन्नता खोज्दै जाने हो भने आधुनिक आमसञ्चार प्रणाली प्रविधिसित नजिक देखिन्छ भने पुरानो सञ्चार प्रणाली सामाजिक संस्कारसित । हाम्रो सामाजिक परिवेशलाई हेर्दा दुबै खालका सञ्चार प्रणालीबाट टाढा हुन सक्तैनौ । यी भिन्न तर समाजोपयोगी विशेषता बोकेका दुई सञ्चार प्रणालीलाई मिलाएर एक अर्काको परिपूरकको रुपमा उपयोग गर्न सकेमा यसले नेपाली समाजलाई वृहत्तर सूचना समाजतिर डोर्याउन सघाउने देखिन्छ ।



[अद्यावधिक : २०६८।०६।०, ०६८।११।१९, २०६९।०१।२७, २०६९।०६।२१, २०६९।०९।१९]

1 comment:

  1. So great to hear dear Sir.. wish to have more such a articles...

    ReplyDelete