Tuesday, October 11, 2011

अमेरिकी समाजलाई आँखीझ्यालबाट चियाउँदा...

 -यमबहादुर दुरा

यसपटक मेरो जीवनमा केही उल्लेखनीय मोडहरु आए । एकतिर धेरैको 'ड्रिमल्याड' मानिएको संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने साइत जीवनमा पहिलोपल्ट जुर्दैथियो भने अर्कोतिर अन्तर्राष्ट्रियस्तरको जागिर खाने अवसर पनि जीवनमै पहिलोपल्ट मिल्दै थियो । मलाई एकतिर सन् २०११ का लागि अमेरिकाको 'डिपार्टमेन्ट अफ स्टेट' ले उपलब्ध गराएको मिडियाको अध्ययनसम्बन्धी विद्वतवृत्ति कार्यक्रममा सहभागी हुने अवसर मिलिरहेको थियो भने अर्कोतिर थाइल्याण्डस्थित च्याङमाइ शहरमा मुख्यालय रहेको एशिया इन्डिजिनियस पिपुल्स प्याक्ट नामक संस्थाको सञ्चार तथा अनुसन्धान संयोजकका रुपमा मेरो नाम छनोट भइसकेको थियो ।

कुन रोजौं, कुन नरोजौं । म फसाद पारिरहेको थिएँ । एउटा व्यक्तिले दुइटा नाउमा खुट्टा राखिरहेको जस्तो अवस्था थियो, मेरो । अमेरिका जाने कि थाइल्याण्ड जाने भन्ने दोधारले म ग्रस्त भइरहेको थियो । अधिकांश साथीहरुले थाइल्याण्ड नै जान सल्लाह दिएका थिए । केही साथीहरुले अमेरिका जाने सल्लाह दिएका थिए । मलाई अमेरिका नै जाने सल्लाह दिने एक मित्र थिए, रघु मैनाली । त्यसैगरी पत्रकार भुवन केसीले पनि अमेरिका नै जान सल्लाह दिएका थिए । 'अमेरिका गएर आउनुहोस् । नेपालमा मिडियाको क्षेत्रमा धेरै काम गर्न सकिन्छ', उनको थियो । अन्ततः मैले अमेरिका नै जाने निधो गरें ।

अमेरिकी सूचना संस्कति

यो रोज्ने कि त्यो रोज्ने भन्ने द्विविधा हटेपछि २०६८ साल असार १९ गते अमेरिकातर्फ प्रस्थान गरें, अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले उपलब्ध गराएको स्टडी अफ द युनाइटेड इस्टिच्यूट अन जर्नलिज्म एण्ड मिडिया नामक छात्रवृत्ति कार्यक्रममा सहभागी हुन । अंग्रेजी अल्फाबेटअनुसार यस कार्यक्रमलाई छोंटकारी 'सुसी' भन्ने गरिन्छ । काठमाडौंबाट थाइल्याण्ड र जापान (नरिता) हुँदै ३६ घण्टाभन्दा लामो झंझटिलो यात्रापछि संयुक्त राज्य अमेरिकाको शिकागो शहर पुगें । म चढेको जहाज शिकागो शहरको 'ओ हेयर अन्तर्राष्ट्रिय विमानास्थलमा अवतरण हुनुभन्दा केही समय अघिदेखि सिट अघिल्तिरका ' मोनिटर' मा विमानास्थलबारे पर्याप्त जानकारी 'डिस्प्ले' भइरहेको थियो । विमानस्थलबाट कुन रुट भएर बाहिरने राष्ट्रिय वा अन्तर्राष्ट्रिय 'कनेक्टिङ फ्लाइट' प्रयोग गर्ने भए कसरी गर्नेलगायतका जानकारीहरु पनि त्यहाँ डिस्प्ले भइरहेका थिए । यसप्रकारका सूचनाहरुले पहिलोपटक त्यहाँ पुगेकाहरुलाई किंकतव्यविमूढ हुनबाट जोगाइरहेको थियो । सही सूचनाले अनिश्चय हटाउँछ भन्ने भनाइ त्यहाँ लागू भइरहेको थियो । यसबाट मलाई भरपूर सूचना मिलिरहेको थियो ।

अरुलाई सहयोग गर्न मन पराउने अमेरिकीहरुको उदार हृदयबाट म अत्यन्तै प्रभावित भएँ । बाटोमा हिंड्दा कोही अल्मलिएको देखेमा 'क्यान आइ हेल्प यू ?' भनेर सघाउन तम्सिनेहरु प्रसस्त भेटिने रहेछन् । आफ्नो कामै छाडेर अरुलाई सघाउन तयार भएको देख्दा उनीहरुको उदारमनाप्रति म नतमस्तक हुन पुगें । आफू अल्मलिएको  बेलामा अरुबाट हार्दिकतापूर्ण सहयोग मिल्दा साह्रै ठूलो गुन लाग्ने रहेछ । ढुँगा खोज्दा देउता मिल्यो भनेजस्तो हुने । यसका अतिरिक्त बाटोमा टाँसिएका 'साइनपोष्ट'हरुले पनि नयाँ मानिसलाई अल्मलिनबाट जोगाउँछ । यस्ता पक्षहरु हाम्रो समाजमा भेटिन गाह्रो छ । यी दृष्टान्तहरुलाई हेर्दा अमेरिकीहरुले 'सूचना संस्कति' लाई राम्रोसंग हुर्काएको अनुभूति हुन्छ ।

हस्पिटलिटी स्विट

शिकागोबाट १ घण्टा लामो उडानपछि ओहियो राज्यको राजधानी कोलम्बसस्थित विमानास्थलमा उत्रिएँ । त्यहाँ स्टडी अफ द युनाइटेड इस्टिच्यूट अन जर्नलिज्म एण्ड मिडिया (सुसी) का निर्देशक तथा प्राडा युसुफ कल्याङगो हाम्रो स्वागातार्थ उपस्थित थिए । उनी ओहाइयो विश्वविद्यालय (इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म) का असिस्टेन्ट प्रोफेसर पनि हुन् । केही सहभागीहरु भने अगाडि नै ओहाइयो विश्वविद्यालयको कोर्टयार्ड (निवास) मा पुगिसकेका रहेछन् । म त्यहाँ पुगेको समयको सेरोफेरोमा भारत, युक्रेन, मलेशिया र इन्डोनेशियाका सहभागीहरु आइसकेका रहेछन् । त्यसपछि हामीलाई विमानास्थल नजिकको होटलको सुन्दर कोठामा भेला पार्ने काम भयो । होटलको आकर्षक कोठामा बसाएर किसमिस, फलफूल एवम् पेयपदार्थ खान दिएर हामीलाई स्वागत गरियो । यसप्रकारको परिपाटीलाई उनीहरु 'हस्पिटलिटी स्विट' भन्दारहेछन् ।  विमानास्थलमा 'हस्पिटलिटी स्विट' ग्रहण गरेपछि लगभग तीन घण्टाको कार यात्रा तय गरेर हामी अन्तिम गन्तव्यमा पुग्यौं । हाम्रो अन्तिम गन्तव्य थियो, ओहियो राज्यको एथेन्स जहाँ ओहाइयो विश्वविद्यालय (इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म) रहेको छ । यो संस्था म सहभागी भएको कार्यक्रमको 'होस्ट इस्टिच्यूट' थियो । यस कार्यक्रममा नेपाललगायत १७ मुलुकका आमसञ्चार र पत्रकारिता अध्यापन गर्ने व्यक्तिहरुको सहभागिता थियो ।

ओहाइयो विश्वविद्यालयको प्राज्ञिक वातावरण 

ओहाइयो विश्वविद्यालयअर्न्तर्गत रहेको 'इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म' मा मेरो धेरैजसो समय बिते । अमेरिकामा पत्रकारिता पढाइ हुने १० उत्कृष्ट कलेजहरुमध्ये एक रहेछ, इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म । मैले त्यहाँ नेपालबारे दुइपटक प्रस्तुति गर्ने अवसर पाएँ । ज्ञानको गहिराइ भएका प्राध्यापकहरुको कक्षामा बस्ने मौका पाएँ । कतिपय प्राध्यापकहरुसँग त ' स्काइप' एवम् 'भिडियो कन्फरेन्सिङ ' मार्फत् पनि कुराकानी गर्ने अवसर मिलेको थियो । त्यहाँको प्राज्ञिक वातावरण देखेर निकै लोभिएँ । सुविधासम्पन्न उच्चस्तरको भौतिक संरचना, श्रव्यदृश्य एवम् डिजिटल प्रणालीसहितको अत्याधुनिक पुस्तकालय र ज्ञान प्राप्त गर्न र सिक्न हरदम तयार रहने प्राध्यापक, सहयोगी स्टाफ, खेलकुदको सुविधा आदिका कारणले त्यस विश्वविद्यालयले मलाई लाउनुसम्म मोहनी लगायो । त्यहाँ बसेर लेखपढ एवं विचारविमर्श कुरामा मनै अघाएन ।

ओहाइयो विश्वविद्यालय रहँदा बस्दा इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्मका थुप्रै प्रोफेसरहरुसँग चिनजान गर्ने र विचार विमर्श गर्ने अवसर पाएँ । त्यहाँ भेटिएका प्राध्यापकहरुमध्ये एक थिए, बिल रिडर । निकै फूर्तिलो ढङ्गमा पढाउने उनको शैलीबाट म निकै प्रभावित थिएँ । उनले मलाई फर्कने बेलामा केही पठनीय पुस्तकहरु दिए । हाम्रो संगतमा आएको अर्को प्राध्यापक थिइन्, अन कुपर चेन । उनले पनि हामीलाई आफ्नै घरमा बोलाएर केही पुस्तकहरु दिइन् ।

आफू रिटायर हुने क्रममा आफूले पढ्दै आएका पुस्तकहरु अरुलाई वितरण गर्ने त अमेरिकी प्रोफेसरहरुको चलनै रहेछ । निवृत्त हुने तरखरमा रहेका एकजना प्राध्यापकले आफ्नो कार्यकक्ष नै खुला गरेर हामीलाई पुस्तक रोजेर लाने मौका दिएका थिए । उनीहरुको यसप्रकारको उदारवादी चलनबाट म पनि लाभान्वित भएँ । अर्थात् डलर तिरेर महंगो किताब किन्न क्षमता नभएको मैले निशुल्क पुस्तक पाएँ ।

अमेरिकालाई 'ल्याण्ड अफ अपरच्युनिटी' पनि भन्ने गरिन्छ । मिहेनती व्यक्तिहरुका लागि यो भनाइ पूरापूर लागू भएको देखिन्छ । यसको एउटा उदाहरण हुन्, युसुफ कल्याङ्गो । उनी अफि्काबाट आएका हुन् । उनी म सहभागी भएको 'सुसी' कार्यक्रमका निर्देशक हुन् । 'इडब्लू स्क्रिप्स स्कुल अफ जर्नलिज्म' मा असिस्टेन्ट प्रोफेसरसमेत रहेका उनी सेन्टर फर इन्टरन्यासनल जर्नलिज्मका निर्देशक समेत छन् । उनले सन् २००८ मा मिजौरी विश्वविद्यालयबाट पीएचडी गरेका रहेछन् । अहिले उनी अमेरिकामै घरबार बसाएर उच्चस्तरको जीवन बिताइरहेका छन् ।

त्यहाँको प्राज्ञिक वातावरण देख्दा मलाई लाग्यो, कुखुरे बैंशमै अमेरिका छिर्न पाएको भए ज्ञान आर्जन गर्ने कुरामा धेरै गर्न सकिने रहेछ ।

गुणस्तरीय सामान र स्वच्छ व्यवहार

त्यहाँका वालमार्टलगागतका ठूला ठूला सपिट कम्प्लेक्समा मानिसहरुको देखिने भीडभाडले सपिङ अमेरिकीहरु जीवनशैलीको एक हिस्सा हो अनुभूति दिन्छ । सरसामानमा कही पनि बार्गेनिङ हुँदो रहेनछ । हरेक सामानमा प्राइस ट्याग टाँसिएको हुँदो रहेछ । खरिद गरिएको सामानको अनिवार्य रुपमा बिल दिइने रहेछ । फर्काउनुपर्ने पैसामा एक सेन्ट (त्यहाँको मुद्राको सबैभन्दा सानो इकाइ) पनि ग्राहकले फिर्ता हुने रहेछ । सामान खरिद गर्दा ग्राहक ठगिने सम्भावना शून्य प्रतिशत हुने रहेछ । बजारमा गुणस्तरहीन सामान राखिंदो रहेनछ । सामानको मूल्य महंगो हुनसक्ने रहेछ, तर त्यो गुणस्तरीय नै हुने रहेछ । सामानको गुणस्तरीयतामा कुनै सम्झौता हुँदो रहेनछ । त्यहाँ पाइने सामानको गुणस्तरबारे एक जना साथीको भनाइ थियो, अमेरिकामा कसै सामानको गुणस्तरीय छ कि छैन भनेर सोध्यो भने उ मूर्ख ठहरिन्छ । किनभने त्यहाँ सबै सामान गुणस्तरीय हुन्छन् । यस्तो हाम्रो देशमा त कहिले होला ?

इतिहास बोल्ने संग्रहालयहरु

कतिपय मानिसहरु भन्ने गर्छन्, पुस्तकले भन्दा संग्रहालयले इतिहास साँचेर राख्छ वा जोगाउँछ । अमेरिकाको विभिन्न संग्रहालयहरु घुमेपछि मलाई यस्तै अनुभूति भयो । अमेरिकामा मैले अफि्रकी अमेरिकीहरुका अधिकार र समग्र नागरिक अधिकारका पक्षमा संघर्ष गर्ने अथक योद्धा मार्टिन लुथर किङ (जुनियर) अमेरिकी र पूर्वराष्ट्रपति जिमी कार्टरसंग सम्बन्धित संग्रहालय र अन्य स्मारकहरु घुम्ने मौका पाएँ । ती स्थानहरमा उनीहरुले प्रयोग गरेका (विभिन्न सन्दर्भ र प्रसंग बुझाउने) सामग्रीहरु त राखिएका छन् नै । त्यसमा पनि 'टचस्क्रिन' सहितका अन्तरक्रियात्मक श्रव्यदृश्य सामग्रीहरु पनि राखिएको पाएँ । त्यहाँ उनीहरुबारे वृत्तचित्र पनि हेर्न पाइने रहेछ । यी र यस्ता कैयन सामग्रीहरुबाट संग्रहालय घुम्न जानेहरुले पूर्वोल्लिखित व्यक्तित्वहरुबारे पर्याप्त जानकारी पाउन सक्ने रहेछ ।

पिट्सवर्गस्थित एक संग्रहालयमा तल्कालनीन समयकी चर्चित अभिनेत्री क्यान्डी डार्लिङद्वारा अभिनित अश्लील भन्न मिल्ने चलचित्रहरु पनि प्रदर्शन भएको पाइयो ।

क्लेभल्याण्डस्थित रक एण्ड रोल हल अफ फेम एण्ड म्युजिक नामक संग्रहालय पूरापूर संगीतसित सम्बन्धित संग्रहालय रहेछ । त्यहाँ पुराना र निकट अतीतका गायकगायिकाहरु जिन्दगी र सांगीतक यात्रा झल्कने सामग्रीहरु राखिएका राखिएका छन् । त्यहाँ उनीहरुका तस्बिर, भिडियो, वाद्ययन्त्र, आदि राखिएका छन् । यतिमात्र होइन, ती कलाकारका गीत रेकर्ड गर्ने क्रममा स्टुडियोमा प्रयोग भएका रेकर्डिङ उपकरण तथा संगीतको कालक्रमगत इतिहास एवम् प्रवृत्ति झल्किने सामग्रीहरु पनि सजाइएको पाइयो । यी सामग्रीहरु देखिसकेपछि नेपालमा पनि यसप्रकारको संग्रहालय बनाउन पाएमा वर्तमानमा गुमनाम बन्न पुगेका पुराना संगीतकर्मीहरुप्रति वास्तविक रुपमा श्रद्धाभाव व्यक्त गरेको ठहरिन्थ्यो भन्ने लाग्यो । यहाँनेर उल्लेख गर्नलायक एउटा पक्ष के पाएँ भने हरेक संग्रहालयमा अनिवार्य रुपमा बिक्री राखिएको हुने रहेछ । शायद, यसले अमेरिकाको पूँजीवादी चरित्रको एउटा नमूना प्रदर्शन गरिरहेको छ ।

प्राध्यापकहरुको भेला र मिडियाको मेला

मेरो छ हप्ता लामो अमेरिका बसाइको अन्तिम हप्ता सेन्ट लुइसमा आयोजित मिडियाका प्राध्यापकहरुको भेलामा सहभागी हुने मौका पाएँ । असोसिएसन फर एजुकेसन इन जर्नलिज्म एण्ड मास कम्युनिकेशन (एइजेएमसी) नामक यो संस्था सन् १९१२ मा स्थापना भएको रहेछ । तर यसको शुरुको नाम बेग्लै थियो । यसको सयौं वार्षिकोत्सव आगामी सन् २०१२ मा शिकागो शहरमा मनाइँदैछ । मैले यस संस्थाको सदस्यसमेत बन्ने मौका पाएँ । यसपटकको भेलामा अमेरिका र संसारका अन्य भागमा आमसंचार र पत्रकारिता अध्यापनरत प्राध्यापकहरुको सहभागिता थियो । भेलामा मिडिया र टिचिङ पेडागोजीका विविध आयाम र पाटाहरुलाई समेटेर अनुसन्धानपत्र प्रस्तुत गरिएका थिए । उनीहरुको अनुसन्धान पद्धति र प्रस्तुति शैलीबाट धेरै कुरा सिक्ने मौका पाएँ । त्यहाँ सिकेका एवम् देखेभोगेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रयास गर्दैछु ।

त्यस भेलामा सेज पव्लिकेसनजस्ता चर्चित प्रकाशन संस्था, विश्वविद्यालयलगायतका मिडियासम्बन्धी विविध प्रकारका संस्था एवम् सञ्चार परामर्शदाताहरुको ठूलो जमघट थियो । त्यहाँ नेपालमा बसेका काम गरिसकेका र नेपाली भाषासमेत बोल्न सक्ने अमेरिकीहरुसंग पनि भेटघाट गर्ने मौका पाएँ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुको खरेडी

अमेरिका एक हिसावले अत्यन्त उदार र लोकतान्त्रिक मुलुक मानिन्छ । यहाँ सबै विचार, भाषा, परम्परा र संस्कतिको सहअस्तित्व स्वीकारिन्छ भन्ने  मान्यता छ । यहाँ युरोपेली, एशियाली, अफि्रकी एवम् दक्षिण अमेरिकी मुलुकहरुबाट आएका मानिसहरुको साझा थलो मानिन्छ । त्यसैले अमेरिकी समाज निकै विविधतापूर्ण मानिन्छ । यति हुँदाहुँदै पनि एउटा पक्षचाहिं मेरो मनमा नराम्ररी खट्कियो । त्यहाँ सञ्चारमाध्यमको विविधता भने पाइएन । अर्थात् त्यहाँ विदेशी मिडिया आउटलेट (समाचारपत्र, टेलिभिजन, आदि) को अभाव देखियो । अमेरिकामा बीबीसीजस्ता टेलिभिजनहरु सजिलै हेर्न नपाइने रहेनछ । मैले त्यहाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रुपमा जापानको टेलिभिजन  च्यानल एनएचकेमात्र हेर्ने अवसर पाएँ । त्योवाहेक अरु कुनै पनि अन्तर्राष्ट्रिय सञ्चार (छापा र प्रसारण) माध्यमको उपस्थिति देखिएन । मैले यो कुरा वासिङटनस्थित स्टेट डिपार्टमेन्टका पदाधिकारीहरुसंगको भेटमा पनि जाहेर गरें । अमेरिकाले के कारण अरु देशको मिडिया प्रडक्ट भित्र्याउँदैन ? यसको भरपर्दो उत्तर मैले पाउन सकेको छैन ।

'आइ लाइक योर ह्याट'
अमेरिकीहरु 'एप्रिसिएटिभ इन्क्वाइवरी' मा विश्वास गर्छन् । उनीहरु अरुको प्रशंसाबाट कुरा शुरु गर्न रुचाउँछन् । म पनि प्रशंसाको पात्र बनें । प्रसंग पिट्सवर्गबाट शुरु हुन्छ । हामी पिट्सवर्ग पुग्दा त्यहाँको मौसम निकै गर्मी थियो । स्थानीय टेलिभिजन च्यानलहरुले हिट एडभिजरी जारी गरिरहेका थिए । बाहिर हिंडदा घामबाट बच्नको लागि सन् ह्याट किनेको थिएँ । त्यसमा पिट्र्सवर्ग लेखिएको थियो । मैले त्यस ह्याट लाएको देखेर हाम्रो टोली नेता बनेर गएकी प्रोफेसर मेरी रोगसले भनिन्, 'आइ लाइक योर ह्याट ।' गाडीमा चढ्ने बेलामा हाम्रो ड्राइभर बनेकी पीएचडी विद्यार्थी सली यानले पनि सोही वाक्य दोहोर्‍याइन् ।

सेन्ट लुइसस्थित एक टेलिभिजन च्यानलका कार्यक्रम निर्माताले पनि त्यसै भने । अरु थुप्रै अमेरिकीहरुले मेरो हयाट राम्रो लागेको बताए । हुँदाहुँदा वासिङटन डीसीबाट जापान आउने बेलामा युनाइटेड एयरलाइन्स नामक अमेरिकी वायुसेवा कम्पनीकी एकजना एयर होस्टेजले पनि मेरो ह्याट मन परेको बताइन्  । उनले भनिन्, 'आइ लाइक योर ह्याट । आइ एम फ्रोम पिट्सवर्ग ।'

सकारात्मक सोंच

सापेक्षिक रुपमा मेरो छोंटो बसाइ र सीमित राज्य (स्टेट) हरुको भ्रमणले मैले अमेरिकालाई आँखीझ्यालबाट चियाएजस्तो मात्र लाग्छ । मैले अमेरिकाका धेरै कुराहरु देख्न र भोग्न बाँकी नै छ । तर आँखीझ्यालबाट अमेरिकी समाजलाई मैले जे जति चियाउन सकें, ती सबैजसो कुराहरु अनुशरण गर्नयोग्य पाएँ । खासगरी अरुको बारेमा अनावश्यक टीकाटिप्पणी नगर्ने र सकारात्मक सोंच राख्ने अमेरिकीहरुको बानी निकै प्रशंसनीय र अनुकरणीय लाग्यो । अमेरिकाले गरेको चमत्कारपूर्ण प्रगतिका पछाडि यी कुराहरु पनि छन् जस्तो मलाई लाग्छ ।

छ हप्ता लामो अमेरिका बसाइमा पत्रकारिता र मिडियाका विविध आयामहरुबारे थप अध्ययन गर्ने अवसर मिल्यो । यसका अतिरिक्त अमेरिकी उच्च शिक्षा प्रणाली, आमसञ्चार प्रणाली र एवम् अमेरिकी समाज, जीवनशैली र सँस्कृतिसित केही हदसम्म परिचित बन्ने अवसर पनि मिल्यो । साथसाथै आमसञ्चार एवम् पत्रकारिताको विविध पक्षबारे अध्ययन गर्ने; सीएनएन, भ्वाइस अफ अमेरिकाजस्ता अमेरिकी मिडियाहरुको मुख्यालय भ्रमण गर्ने, विभिन्न ऐतिहासिक तथा साँस्कृतिक महत्वका स्थल घुमघाम गर्नेजस्ता अवसरहरु प्राप्त भए । मलाई प्राप्त भएका यी अवसरहरुले अमेरिकाप्रतिको मेरो दृष्टिकोणलाई बदल्न सघायो । यसका अतिरिक्त संसारको सबैभन्दा शक्तिशाली मानिएको देशबारेको मेरो बुझाइको क्षितिजलाई फराकिलो पार्न पनि मद्दत गर्‍यो । समग्रमा भन्दा, संसारको सबैभन्दा वैभवशाली मानिएको देशको चर्को उन्नति र घरबारविहीनहरुको समस्यालगायतका सामाजिक जटिलताहरुलाई पनि नजिकबाट नियाल्ने मौका मिल्यो ।

[साभार : नेपाली पोष्ट   (सेप्टेम्बर १७, २०११) । यसको परिमार्जित संस्करण जनपहुँच  मासिक (वर्ष ३ अंक २ भदौ-असोज २०६८)  मा पनि प्रकाशित । ]


[अद्यावधिक :  २०६८।०६।२७, २०६९०२३०, २०६९।०८।०७, २०७०।०२।२९]

2 comments:

  1. im so happy to know these all things abt US sir thank you for the post,..

    ReplyDelete