Wednesday, August 8, 2012

सम्झनाका तरेलीहरूमा ठाकुर सर


-यमबहादुर दुरा

'तिनाउ खोलाको, के भर छ नि मर्ने चोलाको'। मानव चोलाको शाश्वत पक्ष उद्घाटन गर्ने यस लोकगीतको मर्मसँग तादात्म्यता मिलाउँदै मेरा गुरु ठाकुरप्रसाद अधिकारी भौतिक दुनियाँबाट अस्ताउनुभयो । उहाँले संसार छाडेको आज ठ्याक्कै एक वर्ष पुगेछ ।
तस्बिर साभार : रविकिरण अधिकारी

उहाँ लमजुङको दुराडाँडास्थित सर्वोदय माध्यमिक विद्यालयको प्रधानाध्यपक हुनुहुन्थ्यो । उहाँले २०२५ सालदेखि २०४९ सालसम्म अनवरत रुपमा प्रधानाध्यपकको जिम्मेवारी सम्हाल्नुभयो । उहाँको सतप्रयासले सर्वोदय माध्यमिक विद्यालय लमजुङको राम्रो स्कूलमा गणना हुन पुगेको थियो ।

ठाकुर सर अंगेजी पढाउनुहुन्थ्यो । उहाँको पढाउने कला र शैली प्रशंसनीय थियो । सौहार्दपूर्ण वातावरणमा ज्ञान बाँड्न सक्ने खुबीले उहाँ विद्यार्थीहरुमाझ ज्यादै लोकप्रिय हुनुहुन्थ्यो । उहाँसँग ज्ञानको गहिराइ र व्यवस्थापकीय सीप दुवै थियो ।  समग्रमा उहाँ कुशल शिक्षक हुनुन्थ्यो ।

ठाकुर सर साहित्यमा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । उहाँको साहित्यिक नाम थियो 'छाँगा' । उहाँ ठाकुरप्रसाद अधिकारी भन्दा पनि ठाकुरप्रसाद 'छाँगा' नामले बढी परिचित हुनुहुन्थ्यो । उहाँले यस भौतिक दुनियाँबाट बिदा लिनुभन्दा लगभग एक महिना अघिमात्र 'बेलाको बोली' नामक कविता संग्रह प्रकाशन गर्नुभएको थियो ।२०२२ सालमा कास्कीको हंसपुरमा आयोजित साहित्यिक भेला उहाँले लेख्नुभएको 'लौरो' शीर्षकको कविताले वाहवाही बटुलेको चर्चा अहिले पनि सुन्न पाइन्छ ।

उहाँको बारेमा सोंच्दा सम्झनाको तरेलीहरुमा अनायसै बयली खेल्न पुगिन्छ । गुरु र चेलाको रुपमा उठबस गर्दा उहाँसँग सम्झनाहरु मेरो स्मृतिपटलमा ढुङ्गामा लेखिएका अक्षरजस्तै कुँदिएका छन् । उहाँसँग गाँसिएको सम्झनाका पेटारो फुकाउँदा थुप्रै प्रसंगहरु त्यसै त्यसै उप्किन थाल्छन् ।

ठाकुर सरको कुरा गर्दा मैले केहीबेर आफ्नै आत्माबखान गर्नुपर्ने अवस्था पनि आएको छ । यसको अन्यथा अर्थ नलागोस् ।  २०४७/२०४८ सालतिर रेडियो नेपालबाट प्रसारण हुने  'महिला कार्यक्रम', 'युवासंसार कार्यक्रम', 'बाल कार्यक्रम' मा मैले रहरै रहरले लेखेका  लेख प्रसारण हुन्थे । त्यति नै बेला रेडियो नेपालबाट 'वातावरण' भन्ने कार्यक्रम प्रसारण हुन्थ्यो । 'नेपाल वातावरण पत्रकार समूह' ले उत्पादन गरेको त्यस रेडियो कार्यक्रममा पनि सिकारु शैलीका मेरा सानातिना लेख बेलाबखतमा प्रसारण हुन्थ्यो ।

रेडियोमा आउने ती लेख ठाकुर सरले पनि सुन्नुहुँदो रहेछ ।  ठाकुर सरले 'मिलन समारोह' मा वातावरण विषयमा बोल्न मलाई आग्रह गर्नुभयो । समयको  यकिन सम्झना छैन । यो २०४८/२०४९ सालतिरको कुरा हुनुपर्छ । (दशैंको नवमीको दिनमा च्यानपाटा बजारमा आयोजना गरिने 'मिलन समारोह' मा भाषण तथा कवितावाचन कार्यक्रम हुन्थ्यो ।) ।  म न वातावरणको ज्ञाता थिएँ, न त कुशल वक्ता नै । मैले अन्कनाउँदै उहाँको आग्रहलाई स्वीकारें । सम्मानसाथ पाएको त्यो मौकाको सदुपयोग गरेँ र जानी नजानी वातावरणबारे बोलेँ । यस घट्नाबाट उहाँ आफ्ना शिष्यहरू प्रगतिपथमा अघि बढेको देख्न चाहनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ । अहिले समयको यस घुम्तीबाट पछि फर्किएर हेर्दा त्यो क्षण ज्यादै प्रेरणादायी थियो भन्ने अनुभूत हुन्छ । लाग्छ, यस्तो मौका सँधैभरि कहाँ मिल्छ र !

एकपटक परीक्षाको समयमा घटेको सानो घट्ना म कहिल्यै बिर्सदिनँ । त्यतिबेलामा म आठ कक्षमा पढ्थेँ । परीक्षार्थीहरुको नाम भित्तामा टाँसिएको थियो । आफू कुन कोठामा परेँ भन्ने जान्नका लागि विद्यार्थीहरु भित्तामा टाँसिएको सूची हेर्दै थिए । म पनि त्यस भीडमा सामेल थिएँ । मैले निकै ध्यान दिएर हेर्दा पटक हेर्दा पनि सूचीमा नाम देखिन । सूचीमा नाम नभएको विद्यार्थीमा म तुर्लुङको कमला दुरा र अरु एक दुइजना थियौँ । जाँच शुरु हुने बेला भइसकेको थियो । सूचीमा नाम नदेख्दा अब के हुने हो भनेर म आत्तिन थालिसकेको थिएँ । हडबडाएको थिएँ । म हडबडाएको देखेर उहाँले भन्नुभयो, 'किन हडबडाएको ? आत्तिनुपर्दैन ।'

उहाँकॊ त्यतिबेलाको बोलीले मलाई ठूलो ढाडस मिलेको थियो । उहाँको बोली मेरो हडबडाहटलाई निको पार्ने ओखती बनेको थियो । बितेको त्यो क्षणलाई आजकल सम्झंदा लाग्छ, उहाँमा विद्यार्थीको मनोविज्ञान बुझेर त्यसअनुरुप व्यवहार गर्नसक्ने व्यवहार कुशल व्यक्ति हुनुहुन्थ्यो ।

म उहाँको उद्घोषणकलाको राम्रो प्रसंशक थिएँ । उहाँले उद्घोषण गरेको कार्यक्रमको रौनक बेग्लै हुने गथ्र्यो । वक्ताको बारेमा मीठो गरी भूमिका बाँध्नसक्ने खुबी उहाँको थियो । वक्ताले दिएको भाषणको सार खिचेर स्रोतासामु पस्कने उहाँको खुबी बिछट्टै राम्रो थियो ।

उहाँमा इतिहासको पनि राम्रो ज्ञान थियो । ऐतिहासिक स्थल सिंदुरे ढुङ्गामा हरेक वर्षको पुष २७ गते 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस' मनाइन्थ्यो । एकपटकको 'पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस' मा सिंदुरे ढुङ्गामा आयोजित समारोहमा लमजुङमा शाहवंशीय राजसंस्था कसरी स्थापना भयो भन्ने विषयमा उहाँले भाषणमार्फत ज्यादै चित्तबुझ्दो ऐतिहासिक तथ्य प्रस्तुत गर्नुभएको थियो । उहाँको त्यस भाषणबाट यशोव्रह्म शाह खजे दुरा एवम् सिँदुरे  ढुङ्गाको ऐतिहासिकताबारे जान्ने मौका मिलेको थियो । उहाँको त्यस भाषण मेरो मनमस्तिष्कमा एउटा गतिलो सन्दर्भ सामग्री बनेर रहेको छ ।

यी त भए, सम्झनामा झल्याकझुलुक देखापर्ने केही अनुभूतिगत छायाँछविहरू । तीतो सत्य स्वीकार्नै पर्छ, विधाताले ठाकुर सरलाई हामीबाट चुँडेर लगेको छ तर पनि सम्झनाको धागो भने चुँडिएको छैन । उहाँको सम्झना र उहाँप्रतिको श्रद्धा मुटुभरि साँचिएर रहेका छन् । उहाँका सत्कर्महरू मार्गनिर्देशिकाको रुपमा रहेका छन् । उहाँ हाम्रो प्रेरणास्रोत हुनुहुन्थ्यो, भविष्यनिर्माता हुनुहुन्थ्यो र भोलिका दिनमा पनि प्रेरणास्रोत नै रहनुहुनेछ ।

[साभार: ठाकुरप्रसाद छाँगा स्मृति ग्रन्थ-२०६९ । परिमार्जित संस्करण]

[अद्यावधिक :   २०६९।०९।११, २०६९।०९।२०,२०७२।४।२४]

No comments:

Post a Comment