Wednesday, October 3, 2012

मिडिया शिक्षामा विविधीकरणको आवश्यकता

यमबहादुर दुरा

नेपालमा विभिन्न विश्वविद्यालयअन्तर्गतका कलेजहरुमा 'आमसञ्चार र पत्रकारिता' को पठनपाठन चलिरहेको छ । त्रिभुवन विश्वविद्यालयले विसं २०३३ सालदेखि पत्रकारिताको पठनपाठन शुरु गरेपछि नेपालमा आमसञ्चार र पत्रकारिताको औपचारिक पठनपाठन शुरु भएको मानिन्छ । त्रिभुवन विश्वविद्यालयबाट शुरु भएको पत्रकारिता पढाइ नेपालका अन्य विश्वविद्यालयमा पनि हुने गर्छ । जस्तैः पूर्वान्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, आदि । सुर्खेतमा खुल्न लागेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि स्नातक तहमा 'आमसञ्चार र पत्रकारिता' को पठनपाठन शुरु गर्ने तयारी गरिरहेको छ ।

विसं २०३३ सालमा पत्रकारिताको औपचारिक पठनपाठन शुरु भएर वर्तमान घडीसम्म आइपुग्दा नेपालको मिडिया परिदृश्यमा थुप्रै परिवर्तन आएका छन्  । पत्रकारिताको औपचारिक शिक्षाले प्रत्यक्ष वा परोक्ष रुपमा नेपालको मिडिया परिदृश्यमा प्रभाव पारिरहेको अनुभव गर्न सकिन्छ ।  अहिले पत्रकारितालाई पेशाको रुपमा गर्वसाथ अपनाउनेदेखि लिएर आमसञ्चार र पत्रकारिताको विविध आयाम र पाटाहरुमा खोजअनुसन्धान गर्ने कार्य भइरहेका छन् । यस्ता कार्यहरुको नेतृत्व नयाँ पुस्ताले गरिरहेको पाइन्छ । यसबाट नेपालको मिडिया परिदृश्यमा जुझारु युवाहरुको प्रवेश भइरहेको छ भन्ने छनक मिल्छ, जुन सकारात्मक पक्ष हो । यसप्रकारको परिदृश्यलाई आशालाग्दो परिवर्तनको सूचकको रुपमा लिन सकिन्छ ।



यति हुँदाहँदै पनि आमसञ्चार र पत्रकारिता वृहत्तर विषय हुन् भन्ने बुझाउन बाँकी नै छ । आमसंचार र पत्रकारिताको शिक्षा आर्जन गर्नु भनेको भविष्यमा पत्रकार बन्नुमात्र हो भन्ने परम्परागत मान्यतालाई भत्काउन बाँकी छ । 'आमसञ्चार र पत्रकारिता' अध्ययन गरेपछि पत्रकार बन्नेबाहेक अरु थुप्रै अवसरहरु प्राप्त गर्न सकिन्छ । आमसञ्चार र पत्रकारिताको अध्ययन गरेपछि पत्रकारिताका अतिरिक्त मिडिया अनुसन्धानदेखि मिडिया परामर्शदातासम्मको काममा संलग्न हुन सकिन्छ भन्ने सन्देश ठूलो समूहलाई दिन बाँकी नै छ । अर्थात् आमसञ्चार र पत्रकारिताको अध्ययन गरेपछि विद्यार्थीहरुले प्राप्त गर्नसक्ने अवसर धेरै छन् भन्ने कुरा अझै बुभाउन सकिएको छैन ।

अहिले मिडियाको पैरवी, अनुसन्धान, तालिमलगायतका क्षेत्रमा काम गर्ने गरी थुप्रै संस्था अस्तित्वमा आएका छन् । यति मात्र होइन, मिडिया क्षेत्रमा धेरै अवसर छन् भन्ने बुझेर विदेशी संस्थाहरु नेपालमा कार्यरत छन् । जस्तैः 'सर्च फर कमन ग्राउण्ड', 'बीबीसी एक्सन' आदि । यसले नेपालमा मिडियामा विविधीकरण शुरु भइसकेको सन्देश दिन्छ । यतिमात्र होइन, मिडिया उद्योगको बहुआयमिक क्षेत्रमा  'करिअर'  बनाउन चाहनेहरूका लागि सम्भावनाको चारै ढोका खुल्ला रहेको सन्देश पनि दिन्छ ।    अब मिडियाको पठनपाठनमा पनि विविधीकरण आवश्यक भइसकेको छ । पहिले त्रिभुवन विश्वविद्यालयमा मात्र हुने आमसञ्चार र पत्रकारिताको पठनपाठन अहिले नेपालका अन्य विश्वविद्यालयहरुमा पनि हुने गर्छ । एक हदसम्म यसलाई पनि आमसञ्चार र पत्रकारिताको पठनपाठनमा विविधीकरण मान्न सकिएला तर सबै विश्वविद्यालयहरुमा प्रायः एकै किसिमका विषय पढाइ हुने भएकोले यसलाई अर्को कॊणबाट हेर्दा विविधीकरण मान्न गाह्रो पर्छ ।

आमसञ्चार र पत्रकारिता  आफैंमा वृहत् विषयहरु हुन्, जसको छातामुनि व्रह्माण्ड अट्न सक्छ । विदेशी विश्वविद्यालयहरुले जस्तै : नेपालका विश्वविद्यालयहरुले यसलाई खण्डीकरण गरेर कुनै एक विषयमा मात्र केन्द्रित गर्नु राम्रो हुन्छ । जस्तै : रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, समाचार लेखन तथा उत्पादन, साइबर पत्रकारिता, सञ्चार अध्ययन आदि । यसो गरेमा कुनै एउटा खास विषयमा विश्वविद्यालयले आफ्नो दक्षता प्रदर्शन गर्न सक्छ । सवै विश्वविद्यालयले एउटै प्रकृतिको कोर्स सञ्चालन गर्दा विद्यार्थी र मिडियाको बजारले नयाँ 'टेष्ट' पाउन सक्दैन । साथसाथै यसप्रकारको शिक्षा पद्धतिले भनेजस्तो गरी बजार सिर्जना गर्न पनि सक्दैन । नेपालका विश्वविद्यालयहरुले यस विषयलाई मनन गर्न आवश्यक छ । विश्वविद्यालयहरुले यसलाई मनन गरेर विविधता झल्कने किसिमका 'कोर्स' सञ्चालन गरेमा सवैले व्यग्रतापूर्वक अपेक्षा गरेको 'प्रोफेसनलिज्म' खारिएर आउनसक्छ । 

'आमसञ्चार र पत्रकारिता ' को पठनपाठनमा विविधीकरणको आवश्यकतालाई कार्यान्वयन गर्न दिशामा नगरी नहुने हुने अर्को आधारभूत काम हो विश्वविद्यालयले लगाएको विषयगत प्रतिवन्ध  फुकाउने । संसारका धेरैजसो विश्वविद्यालयले यसलाई खुला विषय मान्दै त्यसअनुरुप पठनपाठन सञ्चालनम गरे पनि नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले भने यसमा काजुस्याइँ गरेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयले बीए र एमएमा 'आमसञ्चार र पत्रकारिता' पढ्न चाहनेले प्रमाणपत्र तहदेखि नै त्यही विषय पढेको हुनुपर्ने नियम बनाएको छ, जुन अन्तर्राष्ट्रि्रय अभ्याससंग मिल्दो देिखंदैन । तर यस वर्षदेखि भने त्रिभुवन विश्वविद्यालयले बीएमा 'आमसञ्चार र पत्रकारिता' पढ्न चाहनेले भने प्रमाणपत्र तहमा जुनसुकै विषय पढेको भए पनि हुने भन्ने नियम लागू गरेको छ । ढिलै भए पनि राम्रो काम भएको छ । एमएमा पनि यस्तै खुला नियम लागू गर्न आवश्यक छ । 

यसो भएमा क्षमता भएका उर्जावान् युवाहरुले प्रतिभा देखाउने अवसर पाउनेछन् । अन्य क्षेत्रबाट आउने विद्यार्थीहरुले विश्वविद्यालयमा 'आमसञ्चार र पत्रकारिता' नपढेका भए पनि अरु विषय त पढेका हुन्छन् । यसरी अन्य क्षेत्रका विद्यार्थीहरुले अन्यत्र सिकेका ज्ञान मिडियामा आएर बाँड्न सक्छन् । जस्तै : विज्ञान पढेर आएका विद्यार्थीले पत्रकारिता क्षेत्रमा उसले अरुले भन्दा राम्रोसंग विज्ञान पत्रकारिता गर्नसक्छ । यसबाट सम्बधित मिडिया हाउस र समाज दुबैलाई योगदान पुग्नसक्छ । अरु क्षेत्रको ज्ञानलाई उपयोग गर्ने दिशामा हामीले सोंच्न आवश्यक छ ।

यहाँनेर एउटा अर्को प्रश्न उठ्नसक्छ । 'अरु क्षेत्रबाट आएर मानिसले मिडिया राम्ररी बुझेको हुँदैन । त्यस्ताले मिडियालाई गोलमाल गर्न सक्दैन र ?' यस प्रश्नको उत्तर पनि सहजै दिन सकिन्छ । अहिलेको पूँजीवादी दुनियाँमा मानिसको प्रतिभा बजारले जाँच्छ । राम्रो गर्नसक्ने व्यक्ति अरु क्षेत्रबाट आए पनि मिडियामा स्थापित हुनसक्छ । राम्रो नसक्ने व्यक्तिले मिडिया नै अध्ययन गरेर आएको भए पनि मिडियाबाट बाहिरिन सक्ने प्रसस्त सम्भावना रहन्छ । त्यसैले यस्तो विषयमा चिन्ता गरेर समय खेर फाल्न आवश्यक छैन ।

अर्को कुरा, कानुन पढ्ने प्रत्येक व्यक्ति कानुन व्यवसायी नभएजस्तै मिडिया पढ्ने हरेक व्यक्ति मिडिया क्षेत्रमै हुनुपर्छ भन्ने छैन । यसको छिनोफानो व्यक्तिको रुचि, प्रतिभा र बजारले गर्छ । यस हिसाबले मिडिया शिक्षालाई खुल्ला र विविधीकरण गर्दा कसैलाई घाटा हुँदैन बरु यसले हाम्रो समाजलाई राम्रो गुन पो लाउनसक्छ । हामीलाई थाहा छ, एकै खालका फूलबाट बनेको मालाभन्दा धेरै जातका फूलबाट बनेको माला सुन्दर र सोभायमान् हुन्छ । एकपटक यतातिर ध्यान दिने कि ?

[साभार: एजुकेशन न्यूज  वर्ष १ अंक ३ (असोज १५, २०६९)]

No comments:

Post a Comment