Saturday, November 24, 2012

बिदा हलो क्रान्ति–नायक !

-यमबहादुर दुरा

हलो क्रान्तिका अगुवा, जयतु संस्कृतम् आन्दोलनका सदस्य, इतिहास अन्वेषक र शैक्षिक एवं सामाजिक क्षेत्रका अथक अभियन्ता श्रीकान्त अधिकारी हामीबीच रहनुभएन । उहाँ २०६९ साल कात्तिक ३० गते भाइटीकाको दिन ८५ वर्षको उमेरमा यस भौतिक दुनियाँबाट बिदा हुनुभएको छ । उहाँ सबैको प्रेरणापुञ्ज हुनुहुन्थ्यो । उहाँ ब्रह्मलीन भइसके पनि उहाँले हामीमाझ छाडेर जानुभएको विरासतबाट नयाँ पुस्ताले सिक्नु पर्ने र अनुप्राणित हुनु पर्ने थुप्रै  पाठ छन् ।

समाजमा जरो गाडेर रहेका कुरीतिहरूलाई जरैबाट उखेल्नु पर्छ भन्ने चेतले उहाँ ओतप्रोत हुनुहुन्थ्यो । ब्राह्मणले हलो नजोत्ने परम्परागत मान्यतालाई उहाँ ठालू मानसिकताको उपज मान्नुहुन्थ्यो । यसलाई चुनौती दिंदै पण्डित तोयानाथ अधिकारी, लप्टन शेषकान्त अधिकारी, श्रीकान्त अधिकारी, मुखिया हरिभक्त पौडेललगायतका व्यक्तिले लमजुङको दुराडाँडामा विसं २००६ साउन ११ गते हलो जोतेपछि नेपालको राजनीतिक, सामाजिक वृत्तमा हलचल नै ल्यायो । उहाँहरू चौतर्फी आक्रमणको निसाना बन्नुभयो । पतनको सङ्घारमा रहेका राणा शासकले विद्यमान राजनीतिक व्यवस्थाविरुद्धको साङ्केतिक आन्दोलन ठानेर उहाँहरूलाई जेलमा पठाए । अर्कोतिर, समाजको मान्यताविपरीत हलो जोतेकाले उहाँहरू ब्राह्मण समाजभित्रै आलोचित र अपहेलित हुन थाल्नुभयो । कतिपयले त दुराडाँडाका ब्राह्मणहरूसँग सोली–डोली चलाउन पनि गाह्रो माने । यस्तैमा विसं २००८ सालमा लमजुङमा बाढीपहिरोले ठूलो क्षति ग¥यो । यसको दोष पनि हलो क्रान्तिका अगुवाहरूलाई नै लाग्यो । बाहुनले हलो जोतेकाले देउता रिसाएर प्राकृतिक विपत्ति आएको हो भनेर तत्कालीन रुढीबादी समाजले टिप्पणी गर्यो ।


यी सबै खालका टीका–टिप्पणीको प्रत्युत्तरमा हलोक्रान्तिका नायकहरूले एकै स्वरमा बयान दिए– अन्न उब्जाउने जस्तो पवित्र कामको प्रयोजनका लागि हलो जोत्नुमा कुनै पाप छैन ।

हलो क्रान्तिको यो झिल्काबाट देशका अन्य भागमा पनि क्रान्तिको मसाल सल्किन थाले । अरू जिल्लाका ब्राह्मणहरूले पनि धमाधम हलो जोत्न थाले । यसबाट हलो क्रान्तिलाई समर्थन मिल्यो ।

हलो क्रान्तिसँगै उहाँले राणा शासनको तल्लो निकायका तालुकदार (जिम्मावाल एवं मुखिया) कहाँ कर बुझाउन जाँदा घ्यू, दही लैजानु पर्ने र उनीहरूको खेतबारीमा निःशुल्क काम गर्नु पर्ने सामन्ती परिपाटीको खुलेर विरोध गर्नुभयो । उहाँले ठाउँ ठाउँमा भाषण गरेर यस दिशामा नागरिकलाई सजग तुल्याउनुभयो ।

विसं २००७ सालमा राणा शासनको अन्त्य भएपछि खुला राजनीतिक परिवेश खडा भयो । देशका नागरिक आफ्ना उन्नतिका लागि स्वाभाविक रूपमा जुर्मुराउन थाले । यही मेहरोमा श्रीकान्त अधिकारीको अगुवाइमा विसं २००८ सालमा दुराडाँडा क्षेत्रमा १२ वटा प्राथमिक विद्यालय स्थापना गरेर चेतनाको दियो बाल्ने काम भयो । यसैगरी विसं २००९ सालमा सर्वोदय विद्यालय स्थापना भयो । विद्यालय स्थापना गर्ने क्रममा श्रीकान्त अधिकारी र उहाँका सहकर्मीहरूले धेरै दुःखकष्ट ब्यहोर्नु परेको थियो । बालबालिकालाई विद्यालय पठाउने अभियान चलाउँदा ‘हाम्रा छोराछोरीलाई विद्यालय पठाएपछि गाइवस्तु कसले हेरिदिन्छन्’ भनेर प्रश्न गर्ने अभिभावकको उहाँहरूले सामना गर्नुपर्यो । भौतिक पूर्वाधार र स्रोत–साधनको चर्को अभाव अर्को चुनौती थियो । उहाँहरूले खेप्नु भएका दुःखकष्टको बेलिविस्तार लगाउँदा एउटा ग्रन्थ नै तयार हुन्छ । तत्कालीन शिक्षासेवीले भोग्नुपरेका दुःखकष्ट र सङ्घर्षपूर्ण क्षणहरूको वृत्तान्त ‘अन्नपूर्ण काख’ नामक पुस्तकमा पढ्न पाइन्छ ।

देशको सामाजिक एवं राजनीतिक आन्दोलनलाई मुख्य कर्म बनाएर अगाडि बढ्दा श्रीकान्त अधिकारीलाई राजनीतिक र सामाजिकरूपमा स्थापित गरायो  । उहाँको सकारात्मक छवि विकास हुँदैगयो । उहाँ वि.सं २०१५ सालको संसदीय चुनावमा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्दै लमजुङ जिल्लाबाट निर्वाचित हुनुभयो ।

यहाँको सामाजिक तथा राजनीतिक व्यक्तित्व चम्किंदै गइरहेको बेला विसं २०१७ मा राजा महेन्द्रले स्थापना गरेको एकदलीय पञ्चायती व्यवस्था शुरु भयो । विसं २०२१ सालमा उहाँ पञ्चायतमा सामेल हुनुभयो । पञ्चायती व्यवस्थाले चारैतिरबाट नाकाबन्दी गरेपछि बाध्य भएर पञ्चायतमा प्रवेश गरेको स्पष्टीकरण अनौपचारिक कुराकानीमा दिनुहुन्थ्यो । देशको राजनीतिक व्यवस्थासँग पौँठेजोरी खेलेर समाज सुधारको लक्ष्य पूरा हुन नसक्ने देखिएकाले वाध्य भएर आफू  पञ्चायती व्यवस्थामा सामेल भएको तर्क उहाँको थियो । उहाँको स्पष्टीकरण र तर्कसित पार्टी कार्यकर्ता सहमत भएनन् । यसबाट उहाँको राजनीतिक–जीवन (करियर) मा ठूलो धक्का लाग्यो । पञ्चायतमा सामेल  भएपछि उहाँ नेपाली काङ्ग्रेस–वृत्तमा आलोचितमात्र हुनुभएन, पार्टीको लक्ष्मणरेखाबाट आजीवन बाहिरिनुभयो । उहाँको  राजनीतिक जीवनमा यो एउटा दुर्भाग्यपूर्ण अवस्था थियो ।

उहाँको राजनीतिक ‘बर्को–फेराइ’ ले समाजसेवाप्रतिको उहाँको लगावमा भने कुनै कमी आएन । उहाँ समाजको वृहत्तर हितका लागि डटेरै अघि बढ्नुभयो । विशेषगरी शिक्षा र भौतिक पूर्वाधार विकासमा अभियन्ताकै रूपमा अघि बढिरहनु भयो ।

उहाँ बेँसीका मलिला फाँटहरूमा बस्ती बसाइनु हुन्न, त्यस्ता फाँटमा खेतीपाती गरिनुपर्छ र उब्जनीका हिसाबले कमसल मानिएका डाँडाहरूमा बस्ती बसाइनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । लमजुङको सदरमुकाम कुन्छाबाट बेँसीशहर सार्दा पनि उहाँले असहमति जनाउनुभएको थियो । खेतीपातीका लागि उब्जाउ भूमि मानिने बेँसीशहरलाई जिल्ला सदरमुकाम बनाएर ‘क्रन्क्रिट–जङ्गल’ उभ्याइनुहुँदैन भन्ने उहाँको मान्यता थियो । उहाँले यसको बिकल्प पनि दिनुभएको थियो । बेँसीशहरभन्दा दक्षिणतिर रहेको शीतलस्वाँरा नजिकको डाँडामा सदरमुकाम सार्नु पर्नेमा उहाँको जोड थियो । त्यसबेला उहाँको बोली बिकेन तर पनि बोल्न छाड्नुभएन । उहाँ पछिसम्म पनि भनिरहनुहुन्थ्यो– मलिलो फाँट मासेर बेँसीशहरमा सदरमुकाम सार्ने निर्णय गलत थियो ।

विसं २०२१ सालमा उहाँको नेतृत्वमा जनश्रम परिचालन गरी शीतलस्वाँरामा हवाइ मैदान बनाउने काम गरिएको थियो । राजनीतिक कोपको शिकार भएर हो वा उत्तराधिकारी पुस्तामा राजनीतिक इच्छाशक्तिको अभाव भएर हो ? शीतलस्वाँराको हवाइ मैदान अहिलेसम्म पनि अलपत्र अवस्थामा छ ।

पहिचान र अत्मसम्मानका लागि छट्पटाइरहेका अल्पसङ्ख्यक दुरा समुदायका लागि उहाँ अवतारकै रूपमा प्रकट हुनुभयो । विदेशी सेनामा भर्ती हुन पनि जात लुकाउनुपर्ने अवस्थामा रहेका एवं सामाजिक र आर्थिकरूपमा पछाडि पारिएका दुरा समुदायलाई अत्मसम्मानसहित चिनाउने दिशामा उहाँले निर्वाह गर्नुभएको भूमिका वन्दनीय छ ।

खरबारीभित्र हराएको सिंदुरे ढुङ्गा तथा विस्मृतिको गर्भभित्रै हराउनअलागेका खजे दुराको ऐतिहासिकता खोजखनिज गरेर दुरा समुदायको परिचयको दायरा फराकिलो पार्ने दिशामा उहाँले विशिष्ट योगदान दिनुभयो । विसं २०३३ मा दुराडाँडाको च्यानपाटामा खजे दुराको शालिक उभ्याउने र प्रसिद्ध लोकगायक देउबहादुर दुराको नाममा ‘देउबहादुर कला केन्द्र’ को शिलान्यास गर्ने काम श्रीकान्त अधिकारीकै नेतृत्वमा भएको थियो ।

यसबाट दुरा समुदायको पहिचान र आत्मसम्मानको ‘ग्राफ’  उकालोमात्र लागेन, नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अध्याय जनसमक्ष उजागर भयो । यस हिसाबले उहाँको भूमिका दुरा समुदायका लागि निष्पट अँधरोमा अल्मलिएका यात्रीलाई सिठा बालेर बाटो देखाउने अगुवाको जस्तो रह्यो ।

विसं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली काङ्ग्रेसभित्र चर्कोरूपमा देखापरेको गुट–उपगुट र घात–प्रतिघातबाट श्रीकान्त अधिकारी निकै दुःखी पाइनुहुन्थ्यो । राजनीतिक दलका नेतृत्व वर्ग दलगत एवं व्यक्तिगत स्वार्थमा लिप्त भएको टिप्पणी गर्नुहुन्थ्यो । राजनीतिको मूलभूत लक्ष्य समाजसेवा नै भए पनि यसलाई व्यवसाय ठान्ने प्रवृत्ति बढेकाले देशले दुर्गति भोग्नुपरेको उहाँको ठहर थियो ।

उहाँ राजनीतिक नेतृत्वमा चारित्रिक एवं आत्मिक शुद्धीकरणमा जोड दिनुहुन्थ्यो । राजनीति सबै नीतिहरूको माउ–नीति भएकाले राजनीति ध्वस्त भएमा बाँकी सबै नीति बिग्रन्छ भन्नुहुन्थ्यो । त्यसैले उहाँ राजनीति गर्नेहरू समाजको वृहत्तर हितको उच्चतम आदर्शलाई आत्मसात गरेर स्वार्थरहित ढङ्गमा जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ भन्नुहुन्थ्यो ।

समाजको वृहत्तर हितका लागि युवा–पुस्तालाई झक्झक्याउन, उत्प्रेरित गर्नबाट कहिल्यै नथाक्ने श्रीकान्त अधिकारी साँचो अर्थमा सामाजिक योद्धा हुनुहुन्थ्यो । भौतिक चोला त्याग्नुभन्दा एक हप्ता अघिमात्र सर्वोदय उच्च माध्यमिक विद्यालयको हीरक महोत्सव र ३७ औँ खजे दुरा स्मृति दिवसमा सहभागी भएर काठमाडौँ फर्कनुभएको थियो । समाजको वृहत्तर हितका लागि आफूलाई समर्पित गर्न चाहनेहरूका लागि उहाँ आफैमा एउटा पाठ हुनुहुन्थ्यो । त्यस्ता लोकहितैषी प्रेरणादायी पात्रलाई सलाम !

[साभार : नागरिक (मंसिर ९, २०६९) । सामान्य परिमार्जनसहित]

[अद्यावधिक :  २०६९।०८।१०, २०६९।०८।२९, २०६९।०९।११, २०६९।०९।१७, २०६९।०९।२, २०६९।०९।२९, २०७०।०५।०३]

No comments:

Post a Comment