Monday, March 11, 2013

नेपाली राजीतिमा इमान्दारिता

-यमबहादुर दुरा

धेरैजसो विश्लेषकहरूले राजनीतिलाई सत्ता र शक्ति आर्जन गर्ने कूटनीतिक खेल भनेर परिभाषित गरेका छन् । राजनीति मूलतः सत्ता र शक्ति हत्याउने खेल नै हो, जसमा सम्झौता र षडयन्त्र समानान्तर रूपमा सँगसँगै चलिरहन्छ भन्ने गरिन्छ । सबैले भन्ने गरेका छन्, राजनीतिमा साम, दाम, दण्ड र भेद प्रयोग हुन्छ । त्यसैले राजनीतिको शब्दकोश असम्भव भन्ने केही पनि हुँदैन भन्ने गरिन्छ । मिथकीय 'महाभारत' को कथादेखि  जहानियाँ राणा शासनको उदयसँग गाँसिएको 'कोतपर्व' सम्मको उथुलपुथुलपूर्ण घटनाक्रमहरूले राजनीतिको कठोर भाषा बोलेका छन् ।

अङ्ग्रेजीमा एउटा भनाइ छ, 'पोटिक्स् गभर्न्स एभ्रिथिङ ।' अर्थात हरेक कुरा राजनीतिबाट सञ्चालित हुन्छ । राष्ट्रप्रमुखदेखि रङ्कसम्म अनि प्रधानमान्त्री कार्यालयदेखि र कर्मजीवी किसानको झुपडीसम्म राजनीतिले प्रभाव नजमाई छाड्दैन । राजनीतिको सर्वव्यापकताका सम्बन्धमा अर्को भनाइ पनि छ, 'पोटिक्स् इज एभ्रिहृवेर ।' अर्थात् राजनीति जताततै छ । त्यसलै अराजनीतिक नागरिकमा राजनीतिको प्रभाव परिरहन्छ । यसलाई कसै गरी पनि पञ्छाउन सकिँदैन । राजनीतिलाई नतमस्तक भएर शिरोपर गर्नुको विकल्प छैन ।

अर्कोतिर, राजनीति सबै नीतिहरूको मूल नीति मानिन्छ । राजनीतिबाट नै देशका सम्पूर्ण नीतिहरू सञ्चालन हुन्छन् । मूल नीति ठीक नभएमा अरु नीति पनि ठीक हुनै सक्तैन । हाम्रो दिमाग ठीक नभएमा शरीरको अन्य अङ्ग प्रयोजनविहीन भएजस्तै । नेपालको अवस्था पनि लगभग यस्तै भएको छ । नेपालको राजनीतिक अस्थिरता र बेइमानीपनको प्रतिविम्ब जनजीवनका हरेक आयाम र पाटाहरूमा देखिन थालेको छ । यस घडीमा राजनीतिले थुपरेको सामाजिक कुप्रभाव हटाउन राजनीति नै सच्चिनु आवश्यक छ ।

राजनीतिमा साम, दाम, दण्ड र भेद प्रयोग हुने भए पनि राजनीतिक खेलको निश्चित नियमहरू छन् । शिकार खेल्ने क्रममा बास बसेको वा निदाएको प्राणीमाथि आक्रमण गर्नहुँदैन भन्ने नैतिक संहिता हाम्रो समाजमा भएजस्तै राजनीतिक गर्नेहरूले पनि राजनीतिक मैदानमा उत्रँदा आधारभूत आचार संहिता पालना गर्नुपर्छ । 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनालाई व्यवहारमा उतार्नु नै राजनीतिक कर्मभूमिमा उत्रिएकाहरूले पालना गर्नुपर्ने मूलभूत आचार संहिता हो ।

बिडम्बना नै भन्नुपर्छ, नेपालका राजनीतिकर्मीहरू 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनाको विपरीत हुने गरी चलेको पाइन्छ । उनीहरू नितान्त सीमित स्वार्थका लागि बहुसंख्यक नागरिकलाई सास्ती दिने काममा उद्धत् भएको पाइन्छ । उनीहरू व्यक्तिगत स्वार्थ र दलगत स्वार्थभन्दा माथि उठ्न सकेको देखिंदैन । आफ्नो दल सबैभन्दा बढी लोकतान्त्रिक भएको, लोकतान्त्रिक आन्दोलनमा आफ्नो दलले बढी योगदान गरेको, आफ्ना नीति र कार्यक्रम अरूको भन्दा बढी जनपक्षीय भएकोजस्ता आधारहीन गुड्डी हाँकेर आत्मप्रशंसामा रमाउनु र नगारिकलाई दिग्भ्रमित तुल्याउनु नै उनीहरूको नित्यकर्म बनेको प्रतीत हुन्छ ।

राजनीतिको मूल उद्देश्य देश र जनताको वृहत्तर हितका लागि आफूलाई कर्मक्षेत्रमा होमेर समाज सेवा गर्नु नै हो । आफ्ना व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर शोषण, अन्याय, अत्याचार, अज्ञान, रोग र भोकका विरुद्ध आफूलाई समर्पित तुल्याउनु उनीहरूको धर्म हो । दुःखको कुरा, नागरिकको दु:खकष्ट अन्त्य गर्नुमा नभई सत्ता प्राप्ति र सुखभोगमा नेपाली राजनीति केन्द्रित भएको पाइन्छ । कतिपय अवस्थामा राजनीति गर्नेहरू नै नागरिकमाथि भएका शोषण, अन्याय र अत्याचारको कारकतत्व बन्न पुगेका छन् । राजनीति गर्नेहरूको उपस्थितिबाट नागरिकले संरक्षकत्वको अनुभव गर्नुपर्ने हो तर त्यसो नभई नागरिक थर्कमान हुनुपर्ने अवस्था आएको छ । यस्तो भएपछि नागरिकले उनीहरूबाट के आशा गर्ने ?

नेताहरूमा राजनीतिक इमान्दारिता क्षय हुँदै गएकोले उनीहरूद्वारा उच्चारित राष्ट्रवाद, राष्ट्रियता, जनजीविका र वृहत्तर राष्ट्रिय हितका सवाल हात्तीको देखाउने दाँतभन्दा बढी हुन सकेको छैन । नागरिकको पक्षमा बोलेर कहिल्यै नथाक्ने नेताहरू साँचो अर्थमा नागरिकका काम गर्छन् त ? अहिलेसम्मको उनीहरूको व्यवहारले त्यसलाई पुष्ट गर्दैन । राष्ट्रघाती सन्धि-सम्झौता गर्न रातरात एकजुट हुने तर राष्ट्रनिर्माणको अभियानमा चाहिँ सँधै फुटपरस्त भइरहने कार्यशैलीले उनीहरूले आफ्नो असली परिचय दिइरहेका छन् ।

राजनीति गर्नेहरूले सही तरिकाले देशको दिशा निर्धारण गर्नुपर्छ । देशको दिशा निर्धारण गर्ने क्रममा उनीहरूले 'बहुजन हिताय, बहुजन सुखाय' को मर्म र भावनालाई मनमा लिएर दृढनिश्चयी भई लक्ष्यमा अघि बढ्नुपर्ने हो तर उनीहरू बोलीमा लगाम नभएको दोधारे र दुइजिब्रे देखिएका छन् । उनीहरूको मनोदशा र मनोवेग यस्तै रहने हो भने नागरिकले अपेक्षा गर्ने ठाउँ रहँदैन ।  राजनीतिक इमान्दारिताको अभाव नै उनीहरूको सबैभन्दा ठूलो कमजोरी हो । नागरिकले उनीहरूबाट भाषण र खोक्रो आश्वासनको थुप्रो होइन, त्याग र तपस्या चाहेका छन् । सीमित स्वार्थलाई त्यागेर नागरिकको वृहत्तर हितका लागि आफूलाई समर्पित गरेमा मात्र देशले सही दिशा लिन्छ । यहाँनेर उनीहरूलाई राजनीतिक इमान्दारिता देखाउन अवसर छ ।

महर्षि व्यासले भनेका थिए, 'इमान्दार मानिस इश्वरको सर्वोत्कृष्ट नमूना हो ।' हाम्रा नेताहरूले पनि आफूलाई इमान्दार सावित गरेर देशको राजनीतिक परिदृश्यमा आफूले आफैंलाई सर्वोत्कृष्ट राजनेता तुल्याउन आवश्यक छ । आफूलाई सर्वोत्कृष्ट तुल्याउने साँचो अरू कोहीसँग नभई नेताहरूसँग नै छ ।

[साभार : नेपाली पोष्ट  (मार्च १०, २०१३)] 

अद्यावधिक: २०७१।१०।१३ 

1 comment:

  1. Nepal ka Rajnitik Party ka kunai neta ko Sabda kosh ma 'Imandari' sabda chha jasto lagchha Dura ji? Maile aaja samma suneka ra dekheka neta ma 1 jana ma pani chaina tyo 'Imandari' ra tiniharu le kahile prapta pani garna sakdainan tyo 'Imandari'

    ReplyDelete