Friday, May 30, 2014

इतिहास अन्वेषणमा श्रीकान्त अधिकारीको योगदान

–यमबहादुर दुरा

आयरल्याण्डका लेखक तथा कवि ओस्कर वाइल्ड  (Oscar Wilde) ले एकपटक भनेका थिए, ‘जोकोही व्यक्तिको पनि इतिहास हुन्छ तर त्यो इतिहास लेख्न प्रतिवान् व्यक्ति चाहिन्छ ।’ राजनीतिज्ञ तथा समाजसेवी श्रीकान्त अधिकारीको जीवनमा ओस्कर वाइल्डको भनाइ लागू भएको पाइन्छ । उहाँले स्वाभाविक रूपमा आफ्नो इतिहास बनाउनुभयो र त्यसलाई लिपिबद्ध पारेर पनि छाड्नुभयो ।

मेरो बुझाइमा श्रीकान्त अधिकारी इतिहासलाई रहस्यको गर्भमा हराउन नदिन प्रयासरत रहने र इतिहासबाट पाठ सिकेर अघि बढने स्वाभावको व्यक्ति हुनुहुन्थ्यो । उहाँ सुदूर अतीतदेखि निकट अतीतसम्मका सामाजिक एवम् राजनीतिक घटनाक्रम सम्झनुहुन्थ्यो र ती घटनाबारे विश्लेषणात्मक धारणा अघि सार्नुहुन्थ्यो । उहाँको त्यसप्रकारको विशेषताबाट नयाँ पुस्ताले इतिहासबारे जानकारी हाँसिल गर्ने अवसर पाएको मेरो अनुभव छ । सधैं इतिहाससँग अद्यावधिक हुन चाहने र त्यसबाट सिकेको पाठ नयाँ पुस्तामाझ राखिदिने उहाँको स्वाभाव थियो ।

वि.सं. २००७ को राणाविरोधी आन्दोलन सफल भएपछि श्रीकान्त अधिकारी र उहाँका सहधर्मीहरूले गर्नुभएका समाज सुधारका काममध्ये इतिहासको खोजी एक थियो । हामीसँगको थुप्रै अनौपचारिक भेटघाटमा उहाँ यस्तै प्रसंग निकाल्नुहुन्थ्यो । इतिहास खोजी गर्ने क्रममा कहिले ठूलोस्वाँरा (लमजुङ) का चन्द्रसिंह दुराको घरमा पाइलो हालेको कहिले पुरानकोटको होमे जिम्मावाल (होमबहादुर गुरुङ) को घरमा पुगेको त कहिले गाउँशहरको खडे जिम्मावाललाई भेटन गएको प्रसंग सुनाउनुहुन्थ्यो । उहाँका ती प्रयास विगतलाई चिन्ने कामसँग गाँसिएका थिए ।

उहाँको प्रयासले एउटा सार्थक परिणाम पनि दियो । नेपालको शाहवंशीय राजसंस्था स्थापनामा खजे दुरा र उनका समकालीन सहकर्मीहरूको योगदानबारे श्रीकान्त अधिकारीको नेतृत्वमा इतिहास अन्वेषण कार्य सम्पन्न भयो ।  २०३३ सालमा दुराडाँडाको च्यानपाटामा खजेपार्क स्थापना भयो । यसबाट आफ्नो हराएको पहिचान खोजिरहेका अल्पसंख्यक दुरा समुदायलाई गुनमात्र लागेन, नेपालको राष्ट्रिय इतिहास जगेर्ना गर्ने कार्यमा समेत टेवा पुग्यो ।

हाम्रा पुराना पुस्ताको पदचाप पहिल्याउने, पूर्खाहरूबारे खोनखनिज गर्ने, त्यसबाट प्राप्त तथ्यहरूलाई विश्लेषण गर्ने र त्यसबाट पाठ सिक्ने सन्दर्भमा यो एउटा महत्वपूर्ण कदम थियो । इतिहास अन्वेषणको त्यो गुनिलो अध्यायलाई  चिरस्मरणीय प्रसंग बनाउनु हाम्रो दायित्व भएको छ ।

ऐतिहासिक स्मारकको रूपमा च्यानपाटामा स्थापित खजेपार्कले सिङगो दुराडाँबासीेको शिर ठाडोमात्र बनाएको छैन, इतिहासप्रति रूचि राख्ने र सहअस्तित्वपूर्ण नेपाली समाजको परिकल्पना गर्ने तमाम नेपाली नागरिक पुग्नलायक ठाउँको सूचीमा दुराडाँडाका नाम लेखिदिएको हो । हामीले राम्ररी चिन्न सक्ने हो भने खजेपार्क ऐतिहासिक महत्वको तीर्थस्थल हो । हामी मन, वचन र कर्मले प्रतिबद्ध रहने हो भने यसलाई पर्यटकीय आकर्षणको केन्द्रविन्दुको रूपमा विकास गर्न सकिन्छ ।

यद्यपि अहिले न शाहवंशीय राजसंस्था छ, न त हिजोको जस्तो राजनीतिक परिपाटी नै । आखिर इतिहास इतिहास नै हो । समाजमा देखापरेको नयाँ परिदृश्यले ऐतिहासिक तथ्यलाई प्रस्थिापन गर्न सक्दैन । साम्राज्यवादी बेलायतले भारत छाडेको ६६ वर्ष जति भइसक्यो, तर पनि कतिपय भारतीय शहरहरूमा बेलायती शासकको शालिक अझै पनि खडा छ । इतिहासबाट पाठ सिक्न सकिन्छ तर यसलाई तोडमोड गर्न सकिन्न ।

वर्तमानको जरा इतिहाससँग नै गाँसिएको हुन्छ । इतिहास नबुझी वर्तमानलाई सही किसिमले चिन्न सकिन्न । अमेरिकी इतिहासकार डेभिड मकल (David McCullough) भनाइमा हामी को हौं र हामी किन यो अवस्थामा छौँ  भन्नेबारे जानकारी दिने शास्त्र नै इतिहास हो । इतिहासले वर्तमानलाई प्रत्यक्ष वा परोक्ष रूपमा दिशानिर्देश गरिरहेको हुन्छ ।

पुरानो पुस्ताको भोगाइ र भुक्तमान नबुझी आफू बाँचेको युगको सग्लो तस्बिर भेट्न सकिन्न । श्रीकान्त अधिकारीले यो तथ्य राम्रोसँग बुझेको देखिन्छ । त्यसैले उहाँ इतिहास खोज्नतिर लाग्नुभयो । इतिहासको पानामा लुकेका तथ्यहरूलाई जनसमक्ष ल्याउनुभयो ।

उहाँलाई पूर्ण रूपमा इतिहासकार भन्न नसकिएला तर उहाँको इतिहासप्रतिको चेतना र लगावलाई नमन गर्नैपर्छ । उहाँमा इतिहासप्रतिको त्यसस्तरको चेतना र लगाव नभएको भए उहाँबाट यसप्रकारको युगान्तकारी कार्य सम्भव थिएन ।

उहाँको राजनीतिज्ञ र समाजसेवीको छवि त आफ्नो ठाउँमा छँदैछ, त्यसमा इतिहास अन्वेषकको छवि पनि थपिएको छ । हराएको इतिहासको पाना खोजेर उहाँले हामीसमक्ष राखिदिनुभएको छ । उहाँले आफ्नै हातले इतिहास नलेखे पनि कर्म र भावनाले  इतिहास लेख्नुभयो । अहिले समयले उहाँलाई नै इतिहास बनाइदियो । उहाँको कर्मले उहाँ स्वयंको र समाजको इतिहास लेखेको छ, जुन ढुङ्गामा लेखिएको अक्षरजस्तै धेरै हदसम्म चिरस्थायी रहनेछ ।

[साभार:  श्रीकान्त अधिकारी स्मृति ग्रन्थ, २०७०]

[अद्यावधिक : २०७१।०५।२४ ]

No comments:

Post a Comment