Saturday, May 17, 2014

नेपाल–अङ्ग्रेज युद्धको विरोधाभासपूर्ण प्रसंग


–यमबहादुर दुरा

नोभेम्बर १, १८१४ । अङ्ग्रेज (तत्कालीन ब्रिटिश इन्डिया) ले नेपालविरुद्ध युद्ध घोषणा गरेको दिन । तत्कालीन ब्रिटिश इन्डियाका गभर्नर जनरल वारेन हेस्टिङ्सले नेपालमाथि धावा बोलेको दिन । नेपालको इतिहासमा एउटा दुःखद अध्याय थपिएको दिन । पृथ्वीनारायण शाह र उहाँका सन्ततिले सम्हालेर एकगठ बनाएको नेपाल खण्डीकृत हुने पृष्ठभूमि बन्न शुरु भएको दिन ।
युद्धघोष गर्ने व्यक्ति : तत्कालीन ब्रिटिश इन्डियाका गर्भनर जनरल वारेन हेस्टिङ्स (सन् १७३२–१८१८), जसले नेपालविरुद्ध युद्धको घोषणा गरेका थिए ।

अङ्ग्रेजबीच युद्ध भएको दुई शताव्दी हुँदैछ । २०० वर्ष अघि भएको युद्धका कतिपय प्रसंगहरू विस्मृत बनेर इतिहासको गर्भमा हराइसकेका छन् भने उचित अभिलेखीकरणको अभावमा कतिपय प्रसंग धमिलो स्मृतिमात्र बनेका छन् । कतिपय प्रसंग प्रमाणको अभावमा अनुमान र अपव्यख्याको विषय बनेको तथ्यलाई पनि बिर्सन मिल्दैन ।

सन् १८१६ मार्च ४ तारिखमा भारत (बिहारको मोतीहारी जिल्ला) स्थित सुगौली भन्ने ठाउँमा शान्ति तथा मित्रतासम्बन्धी सन्धिमा सहीछाप गरेपछि नेपाल–अङ्ग्रेज युद्धको विधिवत अन्त्य भएको थियो, जुन ‘सुगौली सन्धि’ नामले परिचित छ । सन्धिमा हस्ताक्षर भएपछि पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म विस्तार भएको नेपालको भूगोल खुम्चिएर पूर्वमा मेची र पश्चिममा महाकालीमा सीमित भयो । यसबाट नेपालले आफूले चर्चेको एक तिहाइ भू–भाग गुमायो ।

‘सुगौली सन्धि’ लाई असमान सन्धिको उत्तम दृष्टान्तको रूपमा लिने गरिन्छ । सन्धिको दफा ६ मा नेपाल र सिक्किमबीच कुनै मतभिन्नता देखिएमा त्यसको मध्यस्थता बेलायत सरकारले गर्ने र उसले गरेको निर्णय नेपालले मान्नुपर्ने उल्लेख छ । सोही सन्धिको दफा ७ मा नेपालले बेलायतको अनुमतिबिना कुनै बेलायती, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउने छैन भनिएको छ । सन्धिमा भएका यस्ता प्रावधान पढ्दा यस्तो लाग्छ,  युद्ध सकिएपछि पनि नेपालको अस्तित्वमाथि अङ्ग्रेजले धावा बोलिरहेको अनुभूति हुन्छ ।

विश्वसामु 'वीर गोर्खाली' भनेर चिनिएका नेपालीको रगत उमाल्ने गरी शुरु भएको र तिनै 'वीर गोर्खाली' लाई चरम निराशामा डुबाएर अन्त्य भएको त्यो युद्धको कारण के थियो होला ? युद्धको पृष्ठभूमिबारे घोत्लिँदा केही रोचक र कतिपय अवस्थामा विरोधाभासपूर्ण प्रसंगहरू फेला पर्छन् ।

विश्वभर साम्राज्य फैलाउँदै अरूलाई आफ्नो अधिनमा राख्ने प्रवृत्तिका कारण विश्वभर परिचित अङ्ग्रेजहरूले नेपालमाथि हमला गर्नुका पछाडि उसको साम्रज्यवादी चरित्र नै मुख्य कारण रहेको एकथरी इतिहासकारहरूको बुझाइ छ । यद्यपि यसलाई मात्र पहिलो र अन्तिम कारण भने मान्न सकिँदैन । यसका पछाडि राजनीतिक, आर्थिक तथा अन्य तत्कालीन परिस्थितिहरू पनि उत्तिकै गहिरोसँग गाँसिएका देखिन्छन् । यसबारे स्वदेशी तथा विदेशी थुप्रै विद्वानहरूले प्रसस्त विश्लेषणात्मक धारणा पेश गर्नुभएको छ ।

शुरुमा व्यापार गर्ने उद्देश्यले भारत छिरेका अङ्ग्रेजहरूले कालान्तरमा त्यहाँको शासन–सत्ता  नै आफ्नो हातमा लिएको घटनाक्रमसँग परिचित पृथ्वीनारायण शाहले अङ्ग्रेजहरूले कुनै न कुनै दिन नेपालमाथि आक्रमण गर्छ भन्ने आभाष पाइसक्नुभएको बुझिन्छ । इतिहासकार बाबुराम आचार्यले यसबारे चर्चा गर्नुभएको छ । उहाँले ‘श्री पाँच बडामहाराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ पुस्तकमा पृथ्वीनारायण शाहले गर्नुभएको भविष्यवाणीबारे लेख्नुभएको छ, ‘दक्षिणपट्टी उत्तरहिन्दुस्थानका बङ्गालदेखि रुहेलखण्डसम्म इष्ट इन्डिया कम्पनीको आधिपत्य स्थापित भएको हुनाले यस कम्पनीसँग राजनैतिक सम्झौता स्थापित भएको भए पनि त्यो कच्चा छ र निकट भविष्यमा नै एक न एक दिन उसको नेपालमाथि आक्रमण हुन्छ र अङ्ग्रेजहरू पेशवाका गृहयुद्धमा पसेका हुनाले यसद्वारा हुने युद्ध सकिनेबित्तिकै नेपालमा आक्रमण हुन्छ भन्ने उनले ताडेका देखिन्छ’ (पृ.४८२) ।
वीर बलभद्र : नालापानीको युद्धमा अङग्रेजसँग बहादुरीपूर्वक लडेका बलभद्र कुँवर ।

अङ्ग्रेजहरूबाट भविष्यमा हुनसक्ने आक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीबारे दूरदर्शी राष्ट्रनिर्माताका रूपमा परिचित पृथ्वीनारायण शाहले उपदेशात्मक सुझाव दिनुभएको छ । यसबारे इतिहासकार आचार्य लेख्नुहुन्छ, ‘‘अङ्ग्रेजले निकट भविष्यमा नै आक्रमण गरेमा आफ्ना उत्तराधिकारीहरूले कर्तव्य सम्झून् भनेर ‘दक्षिण सीमानाका अङ्ग्रेजसंग मित्रसंबन्ध राख्नू अर्थात् मैदानमा उसका देशमा जाइनलाग्नू । आइलाग्यो भने भामर (भावर) सम्म आउनदिई गुरिल्ला लडाइँद्वारा त्यसलाई परास्त गरी फर्काउनू’ भन्ने उपदेश श्री पाँच पृथ्वीनारायण शाहले दिएका थिए । त्यतिमात्र होइन, ‘त्यो महाचतुर छ । लडाइँ नगरीकन पनि छल कपट गरी घुस्न आउनेछ । होसियार भई अगावै सन्धि सर्पन हेरी गढी बनाई बाटाघाटामा भाँजा हलिराख्नू’ भन्ने उपदेश पनि उनले दिएका थिए’’ (पृ.४८२–४८३) ।

हुन पनि पृथ्वीनारायण शाहले भन्नुभएजस्तै अङ्ग्रेजहरू महाचतुर देखिन्छ । उहाँ (पृथ्वीनारायण शाह) ले सचेत गराउँदा गराउँदै पनि उहाँका उत्तराधिकारीहरूका पालामा लडाइँ नगरीकन अङ्ग्रेजहरू नेपालमा घुसेर स्वार्थसिद्धि गर्न सफल भएको पाइन्छ । अङ्ग्रेजलाई नेपाल घुस्न नदिन पृथ्वीनारायण शाहका सन्ततिहरूले विविध कूटनीतिक प्रयास गरेको देखिन्छ तर ती प्रयास कालान्तरमा असफलतामा परिणत भएको पाइन्छ । अङ्ग्रेज सरकारका दूत कर्कप्याट्रिक नेपाल आउन खोज्दा दरबारले विभिन्न बहाना बनाएर उनलाई नेपाल भित्रन नदिएको तर लगातारको पत्राचार तथा अन्य कुटनीतिक प्रयासबाट अन्ततः उनी नेपाल आउन सफल भएको प्रसंग इतिहासमा पढ्न पाइन्छ ।

उहाँ नेपाल आउन खोज्नुका पछाडि मूल रूपमा दुइटा मूल कारण थिए : पहिलो, विवादित सीमाबारे नेपालसँग कुरा गर्ने र दोस्रो, नेपालसँग व्यापरिक सम्बन्ध स्थापना गरेर विस्तार आफ्नो अधिनमा ल्याउने । नेपालबारे गोप्य रूपमा सूचना संकलन गर्नु उनको अघोषित अभीष्ट त छँदैथियो । इतिहासकार डा. डिल्लीरमरण रेग्मीले ‘मोडर्न नेपाल’ (भोल्युम १ र २) पुस्तकमा कर्कप्याट्रिकको नेपाल भ्रमणलाई स्वार्थप्ररित भ्रमण भन्नुभएको छ (पृ. ५२२)  । उहाँले कर्कप्याट्रिकले नेपालबार गोेप्य सूचना प्रवाह गर्न वा आवश्यक गोप्य परामर्श गर्न ब्रिटिश–इन्डियाको तत्कालीन राजधानी कलकत्तास्थित उच्चपदस्थ अधिकारीहरूसँग भएमा कोड (साङ्केतिक भाषा) प्रयोग गरेको उल्लेख गर्नुभएको छ (पृ. ५२७) ।

कर्कप्याट्रिक नेपाल आउँदा–नआउँदै नेपाल र अङ्ग्रेजबीच व्यापरिक सन्धिको सिलसिला शुरु भएको पाइन्छ । इतिहासविद नगेन्द्रकुमार सिंहले ‘नेपाल एण्ड द ब्रिटिश इन्डिया’ पुस्तकमा नेपाल र अङ्ग्रेजबीच सन् १७९२ मार्च १ र त्यसभन्दा पछि सन् १८२६ अक्टोबर २६ तारिखमा नेपालसँग व्यापारिक सन्धि गर्न सफल भएको उल्लेख गर्नुभएको छ । यसप्रकार अङ्ग्रेजले नेपालमा पाइला हाल्ने बाटो अगाडि नै बनाइसकेको प्रष्टै देखिन्छ । उनीहरूले नेपालसँग व्यापारिक सन्धि हुनुभन्दा अगावै विभिन्न माध्यमको उपयोग गरेर गुप्त वा प्रत्यक्ष रूपमा नेपालबारे आवश्यक जानकारी लिइसकेको देखिन्छ ।

इतिहासकार बाबुराम आचार्यले अङ्ग्रेजहरूले नेपालमा आएर गुप्तचरी गरेको एउटा रोचक प्रसंग अघि सार्नुभएको छ । उहाँले तत्कालीन मुख्तियार भीमसेन थापाले नेपालका सैनिकहरूलाई व्यवस्थित रूपमा तालिम दिन भनेर बे्रल र बे्रन नाम गरेका दुईजना अङ्ग्रेज नागरिकलाई त्यतिबेला नै मासिक पाँच/पाँच सय रुपैयाँ तलब दिई सैनिक सेवामा भर्ना गरेको र पछि उनीहरू नेपालको सैन्यशक्तिबारे यथेष्ट जानकारी लिएर भाग्न सफल भएको उल्लेख गर्नुभएको छ । यी विभिन्न घटनाक्रमबाट अङ्ग्रेजले नेपालप्रतिको दृष्टिकोण सफा थिएन भन्ने आधार मिल्छ । समग्रमा भन्दा अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्ने पृष्ठभूमि तयार हुँदै थियो । आक्रमणको अभ्यास कतै नेपथ्यमा भएका थिए भने कतै हाकाहाकी नै । आक्रमणका पछाडि दृश्य र अदृश्य कारण थिए ।
नालापानी : हाल भारतको देहरादूनमा रहेको नालापानी किल्ला, जहाँ बलभद्र कुँवरको नेतृत्वमा रहेको योद्धाहरूको आक्रमणबाट ब्रिटिश इन्डिया सेनाका मेजर जनलर रोलो जिलेस्पी मारिएका थिए ।

अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्नुका पछाडि यहाँको सुरम्य जलवायु पनि एक हो भन्ने तर्क पनि अघि सारिएका छन् । भनिन्छ, युरोपको चीसो हावापानीमा हुर्किएका अङ्ग्रेजहरूलाई भारतको गर्मी हावापानी पचाउन कठिन भइरहेको थियो, त्यसैले उनीहरूले मातादिल जलवायु भएकोे देश नेपालमा आँखा गाडिरहेका थिए । यद्यपि यस्तो तर्कलाई राष्ट्रवादी धारमा लेखिएको इतिहासको कमजोर तर्क मान्नेहरू पनि छन् । तर पनि नेपालका कतिपय इतिहासकारले सुरम्य जलवायु भएको नेपाललाई हत्याउन अङ्ग्रेजले आक्रमण गरेको तर्क अघि सार्नुभएको छ । यद्यपि यसलाई नेपाल–अङ्ग्रेज युद्धको प्रत्यक्ष कारण भने मान्न सकिँदैन ।
तोत्रराज पाण्डेय र नयराज पन्तले ‘नेपालको संक्षिप्त इतिहास’ पुस्तकमा यस्तै प्रसंग कोट्याउनु भएको छ । उहाँहरू लेख्नुहुन्छ, ‘यूरोपजस्तो ठण्डा मुलुकका बासिन्दा अङ्ग्रेजहरूलाई भारतको गर्मी खप्न गाह्रो पर्दथ्यो । यस कारण हिमालयको काख नेपाललाई हात लाउने यिनीहरूको भित्री मनासय थियो’ (पृ. ११९) ।

यस्तै तर्क इतिहासकार बाबुराम आचार्यको पनि छ । उहाँले नेपाल–अङ्ग्रेज युद्धको समयमा नेपालको मुख्तियार रहनुभएका मुख्तियार भीमसेन थापाबारे ‘जनरल भीमसेन थापा : यिनका उत्थान तथा पतन’ शीर्षकमा पुस्तक लेख्नुभएको छ । उहाँ पुस्तकमा लेख्नुहुन्छ, ‘उत्तरी भारतका समतल मैदानहरूमा आफ्नो अधिकार पूर्ण रूपमा स्थापित भैसकेपछि यसै मैदानसँग सीमाना जोडिएका – शीतल जलवायु भएका – नवगठित नेपाल अधिराज्यका पहाडी भू–भागहरूमाथि कम्पनी सरकारको सेवामा कार्यरत रहेका अङ्ग्रेजका पदाधिकारीहरूका आँखा लाग्नु स्वाभाविकै पनि हुन आएको थियो । वि.सं. १८६१ को आरम्भसम्ममा समग्र उत्तरी भागमा आफूहरू सर्वशक्तिमान भएपछि कम्पनी सरकारको सेवामा कार्यरत रहेका अङ्ग्रेजका पदाधिकारीहरूले नेपाल अधिराज्यका पहाडी क्षेत्रहरूमाथि आफ्ना गिद्धदृष्टिहरू दिन थालि पनि हाले’ (पृ. १०६) ।

अङ्ग्रेजले नेपालमाथि आक्रमण गर्नुको योमात्र कारण भने थिएन । यसका पछाडि अरू पनि थुप्रै कारण थिए । त्यसमध्ये सीमाविवाद महत्वपूर्ण पक्ष थियो । विदेशी तथा स्वदेशी इतिहासकारहरूले नेपाल र अङ्ग्रेजबीच युद्ध हुनुमा सीमाविवादलाई प्रत्यक्ष कारण मान्नुभएको छ । इतिहासविद डा. डिल्लीरमण रेग्मीले पृथ्वीनारायण शाहको निधन भएको केही वर्षपछि नेपाल र अङ्ग्रेज सीमाविवाद चर्किएको प्रसंग उठाउनुभएको छ । उहाँले दुई देशबीच विद्यमान सीमाविवादलाई साम्य पार्न राजेन्द्र लक्ष्मी र बहादुर शाहले प्रयास गरेका चर्चा गर्नुभएको छ ।

यद्यपि इतिहास लेख्न बस्दा भारतीय तथा नेपाली इतिहासकारले केही हदसम्म आ–आफ्नो राष्ट्रवादी रुझान त्याग्न सक्नुभएको देखिँदैन । केही भारतीय इतिहासकारले नेपालले सीमाबारे बखेडा झिकेको उल्लेख गर्नुभएको छ भने नेपाली इतिहासकारले सीमाबारे भारतले  नै बखेडा झिकेको तर्क अघि सार्नुभएको छ । यी तर्क एक–आपसमा विरोधाभाषपूर्ण देखिन्छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयस्थित ‘सेन्ट्रल एशियन स्टडिज’ का निवृत्त प्राध्यापक राम राहुलले ‘रोयल नेपाल : अ पोलिटकल हिस्ट्री’ पुस्तकमा नेपाल र अङ्ग्रेजबीच युद्ध हुनुका कारण खोतल्नुभएको छ । उहाँले सीमाविवादका कारण नेपाल र अङ्ग्रेजबीच युद्ध भएको उल्लेख गर्नुभएको छ । उहाँले नेपालले ब्रिटिश–इन्डियाको जमिन अतिक्रमण गरेको दलिल पेश गर्नुभएको छ । राम राहुलले नेपालले पूर्णिया, गोरखपुर, बरेलीलगायत स्थानका केही भागमा आफ्नो हक दावी गरेपछि नेपाल र अङ्ग्रेजबीच युद्ध भएको तर्क अघि सार्नुभएको छ । ब्रिटिश–इन्डियाले सेना हटाउन पटक पटक आग्रह गर्दा पनि यी स्थानबाट नेपाली सेना नहटेपछि अङ्ग्रेजले नेपालविरुद्ध युद्ध गर्नुपरेको उहाँको भनाइ छ (पृ.२४) ।

ब्रिटिश–इन्डियाले नेपालसँग सीमाविवाद चर्काएको प्रसंग उल्लेख गर्दै इतिहासकार बाबुराम आचार्य लेख्नुहुन्छ, ‘यिनताक नेपाल–सरकार र कम्पनी–सरकारका राज्यक्षेत्रका सिमानाहरू स्पष्ट रूपमा अङ्कित भइसकेका थिएनन । साबिकदेखि चल्दै आइरहेको आ–आफ्ना भोगचलनहरूको आधारमा नै दुई देशका बीचका सीमानाहरू निर्धारण हुँदै आइरहेका थिए । कम्पनी–सरकारको सेवामा कार्यरत रहेका उच्चपदस्थ अङ्ग्रेज पदाधिकारीहरूले अब नेपाल–सरकारसँग सिमानासम्बन्धी विवादहरूलाई जोड–तोडका साथ उठाउन शुरु गरिदिए’ (पृ.१०७) ।

सीमाविवादको श्रृङ्खलाबद्ध घटनाक्रमको पछिल्लो चरणमा नेपाल र ब्रिटिश–इन्डियाबीच बुटवल र स्युराज कसको स्वामित्वमा रहने भन्ने विषयमा केन्द्रित भएको देखिन्छ । पाल्पाको अधिनमा रहेको बुटवललाई भीमसेन थापाका पिता अम्बरसिंह थापाको नेतृत्वमा वि.सं. १८६३ मा नेपालमा गाभिसकिएको थियो । पाल्पा राज्यले निष्कंंटक भोगचलन गर्दै बुटवल नेपालमा गाभिएपछि दक्षिणका छिमेकी अवधका नवाबहरूले कुनै हक दावी नगरेको तर पछि अङ्ग्रेजले बखेडा झिकेपछि सीमाविवाद चर्किएर गएको तोत्रराज पाण्डेय र नयराज पन्तले उल्लेख गर्नुभएको छ (पृ.१२०) ।

बुटवल क्षेत्रबाट २५ दिनभित्र नेपाली सुरक्ष बल हटाउन ब्रिटिश–इन्डियाले ‘अल्टिमेटम’ दियो । नेपालले ‘अल्टिमेटम’ को पालना गरेन । यसपछि ब्रिटिश–इन्डियाले १८१४ नोभेम्बर १ तारिखमा नेपालविरुद्ध युद्ध घोषण गर्यो । युद्ध भएरै छाड्यो । सीमाविवाद नै युद्धको प्रत्यक्ष कारण बन्यो । इतिहासका अध्येताहरूले युद्धका अप्रत्यक्ष कारणहरू औंल्याएका छन् : धर्मप्रचारमा नेपालमा आएका क्रिस्चियन पादरीहरूको विभिन्न समयमा गरिएको निष्काशन, ब्रिटिश–इन्डियाका दूतहरूसँगको खचपचपूर्ण सम्बन्ध, नेपालको प्राकृतिक स्रोतहरूको निर्वाध उपयोग गर्ने मनाशय, नेपालको बाटो हुँदै तिब्बतसित व्यापारिक सम्बन्ध कायम अभिप्राय, आदि । यिनै  प्रत्यक्ष र परोक्ष कारणबाट नेपाल–अङ्ग्रेज युद्धको पृष्ठभूमि तयार भएको देखिन्छ ।

नेपाल–अङ्ग्रेज युद्धलाई राष्ट्रवादी धारबाट विश्लेषण गर्ने कि तत्कालीन विश्वराजनीतिक दृष्टिबाट विश्लेषण गर्ने भन्ने कुरा बहसको विषय बन्न सक्छ ।


[साभार : गोरखापत्र  'शनिबार' (जेठ ३, २०७१)। तस्बिर  : इन्टरनेट ]


No comments:

Post a Comment