Wednesday, October 14, 2015

लोकवाङ्मयका अविश्रान्त उपासक


–यमबहादुर दुरा

पुँजीवादले मौलिक जीवनशैलीलाई क्रमिक रूपमा भताभुङ्ग बनाउँदै लगेको छ । जनस्तरका नागरिकको मौलिक जीवनशैली ओभेलमा परेको छ । लोकवाङ्मयको खानीमा ‘पपुलिस्ट’ साहित्य चम्किएको छ । बजार बिकाउ साहित्यले भरिभराउ छ ।

धर्मराज थापा (वि.सं. १९८१–२०७१) त्यस्ता दुर्लभ व्यक्ति हुन्, जसले जनस्तर (ग्रासरुट्स) का नागरिकको वाङ्मयलाई जीवनको लक्ष्य बनाए । उनले सम्भ्रान्त साहित्यलाई होइन, लोवाङ्मयलाई कख्याए । यसैको माध्यमबाट उनले आफ्नो पृथक परिचय बनाए ।
तस्बिर : गुगल

उनको परिचयको पृष्ठभूमि ‘नियमित आकस्मिकता’ सँग गाँसिएको छ । सानै उमेरदेखि लोकगीत गुनगुनाउन रुचाउने धर्मराज थापाले लोकसमाजमा प्रचलित स्वस्थानी ब्रतकथालगायतका धर्मशास्त्रहरू पाठ गर्ने कार्यमा रुचि देखाए ।

उनले घरको पिँढीमा भाका हालेर त्यस्ता शास्त्र पाठ गर्न थाले । उनको न्वारानको नाम भुवनबहादुर थियो । धर्मशास्त्र पाठ गर्नमा तल्लीन बालकलाई देखेर जन्म दिने आमालाई लाग्यो, यो बालक भविष्यमा धर्मात्मा बन्छ ।

आमाको दिमागमा नयाँ किसिमको बत्ती बलेपछि उनले आफ्नो छोरालाई धर्मराज भनेर बोलाउन थालिन् । त्यसपछि उनको नामै धर्मराज रहन गयो । त्यस घटनाले लोकवाङ्मयको क्षेत्रमा अघि बढ्नका लागि नजानिँदो किसिमले बाटो खोल्यो ।

पोखराको बाटुले चौरबाट वि.सं. १९९६ मा सतबिज छर्ने यात्रीका साथ राजधानी छिरेका धर्मराज थापाले २००७ सालको सेरोफेरोसम्म आफ्नो पृथक परिचय दिइसकेका थिए । यसपछिका घडीमा उनले लोकवाङ्मयसँगको आफ्नो नातालाई अझ सुदृढ र मजबुत बनाउँदै लगे ।

लोकवाङमयको रन्कोले धर्मराज थापलाई एकै ठाउँमा जरा हालेर बस्न दिएन । उनको मनभित्र हुटहुटी चलिरह्यो । उनी भूगोलले बिछोडिएका र मनले जोडिएका नेपालीजनलाई भेट्न वि.सं. २००८ तिर भारतका विभिन्न स्थानको यात्रामा निस्किए ।

देहरादून, भाक्सु, दार्जिलिङ, कालिङ्पोङ, डुवर्स्, सिक्किम, सिलोङ, आसामजस्ता स्थानहरूको भ्रमणमा निस्किए । नेपालबाट अलग्गिएका नेपाली भाइबन्धुहरूसँग लोकसंवाद गरे । उनीहरूलाई लोकगीत सुनाए । तिनका सुसेली र सुस्केराहरू पनि सुने । इष्ट–इन्डिया कम्पनीले नेपाली भाइबन्धुहरूमा लगाएको बिछोडको घाउ पुर्ने प्रयास गरे । उनको यो भ्रमण लोकवाङ्मयप्रतिको अनुराग र बन्धुत्व–प्रेमको बेजोड दृष्टान्त मानिन्छ ।

यो भ्रमणले बेग्लाबेग्लै भूगोलमा बाँचेका नेपालीबीच के कस्ता तरङ्ग उत्पन्न गरे, तिनको धेरैजसो विवरण समयको गर्भमा विलिन भइसकेका छन् ।

उनको भ्रमणले मेचीवारि र मेचीपारि रहेका एउटै नेपाली भाइबन्धु बेग्लाबेग्लै राजनीतिक भूगोलमा बाँचेका अवस्थाले धर्मराज थापा मन कुटुक्क खायो । उनले गीत गाए, ‘नेपालीले माया मार्‍यो बरी लै’ । यसबाट प्रवासमा रहेका कतिपय नेपालीहरूले आफ्नो स्वाभिमानमा ठेस लागेको अनुभूति गरे ।

त्यसको प्रत्युत्तरमा अगमसिंह गिरीले गीत लेखे, ‘नौलाख तारा उदाए...’ । यो गीत अम्बर गुरुङको स्वरमा गुञ्जन थालेपछि लोकप्रियताको ग्राफ निकै माथि उक्लियो ।

साङ्गीतिक मैदानमा देखिएको यसप्रकारको क्रिया–प्रतिक्रियालाई उनको भ्रमणले ल्याएको एउटा महत्वपूर्ण तरङ्गको रूपमा लिन सकिन्छ । यो प्रसंग संगीतका अध्येता प्रकाश शायमीले उठाइरहन्छन् ।

प्रवासी नेपालीहरूसँग भेटघाट र संवाद गरेर नेपाल फर्केपछि पनि उनले कुनै विश्राम लिएनन् । उनी लोकवाङ्मयलाई केन्द्रमा राखेर भौतिक र अभौतिक यात्रामा निरन्तर अघि बढिरहे ।

उनी एकप्रकारले खानदानी परिवारमै जन्मेका व्यक्ति हुन् । उनको मन शारीरिक सुखभोगमा भन्दा पनि गाउँबस्तीका झुपडीतिर केन्द्रित भयो ।

उनी स्वदेशका गाउँबस्ती र कुना–कन्दरहरूको भ्रमण गर्ने, स्थानीयस्तरका लोकजीवनका सुस्केराहरू अभिलेखीकरण गर्ने र लोकवाङ्मयको भण्डारलाई समृद्ध बनाउने कार्यमा अहोरात्र जुटिरहे ।

उनी भ्रमणप्रिय व्यक्ति थिए । अप्ठेरो गोरेटोहरूमा पसिना चुहाउँदै, ठाडो जँघार तर्दै अनि अपरिचित घरको तगारो उघार्दै गाउँबस्ती डुलिरहे । यस क्रममा उनले नेपाली लोकजीवनलाई अझ नजिकबाट नियाले । जनजीवनका सुख–दुःखलाई हिर्दयको गहिराइबाटै अनुभूत गरे ।

रोटो र भोटोको खोजीमा मुगलान पसेका नेपालीको अन्तरमनमा छिरेपछि उनको गला यसरी गुञ्जियो, ‘घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली’ । पाउको धूलो शिरमा अनि शिरको पसिना पाउमा पुर्‍याएर लालाबाला पाल्ने भरियाहरूका दुःखलाई अन्तस्करणबाटै अनुभूत गरेर उनले मनको बह पोखे, ‘भरियाले बिसायो भारी, भञ्ज्याङको पीपलु छायाँमा’ ।

आफूले देखेभोगेका कुराहरूलाई गीतमा उन्नसक्ने क्षमता प्रशंसनीय थियो । २०३४ सालतिर लमजुङ भ्रमणका क्रममा  उनी दुराडाँडा पुगेका रहेछन् । त्यतिबेला दुराडाँडाको च्यानपाटा बजारबाट दुराबस्तीमध्ये एक घनाबस्ती ठूलोस्वाँरा जाँदै रहेछन् । च्यानपाटा बजारबाट ठूलोस्वाँरा जाँदा बीचमा वन छिचोल्नुपर्ने हुन्छ । त्यही वनमा उनलाई जुकाले टोक्नुसम्म टोकेछन् । त्यतिबेला झ्याउँकिरीले पनि भाका हालेका रहेछन् । तत्क्षण उनले गीत रचिहालेछन्, ‘झ्याउँकिरी झ्याउँ झ्याउँ, जुका स्याउँ स्याउँ’ ।

जनस्तरका नागरिकका विरह–व्यथाका सुस्केराहरूलाई गीतमा उन्दै निरन्तर डुलिरहे । नेपाली जनजीवनको भित्री तहसम्म भिजेका स्रष्टा भएकोले उनका गीतमा नेपालीपन छचल्किन्छ, ग्रामीण जनजीवनको ढुकढुकी धड्किन्छ र नेपाली माटोको सुवास मगमगाउँछ । यही कारण नेपाली जनमनमा डेरा जमाउन सफल भए धर्मराज थापा ।

गाउँबस्ती डुल्दा देखे–भेटेका हाँसो–आँसु, उच्छ्वास र नेपाली जीवनशैलीका झलकहरूलाई उनले स्वरमा मात्र समेटेनन्, लिपिबद्ध गर्ने काम पनि गरे । ‘मेरो नेपाल भ्रमण’ (२०१६), ‘गण्डकीका सुसेली’ (२०३०), ‘लोकसंस्कृतिको घेरामा लमजुङ’ (२०४१), ‘चितवन दर्पण’ (२०५०) आदि उनका लोकवाङ्मयप्रधान कृति हुन् ।

उनले आफ्ना कृतिका माध्यमबाट मूल रूपमा श्रुतिपरम्परामा मात्र सीमित नेपाली लोकवाङ्मयलाई अभिलेखीकरणमा योगदान दिए । अहिले उनका कृति नेपाली समाजका लागि बहुमूल्य उपहार बनेका छन् ।

उनको कृतिमा आँखा डुलाउँदा एकातिर यात्रा साहित्यको रसास्वादन गर्न पाइन्छ भने अकोतिर नेपाली लोकजीवनको भलकहरू अनुभूत गर्ने मौका मिल्छ । उनको लोकवाङ्मयप्रधान कृतिमा नेपाली लोकजीवनको हदैसम्मका सूक्ष्मतम् वर्णन भेटिन्छन् । स्थानीय जीवनशैलीको चित्रमय वर्णन गर्नसक्ने उनको क्षमतालाई विचार्दा उनी सूक्ष्म अवलोकनकर्ता देखिन्छन् ।

उनी ‘चितवन दर्पण’ नामक पुस्तकमा मेघौलीको बस्तीबारे लेख्छन्, ‘लिची, केरा, मेवा र उखूको रेलोछेलो छ । दही दूधको खोलै बगेको छ । काउली, धनियाँ, बन्दाकोपी, पियाजको हिउँदे तरकारी बारी छन् । मकैका सूलीले नयाँ बस्ती शोभित छ । टाटनामा लमकाने खसी–बाख्रा भेडाका बगाल छन्’ (पृ.३१) ।

उनले मेघौलीको रोदीमा घन्केका लोकलयबारे पनि सुस्वादु वर्णन  गरेका छन् । उनको कलम बोल्छ, ‘मेघौलीमा पहाडी मगर जनजातिका तरूनी–तन्देरीले गाएका...गीत झर्ना जत्तिकै निर्मल र चोखा थिए’ (पृ.क) । उनले त्यहाँ सुनेका प्रेमिल लोकसुसेलीको लामै सूची तयार पारेका छन् । तीमध्ये एउटा अभिव्यक्ति यस्तो छ, ‘घरबारेलाई घरैको धन्दा, कति मयाँ लाइरहनी यो भन्दा’ (पृ.३२)  ।

चितवनका रैथाने थारु समुदायबारे वर्णन गर्न पनि धर्मराज थापा चुकेका छैनन् । ‘हात गोडमा वाज्जू र पैंजरी...घाँटीमा हाँसुली, नाकमा च्याउफुली, कानमा जङ्गली फलका गेडा ... कपालमाथि जुरो उठाई सलक्क कपाल कोरेका थरूनीहरू देखापरे ।’ उनी लेख्छन्, ‘यिनीहरू एक हातमा जाल र अर्को हातमा फुर्लुङ लिई माछा मार्न थाले पछि घाम डुबेको थाहा पाउँदैनन्’ (पृ.ख) ।

यात्राका क्रममा भेटिएका सयौँ वर्ष पुराना अभिलेख तथा काजजातहरूका सक्कल बमोजिम नक्कल उतार्ने उनको खुबी प्रष्ट रूपमा देखिन्छ । यस्ता काम कम कष्टदायक हुँदैनन् । यी अभिलेख हेर्दा उनी मिहिन र कष्टसाध्य टिपोटकर्ता देखिन्छन् ।

स्थानीय भाषाका भेटिएका लोकगीत, लोककथा र अनुश्रुतिलाई स्थानीय लवजमै हुबहु उतार्ने काम पनि सजिलो छैन तर उनले यी सबै काम गर्न भ्याएका छन् । यद्यपि उनको लेखाइमा गहन बौद्धिक विश्लेषण र शास्त्रीय चिन्तनको अभाव देखिन्छ ।

तत्क्षण जहाँ जे भेटिन्छ, जस्तो भेटिन्छ, त्यसलाई लिपिबद्ध गरिहाल्ने उनको स्वभाव देखिन्छ । यस क्रममा उनले २०१० सालमा नारायणघाटको बजारभाउ पनि प्रस्तुत गरेका छन् ।

उनले प्रस्तुत गरेको मूल्यसूची अनुसार एक मुरी चामल, एक मुरी धान, एउटा खसी, एउटा हाँस, एउटा कुखुरा र एक जोर परेवाको भाउ क्रमशः ६ रुपैयाँ, १ रुपैयाँ, २ रुपैयाँ ५० पैसा, ५० पैसा, २५ पैसा र १२ पैसा थियो (पृ.१९२) ।

उनका कृतिमा स्थानीय इतिहास, रैथाने जीवनशैलीको सरल र सीधा वर्णन एवम् लोकवाङ्मयको बिपुल तरङ्गहरू भेटिन्छन् । नेपाली समाजलाई ‘एथ्नोग्रफिक’ पाटोबाट अध्ययन गर्न चाहने अध्येताहरूका लागि उनको कृति गतिलो सन्दर्भ सामग्री हुनेछन् ।

धर्मराज थापाले नेपाली लोकवाङ्मयमा केही नयाँ आयाम थपे । २०१० सालको सेरोफेरोमा ‘नेपाली लोकगीत संग्रहालय’ स्थापना गरे । महेन्द्रको राज्याभिषेकपछि ‘पञ्जैबाजा सम्मलेन’ आयोजना गरे । हाल यी घटनाक्रम सामान्य लागे पनि सांस्कृतिक चेतनाको मिर्मिरे कालमा यस्ता गतिविधि हुनुलाई एकप्रकारले असामान्य विकासक्रम नै मान्नुपर्छ ।

गन्धर्वहरूलाई लोकसंगीतको मूलप्रवाहमा ल्याउने काम उनको अर्को महत्वपूर्ण योगदान मानिन्छ । लोकवाङ्मयविद सत्यमोहन जोशीले गाइनेहरूलाई गन्धर्व नाम दिएर लोकसंगीतको मूलधारमा ल्याउने काममा धर्मराज थापाको अतुलनीय योगदान रहेको बताउँदै आएका छन् ।

पाण्डव सुनुवार (वि.सं. २००९–२०६३) ले आफ्नो पुस्तक ‘रेडियो प्रसारणको आरोह–अवरोह’ (२०५६) मा धर्मराज थापाको अगुवाइमा झलकमान गन्धर्व, जीतबहादुर गन्धर्व, बीर्खबहादुर गन्धर्व, बखते गन्धर्व आदिका गीत ‘रेडियो नेपाल’ मा रेकर्ड भएको प्रसंग कोट्याएका छन् ।

वि.सं. २०२२ मा झलकमान गन्धर्वको स्वरमा ‘आमाले सोध्लिन नि खै छोरो भन्लिन्...’ गीत रेकर्ड भयो । दोस्रो विश्वयुद्धमा पराइभूमिमा ज्यान अर्पिने गोर्खा सैनिकको कथामा आधारित यो गीतले धेरै आमाहरूका परेली निथु्रक्कै भिजायो । यो दुःखान्त गीतले नेपाली मनहरूमा भुइँचालो नै ल्याइदियो ।

धर्मराज थापाले नेपाली मनहरूलाई लोकवाङ्मयको माध्यमबाट जोड्ने काममा ठूलो योगदान दिए । पुँजीवादले दुनियाँलाई निलेको उत्तरआधुनिक कालमा लोकवाङ्मयका यस्ता उपासक पाउन गाह्रो छ ।

उनका हरेक कृति र अभिव्यक्तिमा नेपाली लोकवाङ्मयको जीवन्त छायाँछवि भेटिन्छ । नेपाली लोकजीवनका तमाम जगमगाउँदा–मगमगाउँदा निधिहरूलाई खोकिलामा राखेर कर्मक्षेत्रमा होमिएका उनका लोकहितैषी सत्प्रयासहरू स्तुत्य छन् ।

[साभार : राजधानी (असोज २७, २०७२)]


No comments:

Post a Comment