Saturday, October 10, 2015

रोटेपिङको रन्को



यमबहादुर दुरा

दसैँले पस्कने उल्लासपूर्ण परिवेशमा रोटेपिङको महत्व जबरजस्त रहन्थ्यो । यसले घरआँगनमा दसैंँ आएको भरपाइ गरिदिन्थ्यो । रोटेपिङको चचहुइले दसैंको व्यग्र प्रतीक्षामा रहेका लालाबालामाझमा रमझमपूर्ण पलहरूको वर्षा गरिदिन्थ्यो ।

गाउँका तन्नेरीहरूले रोटेपिङ हाल्ने सल्लाह गर्दैदेखि हाम्रा कान ठाडा हुन्थे । रोटेपिङ हाल्ने निधो भएपछि तन्नेरीहरू वनतिर लाग्थे । बञ्चरो बोकेका तन्नेरीहरूका लर्को देखेर हाम्रो मनमा उमङ्ग र उत्सुकता चुलिन्थ्यो । रोटेपिङ खेल्ने चाहनाले मन चुलबुल हुन्थ्यो । भित्रभित्रै औडाहा हुन्थ्यो ।

तन्नेरीहरूले वनमा रोटपिङको सर्दाम काटेर ठिक्क पार्थे । ती सर्दाम रोटपिङको बनाउने ठाउँसम्म ओसार्नुपर्‍थ्यो । आलो काठका गह्रुङ्गा सर्दाम ओसार्नु बेहद कठिन काम हुन्थ्यो । गाउँभरिका तन्नेरी र बलियाबाङ्गा मिलेर ती सर्दाम ओसारिन्थ्यो ।

रोटेपिङको सर्दाम (खासगरी मादल र खम्बा) ओसार्दा निकै कष्ट उठाउनुपर्‍थ्यो । धेरैका काँधका खालो जान्थे, हातमा ठेला बस्थे । कसैका खुट्टामा ठोसा रोपिन्थ्यो । धेरैका भोटो र कछाड च्यातिन्थ्यो । उनीहरू पसिनाले निथ्रुक्कै भिज्थे ।

हदैसम्मको कष्ट उठाएर रोटेपिङको सर्दाम ओसारिन्थ्यो । यसपछि रोटेपिङ खडा गर्ने काम युद्धस्तरमा अघि बढ्थ्यो । ढिलोमा अष्टमीको दिनसम्म रोटेपिङ तयार हुन्थ्यो । रोटेपिङ चालू हालतमा आएपछि हामीलाई फेरि एकपटक छटपटी हुन्थ्यो । रोटेपिङ तयार नहुँदासम्म कहिले तयार होला भन्ने छटपटी, तयार भइसकेपछि कतिखेर खेल्न पाइएला भन्ने छटपटी   कन्याहरूलाई धुरी कटाएर रोटेपिङको  उदघाटन हुन्थ्यो । अनि मात्र हाम्रो पालो आउँथ्यो । पिङ खेल्न पाएपछिमात्र हाम्रो मन शान्त हुन्थ्यो ।

होस्टेमा हैंसे गरेर रोटेपिङ खडा भएपछि चेलीबेटीका अनुहार उज्यालो हुन्थे । रोटेपिङ तयार भएको साँझमा चेलीबेटीले माइतीको परिश्रम र कर्मठभावको कदर गर्थे, मीठा मीठा स्थानीय परिकार खान दिएर । ती परिकारमा रोटी, मासु, अचार र बिजुलीपानी पर्थे । 
  
ग्रामीण जीवनमा रोटेपिङले बहुआयमिक अर्थ राख्थ्यो । जस्तै : सहकार्य र सहजीवनको मीठो उपज । लालाबालाहरूको मन बहलाउने माध्यम । बैंशालु मनहरू जमघट हुने ठाउँ । कतिपयले रोटेपिङलाई तरुनी फसाउने पासोभनेर पनि हाँसो गर्थे ।

रोटेपिङ तयार भएपछि त्यो ठाउँ सामाजिक जमघटको केन्द्र बन्थ्यो । त्यो ठाउँ भेटघाट र संवादको बेजोड अखडा बन्थ्यो । अल्लो गाउँ, पल्लो गाउँ र छरछिमेकका बैंशालु मनहरूको भेटघाट र संवादले रोटेपिङ जिउँदो जाग्दो बन्थ्यो । त्यतिबेला रोटेपिङले पूरै चोला फेरेको अनुभूति हुन्थ्यो ।

त्यहाँ गुञ्जने लोकभाका बिछट्टै मीठो हुन्थ्यो  । लोकभाकाको मादकता र मोहनीले शरदकालीन रातलाई  छपक्कै छोप्थ्यो ।  सुमधुर र प्रेमिल लोकभाकाले सबैलाई मोहनी लगाउँथ्यो । गीतले बूढापाकालाई पनि तानेरै छाड्थ्यो । उनीहरू तन्नेरीतरुनीका भीडमा दोल्याइ ओढेका बूढापाका मिसिन पुग्थे । गीत सुनेर भरपूर आनन्द लिन्थे । शायद, त्यतिबेला उनीहरू आफ्ना विगत सम्झिँदा हुन् ।

हामी किशोर अवस्था पार गरेर तरुण अवस्थामा प्रवेश गर्दै गर्दा  ग्रामीण जनजीवनको परिदृश्य बदलिँदै थियो । रहरमा भन्दा पढाइ लेखाइ लेखाइ प्राथमिकता दिनुपर्छ भन्ने जनमत तयार हुँदै थियो ।  हामीभन्दा अघिल्ला पुस्ताले बिताएका बिन्दास जीवन हाम्रो भागबाट विस्तारै खोसिँदै थियो । हामीले त्यस्तो जीवन त चौथाइ पनि भोग्न पाएनौँ ।
***
रोटेपिङ खेल्न जाँदा तन्नेरीतरुनीहरू खुल्ला आकाशमुनि रात बिताउँथे । परिणमस्वरूप कतिपय तन्नेरीतरुनी बिरामी हुन पुग्थे । उनीहरू ज्वरोले इन्तु न चिन्तु हुन पुग्थे । यसप्रकारको बिसञ्चोपनलाई  गाउँले भाषामा शीत लागेकोभनिन्थ्यो । कतिपयले यसलाई पिङ खेलेको निस्केकोभनेर टिप्पणी गर्थे ।

जुनसुकै कारणले बिरामी भए पनि झाँक्रीहरूका दिन खुल्थे । खरानी उँडाएर र कुचो शरीर झारेर बिरामीको उपचार शुरु हुन्थ्यो । बिरामीको नाडी छाम्दै बोक्सीडाइनुलागेको भन्थे । बोक्सीडाइनुलाई भालेको भोग दिनुपर्छ भन्थे ।

झाँक्रीको सिफारिसमा कुखुराको खोरबाट रोज्जा भाले थुतिन्थ्यो । त्यसलाई दोबाटोमा मन्छाइन्थ्यो । आधा रातमा भाले काटेर कथित बोक्सीडाइनुलाई भोग दिइन्थ्यो । ढुङ्गा रातो, पेट तातो। गजब थियो, त्यतिबेलाको समाज ।
समयक्रममा बिरामी पनि ठीकठाक भइहाल्थ्यो । अस्पतालको मुखै नदेखी, एउटा ट्याबलेट  पनि नखाई भाँक्रीको तन्त्रमन्त्र र फुकफाकको भरमा बिरामी तंरिन्थे । त्यो उपचार पद्धति गजबकै थियो । त्यसैले गाउँमा धामीझाँक्रीको भाउ मानक विन्दुभन्दा माथि रहन्थ्यो ।
***
रोटेपिङ तयार भएको दिनदेखि हाम्रो तन र मन त्यतै हुन्थ्यो । जतिखेर पनि पिङमा हाँजिर भइन्थ्यो, रातको चार पहरबाहेक । रोटेपिङ भएपछि हामीलाई अरू केही चाहिँदैनथ्यो ।

रोटेपिङ हाम्रा लागि मनोरञ्जनको अतिशय प्रिय माध्यम थियो । नहुन् पनि किन ? त्यतिबेला एकमात्र एकमात्र माध्यम थियो, त्यही रोटेपिङ । न फुटबल, न त क्रिकेट । भिडियो गेमजस्ता अत्याधुनिक मनोरञ्जनका माध्यम त कल्पनाभन्दा बाहिर नै थियो ।

गोठालो हुँदा पनि गाइवस्तुको वास्ता नगरी रोटेपिङमा झुण्डिन पुगिन्थ्यो । गाइवस्तुले अरूको धानबारीमा मुख जोतेर बर्बाद पारिसकेका हुन्थे, हामीलाई वास्ता हुँदैनथ्यो । पछि चर्को स्वरमा कसैले उल्टो आशिक हाल्दा झल्याँस्स भइन्थ्यो ।
 
बिहानको अर्नी खाएर घाँस काट्न निस्कँदा पनि रोटेपिङमा हाँजिर नभई सुखै मिल्दैनथ्यो । भर्खरै कलिलो घाम लागेको बेला पिङमा पुगेको मान्छे, घाम छिप्पिएर आफ्नै शिरमाथि आउने तर्खर गर्दा समेत पिङमै मस्त भइन्थ्यो ।
 
हस्याङ्फस्याङ् गर्दै बारीको कान्लोमा घाँस काट्न पुगिन्थ्यो । घाँस काट्ने समय रोटेपिङले खाइदिन्थ्यो । बारीमा पुगेर हतार हतार घाँस काटिन्थ्यो । मुसाको पुच्छरजस्ता साना साना मुठाको भारी गोठमा बिसाइन्थ्यो । रोटेपिङले हामीलाई काम ठग्न बाध्य तुल्याउँथ्यो ।

भात खाएर चिसै हात रोटेपिङतिर कुदिन्थ्यो । रोटेपिङ गजबका अड्डा थिए, हाम्रा लागि । कहिले साथीभाइ दुई समूहमा बाँडिएर पिर्का तानतान गरिन्थ्यो भने कहिले चारपाँचजना मिलेर धुरी झाट्न गइन्थ्यो । रोटेपिङले कहिल्यै सुख पाउँदैनथ्यो ।

हरेक वर्ष हामीजस्ता चकचके केटालाई केही न केही चोटपटक लागेकै हुन्थ्यो । कोही रोटेपिङको धुरीबाट खसेर बालबाल बच्थे । कसैको हात भाँचिन्थ्यो । कसैको भुइँमा नाक जोतिन्थ्यो । तर पनि रोटेपिङमा रमाउने तिर्सना मेटिन्नथ्यो । 
*** 
रोटेपिङसँग सामाजिक जीवनका थुप्रै पाटाहरू गाँसिएका हुन्थे । समयक्रममा तिनले किस्साकहानीको रूप ग्रहण गर्थे । ती किस्सामा सूदुरपूर्वदेखि निकटपूर्वसम्मका सामाजिक इतिहास अटाउँथ्यो, राजादेखि रङ्कसम्मका प्रसंग समेटिन्थ्यो 

एउटा प्रसंग छ, राजा वीरेन्द्रको । उनी युवराज छँदै छद्मभेषी बनेर देश भ्रमणमा निस्केका रहेछन् । यस क्रममा उनी एउटा अपरिचित पाहुनाका रूपमा दुराडाँडाको तुर्लुङकोट गाउँमा पुगेछन् । रोटेपिङ खेलेछन् । गाउँले प्रेमपूर्वक दिएको मोही र भुटेको मकै खाएछन् । त्यसपछि उनले बाटो तताएछन् ।

गाउँलेहरू त्यतिबेला चकिए भएछन्, जतिबेला उनी देशका राजकुमार हुन् भन्ने थाहा पाए । गाउँले उनी हुनेवाला राजा हुन् भन्ने सुइँको पाउँदानपाउँदै उनले डाँडा काटिसकेछन् ।

त्यो घटनाले राष्ट्रिय संस्कृतिसँग सुमधुर साइनो गाँसेको छ । पुरानो एक रूपैयाँको नोटमा रोटेपिङको तस्बिर अंकित छ । त्यो तस्बिर तुर्लुङकोटको रोटेपिङको छायाँछवि हो भन्ने विश्वास गरिन्छ ।
एवम् रीतले रोटेपिङको किस्सा अनवरत चलिरहन्थ्यो ।

छिमेकी गाउँमा रोटेपिङ खेल्न जाँदा किचकन्याले तर्साएको किस्साले हाम्रो आङ सिरिङ्ग हुन्थ्यो । एक गाउँ र अर्को गाउँबीच झगडा हुँदा रातारात पिङ खाँबो ढालिएको प्रसंगले सामाजिक द्वन्द्वको दृष्टान्त प्रस्तुत गर्‍थ्यो ।
 
छुट्टीमा घर आएका लाहुरेले घरकी जेठीलाई सुइकोसम्म नदिई रोटेपिङबाटै अर्की टिपेर सुनौली नाका काटेको किस्साले 'एउटा थाप्लोमा दुइटा नाम्लो' हाल्नेहरूको मनोदशा दर्साउँथ्यो । ती सबै किस्सा हाम्रा लागि रोचक श्रव्यसामग्री हुन्थे ।
कहिलेकाहीँ लोमहर्षक कहानी पनि सुनिन्थ्यो । राति रोटेपिङ खेल्दा असावधानीवश पिङको डाँडीमा चुल्ठो र मजेत्रो बेरिएर ग्रामीण बालाको ज्यानै गएको कहानीले हामी त्रस्त हुन्थ्यौँ । हाम्रो समवेदनाको ग्राफ उच्चतम् विन्दुमा पुग्थ्यो ।
***
दसैंताक खेतबारीमा धानकोदोले बाला हालिसकेका हुन्थे । रोटेपिङको आवाजले सह जान्छ, बालीनाली भुसिन्छ भन्ने भनाइ छ । बूढापाकाहरू तिहारपछि तुरुन्तैपिङ फुकाल्नुपर्छ भन्थे । ढिलोमा एकादशी कटाउनुहुँदैन भन्थे । तन्नेरीहरू आनाकानी गर्थे ।

हाम्रो भित्री समर्थन पनि तन्नेरीहरूलाई हुन्थे । जस्तोसुकै समर्थन रहे पनि तिहार सकिएपछि रोटेपिङ पुकाल्ने दिन आइहाल्थ्यो । रोटेपिङ पुकाल्ने दिन त्यस वर्षभरिकै नरमाइलो दिन हुन्थ्यो । रोटेपिङ तयार हुँदा आएको खुसीयालीपूर्ण क्षण रोटेपिङ फुकाल्दा भताभुङ्ग हुन्थ्यो ।
***
त्यो रमणीय कालदेखि वर्तमानसम्म आइपुग्दा थुप्रै पात्रो फेरिइसके । नेपाली समाज तीव्र गतिमा सामाजिक रूपान्तरबाट गुज्रिरहेको छ । समयले कोल्टे फेरिसक्यो ।  समय प्रवाहले विगतलाई निरन्तर पछि धकेलिरहेको छ । आधुनिकताले रोटेपिङलाई छायाँमा पारिसक्यो । त्यसैले उस्तो रौनक छैन । गाउँघरमा रोटेपिङ लोप हुने क्रममा छ । 

दुनियाँको कुनै पनि पसलमा किन्न नपाइने विगतका ती रङभरा पलहरू अब सम्झनामात्र बाँकी छन् ।

[साभार: राजधानी (असोज २३, २०७२ )]


[अद्यावधिक २०७२।०६।२७, २०७२।०६।२८, २०७२।०६।३०] 


No comments:

Post a Comment