Monday, February 13, 2017

भ्रान्तिपूर्ण अनुवाद

–यमबहादुर दुरा


अंग्रेजी । अन्तर्राष्ट्रिय सम्पर्क भाषा । अंग्रेजीकोे दायरा बढ्दो छ । चाहेर वा नचाहेर अंग्रेजी भाषा दैनिक सञ्चारको अपरिहार्य पाटो बन्दै गएको छ । अंग्रेजी भाषा ‘लाइब्रेरी ल्याङ्वेज’ समेत भएकोले प्राज्ञिक तथा शैक्षिक वृत्तमा यसको आयतन झनै फैलिँदो छ । बढ्दो विश्वव्यापीकरणको पृष्ठभूमिमा आमसञ्चार माध्यमले पनि अंग्रेजी भाषालाई कख्याउँदै जानुको विकल्प छैन ।

आमसञ्चार, प्रज्ञिक जगत र जनस्तरमा समेत अंग्रेजी भाषा प्रयोगको ग्राफ उकालो लाग्दो छ । अंग्रेजीबाट आयातित बौद्धिक खुराकहरूको आयतन बढ्दो छ । विदेशी समाचार अंग्रेजीमै आउँछन् । प्राज्ञिक जगतका स्तरीय पुस्तकहरू अङ्ग्रेजीमा छन् । जनस्तरमा पनि मोबाइल, नेटवर्क, रेडियो, टेलिभिजन जस्ता वैज्ञानिक अविष्कारसँग सम्बन्धित अंग्रेजी शब्दहरू हरेक दिन उच्चारण भइरहन्छन् । यस्ता शब्दहरूको सूची समयक्रमसँगै लम्बिँदो छ ।

अंग्रेजी भाषाको फैलिँदो आयतनबारे चर्चा गरिरहँदा सबै बुझ्न सक्ने अवस्थामा छन् भन्न खोजिएको होइन । अंग्रेजीमा भएका विषयवस्तु ठूलो सङ्ख्यामा रहेका गैरअंग्रेजीभाषी समुदायले बुझ्दैनन् । उनीहरूलाई कुरा बुझाउन सम्बन्धित भाषामा अनुवाद नगरी सुखै छैन ।

अब प्रश्न उठ्छ, अंग्रेजीमा भएका विषयवस्तु नेपालीमा कसरी अनुवाद भएका छन् त ? यसको छोटो जवाफ छ, अनुवादसम्बन्धी मामिलाहरू प्रश्नको घेरामा छन् । साहित्यकार डा.तारानाथ शर्माले अंग्रेजीबाट शब्द ‘इस्यू’ लाई अनुवाद गर्दा झगडिया शब्द ‘मुद्दा’ बनाइयो भनेर आपत्ति जनाए । यो एउटा सानो प्रसंग हो । खोजीपस्दा अरु पनि यस्ता थुप्रै प्रसंगहरू छताछुल्ल रूपमा भेटिन्छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टकी श्रीमती हिलारी क्लिन्टले सन् १९९५ मा नेपाल भ्रमण गर्दा एउटा शब्दावली निकै चर्चित रह्यो । त्यो हो, ‘प्रथम महिला’ । ‘रेडियो नेपाल’ लगायतका सञ्चार माध्यमले निकै प्रयोग गरेका उक्त शब्दावली सुनेपछि धेरैले एकआपसमा सोध्न थाले, ‘के हो, प्रथम महिला भनेको ?’ यसको उत्तर दिन धेरै सर्वसाधारण नागरिक असमर्थ थिए ।

अमेरिकी संस्कृतिमा गभर्नर वा राष्ट्रपतिको श्रीमतीलाई ‘फस्ट् लेडी’ भनिन्छ भन्ने कुरा बुझाइदिएको भए यस्तो समस्या आउने थिएन । नेपाली सञ्चार माध्यमले ‘फस्ट लेडी’ को शब्दानुवाद गरे, तर त्यसको अर्थ खुलाएनन् । हाम्रा सञ्चार माध्यमले ‘प्रथम महिला’ नभनेर ‘अमेरिकी राष्ट्रपति बिल क्लिन्टकी श्रीमती हिलारी क्लिन्ट’ भनिदिएको भए कुरा प्रष्ट हुने थियो । ‘प्रथम महिला’ भन्नुपर्ने कुनै आवश्यकता थिएन । अनावश्यक रूपमा ‘फस्ट् लेडी’ को शब्दानुवाद गरेर ‘प्रथम महिला’ भनिदिँदा आमनागरिक ‘कुहिरोको काग’ बन्न पुगे ।

पश्चिमा सञ्चार माध्यमले भन्ने गरेको ‘मिडिल इस्ट’ लाई हामीले पनि ‘मध्यपूर्व’ भन्यौं । त्यो भूखण्ड पश्चिमी गोलाद्र्धका लागि ‘मध्यपूर्व’ भए पनि हाम्रो लागि ‘मध्य पश्चिम’ हो । ‘मध्य पश्चिम’ भन्न असहज लागेको हो भने ‘अरब राष्ट’ वा ‘खाडी मुलुक’ भनेरै काम चलाउन सकिन्थ्यो । स्थानगत आधारमा पनि गलत किसिमले शब्दानुवाद भएका छन् ।

त्यसैगरी, सन् १९९० को दशकमा आएको अवधारणा ‘वर्क फर फुड’ लाई ‘कामका लागि खाद्यान्न’ भनेर नेपालीकरण गरियो, जुन नितान्त गलत अनुवाद थियो । खासमा ‘खाद्यान्नका लागि काम’ भन्नुपर्ने थियो ।

अंग्रेजी शब्दको सोझो अनुवाद (‘लिटरल ट्रान्सलेसन’) गरिँदा पठनपाठनमा धेरै भ्रम पैदा भएका छन् । केही दृष्टान्तहरू :

मिडिया अनुसन्धानसम्बन्धी एउटा पुस्तकमा अंग्रेजी शब्द ‘डिस्इप्लिन्’ लाई ‘अनुशासन’ भनेर अनुवाद गरिएको छ । यसका् सोझो अर्थ ‘अनुशासन’ नै भए पनि त्यहाँ अर्कै सन्दर्भमा प्रयोग हुनुपर्दथ्यो । ‘अनुसन्धानको विधा’ को रूपमा  ‘डिस्इप्लिन्’ अर्थ्याइनुपर्थ्यो । यहाँ ‘डिस्इप्लिन्’ शब्दको ‘अनुशासन’ सँग कुनै नाता छैन । यस्तो अवस्थामा यसबाट पाठकले के बुझ्ने ? ‘डिस्इप्लिन्’ शब्दको भावानुवाद गर्नुपर्नेमा शब्दानुवाद गरिँदो अनर्थ हुन पुगेको छ ।

पत्रकारितालाई मर्यादित तुल्याउने अभिप्रायले ‘अमेरिकन् सोसाइटी अफ न्युजपेपर इडिटर्स्’ (अमेरिकी समाचारपत्र सम्पादक) ले सन् १९२२ मा ‘क्यानन्स अफ जर्नलिजम्’ शीर्षकमा नैतिक निर्देशन जारी गर्यो 

‘फेयर प्ले’ को आशय थियो, समाचारमा जोडिएका व्यक्तिहरूलाई चित्रण गर्दा उनीहरूको इज्जत, प्रतिष्ठा  र अधिकारमा कुनै आँच आउनु दिनुहुँदैन र उनीहरूको गोप्यताको अधिकारलाई सम्मान गर्नुपर्छ ।

पत्रकारितामा समाचारको सन्दर्भमा जोडिएर आउने एउटा पारिभाषिक शब्दावली छ, ‘न्युज होल’ । यसको अर्थ हो,  समाचारपत्रमा विज्ञापनका लागि ठाउँ छुट्याएर बाँकी रहेको ठाउँ – जहाँ समाचार राख्न सकिन्छ । ‘न्युज होल’ लाई शब्दानुवाद गरेर यसलाई ‘समाचार प्वाल’ भनियो । यहाँ ‘समाचार प्वाल’ शब्दावलीमात्रले कुनै अर्थ बुझाउन सक्दैन । यसले पाठक जिल्ल पर्नेबाहेक अरु केही काम गर्दैन ।

समाचारकै सन्दर्भमा आउने ‘हार्ड न्युज’ र ‘सफ्ट न्युज’ शब्दावलीलाई क्रमशः ‘कडा समाचार’ र ‘नरम समाचार’ भनेर उल्था गरिएको छ । कडापन र नरमपनसँग समाचारको कुनै साइनो छैन । ‘हार्ड न्युज’ र ‘सफ्ट न्युज’ लाई क्रमशः ‘घटनाप्रधान समाचार’ र ‘विषयप्रधान समाचार’ भनिदिएको भए कुरा प्रष्ट हुने थियो ।

अंग्रेजी शब्दको भावानुवाद हुनुपर्नेमा शब्दानुभाव हुँदा यस्ता हास्यास्पद स्थिति देखापर्छन् । एउटा संस्थाले निकालेको प्रेस अफिस व्यवस्थापनसम्बन्धी ‘म्यानुअल’ मा यस्तै हास्यास्पद अवस्था आएको छ । त्यसमा प्रयोग भएका अंग्रेजी शब्दावली ‘अन द वन् ह्यान्ड’ र ‘अन द अदर ह्यान्ड’ लाई क्रमशः ‘एक हातमा’ र ‘अर्को हातमा’ अनुवाद गरिएको छ, जुन सर्वथा गलत र हास्यास्पद छ ।

आजकल कुनै वस्तु तथा सेवाको विज्ञापनमा अंग्रेजी शब्द ‘अनविलिभेबल’ को हास्यास्पद किसिमले अनुवाद भएको पाइन्छ । ‘अनविलिभेबल’ शब्दको नेपालीकरण गरिएको विज्ञापनको भाषा यस्तो छ : ‘साथमा पाउनुहोस्, अविश्वसनीय गिफ्ट हाम्पर्स’ । यसको अर्थ लाग्छ, ‘विश्वास गर्न नसकिने गिफ्ट (उपहार) हरू’ । विश्वासै गर्न नसकिने गिफ्ट (उपहार) पाएर के काम ? त्यस्तो चिज त नपाएकै जाती । ‘अनविलिभेबल’ को सोझो अर्थ ‘अविश्सनीय’ भए पनि यहाँनेर यसको अर्थ फरक छ । यसलाई हास्यास्पद हुनबाट जोगाउन यसो भनिनुपथ्र्यो, ‘साथमा प्राप्त पाउनुहोस्, तपार्इँ चकित पर्ने किसिमका आकर्षक उपहारहरू ।’

शोध (‘रिसर्च’) मा प्रयोग हुने कतिपय शब्दावलीहरूको भावानुभाव हुनुपर्नेमा शब्दानुवाद गरिएका छन् । यसबाट पाठक थप अलमलमा पर्ने अवस्था छ । केही उदाहरणहरू : ‘लिटरेचर रिभ्यू’, ‘नेचरलिष्टिक अब्जभेसन्’, ‘आटिफिसल् अब्जभेसन’ आदि । यी शब्दावलीलाई क्रमश : ‘साहित्य समीक्षा’, ‘प्राकृतिक अवलोकन’ र ‘अप्राकृतिक अवलोकन’ भनेर शब्दानुवाद गरिएका छन् । केवल शब्दानुवादले यिनीहरूको अर्थ खुल्दैन । यस्ता शब्दावलीको शब्दानुवाद होइन, भावानुवाद आवश्यक छ ।

‘लिट्रेचर रिभ्यू’ को साहित्यसँग कुनै लेनादेना छैन । यसलाई ‘साहित्य समीक्षा’ भनेर उल्था गर्दा गलत हुन जान्छ । असल शोधकार्य गर्दा आफूले अनुसन्धान गर्न लागेको विषयसँग सम्बन्धित रहेर अगाडि नै अनुसन्धान गरिएका सन्दर्भ सामग्रीहरूको अध्ययन तथा विश्लेषण गर्नु अपरिहार्य मानिन्छ ।

यस क्रममा पूर्वअनुसन्धान कार्यहरूको साङ्गोपाङ्गो अध्ययन र समीक्षा गरिने भएकोले यसलाई ‘सन्दर्भ सामग्री समीक्षा’ (‘लिट्रेचर रिभ्यू’) भन्नु बढी उपयुक्त हुन्छ । ‘साहित्य समीक्षा’ भन्दा पाठकमा भ्रम पैदा हुन जान्छ । पुस्तक प्रकाशन गर्नुभन्दा अघि व्यापक विचार विमर्श हुन पाएको भए यस्तो असहज अवस्था आउने थिएन ।


भाषा आफैंमा परिपूर्ण हुँदैन । सामाजिक अन्तरघुलनको माध्यमबाट एउटा भाषाको शब्दहरू अर्को भाषामा मिसिन पुग्छन्, जुन स्वाभाविक प्रक्रिया हो । नेपाली भाषामा पनि नेपाली राष्ट्रिय भाषाका थुप्रै शब्दहरू भित्रिएका छन् । यसले नेपाली भाषालाई समृद्ध बनाएको छ । नेपाली भाषाका शब्दहरूले अंग्रेजी शब्दकोशमा प्रविष्टि पाएका छन् ।

नयाँ युगले नयाँ शब्द जन्माउँछ । उदारहणको रूपमा सन् १९९० को दशकमा इन्टरनेटको उदयसँगै पछि सूचना–प्रविधिसँग सम्बन्धित शब्द र शब्दावलीहरू भरमार आए । तिनीहरूलाई स्थानीय भाषामा अनुवाद गर्ने कार्य लगभग असम्भव नै छ ।

विषयगत हिसाबामा इन्टनेट, सञ्चार, शोध र सामाजिक अध्ययनका तमाम आयामसँग सम्बन्धित पारिभाषिक शब्दाबली आमसञ्चार र पत्रकारिता जोडिनु स्वभाविक छ । यस्ता सबै शब्द तथा शब्दावलीहरूको शब्दानुवाद न सम्भव छ, न त व्यावहारिक नै । जबरजस्ती अनुवाद गर्दा अनर्थ हुन पुग्छ ।

अरुको आविष्कार र सांस्कृतिक उपजहरूको अनुवाद धेरै हदसम्म सम्भव छैन । अनुवाद भइहाले पनि व्याहारिक हिसाबले ग्रह्य छैन । हाम्रो छिमेकी भारतमा स्वराज आन्दोलनबाट प्रभावित भएर ‘टेलिफोन’ लाई ‘दूरभाष’, ‘टेलिभिजन’ लाई ‘दूरदर्शन’ भनेर नामकरण गरे पनि जनजिब्रोमा ती शब्दहरू ग्रह्य देखिएका छैनन् । विदेशी परिकार र उपकरणहरूको स्वदेशी भाषमा अनुवाद लगभग असम्भव छ ।

अंग्रेजी शब्दकोशमा खुकुरी, हुक्का, चपातीजस्ता शब्दहरूले प्रेमपूर्वक स्थान पाएका छन् । नेपाली जनजिब्रोमा सहजतापूर्वक झुण्डिएका रेडियो, मोबाइल, टेलिभिजन, कम्प्युटरजस्ता अंग्रेजी शब्दलाई जस्ताको तस्तै ग्रहण गर्नुको कुनै विकल्प छैन ।

विदेशी शब्दलाई अनर्थ लाग्ने गरी अनुवाद गर्नु कत्तिको बुद्धिमानी होला ? शब्दको गलत अनुवाद गरेर शब्दवह्मको दुरुपयोग गरी भ्रम बाँड्नुभन्दा आगन्तुक शब्दको मौलिक स्वरूपलाई यथावस्थामा ग्रहण गर्नु राम्रो । सुन्दा अप्रिय लागे पनि हामीले स्वीकार्नै पर्छ, सही अर्थ बुझाउने गरी अनुवाद गर्न नसक्नु आमसञ्चार र प्रज्ञिक वृत्तको कमजोरी बनेको छ ।

[साभार: अन्नपूर्ण टुडे (माघ २८, २०७३)]

No comments:

Post a Comment