Saturday, December 17, 2016

चरी विम्बः गोलसिमलदेखि कर्याङकुरुङसम्म


–यमबहादुर दुरा

विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ को पनि उल्लेख्य स्थान छ । ‘चरी’ लाई विम्बको रूपमा उभ्याउने परिपाटी लोकजिन्दगानीको एउटा हिस्सा नै हो ।

बिहान चराको चिरबिरसँगै आँखा खोलेर दिनचर्या शुरु गर्ने कृषिप्रधान समाजमा चरी विम्बको प्रयोग एउटा यथार्थ हो । हाम्रा लोककथा, लोकगाथा एवम् लोकगीतहरू चरी विम्ब र तिनले उत्पन्न गरेका सामाजिक तरङ्गहरूबाट सजिएका छन् ।

आफूले भन्न खोजेको कुरालाई सोझै नभनी प्रतीकात्मक रूपमा संकेत गर्नका लागि विम्बको प्रयोग हुन्छ । विम्बको प्रयोगले अभिव्यक्तिलाई निरस हुनबाट जोगाउँछ । यसले सम्प्रेषण गर्न खोजिएको सन्देशलाई रुचिकर र लालित्यपूर्णमात्र बनाउँदैन, गहिरो र अर्थपूर्ण पनि बनाउँछ ।

विम्बले जटिलभन्दा जटिलतम् विषयलाई पनि थोरै शब्दमा अर्थ्याउन सघाउँछ । अमेरिकी संगीतकार जेम्स हल (जन्मः सन् १९७१) ले विम्बबारे ब्लग लेखेका छन् । उनले भनेका छन्, ‘एउटा विम्बको प्रयोगले १० हजार शब्दले भन्न नसकेको कुरालाई सहजै अर्थ्याउँछ ।’

लोकले विम्बहरूले लोकहृदयको अविरल भावप्रवाहलाई अझ वेगवान् बनाएर भावनाको उडान भर्न सहयोग गरेका छन् । यसले सन्देशमा मिठास त थपेकै छ नै, त्यसमा पनि सांस्कृतिक मूल्य–मन्यताले रङ्गिएका सामाजिक तस्बिरहरू आँखा अघिल्तिर ल्याइदिएका छन् । यसले जीवनको गोरेटोमा घटित सन्दर्भ र प्रसंगहरूलाई छर्लङ्ग्याउन सघाएका छन् ।

‘चरी’ विम्बले विम्बले लोकजीवनका बहुआयामिक पक्षहरूलाई समेटछ । यसले अवस्थाअनुसार कार्य, व्यक्ति, स्थान, वस्तु, घटना, स्वभाव, भाव, विचार आदिलाई प्रतिनिधित्व गर्छ । यसले मानिसको मानिसको चञ्चल मन (मनचरी) देखि लोकव्यवहारका तमाम पहलुहरूलाई अङ्गालेको देखिन्छ ।

‘वनको चरा, वनकै ढुङगा’ जस्ता उखान, ‘रानीचरी स्याकलुङे वनभरि, बोल माया तिमै छ मनपरी’ जस्ता गीत त्यसै बनेका होइनन् । यी दृष्टान्तले नेपाली जनजीवनमा ‘चरी’ विम्बको महत्वलाई प्रष्ट्याउँछन् । हाम्रो जीवनशैलीले यी लोकविम्बसँग गहिरो नाता गाँसेको छ । यस्ता अनेकन लोकविम्बहरूमा लोकजीवनको ढुकढुकी स्पन्दित भइरहेका छन् ।

चरी विम्ब लोकवाङ्मयको परिधिभन्दा बाहिर निस्केर धेरै परसम्म पुगेको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) ले   सुप्रसिद्ध कृति ‘मुनामदन’ मा भोटमा मदनको मृत्युलाई काग कराएको प्रसंग अघि सारेर विम्बमय बनाएका छन् । जनकवि केशरी धर्मराज थापा (वि.सं. १९८१–२०७१) ले आफ्ना कृतिको नाम ‘वनचरो’ र ‘गोलसिमल’ राखेका छन् ।

चर्चित अमेरिकी उपन्यासकार हार्पर लि (सन् १९२३–२०१६) ले ‘टु किल अ मकिङबर्ड’ उपन्यासमा ‘मकिङबर्ड’ नामक चरालाई विम्बको रूपमा प्रयोग गरेकी छिन् । सन् १९६१ मा पुलिट्जर पुरस्कार पाउन सफल उक्त कृतिमा खडा गरिएको त्यो चराले निरीह र निष्कपट व्यक्तिको प्रतिनिधित्व गर्छ ।

सिमलचरी (गोलसिमल) नेपाली समाजमा एउटा चर्चित विरहिरणी विम्ब हो । सिमलचरी भन्नेबित्तिकै एउटी टुहुरी, निरीह र अपहेलित चेलीको तस्बिर हामीसामु आउँछ, जो सौतेनी आमाको बुहार्तन खेप्न अभिशप्त छ । सानो छँदा अगेनाको छेउमा पलेटी कसेर बस्दा हजूरआमाले सिमलचरीको आहान सुनाउनुहुन्थ्यो । हजूरआमाबाट सिमलचरीका दुःखदायी वृत्तान्त सुन्दा हाम्रा परेली निथ्रुक्कै भिज्थे ।

लोकगीतका पारखीहरूले चरी विम्बको भरपूर उपयोग गरेका छन् । आफ्नो मन परेको मान्छे आफ्नो सेरोफेरोमा नभेट्दा प्रेमातुर मायालु सांकेतिक रूपमा न्यास्रो व्यक्त पोख्छ : ‘यो वनमा छैन कि चरी, भएदेखि कराउँथ्यो क्यै  गरी’ ।

मानिसको स्वभावलाई अर्थ्याउन पनि चरी विम्बको प्रयोग हुँदै आएको छ । समाजसँग घुलमिल हुन नचाहने एकलकाटे स्वाभावका मानिसलाई ‘वनको चराजस्तो पर पर भाग्ने मान्छे’ भनेर टिप्पणी गर्ने गरिन्छ । मुख बाँधेर नबस्ने फरासिलो स्वभावका व्यक्तिलाई ‘मैना’ भन्ने चलन छ ।

हाम्रो ‘विश्वास प्रणाली’ ले कागलाई यमदूतको रूपमा स्वीकारेको छ । सबैलाई थाहा भएकै कुरा हो, घरछेउमा आएर काग कराउँदा अब के अशुभ खबर सुन्नुपर्ने हो भनेर धेरै मानिस सशंकित हुन्छन् । घर वरपर काग कराउनसाथ ‘शुभबोल ! शुभबोल !’ भन्ने चलन छ । कागले कुनै अशुभ खबरको पूर्वसंकेत दिन्छ भन्ने मान्यताले हाम्रो समाजमा जरो गाडेको छ ।

हाम्रा अग्रजहरूले बोली–बचनलाई पनि चरी विम्बमा ढालेका छन् । मृदुभाषीको बोलीलाई कोइलीको आवाजसँग तुलना गर्ने प्रचलन नयाँ होइन । यसको विपरीत अप्रिय बचन बोल्न पछि नपर्ने पचमुखे स्वभावका व्यक्तिलाई तित्रासँग तुलना गर्ने चलन छ । उखानै छ, ‘तित्राको मुखै बैरी’ ।

कृषिप्रधान समाजमा हरेक बिहान चटारोले भरिएको हुन्छ । कृषिकर्ममा हरदिनको अर्थपूर्ण तयारीका लागि बिहानी समय मूल्यवान मनिन्छ, जसको सही उपयोग अनिवार्यजस्तै हुन्छ । बिहानको समय त्यत्तिकै चिप्लिएमा व्यस्ततापूर्ण जिन्दगीको कार्यतालिका बिग्रन पुग्छ । कुखुराले बिहानको उद्घोष गरेर खेतबारीमा पाखुरा जोत्ने कर्मजीवीहरूको कार्यतालिका दुरुस्त राख्न सघाउँछ  । समय–यन्त्रविहीन ग्रामीण समाजमा कुखुरा बिहानीसूचक घडी हो ।

बिहान हुन लागेको संकेत भालेको डाँकले गर्थ्यो । यससँगै कृषिप्रधान समाजमा दिनचर्या शुरु हुन्थ्यो । मुगलान पस्ने युवाहरू भालेको डाँकसँगै गाउँको सीमाना काट्थे । देशमा घडीको आमप्रचलन शुरु हुनुभन्दा अघिको साहित्य र लोकगीतहरूमा कुखुरा गतिलो समयविम्बको उभिएको पाइन्छ ।

हिमालको डाँफे र मधेशकोे मुरलीको दुःखान्त प्रेमकथा लोकजीवनमा चर्चित छ । डाँफे र मुरलीको आरिसलाग्दो मिलन र त्यसपछिकोे बिछोडले भरिएको विरहपूर्ण कथा नेपाली समाजको अमूर्त सांस्कृतिक सम्पदा हो । डाँफे र मुरलीको कथालाई झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०) ले गीतमा उतारेका छन् । २० मिनेट लामो सो गीत ‘यु ट्युब’ मा पनि भेटिन्छ ।

न्याउली चरीलाई विरह र बिछोडको प्रतीक मानिन्छ, जसलाई विम्बको रूपमा खडा गरेर थुप्रै लोकगीत बनेका छन् । मुगलान पसेका छोरो घर नफर्किएको प्रसंग उठाएर लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) ले ‘रेडियो नेपाल’ मा मर्मस्पर्शी गीत रेकर्ड गराएका छन् । क्षेत्रीले न्याउली चरीलाई विम्ब बनाएको गीतको एउटा अंश यस्तो छ,  ‘साइलो दाइ कहाँ गयो, पानी खाँदा न्याउली झुरायो’ ।

ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ, जसको प्रतिविम्ब नेपाली लोकगीतमा पर्याप्त देख्न सकिन्छ । तनहूँकी लोकगायिका मीरा राना मगर ( जन्मः वि.सं. २०२८) ले ५० को दशकको शुरुतिरै ‘रेडियो नेपाल’ मा सुमधुर गीत रेकर्ड गराएकी थिइन् । आञ्चलिक सुवास मगमगाउने त्यो गीतको एउटा हरफ विम्बमय छ, ‘आजभोलि के हुन्छ के हुन्छ, जोडी ढुकुर देख्दा नि मन रुन्छ’ ।

बारीमा उभिएको आरुबोटमा फूल  खेल्दानखेल्दै हरेक वर्ष आकाशमा कर्याङ्गकुरुङको बथान उँड्न थाल्छ । यसले छरपातको समय आएको सन्देश दिन्छ । मालचरीको नामले समेत चिनिने ‘कर्याङ्गकुरुङ' को आगमनले खेतीपातीको समय शुरु भएको संकेत गर्छ । भनाइ नै छ– ‘कर्याङकुरुङ आयो, काँक्रा फर्सी रोप’ । यसरी नेपाली समाज ‘कर्याङकुरुङ’ चरा  खेतीपातीको विम्ब बन्न पुगेको छ । नेपाली साहित्यमा समेत ‘कर्याङकुरुङ’ लाई प्रेमपूर्वक आत्मासात गरेको पाइन्छ ।

माथि चर्चा गरिएका विम्बका अतिरिक्त चाँचरी, परेवा, मलेवा, काफल पाक्यो, बिउ कुहियो, जुरेली, लामपुच्छ्रेजस्ता असंख्य चरीको प्रतीकात्मक प्रयोगबारे ‘कार्टुन नेटवर्क’ सँगै हुर्केका नयाँ पुस्ता धेरै हदसम्म अनिभिज्ञ छ । लोकजीवनले यिनीहरूलाई विम्बको रूपमा कसरी प्रयोग गरिरहेको थियो र कसरी गरिरहेको छ भन्नेबारे थप खोज–अनुसन्धान हुन बाँकी छ ।

प्रकृतिको निकट रहेको ग्रामीण जीवनशैलीलाई त्यागेर ‘अटोमेसन’ तिर लम्कँदै गरेको र शहरी जीवनशैलीमा रूपान्तरण हुँदै गएको वर्तमान घडीमा कतिपय लोकविम्ब अबोधगम्य र असान्दर्भिक बन्न पुगेका छन् ।

हाम्रो समाज अतीतमुखी परम्परा र भविष्यमुखी आधुनिकताको दोसाँधमा उभिरहेको बेलामा कतिपय लोकविम्ब नखोतलिएको गाडधनजस्तै हुन पुगेको छ, जो खोज–अनुसन्धानप्रति मोहभाव राख्ने नयाँ पुस्ताको जाँगर र उत्सुकताको व्यग्र प्रतीक्षामा छ ।

[साभार: गोरखापत्र 'शनिबार' (पुस २, २०७३)]

[अद्यावधिक : २०७४।०३।१३]


No comments:

Post a Comment