Friday, April 21, 2017

पत्रकारितामा प्राज्ञिक डिग्री


–यमबहादुर दुरा

पत्रकारिता परेर गर्ने पेशा हो कि पढेर अपनाउने पेशा हो ? पत्रकारिता वृत्तमा बहस जारी छ । एकथरिको भनाइ छ, ‘सैद्धान्तिक ज्ञानविनाको पत्रकारिता अपूरो हुन्छ ।’ अर्काथरिको उदघोष छ, ‘पत्रकारिताको व्यवहारिक पक्षलाई बिर्सेर सैद्धान्तिक ज्ञानले मात्र दाल गल्नेवाला छैन ।’ वैचारिक बहसका क्रममा आएका यी परस्पर विरोधाभासपूर्ण भनाइ आ–अफ्नो ठाउँमा सही छन् । तर यो बहस शालीन संवादमा मात्र सीमित छैन ।

यदाकदा यस्ता वैचारिक कटुता सतहबाट उर्लिएर घोचपेच र आरोप प्रत्यारोपसम्म चुलिन पुग्छ । पत्रकारितामा प्राज्ञिक डिग्री आवश्यक छ घटकको आरोप छ, ‘पत्रकारिताजस्तो सम्वेदनशील र बहुआयमिक पेशा उचित प्राज्ञिक डिग्री बिना नै हाँकिरहेका छन् ।’ पत्रकारितामा प्राज्ञिक डिग्री दरकार नपर्ने मान्यताका पक्षपातीहरूको रोषपूर्ण अभिमत छ, ‘विश्वविद्यालयको पढाइ पूरा गरेर पत्रकारितामा आएकाहरूले ठूला कुरा नगरे हुन्छ, उनीहरू एक अनुच्छेद पनि राम्रोसँग समाचार लेख्न जान्दैनन् ।’

कतैकतै वास्तविकताजस्ता लाग्ने कतकतै पूर्वाग्रहजस्ता लाग्ने यस्ता अभिव्यक्तिहरूको केन्द्रविन्दुमा उभिएर कुरोको चुरो खोज्दा पत्रकारिताको निकटपूर्व इतिहासदेखि वर्तमानसम्मको विकासक्रमलाई नियाल्नुपर्ने हुन्छ । यस क्रममा हाम्रो सामाजिक तथा राजनीतिक परिवेश, पत्रकारिताको विकासक्रम, पत्रकारिता जनशक्ति खपतको ट्रेन्ड, प्राज्ञिक वहसको दिशा र गतिसम्म पुग्न सकिन्छ ।

पत्रकारिताको विश्वव्यापी ट्रेन्डलाई हेर्ने हो भने पत्रकारिता पढेर भन्दा पनि परेर नै अपनाइने पेशा हो भन्न कर लाग्छ । यद्यपि सर्वस्वीकार्य कुरा होइन । राजनीतिक कार्यकर्ता, वकिल, साहित्यकारजस्ता पत्रकारिताइतरका जनशक्तिले पत्रकारितालाई हाँकेका असंख्य विश्वव्यापी दृष्तान्त छन् । नेपालमा पनि कवि सिद्धिचरण श्रेष्ठ, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजस्ता गैरपत्रकारिता क्षेत्रका व्यक्तित्वहरूले पत्रकारिता गरेका उदाहरण छन् ।

नेपालको सन्दर्भमा शुरुवाती चरणमा उच्च राजीतिक चेत भएका व्यवस्थाविरोधी व्यक्तिहरूले पत्रकारिता गरेको थिए । राणाकाल र पञ्चायतकालमा यही स्थिति थियो ।  उनीहरू पत्रकार कम तथा राजनीतिक अभियन्ता बढी थिए । उनीहरूले व्यावसायिक पत्रकारिता कम र मिसन पत्रकारिता बढी गरिरहेका थिए । त्यस समयमा राजनीति र पत्रकारिताको सीमारेखा छुट्टिन एक हिसाबले असम्भव नै थियो । यस्तो अवस्था तत्कालीन राजनीतिक तथा सामाजिक परिवेशको उपज थियो ।

अहिलेको समय र परिवेश फरक छ । त्रिभुवन विश्वविद्यालयले २०३३ सालमा प्रमाणपत्र तह र २०३६ सालमा स्नातक तहमा पत्रकारिता र आमसञ्चारको अध्यापन शुरु गरेपछि नेपालको पत्रकारिता जगतमा जनशक्तिका दृष्टिले नयाँ तरङ्ग पैदा हुन थाल्यो । यसैगरी, २०४१ सालमा नेपाल प्रेस इन्स्टिच्युटले पत्रकारिताको तालिम शुरु गरेपछि नेपालको पत्रकारिता जगतमा नयाँ आयाम देखापर्न थाल्यो ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले २०५८ सालमा पत्रकारिता र आमसञ्चारमा एमएको पढाइ शुरु गरे । सोही समयको सेरोफेरोमा अस्तित्वमा आएको मार्टिन चौतारीले मिडिया अध्ययन र अनुसन्धानका विविध पाटाबारे चर्कै स्वर उराल्यो । यससँगै पत्रकारितामा सम्बन्धित विषयको डिग्रीधारी जनशक्तिको बहसले पनि गति समात्यो । पत्रकारितामा आवश्यकतासम्बन्धी बहसमा पत्रकारिता वृत्त एक हदसम्म विभाजित मनस्थितिमा देखापर्यो ।

पत्रकारितामा सम्बन्धित विषयको डिग्रीधारी जनशक्तिको खाँचो हुन्छ वा हुन्न भन्नेबारे पश्चिमी गोलार्द्धमा पनि बहस जारी छ । बेलायतका विख्यात मिडिया टिप्पणीकार प्राध्यापक रोेय ग्रिन्स्लाडेले ‘द गार्जियन’ (नोभेम्बर १३, २०१२) मा पत्रकारितमा खपत हुने जनशक्तिबारे रोचक लेख लेखेका छन् । उनले बेलायतमा सम्पन्न एउटा मत सर्वेक्षणको नतिजालाई उध्रृत गर्दै लेखेका छन्, ‘७७ प्रतिशत उत्तरदाताले पत्रकारिता गर्न सम्बन्धित विषय डिग्री आवश्यकता पर्दैन भन्ने राय प्रकट गरे ।’

अर्कोतिर, पत्रकारिता पढेकाहरूले पत्रकारिता गर्छन् नै भन्ने कुनै ग्यारेन्टी छैन । विश्वविद्यालयमा पत्रकारिता अध्ययन गर्नेहरूमध्ये औंलामा गन्न सकिनेले मात्र पत्रकारिता अपनाउने गरेका छेलोखेलो दृष्टान्त छ । बरू, रमाइलो कुरा के छ भने विश्वविद्यालयमा कानुन, साइन्स, वाणिज्य शास्त्रजस्ता अन्य विषय पढेका विद्यार्थीहरू पत्रकारितामा ओइरिएका छन् । पश्चिमी गोलार्द्धको अमेरिका र पूर्वी गोलार्द्धको नेपालमा यही ट्रेन्ड नभेटिने होइन ।

अन्य क्षेत्रबाट पत्रकारितामा जनशक्ति भित्रिनुलाई कतिपय विश्लेषकहरू राम्रो मान्छन् । उनीहरूको दृष्टिमा मेडिकल साइन्स, कानुन, साइन्स, राजनीतिशास्त्र, वाणिज्य शास्त्रजस्ता गैरपत्रकारिता क्षेत्रबाट जनशक्ति भित्रिँदा पत्रकारिता क्षेत्र धनी बन्न पुग्छ । उनीहरूले तत्तत् विषयमा पत्रकारिताको सीप र कला प्रयोग गरेर राम्रो खोजखनिज गर्न सक्छन्, जुन विशुद्ध पत्रकारको रिपोर्टिङभन्दा कयौं गुना बढी गहन र प्रभावकारी हुनसक्छ । पत्रकारितामा सीप र कलामात्र आवश्यक नभई सम्बन्धित विषयको गहिरो ज्ञान आवश्यक पर्ने विधा हो ।

पत्रकारिता नितान्त गतिशील पेशा भएकोले यसमा कार्यरत जनशक्ति पनि स्वाभाविक रूपमा गतिशील छन्, चलयमान छन् । पत्रकारितालाई आफ्ना प्यारो पेशा ठान्नेहरू केही समयमै रहर पूरा गरेर बाहिरिन्छन् भने कतिपय पत्रकारिता आफ्नो प्राज्ञिक अध्ययनको विषय नभए पनि उच्च इच्छाशक्तिका यस पेशामा समाहित हुन्छन् । त्यसैले पत्रकारितामा आगमन र वहिर्गमन दुवै दर उच्च देखिन्छ ।

पेशागत शुद्धीकरण र परिपक्कता हरेक पेशामा आवश्यक छ । यस दृष्टिले पत्रकारितामा पनि प्राज्ञिक श्रीवृद्धिको आवश्यकतालाई नकार्न सकिँदैन । शुरुवाती चरणदेखि नै पत्रकारिता खुल्ला विषय रहेकाले प्राज्ञिक डिग्रीलाई मात्र एकमात्र मानक मान्नचाहिँ गाह्रो छ । जगजाहेर नै छ, प्राज्ञिक डिग्रीको अतिरिक्त पेशागत निष्ठा, जिज्ञासाको उच्च ग्राफ, सम्बन्धित विषयमा गहिरो ज्ञान र कर्तव्यपरायणता हरेक पेशाका लागि अपरिहार्य छ । पत्रकारिता यसको अपवाद बन्न सक्दैन ।

धेरै पेशाकर्मीहरूले समयक्रममा वास्तविकता बुझ्दै गएका छन् । आफ्नो ‘करिअर’ लाई राम्रो बनाउन चाहनेहरूले यो तथ्यलाई आत्मसात गरिसकेका छन् । हरक्षण प्रतिस्पर्धात्मक बन्दै गएको बजारमा आफूलाई ‘सेलेबल’ बनाउन हरेक पेशाकर्मीले समयको आवश्यकता बुझ्दै गएका छन् र आफूलाई सोही अनुरूप ढाल्दै पनि गएका छन् । यससँगै पत्रकारितामा प्राज्ञिक डिग्री आवश्यक हो कि होइन भन्ने बहस पनि क्रमिक रूपमा मत्थर बन्दै गएको प्रतीत हुन्छ ।

[साभार: अन्नपूर्ण टुडे (वैशाख ८, २०७४)]


No comments:

Post a Comment