Sunday, May 28, 2017

समाजसेवाको मियो

-यमबहादुर दुरा

‘बच्चाको आँखाबाट दुनियाँलाई हेर्ने गर, दुनियाँ सुन्दर छ ।’ नोबेल पुरस्कार बिजेता भारतीय बालअधिकारकर्मी कैलाश सत्यार्थीको भनाइ मलाई ज्यादै प्यारो लाग्छ । बाल्यकालीन सम्झनाले मलाई पनि कुनै एउटा सुन्दर दुनियाँतिर लगेको अनुभूति हुन्छ  र त्यसै त्यसै बाल्यकालीन संसारमा हराउन पुग्छु । सम्झनाको  भेल उर्लिएर आउँदा पुराना पलहरू भुमरी पर्दै आँखा अघि नाच्न थाल्छन्  ।

बाल्यकालीन समयतिर फर्कँदा थुपै व्यक्तिहरूसँग मनले मितेरी गाँस्न पुग्छ । समाजसेवी  जिमु भीमबहादुर दुरा (वि.सं. १९८६–२०६९) मेरो मनमस्तिष्कमा छाल बनेर आउने व्यक्तिमध्ये एक हुनुहुन्छ । उहाँसँग जोडिएका यादहरू तालको पानीझैं छचल्किएर हृदयको अन्तरकुन्तर छुन आइपुग्छन् ।
सम्झना : २०५८ सालमा ठूलोस्वाँराको सरस्वती सदन माविमा आयोजित 'दुरा सेवा समाज' को आठौं वार्षिकोत्सव समारोहमा जिमु भीमबहादुर दुरा ।

भीमबहादुर दुरासँगको सम्झना मेरो शिक्षाराम्भको समयदेखि नै जोडिएको छ । हामीले ठूलोस्वाँरास्थित मुसेस्वाँराको कटेरो स्कुल (हालको आयुर्वेद औषधालय रहेको ठाउँ) मा साउँ अक्षरहरू सिक्दै गर्दा ‘दिलखुस’ हुने खालको एउटा खबर सुन्यौँ । त्यो २०३४ सालतिरको कुरा हो । टिनको छानो भएको नयाँ स्कुल बन्न लागेको खबर पायौँ । यसले हामी भुसुनाहरूमा उत्साहको तरङ्ग ल्याइदियो । यससँगै नयाँ स्कुलमा पढ्ने हतारो र हुटहुटीले सताइरह्यो । कहिले टिनको छानामुनि बसेर पढ्ने दिन कहिले आउला भन्ने कुराले हामीमा छटपटी बढ्दै थियो ।

हामी भुसुनाहरुको मनमा सपना-जपना जतिखेर पनि आइरहने नयाँ स्कुल बनाउने कार्यमा ब्रिटिश सेनाका कर्णेल जेपी क्रसको योगदानलाई बिर्सन मिल्दैन । स्कुलका लागि टिन र प्राविधिक सहयोग जुटाउन उहाँले संयोजनकारी भूमिका खेल्नुभयो । यता, स्थानीय तहमा नेतृत्वदायी भूमिकामा भीमबहादुर दुरा हुनुहुन्थ्यो । मलाई लाग्छ, त्यतिबेला भारतीय सेनाबाट पेन्सन पकाएर उहाँ भर्खरै स्वदेश फर्कनुभएको थियो ।

स्कुल उभ्याउनका लागि आवश्यक जनश्रम जुटाउने र सारा चाँजोपाँजो मिलाउने काम भीमबहादुर दुराको नेतृत्वमा भएको थियो । सुबेदार मेजर मनबहादुर दुरा (शिक्षक दुर्गाबहादुर दुराका पिता) को पनि यसमा दर्बिलो साथ र सहयोग थियो ।

ठूलोस्वाँराबासीको अथक परिश्रमपछि अन्ततः स्कुल तयार भयो । स्कुल बन्नुअघिको चिहानघारी अब विद्या–मन्दिरको रूपमा चम्कन थाल्यो । स्कुल बनाउने क्रममा जमिन खन्दा थुप्रै मानव कंकाल निस्केका थिए । ती दृश्य यही आँखाले देखेको हो । चिहानघारीलाई विद्या–मन्दिर बनाउन ठूलोस्वाँराबासीले धेरै पसिना बगाएका छन् । उनीहरूको जनश्रमको गाथा स्कुलको ढुङ्गा र माटोको कण–कणमा लुकेको छ । त्यसबेला बेगनास तालबाट टिन बोकेर स्कुलको छानो छाएका पलहरू ठूलोस्वाँराबासीको मनमस्तिष्कमा ताजै छ । अनेक दुःखकष्ट झेलेर शिक्षाको मन्दिर खडा गर्ने श्रमसाध्य व्यक्तिहरूको अग्रदस्तामा भीमबहादुर दुरा उभिनुभएको थियो ।

स्कुल तयार भएपछि उहाँ स्कुलमा नियमितजसो देखिन थाल्नुभयो । विद्यार्थीहरूलाई लाइनमा उभ्याएर फौजको कमाण्डर शैलीमा उहाँले 'लेक्चर' दिनुहुन्थ्यो । उहाँको बोलीमा विनयशीलता कम हुकुम बढी भएको प्रतीत हुन्थ्यो ।

‘सबैजना ट्याममा स्कुल आउला, कोइ भागेर घर नजाला, कसैले स्कुलमा मिठाइको पोका नल्याउला, कसैले पनि साथीसित झगडा नगर्ला, स्कुल छुट्टी भएपछि सरासर घर जाला, कोइ पनि पाखुरीको रुखमा नचढ्ला, सफा सुग्घर भएर स्कुल आउला’, उहाँको मुखारविन्दबाट यस्ता यस्ता हुकुम निस्कन्थे ।

‘कुन विद्यार्थी आधा दिनमै स्कुलबाट भाग्यो’, ‘कुन शिक्षकले नपढाइकन घरतिर टाप कस्यो’ जस्ता कुराहरू निकै ख्याल गर्नुहुन्थ्यो । स्कुल बङ्क गरेर भाग्ने र अन्य खालका बदमासी गर्नेहरूको उहाँले सातो खाइदिनुहुन्थ्यो । उहाँलाई देखेर शिक्षक र विद्यार्थी दुवै थर्कमान हुन्थे ।
त्यो उत्सवमय क्षण : २०४३ सालमा सिंदुरे ढुङ्गामा आयोजित फूटबल प्रतियोगिताको समपान समारोहमा पुरस्कार वितरण गर्नुहुँदै तत्कालीन सिंदरे गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्च क्रमश : क्याप्टेन बखानसिंह दुरा र भीमबहादुर दुरा । तस्बिर : इन्द्रबहादुर दुरा ।


अघिपछि चर्को स्वरमा बोलेर सातो खाए पनि व्यवहारले सबैलाई माया गर्नुहुन्थ्यो । त्यसमा पनि शिक्षकलाई माया र सम्मान दुवै दिनुहुन्थ्यो । नाच–घाँटुको ख्वाइजस्ता भोजभतेरमा सबैभन्दा पहिले शिक्षकलाई खुवाउने प्रबन्ध मिलाउनुहुन्थ्यो । उहाँ भान्छेरीलाई कड्केर आदेश दिनुहुन्थ्यो, ‘मास्टर पाटीलाई पहिले  खुवाउनुपर््यो । 'गुन्द्रीमाथि कम्बल राखेर माड्सापहरूलाई बसाइन्थ्यो । उहाँ शिक्षकहरूतिर फर्केर सिंह गर्जेजस्तै स्वरमा भन्दै जानुहुन्थ्यो, ‘मास्टर पाटी ! लाज नमानीकन खानू, थपीथपी खानू, पेटभरि खानू ।’


भीमबहादुर दुरा हठी स्वभावको हुनुहुन्थ्यो । उहाँ जिम्मावाल भएकोले उहाँको जीवनधारामा राणाशासनको विरासत थियो । यसका अतिरिक्त फौजी कानुन-काइदामा चलेको व्यक्ति हुनुहुन्थ्यो । उहाँ भारतीय सेनाको हवल्दार हुनुहुन्थ्यो । उहाँको व्यवहारमा जिम्मुवाली संस्कार र फौजी जीवनशैलीको ‘फ्युजन’ भेटिन्थ्यो । चर्को स्वरमा बोलेर मानिसलाई अह्राउने–कजाउने उहाँको बानी थियो ।

कसैले उहाँको विचारमा विमति जनाएमा ठाउँका ठाउँ कुरा समातेर झम्टिन पनि पछि पर्नुहुन्नथ्यो । उहाँको चट्टानी स्वाभावका अगाडि कसैको तर्कले काम गर्दैनथ्यो । ‘कालको ओखती हुँदैन, हुकुमको जवाफ हुँदैन’ भन्ने उखान चरितार्थ हुन्थ्यो । उहाँको स्वाभावलाई देखेर कसै कसैले तानाशाह पनि भन्थे । उहाँमा निहित यतिविधि कडापन निजी स्वार्थका थिएन । त्यो कडा मिजासले समाजको विकास ताकेको थियो ।

भीमबहादुर दुराको अर्को रोचक स्वाभाव थियो । उहाँले बाटोघाटोमा चुपचाप हिँड्न जान्नुभएकै थिएन । आफ्नो बाटोमा पर्ने सबै चिनेजानेका व्यक्तिलाई टाढैबाट बोलाउँदै, हल्लाखल्ला गर्दै हिँड्ने उहाँको आदत थियो । उहाँ बाटोघाटोमा हिँडेको अलक्कै थाहा हुन्थ्यो । उहाँ हल्लाखल्ला गर्दै आउनुभएको देखेर मैदान (ढुङ्गाना गाउँ) को एकजना बज्यैले भनेकी थिइन् रे : ‘आइपुग्यो, भोटे काग’ ।

उहाँको शब्द उच्चारणशैली आफ्नै खालको थियो । चलनचल्तीका कतिपय नेपाली र अंग्रेजी शब्दहरूलाई भिन्न किसिमले उच्चारण गर्नुहुन्थ्यो । जस्तै : निर्णयलाई निर्लया, 'सर्टिफिकेट' लाई साठीपिकेट, 'ब्रेक अप' लाई बिर्काप (स्कुलमा एक बजे हुने हाफ छुट्टीको समय), 'फल इन लाइन' लाई फालिन भन्नुहुन्थ्यो । उहाँले अपभ्रंशित रूपमा बोल्नुभएका शब्दहरूका शुद्ध उच्चारण धेरै पछिमात्र थाहा भयो । उहाँको मौलिकता झल्कने यस्ता शब्दहरूलाई सम्झँदा अहिले पनि रोमाञ्चक अनुभूति हुन्छ ।

घरमा आउने पाहुनालाई बिमुख नपठाउने भीमबहादुर दुराको स्वभाव थियो । उहाँको अतिथि–सत्कार गर्ने तरिका ज्यादै उच्चकोटिको थियो । उहाँ पाहुनाको स्वागत–सत्कारमा असाध्यै कुशल र उदारमना व्यक्ति हुनुन्थ्यो । घरमा आएका पाहुनाले खान सकोस्–नसकोस्, थालभरि भात र कचौराभरि मासु टक्र्याइन्थ्यो । पाहुना प्रफुल्लित भएर फर्कन्थे । यस्तै न्यानो आतिथ्य पाएर होला, २०४२/०४३ सालतिर लैला माडेज नामकी विदेशी महिलाले उहाँकै घरमा बसेर दुरा जातिबारे अध्ययन पूरा गर्नुभएको थियो ।

कुनै समयमा ठूलोस्वाँरामा खानेपानीको उपलब्धता सहज थिएन । मकैस्वाँराको काउरे पँधेरा सबैको पानीको स्रोत थियो । ठूलोस्वाँरामा ठूलो जनसंख्यालाई आवश्यक पर्ने पानीको अभाव हटाउन २०३७ सालतिर खानेपानीको योजना अघि सारियो । केउरानी नजिकको गह्रौं खोलाबाट पानी ल्याउने कार्यका लागि जनपरिचालन गर्ने कार्यको अगुवाइ पनि भीमबहादुर दुराले नै गर्नुभयो ।

 ठूलोस्वाँरामा आयुर्वेद औषधालय तथा हुलाक कार्यालय उहाँको महत्वपूर्ण भूमिका रह्यो । नयाँ भवन यस दिशामा शिक्षक लोकबहादुर दुराले खेल्नुभएको रचनात्मक भूमिकालाई कम आँक्न मिल्दैन । नयाँ स्कुल बनेको लगभग १७ वर्षपछि त्यही ठाउँमा आधुनिक शैलीको अर्को स्कुल भवन खडा गर्न ठूलोस्वाँराबासी कस्सिए । २०५२ साल सम्झौता भई २०५५ सालमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।  नयाँ भवन पहाड गुठी (हिल ट्रष्ट) को आर्थिक तथा प्राविधिक सहयोगमा नयाँ भवन बनेको थियो ।

समयले माग गरेको नयाँपन र प्रगतिशीलतालाई सम्बोधन गर्दै नयाँ भवन खडा हुुनुमा धेरै गन्यमान्य व्यक्तित्वहरूको साथ र सहयोग रह्यो । क्या. बखानसिंह दुरा (वि.सं. १९७१–२०७०), भीमबहादुर दुरा (मकैस्वाँरा), स्थानीय शिक्षक लोकबहादुर दुरा एवम् जेपी क्रसको आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका रह्यो । भवन निर्माण प्रक्रियाको मियोको रूपमा  भीमबहादुर दुरा नै रहनुभएको थियो । उक्त नयाँ भवन २०७२ साल वैशाखको भूकम्पबाट बिग्रन पुगेको छ ।

उहाँ एउटा असल सामाजिक प्राणी हुनुहुन्थ्यो । उहाँ सामाजिक जीवनबाट टाढा रहेर घरको सुखीधन्दामा कहिल्यै पनि सीमित हुन चाहनुभएन । पारिपारिक दायरामा आफ्नो दिनचर्या सीमित गरेर 'स्वायन्त सुखाय' ढङ्गमा जीवन गुजार्न उहाँले कहिले रुचाउनुभएन । सामाजिक गतिविधि र सामाजिक उतारचढावहरूमा गहिरो चासो–खाँचो राख्नुहुन्थ्यो । पेन्सन पकाएर घर फर्केदेखि उहाँले स्कुलसँगको नाता टुटाउनु भएन । उहाँ जीवनको अन्त्य कालसम्म पनि सरस्वती सदन माविको विद्यालय व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो ।

विदेशी सेनामा भर्ती हुने क्रममा दुरा समुदायले पहिचानको संकट भोगेको थियो । भारतीय तथा ब्रिटिश सेनामा भर्ती हुने क्रममा दुरा थर लेखाउँदा भर्तीमा नलिने अवस्था थियो । यो समस्या दुरा समुदायको रोजीरोटीको मात्र समस्या थिएन, जातीय पहिचानको संकटको रूपमा पनि खडा भएको थियो । तत्कालीन अग्रदस्तामा रहेका व्यक्तित्वहरू समस्याको निकास खोज्दै थिए ।

यही मामिलालाई लिएर २०३७ सालको पुसमा क्या. बखानसिंह दुरा, भीमबहादुर दुरा, सुबेदार मेजर मनबहादुर दुरा, कमानसिंह दुरा र लोकबहादुर दुरा काठमाडौं आउनुभयो । उहाँहरूले राजदरबार, परराष्ट्र मन्त्रालय, भारतीय राजदूताबास तथा बेलायती राजदूताबासमा ज्ञापनपत्र पेश पेश गर्नुभयो । यस कार्यमा समाजसेवी तथा राजनीतिज्ञ हरिप्रसाद अधिकारीले सहयोग गर्नुभएको थियो । उहाँहरूको प्रयास सार्थक रह्यो । त्यसपछि दुरा युवाहरू भारतीय तथा बेलायती सेनमा दुरा थर लेखाएर भर्ती हुन सक्ने भए ।

काठमाडौँ गएको मौका पारेर उहाँहरूले पशुपतिको मृगस्थलीमा पुगेर योगी नरहरिनाथलाई भेटेर दुरा समुदायको इतिहासको स्रोत र सन्दर्भ खोज्नुभएको थियो । महत्वपूर्ण कागजातहरूको दस्ताबेजीकरण (अभिलेखीकरण) गर्ने कार्यमा कार्य पनि भीमबहादुर दुरा धेरै अगाडि देखिनुभएको छ । उहाँको संग्रहमा दुरा जातिको इतिहाससम्बन्धी ऐतिहासिक दस्ताबेजहरू छन् । उहाँको जीवनकाल अन्त्य भइसकेको अहिलेको अवस्थामा ती दस्ताबेजलाई जोगाउने विषय एउटा गम्भीर सवाल बनेको छ ।

क्याप्टेन बखानसिंह दुरा र भीमबहादुर दुरा २०३९ सालमा तत्कालीन सिंदुरे गाउँ पञ्चायतको क्रमशः प्रधानपञ्च र उपप्रधानपञ्च बन्नुभयो । उहाँहरूकै कार्यकालमा सिंदरे ढुङ्गाले काँचुली फेरेको थियो । त्यही समयमा सिंदुरे ढु्ङ्गा वरिपरि पर्खाल लगाउने र सिंदुरे ढु्ङ्गा नजिक गाउँ पञ्चायत भवन बनाउने काम सम्पन्न भएको थियो । सिंदुरे ढु्ङ्गाभन्दा पश्चिमतिर रहेको चिम्मु भन्ने ठाउँमा फुटबल मैदान बनाउने कामको शुरुवात पनि त्यतिबेलै भएको थियो । हेर्दा सामान्यजस्तो लागे पनि यी काम हाम्रा ऐतिहासिक विरासतलाई जीवन्त राख्ने दिशामा गौरवशाली कदम थिए ।

‘दुरा सेवा समाज’ को सिफारिसमा २०५८ सालतिर तत्कालीन ‘राष्ट्रिय जनजाति विकास समिति’ को सदस्यमा नियुक्त हुनुभएका भीमबहादुर दुराले सरकारी निकायमा रहेर भिन्न किमिसले जनसेवा अवसर पनि पाउनुभयो । तर त्यो एकप्रकारले आलङ्कारिक पद भएकोले उहाँबाट धेरै आशा गर्ने ठाउँ भने थिए ।

उहाँको राजनीतिक चेत अलि धमिलो भएको भान हुन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि धेरैको राजनीतिक कित्ताकाट भए पनि उहाँको कुनै प्रष्ट राजनीतिक कित्ता देखिएन । कतिपयले उहाँ नेपाली कांग्रेस समर्थित रहेको र पछि मूल सिद्धान्तबाट  विचलित हुनुभयो भन्ने टीका–टिप्पणी पनि नसुनिएको होइन । उहाँले समाजलाई दिनुभएको योगदानका अगाडि यस्ता कुरा महत्वहीन लाग्छन् ।

एकजना व्यक्तिको रूपमा उहाँभित्र स्वाभाविक रूपमा थुप्रै कमीकमजोरी थिए होलान् । तर पनि समाजको लागि नपाउँदो व्यक्ति हुनुहुन्थ्यो । उहाँ त्यस क्षेत्रको घनघोर कडा व्यक्तित्व हुनुहुन्थ्यो । एकै रातको चोट्टे व्यथाले २०६९ साल साउन १७ गते परलोक हुनुभयो ।

एक समय यस्तो थियो, भीमबहादुर दुरा बोलेपछि अरू कसैले प्रतिवाद गर्ने अवस्था थिएन । गाउँघर अनावश्यक वादविवाद र किचलोबाट मुक्त थियो । त्यसबेला गाउँ एकढिक्क थियो । अहिले त्यस्तो छैन । लोकतान्त्रिक परिपाटीमा सबै स्वतन्त्र भएका छन् तर गाउँमा एकता छैन । कहिलेकाहीँ आफैंसँग प्रश्न गर्न मन लाग्छ, 'समाजको मियो ढलेकोले यस्तो अवस्था आएको त हैन ?'

[अद्यावधिक: २०७४।०३।१०]

No comments:

Post a Comment