Friday, November 30, 2018

तुर्लुङ भीरबारी

-यमबहादुर दुरा

कुनै समयमा गाउँघर लोकगीतको खानी नै थियो । रोदीघर, मेलापात, हाटबजार जताततै लोकभाका गुञ्जिन्थे । माटो सुगन्ध भेटिने ती गीत हाम्रै  सुखदुःखका उपज थिए । ती लोकाभाकमा हाम्रै राउरानी र रेलसाइहरूका सुखदु:खका गाथा समेटिन्थे ।

त्यतिबेलाका गीतमा धानको बिट्टा बोकेर उकाली चढ्दाको सुस्केरा प्रतिध्वनित हुन्थ्यो, माया लाएर बीचैमा पल्टन जाने लाहुरेको माया छचल्किन्थ्यो,  गाउँ छाडी मधेशतिर बसाइँ सर्ने साथीसँगीको सम्झना वर्षिन्थ्यो, घरको दुःखले मुगलान जाने मौलानीको मायामा विरह पोखिथ्यो  । गीतमा कुनै बनावटी कुरा हुन्थेन ।


समयक्रमसँगै गाउँघरमा रेडियो र टेलिभिजन भित्रिन थाले ।  यस्ता विद्युतीय सञ्चार माध्यमले गाउँका रैथाने लोकगीत जन्मने प्रक्रियालाई शिथिल बनाउँदै लगे ।  त्यसमा पनि गाउँमा भित्रिएका 'साउण्ड सिस्टम' र 'रेकर्डेड म्युजिक' ले त झन स्थानीय मौलिक लोकगीतको रचनागर्भ नै भताभुङ्ग बनाइदिए।

अहिले स्थानीयस्तरमा लोकगीत जन्मने प्रक्रिया नै बन्द भएको छ । अब माटोको सुवास मगमगाउने रैथाने लोकगीत गाउँघरमा सुन्न पाइँदैन ।

गाउँघरमा हुने सामाजिक जमघटमा व्यापारिक प्रयोजनका लागि शहरमा उत्पादन भएका गीतले ठाउँ लिएका छन् । यसको आशय शहरमा बनेका गीत, रेडियो, टेलिभिजन तथा 'यु ट्युब' प्रति नकारात्मक भावना पोख्नु होइन, रैथाने लोकगीतको कुरा गर्दा यो प्रसंग तानिएर आएको मात्र हो । आधुनिक सञ्चार माध्यम समयको उपज हुन् । यिनको खेदो खन्नुपर्ने कुनै कारण नै छैन ।

दुराडाँडा सेरोफेरोका आशुकविका गलामा गुञ्जिएका मौलिक लोकगीतका केही प्रसंगहरू :

 मकैस्वाँराको काउरे पँधेरा । बटुवा र गाउँले तिर्खा मेटाएर धर्म कमाएको पँधेरा । अहिलेको जस्तो टोल टोलमै धारा नहुँदा उबेलामा चन्डीगाउँदेखि गैरीगाउँसम्मका पधेर्नीले हुल बाँधेर पानी भने ठाउँ थियो, काउरे पँधेरा ।

दशैंमा हालिने रोटेपिङले काउरे पँधेराको रौनक अरू बढादिन्थ्यो । यति प्यारो ठाउँ हाम्रा लोककविहरूको मनमस्तिष्कबाट ओझेल कुरै थिएन । काउरे पँधेरामा रहेको दोकानलाई विम्ब बनाएर कुनै समयमा  यस्तो गीत गुञ्जिएको थियो  : ‘काउरे दोकान बन, यो माया नबोल्दा रुन्छ मेरो मन’ ।

अल्लोगाउँ पल्लोगाउँबीच आवतजावत हाम्रो पुस्तैनी परम्परा हो । एक गाउँ र अर्को गाउँको चेलीबेटी-माइतीको आउजाउले माया–ममताको पुल खडा हुन्थ्यो । जात्रा, नाचघाँटुको जमघटमा आउँदा जाँदा बाटो छेकिन्थ्यो । पाहुना बनाएर राखिन्थ्यो । मीठोपीठो जे हुन्छ, पकाएर प्रेमपूर्वक खुवाइन्थ्यो ।

माया–ममताको यस्तै नातासम्बन्धमा जेलिएर पुरानकोटका चेलीबेटीहरूले तुर्लुङकोटका माइतीको सम्झनामा गीत रचेका रहेछन् : ‘तुर्लुङकोटको अमरे-हरि, हुन्न भेट ठूल्खोला नतरी’ । ठूल्खोला भन्ने ठाउँ कुवापानी र फोस्रेबीच रहेको सानो खोला हो ।  दुई पंक्तिको गीतले नै धेरै कुरा भनिसक्यो । अरु धेरै कुरा किन भन्नु पर्‍यो र ?

यता, तुर्लुङकोटकाका चेलबेटीहरू पनि के कम ! पुरानकोटका माइतीको सम्झनामा एउटा गीत रचिहालेछन् : ‘तिँदु पाक्यो वनैको लाखुलाई, ज्यादी माया पुरानकोट ठागुलाई’ ।

कुनै समयमा गाउँपिच्छेका चेलीबेटी-माइतीका गीत अस्तित्वमा आएका थिए ।छिमेकी गाउँ र तुर्लुङकोट र भाँगुका चेलीबेटी-माइतीको रस्तीबस्ती राम्रै छ । यस्तैमा भाँगुका माइतीलाई लक्षित गरेर तुर्लुङकोटका चेलीबेटीहरूले  यस्तो गीत जोरेका रहेछन् : ‘भाँगु गाउँको ख्यालसाइ र ठूले, लाउँछु माया भन्दैमा गइभुले’ ।

एकैछिन च्यानपाटा बजारतिर लागौँ । मैले कसैको मुखबाट एउटा गीत सुनेको थिएँ : ‘भूँडी ठूलो धुल्पुरे माइलाको, बोली मीठो ढुङ्गाना साइलाको’ । यो गीत धेरैका लागि बिरानो बनिसक्यो । अहिले आएर  त सन्दर्भविहीन पनि बनिसक्यो । तर अलिकतिमात्र अतीततिर फर्कने हो भने यसबाट तत्कालीन च्यानपाटा बजारको एउटा मीठो सम्झना आँखासामु आउँछ ।

धुल्पुरे माहिला काभ्रेको धुलिखेलबाट दुराडाँडाको च्यानपाटा बजारमा व्यापार गर्न आएका व्यक्ति हुन् । उनी व्यापारमा निकै सफल भए । दीर्घराज श्रेष्ठ औपचारिक नाम भएका धुल्पुरे माहिलाको ज्यान जति बलिष्ट थियो, उनको इज्जत र प्रतिष्ठा पनि उति नै उच्च थियो । उनले २०७१ सालमै संसारसितको नाता तोडेर परलोक पुगिसकेका छन् ।

च्यानपाटा बजारमा सधैँजसो भेटिने ढुङ्गाना साइला (हेम ढुङगाना) पनि अहिले त्यहाँ भेटिँदैनन् । उनी २०४४ सालतिरै नवलपरासी झरेर मधेशको तातो हावा खाइरहेका छन् । समय निष्ठुर छ । उसले हिजोको च्यानपाटा बजारको रूपरङ्ग अर्के बनाइदिएको छ । समयले धुल्पुरे माइला र ढुङ्गाना साइलालाई त्यहाँबाट तितरबितर बनाइदियो । धुल्पुरे माइला र ढुङ्गाना साइला च्यानपाटामा नभेटिए पनि यो गीतले कम्तीमा त्यतिबेलाको च्यानपाटा बजारको झझल्को भने दिइरहेको छ ।

केउरानी । तरेली परेको मनमोहक खेत । बर्खामा धान रोप्ने, हिउँदोमा गाइवस्तु चराउने ठाउँ । गोठालो जाँदा साथीसंगीसँग खेल्ने, दौडिने, उफ्रिने-पाफ्रिने ठाउँ । कुनै समयमा यो एउटा जिउँदो जाग्दो ठाउँ थियो ।  यो ठाउँसँग धेरैको सम्झना जोडिएको छ । केउरानीबारे एकताक यस्तो गीत प्रचलित थियो : 'केउरानीमा जो हिँडे पनि, लाग्छ झल्को माया हो भनी' ।

मकैस्वाँराका गैरीसरे दाइ हामीबीच छैनन् । तर उनका खाँतिर बनेको गीत कतिपयको मनमस्तिष्कबाट अझै हराएको छैन : ‘गैरीसरे दाइ, सम्झना गरेर नबिर्सनू है’ । यो गीत कसरी बन्यो, यसको आफ्नै कथा होला । यसले कम्तीमा गैरीसरे दाइको सम्झना र त्यस समयको पदचापलाई मेटिन दिएको छैन । धन्य छ, लोकगीतका आशुकविहरू ।

सबैलाई जगजाहेर भएकै कुरा हो, जिन्दगी हाँसोखुसी, सुख–दुःख र मिलन–बिछोडको संग्रह हो । यसैको जगमा हाम्रो जिन्दगी अडिएको छ । सुख र दुःखलाई जोख्ने कुनै तुलो हुन्थ्यो भने दुःख र पीरले नै पल्लाभारी बनाउने थियो होला  । पीरले जीवनभर छोड्दैन । यही वास्तविकतालाई  चित्रण गर्ने गीत गाउँमा सुनेको थिएँ : ‘तुर्लुङ भीरबारी, लाएको मायाले गयो पीर पारी’ ।

यहाँ प्रस्तुत गरिएका सबैजसो गीत थोरैमा पनि ३० वर्ष पुराना छन् ।  यी गीतमा हाम्रा लोकजिन्दगानीको कहानी लुकेका छन्, इतिहास छिपेको छन् । अब स्थानीय पात्र र ठाउँको वर्णन भएको ती स्वफूर्त गीत सितिमिति भेटिँदैन । धेरैको  स्मृतिपटलबाट यी लोकभाका बिलाइसकेका छन् ।  यस्ता आनगिन्ती गीत समयको गर्भमा हराइसके ।

सम्झनाको किरेमिरे छायाँमा यी गीत यदकदा झुल्किन आइपुग्छन् । यी गीत सुन्दा पुराना सम्झनाका बाढी उर्लिएर आउँछन्  । फेरि पनि पुरानै दुनियाँमा पुगेको अनुभूति हुन्छ । मन आधा सञ्चो, आधा बिसञ्चो हुन पुग्छ । तर पनि मनले यस्तै गीत सुन्न मन पराउँछ । यी प्रसंग सम्झँदा मनमा अलिकति भए पनि शान्ति मिल्छ ।

त्यसै भनिएको होइन रहेछ, ‘आगोले पोलेको घाउ आगोमै सेकाउँदा छिटो निको हुन्छ’ ।

2 comments: