Tuesday, January 1, 2019

सन् २०१८ लाई सरसर्ती नियाल्दा


-यमबहादुर दुरा

समय निरन्तर गतिवान् छ । समयको गतिशीलतासँगै क्यालेण्डरका पानाहरू पल्टिने क्रम जारी छ । यही क्रममा सन् २०१८ का सम्पूर्ण पाना पल्टिसके । अब सन् २०१८ का लागि निर्मित क्यालेण्डरको हैसियत ऐतिहासिक दस्ताबेजभन्दा बढी रहने छैन । यस लेखमा हामीमाझबाट अलग्गिएर भर्खरैमात्र अतीत बनेको सन् २०१८ लाई सरसर्ती नियाल्ने प्रयास गरिएको छ ।

विश्व राजनीतिक रङगमञ्चमा घटित विभिन्न घटनाक्रमका बीचमा नेपालले पनि आफ्नो स्थान सुरक्षित राख्यो । संघीयता लागू हुने चरणमा रहेको अवस्थामा भएको निर्वाचनमा नेपालमा कम्युनिष्ट घटकले  दुई-तिहाइ बहुमत प्राप्त गरे । नयाँ वर्षको पूर्वार्द्ध(फेब्रुवरी १५) मा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कम्युनिष्टको एकमना सरकार बन्यो ।

सन् २०१८ भरि नै दक्षिण अमेरिकाको कम्युनिष्ट मुलुक भेनेजुएला चर्चामा रह्यो । आर्थिक मन्दी झेलिरहेका भेनेजुयाली नागरिकले हैरानी खेपिरहे । हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेपछि त्यहाँका नागरिक देश छाडेर छिमेकी मुलुकमा जाने क्रम चलिरह्यो । टेलिभिजनका पर्दा र अखबारका पानाहरू त्यहाँका नागरिकले झेल्नुपरेको अर्थतन्त्रसँग सम्बन्धित पीडाका अनन्त र अवर्णनीय कथाबाट रङ्गिरहे ।


भेनेजुएला सन् २०१० देखि निरन्तर आर्थिक संकटमा फसिरहेको छ । त्यहाँको मुद्रा बोलिभार चर्को किसिमले अवमूल्यन भइरह्यो । महंगीले सर्वसाधारण नागरिकको ढाड सेकाइरह्यो । सँगसँगै बेरोजगारी पनि उर्लिएर गयो । नागरिकले भोगेका आर्थिक मारबाट मुक्ति दिलाउन सरकारले ठूलो मूल्य (एक लाख) को मुद्रा निष्काशन गर्नेलगायतका धेरै कदम चाल्यो । तर ती सबै प्रयास प्रभावहीन बने । त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनको कम्युनिष्ट सत्ता जनआक्रोशको केन्द्र बनिरहे ।


दक्षिण अमेरिकीका अर्का कम्युनिष्ट मुलुक क्युबा पनि एक मन्द तर जबरस्त राजनीतिक परिवर्तनबाट गुज्रियो । राउल क्याट्रोले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरे । उनी फिडेल क्यास्ट्रो (सन् १९२६—२०१६) का भाइ हुन् । क्रान्तिकारी छवि बनाएका फिडेल क्यास्ट्रो सन् १९५९ देखि २००८ सम्ममा निरन्तर सत्तामा रहे, जसले अमेरिकासँँग सधैँभरि टक्कर लिइरहे ।

यी कम्युनिष्ट तानाशाहका अडानलाई धेरैले पहरोसँग कुइनो जुधाएको भनेर टिप्पणी गरिरहे तर कहिल्यै हार्न नजान्ने उनको आँटप्रति विश्वसमुदाय दङ्गदास बनिरह्यो । उनै क्रान्तिकारी व्यक्तित्वका भाइ दाइको ठाउँमा आसिन रहे । अन्ततः राउल क्याट्रोले पनि पूर्वघोषित रूपमा अप्रिलमा पदत्याग गरे । यससँगै क्युबामा लगभग छ दशक लामो क्याट्रो युगको अन्त्य भयो । त्यहाँ राजनीतिक व्यवस्था नबलिए पनि वंश भने बदलियो ।

प्रेम र घृणाको सम्बन्धमा रहेका विश्व शक्तिसम्पन्न मुलुक चीन र अमेरिकाको साइनोले सन् २०१८ मा अलिक परक धार समात्यो । विगतमा चीनमा मानव अधिकारको कमजोर रेकर्ड, तिब्बत तथा ताइवानको स्वतन्त्रताजस्ता मामिलालाई अमेरिकाले जोडतोडका साथ उठाउँथ्यो । चीनले त्यसको प्रतिवाद गर्नमै समय खर्च गर्‍थ्यो ।

 मूलतः राजनीतिक मामिलामा रस्साकसी चल्ने यी शक्तिसम्पन्न मुलुकका लागि यस पटकचाहिँ अर्कै विषय शिरदर्द बन्यो । त्यो हो, व्यापारिक विषय । यद्यपि, व्यापारलाई पनि राजीतिकै हिस्सा मान्न नसकिने होइन । चीन र अमेरिका आफैंमा ठूला व्यापार साझेदार हुन् । व्यापारिक वस्तुहरूमा लगाइने करको विषयलाई लिएर दुई मुलुकबीच चर्काचर्की भइरह्यो, भनाबैरी चलिरह्यो । व्यापारिक मामिलाबाट विकसित यस घटनाक्रम ‘व्यापार युद्ध’ नामले परिचित छ ।


सूचना प्रविधिको दुनियाँ सन् २०१८ चर्चाभन्दा बाहिर रहन सकेन । बेलायतस्थित राजनीतिक परामर्शदाता संस्था 'क्याम्ब्रिज एनालिटिका' ले लाखौं प्रयोगकर्ताको प्रोफाइलबाट निजी जानकारी लिएको भेद खुल्यो । यस प्रकरणमा नितान्त राजनीतिक प्रयोजनका लागि लाखौं मानिसका व्यक्तिगत विवरण अनुमतिबिनै प्रयोग गरिएका थिए । यो घटनाले 'फेसबुक' लगायतका सामाजिक सञ्जालबाट मानिसको गोपनीयता जतिबेला पनि भङ्ग हुनसक्छ भन्ने सन्देश दिएको छ ।

बेलायती राजखानदान चर्चाबाहिर रहन सक्दैन । राजकीय जीवनमा धेरै उतारचढाव व्यहोरेको बेलायतको राजखानदानका लागि सन् २०१८ उल्लेखनीय रह्यो । कतै प्रशंसा त कतै आलोचना भोगेका राजकुमार ह्यारीले यसै वर्षको मे १९ तारिखमा घरबार जोडे । लामो प्रेम प्रसंगपछि उनले अमेरिकी अभिनेत्री मेघन मार्कललाई जीवनसाथी रोजे, जो  अगाडि नै वैवाहिक जीवन भोगिसकेकी थिइन् । उनै अभिनेत्रीसँग राजकुमार ह्यारी एक भव्य समारोहबीच विवाह बन्धनमा बाँधिए ।

विवादास्पद जीवनशैलीका कारण असीमित मिडिया कमरेज पाएकी बेलायती राजकुमारी डायनाका छोरा भएकाले पनि हुनसक्छ, ह्यारीको वैवाहिक प्रसंग निकै चर्चामा रह्यो । यद्यपि, ह्यारी स्वयं धेरै हिसाबले सेलिब्रिटी हुन् । उनको चर्चाका लागि उनको कर्म नै काफी छ ।

सधैँभरि सत्ता र शक्तिको वृत्तमा  घुमिरहने रुसी राजनीतिज्ञ भ्लादिमिर पुटिन यस वर्ष पनि चर्चामा रहे । कहिले अमेरिकासँग पौठेजोरी खेलेर त कहिले आन्तरिक राजनीतिक बाघचालमा बाजी मारेर उनी बरोबर चर्चामा आइरहन्छन् । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति हुँदै सन् सन् १९९९ देखि निरन्तर सत्ता र शक्तिमा रहिरहेका पुटिन मार्चमा चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए । पछिल्लो घटनाक्रमले उनको राजनीतिक सौर्यको थप परिचय दिएको छ ।

उता, लामो समयदेखि एकअर्काविरुद्ध धम्कीको भाषा बोलिरहने उत्तर कोरिया र अमेरिकाको सम्बन्धले सन् २०१८ नयाँ मोड लियो । यी दुई मुलुकले दुनियाँलाई चकित तुल्याउने गरी मित्रताको हात बढाए ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा जुन १२ तारिखमा भेटवार्ता गरे । एकअर्कालाई देखिनसहने यी नामुद दुस्मनहरूले अंगालो हालेका र हात मिलाएका तस्बिर र भिडियो फुटेज विश्वभर भाइरल भए ।

बर्माका रोहिज्या मुस्लिम समुदायले भोग्नुपरेका मानवीय समस्या सन् २०१८ मा पनि यथावतै रह्यो । सन् १९४८ देखि नै भुसको आगो बन्दै आएको रोहिज्या मामिला सन् २०१६ आगोको लप्काजस्तै बन्न थाल्यो । हिंसा चर्कन थाल्यो । उनीहरूमाथि हिंसाको श्रृङ्खला चलिरह्यो ।
रोहिज्या समुदायका कतिपय सदस्यलाई जिउँदै जलाइएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आए । हिंसाको श्रृङ्खला निरन्तर चुलिँदै जाँदा उनीहरू आफ्ना देशमा बस्नै नसक्ने भएपछि देश छाड्न बाध्य भए । अहिले करिब सात लाखको संख्यामा रोहिज्या मुस्लिम छिमेकी देश बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अभिलेख छ ।

रोहिज्या मामिलामा वर्माका नेतृ आङसाङ सुकी नराम्ररी तानिइन् । उनीमाथि रोहिज्या समुदायले भोग्नुपरका मानवीय संकट समाधानका लागि उचित प्रयास नगरेको मात्र होइन, बेवास्ता गरेको आरोपसमेत लाग्न थाल्यो । यसले उनको उज्यालो छवि धुमिल बनायो । अन्तर्राष्ट्रिय समुदायमा उनको व्यापक आलोचना शुरु भयो । उनले पाएका मानसम्मान खोस्नुपर्ने माग उठ्न थाल्यो ।

नभन्दै केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनलाई दिएको सम्मान फिर्ता लिएको घोषणा गरे । ती संस्थाले उनलाई जसरी सम्मान गरे, त्यसरी नै अपमान पनि गरे । यसबारे उनको धारणा बाहिर आएको पाइँदैन । तर एक समयमा मानव अधिकार र लोकतन्त्रका प्रतिमूर्ति मानिएकी आङसाङ सुकी हेर्दाहेर्दै एक बदनाम पात्र बन्न पुगिन् ।

उनको बद्नामी यतिसम्म चुलियो, शान्तिका लागि सन् १९९१ मा प्राप्त गरेको नोबेल पुरस्कार समेत फिर्ता गर्नुपर्ने माग उठ्यो । तर नर्बेजियन नोबेल पुरस्कार कमिटिले स्पष्ट भाषामा भन्यो—दिइसकिएको नोबेल पुरस्कार फिर्ता लिइने छैन ।

यसले अतिकति भए पनि उनको इज्जत जोगाइदियो ।

अक्टोबर महिनामा साउदी पत्रकार जमल खसोगी (सन् १९५८—२०१८) को रहस्यमय परिस्थितिमा हत्या भयो । शुरुमा साउदी राजघरानासँग नजिकको सम्बन्ध रहेका खसोगीको पछिल्लो समयमा सम्बन्ध चिसिएको थियो । उनले राजघरानाविरुद्ध ‘वासिङटन पोष्ट’ अखबारमा लेख्दै आएका थिए ।

उनको हत्याकाण्डले आलोचना सुन्न नचाहने वर्ग र अभिव्यक्ति स्वतन्तत्राका पक्षधरबीच विद्यमान खाडललाई प्रष्ट्याउँछ । आफ्नो ज्यानलाई ताकमा राखेर भए पनि विचार राख्ने आँट गरेकोमा ‘टाइम’ म्यागजिनले खसोगीलाई  सन् २०१८ को 'वर्ष पुरुष' घोषण गर्‍यो ।

सन् २०१८ निख्रिँदै गर्दा दक्षिण एशियाली मुलुक बंगलादेश राजनीतिक सरगर्मीले तातिन पुग्यो । त्यहाँ भएको निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजिद लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री क्रममा  छिन् । निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाभन्दा  बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्ष दलले पुनः निर्वाचन माग गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरिदिएको छ ।

असंख्य उथुलपुथुलपूर्ण घटनाक्रमहरूलाई समयको गर्तमा  धकेलेर सन् २०१८ अतीतका पानामा समाहित भइसकेको छ । अहिले क्यालेण्डरको पाना पल्टिसकेको छ । नयाँ वर्ष २०१९ हामी समक्ष हाँजिर भइसकेको छ । यो वर्ष आशा र भरोसाको उर्वर कालखण्ड बनोस् । आशाहरू फक्रिँदै जाउन्, निराशाहरू मेटिँदै जाउन् । सबैमा शुभकामना !

[साभार: संवाद नेपाल । २०७५ साल पुस १७ गते । तस्बिर: गुगल]

No comments:

Post a Comment