Wednesday, April 22, 2020

अर्थतन्त्र पुनर्संरचनाको सवाल

–यमबहादुर दुरा

यो समय नेपाली ‘डायस्पोरा’ को अभूतपूर्व विश्व–विस्तारको युग हो । जसरी भारतीय र चिनियाँ नागरिक संसारको विभिन्न कुनाकप्चेरामा पुगे, त्यसरी नै नेपालीहरू पनि दुनियाँको विभिन्न भागमा पुग्न थालेका छन् । एक तथ्याङ्क अनुसार नेपालीहरू एक सय २८ मुलुकमा पुगेको देखिन्छ । ६० लाखको हाराहारीमा नेपाली नागरिक मुगलानमा रहेको वास्तविकतासँग हामी परिचित छौँ ।

मुगलान जाने कुरा नेपालीका लागि रहर र बाध्यता दुवै हो । नेपालमा मुगलान मोह बढ्दो प्रवृत्ति क्रममा छ । देश र दुनियाँको अवस्था सामान्य हुँदा नेपालबाट हरेक दिन लगभग दुई हजार जति नेपाली विदेशिने गरेको तथ्याङ्क छ । यसले मुगलान मोहको चढ्दो ग्राफलाई इङ्गित गर्छ ।


अहिले समय बदलिएको छ । नेपालबाट मुगलान जाने होइन, बरू मुगलानबाट नेपाल फर्किने  समय आएको छ । कोरोना महामारीले स्थिति बदलिदिएको छ । रोजगारदातामध्ये एक मुलुक कतारले नेपाली कामदार फिर्ता लैजान नेपाललाई दबाब दिएको छ । अन्य रोजगारदाता मुलुकले पनि कोरोनाले निम्त्याएको असहज परिस्थितिले कतिपय कम्पनीले कामदारलाई अनपेड लिभ (बेतलबी बिदा) दिन थालिसकेका छन् ।

यसबाट मुगलानीहरूको कमाइ घटेको छ । जीवनयापनको बाटो असहज बन्दै गएको छ । भविष्य असुरक्षित बन्दै गएको छ । सर्वविदितै छ,  रोजगारी गुमेपछि छिमेकी मुलुक भारतबाट अनेकन् भुक्तमान सहँदै लाखौँको संख्यामा घर फर्केका छन् । अरबलगायतका मुलुकमा रहेका मुगलानीहरू पनि घर फर्किने साइत कुरेर बसिरहेका छन् ।

मुगलानमा रहेका कतिपय नेपालीले सोसल मिडियालगायतका ‘कम्युनिकेसन प्लाटफर्म’ मा आफूहरू नेपाल फर्कने दिनको व्यग्र प्रतीक्षामा रहेको भावना व्यक्त गरिरहेका छन् । यसबारे आमसञ्चार माध्यममा समाचार आइरहेका छन् । कोरोना महामारीले पैदा गरेको सङ्कटले आफ्नो रोजीरोटी गुमेकाले आफूहरूलाई उद्धार गरेर स्वदेश फिर्ता ल्याइयोस् भनेर पुकारा गरिहेका छन् । यतिबेला नेपाल र नेपाली नागरिकले वैदेशिक रोजगारीको तीतो स्वाद चाखिरहेका छन् ।

अहिले परिस्थिति नितान्त प्रतिकूल छ । ‘लकडाउन’ को समयावधि थपिएको थपियै छ । जल, थल र वायु यातायात पूरापुर अवरुद्ध छ । दुनियाँ अलगथलग छ । ‘लकडाउन’ बाट सिङ्गो विश्व नै अघोषित झ्यालखानाजस्तो भएको छ । यस्तो सङ्कटपूर्ण घडीमा ठूलो संख्यामा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन सहज छैन ।

लाखौंको संख्यामा मुगलानमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारले के कस्तो रणनीति अख्तियार गर्ला, त्यो हेर्न बाँकी नै छ । मुगलानमा अलपत्र अवस्थामा रहेका नागरिकलाई ढिलो चाँडो स्वदेश नल्याई सुखै छैन । जे–जस्तो धामा सहेर भए पनि मुगलानीहरू स्वदेशी फर्कलान् । अब, उनीहरू मातृभूमि फर्किइसकेपछिको अवस्थाचाहिँ के हुने हो ? यो नितान्त गम्भीर विषय हो ।

कोरोनाले देशको अर्थतन्त्र थला परिसकेको छ । नेपालको आर्थिक वृद्धि ७.१ पुगेकोमा अब त्यो बृद्धिदर पिँधमा पुग्न सक्ने पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंकले गरिसकेका छन् । मुगलानमा पसिनाले नुहाएर घरपरिवारको पालनपोषण गर्नुपर्ने जिम्मेवारी बोकेका आप्रवासी कामदार घर फर्केपछिको अवस्था के होला ? तिनको पारिवारिक अर्थतन्त्र के होला ? समग्रमा देशको अर्थतन्त्र के होला ? यसको कुनै सहज उत्तर छैन । तर, यसले देशको बिग्रँदो आर्थिक अवस्थाको कुरूप तस्बिरचाहिँ पक्कै प्रस्तुत गर्छ ।

कोरोनाको महामारीको गरुड छायाँ पर्नुभन्दा अघिको नेपालको आर्थिक वृद्धिलाई उत्साहजनक मानिएको थियो । यसो हुनुमा वैदेशिक रोजगारकै योगदान थियो । अब नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारको योगदानको ग्राफ ओरालो लाग्ने अवस्थामा छ । वैदेशिक रोजगारीले धानेको अर्थतन्त्र जोखिमपूर्ण हुन्छ भन्ने राय अर्थशास्त्रीहरूले दिँदै आएका छन् । यसबारे बेलाबखतमा चर्चा पनि हुँदै आएको छ ।

वैदेशिक रोजगारले देशको अर्थतन्त्रलाई राम्रै टेवा दिए पनि आफ्नै खालको ‘साइड इफेक्ट’ छ । यसले उत्पादनमूलक कामलाई निरुत्साहित गर्नुका साथै सुखभोगी प्रवृत्तिलाई बढावा दिन्छ भन्ने गरिन्छ । कुनै कारणले वैदेशिक आय (रेमिट्यान्स) आउन छाडेमा अर्थतन्त्रमा तत्काल सङ्कटको घडी आइहाल्छ । यही आधारमा कतिले वैदेशिक अर्थतन्त्रलाई टेकोले धानेको घरजस्तै हो भन्ने गरेको पनि पाइन्छ ।

आर्थिक विश्लेषकहरूले विदेशी आयस्ताले आएको समृद्धिलाई ‘धरापमा रहेको वैभव’ को रूपमा लिने गर्छन् । वैदेशिक रोजगारीले देशमा मानव पूँजीको रूपमा रहेको जनशक्ति (श्रमशक्ति) घटाउँछ, परनिर्भरता बढाउँछ, सेवा तथा वस्तुको उपयोग बढाउँछ तर उत्पादन र निर्यात घटाउँछ । परिणामस्वरूप अप्राकृतिक रूपमा मूल्यवृद्धि हुनुका साथै विश्वबजारमा प्रतिपर्धात्मक क्षमता घट्न पुग्छ ।

यस सम्बन्धमा नेदरल्याड्सको एउटा ज्वलन्त दृष्टान्त छ । सन् १९६० तिर नेदरल्याड्समा प्राकृतिक ग्याँसको भण्डरा फेला पर्‍यो, जसले ठूलो मात्रामा विदेशी लगानी निम्त्यायो । विदेशमा व्यापक रूपमा ग्यास निर्यात भयो । शुरुका दिनमा यसबाट त्यहाँ आर्थिक वैभव बढ्न थाल्यो ।

कालान्तरमा ग्यासको भण्डार रित्तिँदै गयो । देशको अर्थतन्त्र ओरालो लाग्ने पालो आयो । विदेशी लगानी घट्न थाल्यो । विदेशीको आयस्ता घट्न थाल्यो । त्यसपछि दुर्दान्त आर्थिक अवस्थाले नेदरल्याड्सलाई लखेट्न थाल्यो ।

परिणामतः बेरोजगारी उच्चतम् विन्दुमा पुग्यो, महङ्गी बढ्न थाल्यो र विश्वबजारमा उसको प्रतिस्पर्धात्मक क्षमता घट्न गयो । यसबाट नेदरल्याड्सको अर्थतन्त्र सङ्कटमा पर्‍यो । सन् १९७७ मा विश्वविख्यात म्यागजिन ‘द इकनमिष्ट’ ले नेदरल्याड्सको दुर्दशापूर्ण आर्थिक अवस्थालाई ‘हल्याण्ड डिजिज’ नामाकरण गर्‍यो ।

वैदेशिक आयस्तामा भर पर्दा हुने आर्थिक दुर्घटना ‘हल्याण्ड डिजिज’ नामले परिचित छ । नेपालमा वैदेशिक रोजगारको ढोका एकपछि अर्को गरी बन्द क्रममा छ । यस्तो जटिलतम् अवस्थामा नेपाललाई पनि ‘हल्याण्ड डिजिज’ ले नछोला भन्न सकिन्न । निर्विकल्प रूपमा वैदेशिक रोजगारलाई अघि सार्ने परिपाटीलाई अब पुनःविचार गर्नुपर्ने बेला आइसक्यो । यसबारे समयमै सचेत हुँदै अर्थतन्त्रको पुनःसंरचनामा लाग्नुको विकल्प देखिन्न ।

अहिले विकसित घटनाक्रमले स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने चुनौती र अवसर दुवै दिएको छ । देशको अर्थतन्त्रलाई दीगो र सबल बनाउन उत्पादनमूलक उद्योगलाई प्रश्रय दिनैपर्छ । यस क्रममा कृषिलाई उच्च प्राथमिकता दिनुपर्ने अवस्था छ । विश्वलाई कोरोना महामारीले छोपेपछि भारतलगायत कतिपय मुलुकले खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ ।

एकातिर स्वदेशको खेतबारी बाँझो रहने अर्कोतिर विदेशबाट खाद्यान्न आयात नहुने अवस्था आयो भने के होला ? भोलि आउन सक्ने  विकराल अवस्थाबारे अहिल्यै सोचेर कृषिको समग्र विकाससम्बन्धी व्यावहारिक नीति र कार्यक्रम अविलम्ब ल्याउन आवश्यक छ । जगजाहेर नै छ, कृषि हाम्रो  आधारभूत पेशा हो । सम्भवतः सबैभन्दा पुरानो पेशा पनि हो ।

अहिले पनि देशको कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा अझै  पनि कृषिमा आश्रित छ । मुगलानबाट फर्केकाहरूको अन्तिम आश्रयस्थल गाउँघर नै हो । हालको स्थितिमा उनीहरूको अन्तिम विकल्प पनि गाउँघरमा गरिने कृषिकर्म नै हो । यी तमाम वास्तविकतालाई ध्यामा राखेर देशको मागलाई पूरा गर्दै निर्यातमूलक कृषि उत्पादनमा जोड दिनुपर्छ ।

कृषिमा अहिले कुल गर्हस्थ उत्पादन २७ प्रतिशत जति छ । यसलाई बढाउने प्रयत्न गर्नुपर्ने खाँचो छ । विदेशमा उच्च माग रहने अर्ग्यानिक अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता यसले आयातलाई प्रतिस्थापन गर्न सक्छ । यसलाई प्रोत्साहित गर्ने सरकारी नीति पनि आउनुपर्छ । कृषिमा विगतमा भएका कमी कमजोरीको समीक्षा गरी आवश्यक नीतिगत सुधार गर्नुपर्ने खाँचो पनि उत्तिकै टडकारो देखिन्छ ।

अहिलेको सङकटले देशको परनिर्भरमुखी अर्थतन्त्रलाई पुनर्संरचना गर्ने अवसर पनि दिएको छ । यस क्रममा कृषिका अतिरिक्त अन्य सम्भावनायुक्त उद्योगहरूलाई उचित अध्ययनका आधारमा प्राथमिकता दिने र तिनको दीगोपनका आधारहरू खोजिनुपर्छ । अहिले धराशायी अवस्थामा पुगेको पर्यटन तथा सेवा उद्योगलाई पुनर्जीवन दिने र तिनलाई दीगो बनाउने गरी पुनर्संरचना गर्नुपर्ने आवश्कता छ ।

 देशको अर्थतन्त्रलाई कुन ढाँचामा पुनर्संरचना  गर्ने भन्नेबारे अर्थविद, योजनाविद, नीति–निर्माता र राजनीतिक शक्तिहरूको रचनात्मक भूमिका अपेक्षित छ । यस सिलसिलामा यी साझेदारबीच उचित समन्वय र सहकार्य पनि उत्तिकै आवश्यक छ ।

[नागरिक । २०७७ साल वैशाख १० गते । ]

No comments:

Post a Comment