Tuesday, September 8, 2020

सांस्कृतिक साक्षरता

 –यमबहादुर दुरा

मानव जीवनको अभिन्न हिस्साको रूपमा रहेको संस्कृति नितान्त गहनतम् विषय रहिआएको छ । कतिपय व्यक्तिहरूले संस्कृतिलाई नाचगान, भेषभूषा र खानपानभन्दा बढी केही देख्दैनन् । यही सतही बुझाइका आधारमा संस्कृतिप्रतिको आमदृष्टिकोण सङ्कुचित बनेको प्रतीत हुन्छ । वास्तवमा संस्कृति व्रह्म जत्तिकै व्यापक र अनन्त छ । सामाजिक संरचना, सामाजिक मनोविज्ञान, राजनीतिक दर्शन, आर्थिक दर्शन, धर्म, शिक्षा आदिले संस्कृति निर्माणमा भूमिका खेल्छन् ।

संस्कृति जीवनशैली हो । यो नै संस्कृतिको सरल परिभाषा हो । यद्यपि, यतिले मात्रै संस्कृतिको साङ्गोपाङ्गो परिभाषालाई समेट्दैन । संस्कृतिलाई विम्बात्मक रूपमा प्रस्तुत प्रकटीकरण गर्ने क्रममा कतिपय विज्ञले यसलाई समुद्रमा तैरिने हिमशिला (आइसबर्ग) सँग दाँज्ने गर्छन् । हिमशिलाको दश भागको एक भागमात्र पानीबाहिर देखापर्छ, बाँकी ठूलो हिस्सा पानीभित्र लुकेर बस्छ । 


यसको अर्थ हो—संस्कृतिको दृश्यभन्दा अदृश्य भाग कता हो कता भीमकाय हुन्छ । संस्कृतिको दृश्य र अदृश्य पक्षको गठजोडलाई दर्साउन अंग्रेजीमा ‘कल्चरल आइसबर्ग’ भन्ने शब्दावली प्रयोग गरिएको पाइन्छ । यसलाई विम्ब मानेर चिन्तन–मनन गर्ने भने संस्कृतिको व्यापकता र सम्वेदनशीलता बुझ्न सहज हुन्छ ।

कुनै पनि संस्कृति अन्र्तगत पहिरन, परिकार, चाडपर्व आदि सहजै देखिने पक्षहरू हुन् भने जीवन र जगतसँग सम्बन्धित तमाम मूल्य–मान्यता र विश्वास प्रणाली सतहमा देखिँदैनन् । साथै, कुनै पनि समुदायको संस्कृति इतिहासको जगमा उभिएको हुन्छ । सामान्यतया, इतिहास पनि अदृश्य हुन्छ । 

अदृश्य संस्कृति नितान्त शक्तिशाली र सम्वेदनशील हुन्छ । यस्ता अदृश्य तत्वहरू नै हरेक संस्कृतिको चालक शक्ति (सफ्टवेयर) हुन् । अमूर्त  अवस्थामा रहेका यी अदृश्य तत्वहरू समयको लामो कालखण्डमा निर्माण भएका हुन्छन्, जसको दायरा भयानक किसिमले व्यापक छ ।

संस्कृतिका यी तमाम दृश्य–अदृश्य पक्षहरू बुझ्न तेस्रो आँखा आवश्यक पर्छ । त्यो हो, सांस्कृतिक साक्षरता । लेखपढ गर्न साक्षर बन्न आवश्यक भएझैं  कुनै जाति वा समुदायको संस्कृतिसँग परिचित बन्न सांस्कृतिक दृष्टिले साक्षर बन्नुपर्छ । 

कुनै समुदायबारे सार्वजनिक टीका–टिप्पणी गर्दा उनीहरूको सांस्कृतिक पृष्ठभूमि, परम्परा, जीवनशैली र इतिहासँग परिचित हुनु आवश्यक छ । यसको मतलब हो— कुनै समुदायसँग काम गर्दा वा उनीहरूबारे विचार व्यक्त गर्दा सम्बन्धित समुदायको सांस्कृतिक पक्षबारे जानकार हुनुपर्छ । यस किसिमको मान्यताले पश्चिमी गोलाद्र्धमा राम्रैसँग जरो गाडेको देखिन्छ । 

यही मूलभूत मान्यतालाई आत्मासात गर्दै अमेरिकी शिक्षाविद प्राध्यापक इ. डी. हर्जले सन् १९८७ मा ‘कल्चरल लिट्रेसीः वाट एन अम्यारिकन निड्स टु नो’ शीर्षकमा पुस्तक लेखे, जुन त्यस समयको ‘बेस्टसेलर’ हो । अमेरिकी सन्दर्भमा लेखिएको भए पनि यो पुस्तक हाम्रा लागि पनि उत्तिकै सान्दर्भिक छ । पुस्तकले विभिन्न देश र समुदायको सांस्कृतिक रीतभातसँग किन परिचित हुन आवश्यक छ भन्नबारे घतलाग्दो वर्णन गरेको छ । 

प्राध्यापक हर्जले नै ‘सांस्कृतिक साक्षरता’ शब्दावलीलाई प्रयोगमा ल्याएका हुन् । उनले आफ्नो पुस्तकमा शिक्षा प्रणालीमा सांस्कृतिक साक्षरतालाई समावेश गरिनुपर्छ भन्नेमा जोड दिए । हर्जले अमेरिकी सांस्कृतिक विम्बको रूपमा हरेका मोजार्ट, द हवाइट हाउस, द टाइटनिक, सेसमी स्ट्रिटलगायत पाँच हजार शब्दावलीको सूची दिएका छन्, जुन उनको दृष्टिमा हरेक अमेरिकीले थाहा पाउनुपर्छ ।

आखिर, के हो त सांस्कृतिक साक्षरता ? कुनै समुदायको ऐतिहासिक, सामाजिक, आर्थिक, धार्मिक, बौद्धिक तथा कलात्मक पक्षबारे जानकार हुनु नै सामान्य अर्थमा सांस्कृतिक साक्षरता होे । तर, हरेक व्यक्ति सबै समुदायको संस्कृतिबारे पूर्ण जानकार हुन व्यावहारिक दृष्टिले सम्भव छैन । तैपनि, हरेक व्यक्तिले सबै समुदायको संस्कृतिप्रति समभाव र सद्भाव राख्न भने अवश्य सक्छन् । यसलाई नै सांस्कृतिक साक्षरताको ‘बटमलाइन’ मानिन्छ, जुन सांस्कृतिक सहिष्णुता र सद्भावको परिचायक पनि हो । 


सांस्कृतिक सहिष्णुता र सद्भावको अभावमा विश्वको विभिन्न भाग अशान्त छ । सांस्कृतिक असहिष्णुताले अनेकौँ समुदाय अपमानका श्रृङ्खलताहरू भोग्नअभिशप्त  छन् । ‘इथ्नोसेन्ट्रिजम्’, सांस्कृतिक अपव्याख्या, हुल्याहा मानसिकता (हर्ड मेन्टालिटी) र रुढिग्रस्त सोच (स्टिरियोटाइप्स्) लाई सांस्कृतिक द्वन्द्वको मूल स्रोत मानिन्छ । 

आफ्नो सांस्कृतिक मूल्य–मान्यतालाई मात्र उच्च मूल्याङ्कन गरेर इतर समुदायको सांस्कृतिक मूल्य–मान्यतालाई तुच्छ ठान्ने, आफ्नो सांस्कृतिक मूल्य–मान्यतामा जगमा उभिएर अरूको संस्कृतिलाई असन्तुलित किसिमले मूल्याङ्कन गर्ने र आफ्नो संस्कृतिको लेन्सबाट मात्र दुनियाँलाई हेर्ने परिपाटी नै ‘इथ्नोसेन्ट्रिजम्’ हो । 

सांस्कृतिक सहिष्णुताको दृष्टिले ‘इथ्नोसेन्ट्रिजम्’ घातक मानिन्छ । आफ्नो संस्कृतिप्रति आदरभाव दर्साउने र गौरावन्वित हुने नैसर्गिक अधिकार सबैलाई छ । तर, आफ्नो संस्कृतिप्रति गौरव व्यक्त गर्दा अरूको संस्कृतिलाई अपमान गर्ने छुट कसैलाई पनि हुन्न । सांस्कृतिक साक्षरताले यस गम्भीर  विषयलाई सम्बोधन गर्छ ।

अल्पज्ञानवश वा पूर्वाग्रहवश कसैको संस्कृतिको गलत व्याख्या (अपव्याख्या) गर्ने र वास्तविकता नबुझी हुलले सम्प्रेषण गरेको गलत विचारलाई आत्मासात गर्ने हुल्याहा मानसिकता (हर्ड मेन्टालिटी) ले पनि सांस्कृतिक सहिष्णुतालाई क्षयीकरण गर्छ । यसबाट पनि बच्न आवश्यक छ ।

यसैगरी, कसैको जीवनशैली र परम्परालाई अति सामान्यीकरण गरेर उसको गलत वा त्रुटिपूर्ण छवि निर्माण गर्ने परिपाटीले पनि सांस्कृतिक सहिष्णुतालाई पतनोन्मुख बनाइदिन्छ । यस किसिमको परिपाटीलाई रुढिग्रस्त सोच (स्टिरियोटाइप्स्) भनिन्छ, जुन भेदभाव, वहिष्करण र हिंसाको स्रोत बन्न पुग्छ ।  

कुनै जाति वा समुदायलाई लक्षित गरेर अपमानजनक अभिव्यक्ति दिने वा गलत किसिमले चित्रण गर्ने कार्य पनि ‘स्टिरियोटाइप्स्’ कै हिस्सा हो । ‘स्टिरियोटाइप्स्’ ले सम्बन्धित समुदायलाई मानसिक चोट दिन्छ । कुनै समुदायको पहिरन, भाषा, खाद्यवस्तु, आनीबानी, प्रवृत्ति, धर्म आदिलाई लिएर ‘स्टिरियोटाइप्स्’ हुर्किने वातावरण बन्नसक्छ । 

सांस्कृतिक सहिष्णुता कायम गर्न ‘स्टिरियोटाइप्स्’ बाट छुटकारा पाउने उपाय खोजिनुपर्छ । यसको सरल र सहज उपाय हो- आफूइतिरका संस्कृतिप्रति फराकिलो र उदार दृष्टिकोण राख्नु । अर्को शब्दमा अरूको संस्कृतिप्रति सम्मानभाव राख्दा ‘स्टिरियोटाइप्स्’ स्वतः निस्तेज हुन पुग्छ । अरूको संस्कृतिप्रति राखिने उदारभावसँग यसको केन्द्रीय मर्म लुकेको छ । सम्बन्धित समुदायको मूल्य–मान्यतालाई आत्मासात गरिदिने हो भने सांस्कृतिक द्वन्द्वलाई निम्तो दिने धेरैजसो ‘स्टिरियोटाइप्स्’ त्यसै हटेर जान्छ । 

अमेरिकी सांस्कृतिक मानवशास्त्री इडवर्ड टी. हल (सन् १९१४–२००९) ले सन् १९९० मा ‘अन्डरस्ट्यान्डिङ कल्चरल डिफरेन्सेस्’ शीर्षक पुस्तक लेखे । मूलत कर्पोरेट परिवेशलाई समेटेर लेखिएको यो पुस्तकले व्यापारिक साझेदारहरूबीच असमझदारी र गलत धारणा विकास हुन नदिन एक–अर्काको संस्कृति बुझ्न कति आवश्यक र महत्त्वपूर्ण भन्नेबारे चर्चा गरेको छ ।

समग्रमा भन्दा, सांस्कृतिक साक्षरताले सांस्कृतिक विषयवस्तुको ज्ञान र सुझबुझसँग गहिरो नाता–सम्बन्ध राख्छ । सांस्कृतिक सहिष्णुता, शान्तिपूर्ण सहअस्तित्व र ‘सर्वधर्म समभाव’ सांस्कृतिक साक्षरताका गुरु मन्त्रहरू हुन् । वास्तवमा संस्कृति सम्वदेनशील विषय हो । समुदायहरूबीच विद्यमान सांस्कृतिक द्वन्द्व अन्त्य गरी शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु यसको मूल उद्देश्य हो ।

यसका लागि पर्याप्त सम्वदेनशीलता आवश्यक पर्छ । नेपालजस्तो सांस्कृतिक विविधता फक्रिएको मुलुकमा हाम्रा नीति र व्यावहारमा उच्चतम् सांस्कृतिक सम्वदेनशीलता आवश्यक छ । देशको विविधतापूर्ण सांस्कृतिक परिवेशले सांस्कृतिक साक्षरताको महत्त्वबोध गराइरहेको छ ।

[अन्नपूर्ण पोष्ट । २०७७ साल भदौ २३ गते । ग्राफिक्स: अन्नपूर्ण पोष्ट ।]


No comments:

Post a Comment