Thursday, July 7, 2022

सामाजिक सञ्जाल : सम्भावना र चुनौती

 -यमबहादुर दुरा

इन्टरनेटले विश्व समुदायलाई जादुमय तरिकाले बदलिदिएको छ । भौगोलिक रूपमा विविध कारण अलग–थलग भएका आफन्तजन तथा मित्रगणसँग आमुन्ने–सामुन्ने बसेर कुराकानी गरेजस्तै गरी ‘रियल टाइम’ मा वार्तालाप गर्ने अवसर इन्टरनेटले नै जुटाइदिएको छ, जुन मानव जातिका लागि एउटा सुन्दर अवसर हो । 

विश्वको एउटा कुनाबाट अर्को कुनामा अडियो, भिडियो तथा टेक्ट आदानप्रदान गर्ने अवसर पाइनु इन्टरनेटकै देन हो । इन्टरनेटले दुनियाँ समक्ष यस्तै तिलस्मी करामत देखाएको छ । यही आधारमा कतिपयले इन्टरनेटको आगमनलाई औद्योगिक क्रान्तिपछिको सबैभन्दा ठूलो तथा युगान्तकारी मानव फड्को मान्ने गर्छन्, जुन बहुधा अर्थपूर्ण छ । 

सोसल मिडिया इन्टरनेटको आगमनले जन्माएको एउटा लोकप्रिय शब्दावली हो, जुन मानव जीवनको अभिन्न हिस्सा बन्न पुगेको छ । विश्वविख्यात फोब्स म्यागजिनको वेबसाइट (डिसेम्बर ९, २०१०) मा प्रकाशित लेखका अनुसार डराल बेरीले सन् १९९४ मा पहिलो पटक ‘सोसल मिडिया’ भन्ने शब्दावली प्रयोगमा ल्याएका थिए । 

हाम्रो मनमा जिज्ञासा उठ्छ, विश्व क्षितिजमा उदाएको नयाँ प्रकृतिको सञ्चार प्रणालीलाई किन सोसल मिडिया भनियो त ? यसका पछाडि निश्चित कारणहरू छन् । परम्परागत सञ्चार माध्यम (अखबार, रेडियो तथा टेलिभिजन) मूलतः एकतर्फी सञ्चार प्रणाली हो, जसमा धेरै हदसम्म दोहोरो सञ्चार हुँदैन । 

यसको विपरीत सोसल मिडियामा प्रयोगकर्ताहरूबीच दोहोरो सञ्चार सम्भव छ । प्रयोगकर्ताहरूबीच हुने दोहोरो सञ्चार नै सोसल मिडियाको एउटा मूलभूत विशेषता हो । यसबाट प्रयोगकर्ताहरूबीच पर्याप्त अन्तरक्रिया र सामाजिक गतिविधि हुन्छ । 

हामीलाई थाहा छ, मैत्रीपूर्ण सम्बन्धमा जोडिएका समाजका सदस्यहरूबीच निरन्तरजसो दोहोरो सञ्चार हुन्छ, जसले पर्याप्त अन्तरक्रिया जन्माउँछ । सोसल मिडियाले पनि यही काम गर्छ । यसबाट समाज चलयमान् बन्छ । सोसल मिडियाले सामाजिक चरित्र बोकेकाले यसलाई सोसल मिडिया भनिएको हो भन्ने तर्क छ, जुन दमदार छ ।  

के हो सोसल मिडिया ?

सोसल मिडिया हाम्रो मुखमा झुण्डिएको प्रिय शब्दावली भए पनि यसको परिभाषाबारे पर्याप्त अलमल पाइन्छ । सूचना प्रविधिमा कलम चलाउने अमेरिकी लेखक बेन लुकभिखका अनुसार सोसल मिडिया वेबसाइट तथा एपहरूलाई जनाउने समूहवाचक शब्दावली हो, जसले आपसी सञ्चार, समुदायिक  गतिविधि, अन्तरक्रिया, सामग्री सेयरिङ (content sharing) तथा सहकार्यलाई जोड दिन्छ ।

अक्सफोर्ड अनलाइन डिक्सनरीको परिभाषा पनि लगभग उस्तै छ । अक्सफोर्ड डिक्सनरीका अनुसार सोसल मिडिया ती वेबसाइट तथा एपहरू हुन्, जसले प्रयोगकर्तालाई सामग्री उत्पादन र सेयर गर्ने अवसर दिन्छ । साथै, यसले सामाजिक सञ्जालमा जोडिने अवसर पनि दिन्छ । 


समग्रमा सोसल मिडिया इन्टरनेटमा आधारित भर्चुअल नेटवर्क तथा समुदाय हो । यसबाट प्रयोगकर्ताहरूबीच अडियो, भिडियो, फोटो तथा टेक्ट आदानप्रदान गर्न सकिन्छ । आवश्यकताअनुसार प्रयोगकर्ताहरूबीच व्यक्तिगत तथा सामूहिक प्रकृतिका सूचना सेयर गर्न सकिन्छ । डेक्सटप, ल्यापटप, ट्याबलेड तथा स्मार्टफोनमार्फत् गरी सोसल मिडिया प्रयोग गर्न सकिन्छ ।

अमेरिकी नागरिक अन्ड्रु वाइनराइकलाई सोसल मिडियाका अग्रणी मानिन्छन् । उनले सन् १९९७ मा पहिलो पटक ‘सिक्स डिग्रीज्’ नामक सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याएका थिए, जसमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल खडा गर्ने, साथी बनाउने तथा इन्ट्यान्ट मेसेजिङ गर्ने सुविधा थियो । 

बिजनिससम्बन्धी अमेरिकी वेबसाइट इन्भेष्टोपिडियाका अनुसार विश्वभर ३.८ अर्ब मानिसले सोसल मिडिया प्रयोग गर्छन् । विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दा नेपालमा ९१ प्रतिशत नागरिकको इन्टरनेटमा पहुँच पुगेको देखिन्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालको कुल जनसंख्यामध्ये १ करोड ३० लाख नागरिक सोसल मिडिया प्रयोगकर्ता छन् ।

वेब ट्राफिक विश्लेषण गर्ने वेबसाइट स्ट्याटकाउन्टरका नेपालमा सोसल मिडिया प्रयोगकर्तामध्ये फेसबुक प्रयोगकर्ता ९०.१२ प्रतिशत, ट्विटर प्रयोगकर्ता ४.२३ प्रतिशत, इन्टाग्राम प्रयोगकर्ता ०.९ प्रतिशत, पिन्ट्रेस्ट प्रयोगकर्ता ०.७९ प्रतिशत तथा लिङ्कडइन प्रयोगकर्ता ०.६१ प्रतिशत छन् । सोसल मिडिया प्रयोगकर्ताको संख्या बढ्दो छ ।

धेरैको दृष्टिमा फेसबुक, ट्विटर, लिङ्कडइनजस्ता सोसल नेटवर्किङ साइट नै सोसल मिडिया हुन् । वास्तविकता त्यस्तो होइन । सोसल मिडियाको दायरा निकै फराकिलो छ, जसमा सोसल मिडिया भनेर हत्तपत्त नसोचिएका धेरै साइट र एपहरू पर्छन् । समयक्रममा यस्ता साइट र एपहरूको संख्या बढेर जाने देखिन्छ । 

गेमिङ साइट, ब्लग (वर्डप्रेस, ब्लगर आदि), माइक्रोब्लग (ट्विटर, टम्बलर आदि), भिडियो सेयरिङ साइट (यु ट्युब, मेटाक्याफे, डेलीमोसन आदि), फोटो सेयरिङ साइट (फ्लिकर, पिन्टे«ष्ट, एक्सपोजर आदि), सपिङ साइट (अमेजन, इबे आदि), सञ्चार एप (भाइबर, स्काइप आदि), ट्राभल एप (पठाओ, टुटल आदि), न्युज एग्रिगेटर (न्युज ३६०, गुगल न्युज आदि) पनि सोसल मिडियाको दायराभित्रै पर्छन् ।

अवसर

आजकल हरेक व्यक्तिले आफूसँग छापाखाना नभए पनि प्रकाशक बन्ने मौका पाएको छ । यसैगरी, आफ्नो स्वामित्वमा रेडियो र टेलिभिजन नभए पनि प्रसारक हुने अवसर मिलेको छ । हिजोका दिनमा मुठ्ठीभर व्यक्तिले मात्र पाउने यस्तो अवसर अहिले प्रत्येक व्यक्ति पाएको छ । यसमा सोसल मिडियाको निर्णायक भूमिका छ ।

सोसल मिडियाले सर्वसाधारण नागरिक शक्तिशाली बनाएको छ । अमेरिकी टेलिभिजन कार्यक्रम निर्माता मार्क म्याकिननको भनाइमा प्रविधि र सोसल मिडियाबाट नागरिकले शक्ति प्राप्त गरेका छन् । 

विगतमा बहुसंख्यक सर्वसाधारणले आफ्ना दबिएका विचार वा भावना व्यक्त गर्ने उपयुक्त सार्वजनिक ‘प्ल्याटफर्म’ पाएका थिएनन् । परिणामस्वरूप उनीहरूका आवाज व्रह्माण्डमा त्यसै बिलाएर गए ।

भनाइ नै थियो, ‘बसेर बोले कसैले सुन्दैन, उठेर बोले हावाले उडाउँछ ।’ आज त्यस्तो छैन । हरेक व्यक्तिले आफ्नो भनाइ वा पीरमर्का सबैले सुन्ने  गरी राख्ने वातावरण तयार भएको छ, जुन सोसल मिडियाले दिएको सुन्दर अवसर हो ।

आवाजविहीन मानिएका निमुखा, गरिब तथा विकासको दौडमा पछि परेका नागरिकका पक्षमा सोसल मिडिया आवाज बनेर प्रस्तुत भएको अवस्थालाई चित्रण गर्दै अमेरिकी पत्रकार तथा वृत्तचित्र निर्माता जोन रोन्सन (जन्मः सन् १९६७) ले मीठो टिप्पणी गरेका छन् । उनको टिप्पणी छ—सोसल मिडियाको महान् पक्ष के भने यसलाई आवाजविहीनहरूलाई आवाज दिएको छ । 

हुन पनि सोसल मिडियाले नागरिकका लागि दरिलो आवाज दिएको छ । कसैले फेसबुकमा लेखेको एक हरफको स्ट्याटसले सार्वजनिक ओहोदाधारी अधिकारीको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । सोसल मिडियामा आएको सूचनाका आधारमा अपराधी कानुनी कठाघरामा उभिन बाध्य हुन्छ । यसका अतिरिक्त सोसल मिडियाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक दायरा  (public sphere) लाई फराकिलो बनाउँदै लगेको छ, जुन लोकतन्त्रको श्रीवृद्धिका लागि पनि हितकर छ ।

सोसल मिडियाले दुनियाँसामु सूचना र ज्ञानको अथाह भण्डार राखिदिएको छ । स्टारी डट कम (जुलाई २९, २०१९) मा प्रकाशित लेखअनुसार गुगल, अमेजन, माइक्रोसफ्ट तथा फेसबुकको बेग्लाबेग्ल सूचना भण्डारणमा रहेको सूचनालाई एउटै ठाउमा भण्डारण गर्ने हो भने एक हजार २ सय पेटाबाइट्स हुन्छ, जुन सूचनाको अथाह सागर हो । 

चौबीसै घण्टा चालू रहने सोसल मिडियाले सूचना र ज्ञानको प्रवाहमा अतुलनीय योगदान दिएको छ । यसबाट प्रयोगकर्ताले जीवनोपयोगी र जीवनदायिनी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियाले समाजमा सूचनाको खाडल (information gap) घटाउने दिशामा योगदान दिइरहेको छ ।

सोसल मिडियाको उपस्थितिले सूचना र ज्ञानको बहुआयमिक उपयोग गर्ने बाटो खुलेको छ । सामान्य जीवनयापन गरिरहेकी गृहिणीदेखि विश्वविद्यालयका प्राध्यापकसम्मले सोसल मिडियामा उपलब्ध असंख्य टेक्ट, फोटो, अडियो तथा भिडियोबाट आफूलाई आवश्यक पर्ने सामयिक सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । सोसल मिडियामा आएका सूचना र ज्ञानलाई उपयोग गरेर सर्वसाधारण नागरिकदेखि सेलिब्रिटीसम्मले फाइदा उठारहेका छन् ।

सोसल मिडियामार्फत्  लोककल्याणकारी काम पनि भइरहेको छ । बाढीपहिरोजस्ता प्राकृतिक बिपत्तिमा परेका व्यक्ति तथा विभिन्न रोगबाट ग्रसित असाहय बिरामीलाई सहयोग जुटाउने काममा सोसल मिडियाको भरपूर उपयोग हुँदै आएको छ । बिपत्तिले घेरा हालेको पीडादायी घडीमा आहातग्रस्त मनिसहरूलाई भावनात्मक तथा आर्थिक रूपमा ढाडस दिने कार्यमा सोसल मिडिया सहयोगी बन्दै आएको छ । 

यस्ता कार्य स्थानीयस्तर, राष्ट्रियस्तर तथा अन्तर्राष्ट्रियस्तर गरी तीनै तहमा हुँदै आएका छन् । नेपालमा २०७२ सालमा आएको भूकम्पले निम्त्याएको बिपत्तिका समयमा उद्धार र राहतसम्बन्धी गतिविधिमा सोसल मिडियाको अतुलनीय भूमिका रह्यो । 

भूकम्पका समयमा सोसल मिडिया प्रयोगकर्तामात्र होइन, सोसल मिडिया कम्पनी पनि अघि सरे । त्यस समयमा फेसबुकले भूकम्पबाट सुरक्षित रहनका लागि नेपालका लागि ‘अर्थक्वेक अलर्ट’ मात्र जारी गरेन, नेपाल सरकारको राहत कोषमा दुई करोड अमेरिकी डलर पठाएर उदारमना व्यवहार प्रदर्शन गर्‍यो  । 

अर्कोतिर, सोसल मिडियाले विश्वको विभिन्न कुनामा छिरल्लिएर रहेका मानव समुदायलाई एकै ठाउँमा ल्याउने काम पनि गरेको छ । विविध कारण वर्षौँदेखि बिछोडिएका परिवारजनलाई भेट गराइदिएको छ । बिरक्तिपूर्ण किसिमले एक्लो जीवन बिताउन बाध्य सयौँ व्यक्तिलाई जीवनसाथी भेटाइदिएर सोसल मिडियाले निराश मनहरूमा खुसीको बहार ल्याइदिएको कैयौँ दृष्टान्त छन् ।

सोसल मिडिया जागिरदाता र जागिरापेक्षीबीच पुल बनेको छ । यसले प्रडक्ट उत्पादक र उपभोक्तबीच पनि मध्यस्थता गरिरहेको छ । सोसल मिडिया नै कतिपय प्रडक्टको ‘सोरूम’ बन्न पुगेको छ । यहीबाट व्यापारको सिलसिला शुरु भएको छ । आजकल सोसल मिडियामार्फत् हुने व्यापारलाई बुझाउन नयाँ शब्दावली ‘सोसल कमर्स’ प्रयोग गर्न थालिएको छ ।

यसबाहेक सोसल मिडियाले अलनाइन सिकाइ, अनलाइन रोजगार, टेलिमेडिसिन, अनलाइन बैंकिङलगायत अनगिन्ती अवसर दिएको छ ।समाजको चौतर्फी उन्नतिका लागि सोसल मिडियाले निरन्तर ठूलो योगदान दिइरहेको छ । समाजको प्रवाहसँगै यसले समाजलाई दिने योगदानको सूची पनि निरन्तर लम्बिँदै गएको छ । समग्रमा भन्दा सोसल मिडियाले समाजलाई दिने योगदान अपरिमित छ ।

चुनौती

हरेक वस्तुको सकारात्मक र नकारात्मक पाटो हुन्छ नै । सोसल मिडिया यसको अपवाद बन्न कुरै भएन । कतिपय अवस्थामा सोसल मिडिया मिथ्या (भ्रामक) जानकारी, जालसाजीसँग जोडिएका अपराध, निजी जीवनमाथि हमला, साइबर बुलिङ, ट्रोलिङ, पोर्नोग्राफी, फिसिङ स्क्याम, बौद्धिक चोरी, हत्या–हिंसाजस्ता तमाम अपराधको स्रोत बन्न पुगेको छ ।

कतिपय अवस्थामा सोसल मिडिया भ्रामक जानकारीको स्रोत हुन पुगेको छ । सोसल मिडियामार्पmत प्रवाहित भ्रामक सूचनाबाट समाजमा घातक असर पर्न थालिसकेको छ । सोसल मिडियामा प्रवाहित भ्रामक सूचनाको भरमा परेर जनधनको क्षति हुने क्रम शुरु भइसकेको छ । नयाँ आध्ययनका अनुसार मिथ्या सामग्री सही समाचारभन्दा छ गुना बढी छिटो फैलन्छ । यसबाट हुने क्षतिको दर पनि उच्च रहन्छ ।

'साउथ चाइन मर्निङ पोष्ट' को अनलाइन संस्करण (फेब्रवरी २५, २०१९) मा प्रकाशित समाचारअनुसार छिमेकी मुलुक भारतमा ह्वाट्सएपमार्फत्  जारी भएको भ्रामक जानकारीलाई वास्तविक ठान्दा भीडले कुटीकुटी हालसम्म ३० जना निर्दोष व्यक्तिको ज्यानसमेत गइरहेको छ । यस घटनाले सोसल मिडियाबाट प्रवाहित गलत जानकारीको नतिजा कति घातक हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

साइबर बुलिङ सोसल मिडिया ‘प्ल्याटफर्म’ मा देखापरेको अर्को खतरनाक पक्ष हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का अनुसार इन्टरनेटमार्फत्  धम्क्याउनु, रिस उठाउनु वा लज्जित तुल्याउनु नै साइबर बुलिङ हो । कसैको सामाजिक दृष्टिले अस्वीकार्य तस्बिर सोसल मिडियामा राखिदिनु, कसैलाई धम्कीपूर्ण वा चोट पार्ने सन्देश प्रवाह गर्नेजस्ता कार्य साइबर बुलिङअन्तर्गत पर्छन् ।

एक तथ्याङ्कअनुसार विश्वमा हरेक सात मिनेटमा एउटा किशोर वा किशोरीमाथि साइबर बुलिङ हुन्छ । यसका ८५ प्रतिशत मामिला समाधान हुँदैन । साइबर बुलिङकै कतिपय किशोर–किशोरी आत्महत्या गर्न विवश भइरहेका तथ्याङ्क पनि आउन थालेका छन, जुन सभ्य समाजका लागि एउटा गम्भीर चुनौती हो ।

अर्कोतिर, संसारभर नै आत्माहत्याको दर बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रतिवर्ष सात लाख मानिसले आत्माहत्या गर्छन् । नेपाली टाइम्स (अगष्ट ७, २०२१) मा प्रकाशित एक प्रतिवेदनअनुसार नेपालमा पनि आत्माहत्याको दर बढिरहेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१६/०१७ मा पाँच हजारले आत्माहत्या गरेका थिए भने सन् २०२०/०२१ मा यो संख्या बढेर आठ हजार पुग्यो । 

सोसल मिडियामा आउने कतिपय निराशाजनक स्ट्याटस तथा बैराग्यपूर्ण पोष्टहरूले प्रत्यक्ष वा परोक्ष रूपमा आत्माहत्या गर्ने प्रवृत्तिलाई सहयोग गरिरहेको छ । अझ सोसल मिडियामा उपस्थित भएर लाइभ आत्माहत्या गर्ने घटना नेपालमा पनि देखापरिसकेको छ, जुन सोसल मिडियासँग जोडिएको एउटा खतरनाक पक्ष हो ।

आर्थिक स्वार्थ दुनियाँको एउटा जटिल मामिला बन्दै आएको छ । यस्तैमा द्रव्यमोहको चक्रव्युहमा परेर सोसल मिडियाले प्रयोगकर्तामाथि छलकपटपूर्ण व्यवहार गरिरहेको आरोप लाग्दैछ । यही पृष्ठभूमिा २०२० सेप्टेम्बर ९ मा नेटफ्ल्क्सिमा ‘द सोसल डिलेमा’ नामक वृत्तचित्र प्रसारण भयो ।

फेसबुक, गुगल, ट्विटर, मोजिल्ला तथा यु ट्युब कम्पनीमा उच्च तहमा रहेर काम गरेका पूर्वकर्मचारीलाई समेत प्रस्तुत गरिएको त्यस वृत्तचित्रमा सोसल मिडिया कम्पनीले कृत्रिम बौद्धिकी (artificial intelligence) मार्फत् प्रयोगकर्ताको मनोविज्ञान कसरी मापन गर्छ र महजाल (honey-trap) मा फसाएर आर्थिक स्वार्थ पूरा गर्छ भन्ने देखाइएको छ । 

प्रयोगकर्तालाई आफ्नैबारेमा त्यति थाहा हुँदैन, जति सोसल मिडिया कम्पनीलाई थाहा हुन्छ भन्ने गम्भीर वास्तविकता वृत्तचित्रमा चित्रण गरिएको छ । सोसल मिडियाले व्यक्तिका स्वभाव र मनोविज्ञानअनुसारका सामग्री पस्किदिएर त्यसमा भुलाउँछ र प्रयोगकर्तालाई नै ‘प्रडक्ट’ को रूपमा प्रयोग भन्ने पनि दर्साइएको छ । त्यस वृत्तचित्रले सोसल मिडियाले अपनाउने हत्कण्डाप्रति प्रयोगकर्ता सचेत हुनुपर्छ भन्ने पाठ सिकाएको छ ।

सोसल मिडिया अप्राकृतिक जीवनशैलीको स्रोत बन्न पुगेको छ । कतिपय प्रयोगकर्ता रातभरि सोसल मिडियाका विभिन्न एप्लिकेसनहरूमा भुल्ने, बिहान समयमा नउठ्ने र दिउँसो सुत्ने गरेको पाइन्छ, जुन स्वाभाविक जीवनशैलीको विरुद्धमा छ । यसबाट सम्बन्धित सोसल मिडिया प्रयोगकर्ताको स्वास्थ्यमा नकारात्मक असर पर्छ । प्रकारान्तरले सोसल मिडिया अनिन्द्रा, चिन्ता, मानसिक अवसाद, एक्लोपनको कारक तत्व बन्न पुगेको छ ।

सोसल मिडिया प्रयोग गरेर बैकिङ तथा अन्य आर्थिक अपराध गर्ने, फिसिङ स्क्याम गर्ने, हत्या–हिंसा–हुलदङ्गा मच्चाउने, कसैको फेक प्रोफाइल बनाई लज्जास्पद सामग्री राखिदिएर चरित्रहत्या गर्नेजस्ता डरलाग्दा अपराध भएका छन् । त्यसैले कतिपयले सोसल मिडियालाई ‘अपराधकर्मको प्रवेशद्वार’ मान्ने गरेका छन् । नेपालमा पनि साइबर अपराधसँग जोडिएका उजुरीहरूको ग्राफ उकालो लागिरहेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

अबको बाटो

सोसल मिडिया आफैँमा असल वा खराब केही होइन । यसलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले यसको असल वा खराब पक्षको निर्धारण गर्छ । यसका सकारात्मक तथा नकारात्मक सम्भावनाहरू अनन्त छन् । एक अर्थमा सोसल मिडिया मूलधारको मिडिया भन्दा पनि शक्तिशाली छ । अब, यसलाई लत्याउन सकिने अवस्था छैन । 

अबको मूल सवाल सोसल मिडियालाई बृहत्तर हितका लागि कसरी रचनात्मक तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने नै हो । हाम्रो सामु चुनौती छ, सोसल मिडिया सोसल मिडियाको प्रयोग प्रयोग पनि गर्नुछ, त्यसलाई तल बन्नबाट पनि जोगाउनु छ ।

हरेक प्रयोगकर्ता सोसल मिडियालाई लत बन्न नदिन हुनुपर्ने अवस्था छ । यसका लागि वैकल्पिक उपाय रच्न सकिन्छ । जस्तै  : अनावश्यक रूपमा सोसल मिडिया प्रयोग गर्नुको सट्टा सङ्गीत सुन्ने, बाद्ययन्त्र बजाउने, खेल खेल्नेजस्ता रचनात्मक काम गर्न सकिन्छ । 

अमेरिकास्थित टफ्टस् विश्वविद्यालयको वेबसाइटमा सोसल मिडियालाई कसरी  सिद्धान्तनिष्ठ तरिकाले प्रयोग गर्नेबारे बुँदागत रूपमा सुझाव दिइएको छ, जुन यसप्रकार छ : १, सोसल मिडियालाई संवाद, सम्बन्ध विस्तार तथा समुदाय निर्माणको थलो रूपमा प्रयोग गर्नुहोस्, २, आधिकारिक जानकारी प्रवाह गर्नुहोस्, इमान्दारिता प्रदर्शन गर्नुहोस् तथा खुल्ला संवादलाई प्राथमिकता दिनुहोस्, ३, पहिला सुन्नुहोस, त्यसपछिमात्र बोल्नुहोस् ।

सोसल मिडिया प्रयोगकर्ताको मूलभूत जिम्मेवारी भनेको आपूm पनि सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने नै हो । यसका लागि समाजका लागि उपयोगी र सान्दर्भिक सामग्रीहरू पोष्ट गर्नु नै हरेक प्रयोगकर्ताको दायित्व हुन आउँछ । यसैगरी, सोसल मिडियामा आएका भ्रामक जानकारीबाट बँच्नका लागि हरेक सामग्रीप्रति स्वस्थ्य किसिमको आशंका गर्नुपर्ने हुन्छ ।

सोसल मिडिया अभिव्यक्तिको सुन्दर ‘प्ल्याटफर्म’ हो । तर, अभिव्यक्तिको नाममा तीक्ततापूर्ण, अपमानजनक तथा घृणास्पद अभिव्यक्ति दिनुहुँदैन । यसले नजानिँदो किसिमले समाजमा बैरभाव पैदा गर्छ । 

यसबाट समाज विभाजित हुने खतरा पनि रहन्छ । त्यसकारण, सोसल मिडियामा यस्ता अभिव्यक्तिले कुनै स्थान पाउन हुँदैन । आफ्ना असहमति र असन्तोषलाई शिष्ट भाषामा व्यक्त गर्नु श्रेयस्कर हुन्छ ।

यी र यस्ता पक्षहरूलाई मनमा राखेर रचनात्मक एवम् विवेकपूर्ण ढङ्गाबाट सोसल मिडियाको प्रयोग गरेमा त्यसले कसैको अहित गर्दैन । बरू, यसले समाजको गुरुत्तर प्रगतिमा एकपछि अर्को गरी योगदान दिँदै जान्छ ।

अतिरिक्त सामग्री

टिप्स्ः सोसल मिडियाको बुद्धिमत्तापूर्ण प्रयोग कसरी गर्ने ? 

  • आफू सुसूचित हुने र समाजलाई पनि सुसूचित तुल्याउने कार्यलाई मूलभूत उद्देश्य राख्नुहोस् ।
  • आलोचनात्मक चेतका साथ सोसल मिडिया प्रयोग गर्नुहोस् ।
  • सोसल मिडियामा आएका सामग्रीप्रति स्वस्थ्य किसिमको आशंकाको भाव( a healthy sense of doubt ) राख्नुहोस् ।
  • अतिरञ्जनापूर्ण अभिव्यक्तिलाई ठाउँ नदिनुहोस् ।
  • सोसल मिडियाको प्रयोगलाई लत बन्न नदिनुहोस् । 
  • घृणास्पद अभिव्यक्ति र गाली–गलौजबाट परै रहनुहोस् ।
  • अनैतिक तथा गैरकानुनी सामग्री उत्पादन र सेयर गर्ने कार्यबाट पूरै बच्नुहोस् ।

के हो फिसिङ ?

प्रतिष्ठित व्यक्ति वा संस्थाको नामबाट इमेल वा टेक्ट मेसेज पठाएर कसैको क्रेडिट कार्ड नम्बर, बैंक खाता नम्बर, पासवर्डजस्ता महत्त्वपूर्ण व्यक्तिगत सूचना हत्याउने दुष्कर्मलाई नै फिसिङ (phishing) भनिन्छ । यसअन्तर्गत कुनै विशिष्ट प्रयोजनका लागि भन्दै मागिएका गोप्य सूचनाको प्रयोग गरेर बैंक खाता वा क्रेडिट कार्डबाट पैसा चोर्ने तथा व्यक्तिगत सूचनाहरू लिक गर्ने वा अनधिकृत प्रयोग गर्ने गरिन्छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार हिलारी क्लिन्टनको इमेल अकाउण्ट ह्याक गरी उनका निजी सूचनाहरू सार्वजनिक गरिएको घटनालाई यसको एउटा गतिलो दृष्टान्त मान्न सकिन्छ ।

[युवामञ्च । मंसिर २०७८ । 'सामाजिक सञ्जाल : सम्भावना र जाल' शीर्षकमा प्रकाशित । ब्लगमा भएका सामग्री  प्रयोग गर्न सकिन्छ । प्रयोग गर्दा स्रोत खुलाइदिनुहोला ।]


No comments:

Post a Comment