Showing posts with label प्यारासोसल सम्बन्ध. Show all posts
Showing posts with label प्यारासोसल सम्बन्ध. Show all posts

Friday, January 3, 2020

‘प्यारासोसल’ सम्बन्धका आयाम


–यमबहादुर दुरा

महान् भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन (सन् १८७९–१९५५) ले कल्पनालाई नै सबथोक मानेका छन् । उनको ठम्याइ छ, मानिसले भोलिको सुन्दर संसारको निर्माण कल्पनाबाटै शुरु गरेको हुन्छ ।

उनले भनेका छन्, ‘कल्पना ज्ञानभन्दा महत्वपूर्ण हुन्छ । ज्ञान हामीले जानेको र बुझेको कुरामा मात्र सीमित रहन्छ । जब कि, कल्पनाले सिङ्गो दुनियाँलाई समेटेको हुन्छ, जुन कुरा कहिले पनि जानेर–बुझेर सकिँदैन ।’

वास्तवमै मानिस कल्पनाशील प्राणी हो । ऊ कल्पनाको दुनियाँमा बाँच्छ । त्यसैले ऊ विचारशील छ । ऊ जिन्दगीभर कल्पनाको व्रह्माण्डमा सयर गरिरहन्छ । ऊ मनमा कल्पनाको सुन्दर बस्ती बसाइरहन्छ । यस अर्थमा मानिस साँचो अर्थमा कल्पनाजीवी प्राणी पनि हो ।


कतिपयको बुझाइमा मानिसका अध्यात्मिक आस्था र विश्वासको जग पनि कल्पना नै हो । हाम्रा अस्थाका पात्रहरू कल्पनाको गर्भबाट जन्मेका अद्भूत प्राणी हुन् । पौराणिक कालदेखि श्रद्धाको शिखरमा रहँदै आएका भगवान् हुन् वा दन्त्यकथामा वर्णित तिलस्मी नायक-नायिका नै किन नहुन्, सबै हाम्रा कल्पनामा बाँचेका पात्र हुन् ।

मिथमा बाँचेका यस्ता पात्रसँग भौतिक रूपमा भेट हुन सम्भव छैन । तर पनि मानिसको उनीहरूप्रतिको लगाव र श्रद्धा अटल छ ।

कहिल्यै भेट नभएका वा भेट हुन सम्भव नहुने पात्रसँग मानिस कतिपय परिस्थितिमा एकतर्फी प्रेम वा मोहमा पर्छन् । यसप्रकारको लगाव वा आकर्षण वा मोहभावलाई ‘प्यारासोसल रिलेसनसिप’ भनिन्छ । विश्वमा भएका असंख्य अध्ययनको निष्कर्ष छ – थुप्रै  मानिस ‘प्यारासोसल रिलेसनसिप’ को चक्रव्यूहमा परेका छन् । कुनै खास देवी वा देउताप्रतिको असीम भक्तिभावलाई पनि कतिपयले यही श्रेणीमा राख्छन् ।

बीसौं शताब्दीमा  विद्युतीय प्रसारण माध्यम र चलचित्र अस्तित्वमा आए । विद्युतीय प्रसारण माध्यमको आगमन भएपछि  ‘प्यारासोसल रिलेसनससिप’ ले अर्को मोड लियो । चर्चित टेलिभिजन सेलिब्रिटी, चलचित्रका नायक–नायिका र रेडियो प्रस्तोता मिडियामामार्फत समाजको फराकिलो घेरासम्म पुग्न थाले ।

यससँगै उनीहरूप्रति कतिपय दर्शक÷स्रोता एकतर्फी रूपमा आकर्षित हुन थाले । उनीहरू देवीदेउताजस्तो काल्पनिक पात्र होइनन्, जससँग अन्तरक्रिया गर्न एक अर्थमा असम्भव छैन । तर, उनीहरूसँगको अन्तरक्रिया धेरै अर्थमा सहज पनि छैन ।

सयौं–हजारौं किलोमिटर पर रहेका अपरिचित (आफूले मात्र चिनेको) व्यक्ति सँग भेटघाट गर्न र मनोभाव व्यक्त गर्न बहुसंख्यक सर्वसाधारणका लागि  सहज छैन– पहुँच, भौगोलिक दूरी र अन्य विविध व्यवधानका दृष्टिले ।

अर्को कुरा, सेलिब्रिटीहरू आफूलाई कुन व्यक्तिले कति हदसम्म मन पराएका छन् भन्नेबारे अनभिज्ञ हुन्छन् । किनभने सेलिब्रिटीहरू चर्चित होलान् तर अन्तरयामी होइनन् । अर्को कुरा, सबैसँग अन्तरक्रिया गर्नु उनीहरूका लागि सहज पनि छैन ।

न उसले हरेकलाई भेटेर सान्त्वना दिनसक्छ, न त सबै ‘डाइहार्ड प्यान’ का भावनात्मक तिर्सनाहरू एक एक गरी मेटिदिन सम्भव छ । चाहेर पनि यस्तो गर्न सम्भव छैन । ‘प्यारासोसल रिलेसनसिप’ को गणित पनि विविध दृष्टिले समस्याग्रस्त छ ।

इन्टरनेटको आगमनले ‘प्यारासोसल रिलेसनसिप’ मा अर्को आयाम थपियो । इन्टरनेटसँगै अस्तित्वमा आएको सोसल मिडियाका कारण ‘प्यारासोसल रिलेसनसिप’ को आयतन झन बढेर गयो । यसले धेरैभन्दा धेरै व्यक्तिलाई ‘प्यारासोसल रिलेसनसिप’ को दायरामा समेट्न थाल्यो ।

पूर्ववर्णित सेलिब्रिटीका अतिरिक्त, गायक–गायिका, यु ट्युबर, खेलाडी, सोसल मिडिया प्रयोगकर्तालगायत विभिन्न तह र तप्काका मानिस ‘प्यारासोसल रिलेसनसिप’ को दायरामा आउन थाले ।

अन्तरक्रियात्मक हुनु सोसल मिडियाको एउटा मूलभूत चरित्र हो । सोसल मिडियाको यही गुणवत्ताका कारण आफूले एकततर्फी हिसाबले मन पराएका व्यक्तिसँग भर्चुअल दुनियाँमा भेटघाट (अन्तरक्रिया) गरेर मनको वह पोख्न सम्भव भएको छ । ‘प्यारासोसल रिलेसनसिप’ को यो आयाम सापेक्षित रूपमा प्रगतिशील छ ।

यद्यपि, यो सम्बन्ध पनि समस्यारहित भने छैन । उनीहरूबीचको अन्तरक्रिया त्यतिबेलामात्र सम्भव छ, जतिबेला मन पराइएका व्यक्ति अन्तरक्रियाका लागि राजी हुन्छन् । यहाँनेर अर्को कुरा पनि छ, मन परेका व्यक्तिसँग मनमाफिक सम्बन्ध विकास गर्न पाउने भाग्य सबैको निधारमा लेखिएको हुँदैन ।

उता, ‘प्यारासोसल रिलेसनसिप’ मा परेका व्यक्ति एकपछि अर्को गरी एकोहोरो प्रेममा फस्दै जान्छ । उसले सम्बन्धित व्यक्तिबारे थप जानकारी खोज्दै जान्छ । अखबारका ‘गसिप पेज’, इन्टरनेटका ‘गसिप कन्टेन्ट’ र रेडियो–टेलिभिजनले प्रसारण गर्ने सेलिब्रिटीसम्बन्धी रिपोर्टहरूको माध्यमबाट थप जानकारी सङ्कलन गरेर आफूलाई अद्यावधिक गराइरहन्छ ।

मन पराएको व्यक्तिबारे जति धेरै जानकारी प्राप्त गर्छ, आफू  त्यति नै उससँग नजिक भएको अनुभूत गर्छ । आफूले एकतर्फी रूपमा मन पराएको व्यक्ति अरू कसैसँग विवाह बन्धनमा बाँधिएको, दुर्घटनामा परेको वा मृत्यु भएको खबरले उसलाई अपरिमित दु;खी  तुल्याउँछ ।

‘प्यारासोसल रिलेसनसिप’ रहेका व्यक्तिले आफूले प्यारो ठानेको व्यक्तिलाई हरदम मन पराइरहने अवस्था बनिरहन्छ भन्ने पनि होइन । कतिपय अवस्थामा आफ्नो हृदयमा रहेको व्यक्तिप्रति मोहभङ्ग हुने अवस्था पनि आउँछ ।

प्यारो ठानिएका व्यक्ति गैरसामाजिक क्रियाकलापमा लागेको थाहा पाएका, उसका अक्षम्य कर्तुतहरू सार्वजनिक भएमा वा अन्य यस्तै कारणले उसप्रति मोहभङ्ग हुन पुग्छ । यससँगै उसप्रतिको प्रेम र आस्थाको धरोधर ढल्छ, यस्तो अवस्थालाई ‘प्यारासोसल ब्रेकअप’ भनिन्छ ।

प्यारासोसल सम्बन्धका आधार के के हुन् ? यसबारे अनेकन् मतमतान्तर छन् । सन् २००९ मा अमेरिकाको युनिभर्सिटी अफ नेभाडाका एक विद्यार्थीले ‘प्यारासोसल रिलेसनसिप्स् उइद् सेलिब्रिटिज् : एन इलुजन अफ इन्टिमेसी उइद् मिडिएटेड फ्रेन्डस्’ शीर्षकमा पेश गरेको शोधपत्रमा प्यारासोसल सम्बन्धका विविध आयामहरूलाई चिरफार गरिएको छ ।

शोधपत्रका अनुसार मानिसहरू सेलिब्रिटीका बौद्धिकता, सामथ्र्य र रूपभन्दा पनि प्रसिद्धिका पछि लाग्छन् । ४२ प्रतिशत अश्वेत र २१ प्रतिशत श्वेत बालबालिका सेलिब्रिटीका प्रसिद्धिका आधारमा उनीहरूप्रति आकर्षित हुने गरेको सोही अध्ययनमा पाइएको छ ।

‘प्यारासोसल रिलेसनसिप’ को अध्ययनसम्बन्धी इतिहासतिर खोतल्दा डोनाल्ड होर्टन र रिचर्ड होलले पहिलो पटक यो शब्दावली प्रयोगमा ल्याएका हुन् । सन् १९५६ मा होर्टन र रिचर्डले ‘साइकेट्री’ जर्नलमा ‘मास कम्युनिकेसन एण्ड इन्टरयाक्सन : अब्जरभेसन अन इन्टिमेसी एट अ डिस्ट्यान्स’ शीर्षकमा लेख प्रकाशन गरेपछि ‘प्यारासोसल रिलेसनसिप’ बारे चर्चा हुन थाल्यो ।

सन् १९७० को दशकदेखि ‘प्यारासोसल रिलेसनसिप’ को वैज्ञानिक अध्ययन शुरु भएको देखिन्छ । समयको यो विन्दुमा आइपुग्दा ‘प्यारासोसल रिलेसनसिप’ का विविध आयामबारे असंख्य अध्ययन–अनुसन्धान भइसकेका छन् । यस्ता विषयका अध्ययन प्रतिवेदनको खात जति चुलिँदैछ, त्यति नै प्यारासोसल सम्बन्धका जटिलताहरू बढ्दै गएका छन् ।

सोसल मिडियामार्फत कायम हुने ‘प्यारासोसल रिलेसनसिप’ एक अर्थमा प्रगतिशील भए पनि यसबाट सबैको मनचिन्ते झोला भरिँदैन । औंलामा गन्न सकिने भाग्यमानी व्यक्तिहरूको ‘प्यारासोसल रिलेसनसिप’ वास्तविक सम्बन्धमा परिणत भएर सुखान्त बनेका छन् ।

अधिकांशको सम्बन्ध अभेद्य चट्टानजस्तो अप्रसारयोग्य बनी टाक्सिएका छन् भने कतिपय सम्बन्ध धोकाधडीमा टुङ्गिएका छन् । यस्ता सम्बन्धले साइबर बुलिङ, साइबर दुर्व्यवहार  र अनेकन् दुर्दान्त कथाहरू जन्माएका छन् ।

नेपालमा ‘प्यारासोसल रिलेसनसिप’ बारे कुनै व्यवस्थित अध्ययन भएको पाइँदैन । यसबारे कुनै तथ्याङ्क वा अध्ययन प्रतिवेदन भेटिँदैन । तर पनि अनौपचारिक छलफल तथा कुराकानीमा कतिपय युवायुवती स्वदेशी तथा विदेशी सेलिब्रिटीहरूप्रति अतिशय आकर्षित भएको र एकोहोरो प्रेममा भौंतारिएको चर्चा सुनिन्छ । यस सन्दर्भमा कलेजका कतिपय विद्यार्थीले सिनेमाका कतिपय सेलिब्रिटी आफूलाई निकै मन पर्ने गरेको विचार व्यक्त गरेका छन् ।

फेसबुकलगायतका भर्चुअल माध्यमबाट हजारौं किलोमिटर पर रहेका व्यक्तिसँग थुप्रै व्यक्ति प्रेममा परेका तर सशरीर भेटघाट हुन नसक्दा मानसिक विक्षिप्तता आएका प्रसंग पनि बेलाबखतमा सुनिन्छन् । यस्ता विषयमा व्यवस्थित अध्ययन हुन आवश्यक भएको छ ।

अध्येताहरूका अनुसार ‘प्यारासोसल रिलेसनसिप’ मा रहेका व्यक्तिले एकततर्फी किसिमले ठूलो मात्रामा आफ्नो भावनात्मक उर्जा, रुचि र समय व्यर्थमा खर्च गर्छ, जुन अन्ततः डिप्रेसन, चिन्ता र तनावको गतिलो स्रोत बन्न पुग्छ ।

यु ट्युब च्यानल ‘टेडेक्स’ मार्फत ‘प्यारासोसल रिलेसनसिप’ बारे थुप्रै लेक्चर दिएकी क्यानडेली विज्ञ बेली पर्नेलले बेलायत, अमेरिका र क्यानडामा गरिएको अध्ययनले ‘प्यारासोसल रिलेसनसिप’ ले  धेरै दुःखान्त अध्याय निम्त्याएको चर्चा गर्दै यसबारे सचेत हुन आग्रह गरेकी छिन् ।

असल कामका लागि असर आशयका साथ कसैबाट प्रभावित हुनु र कसैलाई आस्था वा प्रेमको धरोहर ठान्नु गलत होइन । तर, यही कुरा मानिसक दुव्र्यसन बन्न पुग्यो भने यसले घातक नतिजा निम्त्याउन सक्छ भन्ने तथ्यलाई अध्ययनहरूले औंल्याएका छन् । यसबारे सावधान हुन आवश्यक छ ।

[साभार : युवामञ्च । २०७६ पुस ।]