Showing posts with label लोकवाङ्मय. Show all posts
Showing posts with label लोकवाङ्मय. Show all posts

Saturday, December 17, 2016

चरी विम्बः गोलसिमलदेखि कर्‍याङकुरुङसम्म


–यमबहादुर दुरा

विम्ब विधानमा नेपाली लोकजीवन समृद्ध छ । हाम्रो लोकवाङ्मय विम्बमय छ । लोकवाङ्मयमा असंख्य विम्ब प्रयोग हुन्छन् । लोकअभिव्यक्तिमा जून, घाम, हिमाल, नदी, रङ आदिजस्ता प्राकृतिक विम्बहरू अनन्त रूपमा प्रयोग हुँदै आएका छन् । विम्बको अथाह भीडमा ‘चरी’ को पनि उल्लेख्य स्थान छ । ‘चरी’ लाई विम्बको रूपमा उभ्याउने परिपाटी लोकजिन्दगानीको एउटा हिस्सा नै हो ।

बिहान चराको चिरबिरसँगै आँखा खोलेर दिनचर्या शुरु गर्ने कृषिप्रधान समाजमा चरी विम्बको प्रयोग एउटा यथार्थ हो । हाम्रा लोककथा, लोकगाथा एवम् लोकगीतहरू चरी विम्ब र तिनले उत्पन्न गरेका सामाजिक तरङ्गहरूबाट सजिएका छन् ।

आफूले भन्न खोजेको कुरालाई सोझै नभनी प्रतीकात्मक रूपमा संकेत गर्नका लागि विम्बको प्रयोग हुन्छ । विम्बको प्रयोगले अभिव्यक्तिलाई निरस हुनबाट जोगाउँछ । यसले सम्प्रेषण गर्न खोजिएको सन्देशलाई रुचिकर र लालित्यपूर्णमात्र बनाउँदैन, गहिरो र अर्थपूर्ण पनि बनाउँछ ।

विम्बले जटिलभन्दा जटिलतम् विषयलाई पनि थोरै शब्दमा अर्थ्याउन सघाउँछ । अमेरिकी संगीतकार जेम्स हल (जन्मः सन् १९७१) ले विम्बबारे ब्लग लेखेका छन् । उनले भनेका छन्, ‘एउटा विम्बको प्रयोगले १० हजार शब्दले भन्न नसकेको कुरालाई सहजै अर्थ्याउँछ ।’

 विम्बले लोकहृदयको अविरल भावप्रवाहलाई अझ वेगवान् बनाएर भावनाको उडान भर्न सहयोग गरेका छन् । यसले सन्देशमा मिठास त थपेकै छ नै, त्यसमा पनि सांस्कृतिक मूल्य–मन्यताले रङ्गिएका सामाजिक तस्बिरहरू आँखा अघिल्तिर ल्याइदिएका छन् । यसले जीवनको गोरेटोमा घटित सन्दर्भ र प्रसंगहरूलाई छर्लङ्ग्याउन सघाएका छन् ।

‘चरी’ विम्बले विम्बले लोकजीवनका बहुआयामिक पक्षहरूलाई समेटछ । यसले अवस्थाअनुसार कार्य, व्यक्ति, स्थान, वस्तु, घटना, स्वभाव, भाव, विचार आदिलाई प्रतिनिधित्व गर्छ । यसले मानिसको मानिसको चञ्चल मन (मनचरी) देखि लोकव्यवहारका तमाम पहलुहरूलाई अङ्गालेको देखिन्छ ।

‘वनको चरा, वनकै ढुङगा’ जस्ता उखान, ‘रानीचरी स्याकलुङे वनभरि, बोल माया तिमै छ मनपरी’ जस्ता गीत त्यसै बनेका होइनन् । यी दृष्टान्तले नेपाली जनजीवनमा ‘चरी’ विम्बको महत्वलाई प्रष्ट्याउँछन् । हाम्रो जीवनशैलीले यी लोकविम्बसँग गहिरो नाता गाँसेको छ । यस्ता अनेकन लोकविम्बहरूमा लोकजीवनको ढुकढुकी स्पन्दित भइरहेका छन् ।

चरी विम्ब लोकवाङ्मयको परिधिभन्दा बाहिर निस्केर धेरै परसम्म पुगेको देखिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) ले   सुप्रसिद्ध कृति ‘मुनामदन’ मा भोटमा मदनको मृत्युलाई काग कराएको प्रसंग अघि सारेर विम्बमय बनाएका छन् । जनकवि केशरी धर्मराज थापा (वि.सं. १९८१–२०७१) ले आफ्ना कृतिको नाम ‘वनचरो’ र ‘गोलसिमल’ राखेका छन् ।

चर्चित अमेरिकी उपन्यासकार हार्पर लि (सन् १९२३–२०१६) ले ‘टु किल अ मकिङबर्ड’ उपन्यासमा ‘मकिङबर्ड’ नामक चरालाई विम्बको रूपमा प्रयोग गरेकी छिन् । सन् १९६१ मा पुलिट्जर पुरस्कार पाउन सफल उक्त कृतिमा खडा गरिएको त्यो चराले निरीह र निष्कपट व्यक्तिको प्रतिनिधित्व गर्छ ।

सिमलचरी (गोलसिमल) नेपाली समाजमा एउटा चर्चित विरहिरणी विम्ब हो । सिमलचरी भन्नेबित्तिकै एउटी टुहुरी, निरीह र अपहेलित चेलीको तस्बिर हामीसामु आउँछ, जो सौतेनी आमाको बुहार्तन खेप्न अभिशप्त छ । सानो छँदा अगेनाको छेउमा पलेटी कसेर बस्दा हजूरआमाले सिमलचरीको आहान सुनाउनुहुन्थ्यो । हजूरआमाबाट सिमलचरीका दुःखदायी वृत्तान्त सुन्दा हाम्रा परेली निथ्रुक्कै भिज्थे ।

लोकगीतका पारखीहरूले चरी विम्बको भरपूर उपयोग गरेका छन् । आफ्नो मन परेको मान्छे आफ्नो सेरोफेरोमा नभेट्दा प्रेमातुर मायालु सांकेतिक रूपमा न्यास्रो व्यक्त पोख्छ :

‘यो वनमा छैन कि चरी
भएदेखि कराउँथ्यो क्यै  गरी’ ।

मानिसको स्वभावलाई अर्थ्याउन पनि चरी विम्बको प्रयोग हुँदै आएको छ । समाजसँग घुलमिल हुन नचाहने एकलकाटे स्वाभावका मानिसलाई ‘वनको चराजस्तो पर पर भाग्ने मान्छे’ भनेर टिप्पणी गर्ने गरिन्छ । मुख बाँधेर नबस्ने फरासिलो स्वभावका व्यक्तिलाई ‘मैना’ भन्ने चलन छ ।

हाम्रो ‘विश्वास प्रणाली’ ले कागलाई यमदूतको रूपमा स्वीकारेको छ । सबैलाई थाहा भएकै कुरा हो, घरछेउमा आएर काग कराउँदा अब के अशुभ खबर सुन्नुपर्ने हो भनेर धेरै मानिस सशंकित हुन्छन् । घर वरपर काग कराउनसाथ ‘शुभबोल ! शुभबोल !’ भन्ने चलन छ । कागले कुनै अशुभ खबरको पूर्वसंकेत दिन्छ भन्ने मान्यताले हाम्रो समाजमा जरो गाडेको छ ।

हाम्रा अग्रजहरूले बोली–बचनलाई पनि चरी विम्बमा ढालेका छन् । मृदुभाषीको बोलीलाई कोइलीको आवाजसँग तुलना गर्ने प्रचलन नयाँ होइन । यसको विपरीत अप्रिय बचन बोल्न पछि नपर्ने पचमुखे स्वभावका व्यक्तिलाई तित्रासँग तुलना गर्ने चलन छ । उखानै छ, ‘तित्राको मुखै बैरी’ ।

कृषिप्रधान समाजमा हरेक बिहान चटारोले भरिएको हुन्छ । कृषिकर्ममा हरदिनको अर्थपूर्ण तयारीका लागि बिहानी समय मूल्यवान मनिन्छ, जसको सही उपयोग अनिवार्यजस्तै हुन्छ । बिहानको समय त्यत्तिकै चिप्लिएमा व्यस्ततापूर्ण जिन्दगीको कार्यतालिका बिग्रन पुग्छ । कुखुराले बिहानको उद्घोष गरेर खेतबारीमा पाखुरा जोत्ने कर्मजीवीहरूको कार्यतालिका दुरुस्त राख्न सघाउँछ  । समय–यन्त्रविहीन ग्रामीण समाजमा कुखुरा बिहानीसूचक घडी हो ।

बिहान हुन लागेको संकेत भालेको डाँकले गर्थ्यो । यससँगै कृषिप्रधान समाजमा दिनचर्या शुरु हुन्थ्यो । मुगलान पस्ने युवाहरू भालेको डाँकसँगै गाउँको सीमाना काट्थे । देशमा घडीको आमप्रचलन शुरु हुनुभन्दा अघिको साहित्य र लोकगीतहरूमा कुखुरा गतिलो समयविम्बको उभिएको पाइन्छ ।

हिमालको डाँफे र मधेशकोे मुरलीको दुःखान्त प्रेमकथा लोकजीवनमा चर्चित छ । डाँफे र मुरलीको आरिसलाग्दो मिलन र त्यसपछिकोे बिछोडले भरिएको विरहपूर्ण कथा नेपाली समाजको अमूर्त सांस्कृतिक सम्पदा हो । डाँफे र मुरलीको कथालाई झलकमान गन्धर्व (वि.सं. १९९२–२०६०) ले गीतमा उतारेका छन् ।

न्याउली चरीलाई विरह र बिछोडको प्रतीक मानिन्छ, जसलाई विम्बको रूपमा खडा गरेर थुप्रै लोकगीत बनेका छन् । मुगलान पसेका छोरो घर नफर्किएको प्रसंग उठाएर लोकबहादुर क्षेत्री (वि.सं. २०१८–२०५०) ले ‘रेडियो नेपाल’ मा मर्मस्पर्शी गीत रेकर्ड गराएका छन् । क्षेत्रीले न्याउली चरीलाई विम्ब बनाएको गीतको एउटा अंश यस्तो छ:

 ‘साइलो दाइ कहाँ गयो
पानी खाँदा न्याउली झुरायो’ ।

ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ, जसको प्रतिविम्ब नेपाली लोकगीतमा पर्याप्त देख्न सकिन्छ । तनहूँकी लोकगायिका मीरा राना मगर ( जन्मः वि.सं. २०२८) ले ५० को दशकको शुरुतिरै ‘रेडियो नेपाल’ मा सुमधुर गीत रेकर्ड गराएकी थिइन् । आञ्चलिक सुवास मगमगाउने त्यो गीतको एउटा हरफ विम्बमय छ:

 ‘आजभोलि के हुन्छ के हुन्छ
जोडी ढुकुर देख्दा नि मन रुन्छ’ ।

बारीमा उभिएको आरुबोटमा फूल  खेल्दानखेल्दै हरेक वर्ष आकाशमा कर्याङ्गकुरुङको बथान उँड्न थाल्छ । यसले छरपातको समय आएको सन्देश दिन्छ । मालचरीको नामले समेत चिनिने ‘कर्‍याङकुरुङ’ को आगमनले खेतीपातीको समय शुरु भएको संकेत गर्छ । भनाइ नै छ– ‘कर्‍याङकुरुङ आयो, काँक्रा फर्सी रोप’ । यसरी नेपाली समाज ‘कर्‍याङकुरुङ’ चरा  खेतीपातीको विम्ब बन्न पुगेको छ । नेपाली साहित्यमा समेत ‘कर्‍याङकुरुङ’ लाई प्रेमपूर्वक आत्मासात गरेको पाइन्छ ।

माथि चर्चा गरिएका विम्बका अतिरिक्त चाँचरी, परेवा, मलेवा, काफल पाक्यो, बिउ कुहियो, जुरेली, लामपुच्छ्रेजस्ता असंख्य चरीको प्रतीकात्मक प्रयोगबारे ‘कार्टुन नेटवर्क’ सँगै हुर्केका नयाँ पुस्ता धेरै हदसम्म अनभिज्ञ छ । लोकजीवनले यिनीहरूलाई विम्बको रूपमा कसरी प्रयोग गरिरहेको थियो र कसरी गरिरहेको छ भन्नेबारे थप खोज–अनुसन्धान हुन बाँकी छ ।

प्रकृतिको निकट रहेको ग्रामीण जीवनशैलीलाई त्यागेर ‘अटोमेसन’ तिर लम्कँदै गरेको र शहरी जीवनशैलीमा रूपान्तरण हुँदै गएको वर्तमान घडीमा कतिपय लोकविम्ब अबोधगम्य र असान्दर्भिक बन्न पुगेका छन् ।

हाम्रो समाज अतीतमुखी परम्परा र भविष्यमुखी आधुनिकताको दोसाँधमा उभिरहेको बेलामा कतिपय लोकविम्ब नखोतलिएको गाडधनजस्तै हुन पुगेको छ, जो खोज–अनुसन्धानप्रति मोहभाव राख्ने नयाँ पुस्ताको जाँगर र उत्सुकताको व्यग्र प्रतीक्षामा छ ।

[साभार: गोरखापत्र 'शनिबार'। (पुस २, २०७३) । तस्बिर : गुगल]

[अद्यावधिक : २०७४।०३।१३, २०७४।०५।११, २०७७।०३।२४]