Thursday, November 11, 2010

जी फ्याक्टर, युवा पुस्ता र मिडिया शिक्षा

-यमबहादुर दुरा

समयले जति-जति आधुनिकताको रुप ग्रहण गर्दैछ, त्यति-त्यति मिडियाको महत्व बढ्दै गएको छ । नेपालजस्तो राजनीतिक अस्थिरताको पञ्जामा परेको मुलुकमा मिडियाको महत्व झनै बढेर गएको देखिन्छ । नागरिकको 'मुड' प्रतिबिम्बित हुने सडक, सभासद्हरुको 'मुड' प्रतिबिम्बित हुने संसद्, अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा मानिने सेयर बजार, गतिछाडा बन्दै गएको राजनीति, बदलिँदो सामाजिक परिदृश्य, छिनछिनमा बदलिँदै गएको विश्व परिदृश्यलगायत जीवन र जगतसित गाँसिएका तमाम पक्षहरुबारे सूचना प्राप्त गर्ने मूलस्रोत मिडिया नै भएकोले मिडियाको महत्वलाई नकार्न सकिने अवस्था छैन । यी सम्पूर्ण पक्षहरुलाई नियाल्दा मिडिया अघि-अघि दगुर्दैछ । दुनियाँ मिडियाको पछिपछि । यस वास्तविकतालाई समयले प्रमाणित गर्दै लगेको छ ।

सडकको क्रोधपूर्ण भीडको 'मुड' बाट आÏना सवारीसाधनलाई जोगाउन गाडी निकाल्ने कि ननिकाल्ने भनेर अन्यमनस्क अवस्थामा पुगेका यातायात व्यवसायीको दोधार मेटाउने काम पनि मिडियाले नै गर्छ । सडकमा के बोल्ने अनि सदनमा के भन्ने, आफूलाई चन्दा दिने व्यापारी समुदायको मागलाई कसरी सम्बोधन गर्ने अनि आफूलाई भोट दिएर राजनीतिको चापी हातमा थमाइदिने जनतालाई के आश्वासन दिने भन्ने बारेमा अलमलमा परेका नेतालाई सामाजिक परिवेशबारे यथार्थ सूचना दिएर बाटो देखाइदिने काम पनि मिडियाले नै गरेको छ ।

खेतबारीमा कस्ता बीउबिजन र मल प्रयोग गर्ने अनि आफूले उत्पादन गरेको तरकारीलगायतका मुद्रान्न मध्यस्थकर्तालाई बेच्ने कि आफै बजारसम्म पुगेर बेच्ने, मुद्रान्नको मूल्य कति निर्धारण गर्नेजस्ता पक्षहरुमा निर्णय लिने काममा मिडिया नै सहयोगी बन्ने गरेको छ ।

मिडियाद्वारा सुसूचित नागरिक सबल हुन्छन्, जसले उनीहरुलाई निरीह हुनबाट जोगाउँछ । मिडियाको यसप्रकारको भूमिका साँच्चै नै सराहनीय छ । मिडियामार्फत् सार्वजनिक भएका समग्र परिदृश्यहरुले 'पब्लिक मुड', राजनीतिक परिवेशलगायत वस्तुस्थितिहरु थाहा पाइने भएकाले मिडिया धेरैका लागि 'पाथ फाइन्डर' बनेको छ ।

यी तमाम दृष्टान्तहरुलाई हेर्दा वर्तमानमा मिडिया महत्वपूर्ण पक्ष बन्दै गएको देखिन्छ । मिडियाको महत्वले 'मिडिया क्रेज' पनि ह्वात्तै बढेर गएको छ । त्यसमा पनि युवापुस्ताको मिडिया 'क्रेज' बताइनसक्नुको छ । कलेजमा मानविकी सङ्कायमा भर्ना हुने अधिकांश विद्यार्थीहरुले आमसञ्चार र पत्रकारिता नै पढ्न रुचाएको पाइन्छ । युवापुस्ताको यही मनोविज्ञानलाई ध्यानमा राखेर अधिकांश कलेजहरुले आमसञ्चार र पत्रकारिता विषयलाई पाठ्यसूचीमा समावेश गरेका छन्, जुन प्रकारान्तरले विद्यार्थीलाई आकषिर्त गर्ने माध्यम बन्न गएका छन् ।

अर्कोतिर, पत्रकारिता एवम् उद्घोषणकलासम्बन्धी प्रशिक्षण केन्द्रले गर्ने आकर्षक विज्ञापन र त्यसैको लहैलहैमा लागेर प्रशिक्षण केन्द्रहरुमा जम्मा हुने युवाहरुको भीड पनि कम छैन । यसलाई पनि युवापुस्ताको मिडिया 'क्रेज' को प्रतिबिम्ब वा सूचकको रुपमा लिन सकिन्छ ।

युवापुस्ता मिडियाप्रति आकर्षित हुनुका पछाडि असङ्ख्य कारणहरु हुन सक्छन् । तीमध्ये 'जी फ्याक्टर' अर्थात् 'ग्ल्यामर फ्याक्टर' लाई एक प्रमुख कारणको रुपमा लिन सकिन्छ । 'ग्ल्यामर' का लागि 'एक्सपोजर' उत्तिकै महत्वपूर्ण छ । मिडियाले उनीहरुलाई राम्रो 'एक्सपोजर' दिन्छ । रेडियोले उनीहरुको सुमधुर स्वरलाई हजारौँ मानिसबीच परिचित गराउन सघाउँछ । टेलिभिजनले उनीहरुको रुपलाई थुप्रै दर्शकका आँखासामु पुर्‍याउन सघाउँछ । पत्रपत्रिकाको 'बाइलाइन' ले उनीहरुलाई असङ्ख्य पाठकसामु स्थापित गराउँछ । अझ इन्टरनेटमा प्रकाशित सामग्रीले त उनीहरुलाई विश्वसमुदायमाझ परिचित तुल्याउँछ । इन्टरनेटमार्फत् समसामयिक विचारहरु प्रवाह गरेकै कारण थुप्रै मेहनेती ब्लगरहरु राम्रा लेखक र पत्रकारका रुपमा परिचित हुन पुगेका छन् ।

यी विविध कारणहरुले युवापुस्ता मिडियाप्रति आकषिर्त भएको हो । यसले मिडिया शिक्षामा गति थपिदिएको छ । तर मिडिया शिक्षा समस्यामुक्त भने छैन । मिडिया शिक्षा गम्भीर प्रकृतिका समस्याहरुबाट ग्रसित छ । त्रिभुवन विश्वविद्यालय एवम् उच्चमाध्यमिक शिक्षा परिषद्ले तयार पारेका पाठ्यक्रम समानुकूल परिमार्जन नहुनु, कतिपय कलेजमा फोटोग्राफीलगायतका अन्य प्रयोगात्मक विषयको प्रयोगशाला नहुनु, परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न आउनु, लापरबाहीपूर्णढङ्गबाट उत्तरपुस्तिका जाँचिदा परीक्षामा अनपेक्षित नतिजा आउनु, कतिपय कलेजमा असम्बन्धित विषयका शिक्षकले मिडिया पढाउनु, कतिपय कलेजको पठनपाठनमा मिडियाको प्रयोगात्मक पक्ष कमजोर हुनु, पठनपाठनको गुणस्तर र कलेजको भौतिक पूर्वाधारबारे सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुनुजस्ता पक्षहरुलाई मिडिया शिक्षाको प्रमुख समस्याको रुपमा लिन सकिन्छ ।

यस्ता समस्याका भूमरीमा परेका कतिपय विद्यार्थीहरुमा समयको एउटा विन्दुमा पुगेपछि निराशा छाएको पाइन्छ । गुलियोबाट सुरु भएको 'क्रेज' तीतो वास्तविकतामा अन्त्य हुँदा मिडियाका कतिपय विद्यार्थीहरुमा निराशा छाएको छ । भविष्य निर्माणको चरणमा रहेका विद्यार्थीहरुको मनमस्तिष्कमा निराशाले बास गर्नु भनेको विद्यार्थी स्वयम्, समाज, शिक्षण संस्था एवम् मिडिया उद्योगमा नकारात्मक असर पर्नु हो । यसतर्फ सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ ।

यहाँनेर मिडियाको अर्को पाटोको बारेमा पनि सानो चर्चा गरौँ । मिडियाबाट पाइने 'ग्ल्यामर'लाई मात्र हेरेर यस क्षेत्रमा प्रवेश गरेका कतिपय युवाहरु कालान्तरमा बाहिरिने गरेका प्रशस्त दृष्टान्तहरु छन् ।  मिडियामा पाइने 'ग्ल्यामर' भित्र सक्रिय जीवनशैली, सङ्घर्ष र कठोर परिश्रमको कथा पनि लुकेको हुन्छ भन्ने वास्तविकता बुझेपछि कतिपय युवाहरु यस क्षेत्रबाट बाहिरिन्छन् ।

मिडियाको अन्तरकथा जेजस्तो भए पनि सतहमा देखापरेका यी तमाम समस्याहरुलाई समयमै समाधान गर्नैपर्ने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाहरुले समस्यालाई बेलैमा चिन्नुपर्ने र नतिजामुखी समाधानतर्फ अग्रसर हुनुपर्ने अवस्था छ । यसका लागि आमसञ्चार र पत्रकारिताको पढाइ हुने विश्वविद्यालय एवम् उच्चमाध्यमिक शिक्षा परिषद्, मिडिया पढाउने शिक्षक, मिडियाका पुस्तक लेखक, बिधार्थी, शिक्षण उद्योगका हर्ताकर्ता एवम् सञ्चारविद्हरुबीच समय-समयमा अन्तरक्रिया र विचार-विमर्श हुन आवश्यक छ । यसैगरी परीक्षा प्रणालीमा सुधार, पाठ्यक्रमको समानुकूल परिमार्जन आदि पक्षहरु कार्यान्वयनका लागि सिफारिसयोग्य कार्यसूची हुन् ।

[साभार :  नेपालीपत्र    (जनवरी , २०१०) ]

[अद्यावधिक : २०६८।०६।०५ ,०६८१०१२, २०७१।०३।१५]

श्रुतिपरम्परा र नेपाली जनजीवन


 -यमबहादुर दुरा

प्रसंग निकटपूर्व अतीतको हो । वर्तमान यो प्रसंग त्यति सान्दर्भिक नहुन सक्छ, तर मननयोग्यचाहिँ अवश्य छ ।

प्रत्येक पल-पलमा चमत्कारपूर्ण आविष्कार भइरहेको एक्काइसौ शताव्दीसित कुनै सरोकार नै नराखी कर्मक्षेत्रमा एकोहोरो जोतिरहने कर्मजीवीहरुका जीवनमा आज पनि लेख्य सामग्रीको  कुनै स्थान छैन । देशको कुना-कन्दरामा रहने कर्मजीवी रातको चार प्रहर ढल्न नपाउँदै झल्याँस्स बिउँझिन्छ । ऊ चरीको चिरबिरसँगै उठ्छ र आँखा मिच्दै आफ्नो कर्मक्षेत्रमा होम्मिन्छ ।

 मनमा उर्लिएको सुखदुःखका भावना पोख्नका लागि उनलाई कपी कलम चाहिँदैन । लोकगीत गुनगुनाएर ऊ आफ्नो मनका पीर-व्यथाहरु बिर्सने चेष्टा गर्छ । दिनभरिको काम सकेर घर पर्कने बेलामा कुर्लेर वा सुसेली हालेर साथीसंगीलाई बोलाउँछ । सबै साथीसंगी बटुलिएपछि सुखदुःखका कुराकानी गर्दै घरतिर पाइला बढाउँछ ।

घरमा पुगेर गुन्द्रुक र ढिँडोले पेट भरेपछि ऊ रोदीघरतिर लम्कन्छ । त्यहाँ पुगेर आफ्ना दौंतरीहरुसित नाँचगान गर्छ अनि दिनभरिको थकाइ बिर्सन्छ । रोदीघरबाट आफ्नो घर फर्केर ओछ्यानमा ढल्छ अनि ऊ भुसुक्कै निदाउँछ । भोलिपल्ट झिसमिसेमै उठेर पूर्ववत् रुपमा खेतबरीमा आफ्ना जाँगरिला पाखुराहरु जोत्न पुग्छ ।

एवम् रीतले उनको दिनचर्या घडीको सुईझैं घुमिरहन्छ । कर्मभूमिमा पखुरा जोतर बाँचेका कर्मजीवीको जीवन यसरी नै बितिरहको छ, आजसम्म पनि । अनि यही हो, आधुनिकताको छालले नभेटेको गाउँबस्तीमा रहने कर्मजीवीहरुको दिनचर्या । यो परिपाटी उनीहरुको साझा जीवनशैली पनि हो ।

सङ्गीतको नाद लहरजस्तै एकतमाससित गुन्जिएझैं कामसित उनीहरुको जीवनशैली निरन्तर तादत्म्य गाँसिरहन्छ । न ऊ लेखपढ गर्न जान्दछ, न  त लिखित सामग्री पढ्ने फुर्सद नै ऊसित छ । उसको जीवन पूरापूर अलिखित शैली वा श्रुतिपरम्परामा अडेको छ ।

देशको शैक्षिक तथ्याङ्कले साक्षरता दर निरन्तर उकालो चढेको देखाएको छ । तर यस तथ्याङ्कले सधैँभरि पसिनाले नुहाउने यी कर्मजीवीहरुको जीवनलाई अलिकति पनि छोएको छैन । सरकारी तथ्याङ्कले नै नेपालमा ४० जनता निरक्षर छन भन्ने उद्घोष गरेको छ । अहिले पनि उनीहरुको जीवन कपी-कलम र औपचारिक शिक्षा विना नै बितिरहको छ । लगभग नब्बे प्रतिशत जनता गाउँमा बसोबास गर्ने हाम्रो देशमा अझै पनि यस्ता कुना-कन्दराहरु छन् जहाँ अहिलेसम्म कुनै पनि सञ्चार माध्यमका पुगेका छैनन् । न पत्रपत्रिका न त रेडियो र टेलिभिजन नै ।

तथ्याङ्क विभागले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार नेपालका ४१.३ प्रतिशत घरधुरीमा सञ्चारमाध्यमका कुनै पनि माध्यमको पहँच छैन । आमसञ्चारको पहुँच नपुगेको कुना-कन्दराको आकाशमा रेडियो र टेलिभिजनका वायुतरङ्ग दौडिरहे पनि  कमजोर आर्थिक अवस्था चेतनाको अभाव सञ्चारमाध्यमको उपयोगिता र महत्वको बोध नहुनुजस्ता कारणले ती वायुतरङ्गलाई भरपूर उपयोग गर्न सकेको देखिन्न ।

त्यसैले हाम्रा गाउँवस्तीहरु अझै पनि परम्परागत सञ्चार प्रणली कटुवाल कराउन लगाउनेजस्ता अलिखित एवम् अप्रकाशित माध्यम मा आधारित छ । अहिले पनि कतिपय दुर्गम गाउँबस्तीका जनता रेडियो सुन्ने र टेलिभिजन हॆर्नुको सट्टा साँझपख अगेनोको छेउ वा पिढ़ीमा भेला भएर आहान दन्त्यकथा, भूतप्रेतसम्बन्धी प्रसंग सुन्ने एवम् सुनाउने चलन हराएको छैन ।

उता घरका बाजे-बज्यैले  आफ्ना नाति-नातिनलाई काखमा लुट्पुट्याएर घतलाग्दा कथा एवम् जीवन र जगतसित गाँसिएका मार्मिक र रोचक प्रसंगहरु सुनाउने चलन नयाँ होइन । बाजेबज्यैका काखमा बसेर सुनेका यस्ता कथा एवम् प्रसंग केटाकेटीका लागि ज्यादै महत्वपूर्ण हुन्छन् । भविष्यका लागि मागदर्शकका रुपमा रहने यस्ता प्रसंगहरु स्मृतिपटलमा  सदा-सर्वदा ताजा रहन्छन्, जुन भविष्यका लागि गतिलो प्रेरणास्रोत बन्छन् । साथै यस्ता प्रसंगहरु भोलिका लागि उद्धरणयोग्य उद्धरण बन्छन् ।


नेपाली जीवनशैलीलाई नजिकबाट नियाल्ने हो भने हाम्रो परम्परा र संस्कृति श्रुतिपरम्परामा आधारित छ भन्न करै लाग्छ । लोकले युगौंदेखि  मुखमुखै जोगाउँदै आएको जनश्रुति, परिकथा, कहावत, आदि नै हाम्रो परम्परा र संस्कृतिका आधार हुन् । दशैंमा टीका थाप्दा दिइने आशीर्वाद होस्, नित्य कर्मकाण्डका पूजाआजाका विधि-विधान नै किन नहोस्,  केहीमा पनि लिखित रुप भेटिँदैन । तर पनि सबै कुराहरु शास्त्रसम्मत नै देखिन्छन् । शताब्दीयौंदेखि चलिआएको कृष्णचरित्र, सोरठी, घाँटु, बालन, आदि परम्परागत नाचका लय र शब्दहरु अलिखित रुपमा बाँच्दै आएका छन् ।

यी नाचका सम्पूर्ण अध्यायहरु गाउँघरका बूढापकाका मुखमै कण्ठस्त झुण्डिरहेका छन् । विवाह भोज-भतेर जात्रा हाट-बजारजस्ता सामाजिक जमघट एवम् वनपातमा गुन्जिएको  गीत सुन्दासुन्दै कलिला केटाकेटीहरुले गीत गाउन सिकिसकेका हुन्छन् । बाउ-बाजेले बेला-बखतमा गुनगुनाउने मन्त्र एवम् श्लोकहरु पत्तै नपाई केटाकेटीका गलामा सारिसकेका हुन्छन् । 

नेपाली जनजीवनको स्पन्दनको रुपमा रहेको  लोकसहित्य आहान लोकगीत लोकनाटक उखान-टुक्का लाकोक्ति गाउँखाने कथा आदि पूरापूर श्रुतिपरम्परामा आधारित छ । यो अलिखित विधा हो । सधैँभरि पसिनाले नुहाउने कुना-कन्दराका कर्मजीवीहरु लोकसाहित्यमा रुन्छन् लोकसाहित्यमा हाँस्छन् अनि लोकसाहित्यमा नै मन बुझाउँछन् । त्यसैले यो विधा उनीहरुको सुखदुःखको साथी बनेको छ । उनीहरु लोकसाहित्यको शाब्दिक अर्थसित परिचित नहुन सक्छन् । तर पनि लोकसाहित्यको मर्मसित भने उनीहरुको जीवन नै घोलिएको छ ।

 "जिउँदाको जन्ती, मर्दाको मलामी"  "भाइ कहाँ पाइ, भाइ मुटु खाइ",  "बाचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो", "सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैन दाजुभाइ", "कालो ठेकी कालीकाठको रातो ठेकी दारको, दिन आउँछ घुमिघुमी जोवन एकैबारको"  जस्ता लोकसाहित्यका फाँकी र फुँदाहरु मुखमुखबाटै पुराना पुस्ताबाट नयाँ पुस्तासम्म आइपुगेका छ्न् ।

यिनीहरुले मानव जीवनका शाश्वत पक्षहरुलाई उद्घाटन गरेका छन् । एक मुखबाट अर्को मुखमा सर्दै अएका यी मर्मभेदी अभिब्यक्ति युग र अनुभवको कसीमा खारिएका हुन्छन् । पहाडबाट खहरेखोलासँगै भरेको लाम्चो ढुङ्गा नदीको धार परेपछि कालान्तरमा एउटा निश्चित आकारमा परिणत भएझैं ।

गन्धर्व समुदायले लोकसाहित्यको एउटा हाँगो लोकगीत लाई बलियोसित समातेका छन् । गन्धर्व समुदायले परम्परादेखि नै  सुखदुःखका हाम्रा अभिव्यक्ति लोकगीत एवम् कर्खा हरुलाई मौखिक रुपमा साँच्दै आएका छन् । यिनै अभिव्यक्तिले अवस्थाअनुसार हाम्रो परेलीलाई निथ्रुक्कै भिजाइदिन्छ अनि हाम्रो ओंठमा मुस्कान फक्राइदिन्छ ।

 यिनै गन्धर्वहरुले अलिखित तर जीवित इतिहास पनि साँचेका छन् । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रा, चन्द्रशमसेरको जीवनी, अन्य राजा-महाराजाको उथुलपुथुलपूर्ण जीवन कहानी आदि घट्नामा आधारित भएर तयार पारिएका कर्खा यसका जिउँदा प्रमाण हुन् ।

नेपाली जनजीवन खासगरी ग्रामीण जनजीवनसित गहिरो नाता गाँसेको श्रुतिपरम्परालाई जोगाउने काम देशका कुना-कन्दराका अपठित कर्मजीवीहरुले गरेका छन् । उनीहरु डिस्को र क्याब्रे नृत्यमा छेपारी बटार्न पल्केका छैनन् । उनीहरु बाहिरी दुनियाँबाट अप्रभावित छन् ।

आ-आफ्नै  परिवेशमा फक्रिएका सांस्कृतिक निधिसित रमाइरहेका छन्, उनीहरु । पूजापाठमा प्रयोग हुने श्लोकदेखि विशेष मौकामा नचाइने घाँटु नाँचका कथामय अध्यायसम्मका सांस्कृतिक निधिलाई मुखमुखै बचाएर राख्ने पनि उनीहरु नै हुन् । यसैमा उनीहरुको जीवनको ढुकढुकी भेटिन्छ ।

हामीकहाँ श्रुतिपरम्पराको अथाह भण्डार छ । तर, समयको बदलिँदो प्रवाहसँगै यसको भण्डार रित्तिँदै गएको छ । यसको अवनतिलाई "पुरानो पात झर्दै जान्छ, नयाँ पलाउँदै जान्छ" भन्ने मान्यतसँग गाँसेर चित्त बुझाउनॆ वा यसलाई हाम्रो संस्कृतिको आधारशिला मानेर बचाउनतिर लाग्ने  निष्कर्ष आ-आफ्नै  हुनसक्छ । तर विकासको दौडमा पछि परको हाम्रो गरिब देशका अपठित कर्मजीवीहरुलाई  विकासको मूल प्रवाहमा ल्याउन जरुरी छ ।

यस दिशामा उनीहरुलाई अभिप्रेरित गर्नाका लागि  सजिलो र भरपर्दो माध्यमचाहि श्रुतिपरम्परा, लोकगीत, लोकनाटक, प्रहसन, आदि नै हुन् । श्रुतिपरम्पराको मध्यमबाट प्रवाहित सन्देश उनीहरुका लागि रुचिकर र वोधगम्य हुनसक्छ । लिखित परम्पराको चरम विकास भएको आधुनिक समयमा पनि श्रुति परपरम्पराले परिपूरकको भूमिका गरिरहेको छ ।

मनमनै मनन गर्ने हो भने आज  पनि श्रुति परम्पराको अतुलनीय भूमिका छ ।

नेपाली पोष्ट  २०६७ साल कात्तिक २५ गते ।]

[अद्यावधिक :२०६८१०१२, २०६९०१२५, २०६९।०९।११, २०७७।०२।२३, २०७७।०२।२४]

Wednesday, November 10, 2010

प्रसंग हाँसो र रोदनको

 -यमबहादुर दुरा


 











लोग्ने मान्छे भएर रुन हुन्न रे…' योगेश्वर अमात्यको स्वरमा  गुन्जिने यस गीतमा ओंठमाथि जुँगा उम्रेका मर्द भनाउँदाहरुको गहिरो पीडा लुकेको छ । हाम्रो सामाजिक मान्यताअनुसार छोरामान्छे कठोरता र निडरताको अर्को नाम हो । त्यसैले आँखाभरि आँसुको सागर छचल्किए पनि उसले अरुको अघिल्तिर आँसु चुहाउनु हुँदैन भनिन्छ । अन्यथा उसले नामर्दको संज्ञा पाउँछ ।

उता, छोरीमान्छे कोमलता र भावुकताको प्रतीक मानिन्छ । त्यसैले उनीहरुले हल्काफुल्का समस्या वा दुःखमा पनि अँश्रुधारा बगाउनुपर्छ रे । अन्यथा ऊ ढुङ्गाजस्तो हिर्दय भएको नारीमा गनिन्छे, अलच्छिना एवम् निर्दयी ठहरिन्छे ।


 


अब प्रश्न उठ्छ, के हाम्रो समाजमा विद्यमान यस्तो मान्यता विज्ञानसम्मत छ ? के यस्तो धारणा मनोविज्ञानको कसीमा सही ठहरिन सक्छ  भारतीय लेखिका कमला भसिन समाजमा विद्यमान परम्परागत मान्यताको विरुद्धमा उभिएकी छिन् । उनको ठहर छ, 'वास्तवमा प्रत्येक व्यक्तिमा स्त्रीत्व र पुरुषत्व दुवै हुन्छ । तर समाजले केटीभित्र लुकेको पुरुषत्व र केटाभित्र लुकेको स्त्रीत्वलाई मौलाउन दिदैन ।'

हामीलाई थाहै छ, सबैको स्वाभाव एउटै हुँदैन । भनाइ नै छ, 'सन्तान थरिथरीका' । खोजीपस्दा थाहा हुन्छ, मर्द भनाउँदा कतिपय मानिसहरु सानातिना मर्म र व्यथामा पनि आँसुले परेली भिजाउँछन् । हाम्रा निवर्तमान क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा भावुकतावश रोएको समाचार पत्रपत्रिकाहरुले तस्बिरसहित प्रकाशन गरेका थिए । यसबाहेक पद्मरत्न तुलाधर 'राष्ट्रिय पञ्चायत' मा डाँको छाडेर रोएको कुरा पनि नेपाली राजनीतिक वृत्तमा एउटा चर्चित प्रसंग मानिन्छ । यसैगरी सन् १९९७ मा हङ्गकङ्ग चीनलाई हस्तान्तरण गरिँदाको समयमा
ब्रिटिशकालीन हङ्गकङ्गका तत्कालीन गभर्नर  क्रिश प्याटन बिदाइ भाषण गरिरहेका थिए । त्यतिबेला उनी धुरुधुरु रोइरहेको दृश्य टेलिभिजनले प्रसारण गरेको थियो । ‘ओलम्पिक गेम’ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हारेको र जितेको दुवै घडीमा पुरुष खेलाडीहरुले बलिन्द्र अँश्रुधारा बगाउने गरेको दृश्य कसैसामु लुकेको छैन ।

यसको विपरीत कतिपय छोरीमान्छेहरु हदैसम्म अटल र धैर्यवान् हुन्छन् । उनीहरु आफन्तको मृत्यु वा कुनै दुःखद परिस्थितिमा समेत आँसु खसाल्दैनन् । बरु उनीहरु आँसुमा डुबिरहेका छोरामान्छेहरुलाई रुनु हुँदैन भनेर मनको घाउमा मलम लगाउन पुग्छन् ।

यिनै प्रसंगहरुमा घोत्लिँदा छोरामन्छे र छोरीमान्छे शारीरिक रुपमा भिन्न भए पनि भावनात्मक एवम् सम्वेगात्मक रुपमा भिन्न छैनन् भन्न करै लाग्छ ।  समाजमा प्रचलित मान्यताअनुसार महिला कुरौटे हुन्छ भने पुरुष गम्भीर हुन्छ; पुरुष शक्तिशाली हुन्छ भने महिला कमजोर हुन्छ; महिला शान्त र सौम्य हुन्छ भने पुरुष क्रूर वा हिंस्रक हुन्छ; आदि, आदि । तर यी सबै मान्यताहरु गलत सामाजिकीकरणको उपज हुन् भन्ने विषयमा जनमत तयार हुँदै गइरहेको छ ।

हामीलाई राम्रोसँग थाहा छ, महिला र पुरुष दुवैको छातीभित्र मुटु चल्छ । दुबैलाई मानवीय सम्वेदनाले छुन्छ ।  जिन्दगीको भोगाइहरुले दुवैको आँखामा आँसु टलपलाइदिन्छ अनि ओंठमा मुस्कान छरिदिन्छ । परिस्थितिले दुवैलाई दुःखको ‘मारियाना ट्रेन्च’ मा डुबाइदिन्छ र खुसीको सगरमाथामा उचालिदिन्छ । मानवीय सम्वेदनाहरुमा तरङ्गित हुने एकै खालका मुटु र आत्म भएका महिला र पुरुषबीच शारीरिक भिन्नताबाहेक अरु फरकपन छैन होला । तर समाजलॆ छोरामान्छेलाई आफ्नो दुःखमा पनि किन रुनलायक ठान्दैन  अनि छोरीमान्छेलाई भने अभिनय गरेर भए पनि आँसु खसाल्न बाध्य पार्छ
यसको अर्थ के हो ?

विडम्बनाको चोटले रन्थनिँदै गर्दा हामीलाई फेरि अर्को विडम्बनाले आहत लुल्याउँछ । छोरामान्छे आफ्नी प्रेयसीको काखमा घोप्टिएर अँश्रुधारा बगाउनु हुँदैन रे, उसले त एकोहोरो रुपमा प्रेयसीको आँसु पुछिदिनुपर्छ रे । प्रेयसीसँगै सुक्कसुक्क गर्न थाल्यो भने त उ नामर्द नै ठहर्छ । हुँदाहुँदा आफूलाई जन्म दिने आमा-बा मर्दासमेत छोरामान्छेलाई रुन बन्देज छ । छोरामान्छेको मुटु ढुङ्गाले बनेको हुँदैन । उ ‘मेसिन’ पनि होइन । हाम्रो समाजको संरचना र सोंचाइमा शायद कही कतै गल्ती छ । अब कमलो मनका छोरामान्छे पनि आफ्नो पीरव्यथामा धोको फुकाएर रुन सकोस् अनि कडा स्वाभाव भएकी छोरीमान्छे अभिनय गरेर रुनुपर्ने दिन समाप्त होस् ।

चिकित्साशास्त्रमा रुवाइको औषधीय महत्व छ । मजाले रोयो भने मनको कुण्ठा र पीर आँसुसँगै बगेर जान्छ भन्ने मान्यता छ । यसै प्रसंगमा ध्यानयोग र सम्मोहनकलाबारे प्रवचन दिँदै आएका विनोद शर्माले व्यक्त गरेको विचार सान्दर्भिक देखिन्छ । उनले गोर्खा एफएमको 'डार्क साइड' कार्यक्रममा २०६८ साल वैशाख १७ गतेको अङ्कमा भनेका थिए, 'हाँस्नु जति महत्वपूर्ण छ, रुनु पनि त्यति नै महत्वपूर्ण छ ।'



 













रुनु र हाँस्नु जिन्दगीको अपरिहार्य सर्त हो । यसलाई बन्देज गर्ने तागत कसैमा छैन । तर यसको सही व्यवस्थापन भने हुनैपर्छ । 'रोते रोते हँसना सिखो, हाँसते हँसते रोना…' यस हिन्दी गीतले दिएको यही सन्देश नै जिन्दगीमा हाँसो र रुवाइको सही व्यवस्थापन हुनुपर्छ भन्ने हो जस्तो लाग्छ । यसका लागि  हामीसँग उपयुक्त कला हुनुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने रुने र हाँस्ने कुरामा छोरामन्छे र छोरीमान्छे दुवैको बराबर हिस्सेदारी छ- न धेरै, न थोरै ।


[ साभार : नेपाली पोष्ट  (मे ५, २००९) । नेपाल समाचारपत्र  'सौगात' मा पहिलो पटक प्रकाशित । तस्बिर तथा ग्राफिक्स :  इन्टरनेट] 

[अद्यावधिक : २०६८।०७।०५, २०६९।०१।१८, २०६९।०१।१९, २०६९।०९।११, २०७१।०२।२५, २०७१।०३।०७, २०७१०३।०९, २०७१।०३।३०]