Thursday, November 11, 2010

श्रुतिपरम्परा र नेपाली जनजीवन


 -यमबहादुर दुरा

प्रसंग निकटपूर्व अतीतको हो । वर्तमान यो प्रसंग त्यति सान्दर्भिक नहुन सक्छ, तर मननयोग्यचाहिँ अवश्य छ ।

प्रत्येक पल-पलमा चमत्कारपूर्ण आविष्कार भइरहेको एक्काइसौ शताव्दीसित कुनै सरोकार नै नराखी कर्मक्षेत्रमा एकोहोरो जोतिरहने कर्मजीवीहरुका जीवनमा आज पनि लेख्य सामग्रीको  कुनै स्थान छैन । देशको कुना-कन्दरामा रहने कर्मजीवी रातको चार प्रहर ढल्न नपाउँदै झल्याँस्स बिउँझिन्छ । ऊ चरीको चिरबिरसँगै उठ्छ र आँखा मिच्दै आफ्नो कर्मक्षेत्रमा होम्मिन्छ ।

 मनमा उर्लिएको सुखदुःखका भावना पोख्नका लागि उनलाई कपी कलम चाहिँदैन । लोकगीत गुनगुनाएर ऊ आफ्नो मनका पीर-व्यथाहरु बिर्सने चेष्टा गर्छ । दिनभरिको काम सकेर घर पर्कने बेलामा कुर्लेर वा सुसेली हालेर साथीसंगीलाई बोलाउँछ । सबै साथीसंगी बटुलिएपछि सुखदुःखका कुराकानी गर्दै घरतिर पाइला बढाउँछ ।

घरमा पुगेर गुन्द्रुक र ढिँडोले पेट भरेपछि ऊ रोदीघरतिर लम्कन्छ । त्यहाँ पुगेर आफ्ना दौंतरीहरुसित नाँचगान गर्छ अनि दिनभरिको थकाइ बिर्सन्छ । रोदीघरबाट आफ्नो घर फर्केर ओछ्यानमा ढल्छ अनि ऊ भुसुक्कै निदाउँछ । भोलिपल्ट झिसमिसेमै उठेर पूर्ववत् रुपमा खेतबरीमा आफ्ना जाँगरिला पाखुराहरु जोत्न पुग्छ ।

एवम् रीतले उनको दिनचर्या घडीको सुईझैं घुमिरहन्छ । कर्मभूमिमा पखुरा जोतर बाँचेका कर्मजीवीको जीवन यसरी नै बितिरहको छ, आजसम्म पनि । अनि यही हो, आधुनिकताको छालले नभेटेको गाउँबस्तीमा रहने कर्मजीवीहरुको दिनचर्या । यो परिपाटी उनीहरुको साझा जीवनशैली पनि हो ।

सङ्गीतको नाद लहरजस्तै एकतमाससित गुन्जिएझैं कामसित उनीहरुको जीवनशैली निरन्तर तादत्म्य गाँसिरहन्छ । न ऊ लेखपढ गर्न जान्दछ, न  त लिखित सामग्री पढ्ने फुर्सद नै ऊसित छ । उसको जीवन पूरापूर अलिखित शैली वा श्रुतिपरम्परामा अडेको छ ।

देशको शैक्षिक तथ्याङ्कले साक्षरता दर निरन्तर उकालो चढेको देखाएको छ । तर यस तथ्याङ्कले सधैँभरि पसिनाले नुहाउने यी कर्मजीवीहरुको जीवनलाई अलिकति पनि छोएको छैन । सरकारी तथ्याङ्कले नै नेपालमा ४० जनता निरक्षर छन भन्ने उद्घोष गरेको छ । अहिले पनि उनीहरुको जीवन कपी-कलम र औपचारिक शिक्षा विना नै बितिरहको छ । लगभग नब्बे प्रतिशत जनता गाउँमा बसोबास गर्ने हाम्रो देशमा अझै पनि यस्ता कुना-कन्दराहरु छन् जहाँ अहिलेसम्म कुनै पनि सञ्चार माध्यमका पुगेका छैनन् । न पत्रपत्रिका न त रेडियो र टेलिभिजन नै ।

तथ्याङ्क विभागले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार नेपालका ४१.३ प्रतिशत घरधुरीमा सञ्चारमाध्यमका कुनै पनि माध्यमको पहँच छैन । आमसञ्चारको पहुँच नपुगेको कुना-कन्दराको आकाशमा रेडियो र टेलिभिजनका वायुतरङ्ग दौडिरहे पनि  कमजोर आर्थिक अवस्था चेतनाको अभाव सञ्चारमाध्यमको उपयोगिता र महत्वको बोध नहुनुजस्ता कारणले ती वायुतरङ्गलाई भरपूर उपयोग गर्न सकेको देखिन्न ।

त्यसैले हाम्रा गाउँवस्तीहरु अझै पनि परम्परागत सञ्चार प्रणली कटुवाल कराउन लगाउनेजस्ता अलिखित एवम् अप्रकाशित माध्यम मा आधारित छ । अहिले पनि कतिपय दुर्गम गाउँबस्तीका जनता रेडियो सुन्ने र टेलिभिजन हॆर्नुको सट्टा साँझपख अगेनोको छेउ वा पिढ़ीमा भेला भएर आहान दन्त्यकथा, भूतप्रेतसम्बन्धी प्रसंग सुन्ने एवम् सुनाउने चलन हराएको छैन ।

उता घरका बाजे-बज्यैले  आफ्ना नाति-नातिनलाई काखमा लुट्पुट्याएर घतलाग्दा कथा एवम् जीवन र जगतसित गाँसिएका मार्मिक र रोचक प्रसंगहरु सुनाउने चलन नयाँ होइन । बाजेबज्यैका काखमा बसेर सुनेका यस्ता कथा एवम् प्रसंग केटाकेटीका लागि ज्यादै महत्वपूर्ण हुन्छन् । भविष्यका लागि मागदर्शकका रुपमा रहने यस्ता प्रसंगहरु स्मृतिपटलमा  सदा-सर्वदा ताजा रहन्छन्, जुन भविष्यका लागि गतिलो प्रेरणास्रोत बन्छन् । साथै यस्ता प्रसंगहरु भोलिका लागि उद्धरणयोग्य उद्धरण बन्छन् ।


नेपाली जीवनशैलीलाई नजिकबाट नियाल्ने हो भने हाम्रो परम्परा र संस्कृति श्रुतिपरम्परामा आधारित छ भन्न करै लाग्छ । लोकले युगौंदेखि  मुखमुखै जोगाउँदै आएको जनश्रुति, परिकथा, कहावत, आदि नै हाम्रो परम्परा र संस्कृतिका आधार हुन् । दशैंमा टीका थाप्दा दिइने आशीर्वाद होस्, नित्य कर्मकाण्डका पूजाआजाका विधि-विधान नै किन नहोस्,  केहीमा पनि लिखित रुप भेटिँदैन । तर पनि सबै कुराहरु शास्त्रसम्मत नै देखिन्छन् । शताब्दीयौंदेखि चलिआएको कृष्णचरित्र, सोरठी, घाँटु, बालन, आदि परम्परागत नाचका लय र शब्दहरु अलिखित रुपमा बाँच्दै आएका छन् ।

यी नाचका सम्पूर्ण अध्यायहरु गाउँघरका बूढापकाका मुखमै कण्ठस्त झुण्डिरहेका छन् । विवाह भोज-भतेर जात्रा हाट-बजारजस्ता सामाजिक जमघट एवम् वनपातमा गुन्जिएको  गीत सुन्दासुन्दै कलिला केटाकेटीहरुले गीत गाउन सिकिसकेका हुन्छन् । बाउ-बाजेले बेला-बखतमा गुनगुनाउने मन्त्र एवम् श्लोकहरु पत्तै नपाई केटाकेटीका गलामा सारिसकेका हुन्छन् । 

नेपाली जनजीवनको स्पन्दनको रुपमा रहेको  लोकसहित्य आहान लोकगीत लोकनाटक उखान-टुक्का लाकोक्ति गाउँखाने कथा आदि पूरापूर श्रुतिपरम्परामा आधारित छ । यो अलिखित विधा हो । सधैँभरि पसिनाले नुहाउने कुना-कन्दराका कर्मजीवीहरु लोकसाहित्यमा रुन्छन् लोकसाहित्यमा हाँस्छन् अनि लोकसाहित्यमा नै मन बुझाउँछन् । त्यसैले यो विधा उनीहरुको सुखदुःखको साथी बनेको छ । उनीहरु लोकसाहित्यको शाब्दिक अर्थसित परिचित नहुन सक्छन् । तर पनि लोकसाहित्यको मर्मसित भने उनीहरुको जीवन नै घोलिएको छ ।

 "जिउँदाको जन्ती, मर्दाको मलामी"  "भाइ कहाँ पाइ, भाइ मुटु खाइ",  "बाचुन्जेल तेरो र मेरो, मरेपछि ढुङ्गाको चौघेरो", "सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैन दाजुभाइ", "कालो ठेकी कालीकाठको रातो ठेकी दारको, दिन आउँछ घुमिघुमी जोवन एकैबारको"  जस्ता लोकसाहित्यका फाँकी र फुँदाहरु मुखमुखबाटै पुराना पुस्ताबाट नयाँ पुस्तासम्म आइपुगेका छ्न् ।

यिनीहरुले मानव जीवनका शाश्वत पक्षहरुलाई उद्घाटन गरेका छन् । एक मुखबाट अर्को मुखमा सर्दै अएका यी मर्मभेदी अभिब्यक्ति युग र अनुभवको कसीमा खारिएका हुन्छन् । पहाडबाट खहरेखोलासँगै भरेको लाम्चो ढुङ्गा नदीको धार परेपछि कालान्तरमा एउटा निश्चित आकारमा परिणत भएझैं ।

गन्धर्व समुदायले लोकसाहित्यको एउटा हाँगो लोकगीत लाई बलियोसित समातेका छन् । गन्धर्व समुदायले परम्परादेखि नै  सुखदुःखका हाम्रा अभिव्यक्ति लोकगीत एवम् कर्खा हरुलाई मौखिक रुपमा साँच्दै आएका छन् । यिनै अभिव्यक्तिले अवस्थाअनुसार हाम्रो परेलीलाई निथ्रुक्कै भिजाइदिन्छ अनि हाम्रो ओंठमा मुस्कान फक्राइदिन्छ ।

 यिनै गन्धर्वहरुले अलिखित तर जीवित इतिहास पनि साँचेका छन् । प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत यात्रा, चन्द्रशमसेरको जीवनी, अन्य राजा-महाराजाको उथुलपुथुलपूर्ण जीवन कहानी आदि घट्नामा आधारित भएर तयार पारिएका कर्खा यसका जिउँदा प्रमाण हुन् ।

नेपाली जनजीवन खासगरी ग्रामीण जनजीवनसित गहिरो नाता गाँसेको श्रुतिपरम्परालाई जोगाउने काम देशका कुना-कन्दराका अपठित कर्मजीवीहरुले गरेका छन् । उनीहरु डिस्को र क्याब्रे नृत्यमा छेपारी बटार्न पल्केका छैनन् । उनीहरु बाहिरी दुनियाँबाट अप्रभावित छन् ।

आ-आफ्नै  परिवेशमा फक्रिएका सांस्कृतिक निधिसित रमाइरहेका छन्, उनीहरु । पूजापाठमा प्रयोग हुने श्लोकदेखि विशेष मौकामा नचाइने घाँटु नाँचका कथामय अध्यायसम्मका सांस्कृतिक निधिलाई मुखमुखै बचाएर राख्ने पनि उनीहरु नै हुन् । यसैमा उनीहरुको जीवनको ढुकढुकी भेटिन्छ ।

हामीकहाँ श्रुतिपरम्पराको अथाह भण्डार छ । तर, समयको बदलिँदो प्रवाहसँगै यसको भण्डार रित्तिँदै गएको छ । यसको अवनतिलाई "पुरानो पात झर्दै जान्छ, नयाँ पलाउँदै जान्छ" भन्ने मान्यतसँग गाँसेर चित्त बुझाउनॆ वा यसलाई हाम्रो संस्कृतिको आधारशिला मानेर बचाउनतिर लाग्ने  निष्कर्ष आ-आफ्नै  हुनसक्छ । तर विकासको दौडमा पछि परको हाम्रो गरिब देशका अपठित कर्मजीवीहरुलाई  विकासको मूल प्रवाहमा ल्याउन जरुरी छ ।

यस दिशामा उनीहरुलाई अभिप्रेरित गर्नाका लागि  सजिलो र भरपर्दो माध्यमचाहि श्रुतिपरम्परा, लोकगीत, लोकनाटक, प्रहसन, आदि नै हुन् । श्रुतिपरम्पराको मध्यमबाट प्रवाहित सन्देश उनीहरुका लागि रुचिकर र वोधगम्य हुनसक्छ । लिखित परम्पराको चरम विकास भएको आधुनिक समयमा पनि श्रुति परपरम्पराले परिपूरकको भूमिका गरिरहेको छ ।

मनमनै मनन गर्ने हो भने आज  पनि श्रुति परम्पराको अतुलनीय भूमिका छ ।

नेपाली पोष्ट  २०६७ साल कात्तिक २५ गते ।]

[अद्यावधिक :२०६८१०१२, २०६९०१२५, २०६९।०९।११, २०७७।०२।२३, २०७७।०२।२४]

No comments:

Post a Comment