Wednesday, November 10, 2010

प्रसंग हाँसो र रोदनको

 -यमबहादुर दुरा


 











लोग्ने मान्छे भएर रुन हुन्न रे…' योगेश्वर अमात्यको स्वरमा  गुन्जिने यस गीतमा ओंठमाथि जुँगा उम्रेका मर्द भनाउँदाहरुको गहिरो पीडा लुकेको छ । हाम्रो सामाजिक मान्यताअनुसार छोरामान्छे कठोरता र निडरताको अर्को नाम हो । त्यसैले आँखाभरि आँसुको सागर छचल्किए पनि उसले अरुको अघिल्तिर आँसु चुहाउनु हुँदैन भनिन्छ । अन्यथा उसले नामर्दको संज्ञा पाउँछ ।

उता, छोरीमान्छे कोमलता र भावुकताको प्रतीक मानिन्छ । त्यसैले उनीहरुले हल्काफुल्का समस्या वा दुःखमा पनि अँश्रुधारा बगाउनुपर्छ रे । अन्यथा ऊ ढुङ्गाजस्तो हिर्दय भएको नारीमा गनिन्छे, अलच्छिना एवम् निर्दयी ठहरिन्छे ।


 


अब प्रश्न उठ्छ, के हाम्रो समाजमा विद्यमान यस्तो मान्यता विज्ञानसम्मत छ ? के यस्तो धारणा मनोविज्ञानको कसीमा सही ठहरिन सक्छ  भारतीय लेखिका कमला भसिन समाजमा विद्यमान परम्परागत मान्यताको विरुद्धमा उभिएकी छिन् । उनको ठहर छ, 'वास्तवमा प्रत्येक व्यक्तिमा स्त्रीत्व र पुरुषत्व दुवै हुन्छ । तर समाजले केटीभित्र लुकेको पुरुषत्व र केटाभित्र लुकेको स्त्रीत्वलाई मौलाउन दिदैन ।'

हामीलाई थाहै छ, सबैको स्वाभाव एउटै हुँदैन । भनाइ नै छ, 'सन्तान थरिथरीका' । खोजीपस्दा थाहा हुन्छ, मर्द भनाउँदा कतिपय मानिसहरु सानातिना मर्म र व्यथामा पनि आँसुले परेली भिजाउँछन् । हाम्रा निवर्तमान क्रान्तिकारी प्रधानमन्त्री प्रचण्ड सार्वजनिक कार्यक्रमहरुमा भावुकतावश रोएको समाचार पत्रपत्रिकाहरुले तस्बिरसहित प्रकाशन गरेका थिए । यसबाहेक पद्मरत्न तुलाधर 'राष्ट्रिय पञ्चायत' मा डाँको छाडेर रोएको कुरा पनि नेपाली राजनीतिक वृत्तमा एउटा चर्चित प्रसंग मानिन्छ । यसैगरी सन् १९९७ मा हङ्गकङ्ग चीनलाई हस्तान्तरण गरिँदाको समयमा
ब्रिटिशकालीन हङ्गकङ्गका तत्कालीन गभर्नर  क्रिश प्याटन बिदाइ भाषण गरिरहेका थिए । त्यतिबेला उनी धुरुधुरु रोइरहेको दृश्य टेलिभिजनले प्रसारण गरेको थियो । ‘ओलम्पिक गेम’ लगायत अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा हारेको र जितेको दुवै घडीमा पुरुष खेलाडीहरुले बलिन्द्र अँश्रुधारा बगाउने गरेको दृश्य कसैसामु लुकेको छैन ।

यसको विपरीत कतिपय छोरीमान्छेहरु हदैसम्म अटल र धैर्यवान् हुन्छन् । उनीहरु आफन्तको मृत्यु वा कुनै दुःखद परिस्थितिमा समेत आँसु खसाल्दैनन् । बरु उनीहरु आँसुमा डुबिरहेका छोरामान्छेहरुलाई रुनु हुँदैन भनेर मनको घाउमा मलम लगाउन पुग्छन् ।

यिनै प्रसंगहरुमा घोत्लिँदा छोरामन्छे र छोरीमान्छे शारीरिक रुपमा भिन्न भए पनि भावनात्मक एवम् सम्वेगात्मक रुपमा भिन्न छैनन् भन्न करै लाग्छ ।  समाजमा प्रचलित मान्यताअनुसार महिला कुरौटे हुन्छ भने पुरुष गम्भीर हुन्छ; पुरुष शक्तिशाली हुन्छ भने महिला कमजोर हुन्छ; महिला शान्त र सौम्य हुन्छ भने पुरुष क्रूर वा हिंस्रक हुन्छ; आदि, आदि । तर यी सबै मान्यताहरु गलत सामाजिकीकरणको उपज हुन् भन्ने विषयमा जनमत तयार हुँदै गइरहेको छ ।

हामीलाई राम्रोसँग थाहा छ, महिला र पुरुष दुवैको छातीभित्र मुटु चल्छ । दुबैलाई मानवीय सम्वेदनाले छुन्छ ।  जिन्दगीको भोगाइहरुले दुवैको आँखामा आँसु टलपलाइदिन्छ अनि ओंठमा मुस्कान छरिदिन्छ । परिस्थितिले दुवैलाई दुःखको ‘मारियाना ट्रेन्च’ मा डुबाइदिन्छ र खुसीको सगरमाथामा उचालिदिन्छ । मानवीय सम्वेदनाहरुमा तरङ्गित हुने एकै खालका मुटु र आत्म भएका महिला र पुरुषबीच शारीरिक भिन्नताबाहेक अरु फरकपन छैन होला । तर समाजलॆ छोरामान्छेलाई आफ्नो दुःखमा पनि किन रुनलायक ठान्दैन  अनि छोरीमान्छेलाई भने अभिनय गरेर भए पनि आँसु खसाल्न बाध्य पार्छ
यसको अर्थ के हो ?

विडम्बनाको चोटले रन्थनिँदै गर्दा हामीलाई फेरि अर्को विडम्बनाले आहत लुल्याउँछ । छोरामान्छे आफ्नी प्रेयसीको काखमा घोप्टिएर अँश्रुधारा बगाउनु हुँदैन रे, उसले त एकोहोरो रुपमा प्रेयसीको आँसु पुछिदिनुपर्छ रे । प्रेयसीसँगै सुक्कसुक्क गर्न थाल्यो भने त उ नामर्द नै ठहर्छ । हुँदाहुँदा आफूलाई जन्म दिने आमा-बा मर्दासमेत छोरामान्छेलाई रुन बन्देज छ । छोरामान्छेको मुटु ढुङ्गाले बनेको हुँदैन । उ ‘मेसिन’ पनि होइन । हाम्रो समाजको संरचना र सोंचाइमा शायद कही कतै गल्ती छ । अब कमलो मनका छोरामान्छे पनि आफ्नो पीरव्यथामा धोको फुकाएर रुन सकोस् अनि कडा स्वाभाव भएकी छोरीमान्छे अभिनय गरेर रुनुपर्ने दिन समाप्त होस् ।

चिकित्साशास्त्रमा रुवाइको औषधीय महत्व छ । मजाले रोयो भने मनको कुण्ठा र पीर आँसुसँगै बगेर जान्छ भन्ने मान्यता छ । यसै प्रसंगमा ध्यानयोग र सम्मोहनकलाबारे प्रवचन दिँदै आएका विनोद शर्माले व्यक्त गरेको विचार सान्दर्भिक देखिन्छ । उनले गोर्खा एफएमको 'डार्क साइड' कार्यक्रममा २०६८ साल वैशाख १७ गतेको अङ्कमा भनेका थिए, 'हाँस्नु जति महत्वपूर्ण छ, रुनु पनि त्यति नै महत्वपूर्ण छ ।'



 













रुनु र हाँस्नु जिन्दगीको अपरिहार्य सर्त हो । यसलाई बन्देज गर्ने तागत कसैमा छैन । तर यसको सही व्यवस्थापन भने हुनैपर्छ । 'रोते रोते हँसना सिखो, हाँसते हँसते रोना…' यस हिन्दी गीतले दिएको यही सन्देश नै जिन्दगीमा हाँसो र रुवाइको सही व्यवस्थापन हुनुपर्छ भन्ने हो जस्तो लाग्छ । यसका लागि  हामीसँग उपयुक्त कला हुनुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के हो भने रुने र हाँस्ने कुरामा छोरामन्छे र छोरीमान्छे दुवैको बराबर हिस्सेदारी छ- न धेरै, न थोरै ।


[ साभार : नेपाली पोष्ट  (मे ५, २००९) । नेपाल समाचारपत्र  'सौगात' मा पहिलो पटक प्रकाशित । तस्बिर तथा ग्राफिक्स :  इन्टरनेट] 

[अद्यावधिक : २०६८।०७।०५, २०६९।०१।१८, २०६९।०१।१९, २०६९।०९।११, २०७१।०२।२५, २०७१।०३।०७, २०७१०३।०९, २०७१।०३।३०]

No comments:

Post a Comment